हिजोआज सबैतिर बालबालिकाले राम्रोसँग पढ्न, लेख्न र सिक्न नसकेको भन्ने गुनासो सुनिन्छ। सबै अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले राम्ररी सिकून्।
आखिर सिकाइ के हो त?
सिकाइ भनेको ज्ञान, अनुभव र अनुभूतिको माध्यमद्वारा व्यवहारमा आउने सकारात्मक परिवर्तन हो।
यस्तो परिवर्तनलाई उद्देश्यमूलक, सहज र प्रामाणिक बनाउन स्कुल खोलिएको हो। स्कुलमा शिक्षकले पाठ्यक्रम र शैक्षिक सुविधाको समुचित प्रयोग गरी विद्यार्थीमा तोकिएको व्यवहार परिवर्तन गराउन सहजीकरण गर्छन्। यही सहजीकरण नै शिक्षण हो।
यसरी हेर्दा शिक्षणको मुख्य कार्य नै विद्यार्थीलाई उचित सिकाइ अनुभव हासिल गराउन सहजीकरण गर्नु हो।
शिक्षण विधिसम्बन्धी अमेरिकी बास्केटबल प्रशिक्षक तथा शिक्षक जोन वुडनको प्रशिद्ध पुस्तक छ ‘यु ह्याभन्ट् टट् अन्टिल दे ह्याभन्ट् लन्ट्’ जसको मूल सन्देश हो– जबसम्म विद्यार्थीले सिक्न सक्दैन तबसम्म शिक्षकले वास्तविकरूपमा सिकाएको मानिँदैन।
अधिकांश शिक्षक उनीहरूको काम पाठ्यक्रमले तोकेका विषयवस्तुको ज्ञान विद्यार्थीसम्म प्रसारण गर्नु हो, सिक्ने–नसिक्ने कुरा विद्यार्थीको हो भन्ने ठान्छन्।
यो सही दृष्टिकोण होइन। सबैको सिकाइ सुनिश्चित नभएसम्म शिक्षकको जिम्मेवारी पूरा हुँदैन।
हिजोआज धेरैजसो यस्तो आलोचना सुनिन्छ– शिक्षकले राम्रो पढाएको भए पो विद्यार्थीले राम्ररी सिक्थे!
आखिर के यस्तो उपाय छ जसद्वारा शिक्षकले राम्रो सिकाउन र विद्यार्थीले राम्ररी सिक्न सक्छन्?
शिक्षणको त्यस्तो जादुगरी विधि त केही पनि छैन तर शिक्षकले शिक्षणका केही आधारभूत ज्ञान र सीपमा निपुणता हासिल गर्नसके उसले प्रायः सबै विद्यार्थीलाई सिकाउन सक्छ।
यो लेखमा विद्यार्थीको सिकाइ सहज र प्रभावकारी बनाउने केही सर्वमान्य र स्थापित शिक्षण विधिको चर्चा गरेको छु।
प्रशिद्ध शिक्षा मनोवैज्ञानिक ए. एल. थर्नडाइकले सिकाइका तीन साधारण सूत्र बताएका छन्– तयारीको नियम (ल अफ रेडिनेस), अभ्यासको नियम (ल अफ प्राक्टिस) र असरको नियम (ल अफ इफेक्ट)।
तयारीको नियम– सिक्नका लागि व्यक्ति शारीरिक र मानसिक रूपमा तयार हुनुपर्छ। भोक नलागेको व्यक्तिलाई खाना खुवाउन गाह्रो भएजस्तै तयारीबिनाको व्यक्तिलाई सिकाउन कठिन हुन्छ।
विद्यार्थी सिक्न तयार छ कि छैन भन्ने कुरा उसको हाउभाउ, जिज्ञासा र सहभागिताबाट प्रस्ट हुन्छ।
अर्का शिक्षा मनोवैज्ञानिक जिन पियाजे भन्छन्– बालबालिकाको सिकाइको तयारी उनीहरूको शारीरिक र मानसिक विकासको चरणअनुसार फरक हुन्छ।
सिकारूको शारीरिक र मनोवैज्ञानिक तयारी जुनसुकै सिकाइको पूर्वशर्त हो। शिक्षकले शिक्षण गर्नुपूर्व विद्यार्थीको पारिवारिक–सामाजिक पृष्ठभूमि, पूर्वज्ञान, अनुभव, रुचि, उत्प्रेरणा र अन्य मनोवैज्ञानिक अवस्था थाहा पाउनुपर्छ। सुरूआतका बाधा हटाउनु र सहजीकरण गर्नुपर्छ।
जसरी प्रतिस्पर्धात्मक दौडमा खेलाडी ‘गेट, सेट र गो’ चरणबाट अघि बढ्छ त्यसरी नै सिकाइ प्रक्रियामा पनि तत्परता (गेट), ध्यानाकर्षण (सेट) र सिकाइको कदम (गो) का लागि विद्यार्थीलाई तयार पार्नुपर्छ।
अभ्यासको नियम– सिकाइको प्रक्रियामा सिकारू जति बढी अभ्यास गर्न पाउँछ त्यति नै बढी सिक्छ। यसमा शिक्षणको ३०–७० सूत्र प्रयोग गर्नुपर्छ।
यो सूत्रअनुसार कक्षामा शिक्षकले समयको ३० प्रतिशतभन्दा बढी लिनु हुँदैन, ७० प्रतिशत समय विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सहभागी गराउनुपर्छ।
ड्राइभिङ सिक्न लागेको व्यक्ति प्रशिक्षकले नियमको जति नै व्याख्या–विश्लेषण गरे पनि सिकारूले ड्राइभिङ गर्न सक्दैन। ड्राइभिङ सिटमा बसेर जति बढी अभ्यास गर्न पाउँछ त्यति नै चाँडो सिक्छ।
कक्षाको पूरा समय विद्यार्थीका लागि हो। शिक्षक सहजकर्ता मात्र बन्नुपर्छ। शिक्षकले कक्षामा विद्यार्थीलाई अभ्यास गराउनुपर्छ। यस्तो सिकाइ छिटो र दिगो हुन्छ।
कक्षामा शिक्षकले बढी समय लिनु नै आजको शिक्षणको मूल समस्या हो। यहाँ त शिक्षकले नै झन्डै ७० प्रतिशत समय लिएको हुन्छ। व्याख्या र विश्लेषणमा बढी समय बिताइदिन्छ।
विद्यार्थीले कक्षामा अभ्यासका लागि मुस्किलले ३० प्रतिशत समय पाउँछन्।
शिक्षकले बढी समय लिँदा विद्यार्थी निष्क्रिय श्रोता मात्र हुन पुग्छन्। शिक्षकलाई बढी थकान हुन्छ।
प्रभावकारी शिक्षण विधिमा कक्षाको कम्तीमा ७० प्रतिशत समय विद्यार्थीलाई क्रियाकलापमा सहभागी गराउनुपर्छ। बढीभन्दा बढी अभ्यास गराउनुपर्छ।
असरको नियम– सिकाइ अभ्यास र प्राप्त परिणाममा विद्यार्थीले आनन्द अनुभूति गर्न सक्नुपर्छ। हामी त्यही कुरा दोहोर्याउन चाहन्छौं जसबाट बढी खुसी मिल्छ।
विद्यार्थीले अभ्यासको क्रममा अनेक गल्ती गरेको हुन्छ। कोही निकै छिटो सिक्छ त कोही निकै ढिलो। ढिलो सिक्ने वा बढी गल्ती गर्नेलाई गाली गर्नु र छिटो सिक्नेसँग तुलना गरेर उसलाई कमजोर साबित गर्नु शिक्षकको दुर्गुण हो।
शिक्षकले यस्तो नकाम गर्दा सिकाइ प्रक्रियामा विद्यार्थीले असहज अनुभव गर्छ, नजान्ने भएँ भन्ने ग्लानि हुन्छ।
शिक्षकले सबैलाई बराबर हौसला र प्रेरणा दिनुपर्छ। एकार्काको सिकाइ क्षमता तुलना गर्नु हुँदैन, क्षमता बढाउन प्रेरित गर्नुपर्छ।
विद्यार्थी हरेक दिन एक कदम अघि बढ्दै गयो भने सिकाइको गन्तव्यमा पुग्छ। सबै विद्यार्थी एकै गतिले गन्तव्यमा पुग्दैनन्। हिजो १० वटा गल्ती गर्नेले आज नौ वटा मात्र गर्यो भने एक कदम अघि बढेको मान्नुपर्छ। क्रमशः गल्ती कम हुँदै जान्छ।
सिकाइमा अभ्यासबाटै त्रुटि कम गर्न ध्यान दिनुपर्छ। त्रुटिबाट सिक्ने ‘लर्निङ बाई डुइङ’ विधि निकै प्रचलित छ। सिकाइमा त्रुटिबाट पनि सकारात्मक अनुभूति हुनुपर्छ, त्रुटिको कारण थाहा पाएको हुनुपर्छ। यसो भएपछि उही त्रुटि दोहोरिँदैन।
हामीमध्ये धेरै जना साइकल चलाउँछौं। चलाउन सिक्दा धेरैपटक लड्यौं होला, चोट पनि लाग्यो होला। यसमा पहिले गरेको गल्ती महसुस गर्दै सुधार्ने प्रयास गरिरह्यौं। अभ्यास दोहोर्याइरह्यौं र साइकल चलाउन जान्ने भयौं।
विद्यार्थीले अभ्यासका क्रममा गरेको गल्ती औंल्याएर सच्याउन प्रेरित गर्ने काम शिक्षकको हो। त्रुटि देखाएर निरूत्साहित गर्नु गलत हुन्छ।
शिक्षण एक जटिल प्रक्रिया हो। यो प्रक्रियामा विविधता आवश्यक पर्छ। हामी खाना खाँदा भातसँगै दाल, तरकारी र अचार खान्छौं त्यसरी नै प्रभावकारी शिक्षण कार्यमा कम्तीमा चार वटा विधिको मिश्रण जरुरी पर्छ।
यी विधिहरू सिकाइका स्थापित चार सिद्धान्त ‘व्यवहारवाद, संज्ञानवाद, निर्माणवाद र संयोजनवाद’ बाट जन्मिएका हुन्।
शिक्षकले मूलतः यी चार सिद्धान्तअनुसार सिकाइ कसरी हुन्छ, त्यो बुझ्न अत्यन्त जरुरी छ।
व्यवहारवाद– यो सिकाइको आधारभूत सिद्धान्त हो। सिकाइमा यो सिद्धान्त जन बि. वाट्सन, इभान प्याभ्लोभ, बि. एफ. स्किनर र एडवार्ड थनडाइकले विकास गरेका हुन्।
वातावरणमा प्राप्त वस्तु वा अवस्थाप्रति व्यक्तिले आधारभूत प्रतिक्रिया व्यक्त गर्छ। त्यही प्रतिक्रियात्मक अनुभवबाट क्रमशः सिकाइ हुँदै जान्छ।
वातावरणमा उपलब्ध वस्तु वा अवस्थालाई हामी उत्तेजना वा उद्दिपक भन्छौं। उत्तेजना–प्रतिक्रियाको शृंखलाबाटै सिकाइ सम्भव हुने हो। बालक जन्मनेबित्तिकै नयाँ वातावरणमा आउँछ र प्रतिक्रिया स्वरूप रुन्छ। नयाँ वातावरणमा हुने उसको सिकाइ यहीँबाट सुरु हुन्छ।
हामी हरेक दिन नयाँनयाँ वस्तु वा वातावरणसँग प्रतिक्रिया गर्छौं, निरन्तरको सिकाइ चलिरहन्छ। हामीले आगो (उत्तेजना) मा पहिलोपटक हात हाल्यौं र प्रतिक्रिया स्वरूप हात बाहिर तान्यौं। त्यही दिन आगोले पोल्छ भन्ने सिकाइ भयो।
हामीले सडकमा सवारी दुर्घटना र मानवीय क्षति देख्यौं, प्रतिक्रियास्वरूप डरायौं, रोयौं। त्यहींबाट सिकेर हामी सडकमा सधैं सावधानी अपनाउँछौं र सडक पार गर्दा ध्यान दिन्छौं।
हामी नेपाली भाषा फरर्र बोल्छौं। आजकाल हाम्रा कतिपय बालबालिका अंग्रेजीभाषी मुलुकमा जन्मिए। उनीहरू अंग्रेजी भाषा फरर्र बोल्नसक्ने भए।
यसले व्यवहारवादी सिद्धान्तअनुसार सिकाइलाई वातावरणीय प्रक्रियाको उपज हो भन्ने देखाउँछ। व्यक्तिले आफ्नो वातावरणअनुसार सिकाइ गर्छ।
संज्ञानवाद– मानिसमा उच्च बौद्धिक क्षमता हुन्छ। उसले सोच्ने, कल्पना गर्ने, तर्क गर्ने, धारणा बनाउने र चिन्तन प्रक्रियाबाटै नयाँ सिकाइ र ज्ञान निर्माण गर्न सक्छ।
संज्ञानवाद हाम्रा ऋषिमुनिहरूले प्रयोग गरेको ज्ञान निर्माणको मूल विधि हो। विद्यालय सिकाइमा यो सिद्धान्त प्रयोग गर्न जर्मन मनोवैज्ञानिक भल्फगंग कहलर, कुर्त कोफ्का र म्याक्स भर्दिमिअरको भूमिका बढी छ।
सिकाइ पूर्णतः मानसिक प्रकियामा आधारित विधि हो। समस्याको प्रत्यक्षीकरणसँगै दिमागी यन्त्र चालू हुन्छ र कम्प्युटरले सूचना वा डाटा प्रशोधन गरेर नतिजा दिएजस्तै समस्या वा नयाँ कुराको लागि सोच्ने, सम्झने, तर्क गर्ने, चिन्तन गर्ने जस्ता दिमागी काम हुन थाल्छ। यसबाट ठोस निष्कर्ष आउँछ।
निर्माणवाद– व्यवहारवाद र संज्ञानवादले सिकाइलाई व्यक्तिगत कार्यको रूपमा अर्थ्याउँछन्। निर्माणवादका प्रमुख प्रणेता लेभ भिगोत्सकी सिकाइलाई एक सामाजिक प्रक्रियाका रूपमा व्याख्या गर्छन्।
व्यक्तिहरूको समूहमा बसेर गहन सञ्चार र अन्तक्र्रियाको माध्यमद्वारा वस्तुनिष्ठ वा व्यावहारिक ज्ञान निर्माण गर्न सकिन्छ भन्ने यो सिद्धान्तको मूल आशय हो।
यसरी हेर्दा ज्ञान निर्माण र सिकाइ प्रक्रियामा सहकार्य, अन्तर्क्रियाबाट विचारको मन्थन हुन्छ। दही मन्थनबाट अन्तिममा नौनीको डल्लो निस्किएझैं विचारको मन्थनले नयाँ ज्ञान जन्म हुन्छ।
शिक्षकको भूमिका विचार मन्थन गर्न वा मदानी चलाउन सहजीकरण गर्नु मात्र हो।
संयोजनवाद– सूचनाका स्रोतमाथि सम्बन्ध र पहुँच जति विस्तार हुन्छ त्यति नै बढी सिकाइ हुन्छ। पछिल्लो समय इन्टरनेटको माध्यमबाट हामी व्यक्ति र सूचनास्रोतको जालोमा जोडिँदै गयौं, नयाँ कुरा सिक्ने सम्भावना बढ्दै गयो।
हिजो टाढाका व्यक्ति र ज्ञानका स्रोतमा बलियो पहुँच थिएन। आज प्रविधिको द्रुत विकासले ‘नजिक र टाढा’ भन्ने विषय नै असान्दर्भिक हुन गयो।
अबको शिक्षण प्रक्रियाले विद्यार्थीलाई ज्ञानको पहुँचमा पुग्न सहजीकरण गरिदिनुपर्छ। त्यो स्रोतमा पुगेपछि विद्यार्थीले आफ्नो रूचि, क्षमता र आवश्यकताका आधारमा ज्ञानको खोजी र अभ्यास गर्छ।
अबको सिकाइ नेटवर्क वा कनेक्सनबाट बढी सम्भव छ भन्ने आसय संयोजनवादका मूल प्रणेता जर्ज साइमन्ज र स्टेफेन डाउन्जको रहेको छ।
शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन यी चारै सिद्धान्तमा आधारित विधि मिश्रितरूपमा प्रयोग गर्नुपर्छ। शिक्षकले कक्षामा गएर विषयवस्तु प्रस्तुत गर्नु र अभ्यास गराउनु व्यवहारवादी विधि हो।
उसले विभिन्न शिक्षण सामग्री र विधि उत्तेजनाका रूपमा प्रयोग गर्छ र विद्यार्थीलाई सोहीअनुसार आवश्यक प्रतिक्रिया व्यक्त गराउँछ। प्राप्त प्रतिक्रिया पुनरवलोकनको माध्यमद्वारा दोहोर्याउन वा अभ्यास गर्न प्रेरित गर्छ। यसरी क्रमशः सिकाइ अघि बढ्छ।
व्यवहारवादीहरू सिकाइको पुनरूत्पादनमा जोड दिन्छन्। यसले नवीनता र सृजनात्मकता कम प्रोत्साहित गर्छ। आलोचकहरूले यो विधि सुगालाई ‘गोपी कृष्ण कहु’ भन्न सिकाउने जस्तै हो भन्छन्।
सिकाइमा नवीनता र सृजनात्मकता ल्याउन व्यवहारवादी शिक्षणमा संज्ञानवाद मिश्रण गर्नुपर्छ। विद्यार्थीलाई सोच्न, चिन्तन गर्न, तर्क गर्न, वैकल्पिक धारणा बनाउन र आफ्नो अनुभूति प्रकट गर्न लगाउनुपर्छ।
निर्माणवादी शिक्षणअन्तर्गत साथीहरूबीच साझेदारी, समूह कार्य, अन्तर्क्रिया तथा छलफल, आलोपालो प्रस्तुतीकरण र प्रश्नोत्तरको अवसर दिनुपर्छ।
यसले नयाँ ज्ञान निर्माणसँगै सामाजिकीकरणमा मद्दत पुर्याउँछ। यसबाट समस्या समाधानका उपयोगी क्षमता र सिपको विकास हुन्छ।
आजको युगमा सिकाइ प्रक्रियामा विद्यार्थीलाई आत्मनिर्भर बनाउन तथा सिकाइमा सृजनात्मकता, नवीनता र विविधिकरणका लागि संयोजनवादी शिक्षणविधि आवश्यक पर्छ।
यही विधिमार्फत् विद्यार्थीलाई ज्ञानका अन्य स्रोतसँग जोडिन सिकाउनुपर्छ। सिकाइमा इन्टरनेटका स्रोत, आर्टिफिसल इन्टेलिजेन्स, सामाजिक सञ्जाल र प्रविधि सही तरिकाले संयोजन गर्न शिक्षकले सहजीकरण गर्नुपर्छ।
उपर्युक्त चार विधिको मिश्रणले सिकाइ प्रक्रियामा विविधीकरण गर्छ, सिकाइ सहज र दिगो हुन्छ।
विद्यालय र कलेजमा शिक्षकहरू मूलतः व्याख्यात्मक प्रस्तुतीकरण गर्छन् भन्ने आरोप छ। उनीहरू एकोहोरो व्याख्या गर्छन्, आफै समस्याको हल गरिदिन्छन् र बुझ्यौ भन्दै प्रश्न गर्छन्।
विद्यार्थीहरू सबै कुरा बुझेझैं गरी टाउको हल्लाउँछन्। शिक्षकले एक, दुई प्रश्न सोध्छन् अनि त्यस्तै अभ्यास दोहोर्याउन लगाउँछन्। यो विधि एकांकी हुन्छ।
शिक्षकको प्रस्तुति ३० प्रतिशत समयमा सीमित गरेर बाँकी समय विद्यार्थीलाई विषयवस्तु र सम्बन्धित समस्यामा चिन्तन, परिकल्पना र अनुभूति गर्न लगाउनुपर्छ। यसैअनुसार लेख्न लगाउनुपर्छ, समूहमा काम गर्ने अवसर दिनुपर्छ।
अन्तर्क्रियात्मक विधिबाट समस्यामा छलफल गराउनुपर्छ। सम्भव भएसम्म इन्टरनेट सामग्रीमा पुर्याएर संसारको ज्ञानसँग जोडिन सिकाउनुपर्छ। यसो गर्न सके हाम्रो खाना आधारभूत पोषणको मिश्रणले ‘सन्तुलित भोजन’ बनेजस्तै शिक्षण–सिकाइ पनि सन्तुलित बन्न सक्छ।
शिक्षण–सिकाइमा आवश्यकताअनुसार अन्य सैद्धान्तिक र व्यावहारिक विधि थप गर्न सकिन्छ। यिनमा मानवतावाद, रैथानेवाद र आलोचनावादबाट निस्सृत शिक्षण विधि प्रमुख छन्।
मानवतावादी सिद्धान्तअनुसार सिकाइ प्रक्रियामा मानवीय मूल्य र संस्कृतिका पक्ष जोड्न जरुरी हुन्छ।
यही सैद्धान्तिक जगमा उभिएर हिजो ‘नैतिक शिक्षा’ भन्ने छुट्टै विषय पढाइ हुन्थ्यो। आज त्यसको अभावमा विद्यार्थीमा आधारभूत मानवीय र सांस्कृतिक मूल्य र आचरण क्षयीकरण भइरहेको छ भन्ने आलोचना सुनिन्छ।
अहिले अलग विषयका रूपमा नसकिए पनि शिक्षण–सिकाइ क्रियाकलापमै आचरण, अनुशासन र मूल्यका पक्ष जोड्न जरूरी छ।
रैथाने वा आदिवासीवादले स्थानीय समुदायहरूको ज्ञान, मूल्य र विश्वास शिक्षण–सिकाइ क्रियाकलापमा समेटेर सिकाइ अनुभव लिन जोड दिन्छ। विद्यार्थीहरूलाई आफ्नो समुदायको ज्ञान निर्माण र हस्तान्तरणको विधि आधुनिक शिक्षण–सिकाइका विधिसँग जोड्न सिकाउँछ।
शिक्षकले मिल्दो विषयक्षेत्रमा आफ्नो पहिचान र ज्ञानप्रणालीमा जोड दिँदै विषयवस्तु र शिक्षण–सिकाइका विधिमा हस्तकला, कृषि, प्राकृतिक सम्पदा, औषधोपचार, चाडबाड, लोकसंस्कृति र भाषा जस्ता परम्परागत ज्ञान र सीप जोडेर सिक्न विद्यार्थीलाई प्रेरित गर्नुपर्छ।
अर्कोतर्फ, आलोचनावादी शिक्षणले प्रत्येक विद्यार्थीलाई आफूभित्र दबेको आवाज बाहिर ल्याउन प्रोत्साहित र सशक्तीकरण गर्छ। यसले विद्यार्थीलाई फरक विचार र दृष्टिकोणमा चिन्तन गर्ने, असहमत विषयमा प्रश्न उठाउने र आलोचनात्मक सोचको अभ्यास गर्ने प्रेरणा दिन्छ।
यो विधिले विद्यार्थीलाई असमानता, अन्याय र थिचोमिचोको विरोध गर्न तथा आफ्ना विचार र विश्वासहरू प्रकट गर्न सशक्तीकरण गर्छ।
शिक्षकले यो विधिमार्फत विद्यार्थीलाई सिर्जनात्मक र आलोचनात्मक सोचका लागि प्रेरित गर्न सक्छ। यसले सिकाइ अझ समृद्ध र प्रभावकारी बनाउँछ।
विद्यार्थीलाई निडर र निर्भिकरूपमा अभिमत प्रकट गर्न र असहमत विषयमा प्रश्न गर्न सक्षम बनाउन यो विधि आवश्यकता अनुसार अन्य विधिमा मिश्रण गर्न जरुरी छ।
शिक्षण–सिकाइ एक जटिल र गतिशील प्रक्रिया हो। शिक्षणमा ‘वन साइज फिट्स अल’ जस्तो एउटा मात्रै विधिले प्रभावकारी शिक्षण हुँदैन भन्ने कुरा सबै शिक्षक बुझ्नुपर्छ।
विद्यार्थीले जुन विधि सहज मान्छ र सजिलो गरी सिक्छ त्यसैअनुसार सिक्न सक्ने वातावरण तयार गर्नुपर्छ।
यस्तो वातावरण बनाउन शिक्षकले विद्यार्थीको पूर्वज्ञान र पृष्ठभूमि ख्याल गरेर शिक्षण प्रक्रिया र सिकाइ अनुभवमा विविधीकरण र अनुकूलन गर्नुपर्छ।
सकेसम्म सिकाइ सामग्री, सिकाइ अनुभव र शिक्षण विधिमा बहुविकल्प र बहुविधि प्रयोग गर्दै शिक्षण गतिशील, रोचक र प्रभावकारी बनाउन शिक्षकले आफूलाई पनि सबल बनाउनुपर्छ।
यसरी शिक्षण–सिकाइमा विविधीकरण र अनुकूलन गर्न सके सबै विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय र सक्षम बनाउन सकिन्छ।
(डा. खनाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक हुन्।)