मेरो बच्चालाई कहाँ भर्ना गरौं?
यो प्रश्नले अभिभावकलाई पिरोल्ने समय आएको छ।
एक शैक्षिक सत्य बुझी राखौं — स्कुलको नाम, प्रतिष्ठा वा श्रेणीले विद्यार्थीको शैक्षिक भविष्य पूर्ण रूपमा सुनिश्चित गर्दैन। विद्यार्थीको सफलता र स्कुलको प्रतिष्ठा वस्तुगत रूपमा भिन्न छन्।
विशेषतः विद्यालयहरूले आफ्नो विशेष पहिचान दिन त्यहाँ भएका भौतिक संरचना, सुविधाहरू, विद्यालयको परीक्षा नतिजा र अन्य आफ्ना सबल पक्षहरूलाई प्रकाशित गर्दै आफ्नो प्रतिष्ठा निर्माण गर्छन्। तिनका आधारहरूमा उच्च श्रेणीको वा औसत स्कुलका रूपमा विभिन्न सञ्चार माध्यमहरूले जानकारी दिन्छन्।
उपर्युक्त आधारहरू एक असल स्कुलका सूचक हुन सक्छन्। तर ती सूचकहरूले आफ्ना बालबालिकालाई शैक्षिक सुनिश्चितता दिन्छन् भन्ने प्रत्याभूतिलाई अभिभावकहरूले शतप्रतिशत आधार मान्न हुँदैन।
यसलाई एक सहजै देखिने तथ्यले स्पष्ट पार्छ।
औसत वर्गमा पर्ने स्कुलका विद्यार्थीका शैक्षिक र विकासात्मक सफलता अनगिन्ती छन् र यस्तै उच्च श्रेणीका स्कुलमा पनि प्रशस्त संघर्षरत विद्यार्थी पाइन्छन्। कहिलेकाहीँ औसत स्कुलले उच्च श्रेणीलाई माथ गर्छन्।
यस तथ्यले के स्पष्ट पार्छ भने, उच्च श्रेणी र औसत स्कुलमा विद्यार्थीका शैक्षिक सफलताका अन्य आधारहरू छन्।
ती वस्तुगत आधार अभिभावकहरूले पहिल्याउन सकेमा आफ्ना बालबालिकाका लागि स्कुल छनोट गर्न सजिलो हुन्छ। यो लेखमा अभिभावकहरूलाई स्कुल चयन गर्दा जान्नै पर्ने तत्वहरू उल्लेख गर्ने छु। आशा छ सहयोग पुग्ने छ।
अनुसन्धानले देखाए अनुसार अभिभावकको वा स्कुलको साधन स्रोतको मनग्यताले मात्रै शैक्षिक उपलब्धि ल्याउँदैन। तिनले शैक्षिक प्रक्रियालाई सहज बनाउन मद्दत गर्छन्। तर ती साधनहरू शिक्षा प्रक्रियासँग मेल नखाएमा निष्प्रभावी हुन्छन्।
अनुसन्धान भन्छ — स्कुलको नेतृत्व सबल छ, विद्यार्थी केन्द्रित शिक्षा प्रणाली छ, शैक्षिक संस्कृति एकबद्ध छ, अभिभावक र समुदायको सहभागिता छ भने मात्रै स्रोत साधनले परिणाम ल्याउँछ। स्कुलको वैभवता र प्रतिष्ठा (ब्रान्डिङ) लाई मात्र आधार मान्दा आम अभिभावकहरूले स्कुलको सही चयनमा त्रुटि गर्छन्।
स्कुल चयनको पहिलो आधार हो — त्यहाँका विद्यार्थीका बौद्धिक विकासका लागि निर्माण गरिएको शैक्षिक कार्यक्रम।
शैक्षिक कार्यक्रम अन्तर्गत स्कुलको पाठ्यक्रमको विस्तार, यसको योजना र निरन्तरको मूल्यांकन प्रणाली, तथ्यांकमा आधारित विद्यार्थी प्रगतिका अनुगमन र कार्यान्वयन छन्।
यतिमा मात्र सीमित नभएर असल स्कुलका शैक्षिक कार्यक्रमले विद्यार्थीका सर्वांगीण विकासलाई पनि समेट्छन्। यस्ता स्कुलहरूले स्रोत साधनलाई योजनाबद्ध भएर त्यसमा लगानी गर्छन्।
भौतिक सुविधा वा यसको चम्किलो प्रदर्शनलाई केन्द्रमा राख्ने संस्थाहरू अन्ततः यान्त्रिक बन्ने जोखिम हुन्छ र शिक्षा देखावटी बन्छ। तर भौतिक सुविधाको साथमा स्कुलको दक्षता, प्रभावकारी शैक्षिक कार्यक्रम र त्यसै अनुसारको तालिम प्राप्त शिक्षकहरूका साथ उत्कृष्ट बन्न जान्छ।
'कम लगानीमै हुने निर्माणात्मक मूल्यांकन रणनीति, विद्यार्थीलाई दिइने पृष्ठपोषण र सकारात्मक विद्यार्थी–शिक्षक सम्बन्धले शिक्षालाई खर्च गरेर झल्काइएका विभिन्न सुविधाले भन्दा धेरै प्रभावकारिता ल्याउँछ,' भिजीबल लर्निङका अध्येताहरू भन्छन्।
ओइसिडी अध्ययनले भन्छ — बाह्य स्वरूपमा लगानी केन्द्रित गर्दा प्रतिफल उल्टो पनि आउन सक्छ।
त्यसैले अभिभावकहरूले स्कुल छान्दा त्यसको समग्र शैक्षिक कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। सँगै, त्यो कार्यक्रमले आफ्नो बच्चाको आवश्यकता सम्बोधन गर्छ कि गर्दैन भन्ने थाहा पाउन अनिवार्य हुन्छ।
यसका लागि पहिले स्कुलको मूल्य, मान्यता र दर्शनका बारेमा जानकारी लिनुपर्छ।
कस्तो शैक्षिक दृष्टिकोण आधारमा स्कुल स्थापना भएको हो, त्यस अनुसार पाठ्यक्रमलाई कसरी योजना गरिएको छ, सिकाइलाई कसरी व्यावहारिक बनाइन्छ, परम्परागत शैलीलाई कसरी समयसापेक्ष परिष्कृत गरिएको छ भन्ने जस्ता प्रश्नहरूले स्कुलको शैक्षिक आधारको ज्ञान दिन्छ।
दोस्रो, शिक्षकको दक्षताबारे पनि थाहा पाउनुपर्छ। शिक्षकको पेसागत तालिम कसरी दिइन्छ, तालिम र स्कुलको दर्शनबीच कत्तिको तादात्म्यता छ, स्कुल कार्यक्रम कसरी लागू गरिन्छ लगायतको प्रमाणका लागि कक्षाकोठा अवलोकन गर्नुपर्छ।
अभिभावकहरूले स्कुल छनोट गर्दा त्यस स्कुलले शिक्षकको पेसागत दक्षतामा गर्ने लगानीलाई नियाल्नुपर्छ। यसको प्रत्यक्ष प्रभाव विद्यार्थीमा पर्छ। कुशल शिक्षकमा जोड दिने स्कुल पछि पर्दैनन्। यस्ता स्कुलहरूले निरन्तरको पेसागत विकासमा प्रशस्त स्रोत साधन खर्च गर्छन्।
शिक्षक–विद्यार्थी अनुपात १ः१२ आदर्श मानिन्छ र हरेक कक्षामा २५ भन्दा कम विद्यार्थी हुनुपर्छ। गुणस्तरीय प्रगतिशील विद्यालयमा व्यक्तिगत शिक्षणका लागि यो संख्या १५ सम्म पनि झारिन्छ।
तेस्रो, स्कुलले विद्यार्थी मूल्यांकन गरेका तथ्यांकलाई कसरी प्रयोग गर्छ भन्ने जानकारी राख्नुपर्छ। स्कुल झलझलाउँदो छ, तर शैक्षिक उपलब्धिको तथ्यांक प्रयोग गरेको छैन भने, त्यहाँ स्वप्रेरित भन्दा अन्य विद्यार्थीले प्रगति गर्ने सम्भावना अति न्यून हुन्छ।
थाहा पाउनुपर्ने चौथो तथ्य हो स्कुलको संस्कृति। यसअन्तर्गत स्कुलले विद्यार्थीको पार्श्वचित्र र समावेशी सिकाइको प्रवर्द्धन, सामाजिक–भावनात्मक सीपको विकासका सागै शिक्षक र विद्यार्थीबीचको अन्तरसम्बन्ध जस्ता पक्षहरू छन्।
पाँचौं, स्कुलको शैक्षिक परिणामका सूचकहरूलाई पनि समग्रमा जानकारी लिनुपर्छ। तर यसलाई नै प्रमुख आधारका रूपमा राखेर अन्य तत्वहरूलाई छायामा पार्न हुँदैन। जुन स्कुलले तत्कालका परीक्षा परिणामभन्दा विद्यार्थीको दीर्घकालीन हित हुने कार्यक्रमलाई महत्त्व दिन्छन्, ती उपयुक्त हुन्छन्।
यसका साथै सिकाइ केन्द्रहरू; जस्तै पुस्तकालय, खेलमैदान, संगीत कक्षा, प्रयोगशाला इत्यादिलाई कसरी पाठ्यक्रममा समावेश गरिन्छ भन्ने जानकारी राख्नुपर्छ। शैक्षिक योजनाका ती अभिन्न भाग भए मात्र विद्यार्थीले यस्ता कार्यक्रमका लाभ उठाउँछन्, अन्यथा ती क्रियाकलापमा मात्र सीमित हुन्छन्।
यस्तै, अभिभावकहरूको संलग्नताको संस्कृति कस्तो छ, उनीहरूको भूमिकालाई कुन रूपमा परिभाषित गरिएको छ र त्यसलाई स्कुलले निर्णय प्रक्रियामा वा नीतिमा कसरी समावेश गर्छ भन्ने बुझ्नुपर्छ।
अभिभावकहरूले आफूले चाहेको स्कुलको शिक्षकसँग छलफल गर्न छुटाउनै हुँदैन। गजब देखिने स्कुल छ, तर त्यहाँको अनुदेशात्मक नेतृत्व फितलो छ र शिक्षाको ज्ञान राख्दैन भने, त्यस्ता विद्यालयमा आफ्ना केटाकेटी भर्ना गर्न उचित हुँदैन। स्मरण रहोस्, अनुदेशात्मक नेतृत्व नै स्कुल र विद्यार्थी सफलताको अग्रणी तत्व हो।
विद्यार्थीका चौतर्फी विकासका लागि सह–क्रियाकलापलाई पनि हेर्नुपर्छ। स्कुलले ती क्रियाकलापहरूलाई स्कुल कार्यक्रममा एकीकृत गरेको छ कि छैन भन्ने थाहा पाउनुपर्छ।
उल्लिखित सबै तत्वहरूलाई समग्रतामा राख्नुपर्छ, एकल प्राथमिकतामा मात्रै हेर्न हुँदैन। स्कुलमा यी सबै पक्ष छन् भने, त्यस्ता स्कुलहरू सन्तुलित हुन्छन् र विद्यार्थीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्।
साथै, स्कुल छनोट गर्दा कुनले कस्ता पक्षलाई प्राथमिकतामा राखेका छन् भन्ने जानकारी लिनुपर्छ।
उदाहरणका लागि, खेलकुद वा कला सम्बन्धी शिक्षालाई स्कुलले प्राथमिकता दिएको छ र यसमा अत्यधिक समय खर्चिन्छ भने अन्य शैक्षिक पक्ष कमजोर हुन सक्छ, वा यसको विपरीत पनि हुन सक्छ।
बच्चाको रूचि जेमा छ, त्यस्ता कार्यक्रम स्कुलका प्राथमिकतामा छन् भने, त्यो स्कुल आफ्ना नानीहरूका लागि उपयुक्त हुन्छ।
अभिभावकले ख्याल राख्नुपर्ने कुरा के हो भने, बच्चाको जुन पक्ष सबल छ, त्यसैमा केन्द्रित हुनुपर्छ, विशेष ध्यान दिनुपर्छ। त्यस पक्षमा विद्यार्थीलाई थप अभ्यास गराउने विद्यालय भएमा, बच्चाको आवश्यकतासँग मिल्छ र सफलताको सम्भावना उच्च हुन्छ। यो स्कुलको व्यक्तिगत शिक्षण (पर्सनलाइज्ड लर्निङ) कार्यक्रमले गर्छ।
सन्तुलित र उच्च गुणस्तर भएका स्कुलले पनि हरेक विद्यार्थीको सफलतालाई सुनिश्चित गर्छ भन्ने चाहिँ हुँदैन। यसमा अन्य कारक तत्वहरूले पनि भूमिका खेल्छन्। राम्रो स्कुलमा राखिएको छ तर विद्यार्थीमा परिवर्तन आएको छैन भने अन्य विविध कारणहरू हुन सक्छन्।
दोस्रो पाटोमा त्यसमा छोटो प्रकाश पार्छु।
समताका दृष्टिकोणबाट स्वीकार्न सहज हुँदैन तर प्रशस्त शैक्षिक अनुसन्धानको निष्कर्षमा अभिभावकहरूको चुनौतीपूर्ण सामाजिक–आर्थिक अवस्थाले बालबालिकाको शैक्षिक उपलब्धिलाई प्रत्यक्ष नकारात्मक असर पारेको देखाउँछ।
चुनौतीपूर्ण सामाजिक–आर्थिक अवस्थाले बालबालिकाहरूलाई औसतमा सबल परिवारका भन्दा दुईदेखि तीन वर्ष पछि धकेल्ने अध्ययनले देखाउँछ।
घरको अप्ठ्यारो आर्थिक अवस्था, तनावपूर्ण मातापिता सम्बन्ध, असुरक्षाको अनुभव वा भावनात्मक क्षति भएका विद्यार्थीहरूलाई विद्यालय र दक्ष शिक्षकको समर्थनमा पनि शिक्षा आर्जन गर्न कठिन हुने अध्ययनले देखाउँछ।
यदि अभिभावक समस्याग्रस्त छन् तर स्कुल सन्तुलित छ, वा स्कुल र अभिभावक ठीक छन्, तर विद्यार्थीमा मानसिक समस्या, जस्तै अटिजम वा संस्कारगत त्रुटि छन् भने पनि ती विद्यार्थीहरूको शैक्षिक सफलता न्यून हुन्छ। यस अवस्थामा स्कुलमा उपचारात्मक शिक्षा छ कि छैन भन्ने थाहा पाउनुपर्छ।
सिकाइ कठिनाइ (लर्निङ डिसएबिलिटी) भएको थाहा नहुँदा, जस्तै डिस्लेक्सिया (हिज्जेमा, पढ्नमा बारम्बार त्रुटि हुने) अवस्थालाई विद्यार्थीको लापरबाहीको रूपमा लिँदा, उनीहरूको शैक्षिक प्रक्रिया खल्बलिने हुन्छ। उपचारात्मक शिक्षाले यसलाई सघाउँछ।
अभिभावक र स्कुलको सम्बन्ध सुमधुर नभएमा, अभिभावकहरूले आफ्ना नानी जाने स्कुलका शिक्षकमाथि विश्वास नगरेमा, वा स्कुलर शिक्षकका बारेमा आफ्ना नानीहरूसँग नकारात्मक टिप्पणी गरिरहेमा, विद्यार्थीले आत्मविश्वास गुमाउन सक्छन् र शैक्षिक सफलतालाई विपरीत दिशामा धकेलिदिन्छन्।
उत्कृष्ट स्कुल छ तर विद्यार्थीमा आन्तरिक प्रेरणा वा सिकाइको मूल्यको अभाव छ, भावनात्मक चोटहरूले विक्षिप्त बनाएको अवस्था छ, अभिभावकले दिने समयको अभाव छ, अध्ययनको बानी विकास भएको छैन, घरमा समय व्यवस्थापनको समस्या छ भने पनि विद्यार्थी सफलतालाई असर गर्छ।
'राम्रो विद्यालयमा राखेको छु, हाम्रा नानीहरूको शिक्षाको जिम्मा सबै स्कुललाई नै सुम्पेको छु' भन्ने धारणा राख्ने अभिभावकहरूले पनि विद्यार्थीको सफलता अवरोध गर्छन्।
यस्तै, अभिभावकले स्कुलमा दिने अत्यधिक दबाव वा अपेक्षाले पनि बालबालिकाको शैक्षिक उन्नति प्रतिगमनतिर लग्छ।
सन्तुलित स्कुल, जसले विद्यार्थीका सामाजिक, भावनात्मक, शारीरिक र बौद्धिक पोषण गर्न सक्छ, तिनले विद्यार्थीको सफलता सुनिश्चित गर्न सक्छन्।
स्कुलको विद्यार्थी सफलतामा अवश्य पनि अहम भूमिका हुन्छ। यो सत्य हो। तर मातापिता, घरपरिवार, र वातावरणको सकारात्मक समर्थनमा मात्रै।
तसर्थ प्रतिष्ठा, श्रेणी, विज्ञापन वा हल्लाका भरमा विद्यालय चयन गर्न हुँदैन। सबै आयामलाई तुलनात्मक विश्लेषण गरी निर्णय गर्नु उचित हुन्छ।
सारांशमा विद्यालय छनोट गर्दा यी कुरामा ध्यान दिनुपर्छ —
- विद्यार्थीको आवश्यकता सही रूपमा सम्बोधन गर्न सक्ने।
- गुणस्तरीय विद्यार्थी–केन्द्रित शैक्षिक कार्यक्रम र दक्ष शिक्षक भएको।
- सबल अनुदेशात्मक नेतृत्व भएको।
- अभिभावकलाई सम्मिलित गर्ने।
- असल भौतिक संरचना र सुविधा सहितको, विद्यार्थीको सर्वांगीण विकास गर्न सक्ने स्कुल उत्तम हुन्छ।
***
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)