हरेक बिहान आकाशलाई सुनौलो पार्दै उदाउने घामलाई उसका अर्ध वृत्ताकार पाखाहरूमा पोखिन चटारो हुन्छ।
मानौं — उसलाई सुन्दर बनाउन घाम र ऊबीच मैत्री सन्धि भएको छ। सदियौं पहिले, लिच्छवि कालमै र, यो सन्धिको पूर्ण पालना भएझैं लाग्छ।
जसै घामका पहेँला किरणहरू झर्छन्, उसको सुनौलो गजुर टल्किन्छ। गुम्बजमा कमलस्वरूप झल्किन्छ। रातभर घुरमा बसेका परेवाहरू पाखामा घमाउन आइपुग्छन्। ठाउँठाउँबाट पर्यटकहरू रमाउन आइपुग्छन्। रंगीचंगी लुङ्ताहरू सिरसिरे बताससँगै झुल्न थाल्छन्। श्रद्धालुहरू धुपको बास्ना अनि 'ओम मणि पद्मे हुँ' धुनसँगै भुल्न थाल्छन्।
बौद्धनाथले हर बिहानीको सुरूआत यसै गरी गर्छ।
ठूलो छैन बौद्धनाथको आँगन। तर ठूलो छ प्रसिद्धि र गुणगान। त्यसैले सबैको साझा आँगन भएको छ।
सानै आँगनमा हुन्छन् फूलहरू। त्यहीँ फलफूलहरू। त्यहीँ बुकीहरू। बास्नादार धूपीहरू। चीवरधारी भिक्षु संन्यासीहरू। शान्तिका प्यासीहरू। बोधिचित्त माला जपिरहेकाहरू। मधुर मुस्कान थपिरहेकाहरू।
बाँच्नका लागि माग्नेहरू। धर्मका लागि दिनेहरू। थर्मसमा तातो बेच्नेहरू। ढल्की ढल्की तस्बिर खिच्नेहरू। सबेरैदेखि कर्म गरिरहेकाहरू। स्तूप परिक्रमा गरिरहेकाहरू। ध्यान मुद्रामा आनीहरू। खेल मुद्रामा नानीहरू। चिनियाँ, भुटानी र जापानीहरू।
.jpg)
ओहोरदोहोर परेवाका ताँती, घिउबत्ती म्हारमेनको आरती।
नेवार समुदायले खास्ति चैत्य भन्ने, तामाङ, तिब्बतीहरूले झ्यारूङ खास्योर।
बौद्ध घ्याङ गुठीको आँगनमा प्यागोडा शैलीको अजिमा थान, बौद्धनाथको बेग्लै शान।
पन्ध्र रोपनी क्षेत्रफल, गोलाकार पर्खालभित्र सोह्रकुने मण्डल।
उचाइ करिब एक सय बयालिस फिट, गुम्बज आकारको संसारको ठूलै स्तूप।
तल्लो भाग सेतो, कमलको झल्को दिन सेतोमाथि पहेँलो रङ पोतिएको।
बौद्धनाथको मुटु हो गुम्बज। गुम्बजमाथि बसेको पिरामिडे गजुर, गजुरमै छन् तेह्र भुवनका प्रतीक तेह्र तह हजुर।
गजुरमै अर्धनिन्द्रित दुई आँखा रहेको हर्मिका, चारतिर फहराईएका लुङ्ता (ध्वजा पताका) गजुरमै अड्किएका।
पञ्चतत्वको प्रतीक स्वरूप पाँच वटा मुख्य तह भएको हेरिरहूँ लाग्ने बौद्धनाथ।
बौद्धनाथ पुगेर प्रार्थना मात्रै गरे मनले चिताएको पुग्छ अरे! त्यसैले चिन्तामणि नाम पाएको छ उसले।
मनोकामना लिएर आउँछन् मानिसहरू। सके एक सय आठ पटक, नसके सक्दो बढी पटक स्तूप परिक्रमा (कोरा) गर्छन्। घस्रिएर वरिपरि घुम्ने (छ्याक) गर्छन्। बत्ती (छ्युमे) बाल्छन्। प्रार्थना गर्छन्। कोही 'ओम मणि पद्मे' उच्चारण गर्दै बस्ने। कोही आफ्नै धुनमा मानी खोर्लो (माने) घुमाउन मस्त। कोही चित्तसन्तानलाई शून्तासँग जोड्न मग्न।
-ink-1716435215.jpeg)
आकर्षित गर्न कुनै चिज सर्वप्रथम आँखाले देखिनुपर्छ। तर बौद्धनाथ परैबाट देखिँदैन, पशुपतिनाथ देखिए जसरी, स्वयम्भूनाथ देखिए जसरी।
गुजुमुज्ज घरहरू र साँघुरो प्रवेशद्वारले उसलाई खुलस्त देखिनबाट रोकेका छन्।
प्रवेशद्वारमै भीडभाड, ठेलमठेल। छेउमै यात्रु चढाउने र ओराल्ने बस स्टप। पैदलयात्रीको बाक्लै ओहोरदोहोर। फलामे साङ्लोले बारेको मूलद्वार।
तर उसको महिमालाई के छेक्थे बारहरूले। देशी–विदेशी पर्यटकहरू एकफेर यहाँ पुग्न खोज्छन्।
स्तूपमा फैलिने धुपको बास्नालाई वरिपरिका मांसाहारी रेस्टुरेन्टबाट उड्दै आउने बास्नाले घेरे जस्तो। आसपासका गुम्बाहरूमा एकतमास गुञ्जिरहेको धुन। पर सडकबाट आउने गाडीको कोलाहलसँग संघर्ष गरिरहे जस्तो।
साठी घर तामाङ रहेछन् कुनै बेला बौद्धनाथ आसपास। साठीबाट कोही बिदेसिइसके। यतै बसेकाहरू साठी घरेबाट सयौं पुगिसके। आसपासमा साठी थरी मानिसहरू बसाइँ सरेर आइसके। तर पनि साठी घरेको केही महत्व, केही प्रभाव कायमै छ।
बौद्धनाथ परिसरमै त्रिकाल मैत्रेय बिहार, घ्याङ गुठी र थाउजेन्ड गुम्बाजस्ता तीन–चार गुम्बा भए पनि आसपासमा चारूमती, भुटानी गुम्बा, कपन गुम्बा, सेतो गुम्बा, दक्षिणकाली गुम्बादेखि काभ्रेपलाञ्चोकको नमोबुद्धसम्म साना–ठूला पचासौं गुम्बा छन्। बौद्ध स्तूप परिक्रमा (कोरा) गरेजस्तै यी प्रमुख गुम्बाको दर्शन गराउन ती सबैलाई जोड्ने सर्किट बनाउनुपर्ने देखिन्छ।
-ink-1716435216.jpeg)
-ink-1716435218.jpeg)
विश्व जनसंख्याको ७ प्रतिशत ओगट्ने गरी संसारभर दर्जनौं देशमा छन् बौद्ध धर्मावलम्बी। बुद्ध धर्म कम्बोडियाको राष्ट्रिय धर्म हो। म्यानमारको मुख्य धर्म। भुटानको राज्य धर्म। श्रीलंकामा बहुसंख्यकको धर्म। थाइल्यान्डमा यस धर्मको विशेष स्थान छ। नेपालमै पनि दोस्रो ठूलो धार्मिक सम्प्रदायको रूपमा छ बौद्ध धर्म। करिब चौबीस लाख अर्थात्, कुल जनसंख्याको ८.२ प्रतिशत बुद्धमार्गी छन् यहाँ।
धार्मिक पर्यटकीय सम्भावनाको भण्डार नेपालमा एउटा भनाइ चर्चित हुँदैछ— हिन्दुजम र बुद्धिजमलाई टुरिजमसँग जोड्नुपर्छ!
हो पनि! हामी विश्वको सर्वाधिक जनसंख्या भएको भारतका हिन्दुहरू र दोस्रो बढी जनसंख्या भएको चीनका बौद्ध धर्मावलम्बीले घेरिएका छौं। तिनलाई तान्न सक्छौं।
बुद्धिस्टलाई तान्न तीन महाचैत्य स्वयम्भूनाथ, बौद्धनाथ र नमोबुद्ध छन्। उपत्यका बाहिर गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत थुप्रै ठाउँ छन्।
आराध्यदेव पशुपतिनाथ, रामजानकी मन्दिर, पाथिभरा, मुक्तिनाथ, निर्माणाधीन शिव सर्किट, राम सर्किट आदि हिन्दुलाई तान्न पर्याप्त छन्।
कैयौं धार्मिक स्थलले हिन्दु र बुद्धिस्ट दुवैलाई तान्छन्। राजधानीको बौद्धनाथ, स्वयम्भूनाथ त भइगए। मारतिका भनिने पूर्व खोटाङको हलेसी होस् या पश्चिम सुर्खेतको काँक्रेबिहार, दुवै धर्मका आस्थाका सुन्दर संगम हुन्। दुवै धर्मका साझा भएर बौद्ध र स्वयम्भूसँग नाथ मिसिए। बुद्धसँगै हिन्दु देवी-देवताका मूर्ति स्थापना भए। तिनले सहिष्णुताको बेजोड प्रमाण दिन्छन्।
-ink-1716435219.jpeg)
पाकिस्तान, बंगलादेश, नेपाल, तिब्बत र भारत पाँचै ठाउँ बौद्ध धर्मका उर्वर भूमि हुन् भन्छ इतिहास। हालको पाकिस्तानमा जन्मिएका आचार्य पद्मसम्भव कुनै बेला भारतबाट नेपाल हुँदै तिब्बत जाँदै गर्दा केही समय काठमाडौंमा बसे अरे!
काठमाडौं लिच्छवि कालदेखि तिब्बत र भारतलाई जोड्ने सेतु थियो। तिब्बती भिक्षुलाई लुम्बिनी वा भारतको गया, सारनाथको यात्रामा निस्किँदा त्यहाँको वस्तुस्थिति बुझ्ने उपयुक्त थलो मानिन्थ्यो काठमाडौं। त्यति बेलैदेखि यहाँ बुद्ध धर्मको प्रचार–प्रसार गर्ने, स्तूपहरू बनाउने क्रम चलेको थियो।
सन् १९५९ मा तिब्बतको सांस्कृतिक आन्दोलन भयो। थुप्रै तिब्बतीहरू शरणार्थीको रूपमा अन्य देशहरूमा गए। केही बौद्धनाथ क्षेत्रमा आएर बसे। अहिले पनि तिब्बत प्रतिबन्धित छ, सहजै पुग्न सकिँदैन।
बौद्धमा चिनियाँ लामाले राणाकालमै शासकहरूसँग नजिकिएर महन्त पूजारीको जिम्मेवारी पाएका रे! बौद्धनाथमा पूजापाठ, रेखदेख गर्न चिनियाँ लामा परम्परा अठारौं शताब्दीदेखि पुस्तैनी परम्पराको रूपमा अभ्यास गरिएको छ।
थुप्रै जात्राहरू भव्य रूपमा मनाइन्छ बौद्धनाथ क्षेत्रमा। मामो पुकासी जात्रा एउटा हो। मामो पुकासीलाई बौद्धनाथमा आसीन आठ देवीहरूमध्ये मुख्य अर्थात देवीकी पनि देवी मानिन्छ। नेवारीमा यिनलाई बज्यै अजिमाको नामले चिनिन्छ।
अर्को रोपाइँ जात्रा छ, गाईजात्राको भोलिपल्ट। अनि चैत शुक्ल चतुर्दशीका दिन विपश्वी बुद्धले कमलको बीज रोपेको स्मरणमा तेमाल जात्रा। ल्होसार त मनाइने नै भयो।
-ink-1716435219.jpeg)
युनेस्कोको विश्व सम्पदा सूचीमा परेका नेपालका दसमध्ये बौद्धनाथसहित सात स्थलहरू काठमाडौंमै छन्। निकै धनी छ काठमाडौं सम्पदामा। त्यसैले तिनको संरक्षण र प्रवर्द्धन गर्ने चुनौती पनि छ।
पर्यटक प्रशस्तै तान्नुपर्ने हो बौद्धनाथले। तर तानोस् कसरी? उसको एउटा वेबसाइटसम्म देखिँदैन। गुगलमा बौद्धनाथबारे प्रशस्तै सूचना त पाइएला तर आधिकारिक जानकारी दिने पोर्टल छैन। न बृहत् गुरूयोजना देखिन्छ, न व्यापक प्रचार प्रसार नै।
हाल बौद्ध घ्याङ गुठी र बौद्धनाथ क्षेत्र विकास समिति गरी दुई फरक संस्थाबाट बौद्धनाथको व्यवस्थापन भइरहेको छ। दुवैबीच पर्याप्त समन्वयको खाँचो छ।
विश्व सम्पदामा परेको, मौलिकता साँचेको, सदियौंदेखि बाँचेको, गर्विलो इतिहास बोकेको, अनेक जात्राहरू भोगेको — यस्तो महिमा भएको बौद्धनाथले खोजिरहेको छ थप संरक्षण र पहिचान।
(लेखक गोकर्णप्रसाद उपाध्याय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)