बेइजिङ डायरी
चीन विश्वकै ठूलो विकासोन्मुख मुलुक हो। विशाल क्षेत्रफल र बृहत् जनसंख्या भएकाले समग्रमा चीन विकासोन्मुख मुलुक भए पनि चीनका केही सहरहरू विश्वकै उत्कृष्ट र विकसित अग्रपंक्तिमा छन्।
शाङहाई सहरले उत्कृष्ट अमेरिकी सहरहरूलाई चुनौती दिने गरेको छ। त्यस्तै चीनमा केही यस्ता सहर पनि छन् जो निर्माण भएको चार दशकमै विश्वकै उदाहरणीय आधुनिक बनिसकेका छन्।
उदाहरणका रूपमा सनचनलाई लिन सकिन्छ।
आजको यो लेखमा चाहिँ २५ वर्ष अगाडिसम्म पोर्चुगलको उपनिवेशमा रहेको एउटा चिनियाँ टापूका बारेमा चर्चा गरेको छु।
चीनभरि क्यासिनो प्रतिबन्धित भए पनि त्यही क्यासिनोका कारण आफ्नो पहिचान बनाउँदै समृद्ध भएको टापू हो मकाउ।
सन् १९९९ डिसेम्बर २० मा मातृभूमि चीनमा फर्किएको मकाउले यही डिसेम्बर २० तारिख अर्थात् पुस ५ गते शुक्रबार मातृभूमि फिर्ताको २५ औं वार्षिकोत्सव मनाएको छ।
सोह्रौं शताब्दीसम्म मकाउ माझीहरूको सानो गाउँ थियो। त्यो समय चीनको अर्थतन्त्र विश्वकै लागि निकै शक्तिशाली र प्रभावकारी थियो। युरोपेलीहरू व्यापार गर्न भनेर चीन प्रवेश गर्न थाले। पोर्चुगलबाट आएका मान्छेहरू माझी बस्ने त्यो सानो टापूमा पुगे।
चीनको दक्षिण क्षेत्रमा रहेको मकाउ जाडोमा उति चिसो नहुने र गर्मीमा पनि धेरै गर्मी नहुने टापू हो। त्यसैले यो टापू पोर्चुगलका ती व्यापारीहरूका लागि एउटा आनन्ददायक स्थल बन्यो। चार सयको हाराहारीमा पोर्चुगिजहरूको स्थायी अड्डा बन्यो मकाउ।
सन् १५३५ मा लगभग ४०० पोर्चुगिज व्यापारीहरूले मकाउ टापूमा पानी जहाज अड्याउने र व्यापारिक गतिविधिहरू गर्न थाले। त्यो समयमा पोर्चुगल निकै शक्तिशाली विस्तारवादी राष्ट्र थियो। उसले दक्षिण एसियाको श्रीलंका समेतलाई उपनिवेश बनाइसकेको थियो। रहँदा, बस्दा मकाउमाथि पनि उसले आधिपत्य जमायो।
त्यसो त चीनका टापूहरूमाथि विभिन्न युरोपेली राष्ट्रहरूले आँखा गाडेका थिए। शक्तिको तानातान र अफिम युद्धसँगै सन् १८४२ मा बेलायतले हङकङमाथि कब्जा जमायो। हङकङ मकाउको नजिकैको टापू हो।
सन् १९२० तिर मकाउको जनसंख्या ८४ हजार थियो र तीमध्ये ७० प्रतिशत माछा मार्ने काम गर्थे। मकाउको मुख्य पेसा नै माछा मार्ने थियो र सहायक पेसा मनोरञ्जनात्मक जुवा खेलको थालनी भइसकेको थियो।
भनिन्छ — मकाउमा १९ औं शताब्दीमै जुवा खेल व्यवसायको विकास भएको थियो।
अहिले मकाउको मुख्य व्यवसाय नै क्यासिनोका रूपमा स्थापित भइसकेको छ। पर्यटन उद्योग मकाउको अर्थतन्त्रको मेरूदण्ड हो। मकाउको अर्थतन्त्रको अधिकांश भाग क्यासिनोबाटै संकलन हुने गरेको छ। सन् २०१५ को तथ्यांक अनुसार मकाउको पर्यटन राजस्वमध्ये ९० प्रतिशत क्यासिनोबाट प्राप्त भएको थियो।
एक राष्ट्र दुई व्यवस्थाको नीतिमा मकाउको शासन चलेको छ। यो चीनको विशेष प्रशासकीय क्षेत्र हो। देश एउटै भए पनि व्यवस्था भिन्न भएकाले चीनभन्दा मकाउमा केही फरक परिदृश्य देखिन्छ। यहाँ भिन्नै मुद्रा छ। सवारी साधन सडकको देब्रेपट्टिबाट चल्छन्। मुख्यभूमि चीनभरि सवारी साधन सडकको दाहिनेपट्टीबाट चलाइन्छ। त्यसैगरी चीनभरमा वैधानिक रूपमा क्यासिनो सञ्चालन गर्न पाइने क्षेत्र मकाउ मात्र हो।
आधुनिक चीनका नेता तङ स्याओफिङले अगाडि सारेको नीतिलाई 'एक राष्ट्र, दुई प्रणाली' भनिन्छ। अहिले आएर यसलाई नीति होइन, सिद्धान्त भन्न थालिएको छ। एक राष्ट्र, दुई प्रणाली अन्तर्गत सन् १९९७ जुलाइ १ मा हङकङ बेलायतबाट मातृभूमि चीनमा फर्किएको हो। त्यसको दुई वर्षपछि, सन् १९९९ डिसेम्बर २० मा पोर्चुगलबाट मकाउ मातृभूमि चीनमा फर्कियो।
एक राष्ट्र, दुई प्रणाली लागू भएपछि मातृभूमि फर्किएका यी दुई टापूलाई तुलना गर्दा निकै रोचक तथ्यांक भेटिन्छ।
हङकङ बेलायतबाट फर्किएको हो। कुनै समय बेलायत आफूलाई विश्वविजेता ठान्थ्यो। सोही पुरानो धङधङी बोकेर बेलायतले हङकङलाई अझै अस्थिर बनाउन खोजिरहेको छ।
मकाउ पोर्चुगलबाट चीनमा फिर्ता आएको हो। तर अहिले पोर्चुगलसँग न कुनै शक्ति छ, न कुनै 'इगो'। त्यही भएर मकाउ शान्त र स्थिर छ।
विगत २५ वर्षमा मकाउले महत्त्वपूर्ण विकास गरेको छ। चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सन् १९९९ मा मकाउको क्षेत्रफल २१.४५ वर्ग किलोमिटर मात्र थियो। मुख्यभूमि चीन फर्किएपछि चीनको केन्द्र सरकारले मकाउमा धेरै भूमि पुनः प्राप्ति परियोजनाहरू स्वीकृत गर्यो। फलस्वरूप अहिले मकाउको क्षेत्रफल वृद्धि भएर ३३.३ वर्ग किलोमिटर पुगेको छ।
सन् १९९९ मा मकाउको प्रतिव्यक्ति आम्दानी १५ हजार अमेरिकी डलर थियो। सन् २०२३ मा ६९ हजार डलर पुगेको छ। बेरोजगारी दर पनि ६.३ प्रतिशतबाट घटेर २.७ प्रतिशतमा झरेको छ।
क्यासिनोमाथि निर्भर मकाउको अर्थतन्त्रलाई चीनले विविध क्षेत्रमा वितरण गरेको छ। फलस्वरूप सन् २०१९ मा ५१.२ प्रतिशत क्यासिनोबाट प्राप्त हुने जिडिपीलाई सन् २०२३ मा ३७.२ प्रतिशतमा झारिएको छ। क्यासिनोको सट्टा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, आवास र सामुदायिक सेवा जस्ता अत्यावश्यक क्षेत्रमा बजेटको अंश सन् २०१९ मा ३९.२ प्रतिशत थियो। सन् २०२४ मा बढाएर ४४.८ प्रतिशत बनाइएको छ।
जम्मा सात लाख जनंख्या भएको मकाउले हरेक वर्ष दुई करोडभन्दा बढी पर्यटकलाई आतिथ्य प्रदान गर्दै आएको छ। सन् १९९९ मा लगभग ७४ लाख पर्यटकले मकाउको भ्रमण गरेका थिए। सन् २०२३ मा २ करोड ८० लाख पर्यटकले भ्रमण गरेको तथ्यांक छ।
क्षेत्रफलका हिसाबले ३३.३ वर्ग किलोमिटर ओगटेको मकाउ बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टभन्दा केही सानो छ। यसो सोच्दा पनि अचम्म लाग्छ। एउटा विमानस्थलको क्षेत्रफलभन्दा पनि सानो क्षेत्रमा तीन दर्जनभन्दा बढी क्यासिनो छन्। सात लाख मान्छे बस्छन्।
त्यति मात्र होइन, यो विश्वकै सबभन्दा धेरै क्यासिनो खेलाइने ठाउँ पनि हो। मकाउ पुग्ने ९० प्रतिशत पर्यटकको लक्ष्य क्यासिनो जाने हुन्छ।
क्यासिनो उद्योगकै कारण यसको ख्याति चम्किएको छ। नेपालीले पनि काम पाएका छन्। आर्थिक र सामाजिक स्तर निकै माथि छ। मकाउको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, यहाँका बासिन्दाको सरदर आयु र यसको सामाजिक कल्याणको संकेतबाट हेर्दा, आज मकाउ विश्वकै अग्रणी स्थानमा आउँछ।
मकाउको अध्यागमन तथ्यांक अनुसार यहाँ वार्षिक लगभग ३ करोड २० लाख यात्रुको आवागमन हुन्छ। सन् २००३ मा एक करोड १९ लाख पर्यटकले मकाउ भ्रमण गरेका थिए। यही वर्षदेखि चीनले मुख्यभूमिका नागरिकलाई मकाउ भ्रमणमा जान उत्साहित गर्ने नीति लिएको थियो।
सन् २०१९ मा तीन करोड ९४ लाख पर्यटकले मकाउ भ्रमण गरेका थिए। सन् २०२० देखि कोरोना महामारीको प्रभावले समग्र पर्यटन क्षेत्र सुस्ताएको थियो। विगत दुई वर्षदेखि भने फेरि मौलाएको छ। मकाउ भ्रमण गर्ने पर्यटकमा चीनको मुख्यभूमिका बासिन्दाको हिस्सा ४८.३ प्रतिशतबाट बढेर ७०.९ प्रतिशत पुगेको छ।
मकाउले ६५ वर्ष र त्यसमाथिका सबै नागरिकहरूलाई नि:शुल्क चिकित्सा सेवा प्रदान गर्दै आएको छ। मुख्यभूमि चीनमा नौ वर्षको निःशुल्क र अनिवार्य शिक्षा नीति छ भने मकाउमा १५ वर्षे नि:शुल्क शिक्षा कार्यक्रम छ। यसको मतलब के हो भने, पूर्वप्राथमिक तहदेखि उच्च माध्यमिक विद्यालयको अन्त्यसम्मको शिक्षा आर्जन गर्न कुनै शुल्क तिर्नु पर्दैन।
उत्कृष्ट सामाजिक सुरक्षा नीति र राम्रो आयआर्जन हुने भएकाले मकाउ नेपालीहरूका लागि पनि आकर्षणको केन्द्र बनेको छ। त्यहाँका क्यासिनोमा सुरक्षाकर्मी तथा डिलरको काममा नेपालीहरूले सेवा प्रदान गर्दै आएका छन्। घरायसी कामदारका रूपमा पनि मकाउमा नेपालीहरू छन्। नेपालीहरूले सामान्यतया मासिक एक लाखदेखि ४ लाख रूपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्।
मकाउले विशेष प्रशासनिक क्षेत्रमा लामो समय बसोबास गर्ने विदेशी नागरिकलाई त्यहाँको परिचयपत्र प्रदान गर्दै आएको छ।
विगत १६ वर्षदेखि मकाउमा काम गरिरहेका इलामका तुलसी पौडेलले बताए अनुसार मकाउमा दुई हजार दुई सय जना नेपाली बसोबास गर्छन्। तीमध्ये लगभग एक सय जनाले मकाउमा स्थायी बसोबासको परिचयपत्र लिएका छन्।
मकाउमा बेरोजगारी दर २ प्रतिशतभन्दा कम छ। औसत मासिक आम्दानी सन् १९९९ मा ४,९२० पाटाकाबाट बढेर २०२३ मा १७,५०० पटाकासम्म पुगेको तथ्यांक पाइन्छ। हालको विनिमय दर अनुसार एक पटाकाको करिब १६ रूपैयाँ ९९ पैसा हुन आउँछ।
मकाउको काँचुली फेर्ने नयाँ विकास अवधारणा लागू भएको छ। पछिल्लो समय चिनियाँ राष्ट्रपतिको विशेष पहलमा चीनको क्वाङतोङ–हङकङ–मकाओलाई जोडेर बृहत् खाडी क्षेत्रको विकास अवधारणा अगाडि सारिएको छ।
यो क्षेत्रले आसपासका अन्य सहरहरूसँग आफ्नो आर्थिक र सामाजिक सम्बन्ध बढाएको छ। यही अवधारणाको केन्द्रमा छ ५५ किलोमिटर लामो सामुद्रिक पुल। यो पुलले हङकङ–चुहाइ–मकाउ जोडेको छ। यसको उद्घाटन सन् २०१८ मा भएको हो।
त्यसैले चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १९, बिहीबार साँझ आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै क्वाङतोङ–हङकङ–मकाउ बृहत् खाडी क्षेत्रको निर्माण लगायत राष्ट्रिय विकास परियोजनासँग जोड्ने कुरालाई जोड दिने बताए।
देशभक्ति र मकाउभक्तिको झण्डामा अझ खुला तथा सहिष्णु र एकीकृत श्रेष्ठ व्यक्ति संकलन गरेर सुन्दर मकाउको निर्माण गर्ने बताउँदै साहसी रूपमा सुधार र नवीन रूपमा एक देश, दुई व्यवस्थाको श्रेष्ठ प्रयोग गरी मकाउ विकासको नयाँ अवस्था खोल्ने खुलासा गरे।
मकाउ मातृभूमि चीनमा फर्किएको २५ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित रात्रिभोजमा मन्तव्य दिने क्रममा चिनियाँ राष्ट्रपति सीले उक्त भनाइ राखेका हुन्। मकाउका विभिन्न सामाजिक क्षेत्रको सुधारसँगै अर्थतन्त्रको लगातार पुनरूत्थान र विविध कार्यको प्रगतिले एक देश, दुई व्यवस्थाको सफल कार्यान्वयन भइरहेको सी चिनफिङले औंल्याएका छन्।
सन् १९९९ मा पोर्चुगलबाट मातृभूमि चीनमा फर्किँदा मकाउमा सञ्चालित क्यासिनो व्यवसाय बन्द हुने अनुमान धेरैले गरेका थिए। कम्युनिस्ट शासनसत्ता भएको चीनमा क्यासिनो गैरकानुनी व्यवसाय हो। तर एक राष्ट्र, दुई प्रणालीको आडमा मकाउले क्यासिनो उद्योगलाई निरन्तरता दिँदै आएको छ।
क्यासिनोकै काँचुलीबाट आर्थिक समृद्धि हासिल गरेको मकाउले वैकल्पिक व्यवसाय खोज्दैछ। अझै पनि त्यहाँको आकर्षण र मुख्य आर्थिक स्रोत चाहिँ क्यासिनो नै हो।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)