मुग्लिन-नारायणगढ भएर गुड्ने बसमा लेखिएको रहेछ– आफ्नो सामानको सुरक्षा आफै गर्नुस्!
तर लेखिनुपर्थ्यो– आफ्नो ज्यानको रक्षा आफै गर्नुस्!
यो सिमलताल दुस्वप्नपछि त्रिशूलीको छालमा विघटित जीवन र तिनका सपना हेरेर भनिएको होइन।
सिमलताल नियतिको दुष्चक्र देशका राजमार्गमा यात्रा गर्ने जो कसैको थाप्लामाथि बज्रन सक्ने साझा नियति हो।
अनिष्टको संकेत त मौसमले गरेकै हुन्छ। प्रकृतिको इष्ट बन्न बिर्सेको मानिसले कसरी अनुमान गर्नू! बरू चराचर जगतका अरू प्राणीले यसमा आफूलाई जोगाएका छन्। जगाएका छन्। विपत्तिबाट आफैलाई भगाएका छन्।
आधुनिक विज्ञानका भट्टिलाई कवच ठानेको मानिस आफ्नै नैसर्गिक क्षमताबाट भने शनैःशनैः टाढिँदैछ। अझ दुर्भाग्य त यो क्षमताबाट टाढिँदैछु भन्ने ज्ञानबाट समेत दूर हुँदैछ।
नपाएको कुरामा शरीरले छिटो प्रतिक्रिया जनाउँछ। गुमाएको कुरामा शरीरले ढिलो प्रतिक्रिया प्रकट गर्छ। भन्दै छु नि, मानिस यो चैतन्यबाट पत्तै नपाई विकट हुँदैछ। वर्णशंकर स्वादले जिब्राको रैथाने स्वाद विस्थापन गरेजस्तै!
त्यस दिन –
धुम्म थियो मौसम। रिसाहा बालकझैं। बालकको अनुहारमा छाएको बादलको स्थिति ठोकुवा गर्न कसले सक्छ! क्षणमै मुसुक्क हाँस्न पनि सक्छ। उत्तिखेरै आँखाको कुवा रित्तिने गरी अलापविलाप गर्न पनि सक्छ!
यही सोचेर मानिसले आ-आफ्ना पोकापन्तुरा कसे। पर क्षितिजसम्म आँखा तन्काउँदै आ-आफ्ना सिटमा बसे। भयले मुटु कुँजो बनाउँदै।
कोही डरभन्दा दुई कदम अघि बढेर प्रकृतिमाथि विनाशको बञ्चरो उज्याइरहेछ। कोही डरको अधिनमा घुँडामुख गर्दै ईश्वर पुकारिरहेछ!
मानिस-मानिसबीचको अहिलेको भेद यही त हो। शासक र शासितबीचको अन्तर भनेर किन भनिरहूँ!
गत असार २६ गते नै मनसुन पूर्वानुमान महाशाखाले ४३ जिल्लामा सावधानीको रातो संकेत दिइसकेको थियो। धादिङ-चितवनसहितका जिल्लामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्ने पूर्वानुमानको संकेत थियो। तर पुग्नैपर्ने बाध्यतासामु रातो संकेत फिक्का हुने नै भयो।
भगवान् भरोसे यात्रुहरू हाँपदाँप गर्दै माइक्रो चढे। तिनीहरू माइक्रो चढ्नुअगावै सिमसिम पानी पर्न थालिसकेको थियो। आकाशै ढाकेका मेघमालाले घनघोर वर्षातको संकेत गरिरहेकै थियो।
सिट फुल भएपछि माइक्रोले गति लियो। कलंकी कटेपछि रफ्तार झन् बढायो। नागढुंगा कटेर ओरालो झरेपछि थाहा भयो– राजमार्गमा गुड्ने गाडी निकै पातला छन्। जाम कतै छैन।
गल्छी पुग्दासम्म रून्चे आकाश केही थामिएको हुँदो हो। त्रिशूली? उसको वेग हेर्न लायक थियो।
धमिलो आवरणमा उसले छोप्न बाँकी केही थिएन। किनारका भीमकाय ढुंगा पनि देख्न दुरूह थियो। ठाउँ-ठाउँमा नदीको मझधारबाट उठेको कुहिरोले पानी रोकिने संकेत त गरिरहेको थियो। मनसुनमा यस्तो भुइँकुहिराको कहाँ भर हुन्छ र!
नभन्दै सलाङघाट पुगेपछि पानीले मात्रा बढाइहाल्यो। सिमसिम प्रकृतिको वर्षा पिच सडकमा फोका उठ्ने गरी पर्न थाल्यो।
मुग्लिनसम्मको दुरी छोटिँदो थियो। लम्बिँदो थियो भय। अझ मुटु कमाएको थियो, नदीको किनारै ढाकेर वारपार बगिरहेको त्रिशूलीले।
त्योभन्दा डरलाग्दो थियो, राजमार्गको भित्ताभरि थुप्रिएका साना-ठूला पहिरो। तिनै पहिरामा चिप्लँदै बाटो छेक्न आइपुग्ने अजंगका ढुंगा!
त्रासदी छिचोल्दै जसै यात्रुहरू मुग्लिन पुगे, उनीहरूले नाकको पोरा फुलाउँदै लामो सास फेरे।
यात्रुहरूले मनमनै सोचे होलान् – यो सन्त्रासको आयु यहीँ टुंगिए पनि त हुन्थ्यो!
पानी पर्न मत्थर भए पनि सन्त्रास टुंगिनेवाला थिएन। कारण – अगाडिको बाटो अरू जोखिमयुक्त थियो।
भिर काँटछाँट गर्दै चौडा तुल्याइएको मुग्लिन-नारायणगढमा कहाँ पहिरो खस्छ र यात्रा बिथोलिन्छ भनेर अनुमान गर्न पनि गाह्रो थियो।
मुग्लिनबाट १० किलोमिटर अगाडि बढेपछि प्रहरीका एक कनिष्ठ अधिकारी मोबाइल 'प्यानिङ' गरिरहेका थिए। उनले बलियोसँग मोबाइल पकडिरहेको थिएवा मुटु! म अहिले यसै भन्न सक्दिनँ।
उनको आँखाको भाव छामेर यतिचाहिँ भन्न सक्छु- उनको मुटु जोड जोडले उफ्रिइरहेको थियो। उँभो हेर्यो अक्करे भिर! उँधो दैत्यावतारमा वेगवान बगिरहेको त्रिशूली!
३५ किलोमिटर दूरीमा यात्रुहरूले ७० पटक त ईश्वर नै पुकारे होलान्। रामनगर कटेपछि बल्ल तिनको अनुहारबाट भय ओझेल पर्यो। मुटुको धड्कन बिस्तारै मन्द हुँदै गयो।
त्यस रात त्यो बाटो भएर हिँड्ने यात्रुहरू मृत्यु छलेको खुसियालीमा कति ढुक्कले निदाए होलान्, यहाँ वर्णन गर्न दुरूह छ।
तर भोलिपल्ट उज्यालो नहुँदै तिनको कानमा चट्याङझैं बज्रिइहाल्यो– सिमलतालको पहिरोले दुइटा बस बगायो। काठमाडौंबाट रौतहट जाँदै गरेको र वीरगन्जबाट काठमाडौं गइरहेको ती बसमा कति यात्रु थिए यकिन छैन। बस र यात्रुहरूको अवस्था अहिलेसम्म अज्ञात छ।
हामी चढेकै बस सिँदुरे गहिराको लेदोमा अड्किएको भए र त्यही बेला माथिबाट उर्लिएर आएको भेलबाढीले छोपेको भए? यो सम्झिँदा अहिले पनि तिनका शरीरका रौं एकैसाथ ठडिन्छन्। सिरिंग सिरिंग हुन्छ मुटु!
नियतिको दुष्चक्रले क-कसलाई घेरा हाल्छ र मृत्युको बाटो देखाइदिन्छ? त्यो कहाँ भन्न सकिन्छ र!
सिमलतालको भवितव्यमा जीवनको गन्तव्य टुंगिएकाहरूले पनि मुग्लिन-नारायणगढको भिर-पहिरोबारे सुनेका थिए होलान्। तर आफै मोहोरीमा परौंला भनेर कसरी सोच्नू! त्यसको संकेत दिन राज्य कहाँ चुक्यो? बेपत्ताजन र मृत्यु टुंगो लागेका स्वजनका घाउखत वरिपरि यिनै प्रश्न घुमिरहने छन्!
पर्सिपल्ट –
सुनामीपछिको सन्नाटा थियो सिमलताल आसपास।
मुठ्ठीभरि पानी बग्ने गुह्येखोल्सोले कसरी बगायो दुई-दुईवटा भीमकाय बस? स्वजनका आँखामा यिनै अनुत्तरित प्रश्न उदलकुद गर्दै थिए। कति त पहिरो खोज्दै माथि-माथिसम्म आँखा तन्काइरहेका थिए।
मानिसको युगौं युगको कृति, कीर्ति प्रकृतिको जमर्कोका अगाडि एक निमेष टिक्न मुस्किल हुँदो रहेछ भन्ने साक्षी थियो सिमलताल।
सिमलताल आँसुको आहालमा चुर्लम्म डुबिरहेका बेला त्यही दिन संसदमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विश्वासको परीक्षण गर्दै थिए।
आहतजनको मनमा ठिंग प्रश्न उभिइरहेको थियो – के विश्वासको मतको मूल्यसामु नागरिकको सामूहिक मृत्युको मूल्य निकै गौण हन्छ? कि नयाँ सरकार र पुरानो सरकारको दसगजामा नागरिकहरूको मृत्यु बेवारिसे नै बन्न पुग्छ!
अचेल आकाशका सूचकले विपत्तिकै जनाउ दिन्छन्। प्रत्येक बिहानीले जनधनको हानिकै अलार्म बजाउँछन्! तर सत्ताका उपासक शासकलाई यसको के पर्वाह र! जस्तै अकर्मण्य शासकका वरपर वाह हजुर गर्ने जमात भइहाल्छ! उसलाई यसैको मात लागिहाल्छ!
असार २८ को सूर्योदय अगावै दुईवटा बस सिँदुरे गहिरोको नपत्याउने भेलले खर्लप्पै निल्यो, यता जनताले पत्याएर संसद छिराएकाहरूलाई नयाँ सरकार गठनको जोडघटाउ नै प्रिय लाग्यो!
यिनको विवेक हुन्थ्यो भने विश्वासको परीक्षणलाई दुई दिन धकेल्न सक्थे। त्यो क्षणलाई आर्तहरूको चहर्याइरहेको घाउमा राहत र सान्त्वनाको मह्लमपट्टि लगाउन उपयोग गर्न सक्थे। सरकार भएको आभास दिलाउन सक्थे। सदनमा मत गुम्न लागेको विश्वास नागरिकको मनबाट पुर्ताल गर्न सक्थे। भलै त्यो, सदनको जोडघटाउका अघिल्तिर त्यो निस्प्रयोजन नै होस्।
सबै विश्वास सकारको निरन्तरतामा काम नलाग्न सक्छ। तर नागरिकको विश्वासको मोल सदनको विश्वास अगाडि कहाँ हो कहाँ मूल्यवान् हुन्छ।
यति चेतना बचेको हुन्थ्यो भने आजलाई विश्वास मत रोकौं र हाम्रो नालायकीले त्रिशूलीको भेलमा मिसिएकाप्रति समवेदित होऔं भन्न सक्थे। तरेली परेको त्रिशूलीको छालमा आफन्त खोजिरहेका आँसुपच्छे अनुहारलाई ढाडस दिन सक्थे।
आखिर सरकार भन्नु पनि त ढाडस न हो। सत्ता त्यही ढाडसको अविच्छिन्न उत्तराधिकारी!
सत्ताअन्ध सरकारसामु नागरिकको आँसुको के मूल्य? उता सदनमा नयाँ सरकार गठनको तमासा सुरू भयो। यता आफन्तजनको स्वजन जीवितै भेटिने आशाको सूर्यास्त!
सिमलतालको आँसुको साक्षी बस्न सुरक्षाधिकारी नभएका होइनन्। कफल्लो प्रविधिले भेल चिरेर गाडी र बेपत्ताजनको स्थिति कसरी पहिल्याउनु! उर्लंदो भेलमा गोताखोरहरू जतिपटक डुबुल्की मार्थे, उति नै पटक निराशा हात लाग्थ्यो।
आफन्त आक्रोश पोख्थे – बाँसका घोचाले कहीँ खोँचभित्रको बस र बेपत्ताहरूको स्थिति पत्ता लाग्छ! यो त सरासर नालायकी छल्ने बाटो मात्रै हो।
यस्तो खेलाँची पनि राज्य हुन्छ! तथापि सुरक्षाधिकारीहरूले राँटो नराखी आफ्नो कर्तव्य पालना गरिरहे!
ज्यानलाई मामुली ठानेर भेलमा हेलिइरहेकाहरूले पो के गरून्! भएसम्मको प्रविधि प्रयोग गरेको हो। त्यसले बसको अन्दाजा लगाए पो!
त्यति बेला सदनमा विश्वास जोडिरहेकाहरू सत्तासीन सिमलताल हुनुपर्ने हो।
'हामी यहीँ छौं' को भाकामा सान्त्वनाको शीतल वचन दिनुपर्ने हो। खुइय... काढिरहेका दीनहीनमाथि के सत्ता पक्ष, के प्रतिपक्ष; एक भएर वचनकै सही आडभरोसा दिनुपर्ने हो। सरकार हाम्रै रहेछको अनुभूति दिलाउनुपर्ने हो।
सरकारप्रतिको विश्वास उसै पाताल पुगेको कहाँ हो र! आपतविपद परेका बेला देशको ताला-चाबी बोकेकाहरूको अनुहार देख्नै दुरूह छ। जब मुटुमा खाटा बस्न थाल्छ, अनि ती निर्लज्ज अनुहार देखाउँदै हाजिर हुन थाल्छन्। भावशून्य भाकामा समवेदित हुन्छन्।
सिमलतालमा आफन्तजनलाई कहिले पाखा लगाइदिन्छौ भनेर उही त्रिशूलीको शरण पर्नुबाहेक उनीहरूसँग अरू के उपाय थियो र!
त्रिशूलीले पनि शरणको मरण हुन दिएन। ५०-६० किलोमिटर तल लास उतारेको खबर फाट्टफुट्ट खस्न थाल्यो।
सदनमा प्रधानमन्त्री प्रचण्ड एक्लिएको तस्बिरले ध्यान खिचेको थियो, ठीक त्यसै त्रिशूलीको छालमा आफन्त खोजिरहेका अनुहारहरूले पनि आफूलाई सर्वथा एक्लो महसुस गरिरहेका थिए।
सिमलतालको त्रासदी नवीन थिएन। निकट विगतको विध्वंशको निरन्तरता थियो। २०६० सालमा पनि नपत्याउने सिँदुरे गहिरोले पाँच-सात घर टहरा बगाएको थियो। यो विपत्ति नदोहोरिनुपर्ने कारण थिएन।
अझ माथ्लो भेगमा घरैपिच्छे लैजान खनिएका बाटाघाटाले विपत्तिको घन्टी जति बेलै बजाउन सक्थ्यो। बर्खामासमा त्यसको संकेत अझ टड्कारो सुनिन सक्थ्यो!
दुई घन्टाअघि मात्रै सफा गरेको कल्भर्ट पुनः पुरिनसक्ने जोखिमको संकेत राजमार्गका रखवारीहरूले गर्न सक्थे। 'रोकी हेरी जानुहोस्' को संकेत पाटीसम्म झुन्ड्याउन सक्थे। दुई-चार जना सुरक्षाकर्मी खटाउन सक्थे। बाटो अवस्था बुझेर मात्र गाडी पठाउन सहजीकरण गर्न सक्थे।
आश्चर्यको कुरा त, बस त्रिशूलीको भेलमा मिसिएको ४८ घन्टा हुँदा पनि कति यात्रु थिए भनेर यकिन भएको थिएन। पर्सा र काठमाडौंबाट छुटेका बस कति ठाउँका सुरक्षा चौकी भएर पार भए होलान्? ती अड्डाका जाँचकीहरू निदाए कि तैनाथीको प्रयोजन नै अर्को थियो।
दुई बस त्रिशूलीमा डुबेर अद्यापि फेला पर्न सकेका छैनन्। तर यी सवाल अहिले त्रिशूलीको छालमा टड्कारो रूपमा तैरिरहेका छन्।
अहिले त वाचाल प्रधानमन्त्री (केपी शर्मा ओली) आएका छन्। यी सवालमा तिनको ध्यान पुग्ला कि! भर्खर आएका छन्, शंकाको सुविधा दिऔं।
हाँस्य रसले भरिएका मनोज गजुरेल भनिरहन्छन् – नहुञ्जेल केही पनि हुँदैन।
पञ्चायतदेखि बहुदलसम्मको र त्यसपछि गणतन्त्रसमेतको करङ छामिसकेका उनले देशको दुर्दान्तलाई जानीबुझी नै असली सम्बोधन गरेका हुन्।
हुन पनि यो देशमा नहुञ्जेल केही पनि हुँदैन।
बारामा टोर्नाडोले दुई पालिका रिँगायो। कञ्चनपुरमा रेकर्ड भत्कने गरी हाँडीघोप्टे वर्षा भयो। वैश्विक विपत्तिका नवीन आयामले बिस्तारै हाम्रा धुँरीखाँबो हल्लाउँदै छन्।
विश्वका धेरै देशले त्यस्ता विपत्तिको संकेत पाउन सक्ने प्रविधिसँग आफूलाई अद्यावधिक गरेका छन्। मृत्युले मुटु नै ताकेर प्रहार गर्न पाउँदैन।
हामीकहाँ त भगवान् भरोसा छ। त्यही विपत्तिले हात थामिदिए हो हामीले जीवन मौजा पाउने! अन्यथा मृत्युको भेलले सिमलतालमा झैं छोपिहाल्छ!
हाम्रा पूर्वानुमान प्रणाली कत्तिका भरसिला छन् कि छैनन्? उत्तर बारा र कञ्चनपुर छँदै छन्।
धराप थापेजस्तो छ मुग्लिन-नारायणगढ सडक। भित्तापट्टि पहिरो नखसेको एक पाइलो सडक भेट्न दुरूह छ। पहिराले धेरै ठाउँमा राजमार्ग एकतर्फी तुल्याएजस्तो छ।
गुडिरहेको बसअगाडि पहिरो मृत्युको भोजपत्र थमाउँदै आइपुग्न सक्छ! दुर्योगले फेला पारे मेघराज विश्वकर्मालाई झैं चालकको सिटमै अचानो पारिहाल्छ! कति सवारी साधनको नियति गणपति र एन्जल डिलक्सको भइहाल्छ!
सरकारसँग त बनिबनाउ जबाफ छँदैछ, पूर्वगृहमन्त्री माधव घिमिरेको त हाडखोर पत्ता लागेको थिएन!
त्रिशूली-नारायणगढमा यस्ता कति ठाउँ होलान्, जहाँका भीर बसको डँडाल्नोमा बज्रन मौका पर्खिइरहेका होलान्!
सुरक्षाकर्मीलाई दुई-चार गौंडामा तैनाथी राखेर सरकार सिंहदरबारमा सत्ताकै जोडघटाउमा अभ्यस्त छ!
सत्ता बचाउका लागि झिँजा बटुलिरहेका बेला नागरिकको जीवन घटाउको के मूल्य? तिनका स्वजनको आँसुको के प्रयोजन!
मध्य बर्खा छ! सीमित व्यक्ति मोटाउने गरी गरिएको दोहनले कुनै नदी सग्ला छैनन्। हिउँदमा पनि सङ्लो बग्न पाउने तिनको नैसर्गिक अधिकार खोसिएका छन्। देशैभरका नदीहरू गहिरा गहिरा खाडल बोकेर बगिरहेका छन्। थाहा छ नि हामीलाई छातीमा गहिरो घाउ लागेको व्यक्ति कति ताडित हुन्छ। त्यसले जति बेलै प्रतिशोध साँध्न सक्छ!
काँठ, चुरे क्षेत्र र मध्यपहाडका डाँडाकाँडा कतै सग्ला छैनन्। जताजतै चिरफार गरेर आलो घाउ तुल्याइएको छ।
हाम्रा पहाडका बस्तीको इतिहास खोतल्दै जाँदा पहिरोकै फेदीमा बसेको भेट्टाउन सकिन्छ। कति त पहिरो थामिएपछि त्यहीँ आबादी भएका छन्।
विकास भन्नेबित्तिकै बाटो बुझेका हामीले त्यसैलाई भत्काउन भ्याएशक्ति लगाइराखेकै छौं।
त्यस्ता गाउँ-गाउँ जोड्ने कच्ची सडकका भित्तामा न पानीको निकास बग्ने नाला काटिएको छ, न बीच बाटाबाट पानी कटाउन क्रस ड्रेन-कल्भर्ट आदिको प्रबन्ध नै गरिएको छ। नाला राखिएको ठाउँमा पनि खोला-खोल्सामा ल्याएर मिसाउनुपर्नेमा घुम्तीमै ल्याएर निकास तर्काइएको छ।
बर्खा याममा दस गाउँदेखि आउने निकासले खोतलेर डाँडै खसालिदिन्छ। अर्को साल पनि काम देखाउने नाममा त्यही सडकका पहिरो पन्छाइन्छ। नाला भने उपेक्षामै।
विकासको नाममा भइरहेका हाम्रा साझा लापरबाही हाम्रै मृत्युका द्योतक बनिरहेका छन्। तर सडक नियमनको जिम्मा लिएका तालुकवालाहरू यसबाट बेखबर छन्। विपत्तिले घन्टी नबजाएसम्म ती भेटिँदैनन् पनि।
चालकज्यू! भेल, पहिरो छल्दै गाडी गुडाउनु कुनै बहादुरी होइन। जीवन र मृत्युबीच तपाईंले सोचेजस्तो दुरी छैन।
यात्रु महानुभावहरू! तपाईंहरूले पनि आ-आफ्ना गाडीका चालकलाई भन्नैपर्नै हुन्छ– कृपया रोकी हेरी जानुस्, सरकार निदाइरहेको छ!