ज्ञानेन्द्र शाहको फेरि राजा हुने अभियानलाई मैले गम्भीरतापूर्वक लिएको छैन। कुनै दिन उनी राजा भएछन् भने 'बधाइ छ, ज्ञानेन्द्र जी' भनौंला।
यो लेखमा उनलाई सिंहासनमा फर्काउन चलिरहेको आन्दोलनको कारण र यसको लोकप्रियताको कुरा गरौं।
लेखको पहिलो अंशमा राजा फर्काउने अभियानले पाइरहेको 'स्पेस' का विषयमा चर्चा गर्नेछु। दोस्रो अंशमा राजनीतिक दलको अकर्मण्यता र यसमा उनीहरूको जिम्मेवारीलाई केलाउनेछु।
तानाशाहहरू उदाउँछन् र अस्ताउँछन्। तर शक्तिमा रहँदा जतिसुकै क्रुर भए पनि तानाशाही ढलेपछि उनीहरूका प्रशंसक निमिट्यान्न हुँदैनन्। युगान्डाका इदि अमिन, हेटीका 'बेबी डक' जाँ-क्लड डुभेलर, लिबियाका कनल गदाफी, इजिप्टका होस्नी मुबारक, जिम्बाब्वेका मुगाबेलाई अहिलेसम्म श्रद्धापूर्वक सम्झिने मानिस ती देशमा छन्। उस्तै अर्का जब्बर तानाशाह फर्दिनन्द मार्कोसप्रतिको मोहका कारण त्यहाँका जनताले उनका छोरालाई देश चलाउन योग्य ठाने र बोङ्बोङ् मार्कोस अहिले फिलिपिन्सका राष्ट्रपति छन्।
सत्तामा हुँदा बिल्कुल नरूचाइएका यस्ता तानाशाहलाई सत्ताबाट हटेपछि मानिसहरू किन श्रद्धापूर्वक सम्झिन्छन्? उनीहरूप्रतिको सम्मान बिस्तारै किन बढ्छ?
यी प्रश्नका जबाफ सरल अवश्य छैनन्। यसका लागि मनोविज्ञान र समाजशास्त्र दुवै खाले दृष्टिकोणहरूलाई केलाउनुपर्ने हुन्छ।
दासताप्रतिको आशक्ति मानव मस्तिष्कको प्राकृतिक, जैविक चरित्र पनि हुन सक्छ। कसैको चरणमा आफूलाई समर्पण गर्नमा, कसैको पैतालामुनि दबिनमा, कसैलाई आफूभन्दा महान र विशिष्ट भन्न पाउनुमा, कसैलाई निरपेक्ष ठान्नुमा एकप्रकारको आनन्दको अनुभूति जोडिएको हुन सक्छ। साहित्य र इतिहासका केही घटनाले मानिसमा गढेर रहेको दास प्रवृत्तिलाई उजागर गरेका छन्।
तानाशाहीको एक प्रमुख अस्त्र नियन्त्रण हो। मानिसले नियन्त्रणमा सुरक्षा देख्छ। नियन्त्रणको बलमा तानाशाहीले आम मानिसलाई झुटमुटको भए पनि स्थिरता, अनुशासन र राष्ट्रप्रेमको अनुभूति दिएको हुन्छ। सत्ता र शक्तिबाट धपाइएका नेपालका ज्ञानेन्द्र शाहदेखि आजको दिनसम्म सत्ताको आनन्द लिइरहेका इथियोपियाका सेलासेसम्म, सबै निरंकुशतावादीले आफू देशको एक मात्र रक्षक भएको, अनुशासन नै सर्वोपरी भएको र आफू सत्तामा रहँदा सबै कुरा अपेक्षाकृत ढंग चल्ने भ्रम निर्माण गरेका हुन्छन्।
तानाशाही ढलेसँगै जब उनीहरूले निर्माण गरेका यस्ता 'न्यारेटिभ' हरू एकाएक हराउँछन्, तब मानिसहरूले एक प्रकारको अभाव महसुस गर्छन्। उनीहरू ठान्छन् अस्थिरता, अनुशासनहीनता र देशप्रतिको बेइमानी बढ्यो। यथार्थ जे सुकै होस्, मानिसहरूले असुरक्षा र अस्थिरता महसुस गर्छन्। र, केही समयको अन्तरालपछि आफैले सत्ताबाट लखटेका क्रुर र मूर्ख तानाशाहप्रति नरम हुन थाल्छन्।
तानाशाहीको अन्त्यपछि देश चलाउनेहरूले नैतिक र बौद्धिक क्षमता गुमाएपछि त झन् तानाशाहहरूप्रतिको मोह तीव्र गतिमा उकालो लाग्न थाल्छ। मलाई लाग्छ नेपालमा अहिले यही भइरहेको छ। यसको विस्तृत चर्चा तल गर्नेछु। अहिलेलाई अधिनायकवादको समाजशास्त्र हेरौं।
अधिनायकवादको समाजशास्त्र बुझ्न गाह्रो छैन, र हरेक देश वा समाजमा यसको प्रकृति लगभग उस्तै हुन्छ।
नेपालको राजतन्त्र केबल एउटा व्यक्तिको सिंहासन मात्र थिएन। यसले नेपालको एक निश्चित सामाजिक–राजनीतिक संरचना र त्यससँग जोडिएका विभिन्न मूल्यमान्यतालाई संरक्षण दिएको थियो। यसको बदलामा ज्ञानेन्द्रको सिंहासनको संरक्षण पनि त्यही सामाजिक संरचना र मूल्यमान्यताले गरेका थिए।
नेपालको राजतन्त्रको केन्द्रमा केन्द्रीकृत राजनीतिक संरचना थियो, जसले विकेन्द्रीकरण र स्थानीय स्वायत्ततालाई कहिलै महत्त्व दिँदैन थियो। राजतन्त्रको अर्को टेको धार्मिक राष्ट्रवाद थियो जसले एउटा निश्चित धार्मिक समूहको प्रतिष्ठा र स्वार्थलाई राज्यको चरित्र बनाइदिएको थियो। राजतन्त्रले 'मेरिटोक्रेसी' (यथार्थमा क्लेप्टोक्रेसी) लाई शासनको आधार बनाएको थियो जसले राज्य सञ्चालनका प्रक्रियामा आम मानिसको सहभागितालाई खुम्च्याइदिएको थियो। राजतन्त्र विविधताको कुरा गर्थ्यो र अल्पसंख्यकलाई आलंकारिक पद र अवसर बाँड्थ्यो। यथार्थमा भने निश्चित जात, धर्म, क्षेत्र, वर्ग र लैंगिकतालाई अवसर र अधिकार सुम्पिनमा माहिर थियो।
त्यसैले, राजामोहको समाजशास्त्र बुझ्न राजतन्त्रको अवसानपछि कसले के पाए र कसले के गुमाए भन्ने बुझ्न आवश्यक छ। सडकमा देखिएको समूह त्यही हो जसले राजतन्त्रले संरक्षण गरेको राजनीतिक संरचना र मूल्यमान्यता भत्केपछि असुरक्षा महसुस गरिरहेको छ।
बढ्दो राजा मोहको अर्को समाजशास्त्रीय व्याख्यामा सामाजिक सञ्जालको प्रयोग र पहुँचलाई पनि छुटाउन मिल्दैन।
सूचना र सञ्चारका क्षेत्रमा तीव्र विकास भएपछि मानिसहरूको सोच उन्नत हुँदै जान्छ भन्ने मान्यता संसारभर गलत प्रमाणित भएको हामी आफ्नै आँखाले देखिरहेका छौं। सामाजिक सञ्जालले दिने 'डोपामिन' को तीखो 'किक' वा क्षणिक रमाइलो विनाश वा अधोगतिको कारण बन्दैछ। नेपालका सन्दर्भमा पनि टिकटक, इन्स्टाग्राम वा युट्युबहरू गलत सूचना प्रवाह गर्न र मानिसहरूमा भ्रम फैलाउन प्रशस्त प्रयोग भएका छन्। सही र गलत सूचना छुट्ट्याउन नसक्ने ठूलो जनसंख्या राजावादीहरूले चलाएको भ्रम विस्तार अभियानको सिकार भइरहेको छ।
झट्ट हेर्दा सामाजिक सञ्जालको प्रयोग समावेशीजस्तो देखिए पनि वास्तवमा यो स्रोत र शक्ति सम्पन्नहरूले उपयोग गर्ने विषाक्त औजार बन्दै गएको छ।
तर के अहिलेको सडक आन्दोलन खारिएका राजावादीहरूको छटपटाहट मात्र हो त? के यसलाई नियोजित सामाजिक सञ्जाल 'क्याम्पेन' मात्र मान्न सकिएला ?
मलाई त्यस्तो लाग्दैन।
राजा फर्काउने अभियानमा आम मानिसको पनि साथ र सहयोग हुन सक्छ। सानो संख्यामा भए पनि त्यस्ता मानिसहरू पनि राजावादी आन्दोलनमा मिसिएका हुन सक्छन् जो दोस्रो जनआन्दोलनमा ज्ञानेन्द्र शाहको तानाशाहीका विरूद्ध सडक आन्दोलमा सामेल थिए।
यी र यस्ता मानिसहरूले किन आज राजावादीहरूलाई साथ दिइरहेका छन् त?
यसको पहिलो जबाफ हो — ज्ञानेन्द्रको विकल्पमा देश चलाउनेहरूले आम मानिसको विश्वास जित्न सकेनन्। उनीहरूसँग सम्मानजनक ढंगले संवाद गर्न सकेनन्। आफ्ना योजना र सीमितताका बारेमा इमानदार भएर प्रस्तुत हुन सकेनन्। आफ्नो पद र जनताले दिएको जिम्मेवारीको सम्मान गर्न सकेनन्।
उदाहरणका लागि अहिलेका प्रधानमन्त्रीलाई हेरौं।
यो वर्षको बर्खामा बाढी पहिरोले निम्त्याएको विनाशबाट समग्र देश आहत भएका बेला विदेश भ्रमण बाट फर्किँदै गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा उनले आलोचकहरूलाई लक्षित गर्दै झपारे, 'म भैंसी चराउन अमेरिका गएको हो?'
केही दिनअघि रोजगारीका अवसरको अभावका विषयमा टिप्पणी गर्दै उनले भने, 'रोजगारी रूखमा फल्दैन, जागिर मात्र रोजगारी होइन, उद्यमशीलता बढाएर आफ्नो रोजगारी आफै प्रबन्ध गर्नुहोस्।'
आफ्नो पदको गरिमा चटक्कै बिर्सेर आम मानिसका वास्तविक चासोका विषयमा यति तल्लो स्तरको टिप्पणी गर्ने राजनीतिक नेतृत्वलाई ज्ञानेन्द्रको उत्तम विकल्प मान्न आम मानिसलाई सजिलो छैन।
यो त भयो अहिले राजनीतिक दलका मानिसहरूले आफ्नो जिम्मेवारी र पदको गरिमाको सम्मान गर्न नसकेको उदाहरण। तर अहिलेको नेपालको परिस्थिति यो भन्दा विषद र गम्भीर छ जसले राजा फर्काउन चलिरहेको 'टिकटके' र केही हदसम्म सडक आन्दोलनलाई यति ठूलो महत्त्वको विषय बनाएको छ।
नेपाल यति बेला 'ठूला' राजनीतिक दलका ५ वा ६ जना व्यक्तित्वहरूले निर्माण गरेको एक विषाक्त दलदलमा फसेको छ। प्रधानमन्त्री पदलाई आफ्नो नैसर्गिक अधिकार जस्तो गरेर आफू आफूमा साटासाट गर्ने अकर्मण्य र असफल यी व्यक्तिको चंगुलबाट नेपालको राजनीति बाहिर निस्किन सकेको छैन। यसबाट आम मानिस दिकदार छन् र भविष्यप्रति निराश छन्।
आज नेपाल यस्तो अवस्थामा पुगेको छ कि देश चलाउने जिम्मेवारीमा रहेका राजनीतिक दलका नेताहरूले आफैले स्थापना गरेको तुलनात्मक रूपमा उन्नत, लोकतान्त्रिक र समावेशी राज्यसंरचनाको प्रतिरक्षा गर्न सकिरहेका छैनन्। गरे पनि यस्तो प्रतिरक्षा खल्लो र अपत्यारिलो सुनिएको छ।
राजावादीहरूको स्वर अहिले यति चर्को हुने प्रमुख कारण यही हो। राजा फर्काउन चलिरहेको लज्जास्पद आन्दोलनका लागि आलोचना गर्नुपर्ने नेपालको राजनीतिक नेतृत्व र राजनीतिक पार्टीहरूको हो।
कहिले मान्छे र कहिले व्यवस्था नयाँ चाहियो भन्ने चर्चाहरूका बीच नेपालको भविष्य के त?
मेरो विचारमा आज राजनीतिक दलहरूले उठाउनुपर्ने मुख्य प्रश्न यही हो।
सुरूआतमा मैले भनेझैं राजतन्त्र फर्काउन चलेको सडक आन्दोलन धेरै परसम्म पुग्ला जस्तो मलाई लाग्दैन। किनकि, राजतन्त्रका राजनीतिक र नैतिक आधार बाँकी छैनन्। अहिलेको राजनीतिबाट दिकदार युवा पुस्ता पनि ज्ञानेन्द्रको व्यक्तित्व वा क्षमताबाट उति साह्रो प्रभावित भएजस्तो लाग्दैन।
तर यो सडक आन्दोलन र समय समयमा राजावादीहरूले चलाइरहेको अभियानले नेपाली समाज र राजनीतिमा विद्यमान 'फल्टलाइन' लाई उजागर गरिरहेका छन्। दोस्रो जनआन्दोलनबाट स्थापना भएको लोकतान्त्रिक प्रणाली, खुलापन, समावेशीता, विकेन्द्रित राज्यसंरचना आदिमाथि प्रश्न उठाउन केही व्यक्ति र समूहले साहस जुटाएका छन्। यो चिन्ताको विषय हो।
नेपालका राजनीतिक दलहरूले राजावादीको आन्दोलनलाई केही नयाँ, पुराना शब्दवाण प्रयोग गरेर आफ्नो औचित्य प्रमाणित गर्ने प्रयासलाई निरन्तरता दिन सक्छन्। तर यो वास्तविक समाधान होइन। राजवादीको आन्दोलनको एउटा मात्र सही जबाफ राजनीतिक पार्टी र राजनीति गर्ने तौरतरिकामा सुधार हो।
यसका लागि राजनीतिक दलहरूबाट ठोस र प्रयास र प्रतिबद्धता नदेखिएसम्म प्रतिगमनका प्रयास चलिरहनेछ।
(सञ्जीव पोखरेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)