संसदमा 'धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी' भन्ने गीत बजिरहेको छ जस्तो लाग्थ्यो।
माइक पछाडि उभिएका पुष्पकमल दाहाल 'प्रचण्ड' ले केपी ओलीतिर हेरेर त्यही गीतमा अभिनय गरिरहेजस्तो देखिन्थ्यो।
यही दृश्यसहित प्रचण्ड प्रधानमन्त्रीको पदबाट बाहिरिए।
एक कमसल कलाकार कुर्सीबाट बाहिरिए। अर्का कमसल कलाकार कुर्सीमा बसे।
नेपालीमा एउटा उखान छ — तातो कराइबाट हाम फालेर भुंग्रोमा...!
उखान सुरूमा कसरी बने होलान् भन्ने कुरामा मलाई खुब रूचि छ। यो उखान कसरी बन्यो होला त?
सायद कसैले एउटा जिउँदो माछालाई भकभकी तेल उम्लिरहेको कराइमा हाल्यो होला। तातोले पोलेपछि त्यो माछा आत्तिएर उफ्रियो होला। र, कराइमुन्तिरको झन् तातो आगोको भुंग्रोमा खस्यो होला त्यो विचरा!
यो दृश्य देखेको मान्छेको जीवनमा पनि त्यस्तै केही हविगत भयो होला। उसलाई आफू त्यो माछाजस्तो लाग्यो होला। र, उसको मुखबाट फुत्त निस्कियो होला — म तातो कराइबाट हाम फालेर भुंग्रोमा परेजस्तै भएँ।
अहिले देशले पनि भन्दै होला — म फेरि तातो कराइबाट हाम फालेर भुंग्रोमा परेजस्तै भएँ।
मलाई हाम्रो देश माछाजस्तै लाग्छ। म जतिजति संसारका अरू देश घुम्छु, त्यति त्यति हाम्रो देश झन् दुर्लभ माछाजस्तो लाग्छ। यो देश बचाउन चाहनेले उसलाई पौडिन र चारो खोज्न खोला वा पोखरी बचाइदिए पुग्छ। तर दाउराको युगमा हुर्केका पार्टीहरूले त्यो माछालाई कसरी आफ्नो घरको भान्सामा पकाउन मिल्छ भनेर आगोको भुंग्रो बनाइरहे। नयाँ पार्टीहरू दाउराको युगमा हुर्किएका थिएनन्। त्यसैले उनीहरूले भुंग्रो बनाएनन्। बरू बिजुलीबाट माछा पकाउने एयर-फ्रायर लिएर आए।
सायद सबै पार्टीमा केही थिए जो माछा बचाउन चाहन्थे। दुई-चार जना मात्रै मिलेर खोला बचाउन गाह्रो हुँदो हो!
नेपाली राजनीतिको सिनेमा हलमा अहिले प्रचण्डको सिनेमा उत्रिएको छ। र, ओली र देउवा (शेरबहादुर) को सिनेमा लागेको छ। हामीले प्रचण्ड, देउवा वा ओली तीनै जनाले बनाएको सिनेमा विगतमा हेरिसकेका छौं। र, यी तीनैले बनाएको सिनेमामा सधैं पैसा, समय र ऊर्जाको सत्यानास मात्र देखियो।
अहिले हलमा हालीमुहाली भएकाले देउवा र ओलीले यो सिनेमा मनलाग्दी चलाउन सक्छन्। यो सिनेमा जति चले पनि फेरि जनताकै पैसा, ऊर्जा र समयको सत्यानास हुनेछ।
यो फिल्म चलिरहँदा म यतिखेर झापाको मेरा गाउँको चिया पसलका काका-बडाबाहरूलाई सम्झिरहेको छु। उहाँहरू पार्टीको नेता होइन। पार्टीमाथि वर्षौंदेखि आस्था राख्ने सामान्य किसान हो। जिउज्यान दिएर आफूले फलाएको धानको भाउ सुनेर जब मनै मरेर आउँछ, तब यसो मन बहलाउन उहाँहरू चिया पसलमा भेला हुनुहुन्छ। आ-आफ्ना पार्टीको पक्ष लिएर एकअर्कासँग गफिनु हुन्छ। तर कहिलेकाहीँ यो गफ नमीठो झगडामा पनि बदलिन्छ। पार्टीको मन बचाउन खोज्दा आफ्नो गाउँलेको मन दुखाउनुहुन्छ।
श्रोताका रूपमा त्यो चिया पसलमा हुँदाको म एउटा घटना सम्झिन्छु।
२०७४ सालतिरको कुरा हो। काठमाडौंमा हल्ला चलिरहेको थियो कि, चुनाव आउने बेलामा नेकपा एमाले र नेकपा माओवादी एउटै पार्टीका रूपमा मिसिन लागेका छन्। काठमाडौंको हल्ला जे भए पनि, झापाको त्यो गाउँका काकाहरू एमाले र माओवादी एउटै पार्टी हुन सक्छ भन्ने मान्न तयार हुनुहुन्न थियो।
एमालेका काकाहरूले माओवादीका काकाहरूलाई भन्नुहुन्थ्यो, 'माओवादीले हाम्रा मान्छे मारेका छन्। मार्ने र मर्नेको पार्टी एउटै कसरी हुन्छ?'
माओवादीका काकाहरू जबाफ दिनुहुन्थ्यो, 'कांग्रेस, एमालेले देशको शोषण गरेको भएर माओवादीले हतियार उठाउनुपरेको हो। शोषक र शासितको पार्टी एउटै कसरी हुन्छ?'
कांग्रेसी काकाहरू भन्नुहुन्थ्यो, 'त्यसैले त भनेको, यस्तो सिद्धान्त नमिल्ने पार्टीसँग मिल्ने पनि पार्टी हो? त्यही पनि चुनावका लागि! कुर्सीका लागि! नेपाली कांग्रेस यसरी कहिल्यै मिल्छ?'
काकाहरूलाई आआफ्नो पार्टी फरक हुन् भन्ने लाग्नुका दुइटा कारण थिए।
एक — बेला बेला गाउँमा ती पार्टीहरूको प्रशिक्षण कार्यक्रम हुन्थ्यो। गाउँका काकाकाकी, दिदीबहिनीहरूलाई आफ्नो पार्टीको सिद्धान्त अरू पार्टीको भन्दा कसरी फरक हो भनेर पढाइन्थ्यो। त्यो पढाउने मान्छे काठमाडौंबाट आएका हुन्थे।
नेपालमा यो दुर्घटना बारम्बार भइरह्यो, काठमाडौंले पढाएको कुरा मोफसलको गाउँले सधैं पत्याइरह्यो।
दोस्रो — काकाहरूलाई आफ्ना नेताका बारेमा अलिअलि थाहा थियो तर नेताको नियतको बारेमा फिटिक्कै थाहा थिएन।
त्यो दिन चियापसलमा काकाहरूको त्यो बहस यो हदसम्म पुग्यो कि, हानाहान नै होलाजस्तो भयो। त्यसपछि कति जनाको त बोलचाल नै बन्द भयो। आफ्नो सानो गाउँमा मिलेर बसेका गाउँलेहरू आफ्नो पार्टी फरक हो भन्ने प्रमाणित गर्ने नाममा एकअर्कासँग छुट्टिए।
जसका लागि 'अर्को' सँग झगडा गरिन्छ, त्यो सबैभन्दा 'आफ्नो' हो।
आफ्नो पार्टी फरक हो भन्ने झगडामा काकाहरू ती मान्छेसँग छुट्टिन तयार हुनुभयो जो आफ्ना जन्ती थिए। वा, मलामी हुनेछन्।
मलाई लाग्छ, यस्तो झगडा झापाको त्यो गाउँमा मात्रै होइन, नेपालका धेरै चिया पसलमा, क्याफेहरूमा, चौतारीमा, भट्टीहरूमा, बैठकहरूमा भए होलान्। विदेशमा बसेका नेपालीहरूबीच पनि भयो होला।
आफ्नो अप्ठ्यारोमा काम नलागेको पार्टी र नेताका लागि जनताहरू आफ्नो अप्ठ्यारोमा काम लाग्ने गाउँ-छिमेकीसँग लडे। र, फरक चिह्नमा भोट पनि हालिरहे। उनीहरूले सधैं मानिरहे कि, आफ्नो पार्टी अर्कोभन्दा फरक हो।
चिया पसलको त्यो झगडाको केही महिनापछि काठमाडौंमा आफ्ना टाउके नेताहरूले एमाले र माओवादी एउटै भएको घोषणा गरे। ओली र प्रचण्डले एक अर्कालाइ चुमे। र, मञ्चमा उक्लिएर उर्लिँदै, कुर्लिँदै भने, 'एमाले र माओवादी अब एउटै पार्टी हो।'
त्यस दिन त्यो चिया पसलमा के भयो होला?
सायद काकाहरू त्यो दिन लाजले चिया पसलमा जाँदै जानुभएन होला। गइहाल्नुभएको भए पनि एकअर्कालाई नदेखेजस्तो गरी तीतो चिया खानुभयो होला।
कांग्रेसका काकाहरूले चाहिँ मुसुमुसु हाँस्दै भन्नुभयो होला, 'खुच्चिङ! मैले भनेकै हो नि! पार्टी भनेको त सिद्धान्त हो, सिद्धान्त नमिल्नेसँग पनि कोही मिल्छ! कांग्रेसलाई हेर्नु त!'
त्यो दिन एमाले र माओवादीका काकाहरूको 'गजब बेइज्जती' भयो होला।
त्यो दिन नेताहरूले उहाँहरूको झगडाको खिल्ली उडाए।
जसका लागि 'अर्को' सँग झगडा गरिन्छ, त्यो सबैभन्दा 'आफ्नो' हो।
त्यो दिन आफ्नो मानेकाले आफ्नो खिल्ली उडाए।
परायाले भन्दा आफन्तले खिल्ली उडाउँदा बढी दुख्छ।
तर जनताको भोट र विश्वासको खिल्ली उडाउने सिलसिला त्यहाँ रोकिएन। हामी एउटै हौं भनेर एकअर्कालाई चुमेका ओली र प्रचण्डको ब्रेक-अप भयो। प्रधानमन्त्री हुने लोभको ललिपप देखिएपछि उनीहरूको फेरि प्याच-अप भयो। हुँदा हुँदा, घटना पछि यहाँसम्म पुग्यो कि, चुनाव र कुर्सीका लागि देउवा र प्रचण्डले समेत एकअर्कालाई चुमे। कम्युनिस्ट र कम्युनिस्ट मिल्नुसम्म त कल्पना गर्न सकिन्थ्यो, तर माओवादी र कांग्रेसले पनि पुच्छर जोडेको यिनै आँखाले देख्नुपर्यो। कपालको रौं पनि नमिल्ने पार्टीले एकअर्काका लागि भोट मागेको सुन्नुपर्यो।
पार्टीका सिद्धान्तहरूले पालैपालो त्रिशूलीमा हाम फालेर आत्महत्या गरे। उनीहरूको अपुस्ट लास भारतमा भेटियो।
ती सोझा जनताहरू जो आफ्नो पार्टी फरक हुन् भन्दै देशका चिया पसल, चौतारीहरूमा छिमेकीसँग लडिरहे, उनीहरूको खुलेआम खिल्ली उडाइयो।
विगत दस वर्षमा प्रचण्ड, ओली र देउवा (र, कथित केही नयाँहरू) ले एकअर्कालाई फरक फरक समयमा गरेको प्रशंसा र गालीको भिडिओ मात्रै हेर्ने हो भने थाहा हुन्छ, उनीहरूलाई एकअर्कामा विश्वास छैन। आफूमै पनि विश्वास छैन।
सुरक्षित गाडी चलाउन सक्छु भन्ने आफैलाई विश्वास नभएको चालकले चलाएको गाडीको सिटमा छौं हामी नेपाली। र, हाम्रा सडक त हामीलाई थाहै छ।
नेताहरूले हामी नेपाली पुग्ने गन्तव्यको खिल्ली उडाए।
हलो जोतिरहेको बेला सोच्ने खुब समय हुन्छ। त्यो बेला किसानले बुन्ने सपनामा उसको नेता पनि हुन्छ। बाँच्नका लागि सबभन्दा सुन्दर ठाउँ कसैको सपना हो।
नेताहरूले जनताको सपनाको खुलेआम खिल्ली उडाए।
किराना पसलमा ग्राहक पर्खिरहेका बेला सोच्ने खुब समय हुन्छ। त्यो बेला पसलेले देख्ने भविष्यमा उसको नेता पनि हुन्छ। कसैको भविष्यमा बस्न पाउनु वर्तमानमा पाइने सुन्दर सुख हो।
नेताहरुले जनताको भविष्यको खुलेआम खिल्ली उडाए।
यो कुरा बिर्सिनु हुँदैन कि, इतिहासमा यिनै नेता र पार्टी जनताको स्वतन्त्रताका लागि लडेका हुन्। आज यो लेखकले यति स्वतन्त्र भएर चित्त नबुझेको कुरा बोल्न पाउने अवस्था सिर्जना गर्न पनि यिनै पार्टीको योगदान छ। यिनै पार्टीको पसिना र रगत यो देशका जेल, जंगल र सडकमा पोखिएका छन्।
ती सारा सफा नियतलाई केही निश्चित नेताहरूले भने आफ्नो निजी कम्पनी बनाएर मैलो बनाइरहे। यिनीहरूलाई केवल आफ्नो तीन कुरा बचाउनु थियो — शक्ति, सम्पत्ति र अहम। यो बचाउन यिनीहरूले जनताको त्यो काँचो रगत र पसिनालाई मारे जो उनीहरूको एक बोलीमा सडकमा बगेको थियो। जंगलमा बगेको थियो।
नेताहरूले जनताको काँचो रगतको खिल्ली उडाए।
फरक फरक समयमा हरेक सरकारमा कोही न कोही मन्त्री थिए जो आफ्नो ठाउँबाट देशमा केही बचाउन चाहन्थे। तर तिनका पार्टीका शीर्ष नेताहरूले आफ्नो दलालीको अहम बचाउने हुँदा उनीहरूको मन्त्रालय नै बचेन। आफ्नै पार्टीका शीर्ष नेताको शक्ति-मोहको कोपभाजनमा परेर यी सच्चा सपना बोकेका मन्त्रीहरूका योजना अकालमै मरे।
त्यसैले हे अप्रिय पार्टीहरू,
हामी जनतालाई थाहा भइसक्यो, (कुनै कुनै पार्टीका कोही कोहीबाहेक) तपाईंहरू सबै एउटै हो। म यहाँ तपाईंहरू सबै 'एउटै ड्याङको मुला हो' लेख्न सक्थेँ। तर मुलाको पनि एउटै ड्याङमा हुने एउटा भरपर्दो सिद्धान्त हुँदो हो। मलाई मुलाको खिल्ली उडाउन मन लागेन।
म तपाईंहरू सबै 'कुर्सीका लागि रङ फेर्ने छेपारो हो' लेख्न सक्थेँ। तर छेपारोको पनि रङ फेर्नुमा एउटा भरपर्दो सिद्धान्त हुँदो हो। मलाई छेपारोको खिल्ली उडाउन मन लागेन।
हे अप्रिय पार्टीहरू,
जनतालाई हेप्ने तपाईंहरूको यो रवैया देखेर हामीलाई अब तपाईंहरूबाट खासै केही अपेक्षा छैन। तपाईंहरू हुञ्जेल र 'साँच्चैको नयाँ' कुनै नआउञ्जेल हामीले धेरैखाले दुःख त खेप्नैपर्ने भयो। तर अब हामीलाई एउटा दुःखबाट चाहिँ मुक्त गरिदिनुस्। अब हामीलाई फरक फरक पार्टी भनेर चुनावमा फरक फरक चिह्नमा भोट हाल्न नलाउनुस्। हामीलाई थाहा भइसक्यो, चिह्न फरक भए पनि तपाईंहरू एउटै हो।
फरक चिह्न बनेको नै फरक चिन्नलाई हो। तपाईंहरू चिनिनुभएन। अब सबैको चिह्न एउटै बनाउनुस्।
चिह्न एउटै बनाउन मन नलागे तपाईंहरू सबै सल्लाह गरेर, तपाईंहरूले छानेको मान्छेको फोटोलाई नै चिह्न बनाउनुस्।
बाहिर जनतालाई जति भुल्याए पनि तपाईंहरूलाई त आफ्नो नियत थाहा छ। त्यसैले तपाईंहरूले भित्रभित्रै सल्लाह गरेर त्यो मान्छेको फोटोलाई पार्टीको चिह्न बनाउनुस्। त्यसैलाई चुनाव चिह्न बनाउनुस्। र, जो साँच्चै फरक हो, उहाँहरूले चाहिँ आआफ्नो चिह्न बनाउनुस्। प्रतिपक्षमा बरू थोरै होऊन्, तर हामीले ती अनुहार देख्न नपरोस् जसले प्रतिपक्षमा हुँदा जे जे गर्न हुँदैन भन्छन्, पछि सरकारमा गएर त्यही गर्छन्।
र, त्यो सानो प्रतिपक्षले कुनै दिन ठूलो मन भएको सरकार बनाओस्।
तपाईंहरूले जनताको त खिल्ली उडाउनु नै भयो, अब चिह्नहरूको चाहिँ खिल्ली नउडाउनुस्। हाम्रो देश त्यस्तो सभ्यतामा हुर्किएको हो जहाँ चुनाव चिह्न विम्ब हुन्। विम्बको गरिमा हुन्छ। विम्बको खिल्ली नउडाउनुस्।
मैले एउटा 'स्कुल' शीर्षकको कविता लेखेको थिएँ। त्यसको भिडिओमा पात्रको मुखमा महला लगाइएको छ। महला वस्तुभाउलाई खेतीबाली खान नदिन मुखमा लगाइदिने बाँसको जिनिस हो। भिडिओको त्यो मान्छेको मुखमा महलाको साटो मास्क लगाइदिएको भए त्यसको अर्थ अर्कै हुन जान्थ्यो। हाम्रो देशको कला, संस्कृति र साहित्यमा चिह्नको उचाइ अर्कै छ, तपाईंहरूले गरेजस्तो खेँलाची होइन।
तपाईंहरूको घिनलाग्दो हर्कत देख्दा तपाईंहरूको पार्टीको चिह्नलाई पनि घिन लाग्दो हो।
यो देशका हरेक जातिले आआफ्नो संस्कृति अनुसार फरक फरक चिह्नलाई उच्च गरिमा दिएर बचाएका छन्। तपाईंहरूले चिह्न बेच्नुभयो। अब तपाईंहरू हाम्रो प्रतिनिधित्व गर्न लायक हुनुहुन्न।
म यही दोहोर्याउन चाहन्छु — फरक चिह्न बनेको नै फरक चिन्न हो। तपाईंहरू चिनिनुभएन। अब सबैको एउटै चिह्न बनाउनुस्।
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटर- @Nawarajpoet