बेइजिङ डायरी
- पाँच हजार वर्षअगाडि चिया आविष्कार गर्ने मुलुक चीन।
- विश्वमा सबभन्दा धेरै चिया उत्पादन गर्ने र सबभन्दा धेरै चिया उपभोग गर्ने मुलुक चीन।
- चीनमा उपहार आदानप्रदानमा सबभन्दा लोकप्रिय वस्तु चिया।
- बिहेका दिन चिनियाँ बेहुलाबेहुलीले चिया बनाएर साइनो साट्ने चलन।
- चीनमा पाइने विश्वकै महँगो चिया 'ता होङ पाओ' को मूल्य प्रतिकिलो १२ लाख अमेरिकी डलर।
- सन् १८६३ मा चिनियाँ सम्राट थोङचीले नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चियाको बिउ दिएर चिया कूटनीति सुरू। सन् १९७२ मा माओ चतोङले अमेरिकी तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनलाई चिया उपहार दिएर चिया कूटनीतिलाई निरन्तरता।
- चीनमा चियाका रूपमा विभिन्न फूल र अन्य वनस्पति पनि प्रयोग।
उल्लिखित बुँदाहरू चिनियाँ चिया महिमाका आँखीझ्याल हुन्।
म इलाममा जन्मिएको हुँ। शिशुकालदेखि चिया खाँदै, चिया बगानमा लुकीचोरी गर्दै, चियाका मुन्टा चपाउँदै हुर्किएँ। चियाका बारेमा धेरथोर जानकारी भएको गफ पनि लगाएकै हुँ। तर जब चीन आएर बजारमा चिया देख्न थालेँ, तब तिरिमिरी झ्याइँ हुन थालेको छ।
यहाँ सबै प्रकारका फूलहरू चियाका रूपमा प्रयोग हुन्छन्। सयपत्री, गुराँस, मखमली, गोदावरी, चमेली, गुलाब अनि नाम थाहा भएका, नभएका सबै फूल। त्यति मात्र होइन कागती, सुन्तला, ज्यामिर, भोगटे, अम्बा जस्ता फल पनि चाना पारेर सुकाएपछि चियाको रूपमा प्रयोग गरेकझ देखियो। चियाको मूल्य पनि उस्तै। नेपाली बजारमा पाउने जस्तै सस्तोदेखि करोडौं मूल्यसम्मका चिया।
मूल्य, प्रकार, खाने तरिका आदि कुराले चिनियाँ चियाले गैरचिनियाँलाई नराम्ररी झुक्क्याउँछ।
त्यसो त चियाको आविष्कार पनि झुक्किएर नै भएको मानिन्छ।
इसापूर्व २७३२ मा चिनियाँ बादशाह शन नुङ शिकार खेल्न जंगल गएका थिए। थकाइले लोथ भएर सुतिरहेका बादशाहलाई उनका सहयोगी ट्वाक्रामा राखेर तातोपानी पिउन दिए। पानी पिएपछि बादशाहमा अचम्मको फूर्ति र जोस आयो। पानी पिइसकेपछि ट्वाक्रामा हेर्दा त्यसमा कुनै वनस्पतिको पात थियो। ट्वाक्रामा पानी खन्याउँदै गर्दा नजिकैबाट उडेर आएर पानीमा उक्त पात पसेको कसैले थाहै पाएन। त्यही पातले गर्दा शरीरमा फूर्ति दिएको थियो। त्यसपछि बादशाहले सधैं तातोपानीमा उक्त वनस्पतिको पात भिजाएर पिउन थाले। त्यो वनस्पति अरू केही नभएर चिया थियो।
चियाको आविष्कार गरेको चीनले पाँच हजार वर्षदेखि चिया पिउँदै/पियाउँदै आएको छ। चीन विश्वकै सबभन्दा धेरै चिया उपात्दन गर्ने र उपभोग गर्ने मुलुकमा पर्छ। त्यसैले त चिनियाँ आफ्ना साथीहरूलाई उपहार दिनुपरे चिया नै रोज्छन्। नेपालबाट चीन भ्रमणमा जाने उच्च पदस्थ व्यक्तिहरूलाई पनि चिनियाँ नेताहरूले चिया उपहार दिएका उदाहरण थुप्रै छन्।
एक प्रकारले भन्ने हो भने चीनले चिया कूटनीति अँगालिरहेको छ।
सन् १८६३ मा तत्कालीन छिङ वंशका चिनियाँ सम्राट थोङ्चीले नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चियाको बिउ उपहार दिएर आपसी सम्बन्ध प्रगाढ बनाउन सुरू गरेका थिए। जंगबहादुरले त्यो चियाको बिउ आफ्ना ज्वाइँ गजराज सिंह थापालाई दिएर उपयुक्त ठाउँमा खेती गर्न आदेश दिए। गजराज थापा इलामका बडाहाकिम भएका बेला उक्त बिउ त्यहाँ रोप्न लगाए।
सन् १९७२ को फेब्रूअरी २१ देखि २८ सम्म अमेरिकी तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरेका थिए। विश्व राजनीतिक मञ्चमा चीनको उदय, चीन-अमेरिका सम्बन्ध लगायत थुप्रै विषयमा यो भ्रमण ऐतिहासिक कोशेढुंगा मानिन्छ। उक्त भ्रमणमा रिचर्ड निक्सनलाई चिनियाँ नेता माओ चतोङले दिएको उपहार निकै चर्चित बन्यो।
रिचर्डलाई स्वागत गर्दै माओले एउटा आकर्षक बक्स उपहार दिएका थिए। चीनमा कम्युनिस्टले सत्ता लिएपछि पहिलोपटक अमेरिकी राष्ट्रपतिको भ्रमणमा चिया उपहार देखेर अमेरिकीहरू रिसाए। अमेरिकी राष्ट्रपतिको अपमान गरेको र उपहारका नाममा व्यंग्य गरेको पनि भनियो। राष्ट्रपति रिचर्ड स्वयंले असन्तोष व्यक्त गरे।
अमेरिकी राष्ट्रपति र प्रतिनिधि मण्डलमा माओको उपहारले असन्तोष पैदा गराएको थाहा पाएपछि तत्कालीन चिनियाँ प्रधानमन्त्री चौ एनलाईले राष्ट्रपति रिचर्डलाई भने, 'बक्समा भएको चिया चीनमा आपूर्ति हुने सम्पूर्ण मात्राको आधा परिमाण मात्र नभएर यो २ लाख अमेरिकी डलर पर्ने बहुमूल्य उत्पादन पनि हो।'
अहिलेको मूल्यमा भन्ने हो भने माओले रिचर्ड निक्सनलाई दिएको चियाको मूल्य १५ लाख अमेरिकी डलरभन्दा बढीको थियो।
परिमाण त्यत्रो विधि थिएन तर उक्त चिया अत्यन्त महँगो पर्थ्यो। माओले रिचर्डलाई उपहारमा दिएको चियालाई चिनियाँ भाषामा 'ता होङ पाओ' भनिन्छ।
चीनको दक्षिण पूर्वी प्रान्त फुचियानको ऊयी पहाडमा मात्र हुने ओलङ चियालाई नै ता होङ पाओ भन्छन् चिनियाँहरू। यसलाई चियाको राजा पनि भनिन्छ।
ऊयी पर्वतका चट्टानका कापमा उम्रिएको चिया वर्षको एकपटक मात्र टिपिन्छ। न्यून उत्पादन र उच्च गुणस्तरका कारण यो चिया सुनभन्दा दस गुणा महँगो पर्छ। विशेषगरी उच्च चिनियाँ नेताले उच्च विदेशी पाहुनालाई उपहार दिनमा यो चिया खपत हुन्छ।
क्यामेलियज वेबसाइटका अनुसार अहिले यो चियाको मूल्य एक किलोको १२ लाख अमेरिकी डलर पर्छ अर्थात् सुनभन्दा दस गुणा महँगो!
चीनमा चिया विश्वविद्यालयदेखि संग्रहालयसम्म छ। त्यस्तै चिया चाख्ने समारोह, महोत्सव, प्रदर्शनी, कला प्रदर्शनी सबै कुरा चीनमै हुन्छ।
चियासँग यहाँको सांस्कृतिक साइनो रहेछ। चिया नभइ चिनियाँहरूको बिहे नै हुँदैन। बिहेका दिन बेहुलीले बेहुलाका आमाबुबालाई चिया बनाएर खान दिँदै 'अबदेखि आमाबुबा भन्छु' भनेर अनुमति माग्नुपर्छ। बेहुलाले पनि चिया बनाएर बेहुलीका आमाबुबालाई दिँदै त्यसैगरी साइनो साट्नुपर्छ।
पाँच हजार वर्षको इतिहास बोकेको चिनियाँ चियामा दुई दशकदेखि अर्को चिया थपिएको छ। 'भाइन चिया' भनिने यो नयाँ चियालाई चमत्कारी चिया भने पनि हुन्छ।
सन् २०२४ जुलाइ ९ मा अन्तर्राष्ट्रिय कृषि सहयोग प्रवर्द्धनका लागि चिनियाँ संघको चिया उद्योग समितिबाट एउटा निमन्त्रणा प्राप्त भयो। निमन्त्रणा अगस्ट १ देखि ३ सम्म चीनको हुपेइ प्रान्तको लाइफङ काउन्टीमा हुने 'दोस्रो अन्तर्राष्ट्रिय भाइन चिया सम्मेलन' मा सहभागी हुनका लागि थियो।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई पनि निमन्त्रणा रहेछ। बेइजिङको तासिङ विमानस्थलमा राजदूत श्रेष्ठसँग भेट भएपछि हामी एउटै विमानका सहयात्री भयौं। हुपेइ प्रान्तको पश्चिम दक्षिणमा रहेको लाइफङ पुगेपछि सोही साँझ नेपालबाट सम्मेलनमा सहभागी हुन आएका राजु शेर्मा लिम्बु र उनकी श्रीमती रत्न शेर्मा लिम्बुसँग भेट भयो।
दुई दशकदेखि चिया व्यवसायमा सहभागी हुँदै आएका शेर्मा दम्पत्ति पाँचथर निवासी हुन्। उनीहरूलाई नेपालमा कुन गाउँमा कति चिया उत्पादन हुन्छ, कुन ठाउँमा कुन गुणस्तरको चिया पाइन्छ जस्ता कुराहरू मुखाग्र छ। चिया खेतीमा नेपाली साना किसानले भोगिरहेका समस्या, सरकारले गरेको बेवास्ता लगायत नेपालमा उत्पादित चियाको बजार व्यवस्थामा देखिएका अड्चनबारेमा त उनीहरू ज्ञाता नै भए! राजु 'नेपाल विशेष चिया संघ' का अध्यक्ष हुन् भने रत्न 'पूर्वी नेपाल चिया प्रशोधन कम्पनी' की महाप्रबन्धक।
उक्त चिया सम्मेलनमा अमेरिका, इटाली, सिंगापुर, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, फ्रान्स, भियतनाम र डेनमार्कका प्रतिनिधिहरू पनि थिए। हामी नेपाली जस्तै सबै विदेशी प्रतिनिधिहरू भाइन चियाबारे अनभिज्ञ थिए। पहिलो दिन बेलुका रात्रिभोजपछि हामीलाई भाइन चिया चाख्ने महोत्सव अर्थात् 'भाइन टी टेस्टिङ सेरेमोनी' मा सहभागी गराइयो।
स्थानीय थुचिया अल्पसंख्यक चिनियाँ युवतीहरू परम्परागत पोशाकमा हामी बसेकै टेबल टेबलमा आएर चिया बनाउँदै चखाउन थाले। चिया अन्य ग्रीन-टीजस्तै थियो। तर सुरूप्प पारेर पानी पिउँदा स्वाद अलिक फरक। अमला खाएर पानी खाएजस्तो लाग्यो।
राजु र रत्नसँगैको टेबलमा थिएँ म। मैले यो चियाको बोट चाहिँ कस्तो हुन्छ, भिडिओ छ कि हेरौं न भनेर चिनियाँलाई सोधेँ। राजु र रत्न पनि यही जिज्ञासामा रहेछन्। हामीलाई फोटो र भिडिओसँगै चियाका केही ओइलाएका मुना पनि ल्याएर प्रत्यक्ष देखाइयो।
ती ओइलाएका मुना हेरेपछि मैले भनेँ, 'यो त हाम्रोतिर पाइने चिन्डे जस्तै रहेछ।'
राजु र रत्नले पनि त्यही भने।
इलामका गाउँमा एक प्रकारको अग्लो रूखका कलिला मुना टिपेर अचार र तरकारी खाइने वनस्पतिलाई चिन्डे भनिन्छ। हामीले ओइलाएका भाइन चियाका मुनाहरू चिन्डेका मुना जस्तै देख्यौं।
भोलिपल्ट दोस्रो अन्तर्राष्ट्रिय भाइन चिया सम्मेलनको मुख्य सत्रमा गइयो। त्यहाँ चियाका विशेषज्ञहरूले विभिन्न कार्यपत्र प्रस्तुत गरे। कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत चिनियाँ कृषि विश्व विद्यालयका प्रोफेसर छ्याओ शियान, चच्याङ विश्वविद्यालयकी प्रोफेसर डा. थु यौयिङ, चिनियाँ विज्ञान प्रतिष्ठानको औषधीय वनस्पति विभागका अनुसन्धानकर्ता डा. सु लिचिया जस्ता व्यक्तिले भाइन चियाबारे विभिन्न तथ्यगत कुरा राखे।
त्यहाँ प्रस्तुत भएअनुसार यो चिया उच्च रक्तचाप, मधुमेह (सुगर), कोलेस्टेरोल, मुटु रोग, मिर्गौला रोग जस्ता विभिन्न समस्या भएकाहरूका लागि लाभदायक हुने प्रयोगशालाबाट पुष्टि भएको छ।
चिनियाँ विज्ञ मात्र होइन, अमेरिकी र युरोपेली विज्ञले पनि भाइन चियाबारे प्रस्तुत गरेको कुराले यसलाई चमत्कारी मान्नुपर्छ भन्नेमा हामी नेपालीहरू सहमत भयौं। तर अझै पनि हामीले प्रत्यक्ष रूपमा भाइन चियाको बोट कस्तो हुन्छ र कसरी प्रशोधन गरिन्छ भन्ने थाहा पाएका थिएनौं। आयोजकले अगस्ट ३ मा हामीलाई बगान घुमाउने र प्रशोधन केन्द्र पनि देखाउने बताएपछि हामीभित्रको कुतूहल अझ बढ्न थाल्यो।
हामीलाई बगान घुमाउन लगियो। ओहो, भाइन चिया त लहरा जस्तो पो हुँदोरहेछ! चीनको हुपेई प्रान्तको लाइफङमा मात्र हुने भएकाले यो ठाउँलाई भाइन चियाको राजधानी भनिँदोरहेछ। चिनियाँ भाषामा 'थङ्छा' भनिने भाइन चिया एम्पेलोप्सिस वनस्पतिको मुन्टाबाट बनाइँदोरहेछ। चियाका दुई पात एक सुइरो टिपेजस्तै यसका कलिला मुन्टा टिपेर उही तरिकाले प्रशोधन गरिँदोरहेछ। यो चियालाई चीनले सन् २०१३ मा राष्ट्रिय भौगोलिक सूचक उत्पादनका रूपमा मान्यता दिइएको रहेछ।
भाइन चियाबारी घुमेपछि हामी चिया प्रशोधन उद्योगमा गयौं। प्रशोधन विधि र तरिका इलाममा अर्थोडक्स चियाकै जस्तो थियो। तर यो भाइनबाट चियासँगै अन्य थुप्रै उपभोग्य वस्तु बनाइने रहेछ। यसबाट रक्सी, बियर, चाउचाउ, मन्जन, साबुन, क्रिम, केक, क्यान्डी, स्याम्पू, पर्फ्युम, जुस अनि कफी।
मैले कफी चाखेँ। यो पूरै कफीकै स्वादको हुने रहेछ। चियाबाट कफी चाहिँ कसरी भयो? पेय पदार्थका हिसाबले चिया र कफी सगोत्री जस्ता भए पनि यी फरक परिवारका हुन्। वनस्पति फरक, स्वाद, प्रशोधन, असर अनि पारख पनि फरक। तर चिनियाँले एउटै बोटबाट चिया र कफी बनाएपछि यसलाई चिनियाँको चमत्कार भन्ने कि चमत्कारी चिया?
हजारौं वर्षदेखि औषधीय वनस्पतिका रूपमा प्रयोग हुँदै आएको भाइनलाई आधुनिक चियाका रूपमा उत्पादन र प्रयोग थालिएको दुई दशक मात्र भएको रहेछ। सन् २००३ देखि आधुनिक भाइन चिया विकास गरेको चीनले अहिले यही विषयलाई लिएर विभिन्न खोज अनुसन्धान गरेको छ। सरकारले ठूलो लगानी गरेर नयाँ कृषि उपजका रूपमा विकास गरेको छ।
चमत्कारी चिया अर्थात् भाइन टीको अवलोकन गरिसकेपछि राजुले यसको बिरूवा नेपाल लैजाने विचार व्यक्त गरे। यसको डाँठ जमिनमा गाडेपछि पलाउने र त्यसैबाट नर्सरी गरेर अरू फैलाउन सकिने आयोजकले बताए। राजुले केही डाँठ झोलामा बोके। अहिले उनले ललितपुरको कुसुन्तीस्थित आफ्नो निवासमा गमलामा भाइन चियाका डाँठ गाडेका छन्।
वीच्याटमा फोटो पठाएर उनी भन्दै थिए, 'अब यो उम्रिएपछि पाँचथरमा लगेर नर्सरी राख्ने हो र यसलाई प्रयोगका रूपमा खेती गर्ने हो।'
मैले उनलाई जिस्क्याउँदै भनेँ, 'सन् १८६३ मा चिनियाँ बादशाह थोङचीले जंगबहादुर राणालाई दिएको चियाको बिउ गजराज थापाले इलाम पुर्याएका थिए। अब भाइन टी चाहिँ राजु लुङ्गाले पाँचथर पुर्याउने।'
मेरो कुरा सुनेर उनी धक फुकाएर हाँसे।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)