'फातसुङ' का लेखक छुदेन काविमोको दोस्रो उपन्यास 'उरमाल' को लोकार्पणमा लेखक काविमो र मानवशास्त्री सुरेश ढकालले कुराकानी गरेका थिए।
संवाद रोचक थियो। लेखकको भाषा, शिल्प, वैचारिकी लगायत विविध पक्षमा कुराकानी भएको थियो।
तर मलाई सबभन्दा बढी उत्सुक 'उत्पादन सम्बन्ध' को प्रसंगले बनायो।
ढकालले कुरै कुरामा 'सामन्ती उत्पादन सम्बन्ध' बाट 'पुँजीवादी उत्पादन सम्बन्ध' मा जाँदा पात्रहरूले पाएको दुःखको चित्रण उपन्यासमा गरिएको बताएका थिए। यसबाट उपन्यासमा समेटिएका विविध विषयमध्ये 'उत्पादन सम्बन्ध' पनि एक हो भन्ने सहजै अनुमान गर्न सकिन्छ।
यो उपन्यास उत्तरपूर्वी भारत, डुअर्सको चियाबारीमा काम गर्ने दुई महिला पात्र सकिला र सोमारीको दुःख वरिपरि घुम्छ। कथा सकिलाकी छोरी नुरसाङले भन्छिन्। उपन्यासले ब्रिटिस राजदेखि अहिलेसम्म त्यो भूगोलमा बस्ने नेपालीभाषी र आदिवासीले सामना गरेको अर्थ-राजनीतिलाई पृष्ठभूमि बनाएको छ। यही सेरोफेरोमा थुप्रै उपकथा, त्यस भेगका लोककथा र पौराणिक कथा उनिएका छन्।
उपन्यास पढ्दै गर्दा मैले कलेजका दिनमा पढेका श्रमजीवीका कथाहरू सम्झेँ। जर्ज बर्नाड श, चार्ल्स डिकिन्स, मार्क ट्वेन, लु सुन, म्याक्सिम गोर्की, गाब्रियल मार्खेज, प्रेम चन्द, मुल्कराज आनन्द, महाश्वेता देवीले लेखेका कथाहरू। नेपालीमा पनि थुप्रै प्रगतिवादी साहित्यकारले गरिब-निमुखालाई आफ्नो लेखनीको विषय बनाएका छन्।
उनीहरूको आख्यानको केन्द्रमा सीमान्तकृत, शोषित, पीडित, अछुत, गरिब, निमुखा, दलित, महिला, आदिवासी, खेतमा काम गर्ने किसान, कारखानाका मजदूर हुन्छन्। कारखानाका मालिक, जमिनदार, प्रशासक, नेतालाई भने प्रायः खलपात्रका रूपमा उभ्याइन्छ। ती साहित्यिक कृतिमा निहित वैचारिकीले श्रमजीवीको पक्ष लिएको दाबी गरिएको हुन्छ।
काविमोको उपन्यास 'उरमाल' मा भने खलपात्र दृश्यमा छैन। दुःख पाउनु पात्रहरूको नियतिजस्तो देखिन्छ। सायद यही गरिबी, अभाव, रोग, भोक, अपमान मात्र भागमा पर्ने सकिला र सोमारीको नियतिलाई नै ढकालले 'पुँजीवादी उत्पादन सम्बन्ध' भनेका होलान्!
ढकालको अभिव्यक्ति सायद सुविचारित थिएन। माथि नै भनेँ, उनले कुरै कुरामा 'पुँजीवादी उत्पादन सम्बन्ध' लाई जोड्न खोजेका होलान्! हामीकहाँ कुरै कुरामा यस्तो गर्ने चलन जो छ।
आम रूपमा पुँजीवाद भनेर जसरी बुझिएको छ, त्यस किसिमको प्रसंग उपन्यासमा एकपटक मात्र आएको मैले भेटेँ। चिया कारखाना बन्दबारे एक पात्रले भन्छ, 'यो सब हुने चिया कम्पनीको मालिककै कारण हो। बगान देखाएर लोन लिन्छ। तर त्यो पैसा अरूतिरै खर्च गरिदिन्छ।'
खासमा यो पनि पुँजीवादको विशिष्ट चरित्र होइन। यो त व्यापारिक चलखेल हो। व्यापारिक चलखेल र पुँजीवाद समानार्थी होइनन्। छलछामलाई पुँजीवादले प्रोत्साहित गर्दैन। कारोबार गर्ने कुनै एक पक्षले अर्को पक्षलाई अपुरो, अधुरो सूचना दिएर प्रभावित गर्न खोज्यो भने पुँजीवादी प्रणालीले काम गर्दैन। छलछाम, ठगी, धोखाधडी कुनै पनि प्रणालीको अपवाद हुनसक्छ, मूल प्रवृत्ति हुन सक्दैन।
वस्तु तथा सेवा उत्पादन, निर्माण, बैंकिङ, बिमा लगायत आधुनिक अर्थतन्त्रका विविध अवयवको परिचालन पारदर्शी कारोबारबाट मात्र सम्भव हुन्छ। श्रम, वस्तु तथा वित्त बजारमा हुने करारका सर्त-बन्देजमा सहभागी हुने सबै पक्ष त्यस्ता करारले सिर्जना गर्ने सम्भावित प्रतिफल र जोखिमबारे जानकार हुन्छन् भन्ने मान्यता राखिन्छ।
उदाहरणका लागि, म छोरी पढाउन स्कुलमा शुल्क तिर्छु। स्कुलले मेरी छोरीलाई राम्ररी पढाउँछ भन्ने मेरो अपेक्षा हुन्छ। स्कुलले पनि मेरी छोरीलाई पढाउनु आफ्नो कर्तव्य हो भन्ने बुझेको हुन्छ। यसरी स्कुल र मबीच एक किसिमको करार भएको हुन्छ।
मैले बुझेको 'पुँजीवादी उत्पादन सम्बन्ध' यही मान्यतामा आधारित छ। पुँजीवादले व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ। एउटा सामान्य मानसिक अवस्थाको मान्छेसँग आफ्ना लागि के राम्रो हो र के राम्रो होइन भनेर छुट्याउने विवेक हुन्छ भन्ने मान्यता पुँजीवादले राख्छ। अर्काको विवेकमा चल्ने मान्छे स्वतन्त्र हुन सक्दैन, दास हुन्छ।
व्यक्तिहरूबीच आपसी हितलाई अधिकतम गर्ने अन्तर्क्रियाको अभिव्यक्ति स्वतन्त्र आर्थिक कारोबारमा हुन्छ। आफू ठगिइरहेको छु भन्ने कसैलाई लाग्छ भने त्यस्तो कारोबारमा सहभागी बन्न उसलाई कसैले करकाप गर्दैन। यस्तो कारोबार आर्थिक, सामाजिक वा सांस्कृतिक जुनसुकै हुन सक्छ। तर पुँजीवादलाई प्रायः आर्थिक कारोबारका रूपमा जोड्ने गरिन्छ।
हो, उपलब्ध स्रोतबाट अधिकतम लाभ हासिल गर्ने कुरालाई पुँजीवादले मार्गप्रशस्त गर्छ। तर पुँजीवाद यतिमै सीमित रहँदैन। सबै खाले उन्नतिका लागि भौतिक उन्नति पहिलो र अनिवार्य सर्त हुन्छ। मान्छेको सन्तुष्टि भौतिक आवश्यकताहरूमा मात्र सीमित हुँदैन। तर आधारभूत भौतिक आवश्यकताको पूर्ति नभई अन्य किसिमका आवश्यकता पूर्ति गर्न सकिँदैन। भौतिक आवश्यकता पूर्ति गर्न पुँजीवादी आर्थिक प्रणाली श्रेष्ठ विकल्प हो। अन्य विकल्प स्वतन्त्र मान्छेको नैसर्गिक स्वभावविरूद्ध हुन्छ।
व्यक्तिगत स्वतन्त्रतामा कुनै पनि पक्षबाट हस्तक्षेप हुनु हुदैन। लैंगिकता, वर्ण, जातीयता, नैतिकता, धार्मिक आस्थाका आधारमा नागरिक समान हुन्छन्। बलपूर्वक कसैलाई यो वा त्यो रोज्न भनिँदैन। निश्चित खाना खाने, निश्चित लुगा लगाउने, निश्चित भाषा बोल्ने, निश्चित मन्दिर, मस्जिद, चर्च वा गुम्बामा जाने, निश्चित गीत गाउने, निश्चित नाच नाच्ने गरी समाजको फौजीकरण गरिँदैन।
उल्लिखित राजनीतिक, सामाजिक, सांस्कृतिक वातावरणमा आदर्शतम पुँजीवादी व्यवस्था सञ्चालन हुन्छ। पुँजीवादको कुनै लक्ष्य वा गन्तव्य हुँदैन। यो बहुआयामिक र गतिशील यात्रा हो।
अहिंसा पुँजीवादको अभिन्न आदर्श हो। पुँजीवादी समाजमा स्वतन्त्र नागरिक प्रतिस्पर्धा, समन्वय र सहकार्य गर्छ। 'म पहिला हुने' भन्ने व्यक्तिको नैसर्गिक चाहनामा वैध/अवैध तगारो हालिँदैन। स्वतन्त्र समाजमा पहिलो हुन खोज्ने मान्छेले अरूको त्यस्तै चाहनालाई बुझेको हुन्छ र त्यसलाई सम्मान गर्छ।
म कुनै पनि पेसा-व्यवसायको आधारमा सानो वा ठूलो हुँदिन। मेरो अगाडि उभिने सबै मान्छेको नैतिक धरातल समान हुन्छ। 'मलाई पहिलो बनाइदेऊ' भन्ने कुनै नायकको खोजी स्वतन्त्र समाजमा गरिँदैन। कुनै पनि मुक्तिदाताको कल्पना पुँजीवादले गर्दैन।
पुँजीवादले जोखिममा अवसर खोज्न हौस्याउँछ। मान्छे स्वभावैले उद्यमशील प्राणी हो। मान्छे अनेक तरहले आफूलाई आकर्षणको केन्द्र बनाउन चाहन्छ। यो आकर्षणको केन्द्र बन्न चाहने उद्यमलाई पुँजीवादले खुला रंगमञ्च प्रदान गर्छ। यो रंगमञ्च कुनै शक्तिशाली सामन्तको मौजा हुँदैन। कुनै राजनीतिकर्मी, प्रशासक, बुद्धिजीवी वा व्यापारीको बपौती हुँदैन। सफलताको शिखरमा पुगेको हरेक मान्छे विस्थापित हुने जोखिम पुँजीवादमा हुन्छ।
अभाव, अनिश्चय र अस्थिरता यो जगतका कटुसत्य हुन्। यिनलाई व्यवस्थापन गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ। प्रतिफललाई उच्च र जोखिमलाई न्यून बनाउने खोज पुँजीवादी अर्थ-राजनीतिक प्रणाली हो।
उहिले प्राण रक्षाका लागि निरन्तर खाद्यवस्तु जुटाउन संघर्ष गरिरहने अन्य पशुसरह निरिह मान्छेले अहिले जीवन उन्नत बनाउने धेरै उपाय पत्ता लगाएको छ, धेरै पत्ता लगाउन बाँकी छ। त्यस्तो उपाय पत्ता लगाउने मान्छे राजनीतिकर्मी, प्रशासक, बुद्धिजीवी मात्र होइन; किसान, मजदुर, डाक्टर, इञ्जिनियर, व्यापारी लगायतका पेसाकर्मी हुन्।
आफ्नो उपायलाई ठूलो समुदायमा स्वीकार्य बनाउन मान्छेले एकअर्कासँग प्रतिस्पर्धा, समन्वय र सहकार्य गरिरहेको हुन्छ। त्यस्तो प्रतिस्पर्धा, समन्वय र सहकार्य गर्न स्वीकार्य विधि हुन्छ। निजी सम्पत्तिको अधिकार र नाफाको उद्देश्य जायज हुन्छन्। यथास्थितिवादी राज्ययन्त्रलाई जति धेरै भूमिका दिइन्छ, त्यति कम परिवर्तन हुन्छ। समाज गरिब छ भने धनी हुन समय लाग्छ। अन्यायी भए अन्यायी नै रहिरहने सम्भावना बढी हुन्छ।
त्यसैले यथास्थितिवादी चरित्रको सरकारको भूमिकालाई सीमित गर्दै उद्यमशील नागरिकको भूमिका विस्तार गर्नुपर्छ। निर्णय तल्लो तहमा हुनुपर्छ। खेतबारीमा, कलकारखानामा, गाउँटोलमा, समुदायमा निर्णय हुनुपर्छ। निर्णयबाट प्रभावित (लाभ-हानि) हुनेहरू निर्णयकर्ता हुनुपर्छ।
पुँजीवादका उल्लिखित तर्कहरू नमान्ने धेरै छन्। त्यसैले आलोचकहरू निरन्तर यसको विकल्प खोजिरहेका हुन्छन्। त्यस्तो विकल्प स्थापित गर्न पुँजीवादका खोटहरूमा जोड दिइन्छ।
कुनै विकृत अर्थव्यवस्थालाई पुँजीवादको नाम दिएर बदनाम गराउने प्रयास पनि धेरै भएका छन्।
एउटा उदाहरण अठारौं शताब्दीको उत्तरार्द्धको छ। त्यति बेला बेलायती कारखानामा काम गर्ने वातावरण भयावह थियो। त्यसले अशान्ति सिर्जना गरेको थियो। कामदारहरू आफूलाई बन्धक ठान्थे र मिल सञ्चालकले दिएको ज्यालाले जीवन धान्न मुश्किल भएको गुनासो गर्थे।
त्यही समय कारखानाहरूमा मेसिन प्रयोग सुरू भएको थियो। कुनै गुनासो नगर्ने कामदारका रूपमा मेसिनको प्रवेशले मानव श्रमिक विस्थापित गर्न थालेको थियो। यसले श्रमिकहरूको क्रोध अझ बढाइदिएको थियो। सन् १७७९ मा पहिलोपटक झन्डै आठ हजार कामदारले नटिंघमसायरको कारखानामा आगो लगाएर खरानी बनाइदिएका थिए।
पछि यस्ता घटना दोहोरिँदै गए। बेलायतका ग्रामीण इलाकाहरूमा भत्किएर छरपस्ट भएका कारखानाका कंकाल आम दृश्य बने। अशान्तिले विकराल रूप लिँदै गर्दा साँच्चिकै मेसिनले बिगारेकै हो भनेर सोच्नेहरू पनि निस्किए।
तीमध्ये एक थिए, कोमल हृदयी प्रसिद्ध अर्थशास्त्री डेभिड रिकार्डो। यही सोच राखेकै कारण उनलाई तत्कालीन कुलीन वर्गले पराया बनाएको थियो। कामदारका गुनासोमा ज्यादा भावुक हुनुहुँदैन भन्ने कुलीन वर्ग मान्थ्यो।
त्यही समय स्कटल्यान्डको न्यू लानार्कमा रोबर्ट ओवेनले व्यावसायिक रूपमा धर्मराइरहेको एउटा कपडा कारखाना जिम्मा लिएर नौलो प्रयोग थालेका थिए। कारखाना फोहोर हुनुपर्छ भन्ने छैन, कामदारको शोषण गर्नैपर्छ भन्ने छैन, कारखानाको मालिक कामदार पनि हुन सक्छन् भन्ने सिद्ध गर्न खोज्दै थिए ओवेन।
कारखानाको सेरोफेरोमा एउटा समुदाय नै स्थापना गरेका थिए ओवेनले। प्रत्येक कामदारको परिवारलाई दुईकोठे आवास थियो। तिनका केटाकेटी कारखाना परिसरमा रहेको स्कुलमा पढ्थे। श्रीमानहरू कारखानामा काम गरिरहँदा श्रीमतीहरू त्यहीँको स्कुलमा केटाकेटी पढाइरहेका हुन्थे।
उपन्यास 'उरमाल' ले कारखाना सञ्चालनमा यस किसिमको आदर्शतम अवस्थाको अभाव चित्रण गरेको छ। चिया बगान परिसरको स्कुल चल्ने-नचल्ने ठेगान हुँदैन। केटाकेटीलाई स्कुल पठाउने कि काममा भन्ने दुबिधामा कामदार हुन्छन्। अस्पताल हुन्छ तर डाक्टर, औषधि हुँदैन।
उता ओवेनको कारखानामा भने 'उरमाल' को चिया कमानका कामदारलाई जस्तो सास्ती थिएन। त्यहाँ कामदारलाई विरलै दण्ड सजाय हुन्थ्यो। रक्सीको कुलतमा परेका र अनुशासनहिन कामदारलाई सहकर्मी स्वयंले निष्कासन गर्थे।
त्यति मात्र होइन, युरोपभर व्याप्त अमानवीय बालश्रम ओवेनले खारेज गरेका थिए। दस वर्षभन्दा मुनिको कसैले पनि उनको कारखानामा काम गर्दैन थियो। उनले आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको नियम लागू गरेका थिए। यति गर्दा पनि कारखाना नाफामा चलिरहेको थियो। युरोपका अरू कारखानाले भन्दा बढी नाफा गरिरहेको थियो।
ओवेनको यो प्रयोग हेर्न खिसीट्युरी गर्नेहरू पनि आउँथे। कवि, लेखक, प्रशासक, नेता, व्यापारी, समाज सुधारकहरूको ताँती लाग्थ्यो। रूसका जार निकोलस प्रथम त्यस्ता पाहुनामध्ये एक थिए। आज पनि न्यू लानार्क विश्व सम्पदा सूचीमा छ र बर्सेनी लाखौं पर्यटक त्यहाँ जान्छन्।
ओवेनको प्रयोग साँच्चिकै अनौठो थियो, प्रेरणादायी थियो। त्यो प्रयोग एकातिर परिपक्व मान्छेको जस्तो व्यावहारिक देखिन्थ्यो भने अर्कातिर बालसुलभ खेलजस्तो।
गरिब परिवारमा जन्मिएका ओवेनले धनी बाबुकी छोरीसँग बिहे गरेका थिए। खासमा टाट पल्टन लागेको ससुराको कपडा कारखानालाई ओवेनले पुनर्जीवन दिएका थिए। श्रमजीवीबाट पुँजीपति बनेका ओवेन निजी सम्पत्ति, तर्कहीन धर्म र विवाहको संस्था खारेज गर्नुपर्छ, मुद्रालाई चलनचल्तीबाट हटाउनुपर्छ भन्थे।
ओवेन यत्तिमै थामिएनन्। आफ्नो कार्यशैलीलाई विचारमा रूपान्तरण गर्ने सुर कसे। उनको शिरमा नयाँ विचारकका रूपमा प्रस्तुत हुने भूत सवार भयो। उनले लेख्ने र लेखेको कुरा व्यवहारमा उतार्न थाले। अब समग्र मानव समुदायकै उद्धार गर्नुपर्छ भन्ने उनलाई लाग्यो। न्यू लानार्कको सफल प्रयोग विस्तार गरेर धर्तीमै स्वर्ग बनाउन सकिन्छ भन्ने उनको दाबी थियो।
'ओवेनले गरिबहरूको स्वर्ग बनाउन लाग्यो' भनेर धेरैले उडाए। उनको शैलीलाई प्रहसन भने। ओवेनले भने गरिबहरूलाई मौका दिइयो भने धनी बन्न सक्छन् भन्ने ढिपी कसिरहे। बेलायतमा उनलाई सुन्ने कोही भएनन्।
ओवेनले जिम्मा लिएको सुरूका वर्षहरूमा नाफामा गएको कारखाना पछि सञ्चालन लागत बढेर घाटामा जान थाल्यो। अनि साझेदारहरूबीच कलह सुरू भयो। एक जना साझेदार दार्शनिक जेरेमी बेन्थाम थिए। बेन्थामले 'बहुजन हिताय, बहुजन सुखाय' लाई नैतिक आदर्श मान्ने पश्चिमा संस्करण 'युटेलिटेरिएनिजम्' को जग बसाएको मानिन्छ। तैपनि व्यवसायमा बेन्थामसँग ओवेनको कुरा मिलेन। आखिर कुरा पैसाको थियो!
न्यू लानार्क कारखानाको सेयर बेचेर ओवेन अमेरिकामा आफ्नो स्वप्नलोक बनाउन हिँडे। सन् १८२४ मा इन्डियाना राज्यमा ३० हजार एकड जग्गा किने। अनि उनले स्थापना गरेको आदर्श समुदायको नामाकरण गरे 'न्यु हार्मोनी'।
'न्यु हार्मोनी' सफल भएन। त्यहाँ केही सातामै आठ सय परिवार आएका थिए बसोबास गर्न। त्यसरी भित्रिने सबै असल थिएनन्। जस्तै, त्यहाँ एउटाले जबर्जस्ती जग्गा हडप्यो र रक्सी भट्टी चलायो। ओवेनका लागि त्यो ठूलो चोट थियो। चोर, डाँका, फटाहा, ठगहरूलाई रोक्ने उपाय ओवेनसँग थिएन। स्थापना गरेको दुई वर्षमै ओवेन जग्गा बेचेर बेलायत फर्कन बाध्य भए।
तैपनि ओवेन टुटिसकेका थिएनन्। श्रमिक वर्गको हितमा बोल्ने उनको पहिचान कायमै थियो। ग्रामीण सहकारीका उनी प्रखर वक्ता थिए। उनको शिक्षा पछ्याएर केही उत्पादक सहकारी, केही उपभोक्ता सहकारी खुले। केहीले त उनको पैसा उन्मूलन गर्नुपर्छ भन्ने आग्रहलाई पनि माने।
ती उत्पादक सहकारीले वस्तु विनिमय प्रणाली अपनाए। दुर्भाग्य तिनीहरू अन्त्यमा पैसाविहीन भएर सिद्धिए।
त्यसपछि उनको नयाँ परियोजना सुरू भयो, जसको नाम 'ग्रान्ड नेसनल मोरल युनियन अफ दि प्रोडक्टिभ एन्ड युजफुल क्लासेस' थियो। त्यसलाई पछि छोटो बनाएर 'ग्रान्ड नेसनल कन्सोलिडेटेड ट्रेड्स युनियन' भनियो। अझै बोलीचालीमा 'ग्रान्ड नेसनल' भनियो। यसको झन्डामुनि ट्रेड युनियनका नेताहरू आए। सन् १८३३ मा बेलायतमा ट्रेड युनियन अभियान सुरू भयो।
त्यो राष्ट्रव्यापी अभियानमा पाँच लाख मजदुर जोडिएका थिए भनिन्छ। यो अभियान काम गर्ने समय घटाउनुपर्छ वा ज्याला बढाउनुपर्छ भन्ने जस्ता 'सामान्य' विषयमा सीमित थिएन। यसले आफूलाई गहिरो सामाजिक परिवर्तन ल्याउने साधनका रूपमा प्रस्तुत गरेको थियो।
यो अभियान पनि ओवेनका लागि 'म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो' बन्यो। अभियानका सदस्यहरू अराजक भए। मनलाग्दी हड्ताल, दंगाफसाद गर्न थाले। संगठनभित्रै विग्रह आयो। आरोप-प्रत्यारोप सुरू भए। सहकर्मीले ओवेनलाई नास्तिक भने। उनले साथीहरूलाई वर्गीय घृणा भड्काएको आरोप लगाए। सरकारले हस्तक्षेप गरेर झगडा शान्त पार्यो। 'ग्रान्ड नेसनल' पनि कलिलैमा मर्यो। सन् १८५८ मा सतासी वर्षको उमेरमा ओवेनको निधन भयो।
समाजवादी स्वप्नलोकका पक्षपाती ओवेन प्रतिनिधि पात्र हुन। उनले जस्तै धेरै बुद्धिजीवीले आर्थिक राजनीतिक परिस्थितिहरूको गलत निदान गरेका छन्। समस्याको निदान गलत भएपछि समाधान पनि कामकाजी हुँदैन।
यो प्रवृत्तिलाई प्रकाश पार्ने गरी अर्थशास्त्री मिल्टन फ्रिडम्यानले 'क्यापिटालिज्म एन्ड फ्रिडम' मा बुद्धिजीवीहरूको भूमिकाबारे छुट्टै अध्याय लेखेका छन्। देश र जनताका नाममा तर्जुमा गरिने सार्वजनिक नीतिलाई आकार दिने सन्दर्भमा राजनीति, प्रशासन, मिडिया र प्राज्ञिक क्षेत्रमा रहेका बुद्धिजीवीको भूमिका महत्त्वपूर्ण हुन्छ। सर्वसाधारण केवल अतिरिक्त पात्र हुन्छन्।
अधिकांश बुद्धिजीवी सरकारलाई हरेक आर्थिक समस्याको समाधान ठान्छन्। केन्द्रीय योजनामार्फत् अर्थतन्त्र निर्देशित गर्नुपर्छ भन्छन्। सम्पत्तिको स्वामित्व, उत्पादन, विनिमय तथा वितरणको निर्धारण सरकारले गर्नुपर्छ भन्छन्। उनीहरूको चाहना न्यायमूलक र समतामूलक आर्थिक समाज हुन्छ।
फ्रिडम्यानका अनुसार उनीहरूमध्येकै अधिकांशलाई उनीहरूकै प्रिय आर्थिक व्यवस्थाको अवाञ्छित नकारात्मक नतिजाको जानकारी हुँदैन। गरिब, निमुखा र सीमान्तकृतका लागि भनेर तर्जुमा गरिएको नीति र त्यसको कार्यान्वयनका लागि ल्याइएको कार्यक्रमले सबभन्दा बढी हानि लक्षित वर्गलाई नै गरेको देख्दैनन्, अनदेखा गर्छन्।
बुद्धिजीवीहरूको नियत सही होला। तर सही नियतले सही नतिजा ग्यारेन्टी गर्दैन। गरिबको पक्षमा सरकारी हस्तक्षेपको मागले अधिनायकवाद स्थापित गर्ने जोखिम बढाउँछ। नागरिक स्वतन्त्रता खतरामा पर्छ। आमजनताको अस्तित्व संकटमा पर्छ।
यसरी मेरो आग्रही आँखाले पढ्दा 'उरमाल' मा साकिला र सोमारीले पाएको दुःखको कारण 'पुँजीवादी उत्पादन सम्बन्ध' देखिँदैन।
उपन्यासको कथा-शिल्प बेजोड छ। उपन्यासमा उत्तरपूर्वी भारत र भुटानमा बोलिने नेपाली भाषाको मिठो स्वाद पस्किएको छ। सबैजसो अध्याय र प्रसंगको थालनी 'पन्चलाइन' हरूबाट हुन्छ। ती 'पन्चलाइन' मा सम्बद्ध अध्याय र प्रसंगको सारांश सुन्दर ढंगमा खिचिएको छ। कविमोले थुप्रै बिम्ब रचना गरेर उपन्यासलाई सजाएका छन्। पठन आनन्दका लागि 'उरमाल' गजब कृति हो।
फेरि पनि भन्नुपर्छ, अर्थशास्त्री लाइनल रबिन्सका अनुसार आनन्द, कल्याण, उपयोगिता, सन्तुष्टि व्यक्तिपिच्छे फरक हुन्छन, अतुलनीय हुन्छन्।
मैले 'उरमाल' पढ्दा पाएको सन्तुष्टि र तपाईंले पाउने सन्तुष्टि फरक हुन सक्छ।
***