सन् २००१ मा बनेको 'अ ब्युटिफुल माइन्ड' र २०१० मा बनेको 'शटर आइल्यान्ड' मानसिक रोगका विषयमा बनेका उम्दा फिल्म मानिन्छन्।
सिजोफ्रेनिया नामक मानसिक रोगमाथि भारतमा बनेको एउटा उत्कृष्ट फिल्म अपर्ना सेन निर्देशित 'फिफ्टीन पार्क एभेन्यु' हो। दक्षिण एसियाको परिवेशमा बनेकाले हामी नेपालीका लागि यो फिल्मको कथा बुझ्न धेरै सजिलो छ। मानसिक रोग लागेपछि त्यसलाई कसरी सामना गर्ने र कसरी नगर्ने भन्नेमा यो फिल्म धेरै चेतनामूलक पनि छ।
खास गरी परिवारको एक सदस्यलाई यो रोग लागेपछि अरूले कसरी उसका लागि जीवनभर बलिदान गरिरहनुपर्छ अनि एकपल्ट मानसिक रोगीको ट्याग लागेपछि व्यक्तिलाई रोमान्टिक सम्बन्ध र पारिवारिक जीवन सुरू गर्न कति कष्टकर हुन्छ भन्ने पनि यसले देखाउँछ।
नेपालमा मानसिक रोग र समस्याहरूका बारेमा गुपचुप बस्ने नराम्रो अभ्यास छ। त्यसैले मानसिक रोगका विशेषज्ञ चिकित्सकहरू प्रशस्त हुँदाहुँदै पनि मानसिक रोगीहरूको ठूलो संख्या आवश्यक उपचार र परामर्शबाट वञ्चित छ।
एमबिबिएस पढ्ने बेला मनोरोग विभागको पोस्टिङपछि हामीलाई लागेको थियो — सामान्य वा स्वस्थ मस्तिष्कले कसरी काम गर्छ भनेर बुझ्न त मानसिक रोगहरूबारे पो जान्नुपर्दो रहेछ त! मानिसले अँध्यारो भोगेपछिको उज्यालोको महत्व बुझ्छ त!
त्यसै गरी आम सिने पारखीका रूपमा पनि मानसिक रोगमाथि बनेका राम्रा फिल्मले हामीलाई मानिसको स्वस्थ मनोविज्ञानका अनेक आयामहरूबारे बुझ्न बाँकी फिल्महरूले भन्दा धेरै सघाउँछन् जस्तो मलाई लाग्छ।
फेस्टिभलस्कोप नामक वेबसाइटमा बर्सेनि लाग्ने सेप्टेम्बर सिनेमा उत्सवमा 'क्याभिये' शीर्षक फ्रेन्चभाषी सिनेमा हेर्दै गर्दा मलाई लागिरह्यो — यसले त मानसिक रूपमा विक्षिप्त मानिसहरूको बहाना बनाएर सिंगो मानिस जातिको भविष्यको ऐना पो देखाइरहेको छ त!
माथि उल्लिखित तीनै सिनेमामा मुख्य पात्रको मानसिक रोगको वरिपरि कथा घुमेको छ। तर क्याभियेमा एउटा साधारण मानिस असाधारण गाउँमा पुग्छ जहाँ सबै मानिस विक्षिप्त छन् वा आआफ्ना भ्रान्तिमा बाँचिरहेका छन्। तिनको मानसिक संसार यथार्थबाट पूर्ण रूपमा विच्छेदित छ।
सिनेमामा सद्दे मूल पात्र एक ठाउँ ठाउँमा डुलेर प्रस्तुति दिने कलाकार युवक छ। अचम्मको गाउँमा जसको घरमा उनी बास बस्छन्, त्यहाँको मालिकले उनलाई आफ्नी दशकौं पहिले मरेकी वा बेपत्ता भएकी श्रीमती ठान्छ र अब सदाका लागि आफैंसित राख्न खोज्छ। त्यसका लागि ऊ उनलाई बन्धक बनाउन र जस्तोसुकै हिंसा गर्न पनि तयार छ।
लियो तोल्स्तोयको प्रख्यात उपन्यास अन्ना करेनिनामा झनै प्रख्यात पहिलो वाक्य छ — सबै खुसी परिवार उस्तै किसिमले खुसी हुन्छन्, हरेक दुःखी परिवार आआफ्नो तरिकाले दुःखी हुन्छ। जसरी यथार्थमा बाँच्ने सबै मानिसको एउटै यथार्थ हुन्छ, तर भ्रममा बाँच्नेहरूका आआफ्नै अलग अलग भ्रमहरू हुन्छन्।
क्याभियेमा पनि सबै विक्षिप्त पात्रहरूका आआफ्नै अलग संसार छन् जुन, बेलाबेलामा एक अर्कासित ठोक्किन्छन्। अन्यथा समानान्तर चलिरहन्छन् तर एकाकार हुँदैनन्।
परिणाम — सद्दे मूल पात्र भ्रम र भ्रान्तिको एउटा संसारबाट भाग्दै अर्कोमा ठोक्किँदै गर्छ। तर त्यहाँ उसले यथार्थको संसारबाट ल्याएको तर्क, वितर्क र बहसको कुनै अर्थ रहँदैन। एउटापछि अर्को बर्बर अग्नि परीक्षाबाट गुज्रिनुको ऊसित विकल्प रहँदैन।
फेब्रिस डु वेल्ज निर्देशित यो सिनेमाको कथा लेख्ने मानिसको राजनीतिक विचार के छ वा उनले यो सिनेमालाई आजको विश्व राजनीतिको विम्बका रूपमा परिकल्पना गरेका हुन् वा होइनन् भन्ने मलाई थाहा छैन।
तर सिनेमामा भ्रान्तिको संसारसित मूल पात्रले ठक्कर खान सुरू गर्नासाथ मलाई महसुस भयो कि, यो हाम्रो समयमा मानिसहरूका मगजमा चलिरहेको तुफान र त्यसले समाजमा सिर्जना गरिरहेको विसंगत अवस्थाको उत्कृष्ट कमेन्ट्री बन्न सक्छ।
केही समय पहिले अमेरिकाको आयोवा राज्यको एउटा टेलिभिजनमा क्रिस ग्लोनिंगर नामक मानिस पुगे। उनको काम थियो टिभीमा मौसमबारेको बुलेटिन तयार गरेर प्रस्तुत गर्ने। उनले जीवनभर त्यही काम गरेका थिए।
उनको काम यो चक्रवात वा आँधीले यति गतिको हावा चल्न सक्छ र यति पानी पार्न सक्छ भन्नु मात्रै थिएन, पछिल्ला दशकहरूमा जलवायु परिवर्तनका कारण यस्ता विपत्तिको संख्या र विनाश कसरी बढ्दैछ भनेर मानिसहरूलाई बुझाउनु पनि थियो।
यो वैज्ञानिकहरूले दशकौंदेखि भन्दै आएको स्थापित तथ्य हो। तर आयोवाको टिभीमा मौसमसित आक्कलझुक्कल जलवायु परिवर्तन जोड्नासाथ ग्लोनिंगरलाई जहाँ भेट्यो, त्यहीँ हत्या गर्ने धम्की दिन थाले मानिसहरूले।
कारण — उनीहरूका विचारमा जलवायु परिवर्तन भन्ने कुरै छैन, यो त विपक्षी पार्टी र उदारवादीहरूले फैलाएको हौवा मात्रै हो। उनीहरूका विचारमा कुनै आँधीलाई हुँदै नभएको जलवायु परिवर्तनसित जोडेर ग्लोनिंगरले अक्ष्यम्य अपराध गरे, जसका लागि मृत्युदण्ड उचित सजाय हो।
त्यसैले उनीहरू बरू हुलाकीलाई मार्न तयार छन्, तर उसले बोकेर ल्याएको सत्य ग्रहण गर्न तयार छैनन्।
अब भन्नोस् — गाउँमा नयाँ आइपुगेको युवकलाई आफ्नी दशकौं पहिले बितिसकेकी श्रीमती देख्ने सिनेमाको पात्र र निरन्तर बढिराखेका विपत्तिबाट बरू मर्न तयार हुने तर तिनका कारणबारे वैज्ञानिकका कुरा नपत्याउने बरू उल्टै मौसम भन्ने मानिसलाई ज्यानको धम्की दिइ दिइ लखेट्ने मानिसहरूमा के फरक छ?
मानव समाजमा यस्ता भ्रम र षड्यन्त्र कथाहरू हजारौं वर्षदेखि चलिआएका छन्। प्रिन्टिङ प्रेस, रेडियो र टेलिभिजनको विकाससँगै यस्ता भ्रम र षड्यन्त्र कथामा हजारौं वा लाखौं मानिसहरू फस्न सम्भव भएको थियो। तीमध्ये यहुदीहरूविरूद्ध इसाइ समाजहरूमा सयौं वर्षसम्म प्रिन्टको मद्दतले फैलिएका षड्यन्त्र कथाहरूले अन्ततः बीसौं शताब्दीका भीषण नाजी नरसंहारहरूको पृष्ठभूमि बनाएका थिए।
कतिसम्म भने जर्ज सोरोसजस्ता यहुदी धनाढ्यहरूले संसार चलाउँछन् भन्ने अहिले विश्वभर उग्र वाम र उग्र दक्षिणपन्थी कित्ताहरूमा व्याप्त षड्यन्त्र कथाको जरोसमेत शताब्दीयौं अगाडिसम्म जान्छ। त्यसैले ठूलो संख्याका मानिसहरूमा एकै साथ स्थापित हुने सामूहिक भ्रान्ति वा दिग्भ्रम डरलाग्दो कुरा हो। यस्ता भ्रान्तिको खेती गर्नेहरू अक्सर तिनलाई फैलाउन आफनो समयमा लोकप्रिय प्रविधि प्रयोग गर्नमा खप्पिस हुन्छन्। जसरी सन् १९९४ को रूवाण्डामा हुतु मिलिसियाका नेताहरूले रेडियोको प्रयोग गरेर शताब्दीकै तीव्र नरसंहार गरेका थिए।
हामी देखिरहेका छौं — आजको विश्वमा जर्मनीको नाजी सत्ता र रूवाण्डाको हुतु मिलिसिया परास्त भइसकेका छन्। तर तिनको ठाउँ देशैपिच्छे र समाजैपिच्छे त्यस्ता शक्ति केन्द्रहरूले लिएका छन् जसले एकतिर हत्या र हिंसाको कहर त मच्चाइरहेका छन्। अर्कोतिर सामाजिक सञ्जाल प्रयोग गरेर आफूलाई मसिहा वा उद्धारकर्ताको छवि बनाउन सफल छन्।
मानिसले बिस्तारै आँखाले देखेको यथार्थभन्दा बढी दिमागमा कसैले भरिदिएको षड्यन्त्र कथालाई विश्वास गर्ने अवस्था बन्दै गएको छ। राजनीतिमा नेताहरूले आफ्नो स्वार्थ अनुकूलका संकथनहरू बनाउँदै र तिनैलाई सार्वभौम सत्य भनेर बेच्दै गइरहेका छन्। तिनका भक्तहरूले तिनलाई पत्याउँदै मात्रै होइन, नपत्याउनेहरूमाथि हिंसा गर्ने अवस्था बन्दै गइरहेको छ।
कुनै पनि नयाँ सूचनाको निष्पक्ष जाँच गरेर गुणदोषका आधारमा ग्रहण वा त्याग गर्ने क्षमता सामूहिक रूपमै लोप हुँदो छ। संसार जति जति हिंसाग्रस्त र भयावह बन्दैछ, मानिसहरू मानसिक शान्तिका लागि झन् भन्दा झन् अतिवादी षड्यन्त्र कथाहरूका वरिपरि बन्ने आधुनिक कबिलाहरूमा संगठित हुँदैछन्।
मानिसका आस्था अनुसारका तर्क मात्रै छैनन्, तथ्य नै छन्। मानिसहरूबीच विचार मात्रै होइन, ती विचार उभिनुपर्ने धरातल नै फरक छन्। त्यसैले मानिस दुई पक्षबीच पुल बनाउन वा साझा धरातल खोज्न हैन अर्को पक्षलाई गिराएर आफू मात्रै सही हुन उद्यत छन्।
परिणाम — क्याभियेको गाउँमा जस्तै मानिसहरूका भ्रमका संसार यदाकदा ठोक्किने त गर्छन् तर तिनले विरलै समान धरातल भेट्छन्।
यो सबको अन्तिम परिणाम?
आजको दिनमा संसारभर सबै जसो देशका लोकतन्त्रहरू यस्तै भ्रम र षड्यन्त्र कथाहरूका बन्धक बनेका छन्। मतदाताहरू षड्यन्त्र कथाका अन्तहीन मुसे दुलाहरूमा झन् भन्दा झन् पर धकेलिइरहेका छन्। वाक्यपिच्छे जस्तो झुट बोल्ने डोनाल्ड ट्रम्प अमेरिकाजस्तो देशको राष्ट्रपति बनेर एक कार्यकाल काम गरिसकेका छन् अनि फेरि चार वर्षका लागि उनी राष्ट्रपतिमा फर्किने सम्भावना ५० प्रतिशत हाराहारी छ अहिले।
आजको संसारमा ऊ नै शक्तिशाली बन्दैछ जसले प्रभावकारी रूपमा आफ्नो स्वार्थ अनुकूलका भ्रम र षड्यन्त्र कथाहरू फैलाउन सक्छ।
जस्तो कि अमेरिकाको स्यान्डी हुक इलेमेन्ट्री स्कुलमा सन् २०१२ मा भयानक गोलीकाण्ड भयो जसमा २० जना ६-७ वर्षे बालबालिकाको ज्यान गयो। तर त्यो गोलीकाण्ड नभई कलाकारहरूले अभियान गरेको षड्यन्त्र थियो भनेर अलेक्स जोन्स नामक उग्र-दक्षिणपन्थी अभियन्ताले प्रचारवाजी सुरू गरे। इन्फोवार्स नामक उनको च्यानलले मुख्यतः यही सनसनीपूर्ण षड्यन्त्र कथाको बलमा सन् २०१२ र २०२२ को बीचमा विज्ञापनबाट आधा अर्ब डलर कमाइ गर्यो। उनीजस्ता मुठ्ठीभर मानिसहरूले साढे सात करोड अमेरिकीहरूलाई उक्त गोलीकाण्ड फर्जी थियो भनेर विश्वस्त गरे। जबकि यत्रतत्र हत्या भएका बालबालिकाहरूका मायालाग्दा अनुहार र तिनका भावविह्वल बाबुआमाका भिडिओहरू मिडियामा थिए।
मानिसको सामूहिक विक्षिप्तताले ल्याउने अवस्थाको गजबको विम्बका लागि हेर्नुहोस् यही अक्टोबर १६ सम्म मात्रै हेर्न मिल्ने सेप्टेम्बर उत्सवमा सूचीकृत क्याभिये लगायत पाँच आख्यान फिल्म र पाँच वृत्तचित्र यस पटकको दसैंका लागि मैले यो भिडिओमा सिफारिस गरेको छु। सबै फिल्महरूका लिंक भिडिओको डिस्क्रिप्सनमा छन्ः
अघिल्लो वर्ष मैले सिफारिस गरेका पाँच छोटा र पाँच लामा फिल्महरूका लागि पढ्नुहोस्ः
दसैं-तिहारमा हेर्नुहोस् यी ५ छोटा, ५ लामा फिल्म (लिंकसहित)
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)