होटल छिर्नेबित्तिकै बायाँतर्फ डाइनिङ हलको एउटा टेबलमा ल्यापटप चलाइरहेकी छेतेन लामालाई हामीले देख्यौं।
होटलमा आउने अरू पाहुनालाई उनले जसरी स्वागत गर्थिन्, त्यसरी नै मुसुक्क हाँसेर दुई हात जोड्दै हामीलाई अभिवादन गरिन्।
'अघि फोन गरेको थिएँ नि, मैले हो,' होटल छिर्दै गरेको हाम्रो टोलीको सबभन्दा अगाडि रहेका मेरा मित्रले भने, 'हामी नेप्सेबाट आएको।'
उनको अनुहार धपक्क बल्यो। पाहुना आउँदा व्यापार बढ्ने भयो भनेर सबै होटल सञ्चालकहरू सामान्यतया खुसी नै हुन्छन्। तर यति बेला छेतेनको खुसीको पारो बिस्तारै होइन, ह्वात्तै बढेको थियो।
'ओहो सरहरू नेप्सेबाट आउनुभएको?,' उनको प्रश्नमा कौतुहल मिसिएको थियो, 'कस्तो दिनमा आइपुग्नुभएछ। यता तपाईंहरू आउने, उता मार्केटले सर्किट हान्ने।'
हामी रसुवाको स्याफ्रुबेसी पुगेको दिन सरकार परिवर्तन हुने चर्चाले सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेर कारोबार सुरू भएको केही समयमै बन्द भइसकेको रहेछ। सेयर बजार सम्बन्धी चेतना कार्यक्रम गर्ने यात्रामा निस्केको र बाटोमा सञ्चार सम्पर्कबाट पूरै विच्छेद भएको हाम्रो टोलीलाई 'सर्किट ब्रेकर' लागेको थाहा थिएन।
बजार बेस्सरी बढेर माथि नजाओस् र असाध्यै घटेर तल नझरोस्, कारोबारीहरू एक्कासि ठूलो नोक्सानीमा नपरून् भनेर संसारभर स्टक एक्सचेन्जहरूले सर्किट ब्रेकर (केही समयका लागि कारोबार स्थगन गर्ने) को व्यवस्था गरेका हुन्छन्। सर्किट ब्रेकरले बजारको उतारचढावमा मच्चिएर एकोहोरो भएका कारोबारीलाई ठन्डा दिमागले निर्णय गर्ने अवसर दिन्छ। सर्किट ब्रेकरले बजार वास्तवमा बढ्नुपर्ने हो, घट्नुपर्ने हो वा स्थिर रहनुपर्ने हो, के हुनुपर्ने हो भन्ने प्रश्न कारोबारीलाई सोधिरहेको हुन्छ।
यसअघि सरकार परिवर्तन भएका यस्तै घटनाहरूमा बजार बढेको थियो। यसपालि पनि यस्तै हुन सक्छ भन्ने सामान्य अनुमान हामीले गरेका थियौं। तैपनि कारोबारीलाई खुल्दुली भइहाल्छ। सम्पत्ति कमाउने र गुमाउने यस्ता घटनाहरूमा उनीहरूको मन-मस्तिष्क शान्त हुन सक्दैन, निष्क्रिय बस्न पनि सक्दैन।
छेतेनले प्रश्नको वर्षा गरिन्। हामीलाई बजार सम्बन्धी सबै प्रश्नको उत्तर थाहा छ भन्ने उनलाई लागेको हुनुपर्छ। कुराकानी गर्ने क्रममा उनले सेयर बजारका यति धेरै प्राविधिक शब्दहरू प्रयोग गरिन्, त्यसले हामीलाई पनि जिज्ञासु बनायो। ती शब्दहरू यस्ता थिए, जो बजारलाई अलि बुझेको र कारोबारमा राम्रै अनुभव हासिल गरिसकेको लगानीकर्ताले मात्र प्रयोग गर्छन्।
गड्गडाउँदो त्रिशुली किनारमा अग्लाअग्ला पहाडहरूबीच लपक्कै टाँसिएर बसेको छ यो सानो बस्तीमा सेयर बजार सम्बन्धी यस किसिमको कुराकानी होला भन्ने हामीले अपेक्षा गरेका थिएनौं।
अपेक्षा पनि कसरी गर्ने?
काठमाडौंबाट नजिक भए पनि स्याफ्रुबेसी पुग्ने बाटो सजिलो छैन। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनसँग जोडिने सडकमार्गमा मान्छेको आउजाउ कम छ। बाह्रै महिना सानो-ठूलो पहिरो खसिरहन्छ। बाटो भासिइरहन्छ। बजारमा चहलपहल कम छ। पढाइलेखाइ, व्यापार, व्यवसाय, जागिर गर्ने रहर पालेर धेरै जना काठमाडौं नै जान्छन्। गाउँमा अडिएर बस्ने कम छन्।
रसुवामा भेटिएका अरूहरूले यस्तै निराशाका कुरा सुनाए पनि छेतेन आशावादी थिइन्। सेयर बजारको भाषामा उनको तेवर 'बुलिश' थियो।
अब प्रश्न सोध्ने पालो मेरो थियो, 'साँच्चै, सर्किट ब्रेक नै लगाउनुपर्ने गरी हिजोको आजै के भएछ बजारमा?'
उनले भनिन्, 'यो हल्लाको बजार हो। हल्लाको भरमा चल्छ। बजारलाई तलमाथि गर्न एउटा हल्ला भए पुग्छ।'
'अनि यस्तो हल्लाको बजारमा तपाईं कसरी आइपुग्नुभयो?,' मैले सोधेँ।
'कोरोना महामारीको बेलामा अरू काम थिएन, अनि यो बजारमा आइयो नि!' उनले आफ्नो सेयर बजार लगानी यात्राको कथा सुनाइन्।
खासमा उनलाई सेयरसँग परिचय चिलिमे जलविद्युत कम्पनीले गराएको थियो। अरू स्थानीयले जस्तै दुईपटक गरी उनले चिलिमेको दुई सय कित्ता सेयर किनेकी थिइन्। झन्डै डेढ दशक अगाडिको कुरा भएकाले र बीचमा लगानीको शृंखला टुटेकाले त्यति बेला कति कित्ता र कुन भाउमा किनिएको थियो भन्ने उनले मोटामोटी हिसाब मात्र सम्झिन सकिन्।
'म फाइल हेरेर भन्न सक्छु त्यसको हिसाब,' उनले भनिन्।
मैले पर्दैन भनेँ।
खासमा छेतेनले कोरोना महामारीका कारण होटल व्यवसायबाट पाएको फुर्सदलाई सेयर बजारमा व्यस्त बनाउने अवसरका रूपमा प्रयोग गरेकी रहिछन्।
'ऊ त्यो होटलको भाइले सेयर कारोबार गर्ने रहेछ। मैले पनि सिकेँ,' बाटो पारिपट्टि रहेको होटलतिर औंला तेर्स्याउँदै उनले भनिन्, 'त्यो एक किसिमले ब्लेसिङ इन डिसगाइज जस्तो भयो भनुम् न।'
मान्छेहरूले सेयर कारोबारबाट नाफा कमाएर घरघडेरी किनेको, गाडी चढेको उनले सुनेकी रहिछन्। 'यो रातारात करोडपति बन्न सकिने बजार हो' भनेर कसैले उनलाई भनेको पनि रहेछ।
यस्ता कुरा सुने पनि उनले पत्याएर बजारमा हाम फालेकी थिइनन्। सुनेका ती कुरा जाँच गर्ने मौका कोरोना महामारीले दियो। त्यही छिमेकी भाइले चिनाइदिएको ब्रोकरमा अनलाइनबाट कारोबार खाता खोलेर छेतेनले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) प्राप्त गरिन्। यसरी दोस्रो बजारमा प्रवेश गरेकी उनले फेरि पनि चिलिमेकै सेयर खरिद गरिन्।
'चिलिमेको १५ सय कित्ता किनेँ। मलाई सेयर भनेकै चिलिमे मात्रै हो भन्ने लागेको थियो। तर बजारमा यति धेरै कम्पनी रहेछन्। यति धेरै क्षेत्र रहेछ। मुचुअल फन्ड रहेछ। अहिले त बन्डहरू पनि आएका छन्। पछि मात्रै थाहा भयो।'
टिएमएसबाट पहिलोपटक चिलिमेको सेयर खरिद गर्न 'बाई अर्डर' राखेकी छेतेनलाई त्यसपछि बजारको लत लाग्यो। बजारबाट अरू पनि सेयर किन्दै गइन्। उनलाई कस्ता कम्पनीको सेयर किनिरहेको छु भन्ने थाहा थिएन।
'खासमा म गलत समयमा बजार छिरेको रहेछु। बजार बढ्दै जाँदा सेयर फाल्दै जानुपर्ने रहेछ। मैले थप्दै लगेछु,' उनले भनिन्, 'तर मलाई पछुतो छैन।'
ती कारोबारहरू उनका लागि सिकाइ भयो। त्यो सिकाइले मनोबल थोरै बढ्दै गयो। बजारले उनलाई अझै जिज्ञासु बनायो। अझै सिक्नुपर्छ भन्ने भयो।
'अहिले म प्रफिट मै छु,' उनले घोषणा गरिन्, 'मैले एभरेजिङ गर्न सिके, सानो सानो प्रफिट बुकिङ गर्दै लस रिकभर गर्न सकिने रहेछ भन्ने थाहा पाएँ।'
उनले सेयर बजारबाट सिकेको पाठको सार खिच्दै थप भनिन्, 'कारोबारमा सबभन्दा ठूलो कुरा आफ्नो इमोसनलाई कन्ट्रोल गर्नुपर्ने रहेछ। धेरै लोभी हुनु हुँदैन, धेरै डराउन पनि हुँदैन। लोभी भयो भने नोक्सान हुन सक्छ। डरायो भने कमाउन सकिँदैन।'
उनी ढुक्क छिन्, एक दिन 'बुल मार्केट' आउँछ भन्नेमा। त्यति बेला उनको पोर्टफोलियोको भ्यालु अझै बढ्नेछ। अहिलेको भन्दा सायद चार-पाँच गुणा ठूलो हुनेछ।
तर त्यो दिन कहिले आउँछ, कसैले ठोकुवा गर्न सक्दैन। त्यतिञ्जेल हात बाँधेर बस्ने कुरा पनि भएन। त्यसैले सानो सानो कारोबार गरेर उनले आफूलाई बजारसँग जोड्दै आएकी छन्।
'यो त बार्गेन पर्चेज गर्ने टाइम हो,' उनले भनिन्, 'मार्केट वाच गरिरहनुपर्छ।'
त्यसैले आइतबारदेखि बिहीबारसम्म हरेक दिन बिहान साढे दस बजे ल्यापटप खोल्ने र बजार निगरानी गर्ने उनको दैनिकी बनेको छ। यति बेला उनको जोड फन्डामेन्टल एनालाइसिसमा भन्दा टेक्निकल एनालाइसिसमा छ।
ल्यापटपको स्क्रिनमा हेरेर उनी भन्दै थिइन्, 'अहिले बढेको यो मार्केट सस्टेन गर्दैन।'
'यस्तो ठोकुवा कसरी गर्न सक्नु हुन्छ?' मैले सोधेँ।
उनले स्क्रिनमा देखाउँदै भनिन्, 'यो मसिनो हरियो रेखा देख्नुभयो? यसले भन्छ। यो मोटो भएको भए बलियो हुन्थ्यो। अब मार्केट कम्तीमा पनि यहीँ आइपुग्छ जहाँबाट यो सुरू भएको थियो।'
उनले स्क्रिनमा रातो र हरियो रङका मैनबत्तीहरूका थुप्रै आकृति उनेर बनाइएको माला जस्तो चित्र मलाई देखाएकी थिइन्। आजकल प्राविधिक विश्लेषण गरेर सेयर किनबेच गर्न रूचाउने युवा कारोबारी माझ यस्ता चित्र लोकप्रिय छन्।
जापानको दोजिमा राइस एक्सचेन्जमा कारोबार गर्नेहरूले धानको बजार मूल्य कता जान्छ भनेर पहिल्याउन १८ औं शताब्दीमा विकास गरेको यो विधि जापानीज क्यान्डल स्टिकका नामले चिनिन्छ। यो विधिलाई संसारभरिकै कमोडिटी र स्टक एक्सचेन्जको कारोबारमा प्रयोग गरिन्छ।
यो विधिमा किनबेच गर्न लागिएको सम्पत्तिको वास्तविक मूल्य वास्ता गरिँदैन। बरू त्यस्तो सम्पत्ति बजारमा कुन मूल्यमा र कति परिमाणमा कारोबार भइरहेको छ भन्नेमा जोड दिइन्छ। विगतमा कायम भएको सम्पत्तिको बजार मूल्य र कारोबार परिमाणका आधारमा मूल्यले भविष्यमा कुन गति लिन्छ र कुन दिशा पक्डिन्छ भन्ने पहिल्याउन सकिने मान्यतामा यो विधिको विकास भएको हो।
प्राविधिक विश्लेषणका अरु थुप्रै विधिमध्ये यो एक लोकप्रिय विधि हो।
उनले प्राविधिक विश्लेषणका अरू विधि पनि प्रयोग गरिरहेको मैले स्क्रिनमा देखिरहेको थिएँ। स्क्रिनका अरू विन्डोहरू खोल्दै उनी एक एक स्टकको अवस्था व्याख्या गर्न थालिन् —
'यी हेर्नुस् न, यसले रेसिस्टेन्सको लेभल छोइसक्यो। अब फाल्दिए हुन्छ।'
'यसलाई हेर्नुस्, यो सपोर्टमा आयो। यो अब यहाँभन्दा तल जाँदैन। किन्ने हो भने किने हुन्छ।'
'यो सबै कुरा आजको दिनसम्म हो, अझ भनौं अहिलेसम्मको हो। एक छिनपछि के हुन्छ, भोलि के हुन्छ, कसैले जान्दैन। म जान्ने छु भनेर गफ लगाउने मान्छे त भेटिन्छन् बजारमा तर त्यस्ता गफाडीलाई पत्याइहाल्नु हुँदैन।'
प्राविधिक विश्लेषण सिक्नु तुलनात्मक रूपमा कठिन विषय हो। धेरैले झर्को मानेर सिक्दासिक्दै बीचमै छोडिदिन्छन्। कतिले त यसलाई सिक्ने र प्रयोगमा ल्याउने विधि हो भनेर स्वीकार नै गर्दैनन्। उनीहरू प्राविधिक विश्लेषणलाई 'कागताली विज्ञान' हो भनेर होच्याउँछन्।
'यो त पोख्त कारोबारीहरूले पछ्याउने निकै जटिल किसिमको तरिका हो भन्छन्, तपाईंले कहाँ सिक्नुभयो?,' मैले सोधेँ।
'युट्युबबाट सिकेको,' छेतेनले भनिन्, 'सिक्न खोज्ने र गर्न खोज्नेलाई आजकाल के नै कठिन छ र? इच्छा मात्रै हुनुपर्यो।'
'युट्युबको भर परेर हुन्छ त,' मैले शंका व्यक्त गरेँ।
'हुँदैन! त्यहाँ पनि अनेक थरीका हुन्छन्। सबैको भर पर्न सकिँदैन। धेरैको कुरा सुन्नुपर्छ। क्रस चेक पनि गर्नुपर्छ,' उनले भनिन्।
उसो भए यति जानेपछि पैसा कमाइन्छ भनेर मैले सोध्दा उनले भनिन्, 'ग्यारेन्टी हुँदैन। लगानी गर्न आफूसँग पैसा पनि हुनुपर्यो। नोक्सान हुन सक्छ, नोक्सान सहन सक्ने क्षमता पनि हुनुपर्यो।'
लगानीको यो तितो सत्य उनले सेयर बजारबाट मात्रै सिकेकी होइनन्। उनले बाँचेको परिवेशले पनि सिकाएको हो।
छेतेनले ८ कक्षासम्म गाउँमै पढिन्। कक्षामा सधैं प्रथम हुन्थिन् रे। त्यति बेला उनको माइती गाउँ ठूलो स्याफ्रुबेसीमा आठ कक्षाभन्दा माथि पढाइ हुने स्कुल थिएन। छोरीलाई पढाउनुपर्छ भन्ने सोच भएका पर्यटन व्यवसायी बुबाले उनलाई पढ्न काठमाडौं पठाए। काठमाडौंको एउटा निजी स्कुलमा कक्षा झारेर फेरि आठबाट उनको पढाइ सुरू भयो।
२०५८ सालमा उनले एसएलसी पास गरिन्।
'त्यसपछि गाउँ फर्किएँ। बिहे भयो, अनि पढाइ छुट्यो,' उनले भनिन्।
हार नमान्ने उनले माथिमाथिका कक्षासम्म पढ्ने इच्छा मर्न दिइनन्। अंग्रेजीलाई मुख्य विषय बनाएर शिक्षाशास्त्रतर्फ ११ र १२ कक्षाको परीक्षा प्राइभेट दिएर पास गरिन्। त्यसपछिको उनको सिकाइ औपचारिक डिग्री हासिल गर्नेभन्दा आफ्नो पेसा-व्यवसायलाई मलजल गर्नेतर्फ केन्द्रित भयो। सामाजिक काममा पनि उनको रूचि छ। उमेर चौथो दशकमा उक्लिसक्दा पनि नयाँ कुरा सिक्ने हुटहुटीमा कुनै कमी आएको छैन।
काठमाडौंबाट आउने सेयर बजार सम्बन्धी 'चाहिने-नचाहिने' हल्लाले उनलाई अचम्मित तुल्याउँछ। हुन त अहिले यस्ता हल्लाहरूमा उनी अभ्यस्त भइसकेकी छन्। बरू, कुनै नयाँ हल्ला आयो भने, यस्तो हल्ला किन चलाइएको होला भनेर सोच-विचार गर्न थाल्छिन्। बजार बढाउन हो कि घटाउन हो भनेर अनुमान लगाउन थाल्छिन्।
पछिल्लो समय बजार घट्नुको कारणका रूपमा औंल्याइएको राष्ट्र बैंकको नीतिबारे उनको आफ्नै बुझाइ छ।
'धेरै मान्छेले राष्ट्र बैंकलाई गाली गर्छन्। मलाई ठीक हो जस्तो लाग्दैन,' उनले भनिन्, 'ठूलो ऋण लिएर कारोबार गर्नेलाई फरक परेको होला। आफ्नै पैसा लगाउने हामीलाई त के मतलब? ऋण लिएर सेयर बजारमा आउनेलाई त सधैं खतरा हुन्छ नि!'
'स्ट्रङ फन्डामेन्टल्स' भएको कम्पनीमा लगानी गर्दा फरक नपर्ने उनी ढुक्कैले बताउँछिन्। राम्रा कम्पनीको सेयर मूल्य कुनै न कुनै दिन माथि पुगिहाल्छ भन्ने उनको विश्वास छ।
'बजारमा अरूलाई अलमल्याउन खोज्ने मान्छेहरू पनि थुप्रै हुन्छन्,' छेतेनले सजग गराइन्,' तिनीहरूसँग सावधान हुनुपर्छ।'
आफ्नो अनुभवका आधारमा अरूलाई सल्लाह दिनुपर्दा उनी प्राथमिक बजारको आइपिओ आवेदन भर्दा फरक नपर्ने सुझाव दिन्छिन्।
'सेकेन्डरीमा लगानी गर्दा भने विचार पुर्याउनुपर्छ। ज्ञान पनि लिनुपर्छ। यत्तिकै आउनुहुँदैन,' उनले भनिन्।
तीव्र गतिमा बजारमा आउनेहरूलाई देखेर उनलाई अनौठो लाग्छ। प्रविधिको व्यापकताका कारण सबैले सजिलै कारोबार गर्न सक्ने भएपछि नयाँ किसिमको समस्या आउने हो कि भन्ने पनि उनलाई लागेको छ।
'अहिले सबैको हातमा टिएमएस छ। कतिपयलाई यो हात परेपछि ठूलै हतियार पाएजस्तो लाग्दो रहेछ। यो त दुईतिर धार भएको तरबार हो। चलाउन जानेन भने आफैलाई काट्छ,' उनले कुरो टुंग्याइन्।
छेतेनले कुरा टुंग्याउँदै गर्दा उनको ल्यापटप स्क्रिनमा दृश्य बदलिएको थियो। अघिसम्म हरियो रङ पोतिएको स्क्रिन अहिले राताम्मे देखिन थालेको थियो। बिहान तीव्र गतिमा उकालिएकाले सर्किट ब्रेकर लागेर बन्द भएको बजार खुलेर ओरालो यात्रामा निस्किसकेको थियो।
उनको अनुहार फेरि उज्यालियो।
थोरै समय खुलेको बजारमा उनले कारोबार गर्न पाएकी थिइनन्, नाफा कमाएकी पनि थिइनन् तर पनि उनको अनुहारमा विजयभाव थियो।
छेतेनको अनुहार बोलिरहेको थियो, 'मैले भनेकै थिएँ यो मार्केट सस्टेन गर्दैन भनेर। यो बुल मार्केट हुँदै होइन। तर बुल मार्केट एक दिन अवश्य आउँछ।'