सम्पादकीय
गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन क्रममा भएका हिंसात्मक गतिविधिको छानबिन आवश्यक भएको छ। जति जति त्यस घटनाका सत्य, तथ्य र मिथ्या सूचना र अपूरा चित्रहरू सामुन्ने आएका छन्, तिनले न्यायिक छानबिनको मागलाई झन् झन् आवश्यक बनाएका छन्।
राजावादीहरूको प्रदर्शनमा हिंसात्मक घटना भएको झन्डै सात दिन हुन लाग्दा हामी त्यसको न्यायिक छानबिन जरूरी छ भन्ने निष्कर्षमा पुग्नुका पछाडि चार वटा मुख्य कारण छन्।
पहिलो कारण — यो प्रदर्शनमा भएका हिंसात्मक घटनाहरूमा के के भएको थियो भन्नेबारे आरोप, प्रत्यारोप र दोषारोपण जारी छ।
पत्रकार र आम मानिसले खिचेका विभिन्न भिडिओ फुटेज, प्रत्यक्षदर्शीले दिएका फरक फरक र कतिपय सन्दर्भमा बाझिने 'बाइट' र बयानले यो घटनाको प्रस्ट तस्बिर बुझ्न सहयोग गर्नुभन्दा अन्योल थप्न मद्दत गरेका छन्। त्यसमाथि काँटछाँट गरिएका र डिपफेक भिडिओसम्म प्रयोग भएको छ भन्ने दाबीले यो घटनाको यथार्थ तस्बिर झनै दुरूहपूर्ण बन्दै गएको छ।
अहिले नेपालमा मात्र होइन, संसारभरि नै समयको यस्तो दौर छ, जहाँ जिम्मेवार मिडियामा आएका भिडिओ, फोटा वा अन्य सामग्रीलाई मानिसहरूले आआफ्नो रूचि र बुझाइ अनुसार 'सत्य' र 'फेक (झुटो)' भनिदिन्छन्। त्यसैले हामीलाई तीनकुनेमा भएको हिंसात्मक झडपमा के के भएको थियो भनेर सत्यतथ्य स्थापित गर्ने एउटा सर्वमान्य विधि वा प्रक्रिया चाहिएको छ।
त्यो भनेको स्वच्छ र निष्पक्ष छवि भएका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोगको गठन हो। यसो नगर्ने हो भने, तीनकुने घटनालाई लिएर सबैले आआफ्नै 'न्यारेटिभ' भट्याइरहने छन्। अहिले नै सो घटनाबारे अरुले भनेका कुरा गलत र आफूले भनेका सही भन्ने होडबाजी सामाजिक सञ्जालमा चलेको छ।
अनि आम मानिसले खासमा त्यो घटना किन भयो, के के कुराले हिंसा भड्किन सहयोग पुग्यो, त्यो कति नियोजित थियो वा थिएन, त्यसका प्रमुख पात्रहरू को को हुन्, हिंसा भडकाउन ककसले भूमिका खेले, प्रहरीले आवश्यक संयम अपनायो वा अनावश्यक बल प्रयोग गरेर हिंसा भड्काउन मद्दत गर्यो, भन्ने कहिल्यै थाहा पाउने छैनन्। यो घटनाका सबै सत्यतथ्य स्थापित नगर्ने हो भने यसले नेपाली समाजलाई लामो समयसम्म गुमराहमा राख्नेछ। त्यसैको लाभ उठाएर समाजलाई थप ध्रुवीकृत र विभाजित गराउने काम हुनेछ।
दोस्रो कारण हो — प्रहरीको भूमिका।
जति दिन बित्दै गयो, शुक्रबार तीनकुनेमा प्रहरीको भूमिकाबारे त्यति नै प्रश्नहरू थपिन थालेका छन्। तीनकुने घटनाको ६ दिनपछि आएर प्रहरीले बल्ल २० जनालाई गोली लागेको बताएको छ। मिडियाले यो संख्या यतिका दिनसम्म किन थाहा पाएन वा बताएन भनेर मानिसहरूले आलोचना गरिरहेका छन्। त्यो आलोचना नाजायज छैन।
तर यस्तो हिंसात्मक घटनामा कुन कुन ठाँउमा कति जनालाई गोली लाग्यो वा कति जनाको मृत्यु भयो भनेर तत्काल सूचना आउने प्रहरीबाटै हो। तानाशाही व्यवस्थामा सत्तासीनहरूको स्वार्थका लागि प्रहरीले तथ्यहरू लुकाउने गर्छ। त्यसैले पत्रकारहरू थप सजग भएर घाइते वा मृत्यु हुनेको संख्या आफै पनि हरेक अस्पतालबाट पुष्टि गर्ने प्रयास गर्छन्।
लोकतान्त्रिक शासन व्यवस्थाको प्रहरीले कम्तीमा कति जनालाई गोली लाग्यो वा कतिको मृत्यु भयो भन्ने जस्ता महत्त्वपूर्ण सूचना लुकाउँदैन र सबै कुरा प्रस्ट भन्छ भन्ने अपेक्षा हुन्छ। नेपाल प्रहरीले तत्काल ती सूचना नदिएर वा लुकाएर हाम्रो भरोसा तोड्यो। आफ्नो जिम्मेवारी राम्रोसँग बहन गरेन।
गोली लागेर घाइते भएको कुनै पनि मानिस अस्पताल पुग्ने बित्तिकै सबभन्दा पहिले त्यसको खबर प्रहरीकहाँ पुग्छ। प्रहरीलाई खबर नगरी अस्पतालले उसको उपचार पनि हत्तपत्त सुरू गर्दैन। त्यसैले शुक्रबार राति नै नेपाल प्रहरीलाई गोली लागेका सबै प्रदर्शनकारीको संख्या यकिनसँग थाहा थियो।
तर यतिका दिनसम्म उसले किन भनेन?
सेतोपाटीले नै प्रहरीलाई कति जना घाइते छन्, कतिलाई गोली लाग्यो भनेर बारम्बार सोधेको छ। सुरूमा तीन जनालाई मात्र गोली लागेको भनियो। मंगलबार चार जना भनियो। बुधबार आएर २० जनालाई गोली लागेको भनियो।
राज्यले नै दाबी गरेको जम्मा चार हजार मानिस उपस्थित आम सभामा भिड नियन्त्रण गर्न कयौं राउन्ड गोली चलाउनु र २० जना गोली लागेर घाइते हुनु भनेको अस्वभाविक हो। के प्रहरीले साँच्चै नै आवश्यक ठाउँमा मात्र गोली चलायो? वा, अनावश्यक ठाउँमा पनि गोली चलायो जस कारण २१ जनालाई गोली लाग्यो र त्यसमध्ये एक जनाको ज्यान गयो?
कतिपय भिडिओमा हिँड्दै गरेका र प्रहरीभन्दा धेरै टाढा रहेका मानिसलाई एक्कासि पछाडिबाट गोली हानेको जस्तो देखिएको छ।
सेतोपाटीले ती घटनाबारे पनि प्रहरीलाई सोधेको छ। प्रहरीले कोही पनि सर्वसाधारणलाई पछाडिबाट गोली नहानेको दाबी गरे पनि त्यसरी हिँड्दै गरेका निहत्था प्रदर्शनकारीमाथि किन गोली चलाइयो भन्ने जबाफ दिन सकेको छैन। छानबिन गर्दैछौं भनेको प्रहरीले अहिलेसम्म जबाफ दिएको छैन। गल्ती गरेवापत कसैलाई कारबाही गरेको पनि हामीले सुनेका छैनौं। हामीले यसअघिनै सम्पादकीय मार्फत त्यो घटनाको छानविन माग गरेका थियौं।
पढ्नुस्: तीनकुनेमा प्रदर्शनकारीलाई पछाडिबाट गोली हानेको भनिएको घटना तुरून्त छानबिन गर
आन्दोलनमा सरिक नै नभएकी कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्ष पढिरहेकी रेबिका खत्री र उनका दाजु पर्ने दिनेश खत्रीलाई कोटेश्वरको एउटा गल्लीमा हिँडिरहेका बेला गोली लागेको देखिएको छ। गल्लीमा गोली हान्नुपर्ने अवस्था किन आइपरेको थियो भनेर प्रहरीले स्पष्ट जबाफ दिन सकेको छैन। यसमा पनि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ।
पढ्नुस: राजावादीको प्रदर्शन छल्न भित्री बाटो हिँडेका रेबिका र दिनेशले छल्न सकेनन् गोली
आन्दोलनमा सरिक भएका वा नभएका निहत्था नागरिकमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको रहेछ वा गोली नै हानेको रहेछ भने, उनीहरूमाथि प्रहरीले ज्यादती गरेको र मानव अधिकार उल्लंघन गरेको ठहरिने छ। प्रहरीले त्यो दिन संयम साथ आफ्नो जिम्मेवारी पूरा गरेको थियो कि थिएन, वा केही प्रहरीले अनावश्यक रूपमा बल प्रयोग गरेका थिए र जानीजानी निहत्था नागरिकमाथि गोली प्रहार गरेका थिए भन्ने छानबिन हुन, त्यसको यकिन र आवश्यक परे कार्वाही हुन जरूरी छ।
प्रहरीले नागरिकका घरमाथि लुकेर अश्रुग्यास हानेको भन्ने आरोप पनि छ। यस्तो गरेको भए त्यो गम्भीर गल्ती हो र प्रहरीले एउटा स्वतन्त्र नागरिकको जिउधनलाई आफ्नो स्वार्थका लागि दाउमा राखेको हो।
त्यस कारण पनि हामीले न्यायिक छानबिनको आवश्यकता देखेका हौं।
तेस्रो कारण — प्रदर्शनकारी र विशेषगरी प्रदर्शनको नेतृत्व गर्ने मानिसहरूको भूमिका कस्तो थियो भन्नेबारे पनि न्यायिक निरूपण हुन जरूरी भएको छ।
अहिले फरार रहेका यो आन्दोलनका कमान्डर दुर्गा प्रसाईंदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणा लगायतको पनि त्यहाँ भएको प्रदर्शनलाई हिंसात्मक अवस्थामा पुर्याउनमा के कस्तो भूमिका थियो वा थिएन भन्ने स्वतन्त्र रूपमा जाँच हुन आवश्यक छ।
के उनीहरूले दाबी गरेजस्तो शान्तिपूर्ण रूपमा सभा सञ्चालन गर्न लाग्दा र राष्ट्रिय गान बजिरहेको बेला प्रहरीले मञ्चमा आसीन नेताहरूलाई ताकेर अश्रुग्यास हानेको हो? सामाजिक सञ्जालमा प्रसारित त्यस्तो भिडियोलाई प्रहरीले 'डिपफेक' भनेको छ।
पढ्नुसः तीनकुनेमा भएको प्रदर्शनमा राष्ट्रगान बजिरहँदा स्टेजमा अश्रुग्यास प्रहारबारे प्रहरीले भन्यो- डिपफेक
वा, प्रदशर्नकारीले बारम्बार घेरा तोडेर बानेश्वरतर्फ जान लागेपछि उनीहरूलाई रोक्न मात्रै प्रहरीले पहिलो पटक अश्रुग्यासको प्रयोग गरेको हो?
प्रहरीले कति संयम आपनायो वा ठूलो मात्रामा बल प्रयोग कति खेर सुरू गरेको हो भन्ने पत्ता लगाउन कठिन छैन। त्यो दिन कतिपय मिडियाले सुरूदेखि लगभग अन्त्यसम्मै लाइभ भिडिओ खिचेका छन्। ती भिडिओको मसिनोगरी विश्लेषण गर्ने हो भने, को कति दोषी थियो भन्ने निष्कर्षमा पुग्न सकिन्छ।
ती भिडिओमा दुर्गा प्रसाईंले प्रहरीहरूलाई नै किचेर कुदाउन खोजेको गाडीका साथै रवीन्द्र मिश्र र धवल शमशेर राणाले भिडलाई उत्तेजित गर्दै प्रहरीको घेरा तोडी बानेश्वरतर्फ जान उक्साएको प्रस्ट देखिन्छ।
प्रसाईं, राणा र मिश्रका गतिविधिले त्यस दिन भिड उक्साउन कति भूमिका खेले? उनीहरूले त्यसो गर्नुअघि प्रहरीले कति बल प्रयोग गरेको थियो? र, उनीहरूको त्यो हर्कतपछि भिड तितरबितर पार्न कति बल प्रयोग गर्यो? यसको पनि छानबिन आयोगले मिहिन समीक्षा गर्नेछ।
चौथो कारण हो — तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका।
जनताले राजगद्दीबाट झारेको १७ वर्षपछि ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने भूत सवार नभएको भए, यो घटना नै हुने थिएन। दुई जना नेपालीको ज्यान जाने थिएन। त्यसैले यो सबै भाँडभैलोको कारक उनी हुन् भन्नेमा कुनै शंका छैन।
ज्ञानेन्द्र शाह भने यो घटनाबाट पुरै पन्छिन खोजेका छन्। फेरी राजा बन्नकालागि सडकमा भाँडभैलो सुरू गराउनेमा ज्ञानेन्द्रको भूमिका छ कि छैन वा उनकै इसारा र लगानीमा यो भइरहेको छ, यसको पनि यकिन हुन जरूरी छ।
ज्ञानेन्द्र आफैले यो सबै कुराको संयोजन गरेका हुन् भन्ने प्रशस्त संकेत छन्। ज्ञानेन्द्रले गत फागुन ७ गते अब आफू अघि बढ्न लागेको संकेत गर्दै स्पष्ट शब्दमा जनताको साथ मागेका थिए।
उनले त्यो दिन वक्तव्य जारी गर्दै भनेका थिए, '…अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निम्ति हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौं।'
त्यसपछि राजसंस्था स्थापना गर्ने आन्दोलनको नेतृत्व गर्न पुराना पञ्च नवराज सुवेदीलाई पनि उनैले उभ्याए। सुवेदीबाट पार नलाग्ने देखेपछि शुक्रबारको प्रदर्शन हुनु एक दिनअगाडि ज्ञानेन्द्रले दुर्गा प्रसाईं र सुवेदी दुवैलाई निर्मल निवास बोलाए। अनि आन्दोलनको कमान्ड सुवेदीको हातबाट खोसेर प्रसाईंको हातमा थमाए।
न्यायिक आयोगले ज्ञानेन्द्रसँग पनि बयान लिन सक्छ र यो भाँडभैलोमा उनको राजनीतिक, आर्थिक संलग्नताबारे यकिन सक्छ। उनको जवाफदेहीता स्थापित गर्छ।
न्यायिक समितिले आफ्नो प्रतिवेदन बुझाएपछि त्यसले हामी सबै सामु सत्यतथ्य मात्र स्थापित गर्ने छैन, यो भाँडभैलोमा ज–जसको भूमिका छ, तिनलाई त्यसै अनुरूप कानुनको कठघरामा उभ्याउने बलियो आधार पनि तयार पार्छ। जसको गल्ती छैन, उसले छुट पाउने आधार पनि बन्छ।
हामीलाई आशा छ — सरकारले न्यायिक छानबिन आयोग गठन गरेर यो घटनालाई सही रूपमा निप्ट्याउने छ।