बेइजिङ डायरी
यही मार्च ११ तारिख, हाम्रा राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस। सन् १३०६ मार्च ११ तारिख अरनिकोको बेइजिङमा देहान्त भएको थियो।
महान नेपाली कलाकार अरनिकोले देहत्याग गरेको ७ सय १९ वर्ष भइसकेको छ। अरनिकोको पार्थिव शरीर हामीसँग नभए पनि उनले सिर्जना गरेका सांस्कृतिक सम्पदाहरू चीनमा अझै पनि ज्वलन्त छन्। ती सांस्कृतिक सम्पदाले नेपाल र चीनलाई जोड्ने काम अद्यापी गरिरहेकै छन्।
चीनभरि अरनिकोलाई सम्झाउने थुप्रै सम्पदाहरूको महत्त्व बढ्दै गएको छ। बेइजिङको केन्द्र भागमा रहेको श्वेत चैत्य, चीनको वल्लो शान्षी प्रान्तको ऊथाईशानमा रहेको अर्को श्वेत चैत्य, चीनको तिब्बतमा रहेको शाक्य सुवर्ण चैत्य, बेइजिङको चुयोङक्वान ग्रेटवालमा रहेको विशाल प्रस्तर प्रवेशद्वार आदि।
गत वर्ष मात्र अरनिकोले थालनी गरेको बेइजिङको केन्द्रीय रेखालाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। यी सम्पदा निर्माणमा अरनिकोको सीप, कला, मेहनत, दृष्टि, ज्ञान, पसिना, समय र मन खर्च भएको छ। यी सम्पदाहरू अरनिकोद्वारा निर्मित भएकाले नेपालीपन र नेपाली मन पनि मिसिएको छ भन्दा अत्युक्ति नहोला।
बेइजिङ भ्रमणमा आउने विदेशी पाहुनालाई चिनियाँले देखाउने मुख्य स्थल हो ग्रेटवाल।
बेइजिङ सहरबाट ग्रेटवाल हेर्न जाने फरक फरक स्थलहरू छन्। तीमध्ये सबभन्दा लोकप्रिय स्थल हो पातालिङ। यो बेइजिङ सहरको केन्द्र भागदेखि ६७ किलोमिटरको दुरीमा छ।

विदेशी राष्ट्रनायक तथा सरकार प्रमुखलाई चीनले ग्रेटवाल देखाउन पातालिङमै लाने गरेको छ। पातालिङबाट ग्रेटवालमा यात्रा गर्न अन्य स्थलभन्दा तुलनात्मक रूपमा सहज छ। ग्रेटवालको चौडाइ अन्यत्रभन्दा फराकिलो छ भने, यो उति ठाडो उकालो पनि छैन। विदेशी उच्च पाहुनालाई हिँड्न सहज होस् र वरिपरिको दृश्य राम्रो देखियोस् भनेर यो ठाउँको रोजाइ हुने गरेको हो।
बेइजिङ भ्रमणमा आएका अधिकांश नेपालीहरू ग्रेटवाल चढ्न पुग्ने स्थल पनि पातालिङ नै हो। पातालिङभन्दा नेपालीहरूको भावना जोडिएको स्थल चाहिँ चुयोङक्वान ग्रेटवाल हो। यो पातालिङ पुग्नुभन्दा लगभग ७ किलोमिटर वर छ। उही बाटोबाट यात्रा गरिने भएकाले पातालिङ जाने हरेक यात्रुले चुयोङक्वान पार गरेर जान्छन्।
बेइजिङको थिआनआनमन क्षेत्रबाट पातालिङ ग्रेटवालको दुरी ६७ किलोमिटर छ भने चुयोङक्वान ग्रेटवाल ६० किलोमिटरभन्दा केही बढी छ।
चुयोङक्वान ग्रेटवालमा झण्डै साडे ९ मिटर उचाइको एउटा प्रवेशद्वार छ। ढुंगाबाट निर्मित प्रवेशद्वारका भित्ताहरूमा बुद्धमूर्ति र सूत्रहरू कुँदिएका छन्। चरा, ड्रागन, ह्वेल, कुमार किशोर, जनावर, अजंगको हात्ती लगायत आकृति कुँदिएको उक्त प्रवेशद्वारले ऐतिहासिक कलालाई भण्डारण गरेको छ। अनि यी कलाको नाइटो नेपाली कलासँग जोडिएको छ भन्ने कुराले हामी नेपालीलाई गौरवान्वित बनाउँछ।
चुयोङक्वान ग्रेटवाल प्रवेशका लागि ढुंगा निर्मित यो विशाल प्रवेशद्वारको आफ्नै महत्व छ। पहिले ग्रेटवाल जाने मानिसहरूका लागि मुख्य प्रवेशद्वार नै भए पनि अहिले यो प्रवेशद्वारलाई छुट्टै संरक्षण गरेर राखिएको छ। उक्त प्रवेशद्वारबाट मानिसहरू ओहोरदोहोर गर्दैनन्। ग्रेटवाल चढ्न जाने मान्छेहरूमा कलाप्रतिको रूचि भएका मात्र उक्त प्रवेशद्वारमा जान्छन् र अध्ययन अवलोकन गर्छन्।
यो प्रवेशद्वार निर्माण गर्नुको पछाडि यो गल्छेडो भएर गरिने यात्राको महत्व झल्किन्छ। किनभने १३ औं शताब्दीसम्म चीनको राजधानी बेइजिङ नभएर भित्री मंगोलियामा थियो। त्यस समयमा भित्री मंगोलियालाई शाङतू भनिन्थ्यो र बेइजिङलाई तातू। कुब्लाई खाँ त्यही गल्छेडो भएर शाङत् र तातू ओहोरदोहोर गर्थे। भित्री मंगोलिया बेइजिङदेखि उत्तरी क्षेत्रमा रहेको चीनको एउटा स्वायत्त प्रान्त हो।
सन् १२४४ मा जन्मिएका अरनिको सन् १२५९ मा नेपालबाट तिब्बत पुगे। त्यहाँ उनले दुई वर्ष लगाएर शाक्य सुवर्ण चैत्य निर्माण गरे। अरनिकोसँग नेपालबाट तिब्बत गएका ७९ जना कलाकार नेपाल फर्किए तर अरनिको आफ्ना बौद्ध गुरू फागपाका साथमा कुब्लाई खाँलाई भेट्न भित्री मंगोलिया (शाङतू) गए।
उक्त समयमा कुब्लाई खाँ कूत उठाउन आफ्नो राजधानी मंगोलिया (शाङतू) बाट बेइजिङ (तातू) झरिरहन्थे। बेइजिङको फराकिलो फाँट, भव्य उत्पादन, समृद्ध जीवनशैली आदि कुराले उनलाई लोभ्यायो र उनले राजधानीलाई बेइजिङ सार्ने निर्णय गरे। फलस्वरूप उनको काममा अरनिकोले साथ दिए र काँठ बस्तीको बेइजिङ पहिलोपटक भव्य राजधानीमा परिणत भयो।
भित्री मंगोलियाबाट बेइजिङ आउने मुख्य गल्छेडोमा रहेको ग्रेटवालमा एउटा भव्य प्रवेशद्वार बनाउने कुरामा कुब्लाई खाँ र अरनिकोको 'केमेस्ट्री' मिलेको हुनुपर्छ। फलस्वरूप चुयोङक्वाङ पासमा अरनिकोले प्रवेशद्वार बनाउने योजना अगाडि ल्याए। उक्त समयमा कुब्लाई खाँको मृत्यु भइसकेको थियो। दुर्भाग्य उक्त परियोजनाले अरनिकोको जीवनकालमा पूर्णता पाउन सकेन।


अरनिकोको मृत्यु भएको लगभग चार दशकपछि उक्त प्रवेशद्वारले पूर्णता पायो। अरनिकोले आफ्नै आँखाले त्यसको पूर्ण रूप देख्न पाएनन्। तर हामी नेपालीले त्यो भव्य सम्पदा अहिले राम्ररी नियाल्न पाउँछौं। त्यहाँ कुँदिएका नेपाल भाषाका लिपि (रञ्जना लिपि), नेपाली शैलीका कलाकृति, नेपाली भागभंगीका आकृति अनि नेपालीपन झल्किने सिर्जनाले नेपालीलाई भित्रैदेखि तान्ने गर्छ। चिनियाँले थाहा नपाएको विदेशी शैली भएकाले पनि चिनियाँ साहित्यहरूमा यो प्रवेशद्वारमा कुँदिको कलालाई 'अचम्मको कला' भनेर व्याख्या गरिएको पाइन्छ।
चुयोङक्वान ग्रेटवालको प्रवेशद्वारमा कुँदिएका तस्बिर र लिपिहरूले तत्कालीन शासकहरूको आध्यात्मिक जीवनशैलीलाई पनि झल्काउँछ। उक्त क्षेत्रमा त्यति बेला विश्वको सबभन्दा पुरानो र सबभन्दा ठूलो टावर थियो। कुब्लाइ खाँले स्थापना गरेको युआन राजवंश कालमा बाटोमा यस्तो टावर बनाइन्थ्यो, जहाँ सर्वसाधारणले कल्याणका खातिर बुद्धको पूजा गर्न सकून् भन्ने मान्यता थियो।
चुयोङक्वान ग्रेटवालमा भएको कला र रञ्जना लिपिका बारेमा सत्यमोहन जोशीद्वारा सिर्जित 'कलाकार अरनिको' कृतिमा तथ्यगत विश्लेषण गरिएको छ। यो कृति २०४४ सालमा प्रकाशन भएको हो।
'कलाकार अरनिको' को पृष्ठ ११ र १२ मा ग्रेटवालमा रञ्जना लिपि र नेपाली शैलीका कला कुँदिएको बारेमा जोशीले लेख्नुभएको छ — 'कलाकार अरनिकोको कला परम्परा र कला शैलीद्वारा विकसित नेपाल र चीनको मैत्री र सांस्कृतिक सम्बन्धको सम्वर्द्धनमा अर्को एउटा जीवित उदाहरण पनि छ।त्यो हो बेइजिङबाट विश्व प्रसिद्ध विशाल पर्खाल (ग्रेटवाल) हेर्न जाने बाटोमा पातालिङ डाँडाको फेदीमा ग्रेटवालनेर पुग्न लाग्दा चुयोङक्वानमा देखा पर्ने युनथाइको प्रवेशद्वार। प्रस्तरद्वारा निर्मित यो विशाल प्रवेशद्वारमा चार-पाँच जना घोडचढीहरू मजासँग ओहोरदोहोर गर्न सक्छन्। यस प्रवेशद्वारको उपल्लो मण्डपमा तीनवटा श्वेत चैत्यहरू पनि थिए भन्ने कथन छ र उहिले यस ठाउँको नाम नै 'चौबाटोको श्वेतचैत्य' थियो...
…यसको नक्सा र ढाँचा अरनिकोबाटै भएको हुन सक्छ अथवा उनले आफ्नो कालमा यसको निर्माण कार्य पूरा गर्न नभ्याएको पनि हुन सक्छ। यसलाई उनका नाम चलेका चेला ल्युयुआन अथवा उनका एकसेएक कला प्रवीण छोराहरूले चाहिँ अवश्यमेव डिजाइन गरी बनाएको हुनुपर्छ। किनभने यो प्रस्तरद्वारको अग्र भागको तोरण हुबहू नेपाली परम्परा र नेपाली शैलीमा बनिएको छ। यसलाई जुनसकै नेपाली आँखाले पनि देख्ने बित्तिकै नेपाली शैलीमा निर्मित भनेर पहिल्याउन सक्छ।
यस प्रस्तरद्वारको गुमौज आकारको तोरणमा सिरानको मध्य भागमा पखेटा भएको गरूडको मूर्ति छ। यसका दायाँबायाँ नागकन्या र मकरका मूर्तिहरू छन्। तोरणसँगै जोडिएका तल्ला भागमा दायाँबायाँ हात्ती र विश्व बज्रमण्डलहरू छन्। भित्री भागका भित्तामा रञ्जना लिपिमा संस्कृतमा कुँदिएका सिताती पत्रोष्णीय धारणी (बौद्ध सूत्र) हरू छन्। यिनीहरूको रूपान्तर चिनियाँ, मंगोलियाली, तिब्बती, उइगुर, सिस्या भाषाका लिपिमा पनि कुँदिएको छ। फेरि भित्री भागका सिलिङ र भित्तामा कुँदिएका नेपाली र चिनियाँ शैलीका पञ्चबुद्ध र चतुर महाराजका प्रस्तर मूर्तिहरू पनि छन्।'
यसैगरी उही पुस्तकको पृष्ठ ८८ मा यसरी व्याख्या गरिएको छ —'…अरनिकोको पालामा नेपाली वास्तुकला शैलीको परम्परा र छापको अनुकरण दुवै गएको एउटा ज्वलन्त उदाहरण पेकिङकै इलाकामा ग्रेटवाल जाने बाटोमा ग्रेटवालकै फेदीमा पातालिङ डाँडाको चुयोङक्वाङ फैदीमा अवस्थित एउटा अजङ्गको प्रस्तर द्वारले पनि प्रदर्शन गरिरहेको छ।…
गुमौज शैलीको यो प्रस्तरद्वारको तोरणको शिरमा अंकित हुबहु नेपाली शैलीको पखेटे गरूड, त्यसका दायाँबायाँका नागकन्याहरू, घुँघरिएका फूलका बुट्टाहरू, हिटीमंगः (मकराकृतिहरू), हात्ती, विश्वबज्र मण्डल आदि नेपाली शैलीका प्रस्तर कलाकृतिहरू हुन् भन्ने कुरामा शंका गर्ने ठाउँ नै देखिँदैन। फेरि द्वारभित्रका भित्ताहरूमा पनि पञ्चबुद्ध र लोकपालहरू (चिनियाँ शैलीमिश्रित) पनि उत्तिकै उल्लेखनीय छन्। फेरि त्यहाँ सुन्दर रञ्जना लिपिमा संस्कृत भाषामा बौद्धसूत्रहरू (शीतातीपत्नार्नीश धारणी सूत्र) अंकित भएका छन्। त्यसबाट पनि नेपाली कलाशैली र परम्परा पूर्ण रूपले झल्कन्छ।
यस प्रस्तरद्वारको शिरानमा तीनवटा चैत्यहरू (श्वेतचैत्य लघु प्रतिकृति हुन सक्छन्) पनि थिए भन्ने उल्लेख पाइन्छ। हाल ती चैत्यहरू नष्ट भइसकेका छन्।


तीनवटा श्वेत चैत्ययुक्त यो प्रस्तरद्वारको निर्माण युआन वंशका अन्तिम सम्राट शून थी को ची चङ (च चन्) नामक सालको पाँचौं वर्ष (सन् १३४५) मा भएको उल्लेख पाइन्छ। यस सालमिति अनुसार यसको निर्माण अरनिकोको मृत्यु (सन् १३०६) पछि अर्थात् अरनिको मृत्यु भएको ३८/३९ वर्ष भएको भएको विदित हुन्छ। यसैले सम्भवतः यसको डिजाइन इस्टिमेट अरनिकोकै समयमा भएको वा थालिएको तर उनको जीवनकालमा कार्यसम्पादन हुन बाँकी भइरहेको हुन सक्छ वा यसको डिजाइन अरनिकोकै प्रमुख चेला ल्यु युआनबाट भएको हुनसक्छ अथवा अरनिकोकै कार्यभार सम्हाल्ने छोराहरूबाट। वास्तवमा यस प्रस्तरद्वारका कलाकृतिहरूमा अरनिकोले पेकिङमा स्थापना गरेको नेपाली परम्परा र शैलीका कलाकृतिका छाप परेका छन्।'
साढे सात सय वर्ष अगाडिका चिनियाँ सम्पदाहरूमा प्रश्वस्त रूपमा नेपाली कला शैलीको प्रभाव परेको देखिन्छ। यसको कारण के हो भने अरनिको एक्लो कलाकार मात्र थिएनन्। उनले बादशाह कुब्लाई खाँबाट प्रधानमन्त्री सोसरहको पद पनि पाएका थिए। उनी कला विभागका प्रमुख पनि थिए। उनी कलाका गुरू पनि थिए। उनले सयौंको संख्यामा चिनियाँलाई शिष्य बनाए र नेपाली शैलीको मूर्तिकला, चित्रकला, प्रस्तरकला, काष्ठकला आदि सिकाए। अरनिकोका छोरा पनि कला क्षेत्रमा अब्बल नै थिए।
अरनिकोका छोरा र उनका चेलाले चीनभरि नेपाली शैलीका कलालाई फैलाउने काम गरेका छन्। त्यसैको एउटा उदाहरण हो चुयोङक्वाङ ग्रेटवालको भव्य प्रस्तर प्रवेशद्वार। उक्त प्रवेशद्वारमा पुगेर मौन रूपमा उभिएर गहन अवलोकन गर्ने हो भने त्यहाँ अरनिको हाँसिरहेको देखिन्छ, बाँचिरहेको पाइन्छ।

(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)