काठमाडौंको मध्यभागमा अवस्थित टुकुचा खोला बेलाबेलामा निकै चर्चाको विषय बन्ने गरेको छ। यस खोलाको विषयमा मानिसहरूका अनेक धारणा छन्।
पछिल्लो समय विशेषगरी, काठमाडौं महानगरपालिकाले कमलादीनजिक खोतलेपछि र कमलादीमै कल्भर्ट भत्किएपछि टुकुचा खोला चर्चाको केन्द्रमा रह्यो, अनेक टीकाटिप्पणी र बहस भयो।
टुकुचा खोलाको खास नाम इच्छुमती हो। यही इच्छुमती स्थानीय नेवारी बोलीमा टुकुचा नामले चिनिएको हो। यस खोलाको मुहान चुनदेवीमा (निर्मल निवास पछाडि) छ।
प्रारम्भमा चुनदेवी क्षेत्रको गहिरो खेतमा वरिपरिबाट जम्मा भएको पानीले निकास बनाएपछि खोल्सो भएर अघि बढ्यो। निकासको यही खोल्सो नै इच्छुमती अर्थात टुकुचा खोला भयो।
सहरीकरण र विकास निर्माण बढ्दै जाँदा बाँसबारीदेखिको ढल पनि यस चुनदेवीको गैरीखेतमा आइपुग्यो र टुकुचाको मुहानमै मिसियो।
चुनदेवीबाट सुरू भएको त्यही खोलो सहरको बीचैबीच बग्दै बागमतीमा मिसिन्छ। टुकुचा खोलाको कुल लम्बाई ६ किलोमिटर मात्र छ।
बाँसबारीदेखिको ढल चुनदेवी पुगेर टुकुचामा मिसिन्छ। चुनदेवीको गैरीखेतमा मंगाल बनाएर खोलो र ढल एउटै बनाइएको छ।
त्यसपछि टुँडालदेवीको मन्दिर परिसरमा केही भाग खुला नै बगेको छ। त्यसबाहेक बालुवाटारसम्म कहीँ पाइप राखेर तथा कहीं ढलानले छोपेर पानी बगाइएको छ।
बालुवाटारबाट गैरीधारासम्मको खण्डमा करिब खुला रूपमै पानी बगेको छ। नीलसरस्वती हुँदै नानीगञ्जसम्म घरघरमा जाने स्ल्याबहरूका कारण आंशिक रूपमा खुला र बन्द छ।
नानीगञ्जमा रहेको कल्भर्टबाट टुकुचा खोला नारायणहिटी दरबार संग्रहालय परिसरमा प्रवेश गर्छ जहाँ खोला खुला नै छ। संग्रहालयको दक्षिण पर्खालबाट इँटाको संरचना बनाएर जय नेपाल सिनेमा हल हुँदै कमलादीको कल्भर्टसम्म लगिएको छ।
त्यहाँ घोडाको खुर आकारमा चारैतिर इँटाको संरचना बनाएर उक्त संरचनाभित्रबाट पानी बगाइएको छ, खोला देखिँदैन। त्यसमाथि सडकलगायत अन्य विभिन्न संरचना बनेका छन्।
त्यो समय त्यस किसिमको संरचना कुनै न कुनै इन्जिनियरिङ र कुनै आधिकारिकताका आधारमा बनाएको होला भन्ने अनुमान गर्न सकिन्छ। नारायणहिटी संग्रहालयमा खुला रहेको भए पनि दक्षिण पर्खालबाट खोलो साँघुरो पारिएको छ।
घोडाको खुर आकारमा सुरूङजस्तो संरचना बनाउन त्यो समय सोही बमोजिमको हाइड्रोलोजिकल डिजाइन थियो होला भनेर मान्नुपर्ने हुन्छ।
आजकाल मानव निर्मित संरचनाहरू ढल, सडक, भवन आदिका कारणले पानीको बहाव बढेर होला यही २०८१ असोज ११ र १२ को बाढीमा नारायणहिटीमा परिसर पनि डुबानमा पर्यो।
नारायणहिटी संग्रहालय परिसरबाट अघि बढेपछि टुकुचा खोला कमलादी, पद्मकन्या क्याम्पसको उत्तरी सीमाना, बागबजार, फन पार्क, आर्मी ब्यारेक, कालमोचन महादेव मन्दिर हुँदै बागमती नदीमा मिसिन्छ।
गत साउन २३ गते कमलादीमा टुकचा खोलाको कल्भर्ट भत्कियो। उक्त सडकखण्ड सडक डिभिजन कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्ने हुनाले खबर पाउनासाथ हामी पुगेर निरीक्षण गर्यौं।
इँटाको पर्खालमाथि फलाम र काठको बिम राखेर कल्भर्ट बनाएको देखियो। इँटाले बनेको कल्भर्टको पर्खाल भत्किएको थियो, इँटा फुटेका थिए। भत्किएको पर्खालबाट खोलाको पानी बाहिर बगेर कल्भर्ट वरिपरि दुवैतर्फ ठूल्ठूला भ्वाङ परेका थिए।
यो घटनाअघि पनि त्यहाँ पटकपटक भ्वाङ पर्ने गरेको थियो। काठमाडौं महानगरपालिका कार्यालयबाट तुरून्तै खबर आउँथ्यो। हामी महानगरका अधिकारीहरूकै रोहबरमा भ्वाङ टाल्थ्यौं।
सबैभन्दा पछिल्लो पटक टालेका ठाउँमा फेरि एक/दुई दिनमै भ्वाङ परेको थियो। अन्ततः कल्भर्ट नै भत्कियो र ठूल्ठूला भ्वाङ पर्यो।
कल्भर्ट भत्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबाट अनुगमन भयो। त्यसपछि प्राप्त निर्देशनका आधारमा सडक डिभिजन कार्यालय, काठमाडौंले कल्भर्ट पुनर्निर्माणको प्रक्रिया सुरू गर्यो।
सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को खरिद प्रक्रियाका विभिन्न चरण पार गर्दै ठेक्का सम्झौता गर्न कम्तीमा दुई महिना लाग्छ। फटाफट काम अघि बढाएर त्यस समय सीमाभित्र ठेक्क सम्झौता पनि भयो।
कल्भर्ट भत्केपछि सामाजिक सञ्जाल र मिडियाहरूमा निकै ठूलो आलोचनाको लहर चल्यो। सरकारले सडकको भ्याङ पुर्न नसकेको भनेर विरोध भयो। न्युरोडको खाडल रातारात टाल्ने सरकारले कमलादीमा किन नटालेको भन्ने प्रश्न उठ्यो।
काठमाडौं महानगरपालिका नेतृत्वसँगको द्वन्द्वका भ्याङ नटालेको हो भन्ने ठहर गरेको पनि देखियो।
वास्तवमा त्यहाँ एउटा भ्वाङ मात्रै परेको थिएन, परापूर्वकालमा त्यही समयको शैलीमा बनेको कल्भर्ट (पुल) नै भत्किएको थियो। त्यस्तो विशेष पुल पुनर्निर्माण गर्नुपर्ने भएको थियो।
काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागसँगको समन्वय तथा आपसी छलफलमा पुनर्निर्माणको प्रक्रिया अघि बढ्यो। सरकारले गर्न सकेन भनेको जस्तो सजिलो काम थिएन। मध्यवर्षातका बेलामा तत्कालै काम सुरू गर्न सकिने पनि थिएन।
वरिपरि कमजोर माटोको धरातल रहेकाले खोला डाइभर्ट गर्न सकिने अवस्था पनि भएन। प्राविधिक र प्रशासनिक रूपले यथार्थ थाहा भएपछि बाध्यताको अवस्था स्वीकार गर्नुको विकल्प थिएन। बाढीले निम्त्याएको घटनाको बाध्यता नबुझेर वा बुझ पचाएर आलोचना र विरोध गर्नेहरूको चित्त बुझाउने जबाफ हामीसँग थिएन।
आलोचनाका बीच त्यहाँको भौगोलिक अवस्था विश्लेषण गरेर कानुन–नियम संगत विभिन्न चरण पार गरी गत असोज १८ गते ठेक्का सम्झौता भयो। त्यसको एक साताअघि असोज ११ र १२ भएको भारी वर्षा असर त्यहाँ पनि पर्यो। काम अघि बढ्न पाएन।
त्यसपछि दसैं आइहाल्यो। साइटमा वास्तविक निर्माण कार्य गत कात्तिक दुई गते सुरू भयो। सम्झौताअनुसार काम पूरा गर्न दुई महिना लाग्ने भए पनि चाडवाडमा काम नहुँदा केही ढिला हुन सक्ने भए पनि हामी समयमै सम्पन्न गर्न लागिपरेका छौं।
कल्भर्ट (पुल) को मुख्य ढलान सकिएको छ। अब दायाँबायाँ पुरेर पिच गर्ने काम बाँकी छ।
परापूर्वकालको इच्छुमती खोलामा विभिन्न ठाउँबाट ढल मिसिएकाले त्यसको स्वरूप धेरै फरक परेको छ। सय वर्षभन्दा अघिको संरचना हाल अपुग हुन्छ। वर्तमानको आवश्यकता अनुसार अध्ययन गरी योजना बनाउनेतर्फ ध्यान दिनुपर्छ।
टुकुचा करिडोरको विकासका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ले तयार पारेको प्रि-फिजिबिलिटी अध्ययन प्रतिवेदनले अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेको छ। यसअनुसार करिब पाँच अर्ब रूपैयाँको परियोजना लागू गर्नेतर्फ ध्यान दिन पनि आवश्यक छ।
टुकुचा खोलामा रहेका कल्भर्टहरू धेरै पुराना भएका छन्। समयमै निरीक्षण गरी मर्मत गर्न जरूरी छ।
(लेखक नारायणदत्त भण्डारी सडक डिभिजन कार्यालय, काठमाडौंका डिभिजन प्रमुख हुन्।)