२०८० वैशाखमा चितवनमा हामी साथीभाइ मिलेर 'चित्तौन कचेहेरी' नामक एउटा 'साहित्य उत्सव' शैलीको कार्यक्रम थालनी गरेका थियौं।
त्यसको ट्यागलाइन थियो — वैकल्पिक विचारहरुको उत्सव।
२०८१ को सुरूतिरै त्यसको दोस्रो संस्करण हुनुपर्ने तर हामी पहिलो संस्करणको ऋणको भारले अझै थिचिएका छौं। त्यसैले दोस्रो संस्करणको सपना कम्तीमा मंसिरसम्म पछि धकेलिएको छ।
यही आउँदै गरेको विचारहरूको उत्सवको तयारीमा असार २९ गते हामीले चितवनमा सिके लाललाई बोलायौं र पाँच घन्टासम्म उनलाई सुन्यौं। कार्यक्रमको नाम थियो — मधेश संवादः अपनत्व, आत्मसम्मान र सह-अस्तित्व।
शीर्षकमा मधेस भए पनि लालको प्रस्तुति सुरू भयो मानव विकासका प्रारम्भिक चरणदेखि। आधुनिक राष्ट्र-राज्यहरू कसरी बने र तिनमा राष्ट्रियता कसरी विकास भयो भन्नेबाट सुरू भएको पहिलो लेक्चर नेपाली नृजातीय (एथ्निक) पहिचान र सांस्कृतिक राष्ट्रियता कसरी निर्माण भयो भन्नेमा गएर टुंगियो।
स्वभावतः दोस्रो लेक्चर मधेसमा प्रतिरोधी पहिचानको विकास र मधेस आन्दोलनका आरोह-अवरोहहरूमा केन्द्रित थियो। तर त्यसबाट सिंगो नेपाल राज्यबारे पनि आम रूपमा सार्वजनिक विमर्शमा अक्सर नआउने धेरै नयाँ कुराहरू हामीले सिक्न पायौं।
आजको मधेस कसरी बदलिँदैछ? त्यो परिवर्तनका आर्थिक र सांस्कृतिक आयाम के हुन्? मधेसभित्रका अन्तर्विरोधहरू आज कुन अवस्थामा छन् र कुन दिशामा गइरहेका छन्?
आज पनि किन नेपालमा न्यायपूर्ण, समतामूलक र समावेशी 'नेपालीय' राजनीतिक राष्ट्रियता फस्टाउन सकेको छैन? जंगबहादुरदेखि चन्द्रशमशेर, जुद्धशमशेर, राजा महेन्द्र, बिपी कोइराला र राजा वीरेन्द्रको शासनसम्म त नृजातीय वा सांस्कृतिक 'नेपाली' राष्ट्रियता निरन्तर हावी भयो नै, देश गणतन्त्रमा पुगेपछि पनि किन त्यसको यति साह्रो दबदबा छ?
किन आज पनि धेरै नेपालीहरू नृजातीय र राष्ट्रिय पहिचानबीच फरक छुट्ट्याउन तयार छैनन्? त्यो पनि अमेरिका वा क्यानडाजस्ता देशमा पुगेर त्यहाँ यी दुईबीचको भेद प्रस्ट देखेपछि पनि?
यी यावत प्रश्नहरूमा लालको विस्तारित र रूचिकर व्याख्या सुनेपछि मलाई 'नेपालीय' राजनीतिक राष्ट्रियतालाई नृजातीय 'नेपाली' सांस्कृतिक राष्ट्रियताको (नेपाली भाषा बोल्ने, हिन्दु धर्म मान्ने, दौरासुरूवाल लगाउने, पहाडमा बस्ने वा पहाडी मूलको) सीमित अर्थमा बुझ्ने अनलाइन पहाडियाहरूको ठूलो समुदायको याद आयो।
तीमध्ये एकले कैलास सिरोहिया पक्राउ प्रकरणका बेला मानव अधिकारकर्मी मोहना अन्सारीको एउटा ट्विटको जबाफमा लेखेका थिए —
'असम, वनारस वा म्यानमार जहाँ जन्मेको भए पनि कोइराला र लामिछानेका पुर्खा नेपाली हुन्, नश्ल नेपाली हो, सिरोहियाको हैन।'
अर्थात उनका विचारमा नेपाली भनेको एउटा नश्ल विशेष हुन्छ। जसको नेपाली नश्ल, उसैको नेपाली राष्ट्रियता।
सार्वजनिक विमर्शमा हाकाहाकी चलिरहेको यस्तो वैचारिक प्रतिगमनबीच हाम्रा लागि सिके लालको लेक्चर घनघोर खडेरीका बीच भएको वर्षाजस्तै थियो।
आखिर नेपालभित्र अपनत्व, आत्मसम्मान र सह-अस्तित्वको मधेसी सपनाको ताजा अवस्था के हो त?
यो प्रश्नको जबाफमा लालले कवि ल्यांग्स्टन ह्युग्सको 'हार्लेम' शीर्षक छोटो कविता सुनाए, जसको नेपाली अनुवाद यस्तो हुन्छ —
के हुन्छ निलम्बित सपनाको नियति?
के त्यो सुक्छ घाम लागेको किसमिस सरी?
वा टनटनी पाक्छ घाउजसरी
पिप भएर बग्नुअघि
कुहेको मासुजस्तो गन्हाउँछ कि?
वा जम्छ गुलियो परथ
चास्नीमा चोपिएको मिठाइ भइ?
हुनसक्छ, केबल त्यो झुक्छ गह्रौं भारीको बोझजसरी
वा विस्फोट पो हुन्छ कि?