पूर्वी नेपालबाट प्रवेश गरिसकेको मनसुन केही दिनभित्रै देशभर सक्रिय हुने अनुमान छ। त्यसैले मेलम्ची खानेपानी आयोजनाको मुहानदेखि तल्लो तटमा रहेका हेलम्बुका टिम्बु, किउल र चनौटेदेखि तल मेलम्ची बजारसम्मैका मानिसको निद्रा खलबलिने क्रम सुरू भइसकेको छ।
'यसपालिको मनसुनमा ठूलो वर्षा हुन सक्ने र लाखौं मानिस प्रभावित हुन सक्ने खबर सुनेर मेलम्ची किनारका मानिस निकै डराएका छन्,' मुहान क्षेत्र रहेको हेलम्बु गाउँपालिका-१ का वडाध्यक्ष दावा ग्यालीजेन लामाले सेतोपाटीसँग भने, 'तैपनि सरकारले पर्याप्त ध्यान दिन नसकेको छैन भनेर यहाँका मान्छे निराश छन्।'
मेलम्चीका मानिस यसरी डरमा बाँच्न बाध्य हुनुपर्ने अर्को कारण हो — ठ्याक्कै तीन वर्षअघि २०७८ असार १ गते र फेरि साउन १६ र १७ गते आएका विनाशकारी भेलबाढी; र ती विपदका कारण मेलम्ची आयोजनाको मुहानसहित तल्लो तटका गाउँ तथा बजारमा पुगेको भयंकर क्षति।
२०७८ असार १ गते मनसुनको सुरूमै मुहानबाट दुई दिनको बाटो माथि पर्ने भेमाथाङ क्षेत्रमा वर्षाले जमेको ठानिएको विशाल ताल अचानक विस्फोट भएको थियो। यसले आएको बाढीका कारण कम्तीमा २४ जनाको ज्यान गयो भने क्षणभरमै मेलम्ची मुहानसहित नदी किनार क्षेत्र तहसनहस भयो।
त्यो विपदले मेलम्ची मुहान, किनारका बस्ती तथा बजार र इन्द्रावती नदी किनार क्षेत्रमा कम्तीमा ८४ अर्ब रूपैयाँ बराबर आर्थिक क्षति भएको अनुमान छ।
मेलम्ची मुहान झन्डै २७ किलोमिटर लामो सुरूङमार्फत् काठमाडौंको सुन्दरीजलसँग जोडिएको छ। सडक मार्गबाट त्यहाँ पुग्न राजधानीबाट करिब ६५ किलोमिटर लामो यात्रा गर्नुपर्छ।
गत शुक्रबार म साँखुको बाटो मेलम्चीको मुहान पुग्दा मेलम्ची बजारसम्म सडक प्राय: राम्रै थियो।
मेलम्ची उपत्यकाको हबिगत
मेलम्ची र इन्द्रवतीको दोभानमा कैयन राता-पहेँला रंगीन ढलानघर नदीको बीचमा आधा पुरिएको अवस्थामा देखिए। मानौं विनाशकारी बाढी केही महिनाअघि मात्रै आएको हो। त्यस्तै दृश्य मेलम्ची बजारदेखि उत्तरतिरको मेलम्ची बगरभरि देखिए — ग्याल्थुम, शेरा अनि चनौटे क्षेत्रमा पनि।
ठाउँ ठाउँमा पुलहरू बगाएको र नबनेकाले पहुँचमार्गको अवस्था अझै दयनीय देखियो।
'बर्खा लागेपछि हेलम्बु क्षेत्र हिमालपारिका गाउँजस्तै झनै विकट र सहरहरूसँग सम्पर्कविहीन हुन पुग्ने अवस्था आउने गरेको छ,' हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले दुःखेसो गरिन्, 'यस्तो दयनीय अवस्थाबाट हामीलाई मुक्ति दिलाउने एउटै उपाय सबै मौसमका लागि हुने बाटो नै हो। तर त्यसतर्फ कुनै प्रगति नभएकामा यहाँका मानिस खिन्न छन्।'
ठाउँ ठाउँमा नदी बगरका ठूला ढुंगा र चट्टान हटाएर किनारा लगाउन पहेँला र सुन्तला रङका एक्स्काभेटर आफ्ना फलामे पञ्जा फैलाएर ढुंगा टिप्न संघर्ष गरिरहेका देखिए।
नदी बगरै बगरको यात्रापछि टिम्बु गाउँदेखि अलि पर रहेको सशस्त्र प्रहरी बलको सुरक्षा ढोका पार गरेर मेलम्चीको ढुंगे बगरै बगर गुड्दै मुहान क्षेत्र अम्बाथान पुगियो।
चार वर्षअघि यसैगरी मोटरसाइकलमा म यहाँ आइपुग्दा मेलम्चीको मुहान वा हेडवर्क्सको काम पूरा गर्न चिनियाँ ठेकेदार सिनोहाइड्रोका कर्मचारीसँगै नेपाली इञ्जिनियरहरू निकै मेहनत गर्दै थिए।
त्यति बेला कोरोना कहर जारी भए पनि मेलम्चीको पानी सुरूङ भित्र्याउने हतारोमा मानिसहरू निकै उत्साहित देखिन्थे।
शुक्रबार दिउँसो १२ बजेको टन्टलापुर घाममा भने मुहानमा कुनै सुरक्षाकर्मी देखिएनन्। भीषण भेलबाढीले ध्वस्त र क्षतविक्षत तुल्याएको मुहानका पिलर र केही फलामे संरचनाका अवशेष मात्र देखिए। यत्रतत्र पुरिएका वा नपुरिएका कारण जिङ्ग्रिङ्ग, कुनै काम नलाग्ने गरी ठडिएका।
माथि भेमाथानदेखि बग्दै आएका चट्टान र ढुंगा मेलम्ची बगरभरि देख्दा मनमा लाग्यो — मेलम्चीको मुहान सफा गर्ने हिम्मत गर्न, आवश्यक हातेमालो गर्न कुनै समूह अझै देशमा जन्मिइसकेको छैन।
अझै माथि बगरमा डोजरले खनेको सुख्खायामे बाटोमा केही बेर निकै गाह्रोसँग गुडेपछि बल्ल मेलम्ची आयोजनाको अस्थायी मुहानमा पुगियो जहाँ त्यो अस्थायी बाटो टुंगियो। त्यहाँ ढुंगा र बालुवाले नदीलाई घुमाउरो गरी छेकेर सुरूङको दुलोतर्फ सोझ्याइएको थियो। त्यही पानीलाई सुख्खा याममा सुरूङको बाटो सुन्दरीजल झार्ने गरिएको छ।
मौसमी पानी मुहान
यो क्रम केही दिनपछि मनसुन सक्रिय भएलगत्तै फेरि टुट्ने छ। बाढीबाट जोगाउन फलामे ढोकाले सुरूङ छेकिने छ। मेलम्चीको पानी फेरि इन्द्रावतीतर्फ नै बग्ने छ, जसरी त्यो सदियौंदेखि बग्दै आएको थियो, बिना कुनै रोकतोक।
'अब कुन दिन बन्द गर्ने भनेर निर्णय भइसकेको छैन। मौसम पूर्वानुमानका आधारमा ठ्याक्कै कुन दिनबाट सुरूङ बन्द गर्न उपयुक्त हुन्छ, हामी त्यही गर्छौं,' काठमाडौंमा रहेको मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक रत्न लामिछानेले भने, 'हामी सकेसम्म अझै लामो समयसम्म पानी सुरूङमै सोझिन दिइरहने पक्षमा छौं।'
मेलम्चीको पानी रोकिएपछि राजधानी उपत्यकामा हुनसक्ने पानी अभावलाई ध्यान दिएर हुनसक्छ, अधिकारीहरू अहिले सुन्दरीजलस्थित पोखरीमा धेरैभन्दा धेरै पानी जम्मा गर्ने दाउमा छन्।
त्यसैले 'हामीले अहिले दैनिक २० करोड लिटरसम्म पानी काठमाडौं ल्याइरहेका छौं,' लामिछानेले भने।
त्यति पानीले पनि काठमाडौं उपत्यकावासीको तिर्खा मेट्न सकेको छैन। बस्ती निरन्तर बाक्लिँदै गइरहेको उपत्यकाको जनसंख्या ५० लाख पुगिसकेको अनुमान गरिएको पनि धेरै भइसक्यो। मेलम्ची पानी आएकै अवस्थामा पनि राजधानीवासी जारको पानी र ट्यांकरको पानी किन्न बाध्य छन्।
बर्खा बेला बागमतीको पानी तानेर सुन्दरीजलको पोखरी भर्ने प्रयास गर्ने गरिएको छ।
नयाँ मुहानको पर्खाइ
त्यसैले धेरैको चासोको विषय हो — विपदले क्षतविक्षत बनाएको मेलम्चीको नयाँ मुहान कहिले बनिसक्ला? त्यसका लागि आवश्यक पहुँच सडक र पुलहरू कहिले बन्लान्? साथै अम्बाथानदेखि अझ पूर्वतर्फ पर्ने सर्कथलीमा बनाइने भनिएको नयाँ मुहान कहिले बनिसक्ला?
अनि निरन्तर दुखेसो र गुनासो पोख्दै आएका भेलबाढी पीडित मेलम्ची उपत्यकावासीका माग कहिले सम्बोधन भइसक्लान्?
कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार सरकार र मुख्य दाता एसियाली विकास बैंक (एडिबी) सकारात्मक भएका कारण नयाँ मुहानको 'विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्भवतः अबको डेढ वर्षभित्र तयार भइसक्छ।
'त्यसलगत्तै वा अघि नै सबै मौसममा प्रयोग गर्न सकिने सडकको निर्माण पूरा भइसक्छ र नयाँ मुहान निर्माणको काम समयमै अघि बढ्न सक्छ,' उनले भने।
पहुँच सडक र नयाँ मुहानका लागि चार अर्ब रूपैयाँभन्दा बढी खर्च हुने अनुमान छ। मेलम्चीमा सुरूदेखि नै लगानी गरिरहेको दाता एडिबीले दुई अर्ब रूपैयाँ अनुदान दिने वाचा गरिसकेको र बाँकी रकम ऋणबापत र नेपाल सरकारमार्फत जुटाइने उनले बताए।
'डिपिआर तयार गरेर नयाँ मुहान बनाउने काम थालेर सक्न अबको चार वर्ष लाग्ने हाम्रो अनुमान छ,' उनले भने।
त्यसको अर्थ मेलम्ची आयोजनाको मुहान नवनिर्माण भएको हेर्न २०८५ असारसम्म कुर्नुपर्छ।
जलवायु र अन्य विपद जोखिम
२०७८ को विनाशकारी भेलबाढीलगत्तै इसिमोडले गरेको एक अध्ययनअनुसार २०७२ को भूकम्पले गरेको हलचलको असरमाथि जलवायुजन्य विपद जोखिम थपिएर भेमाथानमा जमेको हिमताल अचानक विस्फोट भएपछि असार १ को विनाशलीला मच्चिएको थियो।
त्यस्तै, जलवायु परिवर्तनका कारण मेलम्चीमा भएजस्तै एकमाथि अर्को विपद जोखिम थपिने क्रम हिमालय छेत्रमा बढिरहेको छ।
जलवायुविद् अजय दीक्षितका विचारमा पछिल्लो भेलबाढी र इसिमोडको अध्ययनले देखाएका अन्य जोखिम विचार गरेर मात्र नवनिर्माणको काम अघि बढाउनु उचित हुन्छ।
'नयाँ संरचना बनाउने बेला तीन वर्षअघिको क्षतिले सिकाएको पाठ बिर्सिनु हुँदैन,' उनले भने।
अब प्रश्न उठ्न सक्छ — भविष्यमा त्यस्तै भेलबाढीबाट मेलम्चीको मुहान कसरी जोगिएला?
लामिछानेका अनुसार नयाँ मुहानलाई विज्ञहरूले सुझाएअनुसार अम्बाथानदेखि पूर्वतिर मात्र सारिने छैन।
'त्यसलाई सुरूङभित्रै रहने गरी बनाइने छ जसले त्यहाँ भेलबाढीको असरको जोखिम कम हुनेछ,' उनले भने।
तापक्रम बढेर तीव्र गतिमा हिउँ पग्लिने, अत्यधिक वर्षा र आँधीहुरी जस्ता जलवायुजन्य विपदको क्रम बढिरहेकाले विज्ञहरूले भने मेलम्चीमा थप नदीको पानी ल्याउने योजना त्यागेर काठमाडौं उपत्यकाभित्रै सानोदेखि ठूलो स्तरमा बर्खाको पानी जम्मा गर्ने विकल्प खोज्न सल्लाह दिँदै आएका छन्।
मेलम्ची बोर्ड र एडिबी भने आफ्नो पुरानै योजनामा अडिग देखिन्छन्।
मेलम्चीपछि याङ्ग्री र लार्केको पानी
पुरानो योजना हो — मेलम्चीको मुहानमा अझै पूर्वतिरका पहाडबाट इन्द्रावतीमा झर्ने याङ्ग्री र लार्के नदीबाट समेत थप दैनिक १७-१७ करोड लिटर पानी ल्याउने र राजधानीमा पुरानै योजनाअनुसार दैनिक ५१ करोड लिटर पानी झारेरै छाड्ने।
त्यसको मतलब हालको मेलम्ची मुहान क्षेत्रबाट याङ्ग्री नदीसम्म थप ९ किलोमिटर लामो नयाँ सुरूङ खन्ने; याङ्ग्रीबाट लार्केसम्म थप २ किलोमिटर लामो अर्को सुरूङ पनि खन्ने; अनि तीनैवटा सुरूङलाई हाल ध्वस्त भएको मुहान वरपर कतै जोड्ने।
ती सबै काम गरेर कुल ८० करोड डलर सुरूआती लागत राखिएको मेलम्ची खानेपानी परियोजना पूरा गरेरै छाड्ने। त्यसका लागि याङ्ग्री र लार्के नदीसम्म पुग्न आवश्यक पहुँच सडक निर्माण पनि सुरू भइसकेको छ।
तर ती दुवै नदी मेलम्चीमा जोड्न अझै कति वर्ष लाग्ने हो र कति लगानी लाग्ने हो, त्यो अनुमान गर्न कठिन भएको मेलम्ची आयोजनाका प्रमुख रत्न लामिछाने बताउँछन्।
ठ्याक्कै तीन वर्षअघि हेलम्बुको अम्बाथानमा ध्वस्त मेलम्चीको मुहान नवनिर्माणसमेत टुंगो लाग्न नसकिरहेको अहिलेको अवस्थामा मेलम्ची परियोजना पूरा हुन अझै धेरै वर्ष लाग्ने प्रस्ट संकेत देखिइसकेका छन्।
त्यसमाथि जलवायुजन्य र अन्य विपदको जोखिम छँदै छन्।
जलवायुविद् अजय दीक्षितको जोड छ, 'हिमाली क्षेत्रमा धेरै जोखिम रहेको मेलम्चीको विनाशले देखाइसक्यो। फेरि फेरि पनि मेलम्ची वा याङ्ग्री वा लार्केमा त्यस्तै जोखिम दोहोरियो भने हामीले के गर्ने? अर्बौं रूपैयाँ ऋण लिएर नयाँ नयाँ आयोजना बनाउने अनि क्षति चाहिँ कसले बेहोर्ने?'
हेर्नुहोस् मेलम्ची आयोजनाको ध्वस्त मुहान, अम्बाथान, हेलम्बु पुगेर तयार पारेको भिडिओ रिपोर्ट:
(बिबिसीका पूर्वसंवाददाता सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनी जलवायु, वातावरण, समाज र भूराजनीतिक विषयमा चासो राख्छन्।)