भारतमा अहिले सात चरणमा लोक सभाको चुनाव भइरहेको छ। आगामी जुन १ मा अन्तिम चरणको चुनाव भएपछि जुन ४ मा सम्पूर्ण चुनावको नतिजा घोषणा गर्ने योजना छ।
भारतीय जनता पार्टी (भाजपा) ले यसपटकको चुनावमा पहिलाभन्दा धेरै सिट जितेर नरेन्द्र मोदीलाई लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनाउने उद्घोष गरेको छ। तर विपक्षी गठबन्धन भाजपालाई हराउन लागिपरेको छ।
विगत दस वर्षदेखि सत्तामा रहेको भाजपालाई यो चुनावमा हराउन विपक्षी गठबन्धनले धेरै मुद्दा अघि सारेको छ। तीमध्ये महत्त्वपूर्ण मुद्दा हो बेरोजगारी समस्या।
प्रधानमन्त्री मोदीले आफ्नो दुई कार्यकालमा अर्थतन्त्र बेजोडसँग वृद्धि गराएर भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने 'यथार्थ' बताइरहेका छन्। विपक्षी गठबन्धनले भने मोदी सरकार रोजगारी सिर्जनाको सवालमा पूरै असफल भएको अर्को 'यथार्थ' लाई आफ्नो चुनावी मुद्दा बनायो।
बेरोजगारी भारतको ठूलो समस्या रहेको कुरा विभिन्न अध्ययनले देखाएका छन्। निरन्तर ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गरेर विश्वमै सबभन्दा रफ्तारमा बढिरहेको अर्थतन्त्र भए पनि रोजगारी किन अपेक्षाकृत रूपमा बढ्न सकेको छैन?
भारतमा भइरहेको उच्च आर्थिक वृद्धिमा सेवा क्षेत्र, निर्माण क्षेत्र र औद्योगिक उत्पादन क्षेत्रको विशेष योगदान छ। यी क्षेत्रको वृद्धिसँगै रोजगारीमा पनि केही वृद्धि भएको छ। तर श्रम बजारमा बर्सेनि थपिने लाखौं युवाका लागि पुग्ने गरी अवसर सिर्जना हुन सकेको छैन।
यसको मुख्य कारण रोजगारी सिर्जना हुने क्षेत्र सेवा क्षेत्र सीमित हुनु हो। र, भारतमा रफ्तारमा वृद्धि भइरहेको औद्योगिक उत्पादन क्षेत्र मुख्यतः श्रमप्रधान नभएर पुँजीप्रधान छ, जसका लागि कामदारको सीप र दक्षता पनि उपल्लो र विशेष प्रकारको हुनुपर्छ। भारतले महत्त्व दिएका यस्ता क्षेत्रहरू मुख्य गरी इलेक्ट्रोनिक्स, सेमी-कन्डक्टर, इलेक्ट्रिक गाडी, नवीकरणीय ऊर्जा आदि छन्।
एकातिर युवा जनसंख्या अत्यधिक रहेको हालको जनसांख्यिक लाभको अवस्था, अर्कातिर तुलनात्मक रूपमा कम रोजगारी सिर्जना हुने आर्थिक क्षेत्रको उच्च वृद्धिका कारण भारतमा बेरोजगारी समस्या बढ्दै गएको छ। त्यसैले धेरै भारतीय वैदेशिक रोजगारीमा गएका छन्। अत्यधिक रेमिटेन्स भित्र्याउने संसारका प्रमुख देशहरूमध्ये भारत पहिलो नम्बरमा छ। सन् २०२३ मा भारतले १२५ अर्ब अमेरिकी डलर रेमिटेन्स प्राप्त गरेको थियो।
नेपालमा पनि रोजगारी अभावका कारण दिनहुँ सयौं युवा विदेशिनुपरेको विषयले नेपाली समाज र राजनीति तताउने गरेको छ। विदेशिएका युवा फर्काएर ल्याउने कुरा गरेको सुनिन्छ।
गइसकेका युवा फर्काएर ल्याउने त पछिको कुरा, पहिले त, सकिन्छ भने, विदेशिन लागेका युवालाई स्वदेशमै रोक्न सक्नुपर्छ। यसो गर्न कति सम्भव छ?
अनि रोजगारीका लागि विदेशिन लागेका वा विदेशिएका नेपाली युवालाई यहीँ रोकेर वा फर्काएर ल्याएर के गर्ने? ती सबैको लागि नेपालमा रोजगारी उपलब्ध हुन सक्छ? के हो नेपालमा रोजगारीको समस्या र समाधानको उपाय?
प्रविधि विकास तथा प्रयोगका हिसाबले पछि परेका नेपालजस्ता कम विकसित मुलुकमा सबभन्दा धेरै रोजगारी प्रदान गर्ने क्षेत्र भनेको कृषि र श्रमिकमा आधारित उद्योग हुन्। पर्यटन, यातायात, व्यापार, जस्ता सेवा क्षेत्रमा पनि रोजगारीका केही अवसर हुन्छन्।
नेपालको कृषि क्षेत्रमा आवश्यकताभन्दा धेरै मानिसले काम गरिरहेका छन्।
कारण — नेपालको कृषि क्षेत्र अझै पनि धेरै हदसम्म परम्परागत तरिकाले चलिरहेको छ। कृषि यन्त्रहरूको प्रयोग पछिल्लो समय केही बढेको छ, तर व्यापक भइसकेको छैन। रोजगारीका हिसाबले सबभन्दा ठूलो क्षेत्र भए पनि कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको हिस्सा निरन्तर घट्दो छ। दस वर्षअघि मुलुकको जिडिपीमा करिब ३१ प्रतिशत योगदान गर्थ्यो। अहिले करिब २५ प्रतिशत मात्र योगदान गरिरहेको छ।
नेपालको कृषि क्षेत्रमा आवश्यकताभन्दा धेरै मानिसले काम गर्नुको अर्को कारण अन्य क्षेत्रमा रोजगारी अवसर कम हुनु हो। नेपालको जिडिपीमा उद्योग क्षेत्रको हिस्सा विगत दस वर्षमा झन्डै १४ प्रतिशतबाट घटेर हाल करिब १३ प्रतिशत छ। यसमा उत्पादनमूलक उद्योगको हिस्सा त झन्डै ५ प्रतिशत मात्र छ। समग्र अर्थतन्त्रमा यति सानो योगदान गर्ने उत्पादनमूलक उद्योग क्षेत्रले रोजगारीमा पनि त्यस्तै सानो मात्र योगदान गर्न सक्ने हो।
नेपालको अर्थतन्त्रमा सबभन्दा ठूलो योगदान सेवा क्षेत्रको छ। हाल नेपालको जिडिपीमा सेवा क्षेत्रको अंश करिब ६३ प्रतिशत छ। दस वर्षअघि यो हिस्सा ५५ प्रतिशतभन्दा कम थियो। सेवा क्षेत्रमा पनि रोजगारी सिर्जना नहुने होइन तर उद्योगको दाँजोमा यसले दिन सक्ने रोजगारीको अवसर सीमित हुन्छ। निर्माण, पर्यटन, यातायात, जस्ता सेवा क्षेत्रले तुलनात्मक रूपमा बढी रोजगारी प्रदान गरे पनि बैंकिङ, बीमा (इन्स्योरेन्स), घरजग्गा कारोबार जस्ता सेवा क्षेत्रले धेरै कम मात्र रोजगारी प्रदान गर्छन्।
नेपालमा बेरोजगारी समस्याको एउटा कारण सीमित रोजगारी सिर्जना गर्ने सेवा क्षेत्रको तीव्र विस्तार पनि हो। विगत दस वर्षमा नेपालको जिडिपीमा वित्त तथा इन्स्योरेन्स सेवाको अंश ५ प्रतिशतभन्दा कमबाट ७ प्रतिशतभन्दा माथि पुगेको छ। त्यस्तै सार्वजनिक प्रशासन, रक्षा तथा सामाजिक सुरक्षाको अंश झन्डै ६ प्रतिशतबाट बढेर ८ प्रतिशतभन्दा माथि पुगेको छ।
जिडिपीमा शिक्षा सेवाको योगदान पनि करिब २ प्रतिशतले बढेको छ। कक्षा १२ सक्नासाथ अध्ययनका लागि युवाहरू विदेशिने जुन लहर छ, त्यसको सन्दर्भमा हेर्दा, जिडिपीमा शिक्षा सेवाको बढेको योगदान पक्कै पनि शिक्षा क्षेत्रको आन्तरिक विस्तारका कारण होइन। यसो हुन्थ्यो भने, त्यसले रोजगारीमा पनि केही योगदान गर्ने थियो।
उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको विस्तार हुँदा तिनले पढेलेखेका नेपालीहरूका लागि रोजगारी सिर्जना गर्छन्। तर नेपालमा वैदेशिक अध्ययनका लागि सहजकर्ताको काम गर्ने शैक्षिक कन्सल्टेन्सीहरू विस्तार भएकाले जिडिपीमा शिक्षा सेवाको योगदान बढेको हो। यस्ता कन्सल्टेन्सीले कति रोजगारी सिर्जना गरेका छन् भन्ने प्रश्न एउटा पाटो हो। त्यस्तै अध्ययनका लागि विदेशिने लहरले नेपालमा विद्यार्थी कम भएर चलिरहेका शिक्षण संस्था बन्द हुने र भइरहेका रोजगारी पनि गुमिरहेको वा गुम्न सक्ने स्थिति अर्को चिन्ताको विषय हो।
नेपालमा अहिले काम गर्ने उमेर समूह (१५-५९ वर्ष) को संख्या देशको जनसंख्याको ६२ प्रतिशत छ। युवा भनिने उमेर समूह (१६-४० वर्ष) को संख्या ४२.५ प्रतिशत छ। देश विकासका लागि चाहिने युवा जनशक्तिको सन्दर्भमा नेपाल अहिले लाभको स्थितिमा छ। तर मूल प्रश्न, यो युवा जनशक्तिलाई चाहिने रोजगारी कहाँ र कसरी सिर्जना गर्ने भन्ने हो।
श्रमप्रधान उद्योगको विकास नगरी नेपालले रोजगारीको समस्या धेरै हल गर्न सक्ने अवस्था छैन। त्यसमा पनि अधिक रोजगारी सिर्जना गर्न धेरै उत्पादनमूलक उद्योग विकास गर्न जरूरी छ। यो कति सम्भव छ?
अहिलेसम्मको अनुभवका आधारमा भन्नुपर्दा त्यस्तो सम्भावना कम देखिन्छ। पछिल्लो समय जुत्ता, चप्पल, लुगा, कपडा जस्ता वस्तु उत्पादन गर्ने केही उद्योग फस्टाएको देखिए पनि ती सीमित छन्। यीमध्ये कति उद्योग प्रतिस्पर्धी र दीगो छन् भन्ने पनि प्रश्न छ।
गैर-उत्पादनमूलक उद्योगमा निर्माण क्षेत्रले रोजगारी सिर्जनामा योगदान गर्न सक्छ। तर नेपालमा यसका केही समस्या छन्।
पहिलो समस्या, निर्माण क्षेत्रमा हुने रोजगारी स्थायी प्रकृतिको हुँदैन। एउटा संरचना निर्माणमा खटिएको श्रमिक सो काम सकिएपछि अर्को काम पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा हुन्छ।
दोस्रो, अधिकांश नेपाली श्रमिकहरूमा राम्रो सीपको अभाव छ। निर्माण क्षेत्रमा अलि सीपमूलक, माथिल्लो तहको काममा भारतीय कामदारले रोजगारी पाएका छन्। नेपाली कामदारमा सीप अभावको समस्या निर्माणमा मात्र होइन, प्रायः सबै क्षेत्रमा छ। सीपयुक्त नेपाली श्रमिकका हकमा पनि विदेशी श्रमिकको उत्पादकत्व र उनीहरूको ज्यालाको तुलनामा पछाडि नै हो कि जस्तो देखिन्छ।
आजको दुनियाँमा उपयुक्त सीप र गुणस्तरीय शिक्षा रोजगारीका सामान्य सर्त हुन्। हरेक क्षेत्रमा, जुनसुकै तहको कामका लागि पनि प्रविधि प्रयोग हुने भएकाले राम्रो शिक्षा र सीप नभएका मानिसले काम पाउने सम्भावना साँघुरिँदै गएको छ। त्यसैले आजको प्रमुख आवश्यकता भनेको गुणस्तरीय शिक्षा र युवाहरूको सीप विकास हो। नेपाली युवालाई देशभित्रै वा विदेशमा राम्रो रोजगारी दिलाउन यो अपरिहार्य छ।
लोकरिझ्याँइपूर्ण राजनीतिका लागि सामाजिक सुरक्षाका नाममा राष्ट्रले थेग्न नसक्ने भत्ता बाँड्ने होडबाजी गर्नुभन्दा र रोजगार कार्यक्रमका नाममा उपलब्धि नै हासिल नहुने अल्पकालीन काममा पैसा छर्नुभन्दा. सीप विकासका उपयुक्त कार्यक्रम सञ्चालन गर्न जरूरी छ।
नेपालमै धेरै रोजगारी सिर्जना गर्न सरकार, निजी क्षेत्र र सरोकारवालाले सक्दो र उपयुक्त प्रयास गर्नुपर्नेमा दुई मत छैन। अर्थतन्त्रमा उल्लेख्य योगदान दिन सक्ने तर तुलनात्मक रूपमा कम रोजगारी सिर्जना हुने सेवा क्षेत्र (जस्तै सूचना प्रविधि) को विकासमा ध्यान दिँदै गर्दा रोजगारी हिसाबले महत्त्वपूर्ण क्षेत्रलाई पनि सँगसँगै अघि बढाउन जरूरी छ।
एउटा यथार्थ के भने, सानो आकारको अर्थतन्त्र, रोजगारमूलक क्षेत्रमा तुलनात्मक रूपले कम प्रतिस्पर्धी क्षमता, र युवाको ठूलो जनसंख्याका कारण देशमै सबैका लागि यथेष्ट रोजगारी सिर्जना गर्न धेरै गाह्रो छ।
अर्को यथार्थ के भने, जति युवा रोजगारीका लागि विदेशिएका छन्, ती सबै नेपालमा रोजगारी नै नपाएर गएका होइनन्। लगभग उस्तै कामका लागि राम्रो कमाइ हुने देखेर गएका हुन्। र, नेपालमा उनीहरूको ठाउँ विदेशी कामदारले लिएका छन्। नेपालमा सबै किसिमको कामको सम्मान नहुनाले पनि कतिपय युवा यहाँ काम उपलब्ध भए पनि गर्न रूचाउँदैनन्। बरू त्यस्तै काम गर्न विदेश जान्छन्।
नेपालमा अहिले रोजगारीका लागि युवा विदेशिएको जुन चिन्ता छ, त्यो एक हदसम्म जायज छ। तर यसलाई धेरै अतिरञ्जित गर्नु हुँदैन। बरू धन्य मान्नुपर्छ कि नेपालको बढ्दो युवा जनसंख्याका लागि विदेशमै भए पनि रोजगारी उपलब्ध छ। र, नेपाली युवा त्यहाँ गएर काम गर्न पाएका छन्।
आजको भूमण्डलीकृत विश्वमा विदेशी मुलुकहरूमा श्रमिकको माग र नेपालमा युवा श्रमशक्तिको उपलब्धताले नेपाली श्रम बजारमा एक प्रकारको सन्तुलन कायम गरेको छ। यसले गरिबी घटाउन सघाएको छ र आर्थिक असमानता धेरै बढ्न दिएको छैन।
यसको अर्थ हामी सन्तुष्ट भएर बस्ने भन्ने होइन। वैदेशिक रोजगारीमा रहेका थुप्रै समस्या र जोखिम नजरअन्दाज गर्न मिल्दैन। नेपालमा विकाससम्बन्धी योजना र कार्यक्रम बनाउँदा रोजगारीलाई प्राथमिकतामा राख्नैपर्छ। सबै प्रकारको कामलाई सम्मान गर्ने सामाजिक चेतको विकास गर्नैपर्छ। तर हामीले के कुरा स्वीकार गर्नुपर्छ भने, कम्तीमा पनि अबको अझै केही वर्ष रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताबाट धेरै नेपाली युवा मुक्त हुने छैनन्।
(लेखक पुष्प शर्मा इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज, नेसनल युनिभर्सिटी अफ सिंगापुरमा भिजिटिङ सिनियर रिसर्च फेलोको रूपमा कार्यरत छन्)
ट्विटरः @puspasharma