तपाईं काठमाडौंको चाबहिल, मित्रपार्क पुग्नुभएको छ भने अम्बे अपार्टमेन्टको अग्लो भवन देख्नुभएकै होला।
त्यही भवनको गेटसँगै देब्रेतर्फ भर्खरै चिटिक्क परेको एउटा सानो बगैंचा बनाइएको छ। बगैंचाको एक भित्तामा सोफामा बसेका एक हँसिला मानिसको फोटो र केही शब्द कुँदिएका छन्। खैरो सुट, कालो जुत्ता र ढाका टोपी लगाएका ती मानिस उमेरले पाका देखिन्छन्, अनुहारको चमक भने लोभलाग्दो छ।
फोटोसँगै लेखिएको छ — दिव्य शताब्दी पुरूष डा. गौरीशंकर लाल दास मार्ग।
२०८१ असोज १० गते काठमाडौं महानगरपालिका वडा नम्बर ७ को अग्रसरतामा त्यो बगैंचा निर्माण, शिलालेख लेखन र मार्ग नामकरण भएको रहेछ।
मंसिर महिनाको सुरूआती दिनमा कुनै कामविशेषले त्यो बाटो हिँडिरहँदा मेरो नजर त्यो शिलालेखमा पर्यो। तस्बिर हेर्दा चिनेको अनुहारजस्तो लाग्यो।
नजिक गएँ। शिलालेखमा लेखिएका सबै कुरा पढेँ।
मलाई लाग्यो — शताब्दी उमेर बाँचेका डाक्टर दास पक्कै पनि काठमाडौंमा लामो समयदेखि बसिरहेका होलान्! र, त वडावासीले बाटोलाई उनको नाम दिएका छन्!
मधेसमा पहाडे समुदायका विद्वान, राजारानी, नेता वा सहिदका नाममा चोक, बस्ती, सहर, शालिक बग्रेल्ती हुन्छन्। तर काठमाडौंको मुख्य चोकमा मधेसीको नाममा बाटो!
मलाई यो सबै पत्याउन गाह्रो भइरहेको थियो। मेरो अनुमानभन्दा धेरै परको कुरा थियो यो।
मलाई डा. गौरीशंकरसँग भेट्न मन लाग्यो। उनले देखेको मधेस, मधेसी समाज, काठमाडौं आउँदा र बस्दाको अनुभव, अहिलेको परिवर्तन लगायत धेरै कुरामा लामो गफ गर्न मन भयो।
मित्र डा. सुजीत कर्णको सहयोगबाट मैले सम्पर्क नम्बर पाएँ। बूढामान्छेको के व्यस्तता होला र, भेटघाटको समय सजिलै पाइएला भनेर फोन गरेँ।
बिहीबारको दिन थियो। ओहो, उनी त निकै व्यस्त रहेछन्! शनिबार त झनै नभ्याउने दिन रे! त्यसैले आइतबार ११ बजे बिहान भेट्ने तय भयो।
त्यो दिन थियो सन् २०२४ डिसेम्बर १।
ठेगाना सोधेँ। अम्बे अपार्टमेन्टको ठ्याक्कै सामुन्ने, त्यही बगैंचा अगाडिको घर रहेछ।
म निर्धारित समयमा पुगेँ। डा. गौरीशंकर घाम ताप्दै पत्रिका पढ्दै थिए। परिचय दिएर भेट्न आउनुको कारण भनेँ। एउटा मोटो डायरीमा मलाई मेरो विस्तृत विवरण लेख्न लगाइयो। नाम, स्थायी र अस्थायी ठेगाना, अफिसको नाम र ठेगाना, फोन नम्बर, इमेल आदि।
मैले कुराकानी रेकर्ड गर्न अनुमति मागेँ, त्यही बेला उनको फोन बज्यो।
उनले नरम शैलीमा निर्देशन दिँदै भने, '२ बजे गाडी पठाइदिने!'
'हजुर आज पनि व्यस्त?'
'अँ, बिपी आँखा फाउन्डेसनको अध्यक्ष हुँ म। संस्थापक ट्रस्टी पनि। साताको ३-४ पटक जानुपर्छ। अरू धेरै सामाजिक संस्थामा पनि आबद्ध छु। विभिन्न खाले बैठक भइरहन्छन्। प्रायः शनिबारका दिन त्यस्ता बैठक हुन्छन्। त्यसैले अरू दिनभन्दा शनिबार बढी व्यस्त हुन्छु।'
'अनि त्यस्ता कार्यक्रममा जाँदा खानपिनमा अप्ठयारो हुँदो होला है?'
'हुन्न। मेरो खानपिन सामान्य छ। आफ्नो अवस्था र आवश्यकता हेरेर खाना खान्छु।'
बिहान ५ बजेपछि उठ्ने, नित्यकर्मपछि दुई-अढाई घन्टा योग गर्ने र ९ बजेतिर नास्ता खाने उहाँको बानी रहेछ। मैले सोधेँ, 'खानपिनमा कुनै विशेष सजगता अपनाउनुभएको छ कि?'
'छैन,' उनले भने, 'घरमा जे पाक्छ त्यही खाने हो। नरम चाहिँ हुनुपर्छ। बिहानको नास्तामा फलफूल पनि हुन्छ। रातको खानामा सकेसम्म रोटी भए राम्रो तर अनिवार्य छैन।'
'कुनै औषधि नियमित सेवन गर्नुपरेको छ कि?'
'छैन। ब्लड प्रेसर र सुगर नर्मल छ। आँखा दुरूस्त छ। पढ्न चस्मा लगाउनुपर्दैन।'
'गज्जबै छ त, हजुरको दिघार्युको राज के होला?'
'सन्तुलित भोजन, तनाव नलिने, शारीरिक र मानसिक रूपमा सक्रिय रहने। राजनीतिमा कहिल्यै लागिनँ। जुन काम गर्दा आत्मालाई कोसिन्छ (ग्लानी हुन्छ) त्यस्तो काम कहिल्यै गरिनँ। अरूले पनि गर्नुहुँदैन भन्छु। जीवनमा सधैं क्लिन र लाइट भएर बस्ने प्रयास गरेँ। यसरी नै चलिरहेको छ।'
'वंशाणुगत पक्ष के कस्तो छ?'
'बुबा ५४ वर्षकै उमेरमा बित्नुभयो। हजुरबुबा (दादाजी) ८०-८१ वर्ष बाँचेका थिए अरे। आमा ८०-८१ वर्ष बाँचिन् भने उहाँको बुबा (नानाजी) ५०-५१ वर्ष मात्र बाँचेका थिए अरे। यस्तोलाई के भन्ने? वंशाणुगत रूपमा दिघार्युको ट्रेन्ड छैन।'
त्यस दिन हाम्रो दुई घन्टा कुराकानी भयो। बाल्यकाल, प्रारम्भिक शिक्षादिक्षा, पेसागत जीवनको आरोह-अवरोह, अवकाशपछिको दिनचर्या लगायतबारे विस्तारमा गफियौं।
उनको संस्मरण शक्ति दुरूस्त र सक्रिय रहेको पाएँ। थोरै शब्दमा आफ्नो कुरा राख्ने र मधुरो स्वरमा बोल्ने उनको खास विशेषता महशुस भयो।
उनका दुइटा पुस्तिका प्रकाशित रहेछन् — एउटा, यादों कि गलियारे मे (हिन्दी) र दोस्रो चयनिका (नेपाली)। दुवै विभिन्न समय पत्रपत्रिका, स्मारिका, विशेषांकमा प्रकाशित संस्मरणात्मक लेखहरूका संगालो हुन्। छोराहरूको सहयोगमा उनले आफ्नो बायोडाटा पनि अपडेट गरेका रहेछन्, जुन १२ पृष्ठ लामो छ।
त्यस दिन म उनका दुवै पुस्तिका र बायोडाटा बोकेर फर्केँ।
एक सातापछि फेरि केही कुरा भेरिफाई गर्न म उनको घर गएँ। त्यस दिन पनि हामी करिब दुई घन्टा गफियौं।
दुई चरणमा गरी लगभग चार घन्टाको कुराकानीका आधारमा म डा. गौरीशंकर लाल दासबारे यो आलेख लेख्दैछु।
बाल्यकाल
डा. गौरीशंकरको जन्म विस. १९८१ असोज १० गते सप्तरी जिल्लाको इनर्वा गाउँ (हाल सिरहा जिल्ला) मा भएको थियो। बुबाको नाम जनार्दनलाल दास र आमाको नाम भवानीदेवी दास। त्यस बेला बुबाले बिए र बिएडसम्म पढेका थिए।
इनर्वा गाउँ हाल सिरहा जिल्लाको भगवानपुर गाउँपालिका-५ मा पर्छ। त्यो बेला इनर्वा र वरिपरिको गाउँ बज्रदेहात थियो। स्कुल, कलेज, बाटोघाटो केहीको सुविधा थिएन। सीमापारि करिब १० कोसमा राजनगर भन्ने गाउँ थियो, जहाँ दरभंगा महाराजका भाइ रामेश्वरप्रसाद सिंहले स्कुल बनाएका थिए। त्यसको नाम रामेश्वर हाई इङ्लिस स्कुल, राजनगर थियो।
गौरीशंकर लालले त्यही स्कुलबाट सन् १९४१ मा मेट्रिकुलेसन पास गरेका थिए।
महाभूकम्पको सम्झना
सन् १९३४ जनवरी १५ (विसं १९९० माघ २) को दिन महाभूकम्प आउँदा उनी जम्मा १० वर्षका थिए। कक्षा ५ मा पढ्थे।
कक्षामा पढाइ भइरहेको थियो। भूकम्प आउनेबित्तिकै सबै विद्यार्थी र शिक्षकहरू भागेर चउरमा गए। सबैका आँखाअगाडि महादेवको विशाल मन्दिर ढल्यो। जमिनमा जताततै चिरा परे।
'हामी निकै डराएका थियौं,' उनले भने, 'हामी सबै रामेश्वरप्रसाद सिंहको डोढी (दरबार) गएका थियौं।'
महिलाले सूर्य नदेख्ने समाज
गौरीशंकर लालले त्यो बेलाको समाजमा महिलाहरूको अवस्था कस्तो थियो भनेर पनि विस्तारमा बताए।
'ओहो! समाज निकै सामन्ती थियो। चर्को छुवाछुत! चरम गरिबी र चर्को शोषण!' उनले भने, 'बहिया प्रथा थियो। बहिया प्रथामा जो धनी मानिसको घरमा नोकर बस्थ्यो, उसको पूरै परिवार त्यहाँ नोकरी गर्थ्यो। ती सबैलाई सेवक भनिन्थ्यो। ज्यालाबापत् अनाज वा जोतेर खानलाई निश्चित जग्गा दिइन्थ्यो। घरेलुदेखि खेत-खलिहानसम्मको काम तिनीहरूले नै गर्नुपर्थ्यो।'
उनले अगाडि भने, 'महिलाहरूले कडाइका साथ घुँघट प्रथा मान्नुपर्थ्यो। उनीहरूलाई 'असूर्यम पश्चा' भनिन्थ्यो, खासगरी उच्च जातका महिलालाई। त्यो भनेको सूर्य नदेख्ने रे! कारण के भने, महिलाहरू घरबाट बाहिर निस्किँदैनथे। निस्के पनि घुम्टोमा हुन्थे। अनि कसरी सूर्य देख्नु?'
साहित्यकार बन्नुपर्ने मान्छे डाक्टर बने
गौरीशंकर लाल दास स्कुले जीवनमा अब्बल विद्यार्थी थिए। अंग्रेजी विषयमा राम्रो दख्खल थियो।
स्कुलमा बंगाली प्रिन्सिपल थिए। उनको चाहना थियो, गौरीशंकरले भविष्यमा भाषा र साहित्य पढून्। तर पिताजीको चाहना छोरा इञ्जिनियर वा डाक्टर बनोस् भन्ने थियो।
राजनगरबाट मेट्रिकुलेसन गरेपछि उनले भागलपुरको तेजनारायण जुबली कलेजबाट आइएससी र बिएससी पास गरे। उनले सन् १९४५ मा बिएससी पास गरेका थिए। त्यति बेला बिहारमा पटनापछि भागलपुर नै शिक्षाका लागि ख्याति पाएको सहर थियो।
सन् १९४५-४६ मा उनले पटनाको प्रिन्स अफ वेल्स मेडिकल कलेजमा प्रि-मेडिकल कोर्समा भर्ना पाए। आइएससी र बिएससी पढ्दा बायोलोजी नपढेकाले सुरूमा उनले प्रि-मेडिकल कोर्समा भर्ना हुनुपरेको थियो। त्यसपछि सन् १९४६ बाट मेडिकल कोर्स पढ्न सुरू गरेका उनी १९५१ मा डाक्टर बनेका थिए। त्यही प्रिन्स अफ वेल्स मेडिकल कलेजको नाम परिवर्तन भएर अहिले 'पिएमसी' अर्थात् पटना मेडिकल कलेज भएको छ।
उनले सुरूका केही महिना भारतकै सन्थाल बस्तीमा डाक्टरका रूपमा काम गरे। त्यहाँबाट काठमाडौं आए र लोकसेवा पास गरेर सन् १९५३ मार्च १ देखि वीर अस्पतालमा डाक्टरका रूपमा काम गर्न थाले। त्यसको ३-४ महिनापछि उनको सरूवा टोखामा टिबी रोग उपचारका लागि खोलिएको स्यानोटोरियममा भयो।
सन् १९५५ मा उनी अध्ययनका लागि दुई वर्ष बेलायत गए। त्यहाँ वेल्स र लन्डनमा गरी दुइटा कोर्स पूरा गरे। दुवै कोर्स टिबी र छातीको रोगसँग सम्बन्धित थिए।
डकोटा प्लेनमा काठमाडौं यात्रा
सन् १९५३ (बिक्रम सम्वत् २००९) मा उनी पहिलोपटक काठमाडौं आएका थिए, पटनाबाट डकोटा प्लेन चढेर।
काठमाडौंको गौचरन विमानस्थलमा अवतरण गरेपछि सिधा त्रिपुरेश्वरस्थित एक गेस्ट हाउसमा पुगेर बास बसेको उनी सम्झन्छन्।
'त्यो यात्राबारे थप केही सम्झना छ?'
जबाफमा उनले भने, 'पटनामा म चढेको प्लेन कार्गो र यात्रु दुवैलाई एकैठाउँ राखेर उडेको थियो। प्लेनको बीचमा कार्गो थियो भने छेउछेउमा बेन्चहरू राखिएका थिए। यात्रुहरू त्यही बेन्चमा बस्थे। म पनि त्यसरी नै बेन्चमा बसेर काठमाडौं आइपुगेँ।'
'गौचरन विमानस्थलमा एउटा सानो झुपडी थियो। त्यहीँ नै आगमन, प्रस्थान, टावर सबथोक थिए। लगेजको वजन नाप्ने एउटा मेसिन पनि थियो। यात्रुहरूको चेक-इन त्यहीँनिर हुन्थ्यो। म पनि त्यहीँ झुपडी हुँदै निस्केँ। बाहिर बस पाइयो। सुर्खी चुनाले बनेको सडकमा खडखड खडखड आवाज निकाल्दै बसले मलाई त्रिपुरेश्वर गेस्ट हाउस पुर्याइदियो। उति बेला मधेसबाट आउने जोकोही त्यहीँ बस्थे। त्यो गेस्ट हाउसमा मेस सञ्चालन हुन्थ्यो। सबै जना त्यहीँ खाना खान्थे। म पनि त्यहीँ बस्न थालेँ। त्यहाँ खाना खाँदा बास नि:शुल्क थियो।'
काठमाडौंमा मधेसीलाई हेर्ने दृष्टि
'त्यो बेलाको काठमाडौंमा मधेसीलाई कसरी हेरिन्थ्यो?'
मेरो यो प्रश्नमा गौरीशंकरले जबाफ दिए, 'व्यक्तिगत रूपमा मैले सम्मान नै पाएको थिएँ। सायद डाक्टर भएर पनि होला। तर आम रूपमा मधेसीलाई बडो हेयको दृष्टिले हेरिन्थ्यो। सडकमा हिँड्दा, चोक-चौराहामा जताततै मधेसीलाई हेपेको देखिन्थ्यो।'
उनले २०१०/११ सालतिरको एउटा घटना सुनाए —
उमाकान्त दास नामका एक मित्र थिए। उनी जहिल्यै धोती लगाउँथे। यहाँ काठमाडौंमा हिन्दी भाषामा पत्रिका प्रकाशन गर्थे। पत्रिकाको नाम थियो, नेपाली दैनिक। नाम नेपाली दैनिक अनि भाषा हिन्दी, कस्तो अनौठो!'
त्रिपुरेश्वर गेस्ट हाउसमा बस्दैदेखि गौरीशंकर र उमाकान्तको मित्रता थियो। उनी वीर अस्पतालमा काम गर्न थालेपछि पनि भेटघाट भइरहन्थ्यो। उमाकान्तलाई धोती लगायो भनेर धेरैले हेप्थे। तर उनी धोती लगाउन छाड्दैनथे।
एकदिन उनी हनुमानढोकातिर जाँदै थिए। कुकुरले टोकेछ। त्यस बेलाको काठमाडौंमा मधेसीहरूको सानो समूहमा यो कुराले निकै चर्चा पायो, 'यहाँका मानिसलाई धोती मन नपरिराखेकै थियो, अब कुकुरलाई पनि मन नपर्ने भएछ!'
'चर्चाको यो पक्षले मलाई छोयो। यही विषय जोडेर मैले हिन्दीमा एउटा लेख लेखेको थिएँ, 'कुत्तेको भी धोती नागबार!' त्यो लेख चित्रगुप्त स्मारिकामा छापिएको थियो,' गौरीशंकरले भने।
उनले अर्को एक प्रसंग पनि सुनाए —
नागेश्वरप्रसाद सिंह सप्तरी कोइलाडी गाउँको एक जमिनदार परिवारका थिए। पटनामा मेडिकल पढ्दा उनी गौरीशंकरभन्दा जुनियर थिए। शारीरिक रूपमा निकै हेन्डसम र सुन्दर थिए! गोरो वर्णका अग्ला युवक। उनी पैजामा र धोती लगाउँथे। पछि उनी पनि काठमाडौं आए। सुरूमा कांग्रेसी थिए, पछि तुलसी गिरिसँगै पञ्चायत पसेका थिए।
'जति बेला म टोखा अस्पतालमा कार्यरत थिएँ, उनीसँग बरोबर भेटघाट भइरहन्थ्यो। भेटघाटमा नागेश्वर सिंहले जहिले पनि मधेसी भनेर हेपाइ खाएको प्रसंग निकाल्थे। राजविराजबाट बस चढेर आउँदा-जाँदा बाटामा सबभन्दा बढी हेपाइ खानुपरेको सुनाउँथे। पछि उनी स्वास्थ्य र सिँचाइमन्त्री पनि भएका थिए,' उनले भने।
'उति बेला मधेसीहरू कुन बाटोबाट काठमाडौं आवतजावत गर्थे?'
जबाफमा उनले भने, 'मधेसीले काठमाडौं जानुअघि वीरगन्जमा भिसा लिनुपर्थ्यो। कुलेखानीमा जाँच हुन्थ्यो। वीरगन्जबाट अमलेखगन्ज, भीमफेदी, कुलेखानी, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पुगिन्थ्यो। फर्किँदा पनि त्यही रूट।'
'२०१० सालमा म आमालाई त्यही बाटो लिएर आएको थिएँ। फर्किँदा पनि अनुमतिपत्र लिएर जानुपरेको थियो,' उनले अगाडि भने, 'उति बेला कुनै पनि महिलाले उपत्यका छाड्दा सरकारसँग अनुमतिपत्र लिएर जानुपर्थ्यो। आमालाई लिएर घर फर्किँदा त्रिपुरेश्वरदेखि थानकोटसम्म बसमा, थानकोटदेखि कुलेखानी हुँदै भीमफेदीसम्म पैदल, भीमफेदीदेखि अमलेखगन्जसम्म बसमा र त्यहाँबाट रक्सौल, जयनगर हुँदै इनर्वासम्म रेल र त्यसपछि बयलगाडाको यात्रा गरेर घर पुगेका थियौं।'
वीर अस्पतालको तत्कालीन अवस्था
'तपाईंले डाक्टरी थाल्दा वीर अस्पताल कस्तो थियो?'
'सन् १९५३ मार्च १ देखि मैले वीर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरका रूपमा सेवा सुरू गरेको थिएँ। त्यस बखतको वीर अस्पताल अचम्मको थियो। वीर मेल (पुरूष) र वीर फिमेल (महिला) गरी दुइटा अस्पताल थिए। म चाहिँ वीर मेलमा थिएँ। एक जना बंगाली डाक्टर मजुम्दार वीर मेल अस्पतालका प्रमुख थिए। निकै दयालु स्वभावका, सहयोगी भावका,' गौरीशंकरले भने।
'त्यति बेला नेपालमा कति जना डाक्टर थिए?'
'सात वा आठ जना थिए। मेडिकल काउन्सिल स्थापना नै भएको थिएन। त्यो त धेरै पछि भयो। मैले नम्बर पनि पछि नै लिएको हुँ। मेरो काउन्सिलको नम्बर ११२ छ।'
टोखा क्षयरोग स्यानेटोरियमको अनुभव
उनी वीर अस्पतालबाट टोखाको क्षयरोग स्यानेटोरियममा सरूवा भएका थिए। त्यहाँ जानुका दुई कारण थिए। पहिलो, वीरभन्दा दोब्बर तलब पाइने। दोस्रो, त्यहाँको मनोरम दृश्य।
टोखा बस्दाका केही अनुभव उनले मलाई सुनाए।
उनी हरेक शुक्रबार भोटाहिटी आएर बिरामी जाँच्थे। भोटाहिटीमा एलाइड फर्मा थियो। शुक्रबार र शनिबार त्यहाँ बिरामी जाँचेर आइतबार बिहान टोखा फर्किन्थे।
भोटाहिटीका स्थानीयले डाक्टरका रूपमा उनलाई निकै सम्मान दिएका थिए। कैलाशराम नामका स्थानीय साहित्यकारसँग उनको दोस्ती जमेको थियो। उनकै संगतले अनेक साहित्यिक र सांगीतिक व्यक्तित्वहरूसँग चिनजान पनि भयो।
उनी शनिबारको दिन समय मिलाएर ती व्यक्तिहरूलाई भेट्न जान्थे। त्यसै क्रममा लक्ष्मीप्रसाद देवकोटा, चित्तधर हृदय, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ लगायतका हस्तीसँग भेट्ने अवसर मिलेको उनी सम्झन्छन्।
यसरी प्रत्येक साता दुई रात भोटाहिटीमा बस्न स्थानीयहरूले नै कोठा र कुर्सी उपलब्ध गराएका थिए।
'गणेशमान सिंहसँग पनि मेरो राम्रो सम्बन्ध थियो। म उहाँलाई दाइ भन्थेँ,' उनले भने, 'उहाँले मलाई सुत्ने खाट उपलब्ध गराउनुभएको थियो।'
टोखामै बस्दा बेलायत पढ्न जाने अवसर मिलेको थियो। भोटाहिटी आवतजावत र बेलायत यात्रा धेरै मानेमा उनका लागि अविश्मरणीय रह्यो।
बेलायत यात्रा
सन् १९५४ मा स्वास्थ्य मन्त्रालयले उनलाई कोलोम्बो प्लानअन्तर्गत बेलायत पठाउने निर्णय गर्यो। उनी क्षयरोगसम्बन्धी कोर्स पढ्न बेलायत गए।
सन् १९५५ देखि १९५७ सम्म बेलायतमा छोटो र मझौला गरी दुइटा कोर्स पूरा गरेपछि केही दिन त्यहाँका विभिन्न अस्पतालमा काम गर्ने अवसर पनि पाएको उनी बताउँछन्।
'बेलायतमा अध्ययन गर्ने अवसर पाउनु आफैमा सौभाग्यको कुरा थियो,' उनले भने, 'त्योभन्दा रोमाञ्चक चाहिँ बेलायत जाँदा र फर्किँदाको यात्रा अनुभव रह्यो।'
उनी काठमाडौंबाट लरी चढेर थानकोट, त्यहाँबाट पैदल कुलेखानी, चित्लाङ हुँदै भीमफेदी पुगेका थिए। भीमफेदीबाट बस चढेर अमलेखगन्ज पुगे। अमलेखगन्जबाट भारतको बम्बईसम्मको यात्रा भने रेलमा भयो। उति बेला बम्बईबाट पानीजहाज चढेर बेलायत पुगिन्थ्यो। उनी चढेको जहाजको नाम 'स्टैथमुर' थियो। स्टैथमुर जहाज तीनतले थियो।
'मैले त्यत्रो ठूलो पानीजहाज कहिल्यै देखेको थिइनँ। त्यसअघि गंगा नदीमा चल्ने स्टीमर मात्र देखेको थिएँ। जहाजमा त एउटा पूरै गाउँ अटाउला जस्तो थियो,' उनले भने, 'म त हेरेको हेर्यै भएँ!'
पानीजहाजको आफ्नै संसार हुँदो रहेछ। समयमा खाना पाउने र गाना-बजानासहित मनोरञ्जनको व्यवस्था पनि। यात्राका क्रममा जब समुन्द्र शान्त रहन्थ्यो, जहाजभित्रको वातावरण भने बडो गुल्जार हुन्थ्यो। जब समुन्द्र अशान्त हुन्थ्यो, जहाजभित्र एकाएक त्रासको वातावरण बन्थ्यो। कतिलाई बान्ता हुन थाल्थ्यो। गौरीशंकरलाई पनि त्यस्तै भयो।
उनलाई स्वेज नहरको बाटो हुँदै बेलायतको ब्राइटन बन्दरगाह पुग्न १७ दिन लागेको थियो। सन् १९५५ जनवरी ४ का दिन उनी लन्डन पुग्दा त्यहाँ हिमपात भइरहेको थियो।
उनले सन् १९५७ को प्रारम्भमा कोर्स पूरा गरे। फर्किने बेला उनलाई सोधियो, 'हवाई जहाजमा जाने कि पानी जहाजमा?'
उनले पानी जहाज नै रोजे।
फर्किँदाको बाटो लामो पर्यो। त्यति बेला इजिप्ट र बेलायतबीच लडाइँ भइरहेको थियो, तेल खानीको विषयमा। बेलायतले इजिप्टमाथि बम खसालेको थियो। बदलामा इजिप्टले पानी जहाज जाने स्वेज नहरको बाटो बन्द गरिदिएको थियो। यसले उनी अफ्रिकाको बाटो घुम्दै बम्बई आए। त्यो कुनै बेला वास्को डि गामाले प्रयोग गरेको बाटो थियो।
त्यो यात्रा पूरा गर्न कुल ३२ दिन लागेको थियो। जाँदाभन्दा लगभग दोब्बर!
उनी सन् १९५७ अप्रिल १८ को दिन बम्बई आइपुगेका थिए।
'पानी जहाजको यात्रामा कुनै अविश्मरणीय घटना सम्झिनुहुन्छ?'
जबाफमा उनले भने, 'अफ्रिकाको डरबनमा जहाज रोकिएको थियो। हामी समुन्द्री किनारको एउटा बेन्चमा बसिरहेका थियौं। प्रहरीले आएर हामीलाई उठाइदियो। यो गोराहरूका लागि मात्र छुट्याएको ठाउँ हो, तिमीहरू बस्न पाउँदैनौ भने। हामीलाई सत्याग्रह गर्नु थिएन। नाइँनास्ती नगरी प्रहरीको आदेश मानेका थियौं।'
परिवार नियोजन कार्यक्रम र कान्ति बाल अस्पतालको शुभारम्भ
२००९ देखि २०३३ सालसम्म उनी कुनै न कुनै रूपमा स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत थिए। त्यस क्रममा अनेक तीतामीठा अनुभव भएको उनी सम्झन्छन्।
स्वास्थ्य विभागमा निर्देशक रहँदा सुरू गरेका दुइटा काम भने कालान्तरमा निकै महत्त्वपूर्ण साबित भए।
पहिलो, परिवार नियोजन तथा मातृ शिशु कल्याण कार्यक्रमको प्रारम्भ।
अमेरिकी सहयोग नियोग (युएसएआइडी) परिवार नियोजन कार्यक्रमलाई सहयोग दिन तयार थियो। तर गौरीशंकरभन्दा अगाडिका निर्देशक डा. यज्ञराज जोशीले त्यसलाई आलटाल गरिरहेका थिए। उनको तर्क थियो, नेपालमा परिवार नियोजनको आवश्यकतै छैन।
गौरीशंकरले निर्देशक पदमा काम सुरू गरेपछि सहायक निर्देशक डा. रीता थापाले त्यो परियोजना स्थापनार्थ टिप्पणी उठाइन्। उनले सदर गरिदिए। मन्त्रीमण्डलबाट पनि स्वीकृत भयो र कार्यक्रम तत्काल लागू भयो। त्यति बेला नेपालको प्रजनन दर करिब ६ प्रतिशत थियो, आज २ प्रतिशत हाराहारी छ।
'त्यो कार्य ऐतिहासिक साबित भएकोमा गर्व लाग्छ,' उनले भने।
दोस्रो हो, कान्ति बाल अस्पतालको प्रारम्भ।
तत्कालीन सोभियत संघले एउटा अस्पताल भवन निर्माण गरेर नेपाललाई जिम्मा लगाएको थियो। त्यसको सही सदुपयोग भने भइरहेको थिएन। वीर अस्पतालमा अपरेसन गरेका बिरामीहरूको आरामका लागि पोस्ट-अपरेटिभ वार्डका रूपमा त्यो भवन प्रयोग भइरहेको थियो।
त्यही समय नेपालका पहिलो बाल रोग विशेषज्ञ डा. पुष्पलाल राजभण्डारीले छुट्टै बाल अस्पताल बनाउने प्रस्ताव ल्याए। गौरीशंकरले टिप्पणी उठाउन लगाएर प्रक्रिया अघि बढाइदिए। अन्ततः त्यो कान्ति बाल अस्पतालका नाममा स्वीकृत भयो।
केही मानिसले सहरभन्दा त्यति टाढा बाल अस्पताल राख्नु उचित होइन भन्थे। त्यति बेला शहर भनेको जुद्ध सडक जो थियो!
लोकसेवामा हुँदा झेलेका अनेक दबाब
डा. गौरीशंकर लाल दासले लोकसेवामा लगभग १२ वर्ष बिताए, २०३५ चैतदेखि २०४७ कात्तिकसम्म। त्यहाँ बस्दा अनेकौं उल्झन सामना गर्नुपरेको उनी बताउँछन्।
उनलाई राजा वीरेन्द्रले नियुक्ति गरेका थिए। उनले नियुक्ति पाउँदा कृष्ण बम मल्ल अध्यक्ष थिए। उनलाई एकदमै इमानदार र कुशल प्रशासक मानिन्थ्यो। स्पष्टवादी र आफ्नो अडानमा अडिग रहने व्यक्ति भनिन्थ्यो। दरबारमा पनि उनको राम्रो इज्जत थियो। आफ्नो कर्तव्य निर्वाह गर्दा कसैको दबाब मान्दैनथे। दूधको दूध र पानीको पानी गर्ने उनको स्वभाव थियो। उनकै कारण सबैलाई काम गर्न सहज भएको गौरीशंकर सम्झन्छन्।
'लोकसेवा आयोगप्रति जनताको अटुट विश्वास छ। यदाकदा कुनै सानोतिनो बदमासी सुनिए पनि लोकसेवाले आजसम्म आफ्नो छवि कायम राखेको छ। मैले भने केही अप्ठ्याराहरू झेल्नुपरेको थियो,' उनले भने।
भएछ के भने, एकपटक पञ्चायतका एक शक्तिशाली गृहमन्त्रीले उनलाई फोन गरेर 'फलानो पदमा मेरा एक उम्मेदवारले जाँच दिएका छन्, पास भएन भने राम्रो हुँदैन है' भनेर थर्काएछन्। कतिपय बेला राजपरिवारका सदस्यको पनि फोन आउँथ्यो। दरबारसम्बद्ध कतिपय अन्य मानिसको पनि फोन आउँथ्यो। तर गौरीशंकरले आफ्नो मूल्य-मान्यतामा कहिल्यै सम्झौता गरेनन्।
'अरू सदस्यहरू पनि त्यस्तै थिए। कसैको धम्कीले हामीलाई छोएको थिएन,' उनले भने, 'गोपनीयताको रक्षा गर्नु पनि मेरो धर्म भएकाले यो विषयमा बढी नबोलौं।'
प्रधानमन्त्रीको आग्रह भयो निकै चुनौतीपूर्ण
२०५७ सालको प्रारम्भतिर एकदिन प्रधानमन्त्री कार्यालयबाट फोन आयो। मानवअधिकार आयोगमा जान इच्छुक हुनुहुन्छ भनेर उनलाई सोधियो।
'म त रेडक्रसमा सक्रिय छु, सल्लाह गरेर भन्छु,' उनले जबाफ दिए।
त्यसको एकैछिनमा फेरि अर्को फोन आयो, 'मै गिरिजाप्रसाद बोल रहा हुँ। रेडक्रसमे संलग्न रहनेके कारण मानवअधिकार आयोगमे काम करनेमे कोई बाधा नहीँ है। आप आयोगको रास्ते पर ले आने के बाद यदि छोडना चाहे तो छोड सकते हैं।'
यस्तो सुनेर गौरीशंकरले सहमति जनाए।
मानव अधिकार ऐन २०५३ सालमै पारित भए पनि आयोग गठन हुन सकिरहेको थिएन। २०५७ सालमा मात्र गठन सम्भव भएको थियो। पहिलो कार्यकालमा पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्री अध्यक्ष र गौरीशंकरसहित सुशील प्याकुर्याल, इन्दिरा राणा, कपिल श्रेष्ठ सदस्यमा नियुक्त भएका थिए।
मानवअधिकार आयोगका दिनहरू निकै कठिन, विवादित र चुनौतीपूर्ण रहेको उनी बताउँछन्।
'त्यहाँ कर्मचारी भर्नाको विषयमा सदस्यहरूबीच निकै ठूलो विवाद भयो। विवाद यस्तो जटिल बनेको थियो, युएनडिपीले मुम्बईबाट मध्यस्थता विज्ञ बोलाएर मेलमिलाप गराउनुपरेको थियो। तर त्यो धेरै दिन टिकेन,' उनले भने, 'हामी आयोगमा हुँदाको समय माओवादी द्वन्द्व चरममा थियो। दिनहुँजसो संघर्षरत पक्षहरूबाट मानवअधिकार उल्लंघन भइरहेका हुन्थे। हामीले अनेकौं घटनाको अनुगमन गरेका थियौं। अनेकौं घटनाको रहस्य उद्घाटन सम्भव भएको थियो। अनुगमन गर्दाको यात्रा निकै जोखिमपूर्ण हुन्थ्यो। समय नै त्यस्तै थियो।'
त्यसै क्रममा २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनको बागडोर सम्हालेपछि नेताहरूलाई नजरबन्द गरियो। त्यसबीच गौरीशंकर र सुशील प्याकुर्यालले विभिन्न नेतालाई भेटेका थिए। तर गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र माधव नेपाललाई भेट्न दिइएन।
फागुन ६ गते आयोगका अध्यक्ष नयनबहादुर क्षत्रीको साथ जाँदा बल्ल भेट्न दिइएको उनी बताउँछन्।
सेतो गुराँसको मोहमा पदयात्राको आदी बने
डा. गौरीशंकरले चारपटक मानसरोवर स्नान र तीनपटक कैलाश पर्वत परिक्रमा गरेका छन्। उनी दुईपटक गोसाइँकुण्ड पुगेका छन् भने एकपटक मुगुको रारा ताल र एकपटक खप्तड बाबाको आश्रम गएका छन्। डोल्पाको शे-फोक्सुन्डो, मनाङको तिलिचो र दोलखाको कालिन्चोक भ्रमण गर्न नपाएकोमा उनलाई अहिले पनि दु:ख लाग्छ।
'खासमा एक दशकको टोखा बसाइले मलाई पदयात्री बनाएको हो,' उनले भने।
टोखामा उनी बस्ने स्वास्थ्य निवास ६ हजार फिटको उचाइमा थियो। त्यहाँबाट शिवपुरीको शिखर पुग्न करिब चार घन्टा लाग्थ्यो। उनी प्रायः त्यहाँ गइरहन्थे। टुप्पोमा शिवलिंगको दर्शन गर्न पाइन्थ्यो। सेतो गुराँसको एउटा वृक्ष पनि थियो। त्यो सेतो गुराँसले उनलाई बडो मोहित पारेको थियो।
'हेरिरहुँ जस्तो लाग्ने! म त्यही फूल हेर्न पटक-पटक शिवपुरीको टुप्पोमा पुग्थेँ। एकपटक त म र मेरा मित्र वेद व्यास क्षत्रीले माघ महिनाको पूरै रात आगो तापेर त्यहीँ बिताएका थियौं। यसरी सेतो गुराँसको मोहमा थाहै नपाई म पदयात्राको आदी बन्न पुगेँ,' उनले भने।
उनले सन् १९९१, १९९५, १९९६ र १९९८ गरी चारपटक मानसरोवर यात्रा गरेको पनि बताए। पहिलो र तेस्रोपटकको दुईतर्फी यात्रा सिमकोट हुँदै भएको थियो भने दोस्रोपटक सिमकोट हुँदै गएर टिंकरलेक दार्चुलाको बाटो फर्केका थिए। चौथोपटक कोदारी मार्ग, खासा (तिब्बत) हुँदै ल्यान्डक्रुजर र ट्रक चढेर मानसरोवर पुगेका थिए। त्यति बेला याक एन्ड यति होटलका मालिक राधेश्याम सर्राफको पारिवारिक भ्रमण टोलीमा उनी डाक्टरका रूपमा सहभागी थिए।
यात्रामा अधिराजकुमारीको रिसाउनी
२०३३ सालमा तत्कालीन अधिराजकुमारी शारदा शाह र उनका पति खड्गविक्रम शाहसँग उनी एकमहिने लामो पदयात्रामा गएका थिए। दाङ, सल्यान, मुसीकोट, जाजरकोट, दैलेख, बझाङ, बाजुरा र धनगढीसम्म पुगेर फर्किने योजना थियो।
टोलीमा अधिराजकुमारी र उनको पतिबाहेक भान्से, रेडक्रसका गणेशशमशेर राणा र तीर्थराज वन्त, प्रहरी उपरीक्षक पदमप्रसाद ढुगांना र डा. गौरीशंकर थिए। यात्राका लागि किङ्स कैबलरी घोडा मगाइएको थियो।
उनीहरूले दाङको तुलसीपुरबाट यात्रा सुरू गरे। सल्यान पुगे र त्यहाँबाट मुसीकोट गए। मुसीकोटबाट जाजरकोटतर्फ ओरालो झर्दै गर्दा एक ठाउँमा घोडाबाट लडेको उनी बताउँछन्।
'जाडोको मौसम थियो। बास बस्ने ठाउँमा हरेक साँझ क्याम्प फायर गरिन्थ्यो। देश दुनियाँका अनेक विषयमा चर्चा हुन्थे। त्यस दिन पनि सबै जना आगो ताप्दै थिए। मैले भिजेको आफ्नो मोजा त्यही आगोमा सुकाउन थालेँ। त्यसलगत्तै राजपरिवारका दुवै सदस्य एकाएक त्यहाँबाट निस्किनुभयो। किन जानुभयो होला भन्ने मैले भेउ नै पाइनँ,' उनले भने।
पछि पदमप्रसाद ढुगांनाले भने, 'यसरी मोजा सेक्नु राजपरिवारको शिष्टाचारविपरीत मानिन्छ। त्यसैले उहाँहरू जानुभएको हो।'
'म तराईको मान्छे, त्यस्तो कुरा थाहा थिएन,' गौरीशंकरले मसँग भने, 'राजपरिवारको शिष्टाचार थाहा नभएर गल्ती हुन गयो भन्दै क्षमायाचना पनि गरेँ। तर पूरै यात्राभरि अधिराजकुमारी मसँग बोल्नुभएन।'
यसरी चार राजा, तीन राष्ट्रपति र ३५ जना प्रधानमन्त्रीको कार्यकाल देखेका डा. गौरीशंकर लाल दास अहिले १०१ वर्षमा हिँडदै छन्। जीवनका झन्डै २५ वर्ष स्वास्थ्य मन्त्रालयअन्तर्गत डाक्टर र प्रशासकका रूपमा काम गरेका दास लोकसेवा आयोगको सदस्यका रूपमा १२ वर्ष र मानवअधिकार आयोगको सदस्यका रूपमा ५ वर्ष सक्रिय रहे।
दर्जनौं परोपकारी तथा सामाजिक संघ-संस्थामा लामो समयदेखि क्रियाशील उनलाई सयौं जन्मदिनको अवसर पारेर काठमाडौं महानगरपालिकाले दिव्य शताब्दी पुरूष घोषणा गरेको छ। चाबहिल मित्रपार्कको उनकै घर अगाडिको बाटोलाई पनि उनकै नाममा नामकरण गरिएको छ।
अपवाद र अद्भभूतजस्तो लाग्ने यस कार्यमा चाबहिलका स्थानीय नागरिक, अगुवा तथा जनप्रतिनिधिहरूको प्रयास वन्दनीय छ।
***