यही २०८१ असार २३ गते साँझ कञ्चनपुर जिल्लाको दोधारा चाँदनी क्षेत्रमा घनघोर वर्षा हुन थाल्यो। स्थानीयले त्यसअघि कहिल्यै त्यति ठूलो वर्षा र बाढीको अनुभव गरेका थिएनन्।
असार २४ गते बिहान ८:४५ बजे कञ्चनपुरको दोधारा वर्षा केन्द्रले ६२४ मिलिमिटर वर्षा भएको मापन गर्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा वर्षा मापन गर्न थालिएको ७७ वर्ष इतिहासमा यो सबभन्दा उच्च हो।
त्यसै दिन कञ्चनपुरकै हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मिमी र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमी वर्षा मापन भएको थियो।
अति भारी वर्षाका कारण आएको बाढीमा परेर कृष्णपुर-१ मा एक नाबालकको मृत्यु भयो भने बेलडाँडी-५ मा माछा मार्न गएका एक पुरूष बेपत्ता भए। कञ्चनपुरभरि ठूलो मात्रामा भौतिक क्षति भयो। बेलडाँडी गाउँपालिकाको चौधरा नदीको नहरमा लगाइएको तटबन्ध फुटेर पानी गाउँ पस्यो। बेलडाँडी-५ मा १५० घरधुरी र बेलौरी नगरपालिका-८ का १०० घरधुरी डुबानमा परे।
साँझदेखि नै पानी गाउँ पस्ने जोखिम देखेपछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिले नहरको बाँधमा माटो भरेर रोक्न खोजेका थिए। तर सम्भव भएन। बेदकोट-७ स्थित पूर्व-पश्चिम राजमार्गको कल्भर्ट भत्किएर आवतजावत नै बन्द भयो। बेलडाँडी गाउँपालिकाका सबैजसो वडा र बेलौरी नगरपालिकाका ९ र १० वडा डुबानको चपेटामा परे।
तर इतिहासकै सबभन्दा भारी वर्षाका बाबजुद ठूलो मावनीय क्षति हुन पाएन।
वर्षा मापन हुन थालेपछिका ७७ वर्षमा यसअघि अति ठूलो पानी परेको २०५० साल साउनमा हो। साउन ६ गते २४ घन्टाभित्र टिस्टुङमा ५४० मिमी र हरिहरपुर गढीमा ४८३ मिमी वर्षा मापन भएको थियो। त्यस बेला हालको कोसी, मधेस र बागमती प्रदेशका जिल्लामा, खासगरी कुलेखानी जलाधार क्षेत्रमा 'क्लाउडब्रस्ट' हुँदा कैयन स्थानमा पहिरो जानुका साथै अधिकांश खोला तथा खहरेमा गेग्रान बहावसहित बाढी आएको थियो।
साउन २ देखि ६ गतेसम्मको अवधिमा भारी वर्षा र त्यसबाट उत्पन्न बाढी र पहिरोबाट ११७० जनाको मृत्यु भयो। बागमती बाँधमा काम गरिरहेका ९ जना चिनियाँ कामदार बेपत्ता भए। राजमार्गका कयौं पुल, कुलेखानीको पेनस्टक पाइप लगायत धेरै भौतिक संरचनामा क्षति पुग्यो। कुलेखानीको इन्द्रसरोवर जलासयमा ५० वर्षका लागि बनाइएको 'डेड स्टोरेज' एकै रातमा गेग्रानले भरियो। छोटो अवधिमा भएको सबभन्दा विध्वंशकारी विपद् घटनाका रूपमा नेपालको इतिहासमा त्यो अभिलिखित छ।
त्यसो भए २०५० सालको भन्दा ठूलो वर्षा हुँदा पनि यसपटक जनधन क्षति कम हुनुको कारण के हो त?
पूर्वसूचना, पूर्वतयारी र पूर्वकार्य
अति भारी वर्षाको सम्भावना देखिएपछि असार २२ गते गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामार्फत् जिल्ला प्रशासनलाई सूचित गरियो।
त्यसैअनुसार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अति जरूरी सूचना प्रकाशित गरी नदी किनारा र तटीय क्षेत्रमा बस्ने जिल्लावासीलाई 'अहिलेदेखि नै सतर्क रहनुहोला' भनी सावधान गराएको थियो। यस्ता सूचना र जानकारी मनन् गरी स्थानीय तह एवं सुरक्षा निकायले पूर्वतयारी थालेका थिए।
मनसुन अवधिभर विपद् पूर्वतयारी अन्य बेलाभन्दा ज्यादा निर्णायक हुन जान्छ। असार २४ गते जल तथा मौसम विज्ञान विभागले नदीको सतह बढिरहेकाले सावधानी अपनाउन आग्रह गर्दै मोबाइल सन्देश पठाएको थियो। त्यो सन्देशले दोधारा नदी आसपासका स्थानीय प्रशासन र समुदायलाई बेलैमा सर्तक रहन, पूर्वतयारी गर्न र पूर्वकार्यमा लाग्न मद्दत पुगेको थियो।
स्थानीय प्रशासन र समुदायका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले नदी सतहको निरन्तर अनुगमन गरिरहे। यसबाट पानीको सतह अस्वाभाविक रूपमा बढिरहेको उनीहरूले थाहा पाए। त्यसपछि दोधारा चाँदनी, पुनर्वास, लालझडी र बेलौरीका वडाध्यक्ष तथा विपद् सम्पर्क व्यक्तिहरूले स्मार्ट साइरनबाट सूचना बजाए।
नदी गाउँ पस्ने सम्भावना बढेपछि स्थानीय तह र सुरक्षाकर्मीले माइकिङ गरी जोखिमबारे स्थानीयलाई जानकारी गराए। बाढी बढ्न थालेपछि राति १ बजेदेखि नै पालिका अध्यक्षहरूको संयोजनमा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालियो।
यसरी पूर्वसूचना प्रणाली, पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धार नभएको भए कञ्चनपुर जिल्लामा मात्र १५० देखि २०० जनाको ज्यान जान सक्थ्यो।
घटना भएको केही दिनपछि कञ्चनपुर पुगेको यस पंक्तिकारलाई स्थानीय तहका पदाधिकारी एवं प्रमुख जिल्ला अधिकारीले हामीलाई यी कार्यबारे विस्तारमा बताएका थिए।
त्यस्तै, स्थानीय समुदायले प्रशासन तथा सुरक्षा निकायको सहयोगमा पूर्वतयारीमा लिएको अग्रसरताले पनि क्षति कम गर्न मद्दत मिल्यो।
लालझडी गाउँपालिकाको कान्जस्थित खोलामा पानीको सतह बढेर बाँध फुट्न लागेपछि बिहानैबाट बालुवा तथा माटो भरेका बोरा तटबन्धमा राख्न थालिएको थियो। पाँच सयभन्दा बढी यस्ता बोरा राखेपछि बाँध भत्केर बाढी गाउँ पस्न पाएन। पूर्वकार्यले गर्दा विपद् टर्यो।
समुदायको सामर्थ्य परीक्षण संकट बेला हुन्छ। माथिका उदाहरणबाट उक्त नदी किनारका समुदायको सामूहिक प्रयास प्रस्ट देखिन्छ। यो अवस्था सुदूर पश्चिम प्रदेशका सबभन्दा जोखिममा रहेका स्थानमा प्राधिकरणद्वारा जडान गरिएका पूर्वसूचना प्रणाली साइरनहरूको सफलताको प्रमाण पनि हो।
तहगत पूर्वतयारीको प्रभाव
मानवीय क्षति कम हुनुमा अन्य केही पक्षको पनि भूमिका छ।
जस्तो — प्राधिकरण स्थापना भएयता हरेक वर्ष मनसुन पूर्वतयारी एवं प्रतिकार्यलाई राष्ट्रिय कार्ययोजना बनाई सबै सम्बन्धित निकायको भूमिका किटान गरिन्छ। साधन स्रोतको विवरण तथा अवस्थिति सार्वजनिक गरिन्छ। त्यसैअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहले आ-आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयन गर्छन्।
केही स्थानीय तहले यसमा उदाहरणीय काम गरिरहेका छन्। दोधारा चाँदनी नगरपालिकाले विपद्बाट ज्यादा प्रभावित हुने अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, गर्भवती एवं सुत्केरी महिला भएका घरमा संकेत चिह्नहरू राखेको छ। यसले विपद्को समय उद्धार गर्ने बेला प्राथमिकता निर्धारण गर्न सहज हुन्छ।
त्यस्तै, केही वर्षयता संघीय तहमा मनसुन अवधिभरका लागि प्रतिकार्यको संयोजन गर्न मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्ट गठन गर्ने गरिएको छ, जुन चौबीसै घन्टा सक्रिय रहन्छ।
सम्भावित जोखिम हेरेर मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लगिन्छ। संघीय सरकारका मन्त्रालय, निकाय तथा विभाग, प्रदेश सरकार, सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, राजनीतिक दल, स्थानीय तहसहित विकास साझेदार र साझेदार संघ-संस्थाहरूसँग पूर्वतयारीका विषयमा पटक-पटक छलफल तथा अन्तर्क्रिया गरिन्छ। पूर्वसूचना प्रणाली र पूर्वकार्यलाई प्रभावकारी बनाउन सबै सरोकारवालासँग समन्वय गरिन्छ।
विगतभन्दा अहिले पूर्वतयारीमा राज्यका अतिरिक्त आममानिसको चासो पनि बढेको छ। राज्यले विपद्को जोखिम कम गर्न लगानी बढाएको छ। जनचेतना स्तर बढेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरेपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा मनसुनजन्य विपद्को जोखिम कम गर्न सबै सम्बद्ध निकाय पूर्वतयारीमा लागेका थिए। त्यसैको परिणामले यति विषम् मनसुनी प्रकोपका बाबजुद क्षति कम भएको हो।
यद्यपि यो घटनाले क्षतिको रिपोर्टिङ गर्ने विधि र संयन्त्रमा सुधार गर्नुपर्ने देखियो।
साउन २ गते यो पंक्तिकार र गृह मन्त्रालयका सहसचिव एवं मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टका संयोजक डा. भीष्मकुमार भूसाल स्थलगत अवस्थाको जानकारी लिन तथा जिल्ला एवं स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गर्न गएका थियौं। त्यहाँ गएपछि हामीले देख्यौं, उक्त भारी वर्षा, बाढी र डुबानले विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याएको रहेछ।
हाम्रो रिपोर्टिङ मानवीय क्षतिमा ज्यादा केन्द्रित हुन्छ। कञ्चनपुरको क्षति देखेपछि भौतिक क्षतिको यथार्थ रिपोर्टिङको संयन्त्र तथा विधि थप परिस्कृत गर्नुपर्ने आवश्यकता झन् महसुस भयो। जलवायु परिवर्तनले निम्त्याउने कञ्चनपुरको अतिवृष्टि लगायत पानीजन्य जोखिमबाट निम्तिने क्षति तथा नोक्सानी घटाउन वित्तीय साधन-स्रोत जुटाउनसमेत रिपोर्टिङ प्रणाली बलियो हुनुपर्छ।
(पोखरेल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख हुन्।)