ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा बनाउन लागिएको केबलकारको विषयले अहिले माहोल तातिएको छ। यो विवादले देशभरि र देशबाहिरका नेपाली समेत तरंगित छन्। धेरैलाई केबलकारको विषय के हो, यहाँको ऐतिहासिकता के हो, अहिले भइरहेको विवाद के हो, बहुसंख्यक ताप्लेजुङवासी के चाहन्छन् भन्ने थाहा छैन।
अहिले केबलकार बनाउने भनिएको ठाउँ म मेयर निर्वाचित भएको फुङलिङ नगरपालिकामा पर्छ। म चुनाव उठ्दा नै केबलकार ल्याउँछु भन्ने एजेन्डा लिएको थिएँ। यही एजेन्डा लिएर मैले मेयर पद जितेको हुँ। निर्वाचित भइसकेपछि मैले नै केबलकारको स्वीकृति नवीकरण गरेको हुँ।
यो लेखमा म मैले केबलकार बनाउने स्वीकृति किन नवीकरण गरेँ, पछिल्लो समय उठिरहेको विवादको चुरो के हो, पाथीभराको इतिहास के हो, ताप्लेजुङका विकासका चुनौती के हुन् लगायत विषयमा विस्तारसँग बताउनेछु।
सुरू गरौं २०७२ सालबाट।
पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पुष्प बडुवाल र ईश्वरी पौडेल लगायतले पाथीभरामा केबलकार बनाउने प्रस्ताव लिएर आए। केबलकार बनाउनु अगाडि यहाँको जनधारणा के छ भनेर सार्वजनिक सुनुवाइ गरियो। त्यो सुनुवाइमा म, सबै दलका स्थानीय साना तथा ठूला नेता, स्थानीय बासिन्दा, व्यापारी, पर्यटन व्यवसायी, विभिन्न संघसंस्था लगायत सबैजसो क्षेत्रका व्यक्तिको उपस्थिति थियो। लिम्बू, गुरूङ, बाहुन, क्षेत्री, नेवार, तामाङ सबै समुदायका मानिसहरू थिए। चार/पाँच सय जना मान्छेको उपस्थितिमा त्यो सुनुवाइ भएको थियो।
पाथीभरामा केबलकार बन्ने कुरा सुनेर सबै खुसी र उत्साहित भए। केबलकारले यहाँको आर्थिक विकासमा धेरै मद्दत पुर्याउने भएकाले सबैले यसमा सहमति जनाए। त्यति धेरै मानिसका साथमा भएको सुनुवाइमा एक जनाले पनि केबलकारको विरोध गरेन। सबैले यसको पक्षमै बोले। अहिले पहिचानवादी राजनीतिमा लागेका र केबलकारको विरोध गरिरहेका साथीहरूले पनि त्यसको विरोध गरेनन्।
२०७४ सालमा चुनाव भयो। २०७५ सालमा एमालेका पूर्वमेयरले यहाँ केबलकार निर्माणको अनुमति दिए। त्यो बेला पनि कसैको केही विरोध भएन।
केबलकारको कुरा हुँदै गर्दा, हामी अर्कातिर पाथीभराको प्रचारप्रसारमा लागि परेका थियौं।
हामीले विगत १५/१६ वर्षदेखि नै 'पाथीभरा महोत्सव' गर्दै आएका थियौं। २०७२ सालमा संविधान आएपछि, पर्यटन क्षेत्र उकासिँदै थियो। त्यही बेला हामीले पाथीभराको प्रचारमा जोड दिँदै गयौं, महोत्सवहरू गर्दै गयौं। पर्यटक बढ्दै गएका गए। देशका विभिन्न कुनाबाट मानिसहरू आए। सुदूरपश्चिमबाट पनि मानिसहरू आउन थाले। सबभन्दा धेरै त भारतबाट आए। पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश, दार्जिलिङ, मणिपुर, आसाम लगायत ठाउँबाट तीर्थारूको भिड लाग्न थाल्यो।
मारवाडी, बंगाली, क्षेत्री, बाहुन, जनजाति लगायत सबै जातजाति तथा धर्मका मान्छेहरू यहाँ आए। भक्तजनको घुइँचोले पाथीभरा क्षेत्र भरिभराउ हुन थाल्यो। पहिले महिनामा पाँच/छ हजार भक्तजन हुन्थे। २०७३ सालदेखि त कुनै दिन २५ हजारसम्म हुन थाले। वार्षिक तीन लाख हाराहारी दर्शनार्थी त सामान्य हुन थाल्यो।
ताप्लेजुङका सबै होटलमा बस्ने ठाउँ नभएर रेडक्रस भवन, वाणिज्य संघको भवन, विद्यालय, जिल्ला विकास समितिका भवनहरूमा समेत भक्तजनहरूलाई राख्नुपर्यो। यसरी २०७३ सालदेखि २०७६ सालसम्म सबभन्दा धेरै भक्तजन आए।
दर्शनार्थीको संख्या बढेसँगै पाथीभरामा चढाइने भेटी रकम बढ्यो। वर्षमै तीन/चार करोड रूपैयाँसम्मै भेटी उठ्न थाल्यो। यहाँको भेटीसहित सम्पूर्ण व्यवस्थापन पाथीभरा क्षेत्र विकास समितिले गर्दै आएको छ। यो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको सरकारी निकाय हो। योसँगै स्थानीय राजनीतिक नेतृत्वले पनि पाथीभराको विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
पाथीभरा २०७६ सालसम्ममा देशकै प्रमुख र भिड हुने धार्मिक पर्यटकीय गन्तव्य बनेको थियो। कोरोनाले केही समय असर पुर्यायो। २०७७ सालदेखि भने यहाँ विवाद सुरू भयो। र, यो विवाद पाथीभराको भेटी र व्यवस्थापनको विषयबाट सुरू भएको हो।
पहिचानवादी राजनीतिमा लागेका साथीहरूले पाथीभरा मन्दिरको भेटीसहितको सबै स्वामित्व र व्यवस्थापन लिम्बू समुदायको स्वामित्व हुनुपर्छ भनेर मुक्कुम्लुङ संघर्ष समिति गठन गरे। २०७२ को संविधान अनुसार कुनै पनि जातजाति वा समुदायले आफ्नो भूमि, सांस्कृतिक मूल्यमान्यताका आधारमा त्यसमा अधिकार खोज्न पाइन्छ भन्ने दाबी गरे। 'आइएलओ १६९' ले त्यो अधिकार सुनिश्चित गरेको भन्दै पाथीभरामा पहिचानवादीहरूले आफ्नो अधिकार खोजे।
उनीहरूले पाथीभरा (मुक्कुम्लुङ) लिम्बूहरूको भूमि हो, मुन्धुम स्थल हो, संस्कृति हो, पहिचान र सम्पत्ति हो, त्यसैले यसको रेखदेख, संरक्षण, सम्वर्द्धन, भेटी व्यवस्थापन लगायत सबै स्वामित्व लिम्बू समुदायकै हुनुपर्छ भन्ने माग राखे। मन्दिरमा बाहुन पण्डित राख्न नहुने, देवीको मूर्ति राख्न नहुने जस्ता अतिवादी कुरा पनि आए।
उनीहरूले २०७७ सालमा आफ्नो अधिकार स्थापित गराउन सर्वोच्च अदालतमा मुद्दा हाले। त्यो मुद्दाको फैसला भएको छैन। त्यसपछि पहिचानवादी समूह केबलकारतिर मोडियो। उनीहरूले आफूहरूको माग सम्बोधन नभए केबलकार बन्न नदिने कुरा उठाए।
मुक्कुम्लुङ संरक्षण समिति र निर्माण कम्पनी दुवै पक्षका व्यक्तिहरू बसेर आपसमा छलफल पनि गरे। निर्माण कम्पनीले काम नरोक्न अनुरोध गरे। दुवै पक्षबीच सहमति हुन सकेन। केही गर्दा कुरा नमिलेपछि केबलकार बनाउन नदिने अडान पहिचानवादीहरूले राखे। काम अगाडि बढेन।
यसबीच व्यवसायी आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भयो। पुष्प बडुवालको कोरोनाका कारण अमेरिकामा मृत्यु भयो। बडुवाल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पनि थिए। उनले नै केबलकार विषयमा सबै 'नेगोसिएसन' र नेतृत्व गरेका थिए। शेर्पा र बडुवाल दुवैको देहान्त भएपछि केबलकारको कुरा केही समय त्यत्तिकै रह्यो।
२०७९ सालमा निर्माण कम्पनीले यो केबलकार परियोजना आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई जिम्मा दियो। उनले अन्त पनि केबलकारको काम गरिरहेकाले उनलाई सहज हुन्छ भनेर दिएका थिए।
ढकालजीले पनि ताप्लेजुङ आएर यहाँ केबलकार बनाउन सक्ने अवस्था, वातावरण के छ, स्थानीयहरूको राय के छ, सहयोग हुन्छ कि हुँदैन भनेर सोध्नुभएको थियो। मैले किन नहुनु, केबलकार बनाउनुपर्छ, हाम्रो साथ छ, स्थानीयको साथ रहन्छ, वातावरण हामी बनाऔंला, साथीहरूसँग वार्ता गरौंला भनेँ।
मैले पहिचानवादीका साथीहरूलाई धेरैपटक वार्तामा बोलाएँ। पाथीभरा लिम्बूहरूको मात्र होइन, सबै जातजाति, धर्म र संस्कृतिका मानिसहरूको आस्थाको धरोहर हो भनेर बुझाउन खोजेँ। यसलाई लिम्बूहरूको मात्र शिर हो भनेर जान हुँदैन भनेँ। उनीहरूले टेकेको आइएलओ १६९ को अवधारणाबारे पनि बुझेँ र विज्ञहरूलाई सोधेँ। उनीहरूले पाथीभराको भेटी र व्यवस्थापनसँग आइएलओ १६९ अवधारणाको सन्दर्भ नै छैन भने।
पाथीभरा व्यवस्थापन राज्यको निकाय पाथिभरा क्षेत्र विकास समितिले हेरिरहेको छ। जनताद्वारा निर्वाचित स्थानीय सरकारले पनि सहयोग र रेखदेख गर्ने काम गरिरहेको छ। राज्यको निकायभन्दा बाहिर अरू कसैले यसको व्यवस्थापन हेर्ने भन्ने हुँदैन। राज्यको निकाय पनि होइन, कुनै निर्वाचित निकाय पनि होइन भने कसरी कसैले म पाथीभराको भेटी र व्यवस्थापन गर्छु भन्न पाउँछ? कसरी राज्यले त्यो समूहलाई दिन मिल्छ?
फेरि पाथीभरा कुनै एक जाति वा समूहको मात्र आस्था होइन।
यो डाँडा लिम्बूहरूको मुन्धुमसँग जोडिएको सही हो। यसलाई मुन्धुमी स्थल भनिएको पनि त्यही भएर हो। तर यसको इतिहास यति मात्र होइन।
अहिले पहिचानवादीहरूले यहाँको नाम पाथीभरा होइन, मुक्कुम्लुङ हो भनिरहेका छन्। म पनि लिम्बू नै हुँ, हाम्रो संस्कृति हामीलाई प्यारो छ। हामी सबैलाई यो पनि थाहा छ, पाथीभरा सबैको आस्था र संस्कृति जोडिएको ठाउँ हो। इतिहास र किम्बदन्तीले पनि त्यही भन्छ।
यो ठाँउमा बिक्रम सम्वत् १८९२ मा देवी उत्पत्ति भएको किम्बदन्ती छ। किम्बदन्ती अनुसार पश्चिमबाट भेडा चराउँदै गुरूङ समुदायका मानिसहरू अहिलेको पाथीभरा भन्ने ठाउँमा आइपुगे। केही समयपछि उनीहरूका सबै भेडाहरू हराए। भेठागोठमा सुतेका एकजनाको सपनामा साक्षात देवी उत्पत्ति भएर यो ठाउँमा आफ्नो बास रहेको र फोहोर नगर्न भनिन्। त्यसपछि उनीहरूले देवीको उत्पत्ति भएको ठाउँ सरसफाइ गरेर, पूजा गरे। उनीहरूका भेडा पनि फिर्ता आएको किम्बदन्ती छ।
यसपछि उनीहरूले यो साक्षात देवीको स्थान रहेछ भनेर भोग दिए र देवीको नियमित पूजाआजा गर्न थाले। देवी उत्पत्ति भएको कुरा फैलिएपछि भक्तजनहरू त्यहाँ पुग्न थाले। धेरै लामो समय त्यहीँ पूजाआजा चल्यो।
त्यसरी पूजा हुने गरेको ठाउँ अहिलेको मन्दिरभन्दा पाँच सय मिटर तल एउटा ओडारमा थियो। पहिले मन्दिरको भाकल र पूजा यहीँ हुन्थ्यो। यो धेरै नै साँघुरो ठाउँ छ। म पनि यहाँ पुगेको छु। दुई जना मान्छे अटाउन पनि धेरै मुस्किल हुन्थ्यो।
देवी उत्पत्ति भएको सय वर्षपछि, १९९१ सालसम्म आइपुग्दा यहाँ भक्तजनहरूको भिड बिस्तारै बढ्न थालिसकेको थियो। तर ठाउँ निकै अप्ठ्यारो भएकाले धेरैलाई समस्या हुन्थ्यो। भक्तजन बढ्दै जाँदा, कसरी व्यवस्थापन गर्ने, कसरी सहज बनाउने भन्ने कुरा उठेको थियो।
त्यो बेला मेरो बाजे हर्कजंग मादेन ताप्लेजुङको चल्तापूर्जा हुनु हुन्थ्यो। उहाँ राणाको पालामै लप्टन हुनुभएको थियो। मेरा बाजे र अरू स्थानीय अगुवाहरूले त्यो पूजास्थललाई अलि माथि सजिलो ठाउँमा सार्न सरसल्लाह गरे। अनि त्यही अनुसार निर्णय भयो। उनीहरूले त्यही ओडारको एउटा शिला अलि खुला र फराकिलो ठाउँमा लगेर राखेर र देवीको स्थापना गरे। अहिले मन्दिर रहेको त्यही ठाउँमा हो।
त्यति बेलासम्म ओडारमा रहेको देवीथानको नाम पाथीभरा थिएन। कसैले यसलाई पञ्चकन्या देवी, कसैले अष्टकालिका, कसैले कालिका देवी भन्थे। लिम्बूहरूले युमा, शेर्पाहरूले चोमा भन्थे। त्यस्तै राई, तामाङहरूले आआफ्नै भाषाको नामले पुकार्थे।
यसरी सबैले आआफ्नै नामले पुकार्ने भएकाले यी देवीको कुनै निश्चित नाम थिएन। बाजेहरूले देवीलाई विधिपूर्वक माथि सारेपछि अब यो थानको नाम एउटै राखौं भन्ने सल्लाह भयो। एकै नाम भए यसको पहिचान सहज हुन्छ भन्ने उनीहरूको धारणा थियो होला। उनीहरूले कुनै एक भाषा वा समुदायको भन्दा पनि भूगोलका आधारमा नाम राखे। यो ठाउँ चारैतिरबाट हेर्दा पाथीमा धान भरेको जस्तो देखिन्छ, त्यसैले प्रकृतिसँग जोडेरै नाम राखौं भनेर पाथीभरा देवी नाम राखे। त्यही बेलादेखि पाथीभरा देवी भन्न थालिएको हो।
यसरी मन्दिर सार्ने, देवी स्थापना गर्ने र पाथीभरा नाम दिने काम गर्ने सबै प्रमुख व्यक्तिहरू लिम्बू नै थिए। उनीहरूले नै पाथीभराको हेरचाहका लागि त्यहाँ एक पण्डित पनि राखिदिए र एउटा पाटी बनाइदिए। पछि त्यो पाटीले मान्छेको चाप थेग्न सकेन र अर्को पाटी बनाइयो। यसरी पाथीभरामा दर्शनार्थी आउने क्रम बढ्न थाल्यो।
अब तल फेदीमा रहेको कान्छी थानको कुरा गरौं।
यो ठाउँमा पहिले कान्छी थान थिएन। स्थानीय किम्बदन्ती अनुसार त्यहाँ एउटा गोठ थियो। धेरै मान्छेहरू माथि मन्दिरसम्म हिँड्न नसक्दा, लेक लाग्दा त्यहाँ बस्थे। त्यस्ता मान्छेहरू ठूलो आस्था लिएर आए पनि माथिसम्म जान सक्थेनन्। पछि त्यहाँका गोठालेहरूले त्यस्ता भक्तजनहरूका लागि त्यहीँ एक शिलाको प्राणप्रतिष्ठा गरेर कान्छी थान स्थापना गराइदिए। माथि जान नसक्ने भक्तालु त्यहीँबाट 'म माथि आउन सकिनँ माता यहीँबाट दर्शन गरेँ, कुनै दिन सकेँ भने आउँछु है' भनेर फर्किन थाले। यसले धेरैलाई सजिलो भयो।
तल्लो फेदीका गोठमा पाथीभरा आउने अरू मान्छे पनि बास बस्थे। हिउँ परेका बेला मानिसहरू बाटो भुलेर गोठमा सोध्न आउँथे। बाटो भुल्ने समस्या धेरै भएपछि गोठालाहरूले नै कान्छी थानको शिलाबाट धागो टाँगेर मन्दिरसम्म जाने जुक्ति निकाले। अनि जो आउँछन्, उनीहरूलाई त्यही धागोहरू हेर्दै जानू भने। धागो चुँडिएर हराउलान् भनेर तीर्थारूहरूलाई पनि धागो बाँध्दै जान भने। यसरी त्यहाँ धागो बाँध्ने चलन सुरू भएको किम्बदन्ती छ।
अहिले पहिचानवादी साथीहरू लिम्बू समुदायले कान्छी थानबाट धागो नबाँधी माथि जानै हुँदैन। यो आफ्नो संस्कृति हो भनेका छन्।
त्यो पनि ठीक छ। आ-आफ्नो आस्था र विश्वासको कुरा हो। सबैले आफ्नो आस्था, संस्कृति र विश्वास अनुसार मान्ने हो। हामी सबैले सबैको आस्थाको सम्मान गर्नुपर्छ। यही आस्थाको सम्मान गर्दै मानिसहरू हिँड्ने बाटो नलगेर केबलकार पनि अर्को बाटो लाने कुरामा सहमति भएको छ। यो बाटोसँग केबलकार जोडिँदैन। कान्छी थान माथिबाट केबलकार जाँदैन।
पाथीभरा लिम्बूहरूको मुन्धुमसँग जोडिएको सही हो। यसलाई मुन्धुमी स्थल भनिएको पनि त्यही भएर हो। तर मुन्धुमसँग जोडिँदैमा सबै डाँडा लिम्बूहरूको हो भन्नु हुँदैन, र त्यहाँ कुनै पनि विकासका गतिविधि गर्न हुँदैन भन्ने पनि होइन। त्यसो हो भने त तमोर, काबेली लगायत खोलानाला र अरू थुप्रै डाँडाकाँडा मुन्धुममा आउँछन्, मुन्धुममा त्यसबारे वर्णन गरिएका छन्। अरू जिल्लाका डाँडाकाँडा पनि मुन्धुममा उल्लेख होलान्। त्यसो भए के मुन्धुममा परेका सबै खोला र डाँडाकाँडालाई लिम्बूहरूले आफ्नो भन्दै हिँड्ने, त्यहाँ केही पनि विकास नगर्ने?
उसो भए त सडक पनि बनाउन भएन, कुनै संरचना बनाउन भएन। तमोरमा धेरै हाइड्रोपावर बनेका छन्। ती जलविद्युत आयोजनाले गर्दा स्थानीय सरकारी आय बढ्छ, स्थानीय बासिन्दाको आयस्तर बढ्छ। जीवनस्तर फेरिन्छ। यी त देशको अर्थतन्त्रसँग पनि जोडिएका परियोजना हुन्। अब मुन्धुममा खोला उल्लेख छ, खोलामा हाम्रो आस्था छ भनेर त्यहाँ केही पनि विकास गर्न नदिने हो भने के हुन्छ?
त्यसैले हामीले हाम्रो ठाँउको विकास, देशको विकासबारे पनि सोच्नुपर्छ।
धर्म र आस्थाको सम्मान र संरक्षण हुनुपर्छ। तर यसकै नाममा विवाद गरेर विकासमा अड्चन हाल्न हुँदैन। देवी त सबैको आस्था हुन्, विवाद यसरी नै चलिरह्यो भने त पाथीभराको अस्तित्व नै समाप्त हुन सक्छ। धर्म र आस्थाको नाममा विवाद गरिरह्यो भने त ताप्लेजुङमा केही विकास हुँदैन। यसको घाटा हामीले नै बेहोर्नुपर्छ।
यो विवादको असर अहिल्यै नै पाथीभरामा आउने तीर्थारूमा परिसक्यो।
२०७३-७४ सालमा यहाँ वर्षमा तीन-चार लाख दर्शनार्थी आए। २०७७ सालमा विवाद सुरू भएयता निरन्तर घटेका छन्।
विवाद चर्केकै कारण २०७९ सालमा त हामीले पाथीभरा महोत्सव मनाउन पनि पाएनौं। पहिचानवादीहरूले मुक्कुम्लुङ महोत्सव मनाउने भए मनाउनु, पाथीभरा महोत्सव मनाउन पाइँदैन भन्ने विज्ञप्ति आयो। जिल्ला प्रशासन कार्यालयमा हामीले धेरै बसेर छलफल गरौं। सिडिओले विवाद आएपछि महोत्सव नगरौं भने।
मैले उहाँहरूलाई सम्झाएँ। दुई-चार जनाको कुरामा लागेर यत्रो महोत्सवबाट पछि हट्नु हुन्न भनेँ। बरू म आफै अघि सरेर महोत्सव गर्छु भनेँ। तर सरकारी प्रशासनले मानेनन्। यहाँ यत्रो विवाद छ, समस्या सिर्जना नगरौं, बरू ताप्लेजुङ नाम राखेर ताप्लेजुङ महोत्सव नै मनाऔं भन्ने कुरा आयो। अनि हामीले ताप्लेजुङ महोत्सव नै मनायौं।
यहाँको विवादको कुरा फैलिँदै जाँदा भक्तजन कम हुँदै गएका छन्। विरोधकै कारण हामीले यहाँको धार्मिक पर्यटन नै गुमाउँदै लगेका छौं।
२०७२ सालयता बढ्दै गएर वर्षमा तीन/चार लाख भक्तजन आउन थालिसकेका थिए। तर विवादपछि २०७८ साल जम्मा डेढ लाख आए, २०७९ मा सवा लाख हुँदै २०८० सालमा ९६ हजार मात्र भए। २०८१ सालमा त अहिलसम्म जम्मा ७६ हजार आए।
अर्कातिर इलामको कान्छी पाथीभरामा भेटी मात्रै दुई करोड उठ्न थालेको छ रे!
एक त ताप्लेजुङको पाथीभरा अप्ठ्यारो भूगोल छ। बूढापाका, अशक्त, हिँड्न गाह्रो हुनेलाई आउन गाह्रो हुन्छ। धेरै मान्छे इलामकै पाथीभरा दर्शन गरेर मन बुझाउन थाले। अर्कातिर यहाँको विवादको कुरा सुनेर धेरै मान्छे डराए र आउनै छाडे। यसले त हामी फुङलिङबासी र पूरा ताप्लेजुङलाई नै असर पर्यो। हामीलाई नै पछाडि पार्यो।
यहाँ केबलकार भयो भने भक्तजनलाई सहज हुन्छ। हिँडेर आउन नसक्नेहरू पनि आउँछन्। देशभित्र, बाहिरका अरुलाई पनि तान्छ। यसले पर्यटकको संख्या बढाउँछ।
त्यसै पनि ताप्लेजुङमा विकास कम छ। यसले गर्दा यहाँका उत्पादन बजारसम्म पुर्याउन सकिएको छैन। केबलकार भयो भने मान्छेको आगमन र विकास दुवै विस्तार हुँदै जान्छ। अलैंची लगायत यहाँका विशेष कृषि उत्पादन ब्रान्डिङ गरेर स-साना पोकामा तीर्थारूलाई बेच्न सकिन्छ। हामीले त्यतातिर सोच्नुपर्छ। पर्यटकहरूको आवागमन बढ्न थालेपछि हामीले के के प्रवर्द्धन गर्ने, के के ब्रान्डिङ गरेर बेच्ने भन्ने अहिल्यैदेखि योजना बनाउनुपर्छ। त्यसले स्थानीय जनजीवनमै सुधार आउँछ।
केबलकारलाई आधार मानेर हामीले ताप्लेजुङमा थप पर्यटकीय स्थलको विकास गर्न सक्छौं। जस्तै, यही बाटो अन्त जाने पर्यटक भित्र्याउन सक्छौं। केबलकार हुँदै हर्कटेबाट कञ्चनजंघा आधार शिविर जाने छोटो रूट बनाउन सक्छौं। हामीले यस्ता योजना बनाउनुपर्छ ताकि पर्यटकहरूलाई धेरैभन्दा धेरै दिन यहाँ राख्न सकियोस्।
हामीले विकास र धर्मलाई दुवैलाई सँगै लैजानुपर्छ। धर्म, संस्कृति, इतिहास नमासी विकास गर्ने कुरामा हामी सबै एकै ठाउँ उभिनुपर्छ।
केबलकारको विरोध गर्ने साथीहरूको भावनाको म सम्मान गर्छु। विरोध गर्न पाइन्छ पनि तर रोक्नैपर्छ भन्ने हुँदैन। बहुमतको पनि कदर हुनुपर्छ। जस्तै, पहिचानवादीहरूले कोशी प्रदेशको नाम किरात प्रदेश राख्नुपर्छ भन्ने थियो। मेरो पनि त्यसमा सहमति थियो। ताप्लेजुङका कतिपय क्षेत्री-बाहुन साथीहरूले पनि किरात प्रदेश नाम राख्दा हुन्छ, के फरक पर्छ र भन्नुभएको थियो। तर माग पूरा भएन। प्रदेशसभाको बहुमतले मानेन। यसलाई हामीले स्वीकार गर्यौं।
बहुसंख्यक ताप्लेजुङवासी पाथीभरा केबलकार बनाउनुपर्छ भन्ने पक्षमा छन्। म त्यही एजेन्डा राखेर मेयर निवार्चित भएको हुँ। फुङलिङ नगरपालिकामा २८ हजार जनसंख्या छ, १७ हजार मतदाता छन्। लिम्बू मतदाताको संख्या ठूलो छ। उहाँहरूले मेरो एजेन्डामा समर्थन गरेरै मत दिनुभएको हो। अहिले पनि उहाँहरू केबलकारकै पक्षमा हुनुहुन्छ। पहिचानवादी साथीहरू ४० जना वा बढीमा सय जना हुनुहोला, जसले हुँदैन भन्दै हुनुहुन्छ। बहुसंख्यक स्थानीयले चाहेको र ताप्लेजुङको दीर्घकालीन हितको कुरामा उहाँहरू असहमत हुनुहोला तर अर्घेल्याइँ गरेर म जसरी पनि रोक्छु भन्न पाइँदैन।
कतिपयले यो केबलकार निजी क्षेत्रलाई नदिएर राज्यले नै बनाउनुपर्छ पनि भन्छन्। अब यति ठूलो परियोजना हामीले कसरी बनाउने? डेढ लाख ताप्लेजुङ बासिन्दाले कसरी पुँजीको व्यवस्थापन गर्ने? कसरी केबलकारको दैनिक व्यवस्थापन गर्ने?
कतिले व्यवसायीले केबलकार बनाउदा टिकटको हजार रूपैयाँ लिन्छ, सबै पैसा लैजान्छ भन्छन्। तर यहाँ आउनेले केबलकारलाई एक हजार मात्र तिर्ने होइनन्, होटलमा बस्दा, स्थानीय सामान किन्दा बजारमा अर्को पाँच हजार रूपैयाँ खर्च गर्छन्। यसको फाइदा त हामीलाई नै हुन्छ त।
पर्यटनमा प्रचुर सम्भावना बोकेको केबलकार आयो भने ताप्लेजुङ मात्र होइन, छिमेकका पाँचथर, इलाम, झापा, सुनसरी लगायतका पूर्वी जिल्लाहरूकै अर्थतन्त्र फस्टाउँछ। जस्तो, इलामको अन्तु डाँडामा घाम हेर्न धेरै मानिस आउने गरेका छन्। अन्तुडाँडाको पनि राज्य र स्थानीय सरकार लागे थप विकास गर्न सकिन्छ। थप पूर्वाधार जोड्न सकिन्छ।
पर्यटकहरू त्यहाँ बसेर ताप्लेजुङ आउँछन्। केबलकार चढेर पाथीभरा दर्शन गर्छन्। अनि यहाँबाट अन्त पनि जान सक्छन्। यसरी पूर्वका सबै ठाउँलाई जोडेर पर्यटकीय केन्द्र बनाउन सकिन्छ।
म पनि लिम्बू नै हुँ। हामी सभ्यता र प्रकृतिसँग जोडिएका समुदाय हौं। तर हामीले यी डाँडा, यी हिमाल र खोलानाला सबै हाम्रा हुन्, केही चलाउन हुन्न भन्न थाल्यौं भने विकास कहाँ गर्ने? मुन्धुममा परेको डाँडाको एउटा रूख पनि काट्न दिन्नौं, यहाँ खन्न पनि दिन्नौं भन्ने हो भने हामीले आफ्नो क्षेत्रमा विकासको अवधारणा कसरी ल्याउने? हाम्रो समुदायमा रोजगार कसरी सिर्जना गर्ने? हाम्रो समुदायको आर्थिक उन्नति कसरी गर्ने?
यस्तै सोचिरहने हो भने त हाम्रो ठाउँमा विकास कहिल्यै हुँदैन। आर्थिक उन्नति कहिल्यै हुँदैन। युवाहरूले रोजगार नपाएर विदेश पलायन हुनुपर्छ। हाम्रो ताप्लेजुङ बिस्तारै विकास र अभावमा पिल्सिएर मसानघाट बन्छ। ताप्लेजुङ यति दुर्गम ठाउँ हो, यहाँ बाटो पुगेर मात्र केही सुगम देखिएको छ। पछाडि परेको यो जिल्लाको अर्थतन्त्रमा केबलकारले परिवर्तन ल्याउन सक्छ।
केबलकार दीर्घकालमा ताप्लेजुङको समृद्धिको आधार हो। यसले पर्यटन व्यवसाय उकास्न मद्दत गर्ने, कैयन प्रत्यक्ष र अप्रत्यक्ष रोजगार सिर्जना गर्ने र दिन-प्रतिदिन विदेश गइरहेका युवालाई गाउँमै रोक्ने वातावरण निर्माण गर्छ। हातमा आएको यति राम्रो परियोजना गुमाउने हो भने ताप्लेजुङका लागि यो ठूलो अभिशाप हुन्छ। त्यो अभिशाप ननिम्त्याऔं। प्रतिष्ठा र 'इगो' को विषय नबनाई हामी सबै मिलेर यसलाई सल्टाउनुपर्छ। त्यो नै ताप्लेजुङ र पाथीभराको हितमा हुन्छ। किनभने, हाम्रो विकासको आड भनेको पाथीभरा नै हो।
यो पनि पढ्नुहोस्-