केही महिनाअघि राम्रा र ठूला सामुदायिक स्कुलको स्थलगत अध्ययनका क्रममा एउटा स्कुलमा पुग्दा प्रधानाध्यापक सिसिटिभी मार्फत सबै कक्षाकोठाका गतिविधि निगरानी गर्दै थिए।
कुराको सिलसिलामा उनले सिसिटिभी प्रयोगले विद्यार्थी अनुशासित भएको, जिम्मेवार बनेको र शिक्षण प्रभावकारिता बढेको बताए।
सरकारले केही वर्षयता सामुदायिक स्कुलमध्ये केही छानेर 'मोडल (नमूना) स्कुल' घोषणा गरेको छ। त्यस्ता स्कुलले अतिरिक्त बजेट र खास किसिमका कार्यक्रम पाउँछन्। हाल देशभमा ४२२ वटा मोडल स्कुल छन्।
यसमा कमजोर स्कुलले मोडल स्कुलका अभ्यास अनुकरण गर्न सकून् र सबै स्कुल मोडल बन्न सकून् भन्ने उद्देश्य छ। संघीय सरकारकै सिको गरेर प्रादेशिक र स्थानीय सरकारले पनि मोडल स्कुल घोषणा गर्न थालेका छन्।
यति बेला कमजोर अवस्थाका सामुदायिक स्कुल डार्बिनको 'सर्भाइभल अफ द फिटेस्ट' सिद्धान्तअनुसार मोडल स्कुलको सिको गर्दै विद्यार्थी संख्या बढाउन प्रयासरत छन् वा सरकारको 'मर्जर' नीतिअनुसार ठूला स्कुलमा मर्जर हुन (गाभिन) बाध्य छन्।
सरकारको हालको 'मोडल' र 'मर्जर' नीतिले सार्वजनिक शिक्षामा समता र न्याय सुनिश्चित गर्ने राज्यको उत्तरदायित्व उपहास गरेको छ।
यस विषयमा कोलम्बिया विश्वविद्यालयका सहप्राध्यापक डा. प्रेम फ्याकसँगको सहकार्यमा गरिएको विस्तृत अनुसन्धानको निष्कर्ष सिकागो विश्वविद्यालयको प्रतिष्ठित जर्नल 'कम्पेरेटिभ एजुकेसन रिभ्यु' मा प्रकाशोन्मुख छ।
यो लेखमा मोडल स्कुलले 'सफल' उदाहरणका रूपमा प्रस्तुत गरेको 'सिसिटिभीमार्फत कक्षा शिक्षणको प्रभावकारिता वृद्धि हुने' तर्कसँग सम्बन्धित विषयमा चर्चा गरेको छु।
अहिले विश्वभरि विद्यालय शिक्षा सुधारमा नवउदारवादी सिद्धान्तको बलियो प्रभाव छ। नवउदारवादले शिक्षालाई बजारको वस्तुसरह मान्छ, खुला अर्थतन्त्रमा शिक्षालाई किनबेच वा कारोबार हुने सूचीमा राख्छ।
लामो शैक्षिक इतिहासमा विश्वभरि नै शिक्षा क्षेत्र आर्थिक कारोबार र नाफासँग जोडिएको थिएन। नवउदारवादको प्रभाव बढ्दै जाँदा सन् १९७० पछि राज्यको जिम्मामा रहेको शिक्षा खुला बजारमा गयो र नाफाको ध्येयले शिक्षण संस्था चल्न थाले।
नेपालमा पनि विशेष गरी सन् १९९० पछि विद्यालय शिक्षामा निजी क्षेत्रको प्रवेश विस्तार भयो। विश्वबैंक र एसियाली विकास बैंक जस्ता नवउदारवादका प्रमुख संवाहकहरू शिक्षा सुधारमा सहयोग गर्ने भन्दै हाम्रो राजनीतिक मैदानमा प्रवेश गरे।
फलस्वरूप नेपालमा सन् १९९० देखि दाताको प्राविधिक र आर्थिक सहयोगमा विद्यालय सुधारका प्रयासहरू भएका छन् र प्रयास जारी छ।
सबैका लागि शिक्षा कार्य योजना (सन् २००४-२००९), विद्यालय क्षेत्र सुधार योजना (सन् २००९-२०१५), विद्यालय क्षेत्र विकास योजना (सन् २०१६-२०२३) र विद्यालय शिक्षा क्षेत्र योजना (सन् २०२२-२०३२) यस्तै प्रयासमध्येका हुन्।
मोडल स्कुलको अवधारणा विद्यालय शिक्षा विकास योजना (सन् २०१६–२०२३) को कार्यक्रममा आएको हो। मोडल स्कुलले निजी स्कुलको नक्कल गर्यो। निजी स्कुलतर्फ विद्यार्थीको प्रवाह रोक्न नक्कल गर्नुपरेको मोडल स्कुलका प्रधानाध्यापकहरूको तर्क हुने गरेको छ।
अहिले ठूला र राम्रा मानिएका सामुदायिक स्कुलमा अंग्रेजी माध्यममा पढाइ हुन्छ। स्कुल ड्रेसमा टाई, बेल्ट र ट्र्याकसुट हुन्छ। स्कुल बस हुन्छ। अतिरिक्त कक्षा र कम्प्युटर ल्याब हुन्छ। यसनिम्ति अतिरिक्त शुल्क लगाइएको हुन्छ। सिसिटिभीको निगरानी पनि नक्कल अन्तर्गत नै पर्छ।
यस्तो परिवर्तनले सामुदायिक स्कुल अब्बल बन्दै गएको भन्ने आमबुझाइ देखिन्छ। यस्ता सामुदायिक स्कुलले अन्य उत्कृष्ट र नमूना काममार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको मानिएको छ।
यसरी मोडल स्कुल अवधारणा उपलब्धिमूलक मानिए पनि यस्तो सुधारले शैक्षिक प्रक्रिया र गुणस्तरको सर्वमान्य सिद्धान्त र स्थापित मान्यतामाथि प्रश्न उठाउने ठाउँ दिएको छ। कक्षाकोठामा सिसिटिभीको प्रयोग र त्यसको माध्यमबाट भइरहेको सर्भेलियन्स (निगरानी) शिक्षणका स्थापित मान्यताको बर्खिलापमा छ।
कक्षाकोठामा हुने सिकाइ एक सिर्जनात्मक प्रक्रिया हो। यसले शिक्षक र विद्यार्थीबीच स्वतन्त्र, स्वाभाविक, मौलिक र रोचक अन्तर्क्रिया प्रोत्साहित गर्छ।
पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ क्षमता विकास गर्न विषयवस्तुको ज्ञान विद्यार्थीका सिकाइमा रूपान्तरण गर्नु सामान्य काम होइन। यो काम गर्न शिक्षकले केवल विषयवस्तुको प्राविधिक वा औपचारिक प्रसारण गरेर पुग्दैन। शिक्षकले एक कलाकारले झैं अनेक शिक्षण विधिबाट सिकाइ प्रक्रिया जीवन्त बनाउनुपर्छ।
हरेक विद्यार्थी विशेष र पृथक हुन्छ। एउटै कक्षाकोठाका विद्यार्थीहरूको रूचि, क्षमता र भाषिक तथा सामाजिक-सांस्कृतिक विशेषता फरक हुन्छ। यसैअनुसार सिक्ने तरिका पनि फरक हुन्छ।
शिक्षकले एउटा कक्षामा एउटै विषयवस्तु पढाउँदा पनि विद्यार्थीको विशेषता र क्षमता अनुसार भिन्नभिन्न तरिका अपनाउनुपर्छ जसबाट सिकाइ प्रभावकारी र समावेशी बन्न सकोस्।
प्रत्येक विद्यार्थीले सिक्न सक्छ। यसका लागि शिक्षकले विद्यार्थीको विशिष्टता चिन्नुपर्छ। त्यस अनुसार शिक्षण प्रक्रियामा विविधता ल्याउनुपर्छ।
आवश्यकता अनुसार शिक्षकले विद्यार्थीलाई अभिभावकसरह माया गर्नुपर्छ, मार्गदर्शन गराउनुपर्छ। कहिलेकाहीँ विद्यार्थीको समस्या सुन्नुपर्छ र समाधानका लागि साथीजस्तो भूमिका निर्वाह गर्नुपर्छ।
हिन्दी चलचित्र 'तारे जमिन पर' मा शिक्षकको भूमिकामा रहेका आमिर खानले 'डिस्लेक्सिया' को समस्या झेलिरहेको विद्यार्थी इशानलाई वात्सल्यपूर्ण व्यवहारको नमूना प्रस्तुत गरेका छन्। डिस्लेक्सिया सिकाइमा हुने एक प्रकारको कमजोरी वा विचलन हो जसले व्यक्तिको पठन र भाषिक क्षमता विकास अवरूद्ध गरिदिन्छ।
यो चलचित्रले परिवार, समाज र विद्यालयले कमजोर ठहर्याएका बालबालिकाले कसरी आफ्नो लुप्त क्षमता उजागर गर्न सक्छन् र जीवनमा उमंग ल्याउन सक्छन् भन्ने विषय रोचक ढंगले प्रस्तुत गरेको छ। विद्यार्थीको मनोविज्ञान, पारिवारिक तथा आर्थिक-सामाजिक र सिकाइसम्बन्धी कठिनाइमा शिक्षकले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।
शिक्षकले प्रत्येक विद्यार्थीलाई आफ्नै सन्तानसरह तिनको संवेग गहिरो रूपमा बुझ्दै सतर्कतापूर्वक व्यवहार गर्नुपर्छ। कक्षाकोठामा सिसिटिभी जडान गरेर प्रधानाध्यापकले निगरानी र नियन्त्रण गरेपछि शिक्षक र विद्यार्थी दुवैको स्वतन्त्र र स्वाभाविक क्रियाकलाप संकुचित हुन्छ।
सिसिटिभीमा सबै देखिने भएपछि विद्यार्थीसँग उपयुक्त संवेगात्मक व्यवहार गर्न शिक्षक हिच्किचाउँछ। अस्वाभाविक रूपमा उसको सतर्कता बढ्छ। सिकाइ प्रक्रिया औपचारिक र प्राविधिक बन्न जान्छ।
विद्यालय समाजको प्रतिविम्ब हो। यहाँ हुने सिकाइ सामाजिक जीवनको तयारी हो। घरपरिवार र समाजमा स्वतन्त्र र प्राकृतिक रूपले बालबालिकाको अनेक सिकाइ भइरहेको हुन्छ।
विद्यालयमा पनि सिकाइको वातावरण स्वतन्त्र हुनुपर्छ। सिकाइ अनौपचारिक र व्यावहारिक बढी, औपचारिक र सैद्धान्तिक कम हुनुपर्छ। सिकाइ प्रक्रियामा शिक्षक र विद्यार्थीको स्वतन्त्रता र मौलिकता केन्द्रमा हुनुपर्छ। सिसिटिभीले कक्षाकोठाको स्वतन्त्रता र मौलिकता अस्वाभाविक रूपमा संकुचित र निरूत्साहित गर्छ।
विद्यालय परिसर र कक्षाकोठामा विद्यार्थीको अनुशासन कायम गर्न र सुरक्षा बढाउन सिसिटिभी जडान गर्नुपरेको भन्ने तर्क सुनिन्छ।
एक मोडल स्कुलका प्रधानाध्यापकका अनुसार शिक्षकको व्यवहार निगरानी गर्न सिसिटिभी राखिएको होइन, कक्षा व्यवस्थित बनाउन तथा विद्यार्थीले गर्न सक्ने अवाञ्छित क्रियाकलाप रोक्न राखिएको हो।
सिसिटिभी जडानपछि शिक्षक बढी जिम्मेवार बनेको र विद्यार्थीमा अनुशासन बढेको भन्ने आफ्नो अनुभव पनि उनले सुनाए।
विद्यालयमा अनुशासन र सुरक्षाको कुरा निगरानी, नियन्त्रण र निर्देशनभन्दा बढी निरन्तर सिकाइसँग सम्बन्धित हुन्छ। यस्तो सिकाइ अनुभव र अनुभूतिको माध्यमबाट दिगोरूपमा हासिल हुन सक्छ।
प्रसिद्ध अमेरिकी मनोवैज्ञानिक थर्नडाइकले 'अभ्यास, त्रुटि र अनुभूति' को शृंखलाबाट मात्रै दिगो सिकाइ हुन्छ र तदनुकूल व्यवहार परिवर्तन हुन्छ भनेका छन्। अर्तीउपदेश, पुरस्कार वा सजायको प्रभावले हुने सिकाइ क्षणिक हो। दिगो सिकाइ र व्यवहार निर्माणका लागि कहिलेकाहीँ तितो अनुभव र अनुभूति पनि आवश्यक हुन्छ।
सिसिटिभीले कक्षा निगरानी हुँदा आफ्नो स्वतन्त्रता र शिक्षण विविधीकरणमा अंकुश लागेको अनुभव शिक्षकहरूको छ। यस सम्बन्धमा केही शिक्षकहरूको प्रतिनिधि भनाइ यहाँ राखिएको छ।
शिक्षक एक – कक्षाकोठामा सिसिटिभी जडान भएपछि शिक्षण सिकाइमा मेरो मौलिकता घटेको छ। सिसिटिभीको निगरानीले मेरो हाउभाउ र बोलिचाली फेरिएको छ। म अनौठो देखिऊँला कि भन्ने लाग्न थालेको छ।
शिक्षक दुई – स्कुलले अंग्रेजी माध्यममा पठनपाठन सुरू गरेपछि कक्षा कोठामा सिसिटिभी जडान गर्यो। विद्यार्थीलाई कक्षामा नेपाली बोल्न नदिने भनिएको छ। मेरो अंग्रेजी राम्रो छैन, नेपालीमै कुरा बुझाउँथेँ। सिसिटिभी जोडेपछि मलाई धक लाग्ने गरेको छ।
शिक्षक तीन – विद्यालय प्रशासनले हामीलाई नचाहिँदो अविश्वास र शंका गरेको छ। कक्षाकोठामा शिक्षकको मौलिक शैली र अनौपचारिकता घटेको छ। औपचारिकता बढेको छ।
उपर्युक्त प्रतिनिधि भनाइले सिसिटिभी निगरानीमा शिक्षकहरू असन्तुष्ट रहेको देखाउँछ।
स्कुलमा सिसिटिभीमार्फत शिक्षक र विद्यार्थीका गतिविधि रेकर्ड गरिए पनि त्यसको संवेदनशीलता, उपयोग र सुरक्षासम्बन्धी स्पष्ट नीतिगत व्यवस्था छैन। स्कुलले सार्वजनिक स्थानमा सिसिटिभी जडान गर्न लागू हुने सरकारी मापदण्ड पालना गरेको पनि पाइएन।
अध्ययनका क्रममा हामीले सिसिटिभी डाटा कति दिन सुरक्षित राखिन्छ, कसरी उपयोग गरिन्छ र कुनै रेकर्ड बाहिरिएर दुरूपयोग भए को जिम्मेवार हुन्छ भन्ने प्रश्न सोधेका थियौं। यसमा स्कुल प्रशासनबाट ठोस जबाफ आएन।
प्रसिद्ध फ्रेन्च दार्शनिक तथा समाजशास्त्री मिशेल फुकोले सन् १९७५ मा आफ्नो पुस्तक 'डिसिप्लिन एन्ड पनिस: द बर्थ अफ द प्रिजन' मा आधुनिक समयमा मानिसलाई अनुशासन र अप्रत्यक्ष निगरानीका अनेक प्रपञ्चमार्फत सजाय गर्ने गरिएको छ भनेका छन्।
उनका अनुसार शारीरिक यातना वा हिंसाको सार्वजनिक प्रदर्शनको साटो संरचित वा रूटिन दिनचर्या, निगरानी र नियन्त्रणको माध्यमले व्यक्तिको व्यवहार सुधार गर्ने उपाय प्रचलित हुनेछ।
उनले पुस्तकमा आधुनिक जेलमा केन्द्रीय टावरबाट विशेष अवलोकन गरेर कैदीलाई त्रासमा राख्ने प्रबन्ध गरेको कुरा उल्लेख गरेका छन्। उनले यस्तो प्रबन्धलाई 'प्यनोप्टिक सर्भेलियन्स' भनेका छन्।
'कुकुरदेखि सावधान' लेखिएको प्लेट यस्तै सर्भेलियन्स हो जसले घरमा कुकुर भए वा नभए पनि आगन्तुकलाई सतर्क गराइदिन्छ।
फुकोले त्यस बेला नै भनेका थिए – स्कुल, कारखाना, अस्पताल, सैनिक संस्था वा अन्य सामाजिक निकायले निगरानी र नियन्त्रणका यस्ता विधिहरू उपयोग गर्दै आफ्नो उद्देश्य अनुकूल व्यक्तिको व्यवहार विकास गर्न कारागारी अनुशासन बढाउनेछन्।
अहिलेका अध्ययनले पनि करिब ५० वर्षपहिले फुकोले अघि सारेको धारणा अनुरूपकै नतिजा देखाएका छन्।
कक्षाकोठामा सिसिटिभी निगरानीबाट स्कुल प्रशासनले शिक्षक र विद्यार्थीलाई तोकिएअनुसार भाषा, गतिविधि र व्यवहारमा सीमित राख्ने प्रयास गरेका छन्।
अध्ययनहरूको निष्कर्ष छ– स्कुलको बाह्य सुरक्षाका लागि सिसिटिभी उपयोगी भए पनि कक्षाकोठामा यसले शिक्षक र विद्यार्थीमा अनावश्यक भय, संशय र अविश्वासको वातावरण सिर्जना गरेको छ। परिणामस्वरूप शिक्षण सिकाइ अत्यन्तै औपचारिक र यान्त्रिक भएको छ। सिकाइको विविधता, रोचकता र व्यावहारिकता कमजोर बनाएको छ। शिक्षक र विद्यार्थीको मौलिक सिकाइ प्रक्रियामा बाधा सिर्जना गरेको छ।
यसर्थ नियन्त्रण र निगरानीबाट होइन; स्वतन्त्रता, रचनात्मकता, रोचकता र खुलापनबाट मात्रै प्रभावकारी सिकाइ प्रभावकारी हुन्छ भन्ने कुरा बुझ्न आवश्यक भएको छ।
(डा. पेशल खनाल त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकायका प्राध्यापक हुन्।)