आजभन्दा ९१ वर्षअघि विक्रम सम्बत् १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा नेपालमा महाभूकम्प गयो।
त्यो महाभूकम्पको वर्णन ब्रह्मशमशेरको किताबमा छ। उनले भूकम्पको वेग पूर्वबाट पश्चिम सरेको, जमिन चक्कर खाँदै बटारिन थालेको र त्यसैको प्रभावले घरहरू ढलेको उल्लेख गरेका छन्। भूकम्पको वेगले बत्तीको चिम सकेटबाट बाहिर उछिट्टिएको पनि लेखेका छन्।
ब्रह्मशमशेरको यस्तो वर्णनबाट भूकम्पको तरंग र प्रवेग अनुमान लगाउन सकिन्छ।
उक्त भूकम्पले भारतको बिहारमा ७ हजार १ सय ८८ र नेपालमा ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो। यसलाई कतिपय दस्तावेजमा 'बिहार-नेपाल भूकम्प' भनिएको छ, जसले भूकम्पको केन्द्रविन्दु भारतको बिहार थियो कि भन्ने भ्रम हुनसक्छ। तर विभिन्न अनुसन्धानबाट उक्त भूकम्पको केन्द्रविन्दु नेपालको पूर्वी जिल्ला संखुवासभाको चैनपुर आसपास रहेको पुष्टि भइसकेको छ।
यो लेखमा म हिमालयको उत्पत्ति प्रक्रियादेखि ९० सालको भूकम्पको केन्द्रविन्दुबारे चर्चा गर्दैछु।
पूर्वको बर्मादेखि पश्चिम अफगानिस्तानसम्म करिब २५ सय किलोमिटर लामो हिमालय शृंखला करिब ५ करोड वर्षअघि दक्षिणमा रहेको इन्डियन प्लेट र उत्तरको युरेसियन प्लेटको टकरावबाट उत्पन्न भएको हो।
त्योभन्दा अगाडि यी दुई प्लेटको बीचमा टेथिस सागर थियो, जहाँ दुवैतर्फका चट्टानमा हुने क्षयीकरणबाट सेडिमेन्ट जम्मा हुन्थे। अहिले पनि हिमालय शृंखलामा पाइने पत्रेदार चट्टान त्यही टेथिस सागरमा जम्मा भएका सेडिमेन्टबाट बनेका हुन्।
यसरी दुई प्लेटको बीचमा रहेको टेथिस सागरका सेडिमेन्ट पाउरोटीको बीचमा रहेको जामजस्तै निचोरिएर हिमालय शृंखलाका रूपमा उचालिए। हिमालय बन्नुअघि इन्डियन प्लेट प्रतिवर्ष करिब १० सेन्टिमिटरका दरले उत्तर हिँडिरहेको थियो। हिँड्दै जाँदा जब युरेसियन प्लेटसँग ठोक्किने अवस्थामा पुग्यो, तब बीचको टेथिस सागर हराएर दुई भूखण्डबीच सिधा टकराव सुरू भयो।
त्यसपछि भने इन्डियन प्लेटको गति करिब ५ सेन्टिमिटर प्रतिवर्षमा सीमित हुन पुग्यो। अहिले यो प्रतिवर्ष करिब ५ सेन्टिमिटरका दरले उत्तर गइरहेको छ भने त्यसको करिब ४० प्रतिशत अर्थात् २ सेन्टिमिटर प्रतिवर्षको गति हाम्रा हिमालयका भौगर्भिक दरारहरूले थेगिरहेका छन्।
पृथ्वीको गर्भमा रहेका त्यस्ता भौगर्भिक दरारमा दायाँबायाँ वा तलमाथि रहेका दुई खण्ड अकस्मात् विस्थापन हुँदा भूकम्प उत्पन्न हुन्छ। यस्तो विस्थापन प्रक्रियाको उद्गम भौगर्भिक दरारको कुनै एक विन्दुबाट हुन्छ। त्यसपछि सतहको निश्चित क्षेत्रफलसम्म फैलिँदै जान्छ। यस्तो उद्गम विन्दुलाई भूकम्पको 'हाइपोसेन्टर' भनिन्छ भने त्यसको सिधा माथि पृथ्वीको सतहमा रहेको विन्दुलाई 'इपिसेन्टर' भनिन्छ।
साधारणतया इपिसेन्टर आसपासको सतहमा भूकम्पको क्षति बढी हुन्छ। आधुनिक समय भूकम्प मापन स्टेसनहरू विश्वभरि छरिएर रहेकाले भूकम्पको केन्द्रविन्दु र तरंग सूक्ष्मतापूर्वक मापन गर्न सकिन्छ। तर सन् १९६० अघिसम्म संसारमा यस्ता स्टेसनको संख्या कम थियो। केन्द्रविन्दु निर्धारण गर्न गाह्रो पर्थ्यो। त्यसैले ऐतिहासिक भूकम्पहरूको केन्द्रविन्दु भूकम्पबाट भएको क्षति र भौगर्भिक असरका आधारमा निर्धारण गर्ने चलन थियो।
पछिल्लो सय वर्षभित्र हिमालय क्षेत्रमा चार विनाशकारी महाभूकम्प गएका छन् — सन् १८९७ को आसाम भूकम्प, १९०५ को काँगडा, १९३४ को बिहार-नेपाल र १९५० को आसाम भूकम्प। यीमध्ये सन् १९३४ अर्थात् ९० सालको भूकम्प ८.४ म्याग्निच्युडको थियो।
अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रबाट निर्धारित उक्त महाभूकम्पको केन्द्रविन्दु अक्षांश २६.५ उत्तर र देशान्तर ८६.५ पूर्व हिमालयदेखि दक्षिणको बिहार क्षेत्रमा उल्लेख भएको पाइन्छ। त्यसबाहेक भूकम्पले पारेको असर र क्षति हेरेर वैज्ञानिकहरूले तयार पारेको नक्साबाट पनि केन्द्रविन्दु यकिन गर्न सकिन्छ। हामीले यी दुई तरिकाबाट विश्लेषण गरी सम्भाव्य केन्द्रविन्दु कुन हो भनेर निर्धारण गर्नुपर्छ।
त्योभन्दा अगाडि उक्त महाभूकम्पको क्षति नक्सांकनबारे विश्लेषण गरौं।
९० सालको महाभूकम्पपछि जेबी अडेन, एएमएन घोष र डिएन वाडिया जस्ता प्रख्यात् भूगर्भविदले काठमाडौं तथा पूर्वी नेपालका केही खण्ड भ्रमण गरेका थिए। हिन्दुस्तानमा गरिएको भूकम्प असरसम्बन्धी अध्ययनका तुलनामा नेपाली भूभागमा गरिएको अध्ययन धेरै मात्रामा अपूर्ण थियो। फलस्वरूप भूगर्भविदहरूबाट प्रस्तुत प्रतिवेदनमा नेपालको सिमानादेखि दक्षिण भारतको समथर भूभागमा भएको क्षतिलाई बढी जोड दिइएको पाइन्छ। त्यही भएर उक्त महाभूकम्पको केन्द्रविन्दु पनि हिमालयदेखि दक्षिण समथर भूभागमुनि रहेको धारणाले समर्थन पायो।
पछि रिक्टर (१९५८), सिबर र आर्मबस्टर (१९८१), सिंह र गुप्ता (१९८०) ले यही धारणा अघि बढाए। सिबर र आर्मबस्टरले गंगा नदीको तटीय भूमिमुनि सानो कोणमा उत्तरतिर ढल्किरहेका दरार विस्थापन हुने प्रक्रियाले उक्त महाभूकम्प गएको अवधारणा राखे।
त्यसैबीच नेपालमा भूकम्पको क्षति र भौगर्भिक असरबारे मेजर जनरल ब्रह्मशमशेर जबराको नेतृत्वमा विस्तृत आँकडा संकलन भइरहेको थियो। ब्रह्मशमशेरले सन् १९३५ मा लेखेको किताब 'नेपालको महाभूकम्प' मा त्यसको विस्तारपूर्वक बयान गरिएको छ।
किताबको सुरूमै ब्रह्मशमशेरले भूकम्पको असर हिन्दुस्तानमा भन्दा नेपालमा बढी परेको उल्लेख गरेका छन्। हिन्दुस्तानपट्टि बिहारको उत्तर र बीच भागसम्म नोक्सान गरेको थियो। मृत्युको संख्या पनि भारतभन्दा नेपालमा १ हजार ३ सय ३१ जना बढी देखियो।
यसरी ब्रह्मशमशेरले विस्तृत अध्ययन गरी तयार पारेको किताबबारे जियोलोजिकल सर्भे अफ इन्डियाका विज्ञहरू अनभिज्ञ थिए।
भारतजस्तो उच्च जनघनत्व भएको क्षेत्रको क्षति र पूर्वी नेपालको असाध्यै कम जनघनत्व भएको स्थानको क्षति तुलना गर्दा पनि भूकम्पको केन्द्रविन्दु नेपालमै हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ। पूर्वी नेपालको पहाडी क्षेत्रमा देखिएको अत्यधिक विनाशले उक्त महाभूकम्पको विस्थापन क्षेत्र तथा केन्द्रविन्दु पूर्वी नेपालमा हुनसक्ने धारणालाई समर्थन गर्छ। सन् १९७७ मा दुई भूगर्भविद छेन र मोल्नरले पनि भूकम्प तरंगका आधारमा उक्त महाभूकम्पको केन्द्रविन्दु हिमालयमुनि नै रहेको देखाएका थिए।
जेए डुन र उनका सहयोगीले भने कटिहारदेखि बेतियासम्म र भोगेरदेखि पटनासम्म अत्यधिक क्षति भएकाले केन्द्रविन्दु त्यहीँ हुनसक्ने अनुमान गरेको देखिन्छ। ती क्षेत्रमा जमिन धस्सिने, जमिन तरलीकरण हुने, घरहरू ढल्किने, जमिनमा धाँजा फाट्ने लगायतका असरले बढी क्षति भएको हो। यसलाई केन्द्रविन्दुका कारण भन्दा सतही कम्पनबाट र कम गहिराइबाट उत्पन्न भएको भूकम्पको असर मान्न सकिन्छ।
भूकम्पको असरलाई दुई प्रकृतिबाट हेर्न सकिन्छ — प्राइमरी र सेकेन्डरी।
भू-विस्थापन प्रक्रियाले केन्द्रविन्दुबाट निस्कने कम्पनलाई प्राइमरी असर भनिन्छ भने भूकम्पको तरंगले पृथ्वीको सतह नजिक कम गहिराइमा देखाउने असर (जमिन धस्सिने, जमिन तरलीकरण हुने, घरहरू ढल्किने, जमिनमा धाँजा फाट्ने, पहिरो जाने) लाई सेकेन्डरीका रूपमा लिन सकिन्छ।
उत्तरी भारतको बिहार क्षेत्रमा भएका असर कमजोर जमिनका कारण सिर्जित थिए। तैपनि जियोलोजिकल सर्भे अफ इन्डियाको फिल्ड प्रतिवेदनमा नेपालको असर नजरअन्दाज गरी हिन्दुस्तानतर्फको सर्वेक्षणका आधारमा मात्र ९० सालको भूकम्पलाई 'बिहार-नेपाल भूकम्प' नामाकरण गरियो।
पछि उपल्ब्ध केही सिस्मोग्राफिक तरंगको तथ्यांक प्रशोधन गर्दा सन् १९७७ मा छेन र मोल्नरले उक्त भूकम्पको विस्थापन क्षेत्र तथा केन्द्रविन्दु नेपालको पहाडी जिल्ला भोजपुर-सरूवा सीमा क्षेत्रमा भएको निष्कर्ष निकाले। छेन र मोल्नरबाट पुनः निर्धारित केन्द्रविन्दु पूर्व ४ नम्बर (भोजपुर) जिल्लामा पर्छ। यो हिमालयको हालको भूकम्प उत्पत्ति हुने प्रक्रियासँग पनि मेल खान्छ।
हालैका दिनमा खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रबाट गरिएको अध्ययन-अनुसन्धानबाट पनि ९० सालको भूकम्प पूर्वी नेपालको संखुवासभाको चैनपुर आसपासबाट उत्पत्ति भई त्यसको विस्थापन चुरेको फेदमा देखिएको पुष्टि भएको छ।
उक्त भूकम्पले चुरिया शृंखलाको करिब डेढ करोड वर्षअगाडिका चट्टान हालैका खोलाले थुपारेको थेग्रोमाथि धस्सिन गई नयाँ टार बन्न गएको देखिन्छ। यसको उचाइ अहिलेको खोलाको सतहभन्दा ३ देखि ५ मिटरसम्म उठेको छ। यस्तो प्रक्रिया पूर्वी नेपालको महोत्तरी जिल्लामा पर्ने मारा खोलादेखि धरानसम्मको क्षेत्रमा सजिलै नक्सांकन गर्न सकिन्छ।
सारांशमा, दक्षिणी मैदानको क्षति जमिनको सतह भासिनाले, ढल्कनाले र चिरा पर्नाले भएको हुँदा बिहारको मोघेर सतहबाहेक अन्य स्थानमा कम्पनको गति धेरै ठूलो देखिँदैन। मोघेरमा देखिएको उच्च गति केन्द्रविन्दुको सामीप्य कारण नभई स्थानीय भौगर्भिक कारणले भएको हो।
ऐतिहासिक तथा प्राग् ऐतिहासिक भूकम्पको अध्ययनबाट समेत ९० सालको भूकम्पको विस्थापन क्षेत्र नेपालको पूर्वी जिल्ला भोजपुरको करिब २० देखि २५ किलोमिटर गहिराइबाट उत्पन्न भई चुरेको फेदसम्म फैलिएको पुष्टि हुन्छ।
त्यसैले भूकम्प सुरक्षा दिवसजस्ता कार्यक्रम काठमाडौंमा मात्र सीमित हुनुहुन्न। पूर्वी नेपालका जिल्लाहरूमा समेत माघ २ को सम्झनामा राष्ट्रिय कार्यक्रम हुनुपर्ने देखिन्छ।
(लेखक खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक हुन्।)
सन्दर्भ सामग्री:
1. The distribution of intensity of the Bihar–Nepal earthquake of 15 January 1934 and funds on the extent of the rupture zone. – M.R. Pandey and Peter Molanar, Journal of Nepal geological society Vol 5, No. 1, 19988 22–44
2. Primary surface ruptures of the great Himalayan earthquakes in 1934 and 1255, Sapkota et. al. (2012), Nature Geoscience vol. 6, No. 1. 71-76
3. Rana BS (1935) Nepal Ko Maha Bhukampa (The great earthquake of Nepal). Jorganesh Press, Kathmandu, pp 1–250 (in nepali)