संसारकै धनीमध्येका एक मुकेश अम्बानीका कान्छा छोरा अनन्तको बिहे पछिल्लो सात महिनादेखि चर्चामा छ। निकै तामझाम साथ गरिएको यो बिहेमा रमाउनेहरू थुप्रै थिए। त्योभन्दा कैयौं गुणा बढी यसको निन्दा गर्नेहरू भए।
उक्त बिहेलाई धनसम्पत्तिको भद्दा प्रदर्शन भन्दै पुँजीवादको विकृतिका रूपमा औंल्याउनेको कमी थिएन।
आफ्ना वरपर आफूलाई चित्त नबुझ्ने कुनै कुरा भयो भने, त्यसलाई पुँजीवादसँग लगेर जोड्ने सदियौंदेखिको शृंखलामा एक अर्को कडी बन्यो अनन्तको बिहे।
साँच्चै, जुन किसिमले अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहे भयो, त्यो पुँजीवादको दोष थियो?
अम्बानीको बिहेलाई अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले त्यहाँको 'गिल्डेड एज' सँग तुलना गर्यो। मार्क ट्वेन र चार्ल्स डडली वार्नरले सन् १८७३ मा लेखेको उपन्यास 'द गिल्डेड एजः अ टेल अफ टुडे' मा गरिएको तत्कालीन अमेरिकी समाजको चित्रणबाट 'गिल्डेड एज' एक बलियो बिम्ब बनेको हो।
उपन्यासमा चर्चा गरिएको त्यो कालखण्डमा संयुक्त राज्य अमेरिकाले तीव्र आर्थिक वृद्धि गरेको थियो। उत्तर र पश्चिमी राज्यहरूमा रेलमार्ग निर्माण, खानी, टेक्स्टायल, स्टिल, पेट्रोलियम, कृषि, वन पैदावार लगायतको व्यापक व्यावसायीकरण र औद्योगिकीकरण भएको थियो। यो आर्थिक वृद्धिले अमेरिकामा द्रुत गतिमा सामाजिक तथा सांस्कृतिक परिवर्तन ल्यायो। धनी र गरिबबीचको खाडल पनि बढ्यो। थोरै संख्याका उद्योगी र लगानीकर्ताले अकुत सम्पत्ति कमाए।
त्यसै बेला रोजगारी खोजीमा ग्रामीण क्षेत्रबाट आउने मान्छेको लर्कोले सहरी क्षेत्रमा जनसंख्या थुप्रियो। महानगरहरूको विकास भयो। युरोपबाट आप्रवासीहरू उसैगरी आए। कारखानाहरूमा कठोर परिश्रम गर्नेहरू धेरै भए।
उपन्यासका अनुसार त्यो राजनीतिक नेतृत्व र ठूला व्यापारीहरूको साँठगाँठको युग थियो। यसै समयमा समानान्तर रूपमा औद्योगिक अशान्ति, मजदुर आन्दोलन, दंगा, हत्या, हिंसा लगायत आपराधिक गतिविधि पनि तीव्र भए।
टेलिफोन, बिजुली-बत्ती र कृषि यन्त्र-उपकरण सहित धेरै प्राविधिक प्रगति पनि यही समयमा भयो। नयाँ रूपका मनोरञ्जनका गतिविधि बढे, किनमेल बढ्यो, जनजीवन अधिक उपभोगमुखी हुँदै गयो। चलचित्रको प्रारम्भिक विकास पनि यसै समयमा भयो। नौलो अमेरिकी संस्कृतिको थालनी भयो।
ट्वेन र वार्नरका अनुसार यसरी अमेरिकी समाजमा आर्थिक असमानताले किलो गाडेको थियो भने केही मान्छेको समृद्धि सुनझैं चम्किएको थियो। गरिबी र अभाव छिपेको थियो भने सम्पत्तिको जगजगी देखिएको थियो। यसैलाई चम्किलो युग (गिल्डेड एज) भनियो।
द न्यूयोर्क टाइम्सले अहिलेको समयलाई भारतको 'गिल्डेड एज' भनेको छ।
सन् २००० मा फोर्ब्सको अर्बपति सूचीमा पर्ने भारतीयको संख्या ९ थियो, अहिले दुई सय पुगेको छ। यिनीहरूको कुल सम्पत्ति ८ सय ३५ खर्ब भारू (भारतको कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ) हुन आउँछ। सन् १९९० दशकमा भारतीय अर्बपतिहरूको कुल सम्पत्ति कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत मात्र थियो।
टाइम्सका अनुसार यसले भारतमा रहेको चरम आर्थिक असमानता प्रतिबिम्बित गर्छ।
भारतले पछिल्लो दुई दशकमा निरन्तर उच्च आर्थिक वृद्धि दर कायम राखेकाले अर्बपतिहरू बढेका छन्। उपभोग गर्ने इच्छा र क्रय शक्तिको योगलाई अर्थशास्त्रमा माग भनिन्छ। भारतमा वस्तु र सेवाको माग बढेको छ। यसबाट गहिरो र फराकिलो घरेलु बजार सिर्जना भएको छ। भारतीय कम्पनी यो अवसरलाई पुँजीकरण गर्न तँछाडमछाड गरिरहेका छन्।
ब्रिटिस राजबाट मुक्त हुने बेलामा भारतले आफूलाई समाजवादी मुलुकका रूपमा उभ्याएको थियो। सन् १९८० दशकको उत्तरार्द्धसम्म देशको अर्थतन्त्र कडा सरकारी नियमन र संरक्षणकारी नीतिबाट निर्देशित थियो। यसले 'लाइसेन्स राज' को नाम पाएको थियो।
प्रधानमन्त्री पिभी नरसिंह रावका पालामा आर्थिक नीति खुकुलो बनाइयो। आफूलाई समाजवादी भनेर चिनाउँदै आएको कांग्रेसले उदारवादी आर्थिक नीति अवलम्बन गर्यौं भनेर खुलेर भनेन। नभने पनि आर्थिक खुलापनले काम गर्यो।
आन्तरिक उत्पादन र अन्तर्राष्ट्रिय व्यापारमा उच्च वृद्धि भयो। सफ्टवेयर र सेवा व्यवसायको उछालले भारतलाई विश्वको 'ब्याक अफिस' नै बनायो। धेरै नयाँ अर्बपतिहरू जन्मिए। तीमध्ये मुकेश अम्बानी एक हुन्।
हाल अम्बानीको सम्पत्ति एक सय १६ अर्ब अमेरिकी डलर (झन्डै नौ हजार ६ सय २८ अर्ब भारू) छ। यो सम्पत्तिले उनलाई एसियाको सबभन्दा धनीको दर्जा दिलाएको छ। विश्वका अर्बपतिको सूचीमा शीर्ष १० मा अम्बानी पर्छन्।
रिलायन्स इन्डस्ट्रिज मुकेशका पिता धिरूभाइले जग हालेको विशाल व्यावसायिक समूह हो। यसमा विश्वको सबभन्दा ठूलो तेल प्रशोधन कम्पनी, भारतकै सबभन्दा ठूलो मोबाइल फोन नेटवर्क, टेलिभिजन, मनोरञ्जन कम्पनी र रिटेल चेन पर्छन्।
कतिपय भारतीयहरू अम्बानीको सम्पत्तिमा भएको आश्चर्यजनक वृद्धिलाई उनीहरूले देखेको सपनाको भारत भन्छन्। उनीहरूलाई यहाँको गरिबीको धेरै प्रचारप्रसार भएको तर समृद्धिको त्यति प्रचार नभएको भन्ने लाग्छ। उनीहरूलाई लाग्छ — भारत संसारको ध्यान खिच्न योग्य देश हो। यसका लागि उसले कुनै तामझाम गर्नपर्दैन। उसले सामान्य दैनिक व्यवहार सञ्चालन गर्दा पनि संसार छक्क परेर हेरिरहेको हुन्छ।
उनीहरूलाई यो पनि लाग्छ — मुकेशका छोराको बिहे सामान्य हो। यसले संसारको ध्यान आकर्षण गर्नु सामान्य हो। अथाह सम्पत्ति भएको अम्बानीको स्तरका मान्छेले छोराछोरीको बिहेमा यत्तिको खर्च गर्नु अनौठो होइन। बरू भारतमा आममान्छेले बिहे लगायत अन्य पारिवारिक कार्यक्रममा आफ्नो आय र सम्पत्तिको तुलनामा निकै बढी खर्च गर्छन्।
'भगवानको कृपाले अम्बानीसँग यति धेरै सम्पत्ति छ, उनले आफ्नो इच्छा अनुसार किन खर्च नगर्ने' भन्नेहरू पनि नभएका होइनन्।
गत डिसेम्बरमा अनन्त र राधिकाको 'मगनी' भएदेखि नै मिडियामा चर्चा सुरू भएको हो।
राजस्थान, गुजरात, मुम्बई र युरोपका विभिन्न सहरमा भएका बिहेका विविध कार्यक्रमहरूबारे समाचार बने। ती कार्यक्रममा देश-विदेशका धनी तथा शक्तिशाली मान्छे सहभागी भएको, अम्बानी परिवारले जमनानगरमा ५० हजार गाउँलेलाई भोज खुवाएको, पालघर मुम्बईमा नाजुक आर्थिक अवस्था भएका ५० जोडीको सामूहिक बिहे गराइदिएको, मेडिटेरियन सागरमा चार दिनसम्म लक्जरी क्रुजमा पार्टी गरेको, पाहुनालाई महँगा उपहार दिएको लगायत समाचार र सूचना आइरहे। बिहेमा आएका पाहुना, उपहार, खानेकुरा, पहिरन, गरगहना, संगीत, उत्सव, कार्यक्रम स्थल सबै चिजको चर्चा भयो।
सबभन्दा बढी चर्चा बिहे खर्चको भयो। यो बिहेमा ५० अर्ब भारू खर्च भयो भन्ने अनुमान धेरैको छ। एकथरी मान्छेलाई यो खर्च उचित होइन भन्ने लागेको छ। तर पारिवारिक कार्यक्रमहरूमा कति खर्च गर्नुपर्छ भन्ने सर्वस्वीकार्य मानक हुँदैन।
पश्चिमा देशहरूमा प्रचलित एउटा लोकोक्ति छ — बिहेको औंठीमा दुई महिनाको तलब बराबर मात्रै खर्च गर्नुपर्छ।
यसले बिहे खर्च व्यक्तिको आर्थिक हैसियत अनुसार हुनुपर्छ भन्ने संकेत गर्छ। दाम्पत्य जीवनको थालनीलाई उत्सवका रूपमा मनाउँदै गर्दा सुरक्षित आर्थिक भविष्यको पनि ख्याल गर्नुपर्छ भन्ने उक्त लोकोक्तिको आशय हो। बलियो आर्थिक अवस्था भएको व्यक्तिलाई खर्चालु हुने सुविधा हुन्छ, अरूलाई हुँदैन। यो सुविधासँग जोडिएको हुन्छ व्यक्तिगत मनोवृत्ति। कोही प्रशस्त धनसम्पत्ति भएर पनि खर्च नगर्ने वा खर्च गर्न डराउने हुन्छन्। कोही थोरै सम्पत्ति हुँदा पनि धेरै खर्च गर्न रूचाउने वा खर्च गर्ने आत्मविश्वास भएका हुन्छन्।
त्यसैले खर्च गर्ने कुरा वस्तुगत मात्रै हुँदैन। आर्थिक समाजमा बिहे, ब्रतबन्ध, जन्मदिन, अन्नप्राशन लगायत पारिवारिक कार्यक्रमलाई व्यापारिक सम्बन्ध विस्तार तथा नवीकरण गर्ने अवसरका रूपमा पनि प्रयोग गरिन्छ। पारिवारिक कार्यक्रमहरूमा खर्च कम वा बढी गर्ने भन्ने कुरा प्रचलित संस्कृतिले पनि निर्धारण गर्छ। एक किसिमको संस्कृतिले बढी खर्चलाई प्रोत्साहित गर्छ भने अर्कोले गर्दैन।
अनन्त अम्बानीको बिहेलाई सम्पत्ति प्रदर्शनको माध्यम बनाइएकोमा कतिपयको आपत्ति छ। आपत्ति जनाउनेहरूमा धेरैजसो लेख्ने र बोल्ने पेसाका मान्छे छन्। धन आर्जनलाई महत्त्व दिने विषय नै उनीहरूलाई मन परेको छैन। उनीहरूका अनुसार धनको वैभव गौरव गर्नुपर्ने कुरै होइन। सामन्ती युगमा राजा-महाराजाले जे गर्थे, अहिले धनाढ्यहरूले त्यही गरिरहेको उनीहरूको तर्क छ। धनको केन्द्रीकरणले नयाँ राजाहरू जन्माएकाले यो अनैतिक हो, यस्तो धनको पुनर्वितरण हुनुपर्छ भन्छन्।
द न्यूयोर्क टाइम्सले लेखेको छ — अनन्त अम्बानीको बिहे देखेको भए जे ग्याट्सबी पनि छक्क पर्थे!
एफ स्कट फिट्जेराल्डको उपन्यास 'द ग्रेट ग्याट्सबी' को मुख्य पात्र हो जे ग्याट्सबी। सन् १९२५ मा प्रकाशित यो उपन्यासले १९२० दशकको अमेरिकी परिवेशको चित्रण गरेको छ। ग्याट्सबी असाध्यै धनी तर रहस्यमयी पात्र हुन्छ। न्यूयोर्क लङ आइल्यान्डमा रहेको आफ्नो भव्य महलमा ग्याट्सबी दिन दिनैजसो ठुल्ठूला पार्टी दिन्छ। सहरमा यत्रतत्र उसको पार्टीको चर्चा हुन्छ। कहलिएका व्यापारी, शक्तिशाली राजनीतिकर्मी, प्रख्यात कलाकार, प्रशासकहरू ती पार्टीमा आउँछन्।
पार्टीमा आउने धेरैलाई त ग्याट्सबीले चिनेको पनि हुँदैन। केका लागि, किन पार्टी आयोजना गरिएको हो, त्यहाँ आउनेलाई पनि थाहा हुँदैन। तर पार्टीको मजा सबैले लिइरहेका हुन्छन्। सहरमा उसका बारेमा विभिन्न अफवाह फैलिएका हुन्छन्। उसले फरक फरक मान्छेलाई आफ्ना बारेमा फरक फरक कथा सुनाएको हुन्छ। एउटा मामुली मान्छे अपार सम्पत्तिको मालिक कसरी भयो भन्ने धेरैको चासो हुन्छ।
कसैले उसको सम्पत्तिको स्रोत मदिराको अवैध व्यापार हो भन्छन्, कसैले ऋणपत्रमा लगानी गरेर कमाएको भन्छन्। एकथरीको अनुमान दंगा र लुटपाट भएका बेला उसले धन कुम्ल्याएको हो भन्ने हुन्छ। अर्काथरी भने युद्धमा जाँदा त्यतै गाडधन हात पारेको हो भन्छन्।
साहित्यका समीक्षकहरूका अनुसार यो उपन्यास अमेरिकी सपनाको भ्रष्टीकरणको कथा हो। उनीहरू यो उपन्यास भौतिकवाद र सतही सफलतासँग जोडिएको छ भन्छन्।
ग्याट्सबीले आर्थिक सफलता र सामाजिक हैसियत हासिल गर्छ तर प्रेम र आत्मिक सुख पाउँदैन। सम्पत्ति र बाहिरी शान-शौकत भए पनि ग्याट्सबी भित्र एक्लो र खोक्रो हुन्छ। किनभने, ती सबै तामझाम उसले मन पराएकी केटीलाई आफ्नो बनाउने उद्देश्यले गरेको हुन्छ जसमा ऊ सफल हुँदैन।
यो उपन्यासले अमेरिकी सपनाको खोक्रोपन र समाजको नैतिक पतनलाई खोतलेको समीक्षकहरू दाबी गर्छन्।
न्यूयोर्क टाइम्सले अनन्त अम्बानीको बिहेलाई गिल्डेड एज र ग्याट्सबीको प्रसंगसँग जोडेर घुमाउरो तरिकाले पुँजीवादको भद्र आलोचना गरेको छ। अमेरिकामा मार्क ट्वेन, बेलायतमा चार्ल्स डिकिन्स, जर्ज बर्नाड शा लगायतको साहित्यिक लेखनमा पुँजीवादको चर्को आलोचना पाइन्छ। हामी त झन् उग्र छौं। आफूले ठानेको नकारात्मक आर्थिक तथा सामाजिक घटनालाई ठाडै पुँजीवादको विकृति हो भनिदिन्छौं।
बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या जस्तो जघन्य अपराधलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' ले पुँजीवादका कारण भएको घटना भनेका थिए।
कुनै लेखकलाई लेख्न अल्छी लाग्यो भने पुँजीवादलाई दोष दिन्छन्। तुइन चुँडिएर मान्छे महाकाली नदीमा खस्दा पनि पुँजीवादले नै गाली खान्छ।
'पुँजीवादी व्यवस्थाले बालबालिका हेरचाहको जिम्मा आमालाई मात्र लगाएको छ' भनेर एक जना वकिलले राष्ट्रिय दैनिकमा लेख लेखेकी थिइन्।
उल्लिखित सबै विषय पुँजीवादलाई दोष दिनुपर्ने हुन् त?
सामान्य अर्थमा बुझ्दा उत्पादनका साधनमा निजी स्वामित्व हुने र ती साधन नाफाका लागि परिचालन हुने आर्थिक प्रणाली पुँजीवाद हो। 'कुनै पनि किसिमले अर्कालाई क्षति नपुर्याउने' भन्ने पुँजीवादी नैतिकता र वैधानिकता हो। व्यक्तिगत स्वतन्त्रता र विधिको शासन यसको आधार हो।
आलोचकहरू यसले सम्पत्तिको प्रदर्शनलाई बढावा दिन्छ भन्छन्। तर सम्पत्ति प्रदर्शन निरपेक्ष पुँजीवादी चरित्र होइन। पुँजीवादी समाजमा सम्पत्तिको प्रदर्शनलाई रोक लगाइँदैन भन्नुको अर्थ यसलाई प्रोत्साहित गरिन्छ भन्ने होइन। सबै किसिमका स्वतन्त्र समाजमा सम्पत्तिको प्रदर्शनीलाई सांस्कृतिक, सामाजिक र व्यक्तिगत छनौटले प्रभाव पार्छ।
पुँजीवादी अर्थतन्त्र उपभोक्तावादमा अडिएको हुन्छ, यसले अधिक उपभोग प्रोत्साहन गर्छ भन्ने आममान्यता छ। यो पनि सही होइन।
व्यक्तिले वस्तु र सेवा आफ्नो उपयोगिताका लागि मात्र होइन, आफ्नो आर्थिक हैसियत देखाउन पनि उपभोग गर्छ। विलासिताका सामान, महँगा कार र भव्य महल यसैकारण अस्तित्वमा आएका हुन्। मान्छे देहिक सुखमा मात्र सीमित हुँदैन।
पुँजीवादले प्रतिस्पर्धालाई सहज बनाउँछ। यसको मतलब कसैलाई सम्पत्ति प्रदर्शन गर भनेर प्रोत्साहित गर्दैन। व्यक्ति आफ्नो उपलब्धि प्रदर्शन गर्न र प्रशंसा प्राप्त गर्न स्वतन्त्र हुन्छ। लोकले आफ्नो उपलब्धिको सरहाना गरोस् भन्ने आकांक्षा नाजायज होइन।
पुँजीवादी व्यवस्थामा बजारीकरण र विज्ञापनमार्फत् कृत्रिम माग सिर्जना गरिन्छ। यसले खर्चिलो जीवनशैलीको इच्छा जागृत गर्छ भन्ने आरोप पनि पुरानो हो।
पुँजीवादले आर्थिक असमानता निम्त्याउँछ, धन केही व्यक्तिको हातमा केन्द्रित हुन्छ, धनीहरू सम्पत्ति प्रदर्शनीमा रमाउँछन्, यो वाञ्छनीय होइन भन्ने गुनासो पनि नयाँ होइन।
तर व्यक्तिले कुन मूल्य-मान्यतालाई महत्त्व दिन्छ र उसका प्राथमिकता के हुन् भन्ने कुरा कुनै व्यवस्था वा निकायले निर्धारण गर्ने विषय होइन। केही मान्छेहरू असाध्यै धनी भए पनि सरल जीवन रूचाउँछन्। यसको चर्चित उदाहरण हुन् अर्बपति वारेन बफेट।
बफेट सन् १९५८ मा ३१ हजार ५ सय डलरमा किनेको सानो दुई तले घरमा बसिरहेका छन्। वर्षौंदेखि चढ्दै आएको कार उनले सन् २०१४ मा मात्रै फेरे। अधिक उपभोगबाट टाढै बस्ने बफेट आफूलाई परोपकारी काममा व्यस्त राख्छन्। मृत्युपश्चात आफ्नो ९० प्रतिशत सम्पत्ति बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दिने घोषणा गरेका छन्।
अनन्त अम्बानीको बिहेसँग जोडेर पुँजीवादलाई गरिएको आलोचनाका दुई पक्ष छन् — आर्थिक र नैतिक।
अनन्तको बिहेमा फजुल खर्च भएको छ। यसलाई उत्पादनशील काममा लगाउन सकिन्थ्यो भन्ने आर्थिक पक्ष हो।
के पुँजीवादले अनुत्पादक खर्चलाई प्रोत्साहित गर्छ?
पुँजीवादी विचारक फ्रेडरिक बास्टियाटले आर्थिक स्रोतहरूको आदर्शतम प्रयोग सम्बन्धमा एउटा रमाइलो टिप्पणी गरेका छन्। १९ औं शताब्दीका फ्रान्सेली अर्थशास्त्री, उद्यमी तथा राजनीतिकर्मी बास्टियाट स्वतन्त्र बजार र सीमित सरकारी हस्तक्षेपको पक्षमा स्पष्ट र आकर्षक तर्क प्रस्तुतिका लागि परिचित छन्।
आर्थिक चिन्तनमा उनको सबभन्दा प्रसिद्ध योगदान 'ब्रोकन विन्डो फ्यालेसी' को अवधारणा हो। उनको 'ह्वाट इज सिन एन्ड ह्वाट इज अनसिन' भन्ने निबन्धमा एउटा फुटेको झ्यालको प्रसंग आउँछ। एउटा चकचके बदमासले पसलको झ्याल फुटालिदिन्छ। पसलेले झ्याल बनाउन सिकर्मी बोलाउँछ। सिकर्मीले मर्मतका लागि बजारबाट विभिन्न सामग्री खरिद गर्छ। उसले पनि ज्याला पाउने भइ नै हाल्यो।
झट्ट हेर्दा यो घटना अर्थतन्त्रका लागि लाभदायक छ, किनभने यसले सिकर्मीलाई काम दिन्छ अरूलाई व्यापारको अवसर। यसले आर्थिक गतिविधिलाई उत्प्रेरित गर्छ।
बास्टियाटको तर्क भने भिन्न छ। उनले त्यस घटनामा ओझेलमा परेका कुरालाई औंल्याँछन्। उक्त घटनाले आर्थिक गतिविधिलाई उत्प्रेरित गर्यो भन्ने धारणालाई गलत ठहर्याउँछन्। उक्त घटनामा पसलेले अन्यत्र लगानी गर्न सक्ने रकम झ्याल मर्मतमा खर्च गर्नुपरेको छ। झ्यालमा खर्चिएको रकम पसलमा अरू सामान थप्न सकिन्थ्यो। व्यापार बढाउन सकिन्थ्यो। उसको आम्दानी र नाफा बढ्न सक्थ्यो।
यसलाई अर्थशास्त्रको औपचारिक भाषामा अवसर लागत भन्छन्। झ्याल फुट्दा पसलेले अन्यत्र लगानी गर्न सक्ने अवसर गुमाएको छ।
यो उदाहरणमार्फत बास्टियाटले कुनै किसिमको ध्वंस वा विनाशले आर्थिक अवसर सिर्जना गर्दैन, समाजमा अतिरिक्त वस्तु तथा सेवा उत्पादन गर्ने गतिविधिले मात्र आर्थिक उन्नति हुन्छ, एउटा हातबाट अर्कोमा सर्दैमा धन बढ्ने होइन भनेका थिए।
सबै खाले खर्च लाभदायी हुँदैनन्। यो नीति-निर्माता र सार्वजनिक जीवनमा सक्रिय हुन खोज्नेहरूले हेक्का राख्नुपर्ने विषय हो। सार्वजनिक बहसमा उत्रिएर हस्तक्षेप गर्न खोज्नेहरूले त झन् यो आधारभूत आर्थिक सत्य बुझ्नुपर्छ।
अल्पकालमा अर्थतन्त्रलाई उत्प्रेरित गरेजस्तो देखिने तर समाजलाई खुद नोक्सानमा पार्ने क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन। प्राकृतिक प्रकोप, युद्ध र विनाशपछिको पुनर्निर्माणले रोजगारी सिर्जना गरेजस्तो र अर्थतन्त्रलाई बढावा दिएको जस्तो देखिए पनि त्यसले आर्थिक क्षति र अवसर लागत ओझेलमा पारेको हुन्छ।
बास्टियाटले तात्कालिक प्रभावभन्दा फराकिलो र दुरगामी प्रतिफलमा जोड दिनुपर्छ भनेका छन्। यस सन्दर्भमा पुँजीवादी बास्टियाटले अनन्तको बिहेलाई कसरी हेर्थे होला? पुँजीवादको रक्षार्थ भड्किलो र खर्चिलो बिहे गर्नुपर्छ भन्थे होला?
बास्टियाट मात्रै होइन कुनै पनि पुँजीवादीले कहिल्यै पनि स्रोतहरूको अनुत्पादक खर्चलाई प्रोत्साहित गर्दैनन्। फजुलखर्ची पैसावालहरू पुँजीवादबाट प्रभावित भएर भड्किलो आर्थिक व्यवहारमा प्रस्तुत भएका होइनन्।
अब नैतिक प्रश्नमा जाऔं।
अनन्तको बिहेमा खर्च भएको पैसाले करोडौं भोका भारतीयको पेट भर्न सकिन्थ्यो भने भावनात्मक कुरा अगाडि सारिएको छ। युएनडिपीका अनुसार भारतमा झन्डै १६ प्रतिशत (२२ करोड) जनसंख्या गरिबीको रेखामुनि छ। विश्व खाद्य कार्यक्रमका अनुसार ८० करोड भारतीयलाई सरकारले मासिक रूपमा अनुदानको अन्न उपलब्ध गराउँछ।
यी आँकडा नै आपसमा अमिल्दा छन्। गरिब जनसंख्या २२ करोड, ८० करोडलाई अनुदानको अन्न।
यो ८० करोड भारतीयलाई अनुदानमा अन्न उपलब्ध गराउने विषयमा राजनीति मिसिएको छैन होला?
मानौं यसमा राजनीति मिसिएको छैन। ८० करोड भारतीयलाई अनुदानको अन्न उपलब्ध गराउनै पर्छ। गराउनै पर्ने हो भने त्यो दायित्व अम्बानी परिवारको हो?
अर्कामाथि दायित्व सिर्जना गर्ने कुनै पनि क्रियाकलापलाई पुँजीवादले नैतिक मान्दैन। आफ्नो उपयोगिता (कल्याण) कम गरेर दोस्रो पक्षको उपयोगिता (कल्याण) बढाउन स्वतन्त्र व्यक्ति नैतिक रूपमा बाध्य हुँदैन। त्यस्तो कर्म स्वैच्छिक हुन सक्छ, अनिवार्य हुन सक्दैन भन्ने पुँजीवादी नैतिक मूल्य हो।
सबै खाले बाध्यकारी प्रबन्ध अनैतिक हुन्। बाध्यकारी प्रबन्धले व्यक्तिगत स्वतन्त्रतालाई खण्डन गर्छ। स्वतन्त्रपूर्वक बाँच्न पाउने र आफ्नो सम्पत्तिको स्वतन्त्र उपयोग गर्न पाउने व्यक्तिको मौलिक अधिकारलाई खण्डन गर्छ।
आलोचकहरू भन्छन् — पुँजीवाद नैतिकहीन व्यवस्था हो।
होइन, पुँजीवाद नैतिकतायुक्त व्यवस्था हो। यसका नैतिकता, मूल्य-मान्यताले व्यक्तिलाई महत्त्व दिन्छ। यसका नैतिकता, मूल्य-मान्यता सामूहिकतावादीको भन्दा भिन्न छ।
धनवान हुनुले व्यक्तिमा अतिरिक्त नैतिक दायित्व सिर्जना गर्दैन। व्यक्ति आर्थिक रूपमा असमान भए पनि नैतिक तहमा समान हुन्छन्। धनी र गरिबको नैतिक धरातल समथर हुन्छ। तसर्थ, अनन्त अम्बानीको बिहे खर्चलाई नैतिकताको कसीमा जाँच्नुको औचित्य देखिँदैन।
भारतीय समाजमा सम्पत्तिको अन्तर छ भन्ने कुरा छिपेको छैन। जुन गरिबको हवाला दिएर बिहे खर्च धेरै भयो, बिहेमार्फत् भएको सम्पत्ति प्रदर्शनले गरिबलाई गिज्याउँछ भनिएको छ, ती गरिबलाई अम्बानीको बिहेमा के के भयो भन्ने जानकारी नै छैन।
जानकारी भए पनि उनीहरू 'कर्मको फल' भनेर चित्त बुझाउँछन्। भाग्य बलियो भएकाले धनीहरू धनी भएका हुन् र गरिबहरू गरिब भएका हुन् भन्ने सरल बुझाइ हुन्छ उनीहरूको।
खासमा टाउको दुखेको मध्यम वर्गलाई हो। अनन्त अम्बानीको बिहेको आलोचना र त्यसमा पुँजीवादको दोष देख्ने दृष्टिकोण मध्यमवर्गीय इर्ष्याको उपज हो।
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)