बेइजिङ डायरी
तिथिमिति, चाडपर्व, परम्परा, जन्म तथा मृत्यु संस्कार आदिमा चिनियाँहरू चन्द्रमासको पात्रो चलाउँछन्। चिनियाँहरूको महिनाको गणना हरेक औंसीबाट सुरू हुन्छ। कार्यालय, विद्यालय, विश्वविद्यालय, मासिक तलब जस्ता व्यवहारमा भने चिनियाँहरू ग्रागरिन पात्रो पनि प्रयोग गर्छन्।
चिनियाँ संस्कृतिले पाँच हजार वर्षभन्दा लामो इतिहास बोकेको छ। त्यस्ता संस्कृतिहरू पछ्याउन भने चिनियाँ चन्द्रमासको पात्रो नै चाहिन्छ। यस्तो पात्रोलाई चिनियाँ परम्परागत पात्रो भनिन्छ। त्यही पात्रो अनुसार चिनियाँहरूले 'ड्र्यागन वर्ष' लाई बिदा गरेर 'सर्प वर्ष' भित्र्याएका छन्। हामी नेपालीहरू हरेक वर्ष नागपञ्चमीमा सर्पको पूजा गर्छौं, तर चिनियाँहरू १२ वर्षको फरकमा सर्पको पूजा गर्छन्।
परम्परागत चिनियाँ पात्रो अनुसार अहिले वर्ष ४७२३ हो। तर धेरै चिनियाँहरूलाई यो कति औं वर्ष हो भन्ने कुरा थाहा छैन। उनीहरू सर्प वर्ष २०२५ भनेर सम्बोधन गर्छन्।
परम्परागत चिनियाँ पात्रोमा मुसा वर्षबाट सुरू भएर सुँगुर वर्षमा टुंगिने १२ वर्षको चक्र हुन्छ। जब एउटा जनावरबाट अर्को जनावरमा चिनियाँ परम्परागत पात्रोले फड्को मार्छ, तब चिनियाँहरूको सबभन्दा ठूलो पर्व, नयाँ वर्ष अर्थात्, वसन्त पर्व धुमधामसँग मनाइन्छ।
वसन्त पर्व चिनियाँहरूको सबभन्दा ठूलो चाड हो। परम्परागत चिनियाँ संस्कृतिको बिँडो थाम्दै आएको यो पर्वसँग चिनियाँ समाज अन्योन्याश्रित रूपमा जोडिएको छ।
नेपाली दसैंतिहार जस्तै
वसन्त चाडका अवसरमा चिनियाँ सडक, गल्ली, बजार, अफिस, घर, विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल सबैतिर लालटिन (रातो गोलाकार सजावतमा भित्रपट्टि बत्ती जडान भएको) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो) ले सजाइएको छ। राता कपडा, राता खेलौना, राता तुलहरू, रातै सिँगारपटारले यति बेला पूरै चीन राताम्मे बनेको छ।
सबैतिर गरिएको आकर्षक सजावट हेर्दा यो पर्व ठ्याक्कै नेपालीको तिहार जस्तो लाग्छ।
त्यसो त नेपालमा पनि थुप्रै जनजातिले चिनियाँकै जस्तो जनावरका नामबाट उही चक्र चलाएर नयाँ वर्ष भित्र्याएका छन्। नेपाली शेर्पा, तामाङ, गुरूङ, थकाली, भोटे लगायत जातिले ल्होछार मनाउँदै सर्प वर्ष भित्र्याएका छन्। यद्यपि नेपालमा जातिगत हिसाबले फरक मितिमा ल्होछार मनाइन्छ। चिनियाँहरूले पनि ड्र्यागन वर्षलाई बिदा गरेर सर्प वर्ष भित्र्याएका हुन्।
सर्प वर्षको प्रतीक। तस्बिरः चेतनाथ आचार्यचिनियाँ वसन्त चाडमा एक सातासम्म सार्वजनिक बिदा हुन्छ। गत वर्षसम्म वसन्त पर्वको बिदा तीन दिन थियो। त्यसमा वसन्त चाड अगाडिको सप्ताहन्तको आइतबार र वसन्त चाडपछिको सप्ताहन्तको शनिबार कार्यालय खुल्ने मिलाएर बिदा सापटी लिएर वसन्त चाडमा एक साताको बिदा दिइन्थ्यो।
यस वर्षदेखि वसन्त चाडको बिदालाई चार दिन बनाएर सापटी बिदासँगै ८ दिन बिदा दिन थालिएको छ। चीनमा सन् २०१४ देखि सापटी बिदाको प्रणाली सुरू भएको हो। वसन्त चाडमा मात्र नभएर अन्य पर्वहरूमा पनि सापटी बिदाको प्रचलन छ।
पर्वको लामो बिदामा आकस्मिक सेवा बाहेकका सबै सरकारी तथा निजी कार्यालयहरू बन्द हुन्छन्। ठूला मलहरू खुले पनि साना बजार र खुद्रा पसलहरू बन्द रहन्छन्। अध्ययन, जागिर, अवसर र सुविधाको खोजीमा परिवारबाट टाढा पुगेकाहरू वसन्त चाडमा घरमा भेला हुन्छन्। लामो बिदा भएकाले परिवार लिएर घुमफिर गर्ने मौका पनि यही हो।
चीनमा वसन्त चाड निकै खर्चिलो हुन्छ। आफन्त तथा साथीहरूसँग भेटघाट गर्ने र मस्तैसँग भोजभतेर गर्ने भएकाले खर्चिलो भएको हो। त्यसमाथि लामो बिदा भएकाले चिनियाँहरूले यसलाई घुमघामका लागि पनि छनौट गर्छन्। आफूभन्दा ठूलाले सानालाई दक्षिणा दिने प्रचलन पनि यस पर्वको अर्को विशेषता हो।
एक दशक अगाडिसम्म चिनियाँहरू वसन्त चाड अगाडि नयाँ नोट लिन बैंकमा लाम लाग्थे। हिजोआज डिजिटल प्रणाली लोकप्रिय भएकाले मोबाइलबाटै दक्षिणा दिन सहज छ। बैंक नै धाएर नयाँ नोट साट्न पर्दैन। भोजभतेर, कोसेलीपात, घुमघाम र दक्षिणाका कारण चिनियाँहरूको वर्षभरि हुने खर्चको एक तिहाई खर्च वसन्त चाडमा मात्र हुने गर्छ।
लामो बिदा, आफन्तसँगको भेटघाट, मिठो खानेकुरा, घुमघाम र दक्षिणा दिन प्रचलनले यो पर्व ठ्याक्कै नेपालीको दसैं जस्तै छ। त्यसकारण यो पर्वलाई नेपालीको दसैंतिहारको दोभान भने पनि हुन्छ।
रूखमा झुन्ड्याइएको लालटिन। तस्बिरः चेतनाथ आचार्यचिनियाँ अन्धविश्वास
७६ वर्षदेखि कम्युनिस्ट शासन अँगालेको मुलुक चीनले विश्वलाई आश्चर्य बनाउने गरी विकासमा छलाङ मारेको छ। चिनियाँ चरित्रको समाजवादी बजारमूलक अर्थतन्त्र नाम दिएको चिनियाँ राजनीतिक परिपाटीलाई सन् २०१२ देखि नयाँ युगमा प्रवेश गरेको मानिन्छ।
आधुनिक चीनको यात्रा जति रोचक र समृद्ध छ, त्यति नै चिनियाँहरूमा रहेको अन्धविश्वास र परम्परागत सोचाइ अचम्मलाग्दो देखिन्छ। करोडौं चिनियाँहरू अझै पनि कयौ अन्धविश्वास र रूढिवादी प्रचलनलाई आत्मसात गरिरहेका छन्।
चिनियाँहरूको अन्धविश्वास र मान्यता सबैभन्दा धेरै चिनियाँ वसन्त चाडमा देखिन्छ। चिनियाँ चन्द्रमासको पात्रोअनुसार वर्षको अन्तिम दिनलाई 'छु सी' भनिन्छ। यो रात बत्ती ननिभाइकन अबेरसम्म जागा बस्ने चलन छ। नयाँ वर्षको स्वागत गर्न घरपरिवारका सबै व्यक्तिहरू रातको १२ बजेसम्म जाग्राम बस्छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा कचौरा, प्लेट, कप फुटाइयो भने त्यसलाई सबभन्दा ठूलो अशुभ मानिन्छ।
नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् 'छु सी' मा घर बडारकुँडार गर्ने र घरको फोहोर बाहिर फाल्ने गर्न निषेध हुन्छ। फोहोरसँगै नयाँ वर्षका लागि साँचिएको धनसम्पत्ति पनि फ्याँकिन्छ भन्ने म्यानता चिनियाँहरूमा छ।
चिनियाँहरूले नयाँ वर्षको पहिलो दिन घर सार्दैनन्। बिरामी भए पनि डाक्टरलाई देखाउँदैनन् र सकेसम्म औषधि पनि खाँदैनन्। लुगाकपडा तथा सिरकका खोल अनि तन्ना धुन पनि निषेध हुन्छ। वसन्त चाडको पहिलो दिन कुराकानीका क्रममा कसैसँग पनि मृत्यु, रोग, प्रकोपका प्रसंग उप्काउनु हुँदैन।
यसो गरेमा वर्षभरि नै यस्तै समस्याका विषयहरू थोपरिने विश्वास गरी राम्रा र शुभ कुराका विषयमा मात्र गफ गर्ने चिनियाँ परिपाटीमा कायम छ। यो दिन रूनु पनि हुँदैन।
वसन्त चाडको एक हप्ताभरि धारिला हतियार चलाउनु हुँदैन, मारकाट गर्नु हुँदैन। जनावर मार्नाले घरमा प्रकोप उत्पन्न हुन्छ भन्ने चिनियाँमा विश्वास छ। मासु नभइ नहुने चिनियाँहरूले एक हप्ता अगाडि नै मासु टुक्रा बनाएर फ्रिजमा राखेका हुन्छन्। घरका हातहतियार लुकाएर राखेका हुन्छन्। कपाल काट्ने कैचीदेखि नङ काट्ने समेत यो अवधिमा चलाउन पाइँदैन।
नयाँ वर्षको पहिलो दिन बिहे गरेर घर गएकी छोरी माइतीघरमा आउनु हुँदैन। दोस्रो दिन बिहे गरेकी छोरीले कोसेली र उपहार लिएर माइतीघर आउने चलन छ। त्यसै गरी तेस्रो दिनमा चिनियाँहरू घर बाहिर जाँदैनन् र आफ्ना साथीहरूलाई पनि घरमा भेट्न निमन्त्रणा गर्दैनन्।
वसन्त चाडका अवसरमा आयोजित मेलामा। तस्बिरः चेतनाथ आचार्यचौथो दिन परिवारका सदस्यहरूले घरमा बसेर रमाइलो गर्छन्। पाँचौं दिन सबैजना मिलेर एक हप्तादेखिको फोहोर सफा गर्छन्, घर बढारकुँडार गर्छन्।
छैटौं दिन साथीहरूसँग भेटघाट गर्ने, साथीहरूकोमा जाने र आफ्नो घरमा पनि निमन्त्रणा गर्दै बजार गएर किनमेल गर्ने चलन छ। वसन्त चाडको अन्तिम दिन, अर्थात् नयाँ वर्षको सातौं दिन पनि सकेसम्म घर बाहिर जान हुँदैन भन्ने विश्वास छ।
वसन्त चाडका अवसरमा चिनियाँहरूले भेला भएर खाने सबभन्दा लोकप्रिय खानेकुरालाई 'च्यावो च' भनिन्छ। यो एक प्रकारको मःम हो तर पानीमा डुबाएर पकाइन्छ। वसन्त चाडमा पानीकमलको बियाँ खायो भने छोरा जन्मिन्छ भन्ने विश्वास छ।
चिनियाँहरू वसन्त चाडमा रातो लुगा लगाउँछन्। विशेष गरी यो वसन्त चाडमा सर्प वर्षमा जन्मिएका व्यक्तिले भित्री लुगा अनिवार्य रूपमा रातो रङको लगाउनुपर्छ। यो वर्ष १२, २४, ३६, ४८, ६०, ७२, ८४ वर्ष पुगेका चिनियाँहरू सबै सर्प वर्षमा जन्मिएका हुन्।
सर्प वर्षमा जन्मिएकाले यो वर्ष महिलाहरूले पेन्टी, ब्रा तथा ट्राउजर तथा हाइनेक रातो रङको लगाउँछन् भने पुरूषले पनि कट्टु, भेस्ट, थर्मोकोट रातै रङको लगाउँछन्। त्यति मात्र होइन, पन्जा, मोजा पनि रातै रङको लगाउने चलन छ।
सर्प वर्षमा जन्मिएका चिनियाँहरूले यो वसन्त चाडमा राता रङका कपडा लगाउनाले आफूमा भएको दोष, दुःख, अशुभ, अशान्ति, कष्ट लगायतका नकारात्मक कुराबाट मुक्ति पाइन्छ भन्ने विश्वास गर्छन्। वसन्त चाड आउनुभन्दा एक महिना अगाडिदेखि चिनियाँ बजार पनि राताम्मे बनेका हुन्छन्। सुपरमार्केट तथा डिपाटमेन्टल मलहरूमा राता बिकनीको सजावट आकर्षक देखिन्छ।
विश्वकै ठूलो मानव आवतजावत औपचारिक रूपमा एक साताको बिदा भए पनि वसन्त चाड सुरू हुनुभन्दा केही अगाडिदेखि चालीस दिनसम्म चिनियाँहरूको यात्रा जारी रहन्छ। यो अवधिलाई चीनमा 'छुन युन' भनिन्छ। यो समयमा चीनमा हवाइ टिकट र रेलको टिकट महँगो र प्राप्त गर्न निकै कठिन हुन्छ।
वसन्त चाडका अवसरमा बेच्न राखिएका पोसाक। तस्बिरः चेतनाथ आचार्यवसन्त चाडको चिनियाँको यात्रा नै संसारको सबभन्दा ठूलो मानव आवतजावत हो। यस अवधिमा एक जना चिनियाँले सरदर तीन पटक यात्रा गर्छ। यसको अर्थ, यस अवधिमा यात्रा गर्ने चिनियाँको संख्या चार अर्बभन्दा बढी हुन्छ।
वसन्त चाडका अवसरमा विभिन्न पार्कमा महोत्सवहरू आयोजना हुन्छन्। त्यस्ता मेलामा सिंहनृत्य, लौरीखुट्टी नृत्य, ओपेरा, सर्कस, एक्रोब्याटिक प्रदर्शनी तथा गायन समारोहरू र मनोरन्जनात्मक खेलहरू आयोजना गरिन्छ। चिनियाँ टेलिभिजनले नयाँ वर्षको अघिल्लो राति प्रत्यक्ष प्रसारण हुने 'सांगीतिक गाला' विश्वमा सबभन्दा धेरै दर्शकले हेर्ने टेलिभिजन कार्यक्रम हो।
युनेस्कोले वसन्त चाडलाई एक वर्ष अगाडि गैरभौतिक सम्पदा सूचीमा राखेको छ भने यस अवसरमा चिनियाँ टेलिभिजनमा आयोजना हुने सांगीतिक गालालाई गत डिसेम्बरमा गैरभौतिक सम्पदा सूचीमा राखेको छ।
सक्रिय अर्थतन्त्र
वसन्त पर्वमा हुने आर्थिक सक्रियता कस्तो हुन्छ भन्ने दुइटा उदाहरणमा देख्न सकिन्छ; चिनियाँ फिल्मको बक्सअफिस र यात्रामा निस्किने व्यक्ति र उसको खर्च विवरण।
चीनमा गत जनवरी २८ देखि यही फेब्रुअरी ४ तारिखसम्म (माघ १५ देखि २२ गतेसम्म) को साप्ताहिक बिदा थियो। उक्त अवधिमा चिनियाँ फिल्म बक्सअफिसले नयाँ रेकर्ड कायम राख्दै हलिउडको बक्सअफिसलाई पछाडि पारेको छ।
चिनियाँ चलचित्र प्रशासन कार्यालयका अनुसार फेब्रुअरी ५ को बिहान ९ बजेसम्म बक्सअफिस कलेक्सन ८ अर्ब ५ करोड चिनियाँ युआन पुगेको छ। गत जनवरी १ देखिको जोड्दा कुल बक्सअफिस संकलन ९ अर्ब ८५ करोड युआन पुगेको छ।
अमेरिकी बक्स अफिस (हलिउड) लाई उछिन्दै विश्वमा पहिलो स्थानमा पुग्न सफल भएको हो। फेब्रुअरी ४ तारिख मंगलबार बिहान १० बजेसम्म वसन्त चाडका अवधिमा फिल्म हेर्ने चिनियाँको संख्या १८ करोड ७० लाख पुगेको छ।
वसन्त मेलामा राताम्मे लालटिन। तस्बिरः चेतनाथ आचार्ययो आठ दिने वसन्त पर्व बिदामा रेलमार्गबाट मात्र ९ करोड ६१ लाखभन्दा बढी चिनियाँले यात्रा गरेका छन्। त्यसै गरी सडक सञ्जालबाट २ अर्ब १८ करोड र जलमार्गबाट ९३ लाख ५० हजारले यात्रा गरेका छन्।
हवाइमार्गबाट यात्रा गर्ने चिनियाँ यात्रुको संख्या १ करोड ८२ लाख छ। जम्मा ८ दिनमा यात्रा गर्ने चिनियाँको कुल संख्या २ अर्ब ३१ करोडभन्दा बढी पुगेको चाइना डेलीले लेखेको छ।
चीनको नागरिक उड्डयन प्रशासनका अनुसार बिदाको अवधिमा देशव्यापी रूपमा कुल एक लाख ४५ हजार उडान सञ्चालन भएका छन्, जसमा दैनिक औसत १८ हजार ८३ उडान थिए।
चिनियाँहरूले यस पर्वका अवसरमा आन्तरिक यात्रामा मात्र ६ खर्ब ७७ अर्ब २० लाख चिनियाँ युआन खर्च गरेका छन्।
यो गत वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)