सन् २०२४ मा संसारभर भइरहेका चुनावमध्ये सम्भवतः सबभन्दा बढी भूराजनीतिक महत्वको चुनाव आउँदो नोभेम्बरमा अमेरिकामा हुनेछ।
तर विश्वका १७.६ प्रतिशत मानिसहरू बस्ने भारतको चुनाव संसारमै धेरै मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने परिघटना हो। त्यसैले संसारभरका विश्लेषकहरूको आँखा भारतमा आज आइरहेको चुनावी परिणाममा हुनु स्वाभाविकै हो।
यो चुनाव सुरू हुनुअगाडि भारतको प्रतिपक्षले सत्तापक्षलाई ‘वाकओभर’ दिएको जस्तो अवस्था थियो। मुख्य विपक्षी कंग्रेस आईको खाता रोक्का थियो। आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल जेलमा थिए। झारखन्डका तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेन जेलमा थिए। झण्डै दुई वर्षअगाडि इन्डिया नामक फराकिलो विपक्षी गठबन्धन बनाए पनि धेरैवटा राज्यमा त्यो गठबन्धनकै पार्टीहरू एकअर्कासित प्रतिस्पर्धामा थिए। कुनै बेला विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीको साझा उमेदवार बन्लान् भनिएका नितिश कुमार बिहारमा सत्ता गठबन्धन फेर्दै भारतीय जनता पार्टी (भाजपा)तिर पल्टा मारेका थिए।
त्यसमाथि अयोध्यामा राम मन्दिर उद्घाटनले सिर्जना गरेको देशव्यापी उत्साहले विपक्षीहरूलाई थलाजस्तै पारेको थियो।
जब सुरूका केही चुनावमा नरेन्द्र मोदी सरकारप्रति विगतका दुई चुनावमा जस्तो उत्साहको लहर छाएन, भाजपा अलिकति तर्सेको देखियो। नरेन्द्र मोदी स्वयंले अभूतपूर्व रूपमा साम्प्रदायिक भाषणहरू गर्न थाले। युट्युबर ध्रुव राठीले एक्लै भाजपाको आइटी सेललाई चुनौती दिए।
मध्य चुनावसम्म आइपुग्दा माहोल विपक्षीको अनुकूल भएको हो कि भनेर धेरै विश्लेषकहरूले अनुमान लगाए।
चुनाव अन्तिम चरणमा पुग्दै गर्दा भने पहिले एक विख्यात विश्लेषक तथा भारतमा सन् २०१४ मा नरेन्द्र मोदीलगायत धेरै पार्टीहरूलाई चुनावमा जित्न सघाएका रणनीतिकार प्रशान्त किशोरले भाजपा गठबन्धनले दुईतिहाइ वरिपरि बहुमत ल्याउने ठोकुवा गरे, सार्वजनिक विमर्स पूरै फेरियो। मतदान सकिनासाथ भएका एक्जिट पोलहरूले त्यही अनुमानलाई पुष्टि गरे।
तर मतगणना सकिँदै गर्दा माहोल फेरिएको छ। भाजपाले दस वर्षमा पहिलोपल्ट एकल बहुमत गुमाएर सरकार बनाउन र टिकाउन गठबन्धनका अरू सदस्यहरूसित हारगुहार गर्नुपर्ने अवस्था आएको छ।
आखिर कसरी पल्टियो त भारतीय राजनीतिको पासा?
प्रस्तुत छ यस्तो चुनावी नतिजापछाडिका तीन महत्वपूर्ण कारणसहितको मेरो विश्लेषणः