पहिले प्रारम्भिक बाल्यकाल र शिक्षालाई सहजै लिइन्थ्यो। केटाकेटीलाई हुर्काउनु र सिकाउनु सरल प्राकृतिक क्रममा आउँथ्यो।
तर आज यो सबै परिवर्तन भएको छ।
अहिले प्रारम्भिक बाल्यकाल र शिक्षा जटिल हुँदै गएको छ। आजभन्दा केही दशक अघिका र हालका पूर्वप्राथमिक तह अनौपचारिक क्षेत्र भए पनि यिनका शैक्षिक पहुँच जटिलतम हुँदैछन्।
किन यस्तो भइरहेको छ? यसका निहितार्थ के होलान्? सन्तुलित बालविकास कस्तो हुन्छ? प्रि-स्कुल र बालशिक्षालाई अब सहज रूपमा लिन सकिन्छ वा सकिँदैन?
प्रारम्भिक शिक्षाको विषय हाल स्कुलको मात्र प्रत्यक्ष चुनौती रहेन। अहिलेको समाजमा अभिभावकत्व पनि कठिन हुँदै गएको छ र अभिभावकले पनि यी परिवर्तन स्वीकार गर्नुपर्ने दबाब सिर्जना हुँदै गएको छ। त्यस अनुसार कुनै समयमा खासै नसुनिएका अभिभावक शिक्षाका कार्यक्रम पनि क्रमशः देखा पर्न थालेका छन्।
यो लेखमा यिनै पेचिला कुराहरूको आधारभूत छलफल तीन पाटाहरूमा गर्नेछु।
पहिलो पाटोमा सानो सैद्धान्तिक पृष्ठभूमि छ।
भविष्यवादी चिन्तक अल्भिन टोफ्लरको प्रकाशित एक रोचक पुस्तक भविष्यका झट्का (फ्युचर सक) ले समाजशास्त्रसँग ठाडो सम्बन्ध राख्छ।
उनी भन्छन् — द्रुत गतिमा परिवर्तन भइरहेका विज्ञान, प्रविधि, सामाजिक गतिशीलता, आर्थिक, सांस्कृतिक परिवर्तनले हामीलाई झट्का दिनेछन्। किनभने, हामीले सोचेभन्दा छिटो र परिवर्तनसँग अनुकूलित हुन नपाउँदै समाजशास्त्रीय गतिले ल्याएको रूपान्तरणले हामीलाई दिग्भ्रमित पार्नेछ।
पूर्वप्राथमिक शिक्षालाई यसको एक उदाहरणका रूपमा लिन सकिन्छ।
टोफ्लर भन्छन् — यस्ता परिवर्तनहरू भविष्यले गरेका समसामयिक आक्रमण हुन् र यिनलाई हामीले गर्ने प्रतिक्रियाले हाम्रो भविष्य निर्धारण गर्नेछ।
मनोवैज्ञानिक युरी ब्रोनफेनब्रेनरको परिस्थितिक प्रणाली (इकोलोजिकल सिस्टम्स थ्योरी) मा भन्छन् — बालबालिकाको विकासलाई उनीहरू रहेको वातावरणका पाँचवटा तहले प्रभावित गर्छन्। पहिलो तहमा परिवार र स्कुलले बालबालिकामा पार्ने प्रत्यक्ष प्रभाव छन्।
यी पाँच सामाजिक तहहरूमा सामाजिक, आर्थिक र अन्य बाह्य विश्व सन्दर्भहरूका कारण परिवर्तन आउँछ। यसले गर्दा बालबालिकाका शिक्षाका प्रारूप र अभिभावक दायित्व स्वतः परिवर्तित हुन्छन्। यसले दीर्घकालीन प्रभाव गर्छ, शैक्षिक उन्नयन र मानव विकासमा सघाउ पुर्याउँछ।
अहिले ती तहको गतिशीलतालाई शिक्षाले विविध पक्षबाट सम्बोधन गर्न खोज्दा पनि पूर्वप्राथमिक शिक्षा जटिल बनेको हुन सक्छ।
फ्रबेलको किन्डरगार्टेनबाट सुरू भएको बाल शिक्षा मन्टेसोरी, स्टाइनर, रेजीयो इमिलिया, हाइस्कोप हुँदै परिमार्जित इमर्जेन्ट जस्ता अन्य थुप्रै अवधारणाले पूर्वप्राथमिक शिक्षालाई आम मानिसले सजिलै बुझ्न र समात्न नसकिने बनाएको छ। यसको टुप्पा र हाँगाबिँगा अझै झाँगिदै छन्।
यति मात्र होइन, प्रारम्भिक बाल विकासका सिद्धान्त, प्रगतिशील शिक्षामा भइरहेका बृहत् अनुसन्धान, यसबाट प्रकट भएका ज्ञान क्षेत्रले दिएका अनेक विकल्पले पूर्वप्राथमिक शिक्षाको क्षेत्रलाई विस्तृत बनाएको छ।
यसबाट पनि जटिलता र व्यावहारिक कार्यान्वयनका चुनौती थपिएका छन्।
यसले शिक्षा क्षेत्रमा एक खरो प्रश्न सिर्जना गर्छ — हामीले प्रारम्भिक शिक्षालाई जटिल बनाउनुपर्छ कि सरलीकरण गर्नुपर्छ?
यो प्रश्न मैले पाठक समक्ष नै राखेँ।
दोस्रो पाटोमा, हालसम्मका अनुसन्धान र खोजले प्रारम्भिक बाल्यकाल विकास र शिक्षामा निर्क्यौल गरेका आधारभूत विचारहरू र यसको सन्तुलन सम्बन्ध हेरौं।
प्रारम्भिक शिक्षालाई चार प्रमुख घटकको सन्तुलन मानिन्छ — शारीरिक, संज्ञानात्मक, भाषिक-सामाजिक तथा भावनात्मक विकास।
यदि हामीले कुनै पनि पूर्वप्राथमिक शिक्षाका कार्यक्रमलाई गहिरिएर हेरेमा तिनैलाई फरक किसिमका दर्शन वा दृष्टिकोणका आधारमा संयोजन गरिएको हुन्छ। त्यसैले हरेकका प्रक्रिया, शिक्षणपठन शैली, शिक्षक भूमिका र लक्ष्य फरक हुन्छन्।
उदाहरणका लागि, मरिया मन्टेसोरीले बालबालिकाको जिज्ञासा र प्राकृतिक स्वनिर्देशनलाई आधार मानेर शिक्षा दिनुपर्ने बताउँछिन् र त्यसका लागि सही वातावरण निर्माणमा जोड दिन्छिन्।
लोरिस मालागुत्जीले प्रवर्तन गरेको रेजियो इमिलियामा बालबालिकालाई उत्सुक र क्रियाशील शिक्षार्थीको छवि मानिन्छ र उनीहरूको अभिरूचि र स्वभाव अनुरूप कार्यक्रम निर्माण गरिन्छ। उनको विख्यात कविता, बालबालिकाका सयौं भाषा (द हन्ड्रेड ल्यांग्वेजेज अफ चिल्ड्रेन) ले यस शिक्षालाई प्रेरित गरेको छ।
उपर्युक्त दुइ विश्वमा चलेका शिक्षा कार्यक्रममा भित्रता भनेको यिनको दार्शनिक पक्ष हो।
मन्टेसोरी पहुँच वैज्ञानिक अवलोकन र व्यक्ति विकासमा आधारित छ भने रेजियो इमिलिया सामाजिक निर्माणवाद र सहकार्यमा।
त्यसैले यी दुवैका पाठ्यक्रम बनावट, शिक्षक भूमिका र शैक्षिक वातावरण निर्माण फरक ढंगका छन्।
रूडोल्फ स्टाइनरको शिक्षा अलि भिन्न छ र यसलाई वालडोर्फ शिक्षा भनेर पनि चिनिन्छ। रेजियो इमिलिया र मन्टेसोरीले बालबालिकाको नैसर्गिक स्वभाव र झुकावलाई शिक्षाको वास्तविक आधार मान्छन्। वालडोर्फले भने उनीहरूलाई आत्मिक सत्ताको स्वरूपमा देख्छ र त्यसैअनुरूप उमेरगत विकासात्मक कार्यलाई आधार राखेर शिक्षण कार्यक्रम बनाउँछ। वालडोर्फ शिक्षामा कल्पनाशीलतालाई प्राथमिकता दिइन्छ।
फरेस्ट (वन) स्कुलको अवधारणा पनि रोचक र त्यत्तिकै प्रभावशाली छ।
विशेष गरी स्क्यानडिनेभियन देशहरूमा यो प्रचलनमा छ। डेनमार्कबाट सुरू भएको यो प्रणालीले प्रकृतिलाई आधार मान्छ र शिक्षा प्रक्रियालाई निर्दिष्ट गरी कक्षाकोठा भन्दा बाहिर खुला प्रकृतिमा समय खर्चिन लगाउँछ। यस शिक्षामा संज्ञानात्मक क्षमता अभिवृद्धिसहित सामाजिक खुबी, आत्मविश्वास, बालबालिकाको खुसी इत्यादि केन्द्रमा राखिन्छ।
यीबाहेक खेलमा आधारित, खुसीपूर्ण सिकाइ र सामान्यीकरण गरिएको किन्डरगार्टेन इत्यादि जस्ता शिक्षण विधिमा आधारित कार्यक्रमहरू पनि अभ्यासमा छन्।
यहाँसम्म उल्लिखित अवधारणाहरूले विद्यार्थी केन्द्रित शिक्षण र सर्वांगीण विकासमा जोड दिन्छन् र तिनका विधि प्रयोगमा ल्याउँछन्।यी सबै प्रगतिशील शिक्षाकै विभित्र रूपहरू हुन्।
बालविकासका प्रगतिशील अवधारणा र सिद्धान्तलाई आधारमा बनेका थुप्रै फ्रेन्चाइज पनि छन्।
व्यापारका लागि बनाइएका यी बालशिक्षाका खाकाहरूको आफ्नो मौलिकता भने लगभग शून्य हुन्छ। यी व्यापारिक प्रतिष्ठानहरूले अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई र स्कुलहरूसँगको सहकार्यबाट भएको अनुभव र विधिशास्त्रका प्रक्रियालाई आधार राखी आफ्नो कार्यक्रम वा पाठ्यक्रमको नामकरण एवं ब्रान्डिङ गर्छन्। पूर्वप्राथमिक स्कुलहरूलाई त्यसैअनुरूप तयारी शैक्षिक योजना आपूर्ति गर्छन्।
तेस्रो पाटोमा हाम्रो परिप्रेक्ष्य उल्लेख गर्छु।
हामीले पूर्वप्राथमिक स्कुललाई मन्टेसोरीको नामले पनि चिन्छौं। त्यहाँ मन्टेसोरी विशेष सिद्धान्तका अभ्यास नभए पनि विभिन्न किसिमका बाल क्रियाकलापका आधारमा शिक्षण गराएको पाइन्छ। स-साना बालबालिकालाई एक स्वतन्त्र व्यक्तित्वका रूपमा आदर गर्नुपर्ने मान्यताका आधारमा उनीहरूलाई तपाईं वा हजुर भनिएको पनि पाउँछौं। बालबालिकालाई मैत्रीपूर्ण वातावरणमा शिक्षित गरिनुपर्छ भन्ने सकारात्मक विश्वास गहिरिँदै गएको पाइन्छ।
प्रगतिउन्मुख हाम्रा धेरै पूर्वप्राथमिक स्कुलमा पनि केही मूलभूत समस्या छन्। ती समस्याका जड हाम्रो आफ्नै सामाजिक बनावट र परम्परागत शिक्षा प्रणालीको प्रभाव हुन्।
शैक्षिक समस्या मूलतः स्कुलले बालबालिकाका विकासात्मक चरण र आवश्यकतालाई कार्यक्रममा सम्बोधन गर्न नसक्दा उत्पन्न भएका हुन्छन्। यो भनेको माथि उल्लिखित संज्ञानात्मक, शारीरिक, सामाजिक, भावनात्मक र भाषिक चार घटकको सही सन्तुलन नहुनु हो।
उदाहरणका लागि, कक्षामा बौद्धिक विकासलाई केन्द्रमा राखेर अभ्यास पुस्तिकामा धेरै काम गराइन्छ। यसले गर्दा शारीरिक विकासका लागि खेलकुदको समय अपर्याप्त हुन्छ। प्रयोगमा आएका विधिहरू मिसमास हुन्छ। सामाजिक-भावनात्मक विकासका पक्ष उपेक्षा गरिन्छ। 'फिनिक्स' मा कम ध्यान दिइने, औपचारिक शिक्षाको तयारीका नाममा रटाएर पढाइन्छ। इत्यादि।
यसका साथै परिवर्तित समाज र नयाँ पुस्तामा आज र भविष्यको आवश्यकताको पूर्ण ज्ञान नहुनु पनि हो।
हचुवामा विधिहरू मिश्रण गरिए बालबालिकाका विकासात्मक कार्यहरूको सन्तुलित रूपमा सम्बोधन हुँदैन। त्यस्ता पूर्वप्राथमिक शैक्षिक कार्यक्रमले बालविकास अवरूद्ध गर्छन्।
अन्तिममा, प्रारम्भिक बालशिक्षाका समन्वयको आधारभूत प्रक्रिया छोटकरीमा उल्लेख गर्छु।
यहाँ दिइएका सूचनालाई आधार मानेर त्यसका कार्यान्वयनका विशिष्ट पक्ष अध्ययन गरेर स्पष्ट भएपछि कार्यक्रमलाई पूर्णता दिन सकिन्छ। यी मूलभूत तथ्यहरू मात्र हुन्।
बालबालिकाको सर्वांगीण विकासका लागि संज्ञानात्मक, शारीरिक, सामाजिक-भावनात्मक र भाषिक, यी चार घटकलाई मूल आधार राखेरै कार्यक्रम विस्तार गर्नुपर्छ। यसबाट बालशिक्षा 'होलिस्टिक' बन्छ। कार्यक्रमलाई पूर्णता दिन ती घटकका साथै सिर्जनात्मक क्षमता, विचार गर्ने तरिका, समस्या समाधानको खुबी, सांस्कृतिक जागरूकता र सिकाइ दृष्टिकोण जस्ता महत्त्वपूर्ण पक्ष पनि संयोजन गर्नुपर्छ।
सामाजिक-भावनात्मक शिक्षालाई प्राथमिकतामा राखे, भावना पहिचान, स्वनियमका तरिका, सहकार्य र यिनकै नतिजालाई आधार गरेर परिभाषित शिक्षण गर्न सकिन्छ।
अनुसन्धानद्वारा प्रमाणित प्रारम्भिक बालशिक्षाका सिद्धान्तको ज्ञान र अभ्यासले पूर्वप्राथमिक शिक्षामा आमूल परिवर्तन आउँछ। यस अन्तर्गत शिक्षक भूमिका, कक्षाकोठाको वातावरण र व्यवस्थापन, क्रमिक बालविकासको ज्ञान, अभिभावकको भागीदारिता, सिकाइ विधि इत्यादि छन्।
बौद्धिक र संज्ञानात्मक विकासका लागि साक्षरताको शिक्षा प्रणाली विकास गर्न अत्यावश्यक छ। यसले बालबालिकाको भविष्यको शिक्षाको आधार तयार गर्छ। यसअन्तर्गत भाषा, आधारभूत विज्ञान, सामाजिक ज्ञान र अंकता (नूमेरेसी) पर्छन्।
शारीरिक विकासका कार्यक्रमलाई पाठ्यक्रमकै अंशका रूपमा निर्धारण गर्न सकिन्छ। कला, संगीत, सिर्जनशील कार्यहरू र कक्षाकोठा बाहिरका क्रियाकलाप हचुवाका भरमा होइन, पाठ्यक्रमबाट निर्देशित गर्नुपर्छ।
यी अवधारणाको व्यावहारिक प्रयोगले बालशिक्षा सन्तुलित र जीवन्त बन्ने छ।
अभिभावकले पनि एक तथ्यको जानकारी लिनुपर्छ। प्रभावकारी पूर्वप्राथमिक स्कुल सञ्चालन गर्ने काम चुनौतीले भरिएको र श्रमसाध्य हुन्छ। स्कुललाई सबैको समन्वय र साथ आवश्यक हुन्छ।
बालविकासको प्रमुख र संवेदनशील चरणहरू घरमै हुँदै हुँदै माध्यमिक शिक्षासम्म कायम हुन्छ। यो स्कुल र घरको सहकार्यले मात्र सफल बन्छ।
(लेखक प्रविज्ञ रेग्मी न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)