नेपाल छाडेर जान खास गरी युवाहरूबीच चलिरहेको होडबाजी अब कसैबाट लुकेको छैन।
मलाई यसबारे केही बोल्न र लेख्न मन लागेको लामो समय भइसकेको थियो। त्यसैले 'नेपाल किन बस्ने?' शीर्षकको भिडिओ तयार पार्दै थिएँ।
यसैबीच यही विषयलाई लिएर सेतोपाटीमा सञ्जीव पोखरेलको 'नेपालमा पनि कोही बस्छ र?' शीर्षकको लेख प्रकाशन भयो। त्यो लेख अनि केही समय अगाडि सेतोपाटीमै प्रकाशित तर पढ्न नभ्याएको सञ्जय शर्माको 'कोही किन विदेश नजाओस्' शीर्षकको लेख मैले एकपछि अर्को गरी पढेँ।
ती दुवै लेखको एउटा हरफसित पनि मेरो विमति छैन।
तर त्यसो भन्दै गर्दा यो बहसबाट छुटेको यस विषयको एउटा फरक आयामले भने मलाई पछिल्ला वर्षहरूमा निरन्तर पिछा गरिरहेको छ।
नेपाली समाजलाई राजनैतिक र आर्थिक क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्ति, दल र अरू संस्थाहरूका बग्रेल्ती खोटहरू सञ्जयजी र सञ्जीवजीले राम्रोसँग खोतल्नुभएको छ। हाम्रो राजनीति भ्रष्टाचार र अपराधले ग्रस्त छ। हाम्रो अर्थतन्त्र समाज र देशको नभई सीमित दलका सीमित नेताहरूको स्वार्थअनुसार चलिरहेको छ।
तर म भने सधैं यो प्रश्न सोधिरहेको छु — नेपाली समाजको आजको दुर्गतिको कुनै अझै आधारभूत कारण पो छ कि त?
अर्को शब्दमा, नाजुक राजनीति र शुष्क अर्थतन्त्रले मात्र नभई समग्र समाजले अँगालेको खोटो दर्शनशास्त्रले पो नेपालको दुर्दशा बनाएर युवाहरूलाई अस्वाभाविक उच्च संख्यामा लखेटिरहेको छ कि त?
मलाई यो प्रश्नले लखेट्नुको मुख्य कारण युवा पुस्ताको एउटा हिस्सासितको मेरो अनुभव हो। मेरो 'नुन-तेल' किताब प्रकाशन भएयता मैले झन्डै तीन दर्जन शैक्षिक संस्थाहरूका विद्यार्थीहरूसित संवाद गर्ने अवसर पाएको छु।
तीमध्ये धेरै कक्षाकोठामा मैले विद्यार्थीहरूका अनुहारमा पढेको मुख्य भाव यो हो — मलाई त १२ कक्षा सकेर विदेश जानु छ, यी कुरा किन चाहियो? म किताबका सबै कुरा किन पढौं? अतिरिक्त साहित्यका किताब त झन् हातै किन लगाऔं? नेपाली समाजको चिन्ता किन गरौं? नेपालका हिमनदीहरूको हिउँ पग्लियोस् र नदी सुकोस्, वा खडेरी परोस्, वा बाढी आओस्, मलाई केको चिन्ता? खै कताको देशका खै कुन्नि कुन गतिविधिबाट सिर्जित भनिने जलवायु संकटबारे त म झन् किन बुझौं?
स्वाभावतः विद्यार्थीहरूले यी शब्द प्रयोग गरेनन्।
तर मअघि उभिएर आफूलाई लागेअनुसार उनीहरूको पुस्तालाई चुम्बकले झैं तान्नुपर्ने कुनै किस्सा सुनाइरहेको हुन्थेँ, अगाडि स्क्रिनमा जस्तोसुकै मानिसलाई संवेदित बनाउने तस्बिर हुन्थ्यो। तात्दो पृथ्वी, रित्तिँदो जलाधार र बढ्दो समुद्री सतहबारे वैज्ञानिकले शताब्दीयौंको तथ्यांक बटुलेर तयार गरेका ग्राफहरू हुन्थे।
मेरो विचारमा मैले चर्चा गरिरहेका मुद्दाहरू उनीहरूको पुस्ताका लागि जीवन-मरणका मुद्दा हुन्।
तर उनीहरू भने पाँच वा दस सेकेन्डसम्म ध्यान दिएर मतिर वा स्क्रिनतिर हेर्न सक्दैनथे। अगाडि बसेका आफ्ना शिक्षकलाई नै लज्जित बनाउने गरी उनीहरू होहल्ला गरिरहेका हुन्थे। बुझ्नु-नबुझ्नु, अतिथिवक्ताले राखेका कुराहरूमा सहमत वा असहमत हुनु बेग्लै कुरा, तर उनीहरू त २० सेकेन्ड ठहरेर कुनै नयाँ कुरा सुन्नै तयार थिएनन्। सुनेको नाटक गर्न वा हल्ला नगरी बेन्चमा सुत्न समेत तयार थिएनन्।
एउटा स्कुलमा मैले उनीहरूलाई सोधेँ — बिल म्याक्किबेनलाई चिन्छौ? थ्रीफिफ्टी डट ओआरजी नामक संस्थाका संस्थापक तथा वातावरण र जलवायुका मुद्दामा दर्जनभन्दा बढी किताब लेख्ने म्याक्किबेन संसारकै अग्रणी वातावरणीय अभियन्ता हुन्। उनको संस्थाले संसारका १८१ देशमा जलवायुका मुद्दालाई लिएर प्रदर्शनहरू गरेको छ भने १८८ वटा देशमा विभिन्न कार्यक्रम गरेको छ। युट्युबमा उनका यस्तै मुद्दाहरूमा केन्द्रित गनेर नसकिने भिडिओ फेला पर्छन्।
उनलाई चिन्छु भनेर एउटा पनि हात उठेन।
अनि मैले सोधेँ — एन्ड्रयु टेटलाई चिन्छौ?
कक्षाका लगभग सबै हात उठे।
तीस सेकेन्डको त्यो प्रश्नोत्तरमा मैले नयाँ पुस्ताको मनोभावबारे जे सिकेँ, त्यो अरू घण्टौंको समयमा पनि सिक्न सम्भव थिएन।
यो वार्तालापको दर्शनशास्त्रीय चिरफार गर्नु अगाडि म के प्रस्ट पारौं भने, जुन विद्यार्थीहरूसम्म म पुस्तक भ्रमणमा पुगेँ, उनीहरू समाजको खास तप्काबाट आउँछन्। सुदूरपश्चिम र कर्णालीबाट कालापहाड वा मुम्बई जाने अनि बागलुङ वा महोत्तरीबाट मलेसिया वा कतार जाने युवाहरू त्यसमा पर्दैनन्। यस्ता युवाहरू राज्यको नालायकीको भरपाइ गर्न चरम् श्रम शोषण र अपमान समेत सहेर परिवार र देशको अर्थतन्त्रलाई भरथेग गर्न निश्चित अवधिका लागि देश छाडेर जाने हुन्, उतै बस्ने उद्देश्यले जाने होइनन्।
त्यसैले केही स्कुलका कक्षामा मैले भेटेका केटाकेटीहरूले विभिन्न प्रयोजनले देश छाड्ने सबै तप्काका मानिसहरूको प्रतिनिधित्व गर्दैनन्। तर अहिले देशका क्याम्पसहरू बन्दै हुने गरी उच्च शिक्षाका लागि बाहिरिने लहरमा सामेल विद्यार्थीहरूको ठूलो हिस्साको प्रतिनिधित्व भने गर्छन्। उनीहरूलाई बहाना बनाएर मैले हामीकहाँ प्रवासनका मुद्दासित जोडिएका तर चर्चामा नआएका केही आधारभूत विषयहरूको चर्चा गर्न खोजेको हुँ।
जस्तो कि, स्वदेशमा रहून् या विदेशमा, हाम्रा केटाकेटी जीवनमा के हासिल गर्न चाहन्छन्? उनीहरूले जीवनको सार्थकता केमा खोज्छन्? स्वदेशी होस् या विदेशी, समाजसित उनीहरूले अधिकार मात्रै खोज्छन् कि आफ्नो कर्तव्य पनि देख्छन्? उनीहरूका सपना जसोतसो जीविका धान्ने वा सकेसम्म धन थुपार्नेमा सीमित छ कि त्यसभन्दा फराकिलो छ?
अर्को शब्दमा, कस्तो मूल्य प्रणालीसहित हुर्किरहेको छ त आजको नयाँ पुस्ता?
मेरो विचारमा कोही स्वदेश बस्छ वा विदेश भन्नेभन्दा धेरै महत्त्वपूर्ण र आधारभूत प्रश्नहरू हुन् यी। यिनको जबाफ खोज्न हामीले अहिलेसम्म गम्भीर प्रयास नै गरेका छैनौं।
यो विषयलाई अझ गहिरो बनाउन अब मैले २०८० वैशाखमा प्रकाशित मेरो किताब 'नुन–तेल' को एउटा प्रसंग उद्धृत गर्छु।
पाल्पा जिल्लामा मैले बाटो हराएको बेला फेला परेकी र छेउकै गाउँमा बसेर मस्येमको डाँडो कता छ भनेर बताउन नसक्ने किशोरीको प्रसंगमा मैले लेखेको छु —
'...अलिबेर अनुमानका भरमा हिँडेपछि एउटा टहरोमा एक जना किशोरी भेट्टिइन्। मस्येम जाने बाटो सोध्दा ती यसरी ट्वाँ परिन्, मानौं तिनले त्यो छिमेकी गाउँको नामै पहिलो पल्ट सुनेकी होऊन्। अहिले सम्झिँदा लाग्छ, ती किशोरीको साँघुरो भौगोलिक ज्ञान हाम्रो समग्र समाज र शिक्षा प्रणालीको असफलताको एउटा मानक हो।
अमेरिकी वैज्ञानिक निल डिग्रेस टाइसनले एउटा प्रसंगमा भनेका छन् — उनी स्कुल छँदा विख्यात वैज्ञानिक पत्रिका साइन्टिफिक अमेरिकनका हरेक अंक अद्योपान्त पढ्थे। जब उनको विश्वविद्यालय जाने बेला भयो, भौतिकशास्त्रमा उनको रूचि र खुबीबाट प्रभावित भएर त्यो बेलाका विख्यात सेलेब्रिटी वैज्ञानिक कार्ल सेगनले उनलाई आफू कार्यरत कर्नेल विश्वविद्यालयमा भर्ना हुन निम्ता दिए। तर टाइसन कर्नेल नभइ हार्वर्ड विश्वविद्यालय रोजेर उतै भर्ना भए।
कारणबारे उनले भनेका छन्, स्कुल छँदा साइन्टिफिक अमेरिकन पत्रिकाका हरेक अंकमा योगदान गर्ने सबै वैज्ञानिकले उच्च शिक्षा लिएका र कार्यरत रहेका ठाउँहरूबारे उनले एउटा ग्रिड बनाएका थिए। त्यसले देखाउँथ्यो कि सबभन्दा बढी उम्दा वैज्ञानिकहरू हार्वर्डमा भेटिन्छन्।
अर्थात्, एउटा स्कुले केटो रहँदै टाइसनले भविष्यका लागि विश्वविद्यालयको छनोट सुरू गरेका थिए। अनि, आफूले जानेको एउटा विधि लगाएर अमेरिका (र, विश्व) कै उम्दा विश्वविद्यालयहरूको पनि योग्यताक्रम बनाएका थिए।
...नेपालका गाउँको अभाव र गरिबीबाट आएको हाम्रो पुस्तासित स्वाभाविक रूपमा उच्च शिक्षासम्बन्धी त्यस्ता छनोटहरू थिएनन्। तर, दुई छाक टार्ने चिन्ताभन्दा माथि उठेका परिवारमा हुर्किरहेका, इन्टरनेटका कारण अनगिन्ती सूचना र सामग्रीहरूमा पहुँच पुग्ने आजका केटाकेटीको अवस्था के हाम्रोभन्दा भिन्न छ?
छिमेकको गाउँबारे बेखबर ती किशोरीले देखेको सानो संसार भौतिक थियो र हामीलाई बुझ्न सजिलो भयो। तर हाम्रा केटाकेटीहरूले देख्ने अस्ट्रेलिया र जापानमा पुगेर जस्तोतस्तो रोजगार बन्दै 'पैसा कमाउने' सपना पनि मनोवैज्ञानिक रूपमा उत्तिकै साँघुरा छैनन् र? के हाम्रा केटाकेटीले कला, साहित्य, विज्ञान वा वातावरण रक्षाजस्ता क्षेत्रमा संसारलाई नै योगदान दिने सपना देखेर हुर्किरहेका छन्? के हाम्रो समाज र शिक्षा प्रणालीले उनीहरूलाई त्यस्ता सपनासम्म देख्न सिकाएको त छ? के हाम्रो समाजका खर्चको चिन्तै गर्नु नपर्ने उच्च वर्गका केटाकेटीले समेत अल्बर्ट आइन्स्टाइन, कार्ल सेगन, स्टेफन हकिङ र निल डिग्रेस टाइसनजस्तै वैज्ञानिक बन्छु भन्ने सपना देख्दै त्यसका लागि विश्वका उत्कृष्ट शिक्षण संस्थाहरूमा पुगेको सपना देख्छन्? त्यस्ता केटाकेटी छन् भने पनि कति छन्?'
यसरी हेर्दा यो विषयमा हुनुपर्ने बहस 'विदेश बसेर देशलाई धारेहात लगाउने किन' भन्ने एकतिर र 'नेताले बिगारेको देशबाट नभागेर के गर्नु' भन्ने अर्कोतिरको तर्क-वितर्कभन्दा धेरै गहिरो छ।
माथि मैले प्लस-टु तहका केटाकेटीसितको अनुभव किन जोडेको भने, नयाँ पुस्ताका लागि विदेश जानु भनेको कुनै साधनभन्दा पनि साध्य भइसकेको छ। मेरा लागि त्यो धेरै कारणले डरलाग्दो कुरा हो।
एक, विदेश जानुमा सबै समस्याको समाधान देख्ने र स्वदेश रहुन्जेल केहीमा खटिएर नलाग्ने प्रवृत्तिले उनीहरूमा कामप्रति आवश्यक लगाव र इमान (वर्क एथिक्स) विकसित हुन दिँदैन। विदेश गएपछि पनि उनीहरूले सम्भावना अनुसारको प्रगति नगर्ने जोखिम रहन्छ। जापानजस्ता देशमा पुगेपछि काम गर्न जाँगर नपुगेर महिनौं वा वर्षौं नेपालबाट पैसा पठाएर पाल्नु परेका युवाहरूका उदाहरणसमेत अब भेटिन थालेका छन्।
दुई, अहिले जसरी नेपाल बर्बाद छ, यहाँबाट फुत्केर जहाँ गएपछि राम्रो भइहाल्छ भन्ने मान्यता विकास हुँदै गएको छ। यसकारण मानिस पचासौं लाख डुबाएर, अवैध बाटोबाट ज्यान हत्केलामा राखेर भए पनि अमेरिकाजस्ता देशहरूतिर हानिँदै छन्, रूस-युक्रेन युद्धको आगोमा होमिँदै छन्। धेरैले नारकीय यातना पाएका, अंगभंग भएका र ज्यान गुमाएका छन्। कति त्यति डुबाएर त्यत्रो दुःखले उता पुगेपछि फेरि निकाला भएर नेपालमा फर्केका पनि छन्।
मलाई लाग्ने त्योभन्दा ठूलो चिन्ता चाहिँ यो हो — अमेरिकादेखि जर्मनी र फ्रान्ससम्म, क्यानडादेखि अस्ट्रेलिया र रोमानियासम्म, आप्रवासन विरोधी राजनीतिक शक्तिहरू निरन्तर सत्तामा पुगिसकेका वा पुग्दै छन्। तीमध्ये धेरै उग्र दक्षिणपन्थी राजनीतिक पार्टीहरूले फासीवादी र नश्लीय शुद्धतामा आधारित नाजीवादी विचारसम्म बोक्छन्। जर्मनीजस्ता देशमा ती दलहरूका अवैध आप्रवासी मात्र नभई आफ्नै देशका फरक नश्लका नागरिकलाई समेत निकाला गर्ने योजनाहरू सार्वजनिक भइसकेका छन्।
त्यसैले आजको दस वर्षपछि विश्वभर मानिसको प्रवाह आजका दिनमा जत्तिको सहज र स्वाभाविक हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। केही देश र समाजहरूमा फरक मूल वा नश्लका मानिसहरूमाथि संस्थागत विभेद, हिंसा र लखेट्ने संगठित अभियान सुरू भयो भने पनि त्यसलाई अनौठो नमाने हुनेछ।
बीस वा तीस वर्षको अवधिमा त म भविष्य झनै भयावह देख्छु। वैज्ञानिकहरूले केही वर्ष अगाडि गरेको प्रक्षेपण अनुसार अहिलेकै रफ्तारमा कार्बन उत्सर्जन हुने र पृथ्वी तात्दै जाने हो भने सन् २०७० सम्ममा संसारभरका साढे तीन अर्ब मानिस बस्ने भूभागको वार्षिक औसत तापक्रम २९ डिग्री सेल्सियस वा हाल सहारा मरूभूमिको मध्यभाग जस्तै तातो हुनेछ। तीमध्ये चानचुन एक अर्ब मानिस हाम्रा छिमेकीहरू भारत, बंगलादेश र पाकिस्तानबाट विस्थापित हुनेछन्।
अहिलेकै गतिमा कार्बन उत्सर्जन र प्रदूषण हुने हो भने सन् २०७० सम्ममा आउने परिवर्तन। अहिले यो तस्बिरमा गाढा कालो पोतिएको सहारा मरूभूमिको सानो ठाउँमा मात्र वार्षिक औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी हुन्छ। तर सन् २०७० मा खैरो किरमिर गरिएको सबै क्षेत्रमा, जहाँ झन्डै सिंगो भारतसमेत पर्छ, औसत तापक्रम त्यसभन्दा बढी हुनेछ अर्थात् सहारा मरूभूमिको सबभन्दा तातो ठाउँको जस्तै जलवायु हुनेछ। अहिलेकै हिसाबले सन् २०७० मा त्यो भूभागमा साढे तीन अर्ब मानिस बसेका हुनेछन्। स्रोतः २०२० मा विख्यात जर्नल Proceedings of the National Academy of Sciences मा प्रकाशित आलेखः Future of the human climate niche.
सन् २०४५ र २०५५ सम्म पुग्दै गर्दा बीसौं करोड मानिसहरू बाँच्नै नसकिने जलवायुका कारण आफ्नो थातथलोबाट लखेटिइसकेका हुने छन्।
मलाई लाग्छ, त्यो समयको मुख्य भूराजनीतिक मुद्दा नै विकसित देशहरूले कति निर्ममताका साथ आप्रवासीलाई रोक्ने वा लखेट्ने भन्ने हुनेछ। आजसम्म लोकतन्त्र र मानव अधिकारजस्ता विश्वव्यापी एजेन्डाको जति हैसियत बचेको छ, त्यो तबसम्म नामेट भएर जानेछ। किनकि, पश्चिमा विकसित देशहरूमा राज्यहरू र नागरिकबीचको करार नै पुनर्लेखन भइसकेको हुनेछः नागरिक कर तिर्छ, राज्यले उसलाई 'अवैध आप्रवासी' को अतिक्रमणबाट बचाउँछ।
तीन, यसरी बदलिँदो विश्वमा भविष्यको कुनै पनि बिन्दुमा अवस्था अफ्रिका र एसियामा सबभन्दा बढी विकराल हुनेछ। तर युरोप, अस्ट्रेलिया र अमेरिका पनि यसबाट अछुतो रहने छैनन्। जीवनस्तरमा तुलनात्मक ह्रास त एसिया र अफ्रिकामा भन्दा पनि युरोप र अस्ट्रेलियामा हुनेछ भन्छन् विभिन्न प्रक्षेपणहरू।
एउटा अन्तर्वार्तामा बिल म्याक्किबेन त केसम्म भन्छन् भने — तपाईंका सन्तानले संसारको जुन ठाउँमा जे शिक्षा र तालिम लिएर जस्तो रोजगार गरे पनि सन् २०५० को दशकतिरबाट वर्षभर गर्ने काम एउटै हुनेछ, आपतकालीन उद्धार। वर्षभर यति जलवायु संकटजन्य विपत्तिहरू आउनेछन् कि आपतकालीन उद्धारमै मानिसको समय बित्नेछ।
त्यसैले संसारको जुन भागमा रहने भए पनि कठिनाइग्रस्त भविष्यका लागि तयार नभई संसारको कुनै पनि समाजका युवाहरूलाई आज सुख छैन। त्यस्तो तयारीका लागि अहिलेदेखि नै जुन स्तरको सिकाइ र सजगता हुनुपर्ने हो। त्यो नहुनु नेपाल बस्ने र बाहिरिने दुवै खाले युवाहरूका लागि आत्मघाती कुरा हो जस्तो मलाई लाग्छ। 'नुन-तेल' किताब प्रकाशनपछि म सकेसम्म धेरै स्कुलमा जान र युवाहरूसित संवाद गर्न खोज्नु पछाडिको कारण पनि त्यस्तै सिकाइका लागि प्रेरणा दिनु थियो।
अब चर्चा गरौं विद्यार्थीहरूले बिल म्याक्किबेनलाई नचिन्नु र एन्ड्रयु टेटलाई चिन्नुका पछाडिको दर्शनशास्त्रको।
सन् २०२४ मा जलवायु संकटको भयावह रूपबारे हामीले जुन कुराहरू आफै देखे र भोगिसकेका छौं, सन् २०१४ मा समेत धेरैले तिनलाई असम्भव भनेर लत्याउँथे। तर सन् १९८९ मै 'द इन्ड अफ नेचर' पुस्तकमा म्याक्किबेनले यसो हुँदैछ भनेर चेतावनी दिइसकेका थिए। पृथ्वीलाई मानिस बाँचिरहन लायक राख्न उनले जति सक्रिय भएर यति लामो समय अभियान र लेखनमा खटिरहने अर्को मानिस भेट्न गाह्रो छ। अमेरिकी नागरिक रहेका उनको सिंगो जीवन नै जलवायु संकटबाट सबभन्दा प्रभावित हुने संसारभरका विपन्न र सीमान्तकृत मानिसहरूलाई कसरी बचाउने भन्नेमा बितेको छ।
अर्कोतिर किकबक्सिङ खेलाडीबाट सञ्जालको स्टार बनेका टेट बीसौं करोड डलरका धनी छन्। अढाइ लाखसम्म युवाहरूले नियमित डलर तिरेर उनका सफलता सम्बन्धी कोर्सहरू लिन्छन् र उनलाई मासिक करोड डलरसम्म कमाइदिन्छन्। नयाँ पुस्ताका करोडौं युवक र किशोरहरूका लागि उनी आदर्श पात्रजस्तै बनेका छन्। भलै उनीमाथि बलात्कार र मानव तस्करी गरेको तथा महिलाहरूको यौन शोषणका लागि संगठित अपराध गरेको लगायत धेरैवटा गम्भीर आरोपहरूमा मुद्दामामिला चलिरहेका छन्। उनी 'महिलाहरू पुरूषका सम्पत्ति हुन्, त्यसैले गाडी चलाउनु हुँदैन, घरमै बस्नुपर्छ' भन्छन्। उनी बलात्कारका लागि पीडितलाई जिम्मेवार ठान्छन्। उनीबाट प्रेरित युवकहरूले बेलायतजस्ता देशहरूमा ठूलो संख्यामा महिला सहपाठी र शिक्षकहरूमाथि समेत हिंसा गरेका छन्।
अर्थात् दार्शनिक रूपमा म्याक्किबेन र टेटले दुई विपरीत ध्रुव प्रतिनिधित्व गर्छन्।
अब इमानदार भएर एउटा प्रश्नको जबाफ खोजौं — महँगा र सुविधासम्पन्न निजी स्कुलमा पढ्ने, सूचना-प्रविधिमा असीमित पहुँच भएका अहिलेका आधुनिक केटाकेटीलाई म्याक्किबेन नचिन्ने र टेटलाई चिन्ने बनाएको कसले हो?
उनीहरू देशमा बसे पनि, विदेशमा पनि, उनीहरूले टेटलाई 'आदर्श मान्नु' हाम्रो सामूहिक असफलता हो कि होइन? कोही कुन देशमा बस्छ वा बाँच्छ भन्ने भन्दा पनि आधारभूत प्रश्न त नयाँ पुस्ता कस्तो मूल्य प्रणालीसहित हुर्किँदैछ र समग्रमा हाम्रो समाज कतातिर जाँदैछ भन्ने होइन र?
यो अवस्थामा सञ्जय शर्मा र सञ्जीव पोखरेलले झैं कसैले किन देश छाड्छ र हाम्रो राज्यका हर्ताकर्ताहरू कति नालायक छन् भनेर मन्थन गर्नु त आवश्यक छ नै, समाजका रूपमा हामी कता जाँदैछौं भनेर विमर्श गर्न झनै आवश्यक छ।
समाजमा खास किसिमको मूल्य प्रणालीको अभ्यास गर्दै त्यसलाई स्थापित गर्ने तपाईं, हामी सबै सुध्रिनुपर्नेछ। यो काम सत्तामा पुग्ने नेता वा दल परिवर्तन गर्नुभन्दा धेरै कठिन र मेहनत पर्ने काम हो।
यसमा राजनीतिक नेतृत्वमा हुनेहरूले गर्नैपर्ने र गर्न सक्ने कुराहरू धेरै छन्। तर केही काम भने तपाईं हामी सर्वसाधारणले पनि गर्न सक्छौं र गर्नुपर्छ जस्तो लाग्छ मलाई — चारैतिर देखिने बर्बादीमा हाम्रो आफ्नो भूमिका खोज्ने। त्यसका लागि जबाफदेयी बन्ने। एकदेखि सात पुस्तासम्मका लागि सम्पत्ति जोडिदिने दुश्चक्र छाडेर बृहत्तर समाजका लागि हामीले खेल्न सक्ने भूमिकाको खोजी गर्ने।
एक्स (ट्विटर) @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)