पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा केही दिनअघि केन्द्रका सबै पाठ्यक्रम विशेषज्ञहरूसँग छलफल गर्ने मौका पाएको थिएँ।
छलफलको मुख्य अन्तरवस्तुमा मैले नेपालको पाठ्यक्रमलाई विश्वस्तरीय बनाउन सकिन्छ भन्ने तथ्य लिएँ र यसैका बौद्घिक र प्राविधिक पक्षलाई प्रस्तुतीकरणको बहसमा राखेको थिएँ। हामीले पाठ्यक्रमको माध्यमबाट शैक्षिक प्रक्रियाको चुरो समात्न सकेमा हाम्रा सामुदायिक स्कुलले उच्च शैक्षिक प्रतिफल हासिल गर्न सक्छन् र शिक्षामा परिवर्तन सम्भव हुन्छ भन्ने विचार राखेको थिएँ।
त्यसैको सार संक्षेप यहाँ प्रस्तुत गरेको छु।
विषय जटिल होला वा यसका कार्यान्वयनका आयाम बहुपक्षीय र चुनौतीपूर्ण होलान्, तर यो विषय अब उठान हुनुपर्छ। यथास्थितिमा असम्भव लाग्ने यो शैक्षिक यात्रामा एकदिन नेपाल नलागी हुँदैन। तसर्थ, ढिलाइ नगरी नेपालको विद्यालय पाठ्यक्रम र शिक्षणलाई विश्वस्तरीय बनाउने जमर्को हुनुपर्छ।
शिक्षाको अन्तर्यमा स्वदेशी वा विदेशी शिक्षा भन्ने हुँदैन, शिक्षाको मूल मर्म मात्र हुन्छ। शिक्षाका दर्शन र प्रयोग कुनै क्षेत्र वा देश विशेषका आफ्ना हुँदैनन्; ती विश्वव्यापी हुन्छन्। साक्षरता, मौलिक चिन्तन, वृत्तिविकास, सिकाइका प्रक्रिया, विषयवस्तुको ज्ञान वा चरित्र निर्माणका तथ्यहरू सबै मानवजातिलाई समान रूपमा लागू हुन्छन्।
उपर्युक्त सत्यलाई आधार मान्दा देश वा क्षेत्र विशेषका शिक्षा प्रणालीमा केवल एक आयामलाई मात्र सम्बोधन गरे पुग्छ, त्यो हो शैक्षिक सन्दर्भ। कुनै देश विशेषको संस्कृति र पहिचान, सम्प्रदाय विशेषको धर्म, भाषा, मूल्य र मान्यताले शिक्षाको सन्दर्भलाई परिभाषित गर्छन्।
शिक्षाको उल्लिखित विश्वव्यापी चुरो कायम गरेर स्थानीय सन्दर्भलाई सहजै अनुकूलता दिन सकिन्छ। ठीक यसै विन्दुमा राष्ट्र विशेषको पाठ्यक्रमको बनावटमा भूमिका रहन्छ।
यसलाई यसरी बुझौं — एक शक्तिशाली गाडीको इन्जिनलाई कुनै पहाडका भौगोलिक कठिनाइका आधारमा संसोधित गरी ठूला चक्का राखेर सहज रूपमा प्रयोग गर्न सकिन्छ भने त्यही इन्जिनलाई समथर जमिनमा अलग्गै बनावट तयार गरी उच्च गतिमा कुद्ने साधन बनाउन सकिन्छ।
यसलाई शिक्षामा सन्दर्भको अनुकूलता भनिन्छ।
हामीले यही शैक्षिक अन्तर्यको पक्षमा फड्को मार्न सकेमा अन्य कुनै विदेशी पाठ्यक्रमका खाका हामीलाई आवश्यक पर्ने छैन। हाम्रो आवश्यकता शिक्षाको मूलमा छ र विश्वस्तरीय पाठ्यक्रमको निर्माण नगरी त्यसको मर्ममा परिवर्तन आउनेवाला छैन।
हामीले पाठ्यक्रम निर्माण गर्दा शिक्षाको मूललाई केन्द्रमा राखेर नेपालको सन्दर्भ र अन्तर्राष्ट्रिय प्रसंगलाई पनि उत्तिकै महत्त्व दिएर विश्वस्तरीय मापदण्ड कायम गर्नुपर्छ।
हाम्रा स्कुलहरूले मूलतः पाठ्यक्रमलाई ज्ञानको विषयसूचीका रूपमा मात्र लिएको देखिन्छ। तर पाठ्यक्रमसँग शिक्षाको अर्का दुई अन्योन्याश्रित पाटाहरू मूल्यांकन र शिक्षणलाई गौण राखिएको छ।
तसर्थ, विश्वस्तरीय पाठ्यक्रम निर्माण गर्दा ती दुई आयामलाई नीतिगत रूपमा सम्बद्घ गर्न अपरिहार्य हुन्छ।
शिक्षणद्वारा पाठ्यक्रम कार्यान्वयनमा ल्याउँदा यसलाई उपयुक्त शैक्षिक विधिसँग नजोडेमा शिक्षाको गुणस्तर भयावह रूपमा खस्किन्छ। हाम्रो एक मुख्य चुनौती यहाँ छ।
पाठ्यक्रममा विषयवस्तुको गहिराइ बढाएर वा सिकाइ उपलब्धिलाई खाँदेर मात्र विश्वस्तरीय बन्दैन। दिइने ज्ञानलाई बालबालिकाका विकासात्मक आवश्यकताहरूसँग समन्वय गर्नुपर्छ। र, यसको सुक्ष्म अध्ययन र अनुसन्धानका आधारमा राज्यले शैक्षिक कार्यक्रम तयार गर्नुपर्छ।
हाम्रो पाठ्यक्रममा सिकाइ उपलब्धिको कमी देखिँदैन। नयाँ शैक्षिक पहुँलाई पनि स्थान दिइएको छ। गएको दशकभन्दा हालको पाठ्यक्रम सबै पक्षमा प्रगतिउन्मुख छ। कक्षा एकदेखि तीनको एकीकृत पाठ्यक्रमको सुरूआत सराहनीय कदम हो जसले शिक्षाको विश्वस्तरीयतालाई पहल गरेको छ। तर यसैको प्रभावकारिताका लागि अन्तरविषयक संयोजनका लागि बनाइएका 'थिम' ले अन्तरविषयक ज्ञानलाई पूर्णता दिँदैन।
उदाहरणका लागि — ‘म र मेरो परिवार’ को ठाउँमा फराकिलो प्रश्नवाचक वाक्य, जस्तै मेरो परिचय के हो? राखेर परिचयमाथि केन्द्रित गरी खोज गर्न लगाएमा बालबालिकाले अन्तरविषयक ज्ञान कायम गर्दै मौलिक चिन्तन विकास गर्छन्।
थिम वाक्यहरूले ज्ञानलाई प्राथमिकतामा राख्छन् भने प्रश्नवाचक थिमले विचार र छलफललाई उत्प्रेरित गर्छन्। व्यापकता भएका प्रश्नले सिकाइलाई अनुसन्धानमा आधारित र मौलिक बनाउँछ। र, सिकाइ प्रक्रिया थप क्रियाशील बन्छ।
यसैगरी पाठ्यक्रमबाटै अनुभवात्मक सिकाइ निर्देशित गरी शिक्षण प्रक्रियालाई विद्यार्थी केन्द्रित बनाउन सकिन्छ।
उदाहरणका लागि — विषय विशेष सिकाइ उपलब्धिका सूचीमा मात्र पाठ्यक्रमलाई सीमित नगरी ‘म र मेरो परिवार’ शीर्षकको उपलब्धिमा बालबालिकाले परम्परा, जिम्मेवारी र अनुभवलाई आधार राखेर भाषागत, सामाजिक र वातावरणीय ज्ञान लिनेछन् भन्ने आशय भएमा, त्यस अनुरूप उपलब्धि र सुयोग्यता परिभाषित गर्दा विद्यार्थीकेन्द्रित शिक्षण विधि निर्देशित हुन्छ। यसले चिन्तनको विकासमा सहयोग गर्छ र बौद्धिक उपलब्धि ल्याउँछ।
अधिकांश शिक्षकहरू अझै पनि एकीकृत पाठ्यक्रमको व्यावहारिक प्रयोगमा अभ्यस्त नभएको पाएको छु। सुरूआतको अवस्थामा कुनै दुई विषयको समरूपताका आधारमा पनि विद्यालयमा थिम निर्माण गर्न सकिन्छ। पूर्ण रूपमा एकीकृत पाठ्यक्रमको प्रयोगमा कठिनाइ भए यसको विषमताको पहुँच हटाएर लचकता अपनाउँदा शैक्षिक गुणस्तरमा धेरै फरक पर्दैन।
पाठ्यक्रम विकास केन्द्रलाई दक्ष शिक्षक अभाव भएका विकट जिल्ला र सुगम राजधानीका निम्ति एउटै पाठ्यक्रम बनाउनुपर्ने चुनौती छ। यसले गर्दा विशेषतः सहरी क्षेत्रका बालबालिकाको आउन सक्ने थप उपलब्धिलाई समता दिएको छैन। यसलाई सम्बोधन गर्न पाठ्यक्रमको क्षेत्रमा व्यापकता र त्यसमा लचकता अपनाउन सकिन्छ।
यसका लागि एक केन्द्रीय र विश्वस्तरीय पाठ्यक्रम निर्माणपश्चात् त्यसका दिशानिर्देशनका आधार खडा गरेर स्थान विशेषको आवश्यकताहरूलाई मध्यनजर गरी स्थानीय सरकारसँग समन्वय गरेमा पाठ्यक्रम लचिलो र प्रभावकारी बन्छ।
शिक्षाको सर्वव्यापकतालाई कुनै अभीष्ट विचारसँग सन्दर्भ जोडेर पाठ्यक्रम निर्माणमा संकुचन आउन हुँदैन। हाम्रो शिक्षा नीति थप उदार हुनुपर्छ, कुनै राजनैतिक वा वैचारिक संकीर्णताबाट प्रेरित भएर बनाइएका खाकाका आधारमा नीतिगत प्रभाव पारिनु हुँदैन।
विशेषतः विदेशमा व्यवहारमा आएका कुनै शैक्षिक उत्तम अभ्यासहरू छन् र तिनलाई सन्दर्भ मिलाएर हामीले प्रयोग गर्दा राजनीतिक वा नीतिगत प्रणालीको आधारमा विदेशी शिक्षा मानिनु हुँदैन। हाम्रो पाठ्यक्रमको दर्शन, मान्यता र सन्दर्भ फरक नपार्ने विविध स्तरिकृत र उपयुक्त किताबहरू वा सन्दर्भ सामग्रीलाई औपचारिक शिक्षणमा निषेध गर्नु हुँदैन। उचित सामग्री समायोजन गर्दा पाठ्यक्रम बाहिर पढाएको मानिनु हुँदैन। स्कुललाई दिइने यो स्वतन्त्रताले हाम्रा बालबालिकालाई विश्व सन्दर्भबाट अलग र फरक हुन दिँदैन।
यसका लागि उपयुक्त मापदण्ड वा निर्देशिका दिइएमा सक्षम स्कुलहरूले त्यसका आधार राखेर विश्व प्रसंगमा शिक्षा दिन सक्छन्। निर्धारितभन्दा परका सन्दर्भ सामग्री भरपुर प्रयोग गर्न पाएमा स्कुल पाठ्यपुस्तकबाट मुक्ति पाउन सक्छ र शैक्षिक गुणस्तरमा वृद्धि हुन्छ।
तर नेपालको आफ्नै शैक्षिक सन्दर्भ, समावेशिता, स्वर वर्णको ज्ञान, प्रिन्ट अवधारणा र भाषिक ज्ञानका पक्षलाई लिएर बनाइएको उपलब्धिका परिभाषाहरू हाम्रो पाठ्यक्रमका सबल पक्षहरू हुन्। यस्तै व्यवहार कुशल सीपहरूको समायोजन, थिमेटिक मूल्यांकनका लागि दिइएका खाका, केही आधारभूत निर्देशनहरू, धेरै हदसम्म मिलाइएका विषयवस्तुका क्षेत्र र क्रमका साथै उल्लिखित सिकाइ सहजीकरण विधिका निर्देशन विस्तृत रूपमा नभए पनि स्पष्ट छन्।
उपर्युक्त पक्षले पाठ्यक्रमलाई पूर्णता दिन खोजिएको आभास हुन्छ। तर धेरै स्कुलमा यसको न्यूनतम पनि अभ्यास हुँदैन। यसरी निर्माण गरिएका प्रगतिशीलता उन्मुख पाठ्यक्रमलाई परम्परागत ढंगमै लगिँदा यसको उचित प्रतिफल आएको छैन। गुणस्तरीय र धेरै किसिमका शैक्षिक रणनीतिहरूलाई एक व्यापक खाकाको आधार लिएर कक्षाकोठाहरू सक्रिय बनाए विश्वस्तरीय पाठ्यक्रम कार्यान्वयन गर्न सम्भव हुन्छ।
शैक्षिक विश्वस्तरीयता कायम गर्न हाल तयार गरिएको शिक्षक निर्देशिका मूलभूत रूपमै परिमार्जन गरी पुनर्लेखन गरिनुपर्छ। विशेषतः एकै ढाँचामा प्रस्तुत र निरश विधिहरूमा विविधता कायम गरे कक्षाकोठाहरू जीवन्त बन्छन्। यसले सिकाइ प्रक्रियामा विभेदीकरण ल्याउँछ र विद्यार्थीका अद्वितीयपनलाई सम्बोधन गर्छ।
कक्षाकोठामा प्रयोग हुने विधिहरू अनगिन्ती हुन्छन्। त्यसैले उपयुक्त विधि विद्यार्थीका आवश्यकता पहिचान गरेर मात्र लगाउन सकिन्छ। उही प्रकारका विधिको उस्तै किसिमको रटाइले विद्यार्थीमा वैचारिक प्रेरणा ल्याउन सक्दैन। हाम्रो शिक्षक निर्देशिकालाई यहाँ स्तरोन्नति गर्नुपर्ने देखिन्छ।
दक्षिण पूर्वी एसियाली राष्ट्र भियतनामले हालै शिक्षामा गरेको परिवर्तन उदाहरणीय छ।
पाठ्यक्रममा व्यापक परिवर्तन, सुयोग्यता केन्द्रित शिक्षा र सोहीअनुसारको शिक्षक तालिम त्यहाँको शैक्षिक परिवर्तनका प्रमुख कारण हुन्। भियतनामको पाठ्यक्रमले सिर्जनशीलता, मौलिक चिन्तन र स्वसिकाइलाई आधार मानेको छ।
सारमा, नेपालको पाठ्यक्रमले तीन अन्तर्निहित धारहरू पक्डिएमा कुनै हदसम्म विश्वस्तरीयता कायम गर्न सक्छ।
एक, पाठ्यक्रम आफै व्यापक, लचकदार, बालविकासलाई सम्बोधन गर्ने, व्यावहारिक र नेपालसहित विश्व सन्दर्भसँग जोडिएको हुनुपर्छ। उपलब्धिका सूचीहरू संगठित गर्दै यिनलाई थप योजनाबद्घ गर्नुपर्छ।
दुई, यो सुरूआती चरणमा स्तरीय शिक्षक निर्देशिकामार्फत्, जसमा पहिलो - क्रमिक रूपमा योजनाबद्ध गरिएका संरेखित उपलब्धिहरू; दोस्रो - विविध र निरन्तरको निर्माणात्मक मूल्यांकन विधिहरू; र, तेस्रो - व्यापक सिकाइ रणनीति र विभेदीकरणका शैलीलाई शिक्षक तालिम गरी कक्षाकोठामा पुर्याएमा हाम्रो पाठ्यक्रमको प्रभावकारिता विश्वको शैक्षिक स्तरसँग निकट पुग्न सक्छ।
तीन, अधिकांश स्कुलहरू पाठ्यपुस्तकमा निर्भर भएको हालको अवस्थामा र सबै विद्यार्थीको पहुँच भएको पाठ्यपुस्तकमा पाठ्यक्रमको मूल मर्मका आधारमा पाठ्यसामग्री चयन गरेर पुनर्लेखन गर्न अपरिहार्य छ। हालका पाठ्यपुस्तक हाम्रा विद्यमान पाठ्यक्रमसँग पनि संरेखित र स्तरीय छैनन्।
निजी प्रकाशकहरूलाई पनि सही नीतिगत आधार राखेर उच्चस्तरका पाठ्यक्रम संरेखित पाठ्यपुस्तक प्रकाशन गर्ने स्वतन्त्रता दिनुपर्छ। कुनै प्रकारले हलो अड्काउनु हुँदैन।
उपरोक्त तीन पक्षले लिखित पाठ्यक्रम, शिक्षा शिक्षण प्रक्रिया र मूल्यांकनलाई चलायमान बनाउने छ। र, हाम्रा सामुदायिक स्कुलहरूले पनि विश्वस्तरीय शिक्षालाई क्रमशः व्यवहारमा उतार्न सक्ने छन्।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)