हाम्रो समयको जुद्धोदय पब्लिक हाई स्कुल
मैले आफू पढेको जुद्धोदय पब्लिक हाई स्कुल (जेपी हाई स्कुल) बारे लेख्न थालेको धारावाहिक शृंखलाको यो चौथो तथा अन्तिम भाग हो।
पहिलो अंकमा स्कुल स्थापनाबारे र हामीलाई पढाउने मास्टरहरूबारे चर्चा गरेको थिएँ।
दोस्रो अंकमा शैक्षिक सत्र, परीक्षा प्रणाली, स्कुलका अविस्मरणीय घटना र स्कुलमा विशिष्ट महानुभावहरूको आगमनबारे सम्झना गरेँ।
तेस्रो अंकमा प्रवेशिका परीक्षामा दुईपटक फेल भएपछि तेस्रोचोटिमा कसरी परीक्षा पास गरेँ भन्ने चर्चा गरेँ।
आज अन्तिम भागमा म आफू राम्रो स्कुलको कमजोर विद्यार्थी रहेको वर्णनका अतिरिक्त तत्कालीन समयमा पिटेर विद्यार्थी तह लगाउने मास्टर वर्गको सोच, ट्युसन पढाउने प्रचलन, कस्ता विद्यार्थीलाई मास्टरहरूले चिन्थे भन्नेबारे चर्चा गर्दैछु। स्कुलको वर्तमान भौतिक संरचना र २०१६ सालमा जेपी स्कुलबाट १० कक्षा पास गरेका विद्यार्थीहरूले बनाएको समूहबारे पनि बताउँदै छु।
यो भागलाई मैले दुई खण्डमा बाँडेको छ —
पहिलो खण्डमा आफू राम्रो स्कुलको कमजोर विद्यार्थी रहेको प्रसंग र विद्यार्थी तह लगाउने तरिका लगायत विषय समेटेको छु। दोस्रो खण्डमा २०१६ सालको समूह गठन र उक्त समूहका विभिन्न क्रियाकलापको वर्णन गरेको छु।
पहिलो खण्ड: मुलुककै राम्रो स्कुलको विद्यार्थी तेस्रोपल्टमा प्रवेशिका परीक्षा पास
विक्रम सम्बत् २०१० को दशकमा काठमाडौंमा सरकारी स्कुलका अतिरिक्त केही पब्लिक हाई स्कुल मात्र थिए। उदाहरणका लागि — विश्व निकेतन, शान्ति निकुञ्ज, शान्ति विद्या गृह, पद्मोदय आदि।
यी स्कुलहरू कुनै पनि नराम्रा थिएनन्। सबै राम्रै स्कुल मानिन्थे। तैपनि म पढेको जेपी हाई स्कुललाई अरूभन्दा राम्रो मानिन्थ्यो। किन होला भनेर सोच्दा तीनवटा कारण मेरो दिमागमा आउँछ —
पहिलो कारण, त्यस बखत नाम चलेका मास्टरहरू हरिहरनाथ रेग्मी, रामजीप्रसाद शर्मा, कृष्णमुरारी शर्मा, वासुदेव शर्मा लुइँटेल, तीर्थराज तुलाधर, मित्रनाथ देवकोटा, अम्बिकाप्रसाद उपाध्याय, कीर्तिरत्न बज्राचार्य, रामलाल मानन्धर आदि जेपी हाई स्कुलका शिक्षक थिए।
दोस्रो कारण, यो स्कुल एसएलसी बोर्ड परिक्षा (प्रवेशिका परीक्षा) मा प्रथम र द्वितीय स्थानका लागि प्रतिस्पर्धा गर्नेमा पर्थ्यो। एउटा समाचारअनुसार नेपालमा प्रवेशिका परीक्षा बोर्ड स्थापनापछि ७१ वर्ष (अर्थात् विसं १९९० देखि २०६१ सम्म) को इतिहासमा जेपी हाई स्कुलका छ जना विद्यार्थीले प्रवेशिका (एसएलसी) परीक्षामा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका थिए (http://www.nepaltribune.com/list-slc-board-toppers-nepal/)।
हामी पढ्दाको अवधि २००९/१० देखि २०१६/१७ को शैक्षिक सत्रसम्म तीन जना विद्यार्थी पदमलाल श्रेष्ठ (२०११), आनन्दमान अमात्य (२०१३) र प्रकाशचन्द्र जोशी (२०१५) ले प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका थिए। आफ्ना विद्यार्थीको सफलतामा स्कुलले खुसियाली मनाउन बिदा दिँदाको क्षण अझै दिमागको अन्तरकुन्तरमा छँदैछ। हामीले छाडिसकेपछि पनि स्कुलका विद्यार्थीले लगातार तीन वर्ष २०१७, २०१८ र २०१९ सालमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका थिए।
तेस्रो कारण, पढाइको दृष्टिले यो स्कुल कडा अनुशासन कायम गर्ने शिक्षण संस्थाका रूपमा चिनिन्थ्यो। यसका साथै विभिन्न अतिरिक्त क्रियाकलाप; खासगरी साहित्यिक कार्यक्रम, बेलाबेला विशिष्ट व्यक्तिहरूको आगमन र तिनले मास्टर वर्ग तथा विद्यार्थीलाई दिएका प्रेरणादायक प्रवचन, देशभित्र र बाहिर शैक्षिक भ्रमण आयोजना, मास्टरहरूमा स्कुलप्रति लगाव र लगनशिलताले पनि जेपी हाई स्कुल राम्रो भनेर चिनिन्थ्यो।
हुन पनि जेपी हाई स्कुलमा पढाउने मास्टरहरू नामुद नै थिए। तैपनि विशेष गरी हिसाबमा कमजोर तथा यो विषयमा वार्षिक परीक्षामा फेल भए पनि सात वर्षको स्कुल पढाइमा मैले कहिल्यै कक्षा दोहोर्याउनु परेन। कक्षा चढ्दै गएँ वा चढाइँदै गएँ। यसको मूल्य एकैपल्ट प्रवेशिका परीक्षामा दुईपटक गुल्टुङबाजी खाएर चुकाउनुपर्यो।
यसका लागि पढाउने मास्टरहरूलाई दोष दिन म चाहन्नँ। तथापि विषय लागेर कक्षा चढ्दा परिवारका मुली, बा वा पितामहले किन, कसरी र के कारणले खास विषयमा हाम्रो छोरा/नाति कमजोर भयो भनेर स्कुलका हेडमास्टर र पढाउने मास्टरसँग सोधखोज गरेका भए वा स्कुलले नै परिवारका मुलीलाई बोलाएर छलफल गरेको भए मलाई प्रवेशिका परीक्षामा तेस्रोचोटि बस्नुपर्ने अवस्था आउने थिएन होला!
मेरोजस्तै स्थिति अन्य सहपाठीको पनि हुनसक्छ।
कुटेर विद्यार्थी तह लगाउने प्रवृत्ति
जेपी हाई स्कुल निश्चित रूपमा राम्रो स्कुलमा गनिन्थ्यो। पढाउने मास्टरहरू नामुद नै मानिन्थे। सँगसँगै, केही मास्टरहरू विद्यार्थी पिट्नमा पनि उत्तिकै माहिर थिए।
उदाहरणका लागि — रामलाल मानन्धर, रामजीप्रसाद शर्मा, विष्णुप्रसाद पौडेल, विजयानन्द जोशी, उदयमान श्रेष्ठ, सर्ट रामजीप्रसाद रिमाल आदि।
यीमध्ये रामजीप्रसाद शर्मा कानको लोती नै चुँडिएलाजस्तो गरी कान समात्थे भने रामलाल मानन्धर औंलामा सिसाकलमले हिर्काउनमा माहिर थिए।
विद्यार्थीहरूको पिठ्युँमा कुट्नुलाई त जेपी स्कुलको पर्याय भन्दा फरक पर्दैन होला। मास्टरहरूबाट बेलाबेला खाएको पिटाइको दुखाइ जीउमा अझै बाँकी छ कि जस्तो भान हुन्छ।
पिटाइकै सम्झना गर्दै एक सहपाठीले यसो भनेको सम्झन्छु —
'इतिहास पढाउने मास्टर साहेब विजयनन्दन जोशी पाठ बुझाउन नसके वा कक्षामा छुकछुक गरे कम्मरमा बाँधेको छालाको पेटी फुकालेर विद्यार्थी कुट्थे, विशेषगरी साना विद्यार्थीलाई। एकदिन मैले हिम्मत गरेर 'किन ठूला विद्यार्थी नकुट्ने, किन हामीलाई मात्र कुटने' भनेर सोधेँ। जबाफमा मास्टर जोशीले भने, साना विद्यार्थी भनेका काँचो माटो हुन्। तिनलाई भाँडो बनाउन सकिन्छ। ठूला केटाहरू त सुकेर इँट भइसकेका छन्। तिनलाई कुटेर के टुक्रा बनाउनू!'
आज पनि म त्यति बेला मास्टरहरूले किन विद्यार्थी कुट्थे होलान् भनेर सोच्छु। उनीहरूमा कुटेरै विद्यार्थी तह लगाउन सकिन्छ भन्ने धारणाले काम गर्थ्यो कि!
वा, त्यस बखतको स्कुल शिक्षा प्रणालीमा छडी नै विद्यार्थी तह लगाउने एक मात्र माध्यम मानिन्थ्यो कि! खोई के भनुँ!
म आफू राम्रो नपढ्ने, छुकछुके र बदमास भएरै पिटाइ खानेमा परे हुँला! एउटा कुरा भने पक्कै हो, मजस्तो कमजोर र नपढ्ने विद्यार्थीलाई कुटेर तह लगाउने सोच मास्टरहरूमा हुनुभन्दा के कारणले यो विद्यार्थी कमजोर भयो भनी बुझ्ने प्रयास गरेर मनोवैज्ञानिक रूपमा व्यवहार गरेको भए मैले आज जे गर्न सकेको छु, त्योभन्दा धेरै राम्रो गर्थेँ कि!
कुटाइकै सम्झना गर्दा एउटा घटना याद आउँछ।
कक्षा ७ वा ८ मा पढ्दाको कुरा हो। अंग्रेजीका मास्टर तीर्थराज तुलाधरको कक्षा थियो। सिंह थर भएका (पहिलो नाम बिर्सेँ) सहपाठी सबभन्दा अगाडिको बेन्चमा बसेका थिए। हामी पछाडिको लहरमा थियौं। मास्टर तुलाधर पढाउँदै, लेखाउँदै थिए। त्यही बेला सिंहको कलमको मसी सकिएछ। उनले लेख्न सकेनन्। त्यो देखेर तुलाधर मास्टरले 'किन लेखिनस्' भनेर सोधे। सिंहले जे वास्तविकता थियो, त्यही बताइदिए। त्यसपछि पनि मास्टर तुलाधरले 'ला तेरो कलम' भन्दै त्यसको नीब डेस्कमा गाडेर कच्याककुचुक पारिदिए। उनलाई बेस्सरी कुटे पनि।
मास्टर तुलाधरको त्यस्तो व्यवहार देखेर हामी डरले थुरथुर भयौं। कक्षामा नराम्रो वातावरण छायो। भोलिपल्टदेखि सहपाठी सिंह स्कुल आउन छाडे। हामीलाई नराम्रो लाग्यो। तर केही बोल्न सकिएन।
यस्तै स्थिति उत्पन्न नगराए पनि एकपटक पढाउँदा पढाउँदै मित्रनाथ देवकोटाले 'कानो भैंसीलाई औंसी न पूर्णे' भनेर विद्यार्थीको ढाड सेकेको हिजोजस्तै लाग्छ।
स्कुल छाडेको दशकौंपछि निवृत्त जीवन बिताइरहेका 'भूतका भिनाजु', अर्थात् वासुदेव लुइँटेललाई म बेलाबेला भेट्न जान्थेँ। त्यसै क्रममा एकचोटिको भेटमा मैले 'तपाईंले ढाडमा छडी हिर्काएकाले अझै दुखिरहेछ' भनेँ।
जबाफमा उनले भने, 'तँलाई नकुटेको भए आज यस्तो हुन्थिस्।'
मास्टर लुइँटेलको भनाइको जबाफ मसँग थिएन। हाँसेर टारिदिएँ। त्यसो भन्दा वरिष्ठ पत्रकार भैरव रिसाल पनि साथै थिए।
स्कुलमा कुट्ने मास्टरहरू मात्र थिएनन्। कोही कोही मास्टर त माया गरेर र विशेष ध्यान दिँदै पढाउँथे। उनीहरूले ध्यान दिएर पढाइदिएकैले कुनै विषयमा राम्रो गर्न सकियो। उदाहरणका लागि — अंग्रेजीमा कमजोर विद्यार्थीहरूलाई हरिहरनाथ रेग्मीले विशेष कक्षा लिएर सहयोग गरेको प्रतिफल नै हो, मैले यो विषयमा राम्रो गर्न सकेँ।
नपिट्ने र माया गरेर पढाउनेमा कृष्णमुरारी शर्मा, रमाप्रसाद, कीर्तिरत्न बज्राचार्य र अम्बिकाप्रसाद उपाध्याय पनि पर्थे। शारीरिक शिक्षाका मास्टर देवनाथ सेन त मस्त खालका हिरो मास्टर थिए।
कृष्णमुरारी मास्टर कक्षा प्रवेश गरेर हाजिर लिएपछि 'लौ किताब खोल' भन्थे र आँखा चिम्लेर किताबै नहेरी संस्कृत पढाउँथे। उनको भलादमीपना म कहिल्यै बिर्सन सक्दिनँ।
ट्युसन पढाउने चलन
त्यस बखत मास्टरहरू विद्यार्थीसँग पैसा लिएर घरमै ट्युसन पढाउँथे। हाम्रै कक्षाका सहपाठीमध्ये केहीले स्कुलकै मास्टरहरूसँग ट्युसन पढ्ने गरेको सम्झना छ। म त्यसरी ट्युसन पढनेमा परिनँ। किनभने, मेरो परिवार पैसा तिरेर ट्युसन पढाउन सक्नेमा पर्दैन थियो।
ट्युसनको कुरा गर्दा एक जना साथीले हिसाबमा सँगै ट्युसन पढौं भनेको सम्झन्छु। मैले आफ्नो घरायसी कारणले उनको प्रस्ताव स्वीकार गर्न सकिनँ।
कक्षा ९ र १० मा पढ्दा बाजेले नाति पढाइमा कमजोर भयो भनेर दुई जना नातेदारसँग सित्तैमा पढाइदिन आग्रह गर्नुभयो। दुवैले सहयोग त गरे, तर एक जना भट्टराई थरका मास्टरले उनीसँग पैसा तिरेर पढ्न आउने विद्यार्थीहरूको समूहमा राखेर पढाए। एक त म कमजोर रहेको हिसाब लगायत अंग्रेजी विषय उनले पाँच–छ जनाको समूहमा राखेर पढाएका थिए, अर्कातिर उनको ध्यान पैसा तिर्ने विद्यार्थीहरूमा धेरै जान्थ्यो। मेरा लागि ट्युसन पढिस् भन्दा पढेँ भन्नेबाहेक अरू केही भएन।
अर्का न्यौपाने थरका अंग्रेजीका मास्टर थिए। उनी अति नै व्यस्त रहन्थे। त्यसमाथि १० कक्षामा ट्युसन पढाउँदा पढाउँदै उनी न्योह्खा टोलबाट ललितपुरमा हाल समिट होटल रहेको ठाउँ नजिकैको एउटा घरमा सरे। मलाई त्यो ठाउँ टाढा पर्थ्यो, तैपनि म बिहानै सानाबा (आमाकी बहिनीको श्रीमान) को थोत्रो साइकल लिएर पढ्न जान्थेँ। त्यसरी थोत्रो साइकल चढेर पढ्न जाँदा बाटोमा कति ठाउँ चेन बिग्रने, ब्रेक बिग्रने जस्ता झमेला बेहोर्नुपर्थ्यो।
यति मात्र होइन, कुपन्डोल पुग्दा कहिले मास्टर भेट नहुने, कहिले आधा घन्टा पढेर फर्किनुपर्ने हुन्थ्यो। यस प्रकारको ट्युसन पढाइले मलाई २०१६ सालको वार्षिक तथा पूरक प्रवेशिका परीक्षा दुवैमा पार लगाएन।
२०१७ सालको परीक्षा पास हुन भने प्रेमबहादुर शाक्य लगायतका मास्टरहरूले कन्या मन्दिर हाई स्कुलमा चलाएको कोचिङ कक्षाले ठूलो भूमिका खेल्यो। यसबारे मैले अघिल्लो अंकमा २०१७ सालको परीक्षा तयारीको वर्णन खण्डमा उल्लेख गरिसकेको छु।
मास्टरको नजरमा पर्ने विद्यार्थी
जीवनको लामो यात्रामा मैले के अनुभव गरेँ भने, स्कुलका मास्टरहरूले आफ्ना विद्यार्थीमध्ये धेरै पढ्ने वा आफूले ट्युसन पढाएका वा धेरै बदमासी गर्नेलाई पछिसम्म चिन्दा रहेछन्। बीचका विद्यार्थीलाई स्कुल छाडेको केही वर्षमै बिर्सँदा रहेछन्।
मलाई यस्तो अनुभव अधिराजकुमारी श्रुतीको विवाहको निम्तो मान्न नारायणहिटी दरबार जाँदा भयो।
अधिराजकुमारीको विवाहमा हेडमास्टर रामजीप्रसाद शर्मा निम्त्याइएका रहेछन्। तत्कालीन श्री ५ को सरकारको विशिष्ट श्रेणीको कर्मचारीका नाताले म पनि निम्त्याइएको थिएँ। सहपाठी सहायक रथी (ब्रिगेडियर जनरल) चिनीया बस्न्यात पनि निम्तालुमा परेका रहेछन्। अन्य सहपाठीहरूमा महेन्द्ररत्न बज्राचार्य र पशुपतिभक्त महर्जन त नारायणहिटी राजदरबार सचिवालयमै सचिव स्तरमा कार्यरत हुनाले निम्तालुमा पर्ने नै भए।
निम्तालुहरूका लागि राखिएका पालमा हेडमास्टर शर्मा, सहायक रथी बस्न्यात र म एकैजसो लहरमा पर्यौं।
हेडमास्टर शर्मालाई देख्नेबित्तिकै मैले 'नमस्कार सर, म तपाईंको विद्यार्थी थिएँ' भनेर भनेँ।
जबाफमा उनले 'चिन्दिनँ' भने। जबकि उनले बस्न्यातलाई भने तुरून्तै चिनिहाले।
यहाँ यो पनि स्मरण गराऊँ, पञ्चायती व्यवस्थाअन्तर्गत राष्ट्रिय पञ्चायतमा स्नातक प्रतिनिधित्वको व्यवस्था हुँदा हेडमास्टर शर्मा उम्मेदवारका रूपमा मेरा बाजे (पितामह) कविराज मुक्तिनाथ शर्मासँग भोट माग्न झोछेँ घरमा आएका थिए। त्यस बेला पनि मैले उनलाई जेपी पब्लिक हाई स्कुलमा उनीसँग पढेको भनेर सम्झाएको थिएँ। तैपनि अधिराजकुमारी श्रुतीको विवाहको अवसरमा एकै लहरमा बस्दा उनले मलाई चिनेनन्।
मैले सोचेँ — स्कुलमा राम्रो र धेरै नराम्रो दुवै समूहका विद्यार्थीमा नपर्ने वा उनीसँग ट्युसन नपढ्ने हुँदा हेडमास्टरले मलाई चिनेनन्। वा, स्कुल छाडेको धेरै वर्षपछि सरकारी तामझाम (तक्मा) सहितको लुगामा देखेर पनि होला, उनले मलाई चिनेनन्!
स्कुललाई सुपर मार्केट बनाउनेमाथि कारबाही होस्
खेलकुद स्थलको अभावमा पिरोलिएको जेपी स्कुलका विद्यार्थीलाई खेलकुद मैदान व्यवस्था गरिदिने राजा महेन्द्रको सदासय बिर्सेर अहिले स्कुलको मौलिक स्वरूप नै परिवर्तन हुने गरी सुपर मार्केटको रूप दिइएको छ।
त्यस्तै, स्कुलको जमिन ठेकेदारलाई उपलब्ध गराइएको छ भने स्कुललाई सुपर मार्केटको कोठामा भाडा बसेको अवस्थामा पुर्याइएको छ।
कुनै समयको नामी पब्लिक हाई स्कुललाई यस्तो अवस्थामा पुर्याउन सहयोगी बनेको सञ्चालक परिषद, स्कुलका हेडमास्टर र सम्बद्ध शिक्षकलाई राम्रो गर्नुभयो भनेर म भन्न सक्दिनँ (हेर्नुहोस् चित्र १ र १ क)।
साथै, कहिलेकाहीँ कार्यक्रममा आमन्त्रित भई स्कुल पुग्दा जब जेलजस्तो ठाउँमा बस्नुपर्छ (हेर्नुहोस् चित्र २), तब दिमाग अनायासै २०१६ सालमा स्कुल अगाडि सानो चोकको पूर्वतर्फ खुला ठाउँमा कार्यक्रम आयोजना गरिँदाको रमाइलोतर्फ मोडिन्छ (हेर्नुहोस् चित्र ३)।
ज्ञात भएअनुसार राजा महेन्द्रको प्रयासमा खेलकुद मैदानका लागि प्राप्त जग्गासमेतलाई सुपर मार्केटको रूप दिन तत्कालीन हेडमास्टर, सञ्चालक समितिका सदस्य लगायत ज–जसले भूमिका खेले, तिनलाई विभिन्न निकायमा कारबाहीको माग गरिएको छ। यस्तो गलत कार्यबारे पत्रपत्रिकामा समाचार पनि प्रकाशित भएका छन्। यस सम्बन्धमा काठमाडौं महानगरपालिकाले अध्ययन गराएको बुझिएको छ।
यी सबका आधारमा स्कुलको पूर्वविद्यार्थीका हैसियतले काठमाडौं महानगरपलिकाले छिटोभन्दा छिटो कारबाही गरी गलत कार्य गर्नेलाई दण्ड देओस् र गल्ती सच्याओस् भन्ने म आग्रह गर्छु।
सँगसँगै, जेपी हाई स्कुललाई हिजोकै अवस्था, अर्थात् मुलुकको एक प्रतिष्ठित शिक्षण संस्थाका रूपमा पुनर्स्थापना गरियोस् भन्ने पनि माग गर्दछु।
दोस्रो खण्ड: २०१६ सालमा १० कक्षा पास गरेर स्कुलबाट निस्केकाको समूह र यसका क्रियाकलाप
कक्षा ४ देखि १० सम्म पढ्दा मेरा सयौं सहपाठी भए। पाँचौं कक्षादेखि नै प्रत्येक कक्षा विभिन्न सेक्सनमा विभाजित हुँदा सबैले सबैलाई चिनिन्न थियो। तैपनि स्कुलको विवरणअनुसार २०१६ सालको प्रवेशिका परीक्षाका लागि नियमित विद्यार्थीका रूपमा फारम भर्नेहरूको संख्या २०७ थियो। तीमध्ये कोही २०१६ सालको प्रवेशिका परीक्षामै पास भए भने कयौंले पछि पास गरे।
सहपाठीहरूमध्ये कोही त सदाका लागि संसार छाडेर गइसके। कोही विदेशमा बस्छन्। कोही इन्जिनियर भए, कोही डाक्टर भए। कोही सैनिक तथा निजामती सेवाका सदस्य भए। कोही कृषिविज्ञ, कोही शिक्षक तथा प्राध्यापक र कोही राजनीतिज्ञ भए।
जुनसुकै वर्ष पास गरे पनि २०१६ सालमा १० कक्षा पढ्ने सहपाठीहरूमध्ये केशरलाल श्रेष्ठ, सुवर्णलाल श्रेष्ठ, बालकृष्ण सुवाल, अच्यूतप्रसाद धिताल, प्रदीपप्रसाद धिताल, मिर्सुमान पिया, चिनीयाबहादुर बस्न्यात, महेन्द्ररत्न बज्राचार्य, विजयलाल श्रेष्ठ, दिनेश चापागाईं, सुशीलदेव मानन्धर, पशुपतिभक्त महर्जन, विनयराज पाण्डे, सुन्दरमान श्रेष्ठ, रिद्दीबहादुर कर्माचार्य, वीरेन्द्रकुमार देउजा, विष्णुनारायण मानन्धर, शम्भु भट्टराई, गिर्वाणविक्रम शाह, मोहनचन्द्र सिंह, शैलेन्द्रलाल सुवाल, रघुवर मानन्धर, विष्णुराज पाण्डे, मदनराज राजभण्डारी, हरिगोपाल श्रेष्ठ, मछेन्द्रलाल कायस्थ, शान्तवीर सिंह तुलाधर, स्वयम्भुवीर कंसाकार आदिसँग भेट हुन्छ, कुरा गरिन्छ।
सहपाठीहरूकै कुरा गर्दा इन्जिनियर सुशीलदेव मानन्धर र बालकृष्ण सुवालको अग्रसरतामा जेपी हाई स्कुलमा २०१६ सालमा १० कक्षा सँगै पढेकाहरूको एक समूह बनाएका छौं। समूहका सदस्यबीच सामाजिक सञ्जालमार्फत् महिनाको दुईपल्ट शनिबार साँझ समसामयिक विषयमा कुराकानी गर्ने र स्कुलका दिन सम्झने गर्छौं। साथै, बेलाबेला सामूहिक भेट गर्ने प्रचलन २०६७ सालदेखि सुरू गरेका छौं। यसले सहपाठीहरूबीच दाजुभाइको भावना बढाउनमा सहायता पुर्याएको छ।
जब सहपाठीहरूसँग भेट हुन्छ वा कुरा हुन्छ, मेरो दिमाग भने २००९ फागुनदेखि २०१६ सालसम्म स्कुलमा बिताएका दिनतर्फ फर्किन्छ।
हामीले आपसमा कुराकानी गर्ने र भेटघाट गर्नेमा मात्र आफ्नो समूहलाई सीमित राखेका छैनौं। स्कुलका कार्यक्रममा भाग पनि लिँदै छौं। यस क्रममा स्कुलका संस्थापक तथा प्रथम हेडमास्टर खरिदार तीर्थराज सिंह सुवालको प्रतिमा स्कुल परिसरमा स्थापना गर्न आवाज उठायौं। प्रतिमा स्थापनाका लागि ६० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छौं (हेर्नुहोस् चित्र ४)। प्रतिमा स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ। छिट्टै अनावरण हुने अपेक्षा गरेका छौं (हेर्नुहोस् चित्र ५ र ५क)।
सहायता कोष खडा गर्ने सोच
समूहको तर्फबाट छात्रवृत्ति वा यस्तै काममा आर्थिक सहयोग पुर्याउन हामीले एउटा कोष खडा गर्ने सोच बनाएका छौं। यसका लागि केही लाख रकमको प्रतिबद्धता पनि जनाइसकिएको छ। तर जे जसरी स्कुलको सम्पत्ति दुरूपयोगको समाचार आइरहेका छन् र स्कुललाई खेलकुद स्थल उपलब्ध गराउन राजा महेन्द्रको प्रयासबाट प्राप्त जमिन जसरी बजार क्षेत्रमा परिणत गरिएको छ, त्यसबाट २०१६ सालको समूहका नाममा छात्रवृत्ति राख्न वा स्कुलमार्फत् कुनै कार्यक्रम सञ्चालन गर्न हामी निरूत्साहित भएका छौं।
साथै, तत्कालीन भवन भत्काएर जुन प्रकारको भवन बनाइएको छ र जसरी स्कुल सञ्चालन गरिएको छ, त्यसबाट क्षेत्रपाटी क्षेत्रमा पुग्दा हामीलाई जेपी हाई स्कुल हो कि कुनै सुपर मार्केटको केही भाग भाडामा लिएर स्कुल सञ्चालन गरिएको हो भनी छुट्याउन गाह्रो पर्छ (हेर्नुहोस् चित्र १ र १ क)।
२०१६ सालको समूहको पहिलो भेटघाट र त्यसपछिका भेटघाटका प्रतिनिधिमूलक तस्बिर तल दिइएका छन् —
२०१६ सालमा स्कुलबाट १० कक्षा पास गरेर निस्केका सहपाठीहरूबीच व्यक्तिगत भेटघाट सुरू गरी समूह निर्माण (औपचारिक समूहका रूपमा दर्ता भएको होइन) गर्दा कसरी अघि बढिएला भन्ने लागेको थियो। तर जुन आत्मीयताका साथ हामीबीच व्यक्तिगत तथा विद्युतीय भेटघाट कार्यक्रम अघि बढिरहेको छ, त्यसले हामीलाई अत्यन्त उत्साहित बनाएको छ। हालसम्म नजोडिएका वा सम्पर्कमा आइनसकेका सहपाठीलाई समेत समूहमा जोड्ने प्रयासमा छौं, हामी।
अन्त्यमा,
२००९ साल फागुनदेखि जुद्धोदय पब्लिक हाई स्कुल (जेपी हाई स्कुल) सँग जोडिएको नाता २०१६ सालमा प्रवेशिका परीक्षा दिएर फेल भई २०१७ सालको वार्षिक परीक्षामा पास भएर २०१८ असार महिनामा स्कुलबाट औपचारिक विदाइ पाएपछि सदाका लागि समाप्त भयो। अर्थात्, दैनिक रूपमा स्कुल धाउनुपर्ने अवस्थाबाट मुक्त भइयो। तैपनि जेपी हाई स्कुलमा विद्यार्थी भएर बिताएको अवधि र विद्यार्थी जीवनको सुरूआती समयका सम्झना दिमागमा ताजै छन्।
पेसागत जीवनको गोरेटो कोर्न २०१६ साल मंसिरमा बिदाबारी गर्ने स्कुल र यसका संस्थापक हेडमास्टर खरिदार तीर्थराजसिंह सुवाल, उनका सहयोगीहरू क्रमशः ज्योतिरत्न तुलाधर, हरिकृष्ण श्रेष्ठ, गोपालप्रसाद रिमाल, रामलाल मानन्धर (हाम्रा गणितका मास्टर) तथा स्कुलको प्रथम सञ्चालक समितिका सदस्यहरू खरिदार तीर्थराजसिंह सुवाल, डा. यज्ञराज जोशी, शारदाप्रसाद उपाध्याय, नारायणप्रसाद क्षत्री, सुब्बा विष्णुध्वज जोशी, साहु महावीर चिनीयमान श्रेष्ठ र मास्टर रामलाल मानन्धर (स्कुल पत्रिका २०१९, अनुसूची पृष्ठ ३) र हामीलाई पढाउने सम्पूर्ण मास्टर/गुरूहरूमा हाम्रो समूह तथा मेरो आफ्नै तर्फबाट हार्दिक तथा सतत् नमन गर्न चाहन्छु।
स्कुलका संस्थापक तथा शिक्षकहरू जो, जहाँ, जस्तो अवस्थामा छन्, उनीहरूलाई हामी सबैलाई आशीर्वाद दिन विनम्र अनुरोध गर्छु।
त्यस्तै, स्कुलको गौरवका दिन फेरि फर्किऊन् र फर्काउनुपर्छ भन्ने अभिलाषा राख्छु।
स्कुलबारे जे-जस्ता नराम्रा कुरा बाहिर आइरहेका छन् र ज-जसले स्कुलको सम्पत्तिमाथि खेलबाड गरी सुपर मार्केटसँग भाडामा लिएर स्कुल चलाएजस्तो परिस्थितिमा पुर्याएका छन्, तिनीहरूमाथि कडा कारबाही माग गर्छु।
(नोटः जेपी हाई स्कुलसम्बन्धी यो शृंखला लेख्न प्रोत्साहन गर्ने परिवारका सदस्य, सहपाठीहरू, पत्रकार प्रवाश गौतम लगायत अन्य मित्रहरू र स्कुल सम्बद्ध पदाधिकारीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सेतोपाटी अनलाइन पत्रिकाको सहयोग र सद्भावबेगर यो श्रृंखला पाठकसमक्ष पुग्ने थिएन। त्यसैले सेतोपाटी टिमका सबैलाई साधुवाद। लेखकका लागि पाठक नै देउता हुन्। उहाँहरूले लेखिएका कुरा अभिरूचि देखाएर नपढी दिए लेख्न प्रोत्साहन हुँदैन। मेरो जानकारीमा आएअनुसार प्रस्तुत श्रृंखलालाई पाठक वर्गले रूचिपूर्ण सामग्रीका रूपमा लिइदिनुभएको छ। मेरा गन्थनमाथि पाठकले रूचि देखाइरहनुभए र प्रकाशकबाट पनि प्रकाशन गर्ने जानकारी पाए भारत र संयुक्तराज्य अमेरिकामा पढ्न बस्दाका कथा-व्यथा लिएर पाठकसमक्ष आउने नै छु।
***
यी पनि पढ्नुहोस्: