स्थानीय तह उपनिर्वाचन २०८१ को अभियानका क्रममा कोशी प्रदेशका विभिन्न गाउँहरूको भ्रमण गर्दा, मैले गाउँका जनताको आँखामा निराशा र असन्तुष्टि देखेँ।
सहरका रंगीन मञ्च र राजनीतिक भाषणहरूको चकाचौंधभन्दा निकै पर, गाउँको यथार्थ एक कठोर, शीतल पाषाणजस्तो थियो। ती गाउँहरू, जहाँ पहिले हरियाली र जीवन्तता गर्वका प्रतीक थिए, आज उजाड र निराश बनेका छन्। त्यहाँको मौनता र खालीपनले गाउँको संघर्ष र विकृतिलाई प्रकट गर्छ।
नेपालका गाउँहरू अहिले पनि कथा र व्यथाको सम्मिश्रण बनेका छन्। पहाडले अड्याएका बस्तीहरूमा हरियो ढकमक्क देखिए पनि, त्यो हरियालीभित्रका पीडाहरू चहकिला छैनन्। चुनावी चहलपहलले गाउँलेहरूका पुराना पीडा फेरि सतहमा ल्याएको छ।
ओखलढुंगाको एउटा सानो गाउँमा, झरी रोकिएजस्तै लाग्ने क्षणमा हामी बस्तीभित्र प्रवेश गयौं। सबैजसो घरहरूमा चिरपरिचित पार्टीका झन्डा र नेताका तस्बिरहरू थिए। ढोकाबाट भित्र छिर्दा भेटिने अनुहारहरूमा राजनीतिक चेतना थियो कि डरको छाया, छुट्याउन कठिन थियो। गाउँमा विरलै भेटिने दुई-तीन घरका मान्छे मात्रै यस्ता थिए, जसले न त पार्टीको आदेश पर्खेका थिए, न त कसैको दबाबमा आफ्नो भोटको गन्तव्य निर्धारण गरेका थिए।
'हाम्रो गाउँ भनेको कार्यकर्ताको मात्रै गाउँ हो, जनताको होइन,' एक स्थानीयले भन्नुभएको कुरा अझै मनमा गुन्जिरहेको छ। ती स्थानीयको मुखबाट यो वाक्य गम्भीर र व्यंग्यात्मक खालको लाग्यो।
पाँच वर्षअघि ओखलढुंगाका ती उर्वर खेतहरू, जहाँ दुइवटा बाली नियमित रूपमा फल्थे, आज बाँझो र सुनसान बनेका छन्। गाउँका बारीहरू शान्ति र निष्क्रियताका प्रतीक बन्न पुगेका छन्।
'यहाँका सबै युवा सहर गइसके,' त्यस ठाँउका विभिन्न गाउँपालिकामा तीन दिनको बसाइका क्रममा भेटिएका एक वृद्धले आफ्नो लौरो समाउँदै भने।
ती वृद्धका शब्दहरूले गाउँको असल यथार्थलाई प्रकट गर्छन् जसलाई आँखा बन्द गरेर पनि महसुस गर्न सकिन्छ। ती खेतहरू, जुन कहिले सम्पन्नता र समृद्धिको प्रतीक थिए, आज खालीपन र सन्नाटासँग गुथिएका छन्। यसले गाउँको गहिरो संकट उजागर मात्र गर्दैन, परिवर्तनको आवश्यकता पनि चिच्याइरहेको देखिन्छ।
गाउँमा खानेपानीको अभाव, बिग्रिएका सडकहरू, यातायातको असुविधा अझै जस्ताको तस्तै छन्। स्वास्थ्य सेवा र शिक्षा क्षेत्रको अवस्था झनै खराब देखियो। स्वास्थ्य केन्द्रहरूमा डाक्टरहरू नियमित रूपमा उपलब्ध थिएनन् र औषधिको अभाव झनै गम्भीर थियो। विद्यालयहरूसम्म पहुँच नहुँदा बालबालिकाहरूको पढाइ नै रोकिएको थियो।
गाउँका युवाहरूले गाउँ छाडेर रोजगारीको खोजीमा विदेश जाने योजना बनाइरहेका रहेछन्।
'हाम्रो बारीमा उत्पादन राम्रो छ, तर बजार छैन। यहीँ बस्ने चाहना हुँदाहुँदै पनि विदेश जानुपर्ने बाध्यता छ,' एक स्थानीय युवाले आफ्नो गुनासो सुनाए।
यस्तो गुनासो सुन्नुपर्दा, यी गाउँहरूले अझै पनि पुरानो संरचनागत समस्याबाट मुक्ति पाउन सकेका छैनन् भन्ने भान भयो। प्रदेशदेखि संघसम्म, सबैले यी समस्याहरूलाई नजरअन्दाज गरेको देखियो।
तेह्रथुमको डाँडापारि ससाना खेतका गह्रा देखेर लाग्यो, यो गाउँ मेहनती हातहरूको परिश्रमले बनेको रहेछ। सुकिलो खेतबारी र सुन्तलाले भरिएका बगैंचाले गाउँको सौन्दर्य झल्काउँथे। तर बगैंचामा उभिएर हेर्यो भने पीडाको अर्को आयाम देखिन्थ्यो।
तेह्रथुमको एउटा गाउँमा पुगेपछि खेतको डिलमा बसेकी एक आमासँग कुराकानी भयो। ढल्किँदै गरेको घामजस्तै उहाँको अनुहार पनि थकित देखिन्थ्यो।
उहाँले भन्नुभयो, 'बुढाबुढी मात्रै घरमा छौं। छोरीहरूको बिहे भइसक्यो। कान्छो छोरो इटहरीमा काम गर्दै पढ्दैछ, अब कोरिया जान्छु भन्छ। यहाँ सानो बारी छ, तर के गर्नु? मन परेको उम्मेदवारलाई भोट हाल्न खोज्यौं भने गाउका ठूला मान्छेले पानी नै रोकिदिन्छन् भन्छन्। बोल्न सकिँदैन। भोट आउन केही दिनअघि सबैले जे भन्छन्, त्यही मान्नुपर्छ।'
स्थानीयहरूको अनुभवले ग्रामीण भोटको राजनीति कस्तो छ भन्ने प्रस्ट्यायो। उनीहरूको नजरमा नेताहरूले पार्टी र व्यक्तिगत स्वार्थका लागि जनतालाई बन्धक बनाउँदै आएका देखियो।
एउटा कुनामा गाउँलेले सुन्तला टिपेर बोक्दै गरेको देखियो।
त्यहाँमध्येका एक किसानले भने, 'यी सुन्तलाहरू बेच्न सक्ने कुनै व्यवस्था छैन। यहाँका बारीमा फल्ने तरकारी कसैले बजारमा लैजान सघाउँदैन। बारीभरि फल्ने इस्कुस, सुन्तला अनि आलुहरू गाईबस्तुलाई खुवाउन बाध्य छौं। हामीले किसानको कुरा गर्ने नेताहरूलाई भोट दियौं, तर उनीहरूले हाम्रो सुन्तलालाई बजार पुर्याउने व्यवस्था कहिल्यै मिलाएनन्। हामी यहाँ बाँच्न सक्थ्यौं, काम गर्न सक्थ्यौं, तर हाम्रो कुरा कसैले सुन्दैन।'
नेपालका गाउँहरू उत्पादन र रोजगारीले भरिएका छन्, तर व्यवस्थापनको अभावले ती उत्पादनहरू खेर गइरहेका छन् र युवा खाडी।
यसपटकको तेह्रथुम भ्रमणमा भने केही फरक कुरा पनि सुनियो।
मैले केही घरमा भोट माग्न जाँदा 'तपाईंहरूको एजेन्डा के हो' भन्ने प्रश्न आउनु त परको कुरा, सिधै 'पैसा कति दिन सक्नुहुन्छ' भनेर सोधिएको पाइयो।
यो सत्यलाई कसैले स्वीकार्न चाहे नचाहे, जनताले आश्वासनको खोट खोज्न थालेका छन्। चुनावका बेला भोटका लागि नेता घरघर पुग्छन् तर चुनाव जितिसकेपछि उनीहरूको उपस्थितिसँगै आश्वासनहरू पनि सुख्खा खोलाझैं बिलाएर जान्छन्। यसले जनताले नेताहरूको आश्वासनमाथि विश्वास गुमाइसकेको प्रस्ट देखाउँछ।
गाउँमा जनप्रतिनिधिहरूको ध्यान जनताको समस्या समाधानभन्दा आफ्नो पार्टीको संगठनलाई बलियो बनाउन केन्द्रित देखिन्थ्यो।
नेपालकै कान्छी सांसदका रूपमा चिनिएकी म गाउँमा आएको खबरले स्थानीयहरूमा उत्साहको लहर ल्यायो। मान्छेहरू टोलभरि जम्मा भए। कतै नयाँ अनुहारको स्वागत थियो, कतै पुरानै आशंका।
'सांसद जस्तो मान्छे हाम्रो गाउँमा आएर बसेको देख्दा खुसी लाग्यो,' एक स्थानीयले भने।
तर ती स्थानीयको आँखाको कुनामा प्रश्न तैरिरहेको देखेँ, 'तपाईं पनि यस्तै आउने र हराउने त होइन?'
गाउँमा अझै पनि भोटको राजनीति पुरानै ढर्राको छ।
अर्को एक जना युवकले भनेका शब्दहरूले मेरो सोच झनै प्रस्ट बनायो, 'तपाईंहरूको पुस्ताबाट हामीलाई धेरै आशा छ। तर आशा मात्रै पर्याप्त छैन। विश्वास निर्माण गर्नुहोस्। यहाँका पुराना नेताले हामीलाई नजिकैबाट थुप्रै चोट दिएका छन्। हाम्रो साथ पाउन तपाईँले आफूलाई अरूभन्दा फरक सावित गर्नुपर्छ।'
मोरङ जिल्लाका १७ वटा स्थानीय तहमध्ये ग्रामथान गाउँपालिकाको विकासका सम्भावना कागजमा त उल्लेखनीय छन्, तर वास्तविकता भने ठीक उल्टो देखिन्छ। यहाँका विद्यालयहरूको भवन राम्रा बनेका छन्, तर गुणस्तरीय शिक्षा दुर्लभ छ। शिक्षकहरूको अभाव, पाठ्यक्रमको अद्यावधिक नगर्नु र आधारभूत शैक्षिक सामग्रीको कमीले विद्यार्थीहरूको भविष्यको सम्भावनामा प्रभाव पारिरहेको छ। केही मुख्य सडक बनेका छन्, तर भित्री गाउँका अधिकांश बाटाहरू अझै धुलाम्य र अव्यवस्थित छन्।
एक स्थानीयले भने, 'चुनावको समयमा गाउँ टोलमा तीज लागे जस्तै एक हप्तासम्म भोजभतेरले माहोल तातेको हुन्छ। तर चुनावी परिणामसहित नेताहरूको वाचा र माहोल पनि हराउँछ।'
यी वाचा र उत्सवहरूको घटबढ चुनावपछि हराउँदै जान्छन् र गाउँका समस्याहरू यथावत् रहन्छन्।
गाउँमा युवाहरूको उपस्थिति न्यून छ। कतिपय भारत गएका छन्, कतिपय विदेशमा र केही खेतीपातीमै सीमित छन्। छोराछोरी पढाउन महिलाहरू सहरमा बस्न थालेका छन् भने पुराना पिँढीहरू खेतीपातीमा सीमित छन्। उर्वर जमिनमा सिँचाइ, मल र बिउ अभावले किसानहरू असन्तुष्ट छन्।
हरेक चुनावी सत्रमा नेताहरू सिँचाइको व्यवस्था, मलको उपलब्धता र आधुनिक कृषि प्रविधि ल्याउने वाचा गर्छन्। तर दशकौंपछि पनि ती वाचा पूरा भएको देखिँदैन।
यहाँका किसानहरू भन्छन्, 'हामीले हजुरबुबाको पालादेखि यस्तै वाचा सुन्दै आएका छौं। अब ती वाचा वास्तविकतामा कहिले बदलिन्छन्, थाहा छैन।'
जातीय राजनीतिले गाउँको वातावरण अझै विभाजित बनाइरहेको छ। नेताहरू चुनावी एजेन्डामा भन्दा शक्ति प्रदर्शनमा बढी केन्द्रित देखिन्छन्। चुनावी वाचा र गाउँका जनताको वास्तविक आवश्यकताबीचको गहिरो खाडलले यहाँका जनतामा असन्तोष फैलाएको छ।
ग्रामीण समुदायका यथार्थ र नेताहरूका असल सेवाको पहिचान अब अति आवश्यक छ। ग्रामथानका वास्तविकताले नेताहरूलाई गम्भीर चिन्तनको विषय बनाउनुपर्छ। विकासका वाचा पूरा नगरेसम्म, गाउँलेहरूको सपना पूरा हुने सम्भावना न्यून छ।
एक्काइसौं शताब्दीमा आइपुग्दा पनि देशका नागरिकहरू आधारभूत अधिकारहरू जस्तै सडक, बत्ती, उपचार र शिक्षाका लागि संघर्ष गरिरहेका छन्।
अचम्मको कुरा, हाम्रा नेताहरू संविधानमा 'सार्वभौम जनताको अधिकार' को कुरा उल्लेख गर्छन्, कार्यान्वयनमा भने आफ्ना पार्टीका स्वार्थमै रमाइरहेका देखिन्छन्। चुनावका बेला जनताको समस्याको समाधानका लागि गम्भीरता देखाउने नेताहरू, सत्ता सम्हाल्ने बित्तिकै पार्टीको स्वार्थलाई प्राथमिकता दिन्छन्। यसरी 'सार्वभौम जनता' को अधिकार केवल कागजमा सीमित भइ, नेताहरूको चुनावी खेलको भाग मात्रै भएको जस्तो लाग्छ।
यसले गम्भीर प्रश्न उठाउँछ के देशको स्थिति बिग्रिएको कारण जनता थोरै भएर हो या पार्टीका कार्यकर्ता धेरै भएर?
जनताको वास्तविक समस्या र चासोको सामना नगरी, केवल पार्टीको आदेश पालन गर्ने परम्परा कहिलेसम्म चलिरहने हो?
भोट माग्न घरघरमा पसेका नेताहरू, चुनाव जितेपछि जनताको समस्या बिर्सेर आफ्नै स्वार्थमा केन्द्रित हुने चलनले जनताको हक र अधिकारमा गम्भीर प्रहार गरेको छ।
कोशी प्रदेशका गाउँहरूमा जाँदा नेताहरूको भाषण र जनताको वास्तविकताबीचको गहिरो खाडल प्रस्ट देखिन्छ। यो खाडल पार गर्न र जनताको जीवनमा आशा र उज्यालो ल्याउन समर्पित र जिम्मेवार नेतृत्वको आवश्यकता छ। नेतृत्व केवल पदको नाममा सीमित हुनु हुँदैन, यो जनताको मन जित्ने, उनीहरूको दुःखमा सहभागी हुने र समस्याको वास्तविक समाधान खोज्ने संकल्प हो।
गाउँका यथार्थ र समस्याहरूले अब नेताहरूलाई झकझकाउने समय आएको छ। केवल वचन दिने र भाषण गर्ने मात्रै जनताको दुःखको समाधान होइन। गाउँका प्रत्येक व्यक्तिका मुस्कान र आँसुहरूले मलाई मेरो जिम्मेवारीको वास्तविक अर्थ देखायो। यो यात्रा केवल मत माग्ने मात्र नभई जनतासँग जोडिने, उनीहरूको भावनालाई बुझ्ने र सच्चा नेतृत्वको पाठ सिक्ने अवसर बन्यो।
देशका हरेक गाउँका कथा फरक भए पनि समस्याहरू सामान्य छन्। ती समस्या समाधान गर्न नयाँ पुस्ताका नेताहरूले जनताको आवाज सुन्ने, उनीहरूको समस्यालाई प्राथमिकतामा राख्ने र भविष्यप्रति इमानदार रहने वाचा गर्नुपर्छ। यो अभियानले सिकाएको शिक्षा केवल मेरा लागि होइन, सम्पूर्ण नयाँ पुस्ताको लागि मार्गदर्शक हो।
(लेखक रास्वपाबाट प्रतिनिधि सभा सांसद हुन्)