युक्रेन नाम गरेको एउटा देश छ। अर्काको देशको नेता आफ्नो दुश्मन भएकाले त्यहाँ देश छोड्नेहरूको ताँती छ।
नेपाल नाम गरेको एउटा देश छ। आफ्नै देशको नेता आफ्नो दुश्मन भएकाले त्यहाँ देश छोड्नेहरूको ताँती छ।
अमेरिका नाम गरेको एउटा देश छ। युक्रेनका एक चित्रकार र नेपालका एक कविको भेट त्यो देशमा भयो।
इटाली नाम गरेको एउटा देश छ। त्यो देशमा एक चित्रकार जन्मिए — जोन सिंगर सर्जेन्ट। उनै चित्रकारको चित्रकला प्रदर्शनी चलिरहेको थियो अमेरिकाको सिन्सिनाटी सहरमा। जोन सिंगर सर्जेन्टको चित्रलाई म खुब प्रेम गर्थेँ। उनलाई मैलेभन्दा बढी प्रेम युक्रेनका ती चित्रकारले गर्दा रहेछन्।
आफूले प्रेम गरेको मान्छेलाई आफूले भन्दा बढी प्रेम गर्ने अर्को मान्छे भेट्दा ऊसँग हारूँ हारूँ लाग्दो रहेछ।
प्रेममा जित्ने सबैभन्दा सुन्दर तरिका हार्नु हो।
मलाई त्यो प्रदर्शनीमा पुर्याइदिने विनोद खतिवडालाई मैले पुग्नेबित्तिकै भनेको थिएँ, 'विनोद भाइ, यहाँ अब सबै पेन्टिङ हेरून्जेल हामी दुवै जना सँगै हुनुपर्दैन। तपाईंलाई कुनै पेन्टिङमा धेरैबेर अडिन मन लाग्यो भने, मेरा लागि भनेर हतार नगर्नुस् ल!'
अनि जिस्किँदै थपेको थिएँ, नेपालका एक जना कविले 'पर्खाइ' भन्ने कवितामा भनेका छन् —
तिमी मसँग आऊ
तर मेरो लागि नआऊ
मलाई भेट्न आउने हतारमा
आफूसँग नछुटी आऊ...
विनोदले हँसिलो अनुहार लगाएर मलाई भन्नुभएको थियो, 'तपाईं कुनै खास पेन्टिङ खोज्दै हुनुहुन्छ जस्तो छ दाजु। तपाईं जानुस् दाजु। म यतै हुन्छु।'
मैले थप जिस्किँदै भनेको थिएँ, 'हो, तिनै नेपाली कविले 'घर' कवितामा भनेका छन् — दिनुहरूमध्ये सबभन्दा सुन्दर दिनु भनेको जान दिनु हो।'
साथीहरूसँग आफ्नो कुरा भन्दा आफ्नै कविताका पंक्ति उद्धृत गर्ने मेरो एउटा केटाकेटी बानी छ। मलाई साथीहरूले केटाकेटी बन्न दिन्छन्। त्यसैले म सुध्रिएको छुइनँ।
सायद आफूलाई जसले केटाकेटी बन्न दिइरहन्छ, ऊ नै सच्चा साथी हो।
र, म त्यो विशेष पेन्टिङमा पुगेँ जुन म खोजिरहेको थिएँ।
पेन्टिङमा लामो स्कर्ट लगाएर उभिएकी एक महिला छिन्। उनले आफ्नो स्कर्ट हल्का माथि उठाएर जम्माजम्मी आफ्नो गोलीगाँठो देखाएकी छिन्। उत्ताउलो केही छैन तर कामुक छ।
सायद कम देखाउनुमा बढी कामुकता हुन्छ।
झट्ट हेर्दा त्यो पेन्टिङ विशेष केही लाग्दैन।
प्रायः विशेष कुराहरू झट्ट हेर्दा विशेष लाग्ने गरी बनाइएका हुँदैनन्, न मान्छेद्वारा, न ईश्वरद्वारा।
तर एकछिन त्यो पेन्टिङ नियालिरह्यो भने यस्तो लाग्छ, उनको दाहिने खुट्टाको त्यो गोलीगाँठो दर्शकहरूसँग त्यो कुरा गरिरहेछ जो कुरामा भन्न सकिँदैन।
त्यो पेन्टिङ हेरिरहँदा यस्तो लाग्छ, कि त उनी पेन्टिङबाट बाहिर निस्किएर बोलाइरहेकी छिन्, या मलाई नै पेन्टिङभित्र बोलाइसकेकी छिन्। टाउको थोरै ढल्काएर उनका लठ्ठ परेका आँखाले जे बोलिरहेका छन्, त्यसबारे बोलीमा बोल्न सकिँदैन।
तर मैले त्यो पेन्टिङको छेउमा त्यस्तो दृश्य देखेँ जसले मलाई १४० वर्षअगाडि पुर्यायो। १४० वर्षअघि यो पेन्टिङ बनेको थियो।
१४० वर्षपछि मैले देखेँ कि, त्यो पेन्टिङको छेउमा उभिएर एक अर्का पेन्टर त्यही पेन्टिङलाई हुबुहु आफ्नो सानो क्यानभासमा उतारिरहेका रहेछन्। मैले झट्ट देख्दा उनले पेन्टिङको चालीस प्रतिशतजति बनाइसकेका थिए। उनले पेन्टिङकी ती महिलाको आकार मात्रै बनाएका थिए।
म यो कुरामा दंग थिएँ कि अब मैले उनका आँखा र गोलीगाँठो बन्दै गरेको देख्न पाउँदैछु।
अनि एक्कासि लाग्यो — मैले जोन सिंगर सर्जेन्ट आफैले यो वास्तविक पेन्टिङ बनाइरहेको देख्न पाए कस्तो हुँदो हो!
बन्दै गरेको देख्नुको सुख बनिसकेको देख्नुको सुखभन्दा सुखतर हुन्छ।
लेखनाथ पौडेलले 'चुँडिएको चंगासित' लेखिरहेको देख्न पाए कस्तो हुँदो हो!
बुद्धले बुद्धत्व पाउँदै गरेको देख्न पाए कस्तो हुँदो हो!
अझ सृष्टिकर्ताले यो सृष्टि गर्दै गरेको देख्न पाए कस्तो हुँदो हो।
बन्दै गरेको देख्नुको सुख, बनिसकेको देख्नुको सुखभन्दा सुखतर हुन्छ।
म लठ्ठ पर्दै ती चित्रकारले चित्र उतारिरहेको साक्षी बसेँ। सम्झनाका लागि उनलाई थाहै नदिइ एउटा फोटो खिचेँ। एउटा छोटो भिडिओ लिएँ। समयलाई थाहै नदिइ अलिकति समय चोरेँ।
अर्कोलाई नदुखाइ, अरूबाट नघटाइ आफ्नो लागि सुख चोर्नु कला हो।
कानमा इयरफोन लगाएर पेन्टिङ गरिरहेका ती चित्रकार ध्यानस्थ थिए। चित्र बनाइसकेपछि लामो सास फेरे। अनि उनले आफूले बनाएको चित्र र नजिकैको वास्तविक चित्र हेरे। मैले उनलाई, उनले बनाएको चित्रलाई र वास्तविक चित्रलाई हेरेँ।
अनि पुलुक्क वरपर हेर्दा उनले मलाई देखे। सायद मेरो अनुहारमा उनले भर्खरै बनाएको चित्र पोतिएको देखे होला। मुस्काए।
अनि एकअर्काको नाम, थर, देश नसोधी केही मिनेट हामीले त्यो वास्तविक पेन्टिङ र पेन्टर जोन सिंगर सर्जेन्टको तारिफ गर्यौं जसलाई हामी दुवै प्रेम गर्थ्यौं। उनको तारिफको अगाडि मेरो तारिफ दोस्रो भयो। म दोस्रो भएर पहिलो भएँ।
मन जितिसकेका उनले सोधे, 'तपाईं यहीँ ओहायोबाट हो?'
मनले हारिसकेको मैले भनेँ, 'केही दिन यहीँ छु। तर म नेपालबाट हो।'
नेपाल शब्द सुनिसक्दा उनको अनुहार यसरी रमायो मानौं, टाढाको देशमा कसैले उनलाई उनको गाउँको नाम भनिदियो।
मैले सोधेँ, 'के भयो? तपाईंलाई नेपालभन्दा के याद आयो?'
मलाइ लागेको थियो, बुद्ध वा सगरमाथा भन्लान्। अथवा गोर्खाली।
तर उनले गदगद भएको स्वरमा खरर भने, 'तिमीहरूको भाषाको जुन लिपि छ, त्यसमा हरेक अक्षरको माथि सुन्दर धर्को हुन्छ है? अनि जुन शब्द जति लामो भए पनि त्यो धर्कोले जोड्छ है? मलाई त्यो धर्कोले सबै अक्षरलाई अँगालो हालेको जस्तो लाग्छ। अझ त्यो धर्कोले माथिबाट शब्दलाई आशिष दिएजस्तो लाग्छ। संसारका धेरै भाषाको लिपि हेर्दै जाँदा जब नेपाली भाषा देखेँ, तब शब्दमाथिको त्यो धर्कोले मलाई हुरूक्कै बनायो। तिमीलाई बधाइ छ है! तिमी कति भाग्यमानी, तिमीसँग त्यस्तो राम्रो लिपि छ। धेरै भाषाको लिपि देखेको छु तर तिम्रो भाषाको लिपि त कस्तो अंकमालजस्तो लाग्यो…।'
म अवाक भएँ। बोल्न केही आएन।
उनी बोल्न रोकिएका थिएनन्। मख्ख परेका शब्दहरू उनको ओठबाट हतारहतार बाहिर निस्किँदा लड्छन् जस्तो लाग्यो।
मैले त्यो धर्काबारे त्यसरी कहिल्यै सोचेको थिइनँ। त्यो तेर्सो धर्का मलाई त्यति सुन्दर कहिल्यै लागेको थिएन। हजारौं किलोमिटर परको, अर्को देशको एउटा पेन्टरले मेरो भाषाको लिपिमा भएको धर्सोको बारेमा धाराप्रवाह तारिफ गरिरहेको थियो। म पिलपिल हुन थालेँ।
म पनि नेपाली भाषालाई प्रेम गर्छु। देवनागरी लिपिलाई प्रेम गर्छु। तर त्यो धर्सोलाई उनले मैलेभन्दा बढी प्रेमले हेरेका रहेछन्।
आफूले प्रेम गरेको कुरालाई आफूले भन्दा बढी प्रेम गर्ने अर्को मान्छे भेट्दा, ऊसँग हारूँ हारूँ लाग्दो रहेछ।
प्रेममा जित्ने सबैभन्दा सुन्दर तरिका हार्नु हो।
अरू त के बोल्नु थियो र मसँग। उनी बोल्दै गर्दा मैले केबल एउटै शब्द बोलेँ, 'डिको।'
उनले रोकिएर भने, 'डिको?'
मैले थपेँ, 'अँ। त्यो तेर्सो धर्कोलाई नेपालीमा हामी डिको भन्छौं। तपाईंले भनेजस्तो, शब्द बन्दा अक्षरहरूलाई अँगालोमा बाँध्ने त्यो धर्कोलाई हामी डिको भन्छौं। अक्षरहरूलाई आशिष दिने त्यो धर्कोलाई हामी डिको भन्छौं।'
उनले उच्चारण गर्ने अभ्यास गर्न थाले, 'डिकोउ!'
अनि उनले आफ्नो देश युक्रेनका बारेमा भने।
उनको देशलाई ध्वस्त गरिरहेका अरू देशका नेताका अनुहारहरूको कुरा गरे। मैले चाहिँ आफ्नो देश ध्वस्त पार्ने अनुहारहरू सम्झिँदा आफ्नै देशका अनुहारहरू आइरहे।
भर्खरै ती पेन्टरले बनाएको पेन्टिङकी महिलाले हामी बोलेको हेरिरहेकी थिइन्। हामी छुट्ने बेला भयो। उनले त्यो पेन्टिङलाई झोलामा हाल्न लागे। उनले झोलामा हाल्नुअघि मलाई त्यो सानो पेन्टिङकी महिलाको आँखा एकपटक फेरि हेर्न मन लाग्यो। मैले मागेँ र हेरिरहेँ। ती पेन्टर र मेरो यो 'डिको संवाद' को एक मात्र साक्षी थिइन् ती पेन्टिङकी महिला। मलाई एक्कासि त्यो सानो पेन्टिङ आफैसँग राख्न मन लाग्यो।
बन्दै गर्दा देखेको कुरालाई लिएर मनमा लोभ पनि बन्दो रहेछ।
आफूलाई उधूम मनपरेको कुरा आफैसँग राख्न मन लाग्नु मान्छेको आदिम बानी हो। र, यो बानी मान्छेको असीम सुख र असीम दुःख, दुवैको आदिम स्रोत पनि हो।
उनले त्यसरी मन लगाएर बनाएको पेन्टिङ कसरी माग्नू?
बोल्न गाह्रो भयो।
मेरो मनले त्यसरी मागेको पेन्टिङ कसरी नमाग्नू?
नबोल्न झन् गाह्रो भयो।
मलाई त्यो पेन्टिङभन्दा बढी त्यो पेन्टिङसँगको कथासँग प्रेम थियो। त्यो कथा आत्मा हो भने पेन्टिङ शरीर हो। मलाई त्यो शरीर आफैसँग बचाएर राख्न मन लाग्यो।
जिस्किन मिल्ने भए म उनलाई भन्ने थिएँ, 'नेपालका एक कविले उनको 'घर' नामक कवितामा भनेका छन् — बचाउनुहरूमध्ये सबभन्दा सुन्दर बचाउनु भनेको आफ्नो कथा बचाउनु हो।'
तर भन्न सकिनँ।
यस्तो बेला मेरो एउटा शैली छ। म सुन्दर बोल्न सक्छु जस्तो लागेन भने म इमानदार भएर बोल्छु।
मैले इमानदार हुनुपर्ने थियो। मैले आँटिलो हुनुपर्ने थियो।
इमानदार हुन सबैभन्दा बढी आँट चाहिन्छ।
मैले भनेँ, 'एउटा कुरा नभनी हामी छुट्यौं भने यो भेटलाई अन्याय हुन्छ। भनूँ?'
झोलामा पेन्टिङ हाल्न रोक्दै मतिर फर्किएर उनले भने, 'भन्नु न।'
मैले त्यो पेन्टिङकी महिलाका आँखाजस्तरी बोलेँ —
'म अबको एक महिनामा क्यालिफोर्नियामा हुनेछु। सानडियागोको कविता कन्सर्टमा कविता सुनाउँदाको आनन्दले म मातेको हुनेछु। मनिता र गोपाल योगीले मलाई साँझपख प्रशान्त महासागरको किनारमा लानेछन्। महासागरमा डुब्न लागेको घामलाई बिदाइ गर्दैगर्दा म भन्नेछु- तिमी अमेरिकामा अस्ताउनु भनेको नेपालमा उदाउनु हो। यहाँ अस्ताउँदै गर्दा तिमीलाई मैले छोएको छु। उदाउँदै गर्दा उता नेपालमा तिमीले मेरो यो स्पर्श लगिदिनू ल? अहिले नेपालमा हुने बिहानी मेरो न्यानो स्पर्शले उजेलियोस् ल?' यसो भन्दै गर्दा आनन्दले मेरा आँखा भिजेका हुनेछन्। त्यो पल मलाई जे भन्नु छ, घामलाई भनिसकेर म खाली हुनुको आनन्द लिइरहेको हुनेछु।
तर त्यतिखेर मेरो खालीपन बिथोल्न मेरो पछुतो आउनेछ। मेरो पछुतोले भन्नेछ 'तैंले एक महिनाअघि सिनसिन्याटीको आर्ट म्युजियममा एक पेन्टरले बनाएको पेन्टिङ मनमा अपनाइसकेको थिइस्। तर धकले गर्दा तैंले ओठ खोलेर मागिनस्। मागेको मात्रै भए तेरो के जान्थ्यो? हदै भए उनले नकार्थे। उनले दिन/बेच्न नकारेका भए तैंले यो मान्दा हुन्थ्यो कि त्यो पेन्टिङ तैंलेभन्दा बढी उनले मागेका छन्। तर के थाहा, तैंले त्यस्तरी चाहेको देखेर ती पेन्टरलाई आफ्नो पेन्टिङभन्दा बढी तेरो चाहनासँग पो प्रेम हुन्थ्यो कि! के थाहा! आफ्नो मनले मागेको कुरा माग्नुपर्ने ठाउँमा नमाग्नेले नमागेको पछुतो पाउँछ। तैंले मागिनस् र यो पछुतो पाइस्। अब जब जब कुनै आनन्दले तेरो आँखा भिज्छ, तब नगरेको त्यो आँटले गर्दा दुःखले तेरा आँखा फेरि भिज्नेछन्। तेरो चोखो आँसु बिटुलिनेछ। मान्छे आफैले आफ्ना आँसु बिटुलो बनाउनु हुन्न...।'
म बोलिरहँदा उनका आँखा टिलपिल हुन थाले।
कारण मैले बुझिनँ। म त्यो कुरा बोल्न छाडेर रोकिएँ।
अनि सोधेँ, 'मैले भनेको कुरा नराम्रो लाग्यो? माफी माग्छु ल? म त यो इमानदार हुने लहैलहैमा…।'
उनले मलाई रोकेर भने, 'तपाईं आफ्नो मनमा भएको कुरा आफूमा नदबाइकन कसरी भन्न सक्नुहुन्छ? मैले तपाईंले जसरी आफ्नो कुरा भन्नुपर्ने समयमा भनेको भए आज…।'
उनले थुक निले।
मैले उनको बोली पर्खिनबाहेक केही गरिनँ।
उनले थपे, 'आज म मेरो थेरापिस्टलाई तपाईंसँगको भेटबारे भन्नेछु। तपाईं यसरी बोलेको सुनाउनेछु। मेरो थेरापिस्टले मलाई तपाईंजस्तो बनाउन सघाउँदैछ।'
उनले थेरापिस्ट भन्ने शब्द उच्चारण गर्दा उनको जीउ कामेको थियो। के कारणले उनले थेरापिस्ट भेटिरहेका छन्, मलाई थाहा भएन। सोध्न मन लागेन। आवश्यक लागेन। केही कथा थियो होला जसले तर्साइरहन्छ होला उनलाई। केही कुरा छन् होला जसले रातभरि राम्ररी निदाउन दिँदैनन् होला। फरक कथामा म उनको हृदय छाम्न सक्थेँ।
हामी सबै जना थोरै भनिएका र धेरै लुकाइएका कथाहरू हौं।
अलि सम्हालिएर लामो सास फेर्दै उनले भने, 'आज मेरो जन्मदिन हो। यो मैले बनाएको पेन्टिङ चाहिँ मैले आफैले आफैलाई दिएको उपहार हो। आफूलाई मनपर्ने पेन्टरको पेन्टिङ बनाएर आफैलाई उपहार दिएको हो मैले…।'
उनी बोल्दा बोल्दै म बोलेँ, 'आहा! जन्मदिनको शुभकामना! आफैले आफैलाई उपहार दिनु त गज्जब नै हो नि। अब त म कसैगरी यो पेन्टिङ तपाईंबाट लिन्नँ। कसैको उपहार खोस्नु त पाप हो।'
अनि मलाई रोकेर उनी बोले, 'हैन, हैन, आफ्नो मन नमारी जसरी तपाईं बोल्नुभयो यो सुनेर मलाई के भयो तपाईंलाई थाहा छैन। मन मार्नु के हो, मलाई थाहा छ। मेरो थेरापिस्टले सिद्धान्तमा भनेको त सुनेको हुँ, तर मैले त आज जिउँदो मान्छे भेटेँ जसले मनलाई बचाउन यति इमानदार भएर बोल्छ। तपाईं त मेरा लागि प्रेरणा हो। तपाईंलाई भेट्नु मेरो लागि झन् ठूलो जन्मदिनको उपहार हो। यो पेन्टिङभन्दा तपाईं ठूलो कुरा हो मेरो लागि।'
म भक्कानिनै लागेको थिएँ। उनले मेरो बारेमा भनेको कुरा सुन्दर त थियो, तर मेरै लागि विरोधाभासपूर्ण थियो।
धेरै बोलेर पनि कम भनिएको कथा हुँ म।
मैले सम्हालिँदै भनेँ, 'तपाईंलाई यस्तो लाग्छ भने म पेन्टिङ खुसी भएर लिन्छु। तर एउटा सर्त छ। म निःशुल्क चाहिँ लिन्नँ। म पनि कलाकार हुँ। यसमा तपाईंको समय र ऊर्जा र हृदयको लगानी छ। म यो तपाईंबाट किन्न चाहन्छु।'
उनले अप्ठ्यारो मान्दै भने, 'तपाईंको कुरा बुझेँ। तर यो पूर्ण रूपको पेन्टिङ होइन। यो त सानो आफ्नो लागि बनाएको हो। म यसको दाम भन्न सक्दिनँ।'
मैले सजिलो बनाउने प्रयास गर्दै भनेँ, 'म पेन्टिङ हेर्न धेरै आर्ट ग्यालरी गएको छु। तर किनेको छैन। त्यसैले म पनि मोल भन्न त सक्दिनँ। अनि म एकदमै धेरै दाम लगाउन पनि नसकुँला। म यसै अन्दाजी एउटा दाम भन्छु। तपाईंलाई कम लागे भन्नुस् ल?'
र, मेरो इमानदार आँटले जित्यो। उनको धकले हार्यो। उनले माने कि त्यो पेन्टिङलाई उनले भन्दा बढी मैले प्रेम गरेँ।
आफूले प्रेम गरेको कुरालाई आफूले भन्दा बढी प्रेम गर्ने अर्को मान्छे भेट्दा ऊसँग हारूँ हारूँ लाग्दो रहेछ।
प्रेममा जित्ने सबैभन्दा सुन्दर तरिका हार्नु हो।
ती महिलाको गोलीगाँठो मेरो झोलामा मुस्कुरायो।
र, ती पेन्टर र म छुट्यौं।
हामीले छुट्ने बेलामा एकअर्कालाई त्यसरी नै अँगाल्यौं जसरी शब्दमा अक्षरहरूलाई डिकोले अँगाल्छ। र, दुवैलाई जान दियौं।
र, तपाईंलाई त थाहै छ, ती नेपाली कविले उनको 'घर' कवितामा भनेका छन् — दिनुहरूमध्ये सबैभन्दा सुन्दर दिनु भनेको जान दिनु हो।
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटर- @Nawarajpoet