'तपाईँहरूको मौसम पूर्वानुमान फलानो प्रदेशमा फाटफुट वर्षा हुन सक्छ, फलानो प्रदेशको कतै कतै मध्यम वर्षा हुन सक्छ, फलानो प्रदेशमा पहाडी भागमा भारी वर्षा हुनसक्छ भन्ने खालको हुन्छ। अलि अस्पष्ट हुन्छ। यसलाई अलि केन्द्रित गरेर फलानो पालिका वा फलानै ठाउँ भन्न सकिँदैन? स्थान-विशेषको पूर्वानुमान गर्न सकिँदैन?'
अचेल जल तथा मौसम विभागमा काम गर्ने म र मेरा सहकर्मी फोरकास्टर (मौसमविज्ञ) हरूले सुनिरहनुपर्ने प्रश्न हो यो। दुई दशकअघि उच्च शिक्षा पूरा गरेर मैले यहाँ करिअर सुरू गर्दा अहिले जस्तो प्रश्नको सामना गरिरहनुपर्दैन थियो। मौसम पूर्वानुमानलाई खासै विश्वास नगर्ने वा मजाकका रूपमा लिने चलन थियो। अचेल व्यापक चासो दिएर धेरै प्रश्नहरू सोधिन्छ। हामीलाई भरोसा गरेर सोधिने यस्ता प्रश्न नै हाम्रा लागि ऊर्जा र उत्प्रेरणा हो।
अघिल्लो साता नेपालमा ठूलो विपत्ति भयो। विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशमा परेको भीषण वर्षाले ठूलो जनधनको क्षति गर्यो। यो लेख लेख्दासम्म २३९ जनाको मृत्यु र १९ जना हराइरहेका छन्। मौसम पूर्वानुमान क्षेत्रमा काम गर्ने हुनाले यो घटनाले हामीलाई थप दुःखी तुल्याइरहेको छ।
हामीले त हामीसँग उपलब्ध प्रविधि, क्षमता, जनशक्ति, स्रोत र साधनको अधिकतम प्रयोग गरी जिल्लागत रूपमा प्रतिकार्य गर्ने, सतर्क र तयार रहने, अद्यावधिक रहने, कस्तो खालको वर्षा हुने र सोही अनुसारको बाढीको अलर्ट जारी गरेका थियौं।
यसैबीच प्रधानमन्त्रीज्यूले अमेरिकाबाट फर्केको दिन त्रिभुवन विमानस्थलमा पत्रकारसँगको अन्तर्क्रियामा 'फोरकास्ट, रेड अलर्ट, पहिरो, बाढी, डुबान' सम्बन्धी दिएको अभिव्यक्तिले पूर्वानुमानको महत्त्व अझ हाइलाइट गरिदिनुभएको जस्तो लाग्यो मलाई। मौसम पूर्वानुमान ठ्याक्कै कहाँ, यो पालिका वा यो टोलमा, गाउँमा भन्न सकिने खालको छ त भन्ने मुद्दालाई बहसमा ल्याइदिनुभयो। यसबारे गहिराइमा बहस गर्न जरूरी छ।
मौसम पूर्वानुमान विज्ञानको आफ्नै अन्तरनिहित सीमा तथा चुनौती हुन्छन्। विकसित देशहरूले पनि यो चुनौती सामना गरिरहेका छन्। तर, विश्वव्यापी रूपमा जल तथा मौसम विज्ञानको विकास, यो विधाका जनशक्तिको निरन्तर प्रयासबाट हासिल भएको ज्ञान तथा यथेष्ट लगानीले त्यो केही हदसम्म सम्भव भएको छ।
त्यसका लागि कति जनशक्ति, कस्तो प्रविधि, कस्तो अनुसन्धान, सञ्चार प्रणाली र पूर्वाधार विकास हुनुपर्छ भन्नेबारे चर्चा गरौं।
यसलाई एउटा उदाहरणबाट बुझाउँछु।
पत्थरीको शल्यक्रियालाई अहिलेको मेडिकल साइन्सले सामान्य शल्यचिकित्सा नै मान्छ। तर त्यसमा पनि सर्जनले बिरामीलाई बेडमा सुताएर चिर्न थालिहाल्छन् त?
थाल्दैनन्।
उनले रेडियोलोजी, प्याथोलोजी, फिजिसियन, एनेस्थिसियाका डाक्टरहरूबाट विभिन्न सूचना संकलन गर्छन्। त्यसपछि विभिन्न प्रविधि, डाक्टरहरू र नर्सको सहायता लिएर मात्र उपयुक्त कक्षमा सफल अपरेसन गर्न सक्छन्।
मौसम विज्ञान पनि त्यस्तै विधा हो।
जल तथा मौसम विज्ञान पढेकाले विभिन्न मोडलहरू प्रयोग गरी पूर्वानुमान गर्ने हुन्। विश्वविद्यालयको पढाइ, अनुसन्धान र व्यावसायिक तालिमले हामीलाई मौसमको तथ्य विश्लेषण गर्न दक्ष मात्र बनाएको हुन्छ। यस सम्बन्धी जति धेरै तथ्यांक पायौं, त्यति भरपर्दो पूर्वानुमान गर्न सक्छौं।
वरिपरिको मौसमको सूचना चाहिन्छ नै। झन्डै दुई हजार किलोमिटर टाढाको बंगालको खाडीको मौसम प्रणाली त हाम्रो मनसुन विश्लेषणको जग नै हो। झन्डै तीन हजार किलोमिटर टाढा अरब सागरमा के भइरहेको छ, त्यो थाहा पाउन उत्तिकै जरूरी छ। भूमध्य सागरको मौसम प्रणालीको विश्लेषण पनि त्यत्तिकै आवश्यक हुन्छ। उत्तरतिर चीनको मौसम प्रणालीलाई पनि चौबीसै घन्टा नियालिरहेका हुन्छौं।
पूर्वानुमान विश्लेषण गर्न वायुमण्डलमा १५/२० किलोमिटर माथिसम्मको अवस्थाबारे जानकारी लिन जरूरी हुन्छ। संसारका विकसित देशहरूले त आफ्नै स्याटलाइट तथा अन्य उपकरणबाट आफूलाई चाहिने यस्ता सूचना प्राथमिकता साथ लिइरहेकै हुन्छन्। यी सबै ज्ञानसहित स्थानीय अनुभव, देश/ठाउँको मौसमी प्रणालीहरूको रैथाने विशेषता र वैज्ञानिक सूचना पनि मौसम पूर्वानुमानका लागि थप खजाना हुन्।
यी सबै तथ्यांक र सूचना विश्लेषण गर्न शक्तिशाली कम्प्युटरहरू र नवीन सूचना तथा प्रविधिको प्रयोग हुन्छ।
नेपालमा मौसम मापन गर्न थालिएको १०३ वर्ष भयो। सन् १९२१ मा बेलायतको दूतावासले लैनचौरमा मौसम मापन सुरू गरेको थियो। सन् १९६६ मा नेपालले विश्व मौसम संगठनको सदस्यता लियो। यसपछि मात्रै जलस्रोत तथा जलवायु विज्ञान विभाग अन्तर्गत जल तथा मौसम मापनको काम व्यवस्थित रूपमा सुरू भयो। हाल हामी तथ्यांक संकलन सहित मौसम पूर्वानुमान, हवाइ मौसमी सेवा, कृषि हावापानी सेवा, बाढी पूर्वानुमान, जलवायु सेवा लगायत काममा केन्द्रित छौं।
मौसम पूर्वानुमान गर्न सबभन्दा पहिला हावाको अवस्था थाहा पाउनुपर्छ। हावाको अवस्था थाहा पाउन ४-५ वटाभन्दा बढी मौसम अवयवहरूको विश्लेषण गर्नु पर्छ। जमिन सतहदेखि वायुमण्डलको १५/२० किलोमिटर माथिसम्म हावाको तह तह अध्ययन गरेर मात्र भरोसा लाग्ने पूर्वानुमान गर्न सकिन्छ। १५ वर्षअघिसम्म वायुमण्डलको तहगत विश्लेषण कागजको चार्टहरूमा रेखांकन गरिन्थ्यो। हाल सतहको बाहेकमा कागजी चार्टहरूको साटो मौसम मोडलहरू प्रयोग गरिन्छ।
कागज होस् वा मोडल, मौसम विश्लेषणका लागि तथ्यांक अपरिहार्य हुन्छ। जलवायु सेवाका लागि पनि तथ्यांक जग नै हो। तथ्यांक संकलन गर्न हामीले देशका विभिन्न ठाउँमा अवलोकन केन्द्रहरू स्थापना गरेका छौं। विभिन्न थरीका लगभग पाँच सयवटा केन्द्रहरू छन्।
झट्ट सुन्दा यो संख्या धेरै जस्तो लाग्न सक्छ। तर हाम्रो भौगोलिक विविधताका कारण जलवायु सेवाका लागि यो संख्या थोरै हो। मौसम पूर्वानुमानकै लागि चाहिँ नेपालका १६ वटा सो किसिमको केन्द्रहरू प्रयोग हुन्छन्।
हिमाल, पहाड, तराई, धेरै खालका उपत्यका, खोँच, थुम्का, भञ्ज्याङ, फेदी, लेक, बेँसीले देशलाई चिटिक्क बनाएका छन्। तर मौसम पूर्वानुमानका हिसाबले यी सबै चुनौती हुन्। त्यसैले त हात्तीवनमा पानी परिरहँदा हात्तीसारमा टन्टलापुर घाम लाग्न सक्छ र हात्तीगौंडामा धुम्म हुन सक्छ।
यसको अर्थ के भने, जति थोरै दुरीमा यस्ता केन्द्र राख्न सकियो, नियमित सञ्चालन राख्न सकियो, त्यति नै धेरै तथ्यांक प्राप्त हुन्छ र मौसम मोडललाई भरपर्दो बनाउन सकिन्छ। पूर्वानुमान थप विश्वसनीय बनाउन सकिन्छ।
मौसम मोडलहरूलाई ऋतुअनुसार मिलाउन बाँकी नै छ।
अवलोकन केन्द्रमध्ये अहिले हामीसँग 'रेडियोसोन्ड' केन्द्र एउटा मात्रै छ, काठमाडौंको कीर्तिपुरमा। त्यहाँबाट प्रत्येक दिन बिहान ५:४५ बजे एउटा बेलुन उडाइन्छ। त्यो बेलुनमा एउटा सेन्सर जोडिएको हुन्छ। यसले सतहदेखि उपल्लो वायुमण्डलको तह तहको सूचना हामीलाई पठाउँछ। ३०/३२ किलोमिटर माथि पुगेपछि बेलुन फुट्छ।
संसारका सबैजसो देशमा यो बेलुन दिनको दुईपटक उडाइन्छ। विश्व मौसम संगठन (डब्लुएमओ) को मापदण्ड पनि त्यही हो। एकपटक उडाउन यो उपकरणमा मात्रै २५० युरो जति खर्च हुन्छ। त्यो भनेको ३७ हजार रूपैयाँभन्दा धेरै हो। त्यसकै जोहो हुन नसकेर हामीले दिनमा एकपटक उडाएर काम चलाइरहेका छौं। यस्तो बेलुन उडाउने केन्द्र कम्तीमा सुदूरपश्चिम र कोशी प्रदेशमा पनि हुन जरूरी छ। यसो गर्न सके पनि हाम्रो मौसम पूर्वानुमानको गुणस्तर बढाउन सकिन्थ्यो।
हामीले दक्ष जनशक्तिको अभाव पनि सधैं भोग्नुपरेको छ। ३७ वर्षअघि जल तथा मौसम विज्ञान विभाग खडा हुँदा जति दरबन्दी थियो, त्यतिकै भरमा अहिले पनि मौसम पूर्वानुमान गरिरहेका छौं।
जस्तो, उति बेला मौसम पूर्वानुमान शाखामा पाँच जना अधिकृत स्तरका सहकर्मी थिए। अहिले पनि यति नै छौं। त्यति बेला र अहिलेको मौसम पूर्वानुमानको माग जगजाहेर छ। हामीले मौसमजन्य बहुप्रकोपीय पूर्वानुमान प्रवाह व्यवस्थित बनाउन सकेका छैनौं। आँधीहुरी, असिना, हिमआँधीको पूर्वानुमान गर्न धेरै काम गर्नुपर्छ। पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य, कृषि जस्ता क्षेत्रका लागि मौसम पूर्वानुमानको माग बढ्दो छ।
हामीले सीमित स्रोतसाधनमा उच्चतम प्रतिफल दिने प्रयत्न सधैं गरेका छौं। हामीले दिइरहेको सेवाको मात्रा र गुणस्तर पनि जगजाहेरै छ।
तर यो प्रस्ट छ, हाम्रो कामको भारी निकै बढेको छ। सेवा व्यवस्थित गर्न जनशक्ति अभाव छ। तापक्रम, वायुको चाप, सापेक्ष आर्द्रता, हावाको गति र दिशा, बादलको मात्रा र प्रकार जस्ता अनेक मौसमी अवयवहरूको सुक्ष्म विश्लेषणका लागि विज्ञको अभाव दिनहुँ खट्किरहन्छ। भारत, चीन र जापानले अपडेट गरिरहने स्याटलाइट दृश्यहरूमा हाम्रा आँखा जतिखेरै पुर्याउनैपर्छ। यति धेरै अध्ययन र विश्लेषणपछि कुनै निष्कर्षमा पुगेर आफै विश्वस्त भएर पूर्वानुमान गर्नुपर्छ।
पर्वतीय मौसम प्रणालीको हिसाबले नेपाल पृथक छ। हाम्रो स्थानीय हावापानीको बानीबेहोरा मिहिन ढंगले बुझ्न पनि उत्तिकै जरूरी छ। यो ज्ञान नहुनु वा कम हुनु मौसम पूर्वानुमानका लागि ठूलो चुनौती हो। यसका लागि अनुसन्धान अपरिहार्य हुन्छ। अनुसन्धानको निष्कर्ष पछ्याएर हामी आफैले हाम्रो जलवायु सुहाउँदो मोडल विकास गर्न सक्यौं भने पूर्वानुमान झन् धेरै मिल्न सक्थ्यो।
तर हामीकहाँ मौसम विज्ञान सम्बन्धी अनुसन्धानमा केही उल्लेख्य काम भएकै छैन। राज्यले पनि प्राथमिकता दिएको छैन। सबै सरजाम जोहो हुने हो भने ७ दिने, १० दिने, स्थान-विशेष पूर्वानुमान गर्न सकिन्छ।
भारत सरकारले मनसुनको समय पारेर 'मिसन मौसम' शीर्षकमा यही सेप्टेम्बरमा भारू दुई हजार करोड (३२ अर्ब रूपैयाँ) छुट्ट्यायो। यो मिसन अन्तर्गत उच्च क्षमताका कम्प्युटर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ, राडार र रिमोट सेन्सिङ जस्ता आधुनिक प्रविधि प्रयोग गर्दै मौसमको सटिक विश्लेषण र अनुसन्धान गरेर प्रभावकारी पूर्वानुमान गर्ने लक्ष्य छ। यसले भारत मौसम विज्ञान विभाग र सो विज्ञान सम्बन्धी अनुसन्धान गर्ने संस्थानमा लगानी गर्नेछ।
हामीकहाँ पनि राज्यले यो क्षेत्रलाई प्राथमिकता दिन जरूरी छ। रणनीतिक रूपमा यसरी नै मिसन लिएर विज्ञान र सेवामा लगानी गर्न जरूरी छ। बर्सेनि बढ्दै गएको विषम मौसमी घटना र यसका दुष्परिणाम कम गर्न मौसम पूर्वानुमान, त्यसको प्रचारप्रसार र सरोकारवालासँगको सहकार्यमा लगानी बढाउन आवश्यक भइसकेको छ।
सबभन्दा पहिले त अहिले भएका उपकरणको पूर्ण र निरन्तर सञ्चालनलाई प्राथमिकता दिनुपर्छ। जडान भइसकेका राडार पूर्ण सञ्चालनमा ल्याउन स्रोत, साधन र क्षमता अभिवृद्धि गर्न यसमा लगानी हुनुपर्छ। राडार, स्याटलाइटबाट संकलित तथ्यांक, सूचना विश्लेषण गर्न आवश्यक कम्प्युटर तथा प्रविधिमा नियमित लगानी उत्तिकै जरूरी छ। बेलुन उडाउने जस्तो कामलाई कम्तीमा दुई पटक गरिहाल्नुपर्छ। अनि यस्ता केन्द्र विस्तार पनि हुनुपर्छ।
रैथाने मौसम र जलवायु प्रणालीहरू बुझ्न यस विज्ञान सम्बन्धी अनुसन्धान थाल्नुपर्छ। यो काम ज्यादै ढिला भइसकेको छ। यसले उत्पन्न गर्ने विषम घटनाहरूको क्रम बढ्दो छ र यसको तुलनामा हाम्रो बुझाइ थोरै भइरहेको वा पछि परिरहेको छ। यो सबै काम गर्न जनशक्तिमा लगानी गर्न उत्तिकै जरूरी छ।
अन्त्यमा, दुई दशकअघि मैले यहाँ काम सुरू गर्दा र अहिलेको अवस्थामा के भिन्नता छ त भन्दा, त्यति बेला मौसम पूर्वानुमानका प्रविधि, उपकरण र क्षमतामा हामी धेरै पछाडि थियौं। २०५९ सालमा काठमाडौं, धादिङ, चितवन र मकवानपुरमा अहिलेजस्तै प्रलय नै आएको थियो। तर पूर्वचेतावनी खासै सुरू भएको थिएन। पानी परिसकेपछि वर्षाको मात्राबारे जानकारी दिनु नै हाम्रो प्रमुख काम जस्तो थियो। त्यसलाई आधार मान्ने हो भने यसबीचमा हामीले केही न केही फड्को मारेकै छौं।
माथि चर्चा गरेजस्तै सहयोग, समन्वय र लगानीको वातावरण बन्यो भने फेरि अर्को फड्को मार्न सकिन्छ। आवश्यक पर्दा जिल्ला वा पालिका केन्द्रित पूर्वानुमान गर्न सक्ने सामर्थ्य पनि हामी विकास गर्न सक्छौं। मौसम पूर्वानुमान विज्ञानका सीमा र चुनौती बुझाउँदै, व्यवस्थापन गर्दै आम नागरिकदेखि मुलुकको प्रमुख कार्यकारीले अपेक्षा गरे अनुरूप पूर्वानुमान गर्न सक्छौं। पूर्वसूचना दिन सक्छौं।
(लेखक अर्चना श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक हुन्।)