सबै समाजमा नदीबारे अनेक कथाहरू हुन्छन्, ठूला नदीका उदगमदेखि उपयोगितासम्म। त्यसका प्रसारण क्षेत्र र किनारतिर बस्ने समुदायका मानिसहरूमा थरीथरीका विश्वास, मान्यता र धारणाहरू हुन्छन्।
नेपालकै ठूलो र तीन देश जोड्ने एक मात्र कर्णाली नदीबारे पनि रोचक र अनौठा कथाहरू छन्।
सुर्खेतमा सञ्चालन हुने कर्णाली उत्सव 'कुडा कर्नालीका' को छैठौं संस्करण अन्तर्गत एउटा सत्रमा एक जना वक्ताले कर्णाली नदीको पानी अपवित्र रहेको र कुनै पनि धार्मिक प्रयोजनमा नचल्ने बताए।
त्यो अभिव्यक्ति अप्रमाणित, असंवेदनशील र अप्रासंगिक हो भनेर आलोचना भयो। आधुनिक समाजमा कर्णालीबारे गलत भाष्य बन्ने तर्कहरू पश्चगामी सोच हो भन्दै सहभागी, दर्शक र धेरै कर्णालीवासीले आपत्ति जनाए। यस्तो अभिव्यक्तिले बहसमार्फत कर्णालीको सामर्थ्य उजागर नगर्ने र अन्धविश्वासलाई प्रश्रय दिन्छ भन्दै धेरैले चिन्ता प्रकट गरे।
'कुडा कर्नाली' का आयोजकमध्ये एक भएकाले मसँग पनि धेरै जनाले गुनासो गरे। बहसको थलोमा बोल्ने वक्ताको विचारमा रोक लगाउन मिल्दैन तर तथ्यका आधारमा त्यस्ता विचारको परीक्षण गर्न मिल्छ।
यही मान्यताका साथ यो आलेखमा कर्णाली नदीबारे बहुआयामिक कोणबाट चर्चा गर्ने प्रयास गरिएको छ।
ती वक्ता कर्णालीकै एक जना प्रबुद्ध व्यक्ति थिए। अमेरिकाबाट मानवशास्त्रमा पिएचडी (विद्यावारिधि) गरेका, धेरै वर्ष विश्वविद्यालयमा पढाएका र एउटा प्राज्ञिक संस्थाको उपकुलपति समेत भइसकेका व्यक्तिबाट आएको धारणाको विशेष चर्चा हुने नै भयो।
कर्णाली नदी तिब्बतमा रहेको राक्षस तालबाट उत्पत्ति हुने भएकाले धार्मिक रूपमा अपवित्र मानिएको हो भन्ने उनको तर्क थियो।
मैले पनि यदाकदा त्यस्तो कुरा सुनेको थिएँ तर नदीको मुहानबारे लेखिएका कुनै पनि अन्वेषण र अनुसन्धानहरूले तर्क पुष्टि गर्दैनन्। पुष्टिबिना नै कर्णाली नदीबारे गलत भाष्य बनेको थियो। त्यसैको शिकार भएका थिए ती व्यक्ति।
हिन्दु परम्पराका पौराणिक कथाहरू वर्णन हुने संस्कृत साहित्यमा मानसरोवर र कैलाश पर्वतको विशिष्ट स्थान छ। यो क्षेत्र देवादिदेव शिवजीको निवास तथा देवताहरू विचरण गर्ने स्वर्गका रूपमा वर्णित छ। तिब्बती परम्पराका पौराणिक कथाहरूमा पनि यो क्षेत्रको विशेष महिमा छ। तिब्बती मान्यताका अनुसार चार वटा मुखबाट चार वटा नदी उत्पत्ति भएका छन्।
घोडाको मुखबाट ताम्चोक खम्बाव (ब्रह्मपुत्र), हात्तीको मुखबाट लान्चेन खम्बाव (सताद्रु/सतलज), सिंहको मुखबाट सेङ्गे खम्बाव (इण्डस्) र मयुरको मुखबाट माप्चा खम्बाव (कर्णाली नदी) उत्पत्ति भएको भन्ने विश्वास छ।
यी कुनै पनि नदी ताल वा दहबाट उत्पत्ति भएका होइनन्। कर्णाली नदी राक्षस तालबाट आएकोले अपवित्र हो भन्ने मान्यता एउटा अन्धविश्वास हो, कर्णालीको समाजमा छुइछाई (छाउपडी) जस्तै।
यसपालि उठेको बहसले केही प्रश्नमा सोच्न बाध्य बनाएको छ।
के कुनै नदी पवित्र वा अपवित्र हुन्छ? किन यस्तो भाष्य बन्छ? कहिले यस्ता धारणाहरू बन्न थाले होलान्? यससँग जोडिएका ऐतिहासिक घटनाहरू के के उपलब्ध छन्?
यिनै प्रश्नको सेरोफेरोमा रहेर कर्णालीबारे पौराणिक, धार्मिक, भूराजनीतिक र वैज्ञानिक तथ्यहरूको आलोकमा उत्तरहरू पर्गेल्ने प्रयास गरेको छु।
संस्कृतिदेखि सभ्यतासम्म नदी
सामान्यतयाः नदी पवित्रताका प्रतीक र जीवनदायिनी स्रोत हुन्। आदिमकालमा नै नदीतटका पायक पर्ने स्थानमा कृषि, पशुपालन र व्यापारको सहजताका निम्ति मानव बसोवास सुरू भयो। अनेक विशेषतायुक्त समुदाय बने।
ती समुदायमा आन्तरिक र बाह्य सञ्चार, सम्पर्क र सुरक्षाका निम्ति विशिष्ट मूल्यमान्यता र विश्वासमा आधारित परिपाटी र चालचलन विकास भयो। त्यस्ता सामाजिक व्यवहार नै संस्कृति हुन्। त्यस्ता संस्कृतिका जगमा प्राचीन सभ्यताहरू बने। सिन्धु र सतलज नदीको प्रसरण क्षेत्रमा प्रख्यात सिन्धुघाटी सभ्यता विकसित भएको थियो। 'सिन्धु' शब्दबाट नै 'हिन्दु' बनेको भन्ने पनि मानिन्छ।
संस्कृति र सभ्यता प्राकृतिक अवधारणा होइनन्। समाजमा जो शक्तिशाली छ, उसैको प्रभाव वा दबाबमा सामाजिक मान्यता र धारणाहरू परिवर्तन वा पुनर्व्याख्या भइरहेका हुन्छन्। त्यस्तो शक्ति बाहुबल र धनबल हुने तथा ज्ञानसीप निर्माणमा पकड र पहुँच हुनेहरूले आफ्नो पक्षमा प्रयोग गरिरहेका हुन्छन्।
तिब्बत, नेपाल र भारततिरको इतिहासमा पनि लामा, जोगी, साधुसन्त, व्यापारी, सैन्य भारदार तथा राजाहरूका कारण अनेक उथलपुथल भएका छन्। यहाँ गुफा, गुम्बा, मठ, मन्दिर र दरबारहरू शक्ति संगठन बनेर आए। यसै क्रममा शक्ति उन्माद र दम्भका कारण विरोधी, विपक्षी र कमजोरका पहिचानहरू हटाउने र मेटाउने गरियो। फरक भाष्यहरू बनाएर होच्याउने उपक्रम चलिरह्यो।
कर्णाली नदीबारे बनेका नकारात्मक भाष्यहरू पनि यस्तै उपक्रमको परिणाम हो।
दस्ताबेजमा कर्णाली नदीको उत्पत्ति प्रसंग
वैदिककालदेखि नै भारतीय उपमहाद्वीपका मानिसहरू हिमालय पर्वतक्षेत्रतिर तीर्थ यात्रा गर्थे। समाजमा यात्राका वर्णनहरू रोचक कथाका रूपमा सुनाउन चलन थियो।
कैलाश दर्शन गर्न जानेहरू तिब्बती पठारको सबैभन्दा उचाइमा अवस्थित जलाशय मानसरोवरमा स्नान गर्दा शुद्ध हुने र पुण्य प्राप्ति हुने विश्वास गर्थे। त्यसको पश्चिमतर्फ केही होचो स्थानमा अवस्थित अर्को दह छ, जुन आजकाल राक्षस ताल भनेर चिनिन्छ। यसको कुनै धार्मिक महत्त्व थिएन।
स्वामी प्रणवानन्दको किताब (सन् १९४९) मा उल्लेख भए अनुसार सोह्रौं शताब्दीको मध्यतिर मुगल बादशाह अकबरले गंगाको स्रोत पत्ता लाउन एउटा टोली खटाएका थिए। त्यही टोलीले पहिलो पटक मानसरोवर पुगेर सतलज र ब्रह्मपुत्र नदीको स्रोत मानसरोवर रहेको तथा सरयु नदीको उत्पत्ति राक्षस तालबाट निष्कर्ष निकालेको थियो।
कर्णाली नदी भारत प्रवेश गरेपछि घाघरा भनेर चिनिन्छ। त्यही नदी अयोध्या पुगेपछि सरयु भनिन्छ। सायद त्यही बेलादेखि केही सम्प्रदायमा कर्णालीबारे गलत भाष्य बनेको हुन सक्छ।
अठारौं शताब्दीको उत्तरार्धमा ब्रिटिस भारतका तीर्थयात्री र अन्वेषकहरूले यो क्षेत्रमा गरेका यात्रा र अध्ययनका नतिजाहरू लेख्न थालेको पाइन्छ।
विशेषगरी उन्नाइसौं शताब्दीको सुरूआतदेखि बीसौं शताब्दीको मध्यसम्म सामरिक, व्यापारिक र आध्यात्मिक उद्देश्यले भारतका भञ्ज्याङहरू काटेर सयौं यात्रीहरू पश्चिम तिब्बत पुगे। हरबल्लभ (सन् १७९६), विलियम मुरक्रफ्ट (सन् १८१२), हेनरी स्टार्ची (सन् १८४६), रिचार्ड स्टार्ची (सन् १८४८), इकाइ कावागुची (सन् १९००), स्भिन हेडिन (सन् १९०७–१९०८), श्री हंस स्वामी (सन् १९०८), जिसेप टूची (सन् १९२५), स्वामी प्रवणान्द (सन् १९२८–४४) आदिका दस्ताबेजहरू प्रख्यात छन्।
उदेक लाग्दो के छ भने, ती कोही पनि यात्री कर्णालीको बाटो हिँड्न पाएनन्। गोर्खालीले जितेपछि राणाशासन अन्त्य नहुन्जेल दुई शताब्दी भर यो क्षेत्रमा बाह्य मानिसको प्रवेश निषेध थियो।
राणाशासन समाप्त भएपछि मात्रै पहिलो पटक कर्णालीमा बाह्य अन्वेषकहरू गए।
तिब्बतमा दशकौं अध्ययन गरेका जिसेप टुची (सन् १९५६), भारतमा अध्ययन गरी नेपालको इतिहास अन्वेषण गर्न जुटेका नरहरिनाथ (सन् १९५५), प्रशासनिक जिम्मेवारीमा रहेर कैलाश यात्रा गर्ने देवीचन्द्र श्रेष्ठ (१९७७), पछिल्लो चोटि मुहानबाट पुछारसम्म यात्रा गरेका पत्रकार रमेश भुसाल (सन् २०२४) का अध्ययन र अनुभवमा आधारित पुस्तकहरू महत्त्वपूर्ण छन्।
यी अध्येता र लेखकहरू कसैलाई पनि कर्णाली नदीको उदगमस्थलबारे दुबिधा छैन। सबैले कर्णाली नदीको उदगम माप्चा चुंखो हो भनेका छन्। बरू सतलज नदीको उदगम बिन्दु राक्षस ताल र ब्रह्मपुत्र नदीको उदगम बिन्दु मानसरोवर ताल हो कि होइन भन्ने बहस उहिल्यैदेखि निरन्तर चलिरहेको पाइन्छ।
कर्णालीको उदगम स्थलबारे
नेपाल र तिब्बत सीमाको हिमालय पर्वत शृंखलाअन्तर्गत हुम्ला जिल्लामा नालकंकर हिमाल छ। त्यसैसँग जोडिएको एउटा सानो श्रेणीको हिमशृंखलाको नाम पनि नालकंकर हो।
यसै हिमशृंखलाको पश्चिममा सबभन्दा अग्लो गुर्ला हिमाल (७,७२८ मिटर) छ। यो हिमाललाई तिब्बतीहरू 'म्हेमो न्याम निम्री' वा 'नेमो नामी' पनि भन्छन्। भारतीय यात्रीले यसलाई 'मान्धाता हिमाल' पनि लेखेका छन्। यो हिमार्ल अचेल 'गुर्लामान्धाता' भनेर चिनिन्छ।
यही हिमालको फेदमा रहेका मुहान र केही अन्य चुचुराको उत्तरी मोहडामा थुप्रेको हिउँ (ग्लेसियर) माप्चाचुंगो ग्लेसियर पग्लेर आउने हिमनदीबाट कर्णाली बग्छ। चिनियाँ र जापानी सहितको टोलीले सन् १९८५ मा यस हिमालको सफल आरोहण गरेको थियो। गुर्ला हिमालको समानन्तर उत्तरतर्फ कांग्री हिमाल (६,६३८ मिटर) छ। कैलाश हिमाल भनेको यही हो।
कैलाश पर्वतलाई तिब्बतीहरू 'कांख रिम्बो छे' भन्छन्। कांग्री र गुर्ला हिमाल बीचको पठारमा ती दुई हिमाली क्षेत्रको पानीढलो जम्मा हुने दुई जलाशय छन्। तिनैमध्ये एउटा छो मापांग (मानसरोवर) र अर्को छो लागम (राक्षस ताल/लंकारी दह) हो।
मानसरोवर समुद्र सतहबाट करिब ४,६१० मिटरमा उचाइमा छ। त्यसको पश्चिमतिर पर्ने राक्षस ताल करिब ४,५८० मिटरमा छ। वर्षामा जलाशय भरिँदा यदाकदा मानसरोवरको पानी राक्षस तालमा झर्छ। यसरी पानी बग्ने १० किलोमिटर लामो खोल्सो गंगा छु (गंगा नदी) भनेर भनिन्छ।
गुर्लामान्धाता हिमाल क्षेत्र आसपासको उत्तरी पानीढलो घाँसे मैदान हुँदै मानसरोवरमा मिसिन्छ। उत्तरपश्चिम र पश्चिमको पानी ढलो जम्मा भएर कर्णाली बन्छ। कर्णालीमा पुरांगको पश्चिमतर्फ रहेको लिम्पियाधुराभन्दा उत्तरको पानी ढलो पनि मिसिन्छ। राक्षस तालको दक्षिण र दक्षिणपूर्वतिर कडा चट्टानी डाँडाहरू छन्।
यिनै डाँडाहरूको पास (४,७५० मिटर) पार गरेर नेपालको हिल्साबाट बुरांग सिटी (ताउलाखार) हुँदै मानसरोवर पुग्ने सडक गएको छ। त्यसैले यहाँको पानी दक्षिण बग्दैन। यसको अर्थ हो, कर्णाली राक्षस तालबाट उत्पत्ति हुँदैन।
यही पठार विश्वकै उच्च भूमि वा विश्वको छानो मानिन्छ। कैलाश क्षेत्र वैदिक सनातन, हिन्दु, बौद्ध, बोन्पो, जैन, ताओ, सिम्तो, कन्फुसियस, किराँत, र शिख धर्मावलम्बीहरूको साझा र पवित्र तीर्थस्थल हो। कैलाश क्षेत्र सन् २०१७ मा युनेस्को विश्व सम्पदाको अस्थायी सूचीमा राखिएको छ।
परम्परागत मान्यतामा कर्णाली नदी अर्थात माप्चा खम्बाव उत्पत्ति भएको मानिने स्थान 'माप्चा चुंगो' भनेर भनिन्छ। यो ठाउँ हाल पश्चिम तिब्बतको 'नांग्री प्रिफेक्चर' अन्तर्गत बुरांङ काउन्टीमा पर्छ। यही नदीको किनारमा अवस्थित बुरांङ बजारलाई नेपालीहरू ताक्लाकोट (जुम्लातिरको बोलीमा ताउलाखार) भन्छन्।
खार भनेको किल्ला हो। उहिले खस साम्राज्यकाल, त्यसपछि ताक्लाकोट र मानसरोवार जुम्ला राज्यअन्तर्गत रहेको भन्ने इतिहास छ। स्थिर सीमा नतोकिने त्यो जमानामा मानसरोवर क्षेत्रको स्वामित्वका लागि पटक पटक ताउलाखारमा युद्ध भइरह्यो। जुम्लातिरको लोकसाहित्यमा ताउलाखारको लडाइँबारे उल्लेख हुन्छ।
हिमाल वारपारको यात्रा गर्नुपर्ने हुनाले जुम्लातिर अझै पनि कसैले नसक्ने फूर्ति लगायो भने 'यही गतिले, यही मतिले जाउला ताउलाखार' भन्ने उखान प्रचलित छ। ताक्लाकोट नजिकै नेपालतर्फ कर्णाली नदी किनारामा प्रसिद्ध खोचरनाथ गुम्बा छ। यो गुम्बा बौद्ध र हिन्दु दुवैको पवित्र तीर्थ हो।
खोचरनाथमा खस राजाहरू दीक्षा लिन जाने परम्परा थियो। यस कारण खस साम्राज्यमा बौद्ध र हिन्दु परम्पराका विशिष्ट संकेतहरू भेटिन्छन्। दीपांकरले सन् १०३९ को एक ऋतु खोचरनाथ गुम्बामा बिताएका थिए भनेर प्रणवान्दले लेखेका छन्। ताउलाखार निकै चल्तीको पुरानो व्यापारिक स्थल हो।
नेपाल, भारत र तिब्बतको त्रिदेशीय व्यापार केन्द्रका रूपमा परिचित थियो। इतिहासमा कर्णालीको हुम्ला, मुगु र डोल्पाबाट मात्रै २२ वटा नाकामार्फत तिब्बत आवतजावत हुन्थ्यो भनेर प्राज्ञ रत्नाकर देवकोटाले सूची बनाएका छन्।
पौराणिक मान्यताको विकास
हिन्दु परम्परामा कैलाश तथा हिमालय पर्वत देवादिदेव शिव, पार्वती र कोटीकोटी देवताको क्रिडास्थल हो भन्ने विश्वास छ। बौद्ध परम्परामा पाँच सय बोधिसत्वहरू यहीबाट महाज्ञान प्राप्त गरेर विश्वभर छरिए भन्ने विश्वास छ।
राक्षस ताल पाँच वटा हिमाल मिलेर बनेको हो भन्ने तिब्बती विश्वास छ। मानसरोवर ब्रह्माले उत्पत्ति गरेका हुन् भन्ने पौराणिक मान्यता छ। रामायण र अन्य कथामा राणव शिवजीका सबभन्दा ठूला भक्तका रूपमा चित्रित छन्। त्रेता युगमा रावण महादेवको आराधना गर्न कैलाश क्षेत्र आएर दुइटा जलाशय माझको द्वीपमा बसेका थिए रे!
कठोर शिवभक्त रावणले प्रतिज्ञा गरी हरेक दिन एउटा शिरोच्छेदन गर्दै चढाउँदा दसौं दिनमा महादेव प्रकट भएका थिए रे! यसरी यो जलाशयमा रावणको हाडमासु र रगत परेको थियो भन्ने मानिन्छ।
कैलाश पर्वतको शिखरमा शिव र पार्वती मात्र बस्छन् भन्ने विश्वास छ। रावणले आफ्नो भक्ति प्रमाणित गर्न कैलाश पर्वत नै उचालेका थिए रे! दक्षिण भारतका मन्दिरमा त्यसरी शिखर उचालेका प्रतिमाहरू बनेका छन्। प्रसिद्ध संगीत 'शिवताण्डवोस्तोत्रम्' को रचना रावणले गरेको भन्ने विश्वास छ। रावण आफ्नै शरीरका मांसतन्तुबाट बनेको वीणा बजाउँथे रे!
एक पटक महादेवको दर्शन गर्न रावण कैलाशको चुचुरो नै चढ्न पुगेछन्। रावणको आराधानामय संगीतले लट्ठ परेका शिवजीलाई पार्वतीले कोही जथाभावी आइरहेको भने धपाउन बिन्ती गरिछन्। महादेवले लात्तीले बजार्दा रावण लर्खराउँदै पछारिएछन्।
कैलाश पर्वतका मोहडाहरू देखिने आकृति रावण लछारिएका डोब हुन् भनेर दक्षिण भारतका सदगुरूहरू पनि कथा सुनाइरहेका हुन्छन्। हिमालको दक्षिणी मोहडाको हिउँ पग्लेको पानी र आसपासका मुहान रसाएको पानी बग्ने डोबजस्ता खोल्साहरू झरेर राक्षस तालमा जोडिन्छन्।
कैलाश पर्वत ग्रेनाइटका पत्रे चट्टानले बनेको छ। त्यसैले यो हिमाल सेता र बैजनी रेसाजस्ता डोरीले बेरिएझैं देखिन्छ। यही दृश्यका आधारमा मानिसहरू तालमा बस्ने राक्षसहरूले डोरी लगाएर शिवजीको मुकुट खोस्ने प्रयास गरेका थिए भन्ने कथा सुनाउँछन्।
यस्ता अदभूत र रोमाञ्चक कथाहरू सुन्ने–सुनाउने परम्परा छ। कतिपय धार्मिक, सामाजिक मान्यता र प्रचलनका जगहरू यस्तै कथाले निर्माण भएका हुन्छन्।
रावणले टाउको चढाएको र उसको रगत मिसिएको जलाशय भनेर अशुभ मानियो, त्यहाँको पानी अपवित्र मानियो। रावणलाई राक्षस मान्ने मतले यो दहको नाम 'राक्षस ताल' राख्यो। रावणलाई लंकेश मान्ने मतले 'लंकारी दह' भन्यो। रावणले सीता माताको अपहरण गरेकाले उनलाई रामभक्तहरू राक्षस मान्छन्। शिवभक्त भएर पनि जोगीको रूप धारण गरेर सीता अपहरण गरेकाले शिवभक्त साधुसन्तहरू रावणलाई महापापी ठान्छन्।
सन् १८४६ मा हेनरी स्ट्राचीले राक्षस तालतिरको यात्रामा जाँदा बाटोमा भेटिएका जोगीहरूले ताल र हिमालबारे बताएका कतिपय कुरा भ्रमित पार्ने र अन्धविश्वासपूर्ण रहेको पाएका थिए। यस किसिमको अन्धविश्वास भारतमा धेरै छ। विभिन्न कालखण्डमा नेपालतिर विचरण गरेका कतिपय जोगी, साधुसन्त, पण्डित र धर्मगुरूले अनेक कथा सुनाएर आफ्ना अनुयायीको मनमा अन्धविश्वास जगाए। त्यसको अवशेष बाँकी छ!
सन् १८४६ को नक्सा, हेनरी स्टार्चीको पुस्तकबाटनदीको पवित्रता र गंगाको अवधारणा
नदीको उदगम पहिल्याउन पानीढलो, दुरी, स्रोत, आकार र परिणाम सम्बन्धी सिद्धान्तहरू छन्। पौराणिक विश्वासको आधारबाहेक हाल स्थापित कुनै पनि सिद्धान्तका आधारमा मानसरोवर वा राक्षस ताल नदीका वास्तविक मुहान होइनन्।
पौराणिक विश्वास निकै गाढा हुन्छ। भारतका हिन्दुहरू र पश्चिमा जगत समेतलाई हिन्दुस्तानको मैदानमा बग्ने गंगा नदी कैलाशबाट उत्पत्ति हुन्छ भन्ने विश्वास छ।
सन् १७१५ मा मानसरोवर क्षेत्र पुगेका दुई जना रोमन क्याथोलिक पादरीहरूले पनि गंगा नदीको उदगम कैलाश मानसरोवर हो भन्ने लेखेका थिए। सन् १८६४ मा यात्रा गर्ने अन्वेषक वेवरले त गंगाको उत्पत्तिस्थल गुर्ला हिमाल हो भनेका थिए। स्थानीय गाइडको भनाइ र बुझाइमा मात्रै आधारित भएर लेखिएका दस्ताबेजमा त्यस्ता भ्रमहरू भेटिन्छन्।
हिमालबाट बग्ने नदीलाई गंगा भन्ने चलन छ। नेपालमा बग्ने कतिपय नदी पनि गंगा भनिन्छन्। कालीगंगा, सेतीगंगा, धौलीगंगा यस्तै नदीहरू हुन्। बाजुरा हुँदै बग्ने कर्णालीको एउटा सहायक नदीको नाम बुढीगंगा हो।
गंगा शिवजीको जटाबाट उत्पत्ति भएको भन्ने विश्वास गरिन्छ। शिवजी बस्ने कैलाशभूमि स्वर्ग मानिन्छ। हिमालय पर्वतमा देवताको बास हुन्छ भन्ने विश्वासका आधारमा गंगा 'त्रिलोक पथगामिनी' मानिन्छ। हिमालबाट बग्ने गंगाले नदी स्वरूपमा स्वर्ग र धर्तीलाई जोड्ने सेतुको काम गर्छिन् भन्ने विश्वास छ। यही विश्वासका कारण मानिसहरू संगम र त्रिवेणीहरूमा स्नान, दाहसंस्कार र श्राद्धतर्पण गर्छन्।
नदीको गुणबारे पनि अनेक विश्वासहरू बनेका हुन्छन्।
हामीले चर्चा गरिरहेको चार वटा नदीबारे पनि यस्ता विश्वासहरू छन्। मयुर मुखबाट उत्पत्ति भएको कर्णाली नदीको पानी न्यानो छ भन्ने मानिन्छ। सतलजको पानी खाए हात्तीझैं बलियो, कर्णालीको पानी खाए मयुरझैं सुन्दर, ब्रह्मपुत्रको पानी खाए घोडाझैं बलियो र सिन्धुको पानी खाए सिंहझै शक्तिशाली हुन्छ भन्ने विश्वास छ।
गंगा स्वरूपमा कर्णाली
कर्णाली पनि हिमाच्छादित गंगा नदी हो। उच्च पठार, हिमाल र गहिरा खोचबाट गड्गडाउँदै बग्ने कर्णाली नदी गंगाकै समानार्थी हो।
जुम्ला क्षेत्रमा प्रायः सबैजसो ठूला र मझौला नदीलाई 'करनाली' वा 'कर्नाली' वा 'कर्णाली' भन्ने/लेख्ने गरेको पाइन्छ। हुम्ला हुँदै बग्ने ठूलो नदी हुम्ला–कर्णाली र मुगु हुँदै बग्ने नदी मुगु–कर्णाली हुन्। मुगुमा मिसिने अर्को नदीको नाम दोल्फु–कर्णाली छ।
तिला नदीमा जवा र हिमा नदी मिलेर हालको कालिकोट हुँदै बग्नेलाई तिला–कर्णाली भनेर चिनिन्छ। त्यही नदी तिला र कर्णालीको संगमभन्दा माथितिर मैपानी–कर्णाली भनेर चिनिन्छ।
त्यतै मिसिने अर्को एउटा नदीलाई रूप्सा–कर्णाली लेखेको पाइन्छ। हेनरी स्ट्रार्चीले आफ्नो यात्रा वर्णनमा कर्णालीमा भेरी आएर मिसिएपछिको नदीलाई भेरी–कर्णाली लेखेका छन्।
जुम्लाका प्राज्ञ रत्नाकर देवकोटाले नेपालभित्र मात्रै कर्णाली नदीमा १४८ वटा नदी र खोलाको पानी मिसिन्छ भनेका छन्। यसको प्रसारण क्षेत्रमा झन्डै त्यति नै टाकुरा र हिमालहरूको नामसूची पनि उल्लेख गरेका छन्।
प्रायः यी सबै टाकुरा, हिमाल र लेक धर्मिक रूपमा पवित्र मानिन्छन्। कैलाश क्षेत्र, छाया क्षेत्र, ऋणमोक्ष, ठाकुरज्यू, बडीमालिका, चुलीमालिकाका पवित्र कुण्ड र मूलको जलधार बगेर कर्णालीमा मिसिएका छन्।
कर्णालीको पौराणिक महत्त्व
पौराणिक विश्वासका आधारमा बनेका गलत भाष्य त्यस्तै पौराणिक प्रसंगका महत्त्व र विशिष्टता उजागर गरेर दृष्टिकोण बदल्न सकिन्छ। पौराणिक कथा अनुसार संसारको केन्द्रस्थल रहेको मेरू पर्वतलाई नै सुमेरू पर्वतपनि भनिन्छ। सुमेरू पर्वतको चारै दिशामा रहेर चार वटा गजदन्त पर्वतहरूले ब्रह्माण्ड सन्तुलन बनाएका छन्।
ती चार वटामध्ये एउटा गन्दमादन पर्वत हो। कैलाश पर्वत पृथ्वीको नाभीस्थल मानिन्छ। त्यसैले कैलाश नै सुमेरू पर्वत हो। यही पर्वतको दक्षिणमा अवस्थित गुर्ला हिमाल नै गन्दमादन पर्वत हो। कालान्तरमा मानन्धाता नाउँ गरेका महाभारतकालीन राजाको नामबाट गुर्लामान्धाता भनियो।
भारत वर्षमा पहिलो पटक मानसरोवर पत्ता लगाउने व्यक्ति मान्धाता राजा नै थिए भन्ने विश्वास गरिन्छ। गन्दमादन पर्वत त्यही पर्वत हो जहाँ कलियुगमा हनुमानजी विचरण गरिरहेका छन्। हाम्रा पौराणिक कथामा रहेका अष्टचिरञ्जीविमध्ये हनुमानजी पनि एक हुन्।
निषेधित युगबाट गुज्रेको कर्णाली
माथि नै चर्चा गरियो कि कैलाश मानसरोवर क्षेत्रको यात्राबारे लेख्ने तीर्थयात्री र अन्वेषकहरू नेपालको बाटो हिँडेनन् वा उनीहरूलाई नेपाली भूमिबाट यात्रा गर्न निषेध थियो। स्थानीय नेपाली व्यापारी र तीर्थयात्रीहरूमा आफ्ना अनुभव लेख्ने परम्परा विकास भएको थिएन। यस कारण बीसौं शताब्दीको मध्यसम्म खोचरनाथ भन्दा दक्षिणतिर पर्ने भूमि कर्णालीबारे हाम्रो इतिहास पूरै अज्ञात छ।
ब्रिटिसराजमा यात्रा गर्नेहरू सेनाका अन्वेषक वा सर्भेयर हुन्थे। उनीहरूको रूचि अज्ञात भूमिको जानकारी बटुल्ने र नक्सांकन गर्दै ब्रिटिस शासनको निम्ति रणनीतिक सूचना प्रवाह गर्ने हुन्थ्यो। उनीहरू भेष बदलेर, स्थानीय शक्ति केन्द्रलाई फकाएर वा प्रलोभनमा पारेर भारतको भूमि हुँदै यात्रा गर्थे। त्यस्तै यात्रा क्रममा प्रसंगवस गोर्खाली भूमि वा नेपालको अवस्थाबारे केही चर्चा गरेको पाइन्छ। त्यसले त्यो समयको नेपाल र कर्णाली क्षेत्रको नाजुक अवस्थाबारे केही छनक दिन्छ।
सन् १८१२ मुरक्रफ्टले भारतको नीतिपास हुँदै मानसरोवरको यात्रा गरेका थिए। उनले हिन्दुस्तानमा बग्ने ठूला नदी गंगा, काली, सतलज आदि मानसरोवरबाट उत्पत्ति हुन्छन् भन्ने सुनेका थिए। त्यहीँ पुगेर अवलोकन गरेपछि उनले मानसरोवरबाट कुनै पनि नदी उत्पत्ति हुँदैन भनेर लेखे। उनी कैलाश मानसरोवरको सर्भे गर्ने पहिलो बेलायती हुन् भनिन्छ।
त्यति बेला कुमाउँसम्म गोर्खाली राज थियो। उनले ऋषिकेश जोशीमोठ हुँदै यात्रा गरेका थिए। फर्कने बेला घुसपैठको आशंकामा गोर्खालीले उनलाई केही दिन बन्धक बनाएका थिए। त्यसको केही वर्षपछि सुगौली सन्धि भएर नेपालको हालको सीमा महाकाली कायम भएको थियो।
मुरक्रफ्टको अध्ययन अपूरो ठानेर हेनरी स्टार्चीले सन् १८४६ मा राक्षस तालको अध्ययन गरे। त्यति बेला उनी पिथौरागढको बाटो लिपुपास हुदै तिब्बत गएका थिए। उनले 'कमजोर गोर्खाली राज्यले सुरक्षा दिन नसक्दा हुम्ला र जुम्लामा निकै अराजकता छ, पुराङको बाटो सहज र खुलै भए पनि त्यो बाटोबाट व्यापार गर्न सुरक्षा छैन' लेखेका थिए। त्यति बेला ताक्लाकोटतिरको शान्ति पनि खलबलिएको थियो।
सन् १८४१ म त्यहाँ शिखहरूले आक्रमण गरेका थिए। त्यस कारण तिब्बतीहरू दाह्री भएका फकिर यात्रीहरूसँग सशंकित हुन थाले। युद्धपछि भारतीय साधुसन्त, फिरंगी ब्रिटिस सुराकीहरूको घुसपैठ रोक्न चीनका मिलिसियाले तीर्थयात्रीहरूलाई असाध्यै केरकार गर्ने, दुःख दिने र पिट्ने गरेका थिए।
सन् १८५५ मा नेपाल–तिब्बत युद्ध हुँदा बेला गोर्खाली सेनाले ताक्लाकोट कब्जा गरेको थियो तर थापाथली सन्धि त्यो क्षेत्र फिर्ता भयो। त्यसपछि पश्चिम तिब्बतमा व्यापार र तीर्थ यात्रा केही सहज भयो। सन्धि काठमाडौं र ल्हासाबीचको सम्बन्धमा बढी केन्द्रित थियो। सन् १९३० तिर फेरि तिब्बतसँग समस्या आयो, गम्भीर मतभेद भयो र व्यापार अवरोध भयो।
कैलाश यात्रा गर्ने सबैले बाटोमा तिब्बती समूहको डकैती र लुटपाटको त्रास बेहोर्नु पर्थ्यो। यात्राका क्रममा कठ्यांग्रिएर, भोकमरी लागेर वा डाँकुले हत्या गरेर कयौं योगी र साधुसन्त मरे। सन् १९०८ मा भारतको बाटोबाट मानसरोवर भ्रमण गरेका योगी भगवान श्रीहंसले बाटोमा बन्दुक र चक्कु बोकेका घोडसवार तिब्बती डाकुहरू भेटेका थिए।
बम्बै विश्व विद्यालयका विद्यार्थी रहेका उनले सपनामा दत्रात्रय (आदि योगी) को दर्शन पाएपछि उनी योगी बने। उनले विशाल हिन्दु परम्पराका लागि विशिष्ठ र नाम चलेको तीर्थस्थल भए पनि मानसरोवर र कैलाश आसपासमा कतै पनि मन्दिर वा हिन्दु संकेत नभेटिएको उल्लेख गरेका छन्।
इटालीका जिसेप टूची सन् १९२५ मा तिब्बतका गुगे र मानसरोवर लगायत क्षेत्र अन्वेषण गर्दै थिए। त्यस क्रममा उनलाई दक्षिणतिरको भूभाग अर्थात कर्णाली क्षेत्रको प्रसंगले आकर्षित गरेको थियो। तर नेपालले त्यो क्षेत्र भ्रमण गर्न निषेध गरेको थियो। सन् १९५४ मा राणा शासन ढलेपछि मात्र उनले पश्चिम नेपाल घुम्न पाएका थिए।
उनले आफ्नो अध्ययनपछि जुम्लाबारे एउटा 'खस साम्राज्यको केन्द्रीय भूमि रोम जत्तिकै विशाल छ' भनेर निकै सारगर्भित पंक्ति लेखे।
उहिले मानसरोवरमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्थ्यो। कुम्भ स्नानका निम्ति उत्तरको मंगोलियादेखि दक्षिणको भारत वर्षसम्मका तीर्थयात्रीहरू भेला हुन्थे।
भूराजनीतिक उथलपुथलका कारण पछिल्लो केही सय वर्षदेखि तिब्बतको धेरै भूभाग बाह्य मानिसका निम्ति निधेषितझैं बन्यो। अचेल तीर्थयात्रीहरू कैलाश, मानसरोवर, खोचरनाथ र तीर्थपुरी मात्र घुम्न प्रवेश पास पाउँछन्। केही वर्षयता भारतीयका निम्ति यात्रा निषेध नै छ।
जटिल भूगोल र गहिरो खोंच हुँदै बग्ने भएकाले नदी किनारामा मानवबस्ती अत्यन्त पातलो छ। यहाँको पानी आसपासका बस्तीमा सिँचाइ गर्न वा खानको निम्ति पनि पायक पर्दैन। प्रयोजनविहीन कर्णाली नदीको विम्ब बनाएर कैयौं दुःखका कथा र गीत बनेका छन्।
निरन्तर बगिरहेको नदीबाट सामाजिक तथा आर्थिक लाभ नआउन्जेल मानिसले नदीलाई वास्ता गर्दैन। अझ अन्धविश्वासले अवस्था झन् गिजोल्छ।
विगतका अवस्था र भ्रमबाट मुक्त हुँदै आधुनिककालमा कर्णाली नदीको महत्त्वबारे परिचर्चा गर्नु आवश्यक छ। नेपालमा कर्णाली नदी मानवको अवरोधबिना स्वतन्त्र बगिरहेको एक मात्र ठूलो नदी हो। यसको जलप्रवाह नबिगारीकन प्रचुर मात्रामा बिजुली उत्पादन हुने सम्भावना छ। पूर्वाधारमा प्राथमिकता दिने हो भने यही नदीको प्रवाह क्षेत्र हुँदै उत्तर दक्षिण जोड्ने द्रुतमार्ग बनाउन सकिन्छ जसले यहाँको सामाजिक र आर्थिक जीवन रूपान्तरण गर्दै कर्णालीप्रतिको दृष्टिकोण बदल्न सक्छ।
कर्णाली नदीबारे पछिल्लो पटक सन् २०१८ मा नेपालका मेघ आलेको नेतृत्वमा वैज्ञानिक, समाजशास्त्री र पत्रकार सामेल टोलीले मुहानदेखि पुछारसम्मको अन्वेषण गरेको थियो। उनीहरूका अनुसार कर्णाली नदीको पानी उच्च गुणस्तरको छ। विशिष्ट भूगोल, उचाइ र तापक्रममा अनुकूल प्रभाव पार्ने विशिष्ट प्रजातिका जलचर र सुक्ष्मजीवको प्रचुरता छ।
नदी आफैमा पवित्र वा अपवित्र हुँदैन।
अहिलेसम्म तुलनात्मक रूपमा स्वच्छ बगिरहेको कर्णाली नदी पवित्र छ, जीवनदायीनी छ। यहाँका बस्ती नजिक दोभान र त्रिवेणीहरूमा आध्यात्मिक ऊर्जा उपलब्ध छ।
श्रीमदभागवद गीता भन्छ – उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।
यसको आसय हो – आत्माको उद्धार आफै गर्नू, आफैलाई नहोच्याउनू।
कर्णाली नदीका सम्बन्धमा पनि यही सूत्र लागू हुन्छ।
(लेखक माधव चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका, लाम्रागाउँका बासिन्दा हुन्। उनले 'सपादलक्ष कर्णाली' किताब लेखेका छन्)
माधव चौलागाईंका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्
एक्स- @madhavjee