ऊ गइगयो भने
खेत कल्ले खन्छ
सन्चो–बिसन्चोमा
के छ कल्ले भन्छ!
को कलिया बन्छ
को मलामी जान्छ
एउटा मान्छे जाँदा
एक्लै कहाँ जान्छ
उल्ले गाउँदै हिँड्ने
गीत पनि लान्छ!
बिन्ती रोक उसलाई
घडी फूलले भन्छ
राई माइलाले गाउँ छोड्यो रे
बाटो छेकिदेउ न
कुन गाडीमा चढ्यो होला?
कुन घुम्ती काट्यो होला?
ढाँट राखिदेउ न
ए! फर्क भनिदेऊ न!
सामाजिक सञ्जालमा फैलिइराख्ने अनेकन टुक्राटुक्री भिडिओ क्लिप्सहरूको माचोमा कुन मेसो 'राई माइलाले गाउँ छोड्यो रे' बोलको गीतसँग 'भेटघाट' हुन्छ। युट्युबमा खोजी गर्दा त्यो पूरै गीत आउँछ – 'गाउँ आएको बाटो' शीर्षकको सिनेमाको 'ट्रेलर' गीतका रूपमा।
गीतले यसरी तान्छ, म पटकपटक पटकपटक सुनिबस्छु – दिमागमा 'अटो रेकर्ड' हुने गरी।
लगत्तै सामाजिक सञ्जालका भित्ताहरूमा एकपछि अर्को पोस्टहरूको लाम लाग्छ – गाउँ आएको बाटोमाथि प्रतिक्रियात्मक टिप्पणी बनेर।
मलाई भने गीतले नै तानिरहेको छ। अलि बढी नै। दार्शनिकताले लपेटिएको जस्तो। केही गीत मलाई अलि बेग्लै दर्शनको उचाइमा उठेका शब्दहरूको कलात्मक 'गुँड' जस्ता लाग्छन्। तिनले तान्छन् बेस्सरी। अलि पहिले यसरी नै मन परेको थियो एउटा गीत –
एक्लै एक्लै एउटा मान्छे साँघु तर्दैछ
यस्तो लाग्छ जिन्दगीको बसाइँ सर्दैछ!
खासमा बसाइँ हिँड्ने मानिसहरूप्रति मनको एउटा कुनामा एक किसिमको अलग्गै भावनात्मक पक्ष बलियो भएर पनि होला 'बसाइँ' हिँडेका मानिसप्रति समर्पित यस्ता गीत, कथा, उपन्यासले अलि बढी नै छुन्छ मलाई।
यसका पछाडि (यस्ता गीतका) निश्चित कारण छन्।
हाम्रो पुस्ता 'बसाइँ' उपन्यास पढेर हुर्केको हो। अनि गुरूप्रसाद मैनालीका सामाजिक आदर्शवादी कथाहरू पढेर हुर्किएको। हामीले अलि धेरै नै सुन्यौं पनि भावनाप्रधान रहने उमेरमा – 'बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ!'
उसमाथि अनेकन कहरहरूको वायुपंखी घोडा चढेर थातथलो छाड्ने, देश छाड्ने र बसाइँ हिँड्ने यात्रा अघि बढाउने गोरेटो हाम्रो पुस्ताले जति नमेटिने गरी चहकिलो कसले बनायो होला र, आफ्नो आँसु, पसिना, अत्यास र आर्तनादहरूले खोस्रेर!
हाम्रो पुस्ताले कोरेको त्यही बाफिलो बाटो सोझ्याउँदै ताँती लागेर देश नै बसाइँ हिँडेजस्तो अब 'सामान्य' भएको छ।
सोचिबस्छु – के साँच्चै बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ नै? सोचिबस्छु।
मनलाई स्मृतिदंशले डस्न थाल्छ। हाम्रो पहाडबाट चितवनतिर बसाइँ हिँड्ने अभ्यास आरम्भ भएको थियो। एकदिन स्कुलमा पढिरहेको साथी कक्षामा आएन। खासखुस चल्दाचल्दै कसैले भन्यो – उनीहरू त बसाइँ हिँडे!
त्यसपछि एक किसिमको सन्नाटाजस्तो, बेचैनीजस्तो मनमा चलिरह्यो। चिन्दै नचिनेको, जान्दै नजानेको गर्मी ठाउँमा गएर उसै पनि अरूभन्दा कम बोल्ने 'ऊ' कसो गरी रत्तिएला भनेजस्तो तानाहरू चलिरहे मनमा। समयले उनीहरूको बसाइँ बिर्साउँदै लान थालेको थियो। एकाएक गाउँ अर्को सन्नाटाको बन्धक बन्न थाल्यो। आफ्नै काकाहरु बसाइँ हिँड्न लागे। जग्गा-जमिनको बेचबिखन–व्यवस्थापन, बिदाबारीको जुन सिलसिला चलेको थियो – त्यो साँच्चै मन रूवाउने खालको थियो। त्यसपछि अरू काका–बाका छोराहरूको परिवार, अरू गाउँलेहरू पनि फुत्त–फुत्त बसाइँ हिँडिरहे। त्यसले मनमा घाउ लाग्दै, खाटो बस्दै जाने क्रम पनि चलिरह्यो।
यस्ता धेरै स्मृति छामी हेर्दा – पाँचदेखि पन्ध्र वर्षको उमेरमा देखे, जाने, पढेका बसाइँका घटना बढी खिपिएका रहेछन्। बसाइँ उपन्यास पनि यही उमेरभित्र पढिसकिएको रहेछ। अनि त्यसले मनमा एक किसिमको भावनात्मक जग खडा गरेको रहेछ जस्तो लाग्छ – बसाइँ हिँड्नेहरूप्रति।
उसो त एकपछि अर्को गर्दै गाउँ छाड्दै 'बसाइँ' हिँड्नेहरूको ताँती बढ्दै गएपछि हेर्दाहेर्दै रित्तिँदै गइरहेको गाउँ 'छाम्न' पुगिरहन्छु बेलाबखत – गाउँमा टिक्न नसकेर सहरमा ओत थामिबसेको म। सारा सम्भावनाहरूको अन्त्यपछि उदासी र अत्यासले आत्महत्या गर्न ठिक्क परिबसेको दुखियाजस्तो लाग्छ अचेल गाउँ।
देख्छु – खेत खन्ने, जोत्ने, खेतीपाती गर्ने मान्छे नभएपछि बाँझो फर्कन थालेका सिमखेतहरू, गैह्रीखेतहरू। ढोकामा लागेको तालै छोप्ने गरी थुप्रिएको माकुराको जालो। तन्नेरी सन्तान मुग्लान हिँडेपछि एक्लिएर गाउँमै उदासी र अत्यासको सिरेटो ओढी बस्दै उमेरको लामो गिन्ती गरिरहेका आमाबाहरू। आमाबाहरूको शेषपछि अनिवार्य विघटन बेहोर्न तयार गाउँका भित्ताभरि डोजरले कोपरिएका सडकले बनाएको चित्र।
यो सबैले बस्न सहर रोज्ने र मनमा गाउँप्रतिको भावनात्मक लगाव त्याग्न नसक्ने मजस्ता मानिसलाई पनि अलिअलि भए पनि पोल्ने–पिरोल्ने नै रहेछ। भावना र व्यवहारबीचको अन्तर स्वीकार्न नसक्ने र जतिसुकै पीडादायी भए पनि यथार्थ स्वीकार गर्दै भावनालाई समन गर्न नसक्ने कोरा आदर्शवादले डामिएका मजस्ताको पुस्ताको सामूहिक 'समस्या' पनि हुनसक्छ यो। एक किसिमले मानसिक समस्या पनि।
गाउँ छाड्ने, देश छाड्नेहरूको सघन लाममा फस्दै यस्तो भावनात्मक/मानसिक आघात र दंशहरूले प्रताडित भएको छ मेरो पुस्ता। त्यही लाममा सामेल भएर बेलाबखत आदर्श छाँटिबस्छु म पनि। लेखिबस्छु गाउँप्रतिको लगावले भरिएका निबन्ध, व्याख्यान।
अतिरिक्त लगाव हुनु खास गतिलो कुरा रहेनछ। लगावले मानिसमा भावना भर्ने रहेछ। केहीप्रति पनि लगावसम्म हुनु ठिकै छ। अतिरिक्त लगाव भने ठिक नहुने रहेछ। त्यसले लगाव भएको विषयबाट दुरी निर्माण हुनासाथ मनलाई एक किसिमको ऐठन दिने रहेछ। अनि त्यो ऐठनले मनमा पारेको घाउ सुम्सुम्याउन त्यस्तै ऐठनका कथाहरूको मह्लम खोजी गर्दो रहेछ। भेट्यो भने त्यस्तो कथा – गीतमा, कवितामा, निबन्धमा, उपन्यासमा, सिनेमामा खुब सन्चो मान्दो रहेछ मनले।
गाउँ आएको बाटोको ट्रेलर गीतले मनलाई दिएको सन्चो यही स्मृतिदंशलाई सुम्सुम्याएको परिघटना थियो जस्तो लाग्छ। थपिरहनुपरेन, त्यही गीतले हो चलचित्रप्रति जिज्ञासा बढाएर हलमा जाउँजाउँ लाग्ने बनाएको।
'बजार'का 'न्यारेटिभ सेटर'हरूले खुब गजब भनेर हल्ला पिटेका केही चलचित्र चुपचाप गएर हलमा हेरेपछि मलाई लाग्न थाल्यो – सारा मानिस एकमेठ भएर हल्ला मच्चाएको सिनेमा मलाई किन मन पर्दैन हँ? सम्भवतः मसँग चलचित्र परख गर्ने कला छैन, या भनौं चलचित्रको दर्शक बन्न चाहिने 'मटेरियल' मसँग छैन।
त्यसैले हुनसक्छ – म चलचित्र राम्ररी बुझ्न सक्दिनँ। नत्र सिनेमा बुझ्ने कला भएको भए सबका सबले राम्रो भनेर हल्ला पिटाएको सिनेमा मलाई नै नराम्रो किन लाग्थ्यो होला र?
यस्तै ठानेर यताको लामो समयदेखि हलमा गएर चलचित्र हेरिरहेको छैन। उसमाथि 'डिजिटल' क्रान्तिले इन्टरनेट प्ल्याटफर्महरूमा केही महिना/वर्षमै सिनेमा ल्याउन थालेपछि ढिलोचाँडो फिल्म युट्युबमा आइहाल्छ, किन हतार गर्ने भनेर पनि सिनेमाघर जाने आलस्यलाई बल दिइरहेको छ।
यही मनस्थितिको बन्दी बनिरहेका बेला यस्तैउस्तै केही मेसो आइलागेर 'गाउँ आएको बाटो' हेर्न हलमै पो पुगियो। चलचित्र हेरेपछि मनमा केही विषय सल्बलाए। यो टिपोट त्यही सिनेमाको दर्शक बन्ने 'मटेरियल' नभएको एउटा दर्शकले लेखेको दर्शक प्रतिक्रिया हो, चलचित्र समीक्षा होइन। चलचित्र समीक्षाका सिद्धान्त मलाई आउँदैन नै। यो टिपोटलाई त्यही सीमासहित लिनुहुनेछ।
थपमा, सिनेमाको छेको पारेर त्यसले उठाएका विषयमा सार्वजनिक बहस तन्काउने कोसिस पनि हो यो लेख। यसमा मैले विषय प्रसंगबारे चर्चा गर्दा सिनेमाका केही सस्पेन्स उजागर हुनेछन्। यसका लागि सुरूमै माफी चाहन्छु।
माझकिराँतको गाउँ
यो चलचित्र माझकिराँतको एउटा गाउँको कथा हो, जहाँ सहरबाट विस्तारित हुँदै सडक आउँछ। त्यसले परम्परागत शिल्पमा टिकेको एउटा परिवारका सदस्य राई माइला, उनकी पत्नी माइली र छोरा विन्द्रेमा पारेको प्रभावको कथा वाचन गर्छ। थपमा, गाउँमा बाटो आएसँगै त्यसले ल्याउने बजारिया सामानले पुर्ख्यौली शिल्पबाट जीवनयापन गरिरहेको राई माइलाको परिवारमा दिएको चुनौतीको कथा भन्छ। बदलिँदो उत्पादनका साधनको चुनौती थेग्दै परिवारको भरथेग गर्न राई माइला र राई माइलीले गरेको संघर्ष नै सिनेमाको मुख्य विषय हो।
चलचित्रको दृश्यमा देखाइएको गाउँ हेर्दा त्यो माझकिराँत, भोजपुरको बालंखाको राई गाउँ हो कि जस्तो अड्कल काट्न सकिन्छ (नहुन पनि सक्छ), एकाधपटक यात्रा गरेको स्मरणका आधारमा। गाउँ त के भयो र! बिम्ब न हो। त्यही गाउँकै कथा हुनुपर्छ भन्ने होइन। त्यो माझकिराँतको राई गाउँमार्फत नेपाली 'गाउँहरूको कथा' भन्न खोजेको छ 'गाउँ आएको बाटो'ले।
सिनेमामा प्रयुक्त बिनायो कङकङ गीतको सार्वजनिक समय, डिस होमजस्ता प्रविधि, एन्ड्रोइड मोबाइलमाथि ग्रामीण समाजको पहुँच, त्यसको मूल्य, बसमा लगाइएको फ्री वाइफाईको विज्ञापन, कुखुराको भालेको बजार मूल्य, बर्डवाइजर बियरको ग्रामीण उपस्थिति आदि हेर्दा यो सिनेमाले यताको पाँच वर्षको समयकथा भनिरहेको छ भन्ने लाग्छ। तर निर्देशकले यो 'टाइमलाइन'लाई पार्श्व भागमा धकेलेर साठीको मध्य-दशकको कथा भनाउन खोजेको अनुभूति हुन्छ २०६३/६४ ताकाको सामाजिक परिघटना राखेर।
अभिनयमा उच्चता
सिनेमामा मुख्य पात्रको भूमिका निर्वाह गर्ने कलाकारको अभिनय हरेक कोणले उम्दा छ। राई माइली र छोरो विन्द्रेको भूमिका निर्वाह गरेका पशुपति राई र प्रसन राईको अभिनय उत्कृष्ट छ, कमसेकम मेरा लागि।
पशुपति राईले सिनेमामा एउटी ग्रामीण गृहणीको साँच्चैको जीवन बाँचेकी छन् र पात्रलाई जीवन्तता दिएकी छन्। यति भव्य पात्रता उनले निर्वाह गरेकी छन्, उनले अभिनय गरेकी छन् भन्ने नै भुलिन्छ र ग्रामीण महिलाको यथार्थ जीवनको गहिराइमा डुबिन्छ। प्रसनले निर्वाह गरेको विन्द्रेको भूमिका मजिद मजिदीकृत 'चिल्ड्रेन अफ हेवन' मा अलिको भूमिका निर्वाह गर्ने अमिर फारोखको अभिनयको स्तरमा उठेको अनुभूति हुन्छ।
दयाहाङ राईका युट्युबमा आएकामध्ये पनि केही सिनेमा मात्रै हेरेकाले उनले निर्वाह गरेको सबै चलचित्रका भूमिकासँग दाँजेर यो कुन स्तरको हो भन्न सक्ने सुविधा मसँग उपलब्ध छैन। तर उनी अभिनित यसअघिका सिनेमा जति हेरेको छु, तिनको दाँजोमा हेर्दा दयाका लागि यो सिनेमा अभिनयको गुणवत्ताका हिसाबले 'मास्टरपिस' हो। सिँगै जीवनभर दयाहाङले आफ्नो सर्वोत्कृष्ट अभिनयका लागि 'गाउँ आएको बाटो'को नाम लिइरहने छन् भन्नेमा शंका छैन। नवीन सुब्बाले गाउँ आएको बाटोमा गरेको सबभन्दा भव्य काम नै यी मुख्य तीन कलाकारलाई सिँगै जीवनलाई 'बेचिरहन' मिल्ने 'मास्टरपिस'मा शानदार कलाकारिताको प्रदर्शन हो।
गाउँमा बाटो आएपछिको कथा
'गाउँ आएको बाटो'ले आफ्नै दु:खसुखको एउटा लयमा बाँचिबसेको गाउँमा जब बाटो अर्थात् सडक जान्छ, उत्कर्षमा त्यसले ल्याउने बजारिया उपभोक्ता संस्कृतिको चंगुलमा फसेर समग्र ग्रामीण समाजको लय नै कसरी तलबितलमा पर्छ भन्ने कथावाचन गरेको छ। परम्परागत शिल्पको भरोसामा जीवन थामिबसेको राई माइला र उनको परिवार यो सिनेमाका मुख्य कथावाचक पात्रहरू हुन्।
गाउँमा बाटो ल्याउन आफ्नो भएको अलिअलि बारी पनि समाजलाई दिने एउटा आदिवासी पात्र हो राई माइलाको परिवार। त्यसरी आफैले दान दिएको आफ्नै बारी हुँदै खनिएर गाउँमा विस्तारित सडक र त्यो सडकसँगै आउने औपनिवेशिक उपभोक्तावादी बजारवादले कसरी थातथलै छाडेर पलायन हुनुपर्ने अवस्थामा पुर्याइन्छ राई माइलाको परिवार भन्ने मुख्य कथाको वरिपरि फिँजारिएर चलचित्रले आफ्नो आकार तय गर्छ।
आर्थिक उत्पादन प्रणालीबीचको द्वन्द्वको कथा
खासमा राई माइला र उनको परिवार मुख्य पात्र देखिए पनि ग्रामीण स्वावलम्बी आर्थिक उत्पादन प्रणाली र हस्तक्षेपकारी विस्तारवादी पुँजीवादी आर्थिक प्रणाली यो चलचित्रका मुख्य पात्र हुन्। पूरै सिनेमाभरि यी दुई आर्थिक उत्पादन प्रणालीको चरम द्वन्द्व छ।
आजको दिनमा विश्वभरका ग्रामीण समाजका रैथाने ज्ञान, सिप, प्रविधि, संस्कृति, परम्परा, रीतिथितिले 'गाउँ आउने बाटो'मा गुडी आएका बस, ट्रकहरूमा अटेसमटेस खाँदिएर 'गाउँ' छाडेका छन्। बदलामा बजारू र हस्तक्षेपकारी उपभोक्तावादी संस्कृति, प्रविधि, रीतिथिति, चरित्रले ग्रामीण रैथाने स्वत्वमाथि धावा बोल्दै आफ्नो सिकंजामा पारेको छ।
परम्परागत ज्ञान चेतनामा आधारित ग्रामीण स्वावलम्बन आर्थिक उत्पादन प्रणालीलाई निषेधवादी बजारू आर्थिक उत्पादन प्रणालीले अनेकन षड्यन्त्रको तानाबानाले बेरेर निर्मम र क्रूर बन्दै घाँटी निचोरेर सिध्याउने बाटो समातिरहेको छ। बितेका झन्डै तीन दशकदेखि नेपाली समाज नै पनि उत्पादनमुखी आर्थिक चरित्रलाई विघटन गर्दै उपभोक्तावादी आर्थिक स्वरूपमा विघटित भएको छ। सिनेमाले यही बदलिँदो आर्थिक उत्पादन प्रणालीले ग्रामीण समाजमा उत्पन्न गरिरहेको अन्तरविरोधको कथा भनेको छ। खासमा यो विश्वभरका ग्रामीण भूगोलको साझा कथा हो।
गाउँमा बाटो गएपछि त्यसले गाउँमा लगेको सांस्कृतिक, आर्थिक हैकमवादको सिलसिला एकातिर छँदैछ। यताका दिनमा मेरो मनमा बाटोले गाउँमा के लग्यो होइन – गाउँबाट के के मात्रै लगेन र के मात्रै पो लान बाँकी छ र भन्ने खालका तर्कना चल्छन्। 'गाउँ' हुन आवश्यक जे जे थियो 'गाउँसँग – त्यो सबै लगिसकेको छ अब लगभग। गाउँहरू न गाउँ न सहरको कचमरो अवस्थामा पुगेका छन्। गाउँ भनुँ 'गाउँ' जस्तो छैन। सहर भनुँ 'सहर' जस्तो छैन।
अर्कातिर भुल्न नहुने कुरा के छ भने, यताको समयमा मानव समाजलाई सभ्यताहरूको द्वन्द्वको चरणमा फसाइदिइएको छ वैश्विक पुँजीवादले। तेरोभन्दा मेरो सभ्यता भव्य। तेरोभन्दा मेरो संस्कृति असल। तेरोभन्दा मेरो परम्परा पुरानो। तँभन्दा म आदिम भन्ने स्तरमा। अनि यही द्वन्द्वको बीचबाट एउटा सभ्यतालाई अर्को सभ्यताले हस्तक्षेप गर्ने, संक्रमित तुल्याउने र सांस्कृतिक उपनिवेश लाद्ने चरणमा विश्व व्यवस्था अघि बढेको छ।
एउटा चरण थियो, भौगोलिक उपनिवेशको। त्यसमा सैनिक, समय, शक्ति अथाह पैमानामा लगानी हुने भएपछि यताको समय सांस्कृतिक उपनिवेशको चरणमा क्रियाशील छ। सांस्कृतिक उपनिवेशमार्फत रैथाने सस्कृति कब्जा गर्ने र विकसित बजारमार्फत आफ्ना मालहरू बेचेर मुनाफा जम्मा गर्ने चरणमा विश्व व्यवस्था क्रियाशील छ। यसका लागि उसले विभिन्न आवरणमा सांस्कृतिक विस्तारक, पुँजीवादी बजारवादी भाष्यका प्रचारकहरूको जोगाड गरेको हुन्छ।
हाम्रो गाउँघरमा यस्तै भइरहेकै पनि छ। मोही, सर्बत हराएर गएको छ र कोकाकोलाले गाउँले जिब्रो लठ्याएको छ। गाउँको रैथाने खाद्य संस्कृति र मानिस दुवैको स्वास्थ्य बिगारेको छ। गर्मीमा शितल र जाडोमा न्यानो दिने खर, ढुंगाको छानो हराएको छ र टिनका बैरागलाग्दा पाताहरूले गाउँलाई आँखै दुख्ने गरी झिलझिले बनाएको छ। करेसाबारी बाँझो राखेर दोकानमा तिहुन बेसाउन हिँड्ने प्रवृत्ति मौलाएको छ। गैह्रीखेत बाँझो पल्टाएर रेमिटेन्सबाट आएको पैसा बोकेर बोरा तान्न हिँड्ने लहर देशव्यापी भएको छ। बजारवादी उपभोक्तावादले गाउँको स्वत्वको 'दियो' निभाउँदै लगेको छ र आँखै खाने 'पेट्रोम्याक्स' सल्काएको छ।
गाउँका परम्परागत रैथाने उत्पादनलाई हियाउने, अतिक्रमण गर्ने र सिध्याउने खेलोमा रैथाने रक्सी अवैध घोषणा गरिन्छ र रसायन मिलावट गरेर बनाइएका बोतलका रक्सीहरूको एकछत्र हालिमुहाली चलाइन्छ। मोही विस्थापित हुन्छ र कोकाकोला दादागिरी गर्दै गाउँ जान्छ। गाउँका हाक्पारे, रोदी, जात्रामात्रा बन्द हुन्छन् र टिभी च्यानलमा रियालिटी शोहरूको उदय हुन्छ। यसरी गाउँलाई बजारले निलिदिन्छ।
यहाँ गाउँ भनेको केही घर र मानिसहरू बस्ने बस्तीको कुरा गरेको होइन। एउटा रैथाने रीतिथिति, संस्कृति, परम्परा, मेलापात, भारापर्म, दु:खसुखमा अैंचोपैंचो चल्ने, आफ्नै विशिष्ट खाद्य परम्परा भएको, आफ्नै मौलिक जीवन पद्दतिमा अनुरक्त एकाईलाई 'गाउँ' भनिएको हो। हो त्यही गाउँसँग रहेको 'गाउँ'लाई निलिरहेको बजारवादलाई गाउँ ल्याउने 'बाटो' माथि एउटा बहस उठाउने जमर्को गरेको छ सिनेमाले।
हार, निराशा र पलायनको कथा
'गाउँ आएको बाटो' समग्रमा ग्रामीण प्रतिनिधि पात्रमार्फत देखाइएको वैश्विक बजारवादसँग गाउँ र गाउँलेहरूको हार, आत्मसर्मपण र पलायनको कथा हो। बजारवादी संस्कृतिसामु रैथाने संस्कृतिको हारको 'न्यारेसन' हो।
यो न्यारेसन भयानक विषालु छ। समाजले, संस्कृतिले, मानिसले सजिलै हार मान्दैन। मान्ला पनि, तर यति सजिलै मान्दैन। अरूसामु आफूलाई आत्मसमर्पण गर्दैन। गर्ला पनि, तर यति सजिलै गर्दैन।
निर्देशकलाई यति पराजित गाउँलेको कथा भन्नुछ, विन्द्रेलाई उनले 'डाङडुङे' सिनेमाले भन्दा पनि सजिलोसँग सिध्याइदिएका छन्। त्यस्ता सिनेमाले पनि गुडिरहेको गाडीभन्दा पर्याप्त दुरी अघि उभिएर गाडी रोक्ने इसारा गर्दै हात उठाइरहेको बच्चालाई देखेपछि केही मिटर दुरीमै रोकिइसकेको प्रस्ट देखिने गाडीले हानेर सिध्याउँदैन। कथम् गाडीले हानिहाले पनि लौ तिमीले मेरो बालखालाई गाडीले हानेर मार्यौ, जाऊ त नि आफ्नो बाटो भनेर पठाउँदैन।
सारा बाहिरिया संस्कृतिले छोप्दै लगेको माझकिराँतको गाउँमा कुखुराको चल्ला किचे पनि राजमार्ग बन्द गर्ने हाम्रो राष्ट्रिय संस्कृतिको चाहिँ कुनै प्रभाव पुगेकै छैन? के माझकिराँतको समाजसँग प्रतिरोधको चेतना नै बाँकी छैन? त्यो भुत्ते भएर हरचिजसँग हार मान्ने, आत्मसमर्पण गर्ने स्तरमा विघटित भएको छ? विन्द्रेको मृत्युमा गाउँले कुनै प्रतिरोध गरेन? चुपचाप मरेको बच्चा बोकेर आए गाउँलेहरू?
राई माइलालाई माझकिराँतको समाजले छोराको मृत्युको सामाजिक, आर्थिक, कानुनी प्रतिवाद नगरी ग्वाँग्वाँ डाँको छाडेर पलायन हुने विकल्प मात्रै दिएको देखे निर्देशकले?
सिनेमा बनाउनुअघि सामाजिक चेत, चरित्र र प्रवृत्तिको धेरथोर अध्ययन त पक्कै गरेकै थिए होलान् सिनेमा जगतमा भव्य नाम जमाएका नामी निर्देशकले। वैश्विक बजारवादी संस्कृतिले ग्रामीण समाजको धमनीमा नंग्रा गाडिसकेकोमा कुनै शंका छैन। त्यसका बाबजुद पनि रैथाने समाजको सांस्कृतिक प्रतिरोधको लय यति विघ्न आत्मसमर्पणवादी भइसकेको छैन भन्ने मेरो बुझाइ छ।
सिनेमाको उत्कर्षमा राई माइला आफ्नो संघर्ष परित्याग गर्छ। खासमा ऊ बदलिँदो आर्थिक उत्पादन प्रणालीले पैदा गरेको नवीन चुनौतीसामु हार्छ र पलायनको बाटो रोज्छ। कतिसम्म भने, त्यो पलायनको उत्कर्ष घडीमा ऊ आफूसँग रहेको रैथाने शिल्प पनि परित्याग गर्छ।
उसले घार्लाङ बुन्न जानेको थियो। चित्राको भकारी बुन्न जानेको थियो। फिपी बनाउन जानेको थियो। ढाकर बुन्न जानेको थियो। संघर्षबाट थाकेर, समाजसँग हारेर जति बेला ऊ पत्नीलाई लिएर गाउँबाट अज्ञात भूगोलतिरको अनिश्चयको यात्रामा निस्कन्छ, त्यति बेला ऊमा एउटा निश्चय भने देखिन्छ – अब ऊ आफैसँग भएको परम्परागत शिल्प परित्याग गर्दैछ। अनि ऊ आफैले भन्ने गरेको 'बजार'ले ऊजस्ताको सिप विस्थापन गर्न गाउँ पुर्याएको रूकस्याक भिर्छ, ढाकरको सट्टा। यो बडो बिम्बात्मक पलायनको भारी बोकाएर निर्देशक सुब्बाले उपभोक्तावादी बजारवादसामु परम्परागत ग्रामीण आर्थिक उत्पादन प्रणालीलाई आत्मसमर्पण गराएका छन्।
कमसेकम 'प्रमोसनल' गीतमा आह्वान गरेजति पनि निर्देशकले सिनेमामा गाउँसँग हारेर पलायनको बाटो समातिरहेका राई माइला र 'राई माइलाहरू' गाउँलाई नै चाहिने मानिस हुन् त्यसैले तिनलाई गाउँमै अड्याउनुपर्छ भनेर समाजलाई आह्वान गर्दैनन् – बाटो छेकिदेउ न! ढाँट राखिदेउ न! ए फर्क भनिदेऊ न! भनेर।
हो, 'राई माइलाहरू' एकपछि अर्को गर्दै गाउँ खाली गर्दै बसाइँ हिँडिरहेका छन्। कसैले बाटो छेकेकै भरमा, ढाँट राखेकै कारण या ए फर्क न भनिदिएकै कारण तिनले गाउँ छाड्ने सिलसिला बन्द गरेका छैनन्। यो यथार्थ हो। तर, दु:खको पहाड खसेर थिच्दा पनि पुर्खा–परपुर्खाको सालनाल गाडिएको ठाउँ यही हो। आफ्नो जरो–हांगो जे जे भने पनि गाडिएको–फैलिएको माटो यही हो भनेर गाउँको धुकधुकी अड्याई बसेका 'राई माइलाहरू' जताततै छन्, बाटो गएका या नगएका अनेकन गाउँहरूमा।
निर्देशक नवीन सुब्बाले समाजको यो यथार्थलाई पनि खै किन हो गाउँमा अडिन दिएका छैनन्। राई माइला न हो बसाइँ हिँडेका, अरू त गाउँमै छन् भन्ने तर्क गर्न सकिएला। गाउँमा अडिएका मानिस गाउँ बोकी बाँचेका मानिस होइनन्, ती त बजारवादको हावाले चुमिसकेका मानिस हुन् भन्ने कथा सिनेमाले भनिसकेकाले ती गाउँमा अड्दैमा गाउँसँग 'गाउँ' बाँकी रहने कुरै भएन।
थपमा, माझकिराँतको राई समाजका तमाम सामाजिक गोलभेलाहरूमा महिलाको उपस्थिति नरहेको दृश्य सामाजिक यथार्थको प्रतिबिम्बन हो कि निर्देशकमा निहीत पुरूषसत्ताको प्रकटीकरण भनेर सम्बन्धित समाजले विमर्श गर्ला नै। वैदेशिक रोजगारीले गाउँहरूबाट धेरैजसो पुरूषलाई उडी जाने बसमा राखेर देश कटाएको परिवेशमा मलामीदेखि हलगोरू जोत्ने भूमिकासम्म ग्रामीण महिलाहरूलाई उभ्याएको आजको परिवेशमा हर घरमा सरोकार राख्ने बिजुली भेलामा सम्म पनि महिलालाई गयल देखाइँदा दर्शकका रूपमा मलाई उतिविधि सामाजिक यथार्थको प्रतिबिम्बन भएजस्तो अनुभूति भएन।
सिक्काको अर्को पाटो
सिनेमाले देखाएजस्तै गाउँ पसेका बाटोसँगै त्यसले गाउँहरूको स्वत्व हरण गरिरहेका छन्। यस्तो भइरहेकै छ जताततै। यहाँसम्म सिनेमा यथार्थ सामाजिक धरातलमा उभिएको छ। तर सिक्काको अर्को पाटो पनि छ।
गाउँमा आएका बाटाहरूले गाउँ सिध्याउने 'विष' मात्रै भित्र्याइरहेको छैन गाउँमा। त्यसले गाउँलाई सहजताको अर्को चरणमा प्रवेश गराएको पनि छ। जस्तो कि पैसा हुँदाहुँदै पनि खाद्यान्न किन्न लाम लाग्नुपर्ने, किन्न नपाएर भोकै बस्नुपर्ने अनेकन भूगोलमा आज बाटो गएपछि सहज तवरले खाद्यान्न गएको छ। बाटो नभएर अकाल ज्यान गुमाउन विवश अनेकन 'गाउँ'का मानिसले अस्पतालको सुविधा लिन सक्ने सहजता प्राप्त भएको छ।
सानोमा म बिरामी पर्दा मेरा बाले ढाडमा बाँधेर दिनभरि हिँडेर मलाई सदरमुकाम ल्याउनुभएको थियो। आज त्यत्ति उपचार पाउन सदरमुकाम आउनु पर्दैन। बा गाउँमा बिरामी पर्दा तीन घन्टा कममा सदरमुकाम ओर्लिन सकिन्छ। एम्बुलेन्सहरू साइरन बजाउँदै गाउँ पुग्न थालेका छन्। साना भए पनि अस्पताल खुल्न थालेका छन्। अपर्याप्त छ, तर औषधि गाउँका स्वास्थ्य चौकीमा पुग्न सकेको छ।
गाउँ आएका बाटोहरूमा गुड्दै आएका ट्रक, ट्याक्टरहरूले बिजुलीका पोल गाउँमा उतारेपछि ग्रामीण भेग बिजुलीको उज्यालोमा जोडिएको छ। गाउँमा बाटो आएसँगै त्यसले भित्र्याएका प्रविधि र उपकरणहरूले ग्रामीण समाजलाई बाँकी संसारसँग जोडेको छ। ज्ञानको विस्तारका लागि फराकिलो विश्व परिवेशको सूचना उपलब्ध गराएको छ। यसको सदुपयोग गर्ने कि लम्पट उपभोक्ता बन्ने भन्ने छनौटमा त हरेक समाजको योग्यता नै कारक बन्ला।
यस्ता सकारात्मक पक्ष पनि छन्। नकारात्मकताको चरित्र चित्रण त सिनेमाले गरेकै छ। हामीले बदलावको एकपक्षीय चित्र मात्रै कोर्यौं भने त्यो रंगहीन बन्ला! चित्र त्यति बेला मात्रै पूर्ण रूपले खुल्ला, जति बेला त्यसको क्यानभासमा अनेकन रंग खेलिएला!
ऐतिहासिक विकासक्रमको फ्रेमबाट चिहाउँदा
बसाइँ शब्दले भावुकतावश छोइराखे पनि यताका दिनमा मानव समाजको लामो इतिहासमा रूचि राख्न थालेपछि आप्रवासन स्वाभाविक र नियमित प्रक्रिया हो भन्नेमा म 'कन्भिन्स' हुन थालेको छु। छोरा विन्द्रेलाई 'गाडीले हानेर' मारेपछि गाउँमा भित्रिएको बजारवादसँग हारेर पत्नीलाई लिएर थातथलो छाडेर बसाइँ हिँड्ने राई माइलो मानव इतिहासको पहिलो र अन्तिम पात्र होइनन्।
सहजताको खोजीमा आज पनि अमेजन जंगलमा हिँडेर, समुद्रमा डुंगा चढेर, फोहोरका कन्टेनरमा निसास्सिँदै समेत आप्रवासनमा हिँड्नेको लाम यथावत् छ। यो चलिरहन्छ। यो स्वाभाविक प्रक्रिया पनि हो र समाज विकासको सिलसिला यसैगरी चलिरहँदो रहेछ भन्ने यथार्थ आधुनिक मानव भनिने होमो स्यापियन्सकै इतिहास हेरेर आकलन गर्न सकिन्छ। आधुनिक मानव कमसेकम ७० हजार वर्षदेखि सहजताको खोजी गर्ने क्रममा बसाइँदेखि बसाइँसम्मको निरन्तर यात्रामा छ।
अफ्रिकाबाट ७० हजार वर्षजति अघि निर्णायक आप्रवासनमा निस्कने समयमा पनि हाम्रा पुर्खाहरूको समाजमा यस्तै अन्तरद्वन्द्व चलेको थियो होला। आफ्ना पुर्खाहरूले हजारौं–हजार वर्ष बिताएको उद्भव भूमि छाड्ने कि नछाड्ने भनेर। फिरन्ते सिकारी चरणबाट कृषि र पशुपालनको अभ्यासमा लहसिँदा पनि त्यसले समाजमा अनेकन अन्तरद्वन्द्व सिर्जना गरेकै थियो। बदलिँदो सामाजिक–आर्थिक परिपाटी स्वीकारेर कृषि क्रान्तितिर संक्रमित हुन लामबद्ध समाज र त्यसलाई अस्वीकार गरेर आफ्नै परम्परागत फिरन्ते सिकारी जीवनशैलीमा रहन चाहने समाजबीच नजाने कति हजार वर्षसम्म द्वन्द्व चलिरह्यो।
सभ्यता, संस्कृति र परिस्कृत समाज अभ्यास भनेर ढोल पिटाइएको कृषि क्रान्ति, औद्योगिक क्रान्ति, वैज्ञानिक क्रान्ति र एआईको क्रान्तिको चरणमा मानव समाजको विशालतम् हिस्सा दौडादौड गर्न थालेको लगभग १२ हजार वर्ष भइसक्यो। बाह्र हजार वर्षसम्म पनि बदलिँदो आर्थिक उत्पादन प्रणालीको हिस्सेदार बनेर त्यसको संक्रमण रेन्जभित्र प्रवेश गर्न अस्वीकार गर्दै आफ्नै परम्परागत खाद्य अभ्यास, जीवन अभ्यास, सांस्कृतिक अभ्यास, सिप र शिल्पमा अडिएर फिरन्ते सिकारी जीवनमै अडिएका अनेकन कबिला समाज संसारभर आज पनि मौजुद छँदैछ। त्यसको प्रमाणका रूपमा आजको नेपाली सरहदमै उपस्थित छन् राउटेहरू।
पुरातन आर्थिक उत्पादन प्रणालीभन्दा अर्को स्वरूपको आर्थिक उत्पादन प्रणाली बलशाली बन्दै गएपछि बलशाली आर्थिक प्रणालीले ढिलाढाला र बलै घस्रिने अवस्थामा पुगेको पुरातन आर्थिक प्रणालीलाई निषेध गर्दै सिँगो सामाजिक परिपाटीलाई आफ्नो अधिनस्थतामा ल्याउँछ। आफूलाई बलियो बनाउन आवश्यक तमाम संरचनाहरू तय गर्छ र समाजमाथि शासन गर्छ। खाद्य अभ्यास, जीवनशैली, संस्कृति, उत्पादनका साधन सबै आफू अनुकूल हुने गरी विकास गर्छ। परम्परागत खाद्य अभ्यास, संस्कृति, उत्पादनका साधन सबैलाई पूरा तागतका साथ निषेध गर्छ र आफूलाई स्थापित गर्छ।
आदिम साम्यवादी समाजदेखि सामन्तवादी समाज हुँदै पुँजीवादी समाजसम्मको विकास यही सिलसिलामा अघि बढ्दै एकपछि अर्को गर्दै निषेधको निषेधमा आधारित भएर अघि आएको हो। ऋग्वेदको नासदीय सूक्तमा भनिएजस्तो उषाले रात्रिलाई निषेध गरेर उज्यालो हुने र रात्रिले उज्यालोलाई निषेध गरेर रात पर्ने निरन्तरको निषेधको निषेधजस्तो।
यो रूपान्तरण र बदलावको सिलसिला चलिरहन्छ। कृषि समाजले फिरन्ते सिकारी समाजलाई संक्रमित बनाएर मानव समाजको विशालतम हिस्सालाई कृषिमा अभिसारित गरायो। फिरन्ते पशुपालक समाज स्थिर पशुपालक र कृषक समाजमा रूपान्तरित भयो। साना कबिला समाजहरू मेसोपोटामिया, फर्टाएल क्रिस्सेन्ट, ह्वाङहो, इन्का, एज्टेक, हरप्पा, लेवान्त, विम्याक जस्ता सभ्यतामा रूपान्तरित भए। कृषि समाज औद्योगिक समाजमा संक्रमित भयो। औद्योगिक समाज रूपान्तरणको यात्रा जारी राख्दै वैज्ञानिक क्रान्तिको उत्कर्षमा कृत्रिम बौद्धिकताबाट परिचालित हुने चरणमा प्रवेश गरेको छ।
यी तमाम रूपान्तरणका चरण पनि कम्ता प्रसवपूर्ण थिएन होला, जसरी आजका ग्रामीण समाज परम्परागत स्वरूपबाट बदलिएर बजारवादी चरित्रमा विघटित हुँदै गर्दा त्यसले हामीलाई भित्रैदेखि हल्लाइरहेको छ। बदलावको यो प्रक्रिया स्वीकार गर्न जसरी आजका हामीलाई सहज भइरहेको छैन, हिजोका हाम्रा पुर्खाहरूलाई पनि उस्तै सकस परेको हुँदो हो। सिकारी चरण छाडेर कृषिको चरणमा प्रवेश गर्दा पनि उस्तै द्वन्द्व चलेको हुँदो हो – परम्परागत सिप, शिल्प, संस्कृति, जीवन अभ्यास आयातित तत्त्वको कब्जामा गयो भनेर।
यस्तो द्वन्द्व चलिरहन्छ। पुरानो र नयाँ संस्कृति, अभ्यास, चरित्रको घालमेल भएर अर्को नवीन परम्परा, संस्कृति, अभ्यासको उदय हुने सिलसिला जारी रहन्छ। यो स्वाभाविक प्रक्रिया हो। अस्वाभाविक कुरा चाहिँ यो बदलाव र रूपान्तरणको प्रक्रिया स्वाभाविक तवरले भइरहेको छ कि दबाब र हस्तक्षेपपूर्ण तवरले भइरहेको छ भन्ने हो।
बहसको अतिरिक्त 'प्लट'
आजको तीव्र नाफामा आधारित वैश्विक पुँजीवादी बजारवादले बलियो, सजिलो, सस्तोको नाममा रैथाने उत्पादन विस्थापित गर्न टिन र प्लास्टिकका सामान निर्माण गरेको छ। स्वादका नाममा अनेकन अखाद्य रंग र स्वाद मिसावट गरेर पेय र खाद्य वस्तु निर्माण गरिरहेको छ। त्यसले सिँगो मानव समाजको स्वास्थ्यमा मात्र होइन, पृथ्वीको स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेको छ।
ग्रामीण परम्परागत उत्पादन चित्राको मान्द्रो, भकारी विस्थापित गर्न गाउँ आएका प्लास्टिकका पालले (समग्रमा प्लास्टिकका सबैखाले उत्पादनले भन्न खोजिएको हो) पृथ्वीको वातावरणीय सन्तुलनमा अत्यासलाग्दो प्रभाव पारेका छन्। विश्व तापमानमा अकल्पनीय वृद्धि गरेका छन्।
माटाका भाँडा विस्थापित गर्न आएका सिलावरका गाग्री र ती कुच्चिएर केही वर्षमै विद्रुप स्वरूपमा भीरपाखा, गह्रा-कान्लामा फालिएका दृश्य कति कुरूप छन्! आफ्नो एकाधिकार सुरक्षित गर्न रैथाने कोदोको झोललाई अवैध घोषणा गर्दै बजार गएका राष्ट्रिय-बहुराष्ट्रिय रक्सीका खाली सिसीको चाङ, 'कोकाकोला'का प्लास्टिकका बोतल थुप्रिएर समुद्रको विशाल भाग नै 'प्यारालाइज्ड' भएका दृश्य आम भएका छन्।
मुनाफाको पछि दौडिएर समाजलाई सस्तो र टिकाउको भ्रमले छोप्दै भावी पुस्ताका लागि चाहिने प्राकृतिक स्रोत, खनिज, वातावरण, जलवायुको दोहन गरिरहेको छ नाफाखोर बजारवादले। गाउँले ढुंगा र खरको छानो विस्थापित गर्न उत्पादित टिनका पाताले प्रशोधन, उत्पादनदेखि उपभोग र अन्त्यमा पत्रु भएपछि गरिने व्यवस्थापनको चरणसम्म कसरी, कतिसम्म पृथ्वीको वातावरण, तापक्रम र उपभोक्ताको जीवनमा असर गर्छ भन्ने सवालमा घोत्लिन पनि नेपाली समाजलाई यो सिनेमाले भावभूमिसहितको अवसर सिर्जना गरेको छ।
अन्त्यमा, धेरैले नवीन सुब्बालाई नेपाली सिनेमाका नयाँ 'ट्रेन्डसेटर' का रूपमा सराहना गरेको पाइन्छ। 'नुमाफुङ' चलचित्र र 'दलन' धारावाहिकमा उनको निर्देशकीय कलाको उच्चता देखेकाले निर्देशक सुब्बाको नयाँ सिनेमाप्रति उत्सुकता र अपेक्षाको पारो उच्च रहनु स्वाभाविकै पनि छ। गाउँ आएको बाटोले त्यो अपेक्षालाई निरास पार्दैन। तर जति अपेक्षा जम्मा भएको छ, त्यसमा थप्दैन पनि।
गाउँ आएको सिनेमा प्रदर्शनमा आएको दिनबाटै यसले बहस सिर्जना गरेको छ। सिनेमाको 'सिनेम्याट्रोग्राफी' जे–जसो भए पनि यसले उठान गरेको विषयमाथि सार्वजनिक विमर्श चलिरहेको छ।
लेखक, पत्रकार, सिनेमाका जानकार, समीक्षक, बौद्धिक आदि भनिनेको घेरा तोडेर सर्वसाधारणको तहमा विस्तारित विमर्शको सघनता नै 'गाउँ आएको बाटो'को सामर्थ्य हो। सिनेमाको उद्देश्य नै आफूले उठाएको विषयमा सार्वजनिक बहस सिर्जना गर्नेमा केन्द्रित देखिन्छ। यस मामलामा सिनेमा सफल भएको छ भन्ने मेरो बुझाइ छ।
***