प्रेम र आसक्तिमा फरक हुन्छ।
प्रेमले स्वतन्त्रता दिन्छ, छोराछोरीहरूको पोषण गर्छ, रूचिहरू अन्वेषण गर्न प्रेरित गर्छ। आसक्ति मोह हो, जुन आमाबुबाका प्रकट वा अव्यक्त स्वार्थहरूसँग जोडिएको हुन्छ।
प्रेमले दिन्छ, मोहले अपेक्षा र नियन्त्रणका साङ्लामा बाँधेर उनीहरूको वृद्धि र सम्भावनालाई रोक्छ। सही मायाले बच्चालाई पखेटा फैलाउने शक्ति दिन्छ, आसक्तिले अँगालोमा कसेर राख्छ।
हामी जब आसक्त हुन्छौं, छोराछोरीलाई बाँधेर राख्छौं।
लेखक खलील जिब्रान भन्छन्, 'छोराछोरीहरू हामीबाट जन्मिएका होइनन्, ती हाम्रो माध्यमबाट यस संसारमा आएका हुन् वा उनीहरूको जन्मको हामी कारण होइनौं, कर्ता मात्रै हौं।'
उनी थप भन्छन्, 'हाम्रा छोराछोरी तीरजस्तै हुन्, हामी कमान। तीर एक दिन अवश्य छुट्छ, कमान त्यहीँ रहन्छ। यस प्रक्रियालाई हामी सहज र खुशीसाथ लिऊँ।'
चाणक्य भन्छन्, 'बचेराहरू गुँड छाडी उडेर जान्छन्, रित्तो गुँड देखेर भावुक नबन्नू।'
यहाँ प्रेम र आसक्तिबीच पातलो धर्सो छ, यही धर्सोले हामीलाई झुक्क्याउँछ। यसैले अभिभावकत्व कठिन बन्छ।
वेदमन्त्र भन्छ, 'आत्मावै जायते पुत्रः। सन्तति आत्माका विस्तार हुन्, यी केबल जन्मिएका प्राणी मात्र होइनन्।'
छोराछोरी हाम्रा व्यक्तिगत होइनन्, हाम्रा शारीरिक अस्तित्वको अंश पनि होइनन्। यो वाक्यांशले अर्थ्याउँछ, छोराछोरी हाम्रो चेतनाका अभिव्यक्ति हुन्, जसले जीवनको नयाँ रूप लिन्छ र आफ्नै मार्ग पहिल्याउँछ।
यो वाक्य दोहोर्याउँछ, हरेक सन्ततिले आफ्नै मार्ग पहिल्याउँछन्, यसमा उनीहरू सक्षम हुन्छन्। जानेर वा अन्जानमै उनीहरू त्यसै दिशातर्फ लाग्छन्। हाम्रो स्वार्थ त्यहीँ बाझ्छ, हामी तान्न खोज्छौं, उनीहरू फुस्किन खोज्छन्। हामी भविष्य सुनिश्चित गर्न खोज्छौं, उनीहरू जोखिम लिन्छन्।
मेरा एक मित्र प्रश्न गर्नु हुन्थ्यो, 'आमाबुबालाई थाहै नदिई चौध वर्षको उमेरमा घर छाडेँ। अन्धाधुन्ध सहर पसेँ। बाल्यकालको यो निर्णय नै मेरो आफ्ना बुबाआमासँगको सामीप्यताको अन्तिम रात थियो। त्यसपछि म बालक रहिनँ, एक संघर्षरत वयस्कजस्तो बने। कुन शक्तिले यो गरायो?'
यसलाई बुझ्न धेरै घोत्लिनु पर्ला जस्तो मलाई लाग्दैन।
एकैछिन आँखा चिम्म गरेर आफ्नै विगत हेरौं, हामीले आफ्नै अभिभावकसँग गरेका विद्रोह, ती साना होलान् वा ठूला, सम्झौं। हाम्रा जोखिमपूर्ण निर्णयले अभिभावकलाई पारेको असर हेरौं। अनि हामी मनमौजी तवरमा जीवनयात्रामा लागेको सम्झौं। सबै छर्लंग हुनेछ।
अनि ती हाम्रा विद्रोहलाई जब हामी आफ्नै छोराछोरीको सन्दर्भमा जोड्न सक्दैनौं। जब आसक्ति वा अहमताले गाँज्छ, त्यस बेला हामीले आफ्नै बालबच्चालाई नियन्त्रण गर्न थाल्छौं। तर उनीहरू मान्दैनन्। बालुवालाई मुठ्ठीमा जति कस्न खोज्यो उति फुस्किन्छ, छोराछोरी यस्तै हुन्।
यो लेखमा बीस वर्षको अवधिमा मैले सयौं अभिभावकसँग गरेको अन्तरक्रिया र अनुभव समेट्ने चेष्टा गरेको छु। मैले भेटेका अपवाद बाहेक सबैलाई असल अभिभावकको रूपमा लिन्छु, नियतमा खोट देखेको छैन तर व्यवहारमा अनभिज्ञ पाएको छु। त्यही अनभिज्ञता नै जटिलतामा परिणत हुने मेरो विषयगत निष्कर्ष छ।
एक भनाइ छ — जैविक आमाबुबा सजिलै बनिन्छ तर अभिभावक बन्न चुनौतीपूर्ण छ।
हाम्रो अभिभावकत्वका भूलहरूले चुनौती सिर्जना हुने हुन्। ती त्रुटिहरूले नै अभिभावक आफै समस्या बन्छन्।
कहाँ हुन्छ त्रुटि? किन हामी नचाहँदा पनि आफ्नै बालबच्चाका समस्या बनिदिन्छौं?
यो लेखमा यी कुरा विस्तार गर्नेछु। सबै समेट्न नसके पनि तथ्य पहिल्याउन प्रयत्न गर्नेछु। स्मरण राख्नु होला, यस लेखको आशय सबै अभिभावकहरू समस्यामूलक हुन्छन् भन्ने होइन।
बालबच्चा र अभिभावकलाई कस्ने भावनात्मक सम्बन्ध (माया) को डोरी अत्यन्त बलियो हुन्छ।
हामीकहाँ एउटा प्रायः गल्ती देख्छु। आमाबुबा सोच्छन् — हामी यिनीहरूको यति ख्याल गर्छौं तर उनीहरूको मन हामीतिर छैन।
सत्य यो हो कि, जति हामी उनीहरूसँग गाँसिएका छौं, त्यति नै उनीहरू हामीसँग पनि बाँधिएका हुन्छन्। जति हाम्रो मन उनीहरूतिर छ, त्यति नै उनीहरू हामीतिर छन्। तर हामी आफ्नै एकोहोरो परावर्तनमा जकडिन्छौं।
हाम्रा तुच्छ शब्द वा कठोरताले उनीहरूलाई पनि त्यति नै घोच्छ जति उनीहरूको प्रतिव्यवहारले हामीलाई चित्त दुखाउँछ।
हामी भन्छौं, 'यी साना छन्, भन्न पाइन्छ!'
यो सत्य होइन।
नबिर्सौं, ती हामीमा आश्रित छन् भन्दैमा निष्ठुरताको अधिकार हामीसँग छैन!
सन्तानका प्रतिवादलाई अन्यथा लिन हुँदैन, किनभने ती भविष्य हेर्छन्, हामी भूत। यही भूत र भविष्यको अन्तरद्वन्द्वमा हामीलाई विलखबन्धको अनुभव हुन्छ। यहाँ पनि अभिभावकको गल्ती हुन्छ।
अक्सर अभिभावकहरू आफ्ना अभ्यंतर मनमा रहेका इच्छा छोराछोरीमा प्रक्षेपण गर्छन्।
'म यस्तो बनिनँ, गल्ती गरेँ, यो नगर्नू वा यस्तो बन्नू' भन्ने जस्ता अपेक्षाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अभिव्यक्त गर्छन्।
भावनात्मक सम्बन्धका कारण हाम्रा अप्रकट इच्छाहरू पनि बालबालिकाले प्रत्यक्ष जस्तै थाहा पाउँछन्, बुझ्छन्, अनुभूति गर्छन्। यसले उनीहरूमा दबाब सिर्जना गर्छ। यो स्वस्थ्यकर हुँदैन।
उनीहरूले बाबुआमाका ती अपेक्षा पूरा गर्लान् वा गर्न नसक्लान्, तर तिनले आफ्ना अभिभावकका प्रक्षेपणलाई अन्तरमनमा प्रायः स्वीकार गर्दैनन्। किनभने, ती अन्ततः स्वतन्त्र व्यक्ति हुन्। आफ्नै आवश्यकता र मार्गमा हिँड्नुपर्ने मानिसहरू हुन्। उनीहरू भित्रभित्रै भावनात्मक दबाबको सामना गर्छन्।
यही भावनात्मक सम्बन्धले उनीहरूलाई दुविधामा पार्छ। उनीहरूको गति अवरोध गर्छ।
छोराछोरीका भावनाको उपेक्षा गरेमा उनीहरूले त्यसलाई कठोरताका रूपमा लिन्छन्। बालबालिकाका मनमा गढेका अनुभूति बेवास्ता गरिदिँदा पनि उनीहरूले आफूलाई अलग्याएको महसुस गर्छन्।
संयमता, करूणा र लचिलोपनलाई आधार राखेमा भावनात्मक सम्बन्ध कसिलो बन्छ। उनीहरूका दृष्टिकोण, भनाइ र अपेक्षा सुनिदिँदा तिनले आफूलाई स्वीकार गरिएको अनुभव गर्छन्। यहाँ हाम्रो आफ्नै भावनाको नियमन आवश्यक पर्छ।
अनुशासनका नाममा अधिनायक बन्ने, अपराधबोध वा लाजको भावना जगाउने अभिभावकले छोराछोरीमा आत्मसम्मानको विकासलाई अवरोध गर्छन्। यस्तै अत्यधिक भावुक प्रतिक्रिया गर्दा, तर्कसंगत नबन्दा र आवेगमा व्यवहार गर्दा छोराछोरीको भावनात्मक विकासमा चोट पुग्छ। ती फक्रिन सक्दैनन्।
उल्लिखित तथ्यहरू अभिभावकका भावनात्मक त्रुटि हुन् जसले दीर्घकालीन असर गर्छ। छोराछोरीका मनभित्र कुण्ठाका वृत्तिहरू जम्न थाल्छन्। जब आजका बालबालिका एक दिन आफै मातापिता बन्छन्, फेरि तिनै कुण्ठा आफ्नै छोराछोरीमा पोख्छन्। यो दुश्चक्र यसरी चलिरहन्छ।
मैले प्रायः अभिभावकहरू आफ्ना छोराछोरीलाई नियन्त्रण गर्ने वा स्वतन्त्र छाड्ने भन्नेमा अस्पष्ट पाएको छु। डर र कडा नियम प्रयोग गरी अनुशासन लागू नगरेमा छोराछोरीले गलत बाटो लिन्छन् भन्ने भ्रम पनि पाएको छु।
मेरो अनुभवमा स्वतन्त्रता दिइएका बालबालिकाको विकास तीव्र छ। नियन्त्रितहरूमा स्वपहिचानको अभाव, निर्णय क्षमताको कमी, जिम्मेवारी लिन नसक्ने, आज्ञाकारी मात्र हुने प्रवृत्ति छ। बोल्न डराउने, परनिर्भरता र सीमित विकास पनि देखेको छु।
आफ्ना सन्तानलाई कदापि नियन्त्रणको घेरामा राख्न हुँदैन। यसको अर्थ 'छाडा' छाड्ने वा अत्यधिक स्वतन्त्रता दिने भनेको होइन। उनीहरूलाई रेखदेख गर्ने हो। गलत दिशा लिएमा सही बाटोमा लगाउने हो, मार्गदर्शन दिने हो। नियन्त्रण र रेखदेखमा फरक नदेख्नु अभिभावकहरूको अर्को समस्या हो।
उदाहरणका लागि, 'तिम्रो आफ्नो काम सकेपछि खेल्न जाऊ' भन्नु रेखदेख हो भने, 'मैले भनेपछि मात्र खेल्न जाऊ, अन्यथा हुन्न' भन्नु नियन्त्रण हो।
अर्को उदाहरण, परिणामहरूका अनुभवले बालबालिकालाई जिम्मेवारी सिकाउँछ। यदि उसले आफ्नो टिफिन-बक्स बिर्सियो भने भोकको अनुभव गर्छ र अर्को पटक सम्झिन्छ। तर अभिभावक टिफिन-बक्स स्कुलमा पुर्याउन दौडियो भने बच्चाले जिम्मेवारीको पाठ सिक्न सक्दैन। पहिलो काँटछाँट हो, दोस्रो उसको अनुभवको नियन्त्रण।
नियन्त्रण जस्तै, अर्को प्रवृत्ति केही अभिभावकहरूले देखाउँछन्, त्यो हो अत्यधिक सुरक्षा दिने। आफ्ना सन्तानका अगाडि चुनौती आउन नदिने।
हरेक चुनौती मेरो बच्चाले कसरी पार गर्ला भन्ने पीर, खेल्दा लड्ने डर, खानाले बिरामी पर्ने डर र हरेक क्रियाकलापका सुक्ष्म व्यवस्थापन।
यी बालविकासका भयावह समस्या हुन्। सुक्ष्म व्यवस्थापनले पनि अत्यधिक नियन्त्रणले जस्तै बालबालिकालाई नकारात्मक असर गर्छ।
बालबालिकाका निर्णय र क्षमतामाथि शंका गर्नु पनि अभिभावकहरूको त्रुटि हो। यी अभिभावकहरूले सन्तानले गरेका सानातिना निर्णयमा पनि गल्ती देख्छन् र सधैं गल्ती गरिरहन्छ भन्ने मान्छन्। यी शंकाहरूले सन्तानलाई निर्णयको जोखिम लिन दिँदैनन् र हरेक अवस्थामा आमाबुबाको मुख हेर्ने बनाउँछ।
अर्का थरी अभिभावकले छोराछोरीको व्यक्तिगत सिमानालाई सम्मान गर्दैनन्। उनीहरूको वैयक्तिक मूल्यको कदर गर्दैनन्। अन्ततः यसले उनीहरूलाई अरूको सम्मान गर्न सिकाउँदैन।
हरेक बच्चाको अद्वितीयताको ख्याल नगरी अन्यसँग तुलना गर्नु पनि बालविकासका लागि हानिकारक हुन्छ। यसले व्यक्तिगत अवमूल्यन गराउँछ।
मैले धेरै अभिभावकहरूलाई हेर्दा उनीहरूले सन्तानसँग अवास्तविक अपेक्षा राखेको पाएको छु। बालबच्चाको रूचिलाई कदर नगरी आफ्नो इच्छा अनुसार चलाउने प्रयत्न गरेको देखेको छु। सबै कुरामा बिना गल्तीको पूर्णताको खोजी गर्ने प्रवृत्ति पाउँछु। शैक्षिक उपलब्धि नै सबै भएको र सर्वांगीण बालविकासका पक्षहरूलाई पाखा लगाउने गरेको पाएको छु। पढाइ मात्र भए सबै हुने विश्वास यी अभिभावकले गर्छन्। अत्यधिक कार्यभारमा विश्वास गर्छन् र धेरै कामको बोझले थिच्नुपर्ने मत राख्छन्। सिर्जनात्मक अवसर दिँदैनन्।
पितृसत्तात्मक सोचका कारण समाजमा छोरा र छोरी बीचमा छोरालाई हरेक कुरामा प्राथमिकता दिने र छोरीलाई छायामा पार्ने प्रवृत्ति पनि देखेको छु। वा, आफ्नै सन्तानबीच मसिना पक्षपात गर्ने, कुनैलाई विशेष राम्रो मान्ने र अर्कोलाई तुलनात्मक रूपमा अलग व्यवहार गरेको पाएको छु। पक्षपाती झुकावले सन्तानमाथि दीर्घकालीन असर गर्छ। एकमा दम्भ आउने र अर्कोमा आत्मसम्मानको कमी हुने सम्भावना रहन्छ।
अर्का थरी आमाबुबा आफैले देखाउने मूल्यहरूको अनुपालन गर्दैनन्। उनीहरू आफू नियममा बस्दैनन् तर बालबच्चालाई नियम पालन गर्न लगाउँछन्। आफू प्रेरणाको स्रोत बन्न नसक्ने अभिभावकले बच्चाहरूलाई मार्गदर्शन गर्न सक्दैनन्। यी अभिभावकले बालबालिकालाई दुबिधायुक्त सन्देश दिन्छन्।
कुनै कुनै अभिभावकले आफ्ना सन्तानको प्रत्येक माग पूरा गर्छन्, जे भन्यो त्यही पुर्याउँछन्। यसले कालान्तरमा उनीहरूमा हकदाबीको भावना पैदा गर्छ र परनिर्भरताको स्वभाव विकास गर्छ। अर्कातर्फ, बालबालिकासँग सामिप्यता नराख्ने वा उनीहरूका आवश्यकतामा उदासीन रहने अभिभावकको प्रवृत्ति हुन्छ। यस्तो व्यवहारका कारण बच्चाहरूले अभिभावकको न्यानोपन पाउँदैनन्।
खासमा अभिभावकत्व एक सन्तुलन हो। कुनै पक्षलाई अत्यधिक भार वा प्राथमिकतामा नपार्दा सन्तुलन खलबलिन्छ। त्यही सन्तुलन अनुसार सन्तानको आचरण, सामाजिक र प्रवृत्ति विकास हुन्छ।
तसर्थ, यहाँ 'यस्तै गर्नु' भन्ने मूर्त नियम पनि छैन। अवस्था, समय र विकासात्मक चरणलाई ध्यानमा राखेर खुला मनले लचकताका साथ अभिभावकत्व निर्वाह गर्नुको विकल्प छैन। तर संवेदनशीलताका साथ व्यवहार गर्दा त्रुटि कम हुन्छ।
हामीले प्रेम र करूणालाई आधार मानेर आफ्ना बालबच्चाको रेखदेख गर्न सक्यौं भने कालान्तरमा उदण्डता देखाउने बच्चा पनि सही मार्गमा आउँछ। तर, अधिकारको जोड-जुलुम मात्र गर्यौं भने नकारात्मकतालाई मलजल गर्छ।
भनिएको छ — कोरा कागजमा जे लेख्यो, त्यही अंकित हुन्छ।
बालबच्चा कोरा कागज जस्तै हुन् वा काँचो माटोका बन्दै गरेका मूर्ति हुन्। हामी जे गर्छौं, जे लेख्छौं वा जसरी पथप्रदर्शन गर्छौं, उनीहरू त्यस्तै बन्छन्।
त्यसैले अभिभावकत्वको ज्ञान राखौं, सन्तानमाथि विश्वास गरेर हेरौं। उनीहरूले सही बाटो स्वयं लिनेछन्।
कैयौं संघर्षरत बालबालिकाले समय अन्तरालमा प्रगति गरेको अनगिन्ती उदाहरण छन्।
सत्य यो हो कि, सन्तानको अवचेतन मनको स्वभाव हामीले परिवर्तन गर्न सक्दैनौं तर स्वनियमनमा मद्दत गर्न सक्छौं।
उनीहरूलाई हाम्रा विचार थोपर्न सक्दैनौं तर दिशानिर्देश गर्न सक्छौं।
उनीहरूको जिम्मेवारी सधैं लिन सक्दैनौं तर उनीहरूलाई जिम्मेवारी सिकाउन सक्छौं।
उनीहरूलाई हामीजस्तो बनाउन सक्दैनौं तर उनीहरूलाई उनीहरूजस्तै बन्न दिन सक्छौं।
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)