शिर्षकमा 'पुँजीवादी संसार' मैले राखेको छु। यसको कारण लेख पढेपछि पाठकले थाहा पाउनु हुनेछ।
खासमा एक अज्ञात स्थानमा दुई पूर्व परिचित पात्रको अचानक भेट भएको हुन्छ।
पहिलो पात्रले सोध्छ, 'डाक्टर तिमी यहाँ किन आयौ?'
डाक्टर भन्छन्, 'सरकारले जसलाई भन्यो उसैलाई जाँच्ने, जुन रोग भन्यो त्यही बताउने, जुन औषधि भन्यो त्यही लेख्न लगाउने। यो सबै गर्न मलाई मन लागेन अनि यहाँ आएँ।'
यो दृश्य र संवाद आजभन्दा झन्डै ७० वर्षअघि लेखिएको उपन्यास 'एटलस श्रग्ड' को हो। थुप्रै भाषामा अनुवाद गरिएको आयन रान्डको यो उपन्यास ९० लाख प्रतिभन्दा बढी बिकेको थियो।
अर्थ–राजनीतिक त्रासदीको चित्रण गरिएको उपन्यासको मुख्य पात्र रेलवे सञ्चालक डेग्नी टेगार्ट एउटा दुर्घटनामा परेर त्यो स्थानमा आइपुगेकी हुन्छिन्। उनैले सोधेकी हुन्छिन् डाक्टरलाई त्यो अज्ञात स्थानमा आउनुको कारण।
डाक्टरजस्तै सरकारलाई मात्रै कच्चा पदार्थ आपूर्ति गर्नुपर्ने सर्त नमान्ने खानी सञ्चालक, सरकारले भनेकै मान्छेलाई मात्र ऋण दिन नमान्ने बैंकर, सरकारले पेटेन्ट दर्ता गर्न नमानेर हैरानी खेपेको आविष्कारक पनि त्यहाँ भेटिन्छन्।
उपन्यासका अनुसार अमेरिकामा कल्याणकारी राज्यको अवधारणा प्रवेश गरेपछि सबै चिज ओरालो लाग्न थाल्छ। जताततै नियम नै नियम हुन्छ। उद्योगधन्दा धराशायी हुन्छन्, व्यापारी टाट पल्टिन्छन्, नवप्रवर्तन र आविष्कार दुर्लभ हुन्छ। बुद्धिजीवीहरूले उचालेर सरकारले अनौठा अनौठा परोपकारी कार्यक्रम ल्याउँछ। तर सबै कार्यक्रमका नतिजा नकारात्मक निक्लिन्छन्।
भयावह स्थिति पैदा हुन्छ। उद्यमशील मान्छे हराउँछन्। झन् धेरै उद्योगधन्दा बन्द हुन्छन्। झन् धेरै मान्छे बेरोजगार बन्छन्। अस्पतालमा औषधि–उपचार हुँदैन। विद्यालयमा पढाइ हुँदैन। दिनहुँजसो सडक प्रदर्शन, हत्याहिंसा, लुटपाट, हुलदंगा हुन्छन्। सरकार संकटकाल घोषणा गर्छ।
उपन्यासका माध्यमबाट रान्डले उनको दार्शनिक धारणा वस्तुनिष्ठवाद (अब्जेक्टिभिजम) लाई अगाडि बढाएकी छन्।
उनी भन्छिन्, 'वस्तुगत यथार्थभन्दा पर अस्तित्वमा केही हुँदैन।'
त्यस्तो यथार्थलाई जान्ने सबभन्दा बलियो उपकरण तर्क हो। धर्म, ईश्वर, परोपकार, सामूहिकता र समानताका अवधारणा केवल कच्चा सपना हुन्। आँखाले नदेखेको, कानले नसुनेको, नाकले नसुँघेको, जिब्रोले नचाखेको कुराका बारेमा ठोकुवा गर्नु वा इन्द्रीयबोधमा नआउने कुराबारे चिन्तन गर्नु व्यर्थ हो।
वस्तुनिष्ठवाद रान्डले विकास गरेको दार्शनिक प्रणाली हो। यसका चार स्तम्भ छन्।
पहिलो स्तम्भको रूपमा रहेको अधि–भौतिकशास्त्र (मेटाफिजिक्स) ले वस्तुगत यथार्थको चर्चा गर्छ। वास्तविकता हाम्रो धारणा वा इच्छाभन्दा अलग हुन सक्छ। वास्तविकताको स्वतन्त्र अवस्थिति हुन्छ। हाम्रो इच्छा र वास्तविकता एउटै हुनुपर्छ भन्ने छैन।
दोस्रो स्तम्भका रूपमा रहेको ज्ञानशास्त्र (एपिस्टोमोलोजी) ले तर्कमा जोड दिन्छ। ज्ञान प्राप्त गर्ने एक मात्र माध्यम तर्क हो भन्छ। विश्वास, अन्तर्ज्ञान वा भावना ज्ञानका स्रोत होइनन्। मान्छेको दिमागले आफ्नै सोच र तर्कको आधारमा निष्कर्ष निकाल्नुपर्छ।
तेस्रो स्तम्भका रूपमा रहेको नैतिकता (मोरालिटी) ले तर्कसंगत स्वार्थको वकालत गर्छ। प्रत्येक व्यक्तिको प्राथमिक नैतिक लक्ष्य आफ्नो खुसी (आनन्द वा सुख) प्राप्त गर्ने हुनुपर्छ। आफ्नो लागि होस् वा अरू कसैका लागि त्याग वा बलिदान अस्वीकार्य हुन्छ। प्रतिरक्षा गर्नुपर्ने अवस्थामा बाहेक हिंसाको प्रयोग अनैतिक हुन्छ। आफ्नो कल्याण घटाएर अर्काको बढाउने कुरा अनैतिक हो। व्यक्तिले अरूलाई धोका दिन सक्दैन, आफूलाई पनि धोका दिनु हुँदैन।
चौथो स्तम्भ पुँजीवादी राजनीति हो। रान्डका अनुसार स्वैच्छिक विनिमय र निजी सम्पत्तिको अक्षुण्ण अधिकारमा आधारित अर्थ राजनीतिक व्यवस्था पुँजीवाद हो। यसमा बालिग मान्छे आफ्नो लाभ अधिकतम बनाउने गरी एकअर्कासँग कारोबार गर्छन्, सहकार्य, समन्वय र प्रतिस्पर्धा गर्छन्।
सरकारको मुख्य काम यही व्यक्तिगत अधिकारको रक्षा गर्ने हो। सहकार्य, समन्वय र प्रतिस्पर्धाका लागि आवश्यक करारहरूको परिपालना गर्ने गराउने हो।
उपन्यासले अमेरिकामा दुई विरोधी शक्तिहरूलाई खडा गर्छ।
एकातिर निरंकुश राज्य पतनको डिलमा उभिएको हुन्छ र अर्कोतर्फ निजी उद्यमीहरू हुन्छन्। समाजमा निजी उद्यमीहरूको उत्पादनशील क्षमताको दोहन गरी कल्याणकारी राज्य संयन्त्रमार्फत अनुत्पादक अर्को समूहले लुट मच्चाइरहेको हुन्छ।
वैज्ञानिक, उद्यमी र कलाकारहरू एकएक गरेर रहस्यमयी रूपमा गायब हुन्छन्। खासमा उनीहरूले गोप्य तवरले वस्तुनिष्ठवादी दार्शनिक जोन गाल्टको इशारामा काम गर्न थालेका हुन्छन्। ती सज्जन पात्रहरू मार्फत अमेरिकी अर्थतन्त्रको वास्तविक मेरूदण्ड उद्यमी हुन् भन्ने पाठ पढाउने योजना दार्शनिक जोन गाल्टले बनाएको हुन्छ।
त्यसै अनुरूप उसको अपिललाई पछ्याउने उद्यमी, सिर्जनशील र तार्किक मान्छेहरू गाल्टको 'पुँजीवादी संसार' मा जम्मा भएका हुन्छन्।
गाल्टले बसाएको सिर्जनशील मान्छेहरूको उपत्यकामा सरकारलाई बहिष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील मान्छेहरू आआफ्नो इच्छानुसार, बिना रोकतोक काम गरिरहेका हुन्छन्।
दुर्घटनामा परेर जोन गाल्टको आदर्शलोकमा आइपुगेकी रेल्वे सञ्चालक डेग्नीलाई उपन्यासमा दृढ उद्यमीका रूपमा प्रस्तुत गरिएको छ। चरम आर्थिक संकट, अधिक नियमनले ध्वस्त बनाएको अमेरिकी परिवेश र धमाधम उद्योगहरू राष्ट्रियकरण भइरहेको समयमा उनी तर्क, विवेक र उत्साहलाई हतियार बनाएर सत्तासँग जुधिरहेकी हुन्छिन्।
यसमा रान्डको आफ्नै भोगाइ पनि झल्किन्छ। रूसमा कम्युनिस्ट सत्ताले उद्योगधन्दा राष्ट्रियकरण गर्दा उनका पिताले औषधि पसल गुमाउनुपरेको थियो। उनको परिवारको विचल्ली भएको थियो।
रान्ड हलिउडमा फिल्मको कथा लेख्ने भनेर अमेरिका पुगेकी थिइन्। परोपकारवाद र सामूहिकतावादी सोचबाट निर्देशित कार्यक्रमले अमेरिकामा पनि रूसकै जस्तो अभाव, अनिकाल, हत्याहिंसा, लुटपाटको स्थिति आउन सक्छ भनेर रान्डले उपन्यासमार्फत चेतावनी दिएकी हुन् भन्न सकिन्छ।
व्यक्तिगत स्वतन्त्रता, तर्क र पुँजीवादको वकालत उपन्यासले गरेको छ। मानवीय सोच सबै खाले समृद्धिको स्रोत हो। वस्तुनिष्ठ वास्तविकता मात्रै सत्य हो। तर्कभन्दा शक्तिशाली अर्को कुनै शक्ति हुँदैन। निजी स्वार्थको खोजीभन्दा पुण्य अर्को काम हुँदैन। उपन्यासको अन्त्यतिर न्यूयोर्कको एउटा रेडियो स्टेसनलाई कब्जामा लिएर दार्शनिक जोन गाल्ट यिनै विषयलाई समेटेर प्रवचन दिन्छन्।
उनी भन्छन्, 'इतिहासमा पुँजीवादी व्यवस्था एक मात्र यस्तो व्यवस्था थियो जहाँ सम्पत्ति लुटपाट गरेर होइन सिर्जनाबाट, बलपूर्वक होइन विनिमयबाट प्राप्त हुन्थ्यो। मान्छेको मन, उसको काम, उसको जीवन, उसको खुसी, उसको अधिकारका लागि उभिएको पुँजीवाद एक मात्र नैतिक व्यवस्था थियो।'
'दुनियाँको वर्तमान मानकले यदि त्यो व्यस्थालाई खराब भन्छ भने हामी ती मानकलाई धिक्कार्छौं। हामी मानवताका हिमायती हाम्रो निधारमा छापिएको पुँजीवादको छाप गर्वका साथ ग्रहण गर्छौं, यसलाई हाम्रो गौरवको प्रतीकका रूपमा लिन्छौं।'
उनले रेडियोमा बोलेको झन्डै तीन घण्टा पुग्नै लाग्दा पुलिस आएर पक्रिन्छ।
उनलाई आत्मसमर्पण गरेर आर्थिक पुनरूत्थानको काममा सरकारलाई सघाउन भनिन्छ। उनलाई फकाउन खोजिन्छ। उनले अस्वीकार गर्छन् र आफ्नै आदर्शलोकमा फर्किन्छन्।
उपन्यासमा प्रश्न छ — सिर्जनशील मान्छेहरूले हड्ताल गरे के हुन्छ? प्रतिभाले बहिष्कार गरे के हुन्छ? उद्यमीले असहयोग गरे के हुन्छ? उत्पादनशील मान्छे निष्क्रिय भए के हुन्छ?
नोकरशाही सरकारले होइन प्रतिभाशाली आविष्कारकले आर्थिक विकासका आधारभूत पूर्वाधार निर्माण गर्छन्। जसरी पौराणिक कथामा एटलसले संसारलाई बोकेका हुन्छन्, उसैगरी समाजलाई उद्यमीले आफ्नो काँधमा बोकेका हुन्छन्।
एटलसले धर्ती उठाउन छाडे के होला? उत्पादनशील र सिर्जनशील मान्छेले समाजको बोझ उठाउन अस्वीकार गरे के होला?
आफ्ना पात्रहरू मार्फत रान्डले समाजका वलिष्ठ र उज्यालो व्यक्तित्व भएका मान्छेको योगदानलाई चिन्न र पुरस्कृत गर्न असफल समाजले भोग्ने दुर्दान्तको चित्रण उपन्यासमा गरेकी छन्।
उपन्यासले सामूहिकता, समाजवादको पक्षपोषण र व्यक्तिगत अधिकारमाथि हस्तक्षेपले निम्त्याउने खतराहरूको संकेत गरेको छ।
उपन्यासले तर्क, व्यक्तिवाद र पुँजीवादमा आधारित समाजको आह्वान गर्छ। अनिवार्य सामूहिक सेवाको सट्टा ऐच्छिक सिर्जनशीलतालाई पछ्याउने समाज फस्टाउँछ भन्छ। उत्पादक र नवप्रवर्तकलाई मानव प्रगति पछाडिको चालक शक्तिको रूपमा चित्रण गरिएको छ। नवप्रवर्तनलाई महत्त्व नदिने समाज स्वाभाविक रूपमा पछाडि पर्छ।
रान्डले आफ्ना लेखाइहरूमा एक मात्र नैतिक र व्यावहारिक आर्थिक प्रणालीको रूपमा पुँजीवादलाई अगाडि सारेकी छन्।
उनका अनुसार पुँजीवाद मात्रै यस्तो प्रणाली हो जसले व्यक्तिगत प्रयासलाई पुरस्कृत गर्छ र व्यक्तिगत अधिकारहरूको रक्षा गर्छ।
परोपकार, समानता र सामाजिक कल्याणका नाममा गरिने अर्थ राजनीतिले नागरिकलाई पराश्रयी, परनिर्भर बनाउँछ। व्यक्ति समाजको सबैभन्दा महत्त्वपूर्ण एकाई हो। व्यक्तिलाई प्रधान मान्ने, स्वतन्त्र बजार प्रणाली र सीमित सरकारको वकालत गर्ने लिबरटेरियन र कन्जर्भेटिभ माझ उपन्यासले गहिरो प्रभाव पारेको छ।
एटलस नामको पौराणिक पात्रको प्रयोगले समाजमा व्यक्तिको भूमिकाका लागि शक्तिशाली रूपकको काम गरेको छ। यसले पाठकलाई व्यक्तिवाद, सिर्जनशीलता र स्वतन्त्रताको मूल्य देखाइदिएको छ।
रान्डका अनुसार समाजवाद, फासीवाद र कुनै पनि प्रकारको सामूहिकता वा धर्ममा आधारित समाजमा सिर्जानशील सदस्य प्रताडित हुन्छन्। उपन्यासमा थुप्रै प्रसंगहरू मार्फत यसलाई पुष्टी गर्न खोजिएको छ।
एउटा प्रसंग यस्तो छ— रात्रिभोज चलिरहेको हुन्छ। भोजमा घरव्यवहारका सामान्य कुरादेखि देश–दुनियाँको विषयमा छलफल हुने नै भयो। भोजका निम्तालुहरू पैसालाई खराब हो भनिरहेका हुन्छन्। एउटा पात्रलाई त्यो कुरा चित्त बुझ्दैन।
सो पात्रले भन्छ, 'दुनियाँमा सबै खराबी पैसाले जन्माएको हो? त्यसो भए, तिमीहरूले कहिल्यै सोचेका छौ पैसा चाहिँ केले जन्माएको हो? पैसा त केवल विनियमको एक साधन मात्र त हो नि! वस्तु उत्पादन नहुने हो भने पैसा को के काम? कसैले आफूलाई विचरो बनाएर माग्न सक्ने वा डर धाकधम्की देखाएर लुट्न सकिने चिज पैसा होइन। यो बेलइमीहरूको औजार होइन। सिर्जनशील मान्छेको सिर्जना हो।'
उपन्यासले सरकारी अनुदानलाई अस्वीकार गर्छ। आफूले चाहेको चिज पाउन सबैले काम गर्नैपर्छ। आजको संसारमा धनीलाई प्रायः मिडिया र आमजनताले राक्षसी पात्र बनाएका छन्। उपन्यासले भने तिनीहरूलाई नायक बनाएर, भ्रष्टाचारको मुख्य कर्ताको रूपमा सरकारलाई उभ्याएको छ।
त्यसै कारण रान्डको अघिल्लो उपन्यास 'फाउन्टेनहेड' जस्तै यो पनि राज्यवादी, समाजवादी, राष्ट्रवादी, वामपन्थीहरूको चर्को आलोचनाको शिकार बनेको थियो। अधिकांश साहित्यिक प्रतिष्ठानहरूले उपन्यासलाई पन्छाएका थिए।
तथापि मान्छेहरू आफ्ना बारेमा वा आफ्ना कृतिका बारेमा के सोच्छन् भन्ने पर्वाह रान्डलाई थिएन।
प्रायः साहित्यिक कृतिहरूमा किनारामा परेका, शक्तिहीन, निमुखा र गरिबलाई केन्द्रमा राखिन्छ। उनले भने कम्पनीका कार्यकारी, मालिक, इन्जिनियर, चिकित्सक, कलाकारलाई नायक बनाएकी छन्।
आजको दिनमा हाम्रा लागि यो उपन्यासको चर्चा किन आवश्यक छ?
रान्डले उपन्यास मार्फत जसरी अमेरिकी समाजको भयावह चित्रण गरेकी छन्, त्यस्तै समस्यासँग अहिले हामी पनि जुधिरहेका छौं।
उनले वर्णन गरेजस्तै त्रासदीयुक्त समाजमा हामी भलै बाँचिरहेका छैनौं, भयानकताको मात्रा कम होला, घटनाका रूप फरक होला, तर सार उही छ।
हाम्रो समाज पनि अत्यधिक नियमन र सामूहिकतावादका कारण पतनोन्मुख छ। समाजका सबैभन्दा ऊर्जावान् सदस्यहरू निराश छन्। उत्पादनमा भन्दा वितरणमा हाम्रो जोड छ। मिथ्या ज्ञानधारी बुद्धिजीवीहरू परोपकारको महिमा गाउँछन्। राज्यले कसको खर्चमा परोपकार गर्छ भन्ने बिर्सिन्छन्। बुद्धिजीवीहरूको यस्तै सरलमतिले प्रकारान्त प्रचारमुखी सस्ता कार्यक्रमलाई मलजल गर्छ। एउटा चुनावदेखि अर्को चुनावको राजनीति गर्नेहरूलाई सजिलो बनाउँछ।
हाम्रा नादान बुद्धिजीवीहरूले समाजवादको महिमागान गर्दा धुर्त सत्ताधारी र सत्ताकांक्षीहरूलाई सजिलो भएको छ। सबै खाले सत्ताकांक्षीहरू संसार मेरै वरिपरि घुम्नुपर्छ भन्ने ठान्छन्।
हामीलाई कल्याणकारी राज्य मनपर्छ। समाजवाद हामीले संविधानमै लेखेका छौं। पुँजीवादलाई हामी घृणा गर्छौं। राष्ट्रवाद, जातीयता, लैंगिकता, पहिचान, समानताका अनेकौं अमूर्त कुराहरू गरेर हामी बखेडा झिक्छौं। भिडलाई मनपर्ने मिठा कुरा गर्छौं, सत्य बोल्दैनौं।
यसले हाम्रा सिर्जनशील मान्छेहरूलाई निरूत्साहित गरिरहेका छ। उनीहरूलाई पलायन हुन बाध्य पारिरहेको छ।
उदाहरणका लागि हामी निःशुल्क चिकित्सा शिक्षा भनिरहेका छौं। त्यसरी निः शुल्क शिक्षा लिनेहरूलाई सरकारले तोकेको ठाउँमा निश्चित समय काम गर्न भन्छौं। उनीहरू काम पनि गर्छन्। तोकिएको अवधि पूरा भएपछि अधिकांश डाक्टर पलायन हुन्छन्।
अहिले करदाताको पैसा खर्चिएर हामीले उत्पादन गरिरहेको सक्षम जनशक्ति युरोप, अमेरिका, अस्ट्रेलिया, अरब लगायत मुलुकमा गइरहेको छ। सरकारले अवैध बनाएको बाटोबाट पुँजी पलायन पनि भइरहेको छ।
यही बाटोमा हिडिरह्यौं भने हामी पनि उपन्यासको त्यही अज्ञात स्थलमा पुग्नेछौं।
हाम्रा डाक्टर, इन्जिनियर, बैंकर, होटलियर त्यहाँ पुगिरहेका छन्।
त्यहाँ हाम्रा डाक्टर भेटिनेछन् र हामी सोध्नेछौं, 'डाक्टर, तिमी पनि यहाँ?'
***
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)