बेइजिङ डायरी
सन् १९८० सम्म चीन एउटा रहस्यमयी देश थियो। अहिलेको उत्तर कोरियाजस्तै चीनका बारेमा दुनियाँलाई थोरै मात्र जानकारी थियो। आधुनिक चीनका नेता तङ स्याओफिङले सुधार र खुलापनसँगै आधुनिक चीनको आर्थिक विकासलाई प्राथमिकता दिए। फलस्वरूप बीसौं शताब्दीको असीको दशकदेखि चीनले छलाङ मार्न थाल्यो।
यति बेला चीन विश्वकै सबभन्दा ठूलो विकासोन्मुख मुलुक हो। हो, विकासोन्मुख मुलुक!
त्यसो भए युरोप, अमेरिका, अस्ट्रेलिया, जापान र कोरियाको तुलनामा चीन निकै पछि छ भन्ने आभास हुन सक्छ।
त्यसो पनि होइन!
विज्ञान र प्रविधिको विकाससँगै चीनले कतिपय विकसित मुलुकलाई पनि पछि पारिसकेको छ।
हामी यति बेला डिजिटल युगमा छौं। डिजिटलभित्र पनि अझै आधुनिक विकासलाई स्मार्ट युग भन्दा अत्युक्ति नहोला। चीनले डिजिटल युगलाई स्मार्ट तरिकाले प्रयोग गरिरहेको छ। समग्र चीन स्मार्ट रूपमा अगाडि बढ्दा जनजीवन सहज भएको छ। विज्ञान र प्रविधिको उच्च प्रयोग भएको छ।
दिन दुई गुना, रात चौगुना चीनले विकासमा कसरी छलाङ मार्दैछ भन्नेबारे मेरा आफ्नै केही अनुभव र प्रत्यक्ष देखेका कुराहरू यहाँ राख्दैछु।
सन् २०१३ अगस्टमा म बेइजिङ आएर काम गर्न थाल्दा धेरैजसो चिनियाँहरू नगदमै कारोबार गर्थे। सुपरमार्केट तथा सानातिना पसलहरूमा नगदमै किनबेच भइरहेको देखिन्थ्यो। हेर्दाहेर्दै चीनबाट कागजी नोट र सिक्का पैसा लोप हुन थाले। अहिले सामान्य तरकारी पसलदेखि बाटोमा कहीँ कतै सहयोग माग्न बसेको व्यक्ति पनि क्युआरकोड लिएर बसेको हुन्छ। म आफैले सन् २०१७ पछि कागजी नोट चलाएको छैन।
सन् २०१८ मा एक जना नेपाली साथी मकहाँ आउनुभएको थियो। उहाँ ट्याक्सी चढेर फर्किनुपर्ने भयो। मध्य दिउँसो चौबाटोमा बसेर निकैबेर ट्याक्सी कुर्दा नपाएपछि मैले मोबाइलको एपबाट ट्याक्सी बोलाएँ। उहाँको गन्तव्यसम्म ७८ युआन चिनियाँ पर्ने रहेछ।
उहाँले ट्याक्सी चढ्दै गर्दा मलाई ५०, २० र ५ का चिनियाँ मुद्राका नोट मेरो हातमा थमाइ दिनुभयो। ती नोट अहिले पनि मेरो टेबलको घर्रामा रहेछन्। केही दिन अगाडि घर्रामा भएका सामान मिलाउँदा त्यहाँ ७५ युआन देखेपछि कहाँबाट पैसा फल्यो भनेर म निकैबेर दंग परेँ। पछि गमेर ल्याउँदा सात वर्ष अगाडि नेपाली साथीले दिनुभएको सम्झना भयो।
सन् २०१३ देखि २०१५ सम्म मेरो गोजीमा पर्स हुन्थ्यो। त्यो पर्समा सधैं केही चिनियाँ पैसा हुन्थ्यो। सन् २०१५ देखि बिस्तारै नगद कारोबार कम हुँदै गयो। अनि सन् २०१७ देखि त मैले पर्स बोक्नै परेन।
पर्स नभए पनि पहिले एटिएम कार्ड चाहिँ गोजीमा बोकिन्थ्यो। अहिले त त्यो झन्झट पनि छैन। मोबाइल फोनमै बैंक कारोबारदेखि किनमेलमा प्रयोग हुने आधा दर्जनजति एप छन्। ती एपमार्फत किनमेल, यात्राका लागि टिकट, होटल बुकिङ, खाना, डाक्टर बुकिङ काम सहजै हुन्छ।
यसो भनौं, चीनमा नुनदेखि सुन किन्न होस् वा गेडागुडीदेखि गाडी किन्न, सबै मोबाइलको एपमा एक क्लिक गरेपछि काम तमाम हुन्छ।
चिनियाँ युवा पुस्ता मात्र होइन, वयोवृद्ध जेष्ठ नागरिकहरू पनि हिजोआज त्यही स्मार्टफोन मार्फत् किनमेल गर्छन्। अब बैंकमा लामो समय लाइन लाग्नु पर्दैन।
यही सन्दर्भमा एउटा रोचक प्रसंगको चर्चा गरौं।
चिनियाँहरूको नयाँ वर्ष जनवरीको अन्त्य वा फेब्रुअरीमा पर्छ। वसन्त चाड भनिने चिनियाँ नयाँ वर्षमा चिनियाँहरूले आफ्ना छोराछोरी तथा आफूभन्दा सानालाई रातो खाममा हालेर दक्षिणा दिने चलन हजारौं वर्षदेखि चल्दै आएको छ। दक्षिणा दिँदा पुराना नोट नभई नयाँ नोट दिने चलन छ।
सन् २०१४/१५ तिर चिनियाँ नयाँ वर्ष आउनुभन्दा एक महिना अगाडिदेखि नयाँ नोट सटही गर्ने ग्राहकले चिनियाँ बैंक भरिभराउ हुन्थे। घन्टौं लाइन बसेर नयाँ नोट साट्ने चलन अनुसार चिनियाँ बैंकले छुट्टै काउन्टर व्यवस्था गरेको हुन्थ्यो। हिजोआज दक्षिणा दिँदा मोबाइलबाटै डिजिटल रूपमा दिइन्छ। अब त नयाँ नोट साट्न बैंक धाइरहनु पर्दैन। बैंकमा लम्बेतान लाइन बस्ने दिकदारी पनि हट्यो। राता खाम बोकेर गच्छे अनुसार पैसा पर्यो कि परेर भनेर दोहोर्याइ/तेहेर्याइ हेर्नुपर्ने झन्झट पनि चट भयो।
उल्लिखित प्रसंग चीनमा डिजिटल कारोबारको उदाहरण हो। हिजोआज नेपालमा पनि धेरै व्यक्तिले मोबाइलबाटै किनमेल गर्छन्। त्यस कारण यस्ता उदाहरण त्यति आश्चर्यजनक नहुन सक्छन्। तर डिजिटल मुद्रासँगै चिनियाँ चलन नै स्मार्ट बन्न थालेका अरू थुप्रै उदाहरण छन्।
सन् २०२३ को जनवरीमा म चीनको पश्चिममा पर्ने छोङचिङ सहर भ्रमणमा गएको थिएँ। छोङचिङ चीनका केन्द्रशासित चार वटा नगरपालिकामध्ये एक हो।
छोङचिङ भ्रमणका क्रममा वरफ स्केटिङ गर्ने भवनमा पुगेको थिएँ। त्यो भवनसँगै सुपरमार्केट पनि थियो। त्यसभित्र रहेको शौचालयमा पिसाब गर्न जाँदा अत्याधुनिक स्मार्ट शौचालयको अनुभूति भयो।
भयो के भने, पिसाब गर्दागर्दै आफ्नो अगाडिको सानो स्क्रिनमा आफूले गरेको पिसाबमा ग्लुकोजको मात्रा, रगतको मात्रा, प्रोटिन लगायतको चार्ट देखापर्ने रहेछ।
ओहो, पिसाब गर्दागर्दै प्रयोगशालाबाट प्राप्त हुने नतिजा सित्तैमा देखिने काइदाको स्मार्ट शौचालय!
स्क्रिनमा दाहिने कुनामा क्युआर कोड पनि थियो। त्यहाँ लेखिएको चिनियाँ भाषालाई मैले मोबाइल फोनमार्फत् अनुवाद गरेर हेरेँ।
त्यहाँ लेखिएको थियो — यदि यो रिपोर्टको प्रिन्ट कपी चाहिएमा क्युआर कोड स्क्यान गर्नुहोस् र शुल्क तिर्नुहोस्।
मोबाइलबाट शुल्क तिरेपछि प्रिन्ट रिपोर्ट पनि त्यहीँ प्राप्त हुने रे! क्या गजबको सेवा अनि व्यवसाय!
सार्वजनिक शौचालयमा पिसाब गर्दागर्दै परीक्षण भइ आउने रिपोर्ट। तस्बिरः चेतनाथ आचार्यसन् २०२४ मे ११, शनिबार नेपाल खबर अनलाइनका सीताराम बराल र राइजिङ नेपालका मोदनाथ ढकाललाई लिएर म बेइजिङको पश्चिमपट्टि रहेको पाताछू मन्दिर गएको थिएँ। बुद्धको दाँत राखिएकाले यो मन्दिरको नेपालीसँग भावनात्मक सम्बन्ध जोडिएको छ। मन्दिर घुमेर हामी पहाड चढ्न गयौं। फर्किएर गाडी चढ्न अगाडि एउटा शौचालयमा जाँदा मोदनाथ ढकाल बाहिर राखिएको स्क्रिनमा हेर्दै हुनुहुन्थ्यो।
उहाँले भन्नुभयो, 'अब्बुई, यहाँ त अनुहार देखाउँदा त ट्वाइलेट पेपर पो निस्किँदो रहेछ।'
बेइजिङका सार्वजनिक शौचालयहरू पनि स्मार्ट बनाइएका छन्। बेइजिङमा हरेक सात सय मिटरको दुरीमा सार्वजनिक शौचालय छन्। ती शौचालयमा पहिले ट्वाइलेट पेपर किन्नुपर्ने व्यवस्था थियो। शौचालयको बाहिरपट्टि क्युआर कोडलाई मोबाइलले स्क्यान गरेर पैसा तिरेपछि पेपर आउँथ्यो। अब त ट्वाइलेट पेपर किन्ने झन्झट पनि हटेको छ। शौचालय बाहिर राखिएको स्क्रिनमा केही सेकेन्ड अनुहार देखाएपछि स्वतः निश्चित मात्रामा ट्वाइलेट पेपर निस्किन्छ।
यस्तो स्मार्ट सार्वजनिक शौचालय देखेर नेपाली पत्रकारद्वयले हाँस्दै भन्नुभयो, 'यही विषयको मात्र पनि एउटा राम्रो फिचर बन्ने रहेछ!'
नेपाली पत्रकारको चीन भ्रमणकै समयमा भएको चीनको अर्को स्मार्ट कामको अनुभव यस प्रकार छ —
सन् २०१८ अगस्टमा नेपालका सात वटा प्रदेशबाट दुई–दुई जना गरी १४ जना पत्रकारहरू चीनको सिचुआन प्रान्त र बेइजिङ भ्रमणमा आएका थिए। उक्त टोलीलाई स्वागत गर्दै सँगै घुम्न म पनि बेइजिङबाट सिचुवानको छन्तु पुगेको थिएँ।
भ्रमण क्रममा अगस्ट २८ तारिख छन्तुमा रहेको सिचुआन सञ्चार समूहको कार्यालयमा लगिएको थियो। यस समूह अन्तर्गत टेलभिजन, दैनिक पत्रिका र रेडियो सञ्चालन हुँदै आएको रहेछ। कार्यालयको समाचार कक्षमा लगेपछि हामीलाई एउटा समाचार बनाउने मेसिन देखाइयो।
सिचुवान मिडिया समूहको कार्यालय भवन। तस्बिरः चेतनाथ आचार्यएक औसत मान्छे जत्रै अग्लो, तीन फिट चौडाइ, चार फिट लम्बाइ जतिको उक्त स्मार्ट मेसिनले कसरी समाचार लेख्छ भनेर हामीलाई एउटा घटनाका बारेमा बताइयो।
सन् २०११ मे ११, अपराह्न ६ बजेर ४७ मिनेट जाँदा स्पेनको लोर्कामुर्सिया भन्ने ठाउँमा भूकम्प गएको रहेछ। ५.१ म्याग्निच्युडको उक्त भूकम्प जाँदा चीनमा मध्यराति एक बजेर ४७ मिनेट गएको थियो। त्यो भूकम्प गएको तीस सेकेन्डमा उक्त मेसिनले एउटा समाचार लेखेर अनलाइनमा सार्वजनिक गरेको रहेछ। सो समाचार नै उक्त भूकम्प गएपछि अनलाइनमा प्रकाशित पहिलो समाचार रहेछ
त्यो समाचारको भाषागत शुद्धता र तथ्यगत जाँच गर्दा कुनै पनि गल्ती नभएको भनेर चिनियाँ अधिकारीहरूले हामीलाई बताएपछि नेपाली पत्रकारहरूले रोचक प्रश्न गरेका थिए, 'भविष्यमा समाचार लेख्न पत्रकार नचाहिने संकेत दियो होइन यो मेसिनले?'
मेसिनमा जडित सफ्टवेयरले भूकम्प गएको समय, यसको प्रभाव, असर, केन्द्रबिन्दु लगायत सूचना एकीकृत गरेर तीस वाक्यमा समाचार सार्वजनिक गरेको थियो। यो कुरा बताउँदै चिनियाँ अधिकारीले जनशक्ति र प्रविधि सँगसँगै बढेमा मात्र आधुनिक विकासलाई फलदायी बनाउन सकिने बताएका थिए।
आधुनिक आविस्कारका कारण समाचार लेख्ने मात्र होइन, धेरै काम स्मार्ट मेसिनले गर्न थालेको छ। हिजोआज चीनका रेस्टुरेन्टमा खाना बाँड्ने काम रोबोटले गर्छ। पाँचतारे होटलमा रूम सर्भिस रोबोटले दिन्छ। चालकबिहीन ट्याक्सी बेइजिङमा भेटिन्छन्। अनि विश्वकै पहिलो चालकबिहीन उच्च गतिको रेल पनि चीनबाट सुरू भएको छ।
सन् २०१९ डिसेम्बर ३० देखि बेइजिङदेखि चाङच्याखौसम्म चालकबिहीन उच्च गतिको रेल गुड्न थालेको हो। बेइजिङमा आयोजना हुँदै गरेको हिउँदे ओलम्पिक खेलकुदभन्दा केही दिन अगाडि, सन् २०२२ जनवरी ६ मा उक्त रेल चढ्ने मौका मिलेको थियो। लगभग १७४ किलोमिटरको यो दुरीमा गुड्ने यो रेलको गति ३५० किलोमिटर प्रति घन्टा छ। बीचमा १० वटा स्टेसन छन्।
उच्च गतिको चालकबिहीन रेलसँग। तस्बिरः चेतनाथ आचार्यसन् २०२३ फेब्रुअरी १६ मा बेइजिङको दक्षिणमा रहेको तासिङ जिल्लास्थित 'पाइतू एपोलो' कारको कारखाना अवलोकन गर्ने मौका मिल्यो। पाँचौं पुस्ताको चालकबिहीन कारमा लगभग ६ किलोमिटरको यात्रा पनि गरियो।
यस्तो कार कसरी चल्छ भन्ने कुरामा ठूलो जिज्ञासा थियो। थाहा भयो — पहिले नै आफ्नो गन्तव्यलाई इन्टरनेटमा निश्चित गरेपछि कार अगाडि बढ्ने रहेछ। कुन बाटो छिटो हुन्छ, कतापट्टि ट्राफिक जाम छ जस्ता कुरा ख्याल गरेर सिस्टमले स्वचालित रूपमा रूट निर्धारण गर्दो रहेछ। अनि चौबाटोमा ट्राफिक संकेत अनुसार अगाडि बढ्ने, अरू गाडीलाई उछिन्ने वा साइड दिने, मूल बाटोमा गति ९० किलोमिटरसम्म पुग्ने र भित्री गल्ली बाटोमा बिस्तारै चल्ने। मान्छेले जसरी चलाउँछ, चालकबिहीन कार पनि उसैगरी चल्ने रहेछ।
उक्त कम्पनीले छैटौं पुस्ताको चालकबिहीन कार बनाउँदै गरेको जानकारी पनि दियो।
चालकबिहीन कारहरू। तस्बिरः चेतनाथ आचार्यसन् २००४ मा पहिलो पटक चीन भ्रमण गर्दा मैले दुइटा कुरा ख्याल गरेको थिएँ — पाँचतारे होटलको ढोका मान्छे नजिक पुगेपछि आफै खुल्ने र सार्वजनिक शौचालयको धारा छेउ हात पुर्याएपछि आफै पानी आउने।
अहिले यस्ता कुरा सामान्य भइसकेका छन्। दिनदिनै नयाँ प्रविधि आइरहेको छ। आफू बस्ने आवासभित्र प्रवेश गर्न स्क्रिनमा अनुहार देखाएपछि मात्र ढोका खुल्छ। अनधिकृत व्यक्ति भित्र आउनबाट रोक्ने यो उपाय अहिलेसम्मको उत्कृष्ट हो। पहिले साँचो स्क्यानिङ मेसिनमा छुवाउनुपर्थ्यो। अब त्यति पनि गर्नु परेन। आउँदा आउँदै स्क्रिनले चिनिहाल्छ र प्रवेश गर्नुहोस् भन्दै ढोका खुल्छ।
सार्वजनिक पार्कमा मर्निङ वाक जाँदा प्रवेश विन्दुमै स्क्रिनले फोटो खिच्छ। फर्किने बेलामा आफूले पार गरेको दुरी र पाइला संख्यासँगै खर्च भएको क्यालोरी समेत आफै स्क्रिनमा देखिन्छ।
कारदेखि रेलसम्म, सार्वजनिक शौचालयदेखि सार्वजनिक पार्कसम्म, आवासदेखि अफिससम्म, सबैतिर हेर्दा लाग्छ— डिजिटल युगमा चीन अझ बढी स्मार्ट बन्दैछ!
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)