ऊर्जा मानव जीवनको पर्यायझैं हो। हाम्रो दिनचर्याका हरेक पक्ष ऊर्जासँग जोडिएको हुन्छ। नेपालमा ऊर्जा खपत गर्ने क्षेत्रहरूलाई मूलतः घरायसी, औद्योगिक, यातायात, व्यापारिक, कृषि तथा निर्माण र खानी गरी ६ प्रकारमा वर्गीकृत गरिएको छ।
पछिल्लो अध्ययन तथा सर्वेक्षण अनुसार सन् २०२१ मा देशमा खपत भएको कुल ऊर्जा ६२६ पेटाजुलमध्ये घरायसी क्षेत्रमा ६२.२ प्रतिशत, औद्योगिक क्षेत्रमा १८.२ प्रतिशत, यातायातमा ९ प्रतिशत, व्यापारिक क्षेत्रमा ७ प्रतिशत, कृषिमा १.६ प्रतिशत र निर्माण तथा खानी क्षेत्रमा ०.८ प्रतिशत ऊर्जा खपत भएको तथ्यांक छ।
यो तथ्यांकले कुल ऊर्जाको आधाभन्दा बढी हिस्सा घरायसी क्षेत्रमा खपत हुने देखाएको छ। सन् २०२१ मा ३९६ पेटाजुल ऊर्जा घरायसी क्षेत्रमा खपत भएको देखिन्छ।
अझै पनि घरायसी ऊर्जाको मूल स्रोत दाउरा हो। उक्त वर्ष घरायसी ऊर्जाको ८४.९ प्रतिशत हिस्सा दाउराबाट प्राप्त भएको थियो।
आधुनिक ऊर्जाको विस्तार र प्रयोग बढ्दै जाँदा प्रतिव्यक्ति ऊर्जा खपत घट्दै गएको छ।
एक दशकको प्रवृत्ति अध्ययन गर्दा सन् २००९ मा प्रतिव्यक्ति ऊर्जा खपत १४ गिगाजुल रहेकोमा २०१९ मा १३.२ गिगाजुल पुग्यो। प्रतिव्यक्ति विद्युत खपत भने बढ्दै गएको छ।
विगत साढे दुई दशकमा प्रतिव्यक्ति विद्युत खपत पाँच गुणाले वृद्धि भएको छ। सन् २००० मा प्रतिव्यक्ति विद्युत् खपत ६० किलोवाट घण्टा रहेकोमा सन् २०१० मा १००, सन् २०१८ मा २३०, सन् २०२१ मा २६५ र सन् २०२३ मा ३२५ किलोवाट घण्टा पुगेको आँकडा छ।
यसो भए पनि यो खपत दक्षिण एसियाली मुलुकहरूमध्ये न्यून र विश्वको औसत प्रतिव्यक्ति विद्युत खपतको तुलनामा ११ भागको एक भाग मात्र हो।
घरायसी प्रयोजनमा अधिकांशतः मिश्रित ऊर्जा प्रयोग भएको देखिन्छ। भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ। करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत र एलपी ग्यासको प्रयोग हुने गरेको छ।
असी प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईवस्तुका गोबरको गुँइठा आदि प्रयोग हुने गरेको छ।
तराई-मधेस क्षेत्रमा ८६ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ६५ प्रतिशत र पहाडी तथा उच्चहिमाली क्षेत्रमा ५८ प्रतिशत घरमा ऊर्जा मिश्रणको प्रयोग हुने गरेको अध्ययनले देखाएको छ।
घरायसी प्रयोजनमा ऊर्जा मिश्रणमा आधुनिक ऊर्जाको अनुपात बढ्दै गएको छ। सन् २०१४ मा २० प्रतिशत रहेको आधुनिक ऊर्जाको अनुपात ६ वर्षमा अर्थात् सन् २०२० मा पुग्दा ८ प्रतिशतले वृद्धि भई २८ प्रतिशत पुगेको देखिन्छ।
सोही अवधिमा परम्परागत ऊर्जाको प्रयोग ७८ प्रतिशतबाट घटेर ६८ प्रतिशतमा झरेको तथ्यांक छ। उक्त अवधिमा वैकल्पिक ऊर्जाको प्रयोगमा न्यून वृद्धि भई २.५ प्रतिशतबाट ३.२ प्रतिशत पुग्यो।
ऊर्जा खपतको दोस्रो ठूलो क्षेत्र उद्योग हो। सन् २०२१ को तथ्यांक अनुसार औद्योगिक क्षेत्रमा कुल १४४.५ पेटाजुल ऊर्जा खपत भएको देखिन्छ। उक्त ऊर्जाको ठूलो हिस्सा अर्थात् ४८.१५ प्रतिशत कोइलाबाट र १६.८३ प्रतिशत दाउराबाट प्राप्त भएको देखिन्छ।
बाँकी ऊर्जामध्ये बिजुलीबाट ८.८७ प्रतिशत, कृषिजन्य अवशेषबाट ९.९८ प्रतिशत, डिजेलबाट १२.७५ प्रतिशत र फर्नेस आयलबाट २.९७ प्रतिशत प्राप्त भएको देखिन्छ।
ऊर्जा खपतको तेस्रो ठूलो क्षेत्र यातायात हो। सन् २०२१ को तथ्यांक अनुसार यातायात क्षेत्रले कुल ५७.७ पेटाजुल ऊर्जा खपत गरेको थियो। यो ऊर्जाको आपूर्ति पेट्रोलबाट ३३.७३ प्रतिशत र डिजेलबाट ६२.३३ प्रतिशत र बिजुलीबाट ०.१ प्रतिशतभन्दा पनि कम योगदान भएको देखिन्छ।
विगतमा रहेको घरायसी ऊर्जाको अत्यधिक प्रयोगको प्रवृत्ति भविष्यमा पनि निरन्तर रहने प्रक्षेपण छ। यही प्रवृत्तिको निरन्तरता हुँदा सन् २०४० सम्म ११ हजार ८५५ किलोटन आयल बराबर पुग्ने प्रक्षेपण छ।
यो खपत सन् २०१० मा ८ हजार ७६५ किलोटन आयल बराबर थियो। सन् २०१० को आधारमा यो वृद्धि वार्षिक औसत १.१ प्रतिशतले हुने अनुमान छ।
गत वर्षको तथ्यांक अनुसार ९९ प्रतिशत घरमा बिजुलीको पहुँच पुगेको छ। यीमध्ये ८९ प्रतिशत घर राष्ट्रिय ग्रीडमा र ५ प्रतिशत स्थानीय मिनी ग्रीडमा जोडिएका छन्। बाँकी ५ प्रतिशत घर सौर्य ऊर्जामा निर्भर छन्।
भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ।
हिमाली क्षेत्रमा ६५ प्रतिशत र पहाडी क्षेत्रमा ४ प्रतिशत घर बिजुलीका लागि मिनी ग्रीडमा निर्भर छन्। हिमाली क्षेत्रमा ११ प्रतिशत र पहाडी क्षेत्रमा १.६ प्रतिशत घरमा सौर्य ऊर्जा जडान भएको छ।
आई.डि.ए. नामको संस्थाले गरेको एक सर्वेक्षण अनुसार सन् २०२२ मा ग्रामीण क्षेत्रमा करिब ८० प्रतिशत र सहरी क्षेत्रमा ४४.६ प्रतिशत घरमा खाना पकाउन परम्परागत ऊर्जाको स्रोत दाउरा प्रयोग हुने गरेको छ।
खाना पकाउन आधुनिक ऊर्जाको स्रोत एल.पी. ग्यासको प्रयोग सहरी क्षेत्रमा ८९ प्रतिशत घरमा र ग्रामीण क्षेत्रका ५७.३ प्रतिशत घरमा खाना प्रयोग हुँदै आएको छ।
ग्रामीण क्षेत्रका १७.४ प्रतिशत घरमा खाना पकाउन कृषिजन्य अवशेष र गुँइठा प्रयोग हुने गरेको छ। सहरी क्षेत्रमा समेत यसको प्रयोग गर्ने घरको संख्या ५.४ प्रतिशत छ। खाना पकाउन ग्रामीण क्षेत्रमा ७.३ प्रतिशत घरमा र १४ प्रतिशत घरमा बिजुली प्रयोग हुने गरेको छ।
भौगोलिक क्षेत्रका हिसाबले हिमाली क्षेत्रमा खाना पकाउन ९६ प्रतिशत घरमा, पहाडी क्षेत्रमा ६५.५ र तराई क्षेत्रमा ७९ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग हुने गरेको छ। घरायसी प्रयोजनमा हिटिङ (न्यानोपन) का लागि पनि ऊर्जा प्रयोग हुन्छ।
एक सर्वेक्षण अनुसार जाडोयाममा हिटिङका लागि करिब ७७.५ प्रतिशत घरमा विभिन्न इन्धन प्रयोग हुन्छ। यस प्रयोजनमा २२.५ प्रतिशत घरमा इन्धनको प्रयोग नभएको पाइएको छ।
हिटिङका लागि पनि दाउराको प्रयोग अत्यधिक देखिन्छ। करिब ८६ प्रतिशत घरमा दाउरा प्रयोग हुन्छ। यस अतिरिक्त २४.७ प्रतिशत घरमा कृषिजन्य अवशेष र ११.३ प्रतिशत घरमा गुँइठा र ११.२ प्रतिशत घरमा बिजुली प्रयोग हुन्छ।
यसबाहेक हिटिङका लागि ०.५ प्रतिशत घरमा ग्यास हिटर र ०.२ प्रतिशत घरमा मट्टीतेल प्रयोग हुने गरेको छ।
ग्रामीण क्षेत्रमा हिटिङका लागि परम्परागत स्रोत दाउरा ९०.१ प्रतिशत र २७.२ प्रतिशतमा घरमा कृषिजन्य अवशेष प्रयोग हुने गरेको छ। सहरी क्षेत्रमा ६१ प्रतिशत घरमा दाउरा र ८.७ प्रतिशतमा कृषिजन्य अवशेष प्रयोग भएको पाइन्छ।
हिटिङका लागि सहरी क्षेत्रका ३९.७ प्रतिशत घरमा र ग्रामीण क्षेत्रमा ६.७ प्रतिशत घरमा बिजुली प्रयोग भएको देखिन्छ।
भौगोलिक क्षेत्रका हिसाबले हिटिङका लागि हिमाली क्षेत्रमा ९८.४ प्रतिशत घरमा दाउरा प्रयोग हुन्छ। तराई क्षेत्रका ४४.२ घरमा कृषिजन्य अवशेष तथा २०.९ प्रतिशत घरमा गुँइठा प्रयोग हुने गरेको छ।
हिटिङकै लागि पहाडी क्षेत्रका ७९ प्रतिशत घरमा दाउरा र २१.६ प्रतिशत घरमा बिजुली प्रयोग हुन्छ। घरायसी प्रयोजनमा ऊर्जाको प्रयोग हुने अर्को क्षेत्र कुलिङ (चिसोपन) हो। कुलिङका लागि ६२.८ प्रतिशत घरले उपकरण प्रयोग भएको पाइएको छ, ३७.२ प्रतिशत घरमा यस्तो उपकरण छैन।
कुलिङका लागि ७७.४ प्रतिशत घरमा सिलिङ पंखा प्रयोग भएको देखिन्छ। एअर कुलर प्रयोग भएका घरको संख्या २.३० प्रतिशत छ। एअर कन्डिसन प्रयोग गर्ने घर ०.३ प्रतिशत मात्र छन्।
ऊर्जा उपयोगिताको अर्को क्षेत्र उज्यालो हो। उज्यालोका लागि ऊर्जाको मुख्य स्रोत बिजुली नै हो। सहरी क्षेत्रका ९९ प्रतिशत र ग्रामीण क्षेत्रका ९१.४ प्रतिशत घरमा उज्यालोको लागि ग्रीड जडित राष्ट्रिय विद्युत प्रणालीको बिजुली प्रयोग भएको छ। रिचार्जेवल फ्ल्यास लाइट, मोबाइल उपकरण, टर्च लाइट पनि उज्यालो प्राप्तिको साधनका रूपमा प्रयोग हुने गरेका छन्।
यी उपकरणको प्रयोग ग्रामीण क्षेत्रमा ५१.६ प्रतिशत र सहरी क्षेत्रमा ४२.५ प्रतिशत घरमा हुने गरेको छ। उज्यालोका लागि ग्रामीण क्षेत्रमा १४.३ प्रतिशत घरमा र सहरी क्षेत्रमा २.८ प्रतिशत घरमा घरायसी सौर्य ऊर्जा प्रयोग हुने गरेको छ।
विगत तीन दशकको ऊर्जा रूपान्तरणको प्रवृत्ति अध्ययन गर्दा नेपालमा ३० वर्षअघि ९७.९ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग हुने गरेकोमा हालसम्ममा उल्लेखनीय कमी आई ६७.४ प्रतिशतमा झरेको छ।
त्यसैगरी ३० वर्षअघि कृषिजन्य अवशेषको प्रयोग २९.८ प्रतिशत रहेकोमा हाल १७.३ प्रतिशतमा सीमित भएको छ। गुँइठामाथिको निर्भरता १९.२ प्रतिशत रहेकोमा अहिले १०.९ प्रतिशत छ।
आधुनिक ऊर्जाका स्रोतमध्ये घरायसी भान्सामा एल.पी. ग्यास र बिजुलीको प्रयोग बढेको छ। तीस वर्षअघि घरायसी भान्सामा एल.पी. ग्यासको प्रयोग ०.६ प्रतिशत घरमा रहेकोमा हाल ७४.१ प्रतिशत घरमा पुगेको छ।
यही अवधिमा खाना पकाउन बिजुलीको प्रयोग ०.३ प्रतिशतबाट बढेर ८.४ प्रतिशत घरमा विस्तार भएको छ।
हाम्रो राष्ट्रिय विद्युत प्रणालीको डिजाइन तथा विस्तार मूलतः उज्यालो प्राप्तिका लागि मात्र भएको देखिन्छ। करिब ९९ प्रतिशत घरमा बिजुलीको पहुँच पुग्नु सुखद पक्ष हो।
अझै पनि बिजुलीको गुणस्तर र नियमिततामा ढुक्क हुने अवस्था छैन। उज्यालोबाहेक घरायसी भान्सा, हिटिङ र कुलिङका लागि बिजुलीको प्रयोग हुने घरको संख्या न्यून नै छ।
बिजुलीको विस्तार निकै फराकिलो भए पनि प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घण्टाको हाराहारीमा सीमित छ। यो परिमाण दक्षिण एसियाली मुलुकहरूबीच तुलना गर्दा नेपालमा निकै कम हो।
पछिल्लो सर्वेक्षण र तथ्यांकबाट अहिले पनि नेपालको ऊर्जा प्रणाली मूलतः दाउरा र कृषिजन्य अवशेषमा नै निर्भर देखिन्छ। भविष्यमा सरोकारवाला पक्षहरूले यसतर्फ विशेष ध्यान पुर्याएर एक्काइसौं शताब्दी सुहाउँदो स्वच्छ ऊर्जा रूपान्तरण र प्रयोगमा धेरै काम गर्न बाँकी छ।
(डा. मुकेशराज काफ्लेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @MukeshKafle4