गत वर्ष विद्यालय शिक्षा परीक्षा (एसइई) सुरू हुन एक महिनाजति बाँकी थियो, म काठमाडौं महानगरपालिकाको एक सरकारी विद्यालयमा पुगेँ।
प्रसंग थियो कक्षा १० का विद्यार्थीलाई एसइई तयारीका लागि सहयोग पुर्याउने। नमूना कक्षा लिने कार्यभार थियो। पढाउनुपर्ने विषय थियो विज्ञान। पूर्वतयारीका लागि मैले विषय शिक्षकसँग पाठ्य पुस्तक मागेँ।
'किताब त छैन।'
म शिक्षण सहजकर्ताको भूमिकामा त्यहाँ पुगेको थिएँ। मेरा लागि शिक्षकको जबाफ आश्चर्यजनक थियो।
हजुरकै भए पनि केही घण्टाका लागि पाऊँ न।'
'शिक्षकले पाठ्य पुस्तक राख्ने गरेको छैन।'
'विद्यार्थीलाई कसरी पढाउनुहुन्छ त?'
'पुस्तकबाट पढाउने होइन। विद्यार्थीले ओल्ड इज गोल्ड लिएर आउँछन्, त्यसैबाट पढाउने हो।'
शिक्षकको जबाफबाट मेरो आश्चर्यको कित्ताले आकाश छोयो।
अहिले नेपालमा 'ओल्ड इज गोल्ड' भनिने पुराना प्रश्न र उत्तरहरूको सँगालोबाट पढ्ने-पढाउने चलन व्यापक छ। एसइईमा सहभागी हुने विद्यार्थीको संख्या प्रतिवर्ष चार लाखभन्दा केही बढी हुने गरेको छ। एकप्रति सँगालोको ८०० रूपैयाँ जति पर्दो रहेछ।
यस हिसाबले वार्षिक ३० करोड रूपैयाँभन्दा माथिको व्यापार यही सामग्रीबाट हुने रहेछ। त्यसमा गेस पेपर वा सहयोगी पुस्तिकाजस्ता अन्य सामग्रीको व्यवसाय अलग्गै छ।
यो व्यापारमा राज्यका नियमनकारी निकायको भूमिका कस्तो छ भन्ने विषय बहसको अर्को पाटो हो।
मैले ती विषय शिक्षकसँग गरेको थप संवाद पनि रोचक छ।
'तपाईं-हाम्रा पालामा एसएलसी भनिन्थ्यो। कति वर्ष भयो तपाईंले एसएलसी परीक्षा दिएको?'
'बयालीस सालमा हो।'
'तपाईंले दस कक्षामा पढेको विज्ञान पुस्तक कसले लेखेको थियो सम्झना छ?'
'किन नहुनु! डा. सुरेशराज शर्मा र डा. सीताराम अधिकारी।'
'पाठ्य पुस्तकका लेखकको नाम सोध्दा तपाईंले पढाएका विद्यार्थीले पनि भविष्यमा यसरी नै जबाफ देलान् त?'
'त्यो असम्भव छ। अहिले पुस्तक लेखाइमा ठेकेदारी प्रथा छ। त्यस बेला जस्तो विद्वत् वर्गले पुस्तक लेख्दैन।'
यी विषय शिक्षकको भनाइमा असहमत हुने ठाउँ छैन। उनले भनेको 'विज्ञान' विषयको पुस्तक २०४१ माघमा पहिलो संस्करण प्रकाशन भएको थियो। त्यो पुस्तक कक्षा ९ र १० का लागि संयुक्त थियो। भाग १ मा भौतिकशास्त्र, भाग २ मा रसायनशास्त्र र भाग ३ मा जीवशास्त्र थियो।
त्यो पुस्तक एक दशकभन्दा बढी चल्यो। सम्भवतः ४० को दशकमा एसएलसी परीक्षा दिने अधिकांश विद्यार्थीले डा. शर्मा र डा. अधिकारीको नाम स्मरण गरेका होलान्। लेखकका रूपमा उहाँहरूको नाम ठूला अक्षरमा आवरण पृष्ठमै लेखिएको थियो।
२०२८ सालमा राष्ट्रिय शिक्षा योजना लागू हुँदा कक्षा एकदेखि कक्षा १० सम्मका पाठ्य पुस्तक नेपाली भाषामा तयार पार्ने नीति थियो। त्यस बेलाका पुस्तकमा अंग्रेजी शब्द अत्यावश्यक अवस्थामा थोरै मात्र प्रयोग गरिएको थियो।
अहिलेको विज्ञान पुस्तक त्यस्तो छैन। पुस्तकको नाम नै 'विज्ञान र प्रविधि' छ। धेरै लामो समय 'विज्ञान' विषयका रूपमा प्रचलनमा रहे पनि बीचमा 'विज्ञान तथा स्वास्थ्य शारीरिक शिक्षा' भनियो। अहिले पुस्तक लेखकको नाम आवरण पृष्ठमा लेख्ने चलन हटेको छ।
विज्ञान विषयका आधारभूत खण्ड भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र स्पष्ट किटान गरेर राखिएको छैन। नेपालीमा सजिलै अर्थ खुल्ने शब्द पनि अंग्रेजी रूप राखेर पुस्तक भद्दा बनाइएको छ। 'वैज्ञानिक अध्ययन' जस्ता शीर्षकमा सामग्री राखिएको छ।
पुराना पुस्तकमा जुन तहको अनुसन्धान र विश्लेषणको मिहिन रूप थियो त्यो अहिलेको पुस्तकमा देखिँदैन। अहिले पुस्तक रंगीन त बनाइएको छ तर त्यहाँका रंगीन सामग्री कर्मकाण्डीय हिसाबमा राखेका देखिन्छन्। तिनले पठनकार्यमा अपेक्षित मूल्य अभिवृद्धि गर्न सकेको जस्तो देखिँदैन।
शिक्षा क्षेत्रमा नयाँ प्रयोग गरेको पनि ५२ वर्ष बितेको छ। राज्यले विज्ञ टोली परिचालन गरेर विज्ञान र गणितका पाठ्यपुस्तक पनि नेपाली भाषामा तयार पारेको थियो। बितेको पाँच दशकमा लगानीअनुरूप पाठ्य पुस्तकको स्तरोन्नति भएको हुनुपर्ने थियो। पाठ्य पुस्तकको परिमार्जित मात्र होइन, परिस्कृत संस्करण पनि आउनुपर्ने थियो।
त्यस बेला विज्ञान र गणितका कतिपय अंग्रेजी शब्दावली नेपाली भाषामा अनुवाद गरिएको थियो।
अंग्रेजी भाषाको पुस्तक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, विज्ञान विषयको पुस्तक काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति र रजिस्ट्रार क्रमशः डा. शर्मा र डा. अधिकारीले तयार पारेका थिए। नेपाली भाषाका पुस्तक विश्वम्भर घिमिरे र दिवाकर ढुंगेलले तयार पारेका थिए।
सबै लेखकहरू मूर्धन्य विद्वान थिए। पाँच दशकको अन्तरालमा शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक परिमार्जन गर्ने र परिस्कार गर्ने काममा ठूलो फड्को मार्नुपर्ने थियो तर त्यसो भएको देखिँदैन। पाठ्य पुस्तक परिमार्जन र प्रकाशन गर्ने काम त भयो तर गुणस्तर सुधार भएन, बरू झन् खस्किँदै गयो। प्रत्येक आर्थिक वर्ष शिक्षा क्षेत्रले मनग्गे बजेट पाए पनि त्यसबाट अपेक्षित उपलब्धि नहुनु चिन्ता र चासोको विषय हो।
उदेक लाग्दो कुरो के छ भने, पछिल्लो पाँच दशकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका शिक्षा शास्त्र संकायहरूले विद्यालयको पाठ्यक्रम परिस्कारमा के उपलब्धि हासिल गरे? यी संकायको के उपादेयता रह्यो?
यी प्रश्नमा बसह चलाउनु आवश्यक भएको छ।
२०८० सालको एसइईमा सहभागीमध्ये आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए। यस्तै नतिजाको पूर्वानुमान गरेर नै काठमाडौं महानगरपालिकाले एसइईमा सहभागी हुने सरकारी विद्यालयका विद्यार्थीलाई सहयोग गर्न अभियान चलाएको थियो।
प्रत्येक विद्यालयमा दुई महिनाका लागि शिक्षण सहजकर्ता र सहयोगी नियुक्त गरेको थियो।
यो लेखको आरम्भमा उल्लेख गरिएको प्रसंग त्यसै अभियानको हो। मैले पनि सहजकर्ताको भूमिकामा एक दर्जन विद्यालयको जिम्मेवारी पाएको थिएँ।
त्यो अनुभवले किन सरकारी विद्यालयका अधिकांश विद्यार्थी पढाइमा कमजोर हुन्छन् र एसइईमा अनुत्तीर्ण हुन्छन् भन्ने प्रश्नको जबाफ खोज्न सघाएको छ।
धेरैजसो विद्यालयले एसइईमा सहभागी हुने विद्यार्थीलाई तयारीका कक्षाका लागि बिहान ७ बजे नै उपस्थित गराउँदा रहेछन्। यसै विषयमा एक जना विषय शिक्षकसँग भएको कुराकानी पनि स्मरणीय छ।
उनले भने, 'एसइई तयारीका लागि बिहान ७ बजेदेखि कोचिङ क्लास हुन्छ।'
मैले सोधेँ, 'त्सो भए तपाईं तिनै विद्यार्थीलाई बिहान र दिउँसो पढाउनुहुन्छ, होइन त सर।'
उनको स्वीकारोक्ति आयो।
'बिहानको कोचिङ र दिउँसोको नियमित कक्षामा के फरक छ?' मैले स्वाभाविक जिज्ञासा राखेँ।
'फरक त केही पनि छैन। कोर्स सकियो। अब दोहोर्याउने र विद्यार्थीले नजानेको कुरा सिकाउने मात्र हो।'
काठमाडौं महानगरपालिका लगायत सहरी क्षेत्रका सरकारी विद्यालयका अधिकांश विद्यार्थी दूरदराजबाट आएका हुँदा रहेछन्। उनीहरूमध्ये कतिपय त सानैदेखि श्रमजीवी हुनुपर्ने बाध्यता हुँदो रहेछ। घरेलु कामदार भएर वा कतै सानोतिनो काम गर्नेपर्ने हुँदो रहेछ।
केही शिक्षकले विद्यार्थी नियमित नहुने र कोचिङ कक्षामा समय दिन नसक्ने आदि कारण एसइईको नतिजा राम्रो हुन नसकेको बताए। केहीले अभिभावक र कामदार विद्यार्थीका मालिकले बिहान ७ बजे नै कोचिङ कक्षामा विद्यार्थी पठाउनुपरेकोमा विवाद गर्ने गरेको पनि बताए।
डा. शर्मा र डा. अधिकारीले तयार गरेको विज्ञान किताब पढेका विद्यार्थीलाई 'ओल्ड इज गोल्ड' र 'गेस पेपर' पढ्ने सुविधा थिएन। विद्यालय बिहान १० बजे सुरू भएर अपराह्न ४ बजे छुट्टी हुन्थ्यो। अतिरिक्त ट्युसनको चलन त थियो तर विषय शिक्षकले आफ्नै विद्यार्थीलाई शुल्क लिएर विद्यालय हातामा कोचिङ पढाउने धृष्टता गर्दैनथ्यो।
विद्यालय स्तरमा नेपाली भाषामा पठनपाठन गराउने राष्ट्रिय शिक्षा योजनाको नीति भए पनि त्यो दूरगामी हुन सकेन। अंग्रेजी भाषामा पढाउने निजी विद्यालयको प्रभावका कारणले त्यो नीतिले काम गरेन।
अभिभावकको रोजाइमा पनि अंग्रेजीको लालीपाउडर घसेका विद्यालय नै परेपछि कतिपय सरकारी विद्यालयले पनि शुल्क लिएर अंग्रेजी माध्यममा पढाउन सुरू गरे। अहिले एउटै कक्षाका विद्यार्थीलाई एउटा कोठामा नेपाली माध्यममा र अर्को कोठामा अंग्रेजी माध्यममा पढ्ने गरी बाँड्ने विद्यालय पनि छन्।पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषामा लेखिएका विज्ञान, गणित र सामाजिक शिक्षा जस्ता विषय अंग्रेजीमा अनुवाद गरिदिएर अंग्रेजी माध्यममा पढाउन प्रोत्साहित गरेको छ।
सहजकर्ताका रूपमा मैले १२ वटा विद्यालयमा एसइईका विद्यार्थीलाई केही दिन पढाएँ। केही कक्षामा विषय शिक्षक पनि विद्यार्थीसँगै बसे। उपलब्ध साधनस्रोत परिचालन गरेर कक्षा व्यवस्थित बनाउन मैले केही प्रयोग गरेँ। कतिपय कक्षामा विद्यार्थीहरू एउटै पोको परेर बस्ने गरेको पनि पाएँ। यस्तो बसाइका दुईवटा नकारात्मक पक्ष हुन्छन्; पहिलो, उनीहरूलाई आपसमा कुराकानी गर्ने अवसर प्राप्त हुन्छ। दोस्रो, कक्षाकार्य गर्दा आफै गर्नतिर नभई अलिक जान्ने साथीको कापी हेर्नतिर लाग्छन्।
मैले पढाउँदा त्यो प्रथा तोडेँ। ठाउँ पुगेसम्म विद्यार्थीहरू छरेर राखेँ। त्यसले कक्षा नियन्त्रण गर्न ठूलो मद्दत गर्यो।
मैले कक्षाको आरम्भमा अभ्यासका लागि केही प्रश्नहरू दिएँ। एक प्रतिनिधि प्रश्न यस्तो थियो- तिम्रो ज्यामिति बाकसको अवलोकन गरेर यसको पिण्ड, लम्बाइ, चौडाइ र मोटाइ अन्दाज गर। अनि यसको आयतन र घनत्व निकाल।
त्यो प्रश्नको उत्तर साह्रै थोरैले मात्र दिन सके। अधिकांशले प्रश्नको अन्तर्य नै थाहा पाएनन्। कक्षामा बसेकी एक शिक्षकले त यस्तो प्रश्न एसइईको दायराबाहिरको भएकाले यसमा समय खर्चिनु उपयुक्त नहुने सुझाब दिइन्। उदेक लाग्दो त त्यस बेला भयो जब केही विद्यार्थीले ज्यामिति बाकस वा इँटाको लम्बाइ मिटर एकाइमा अन्दाज गरे।
यसले कक्षा दसमा पढ्ने विद्यार्थीको सिकाइ उपलब्धि के हो भन्ने गम्भीर प्रश्न उठाउँछ।
विज्ञान र गणित विषयको पठनपाठन नेपाली भाषाको वा सामाजिक शिक्षाको भन्दा धेरै अर्थमा भिन्न हुन्छ। प्राविधिक विषयहरू सिद्धान्तपरक र तार्किक हुन्छन्। गैरप्राविधिक विषयहरू विचारपरक या व्याख्यात्मक हुन्छन्।
सिद्धान्तपरक विषयहरू एक हिसाबले शृंखलाबद्ध हुन्छन्। विद्यार्थी सिकाइको एउटा पत्र छिचोलेपछि मात्र अर्कोमा प्रवेश गर्न सक्छ, घर बनाउँदा जग हालेर मात्र तला बनाएजस्तो। आधारभूत सिकाइमा टेक्नैपर्ने भएकाले प्राविधिक विषय सिकाउन सहज हुँदैन।
दस कक्षाको विद्यार्थीले आफूसँग भएको ज्यामिति बाकस, क्यालकुलेटर वा किताबको लम्बाइ र चौडाइ जस्तो आधारभूत परिमाण पनि अनुमान गर्न नसक्नु सामान्य अवस्था होइन। यस्तो विद्यार्थीले आफ्नो उचाइ, तौल वा जुत्ताको मापोको उचित आकलन गर्न सक्ने भएन। यस्तो पृष्ठभूमिका विद्यार्थीले एसइईमा कस्तो परिणाम प्राप्त गर्लान् भन्ने अनुमान गर्न सकिन्छ।
विकसित मुलुकहरूका नियमनकारी निकायले सिकाइ उपलब्धिको मापदण्ड बनाएका छन्।
अस्ट्रेलियन सरकारले निर्धारण गरेको कक्षा १० को विज्ञान विषयको सिकाइ उपलब्धिको मापदण्डमा भनिएको छ- कक्षा १० को पढाइ पूरा गरेपछि विद्यार्थीहरू प्रमाणसहित आफ्नो तर्क पेस गर्न सक्छन् र विज्ञानसम्मत विचार सहजै प्रसार गर्न सक्छन्।
शिक्षा क्षेत्रमा निकै ठूलो धनराशी खर्चेर पनि नेपालको पाठ्यक्रम विकास केन्द्रले न अन्तर्राष्ट्रिय स्तरको पाठ्यपुस्तक बनाउन सकेको छ न त विद्यार्थीहरूले विज्ञान र गणितजस्ता तार्किक विषयको ज्ञान सहज रूपले लिन सकेका छन्।
शिक्षकले अंग्रेजी माध्यममा पढाए पनि वा बिहान सात बजेदेखि नै कोचिङ पढाए पनि समस्या ज्यूँका त्यूँ छ।
विद्यार्थीहरूले विषयवस्तु नबुझेपछि परीक्षामा जसरी भए पनि उम्किन 'ओल्ड इज गोल्ड' वा 'गेस पेपर' को सहारा लिने नै भए। यसरी उनीहरू सिकाइमुखी नभएर परीक्षामुखी हुने भए।
राज्य कोषबाट तलब लिने शिक्षकले नै पाठ्यपुस्तक भन्दा यस्ता अनौपचारिक सामग्रीलाई मूलधारमा ल्याएपछि र राज्यले चासो नलिएपछि सरकारी विद्यालयका विद्यार्थीका लागि एसइई भनेको औंसीको अँध्यारो जस्तो हुने नै भयो। आधा आकाश अँध्यारो हुने नै भयो।
(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्येता हुन्।)