नेपालको दक्षिणमा रहेको भारतमा साम्प्रदायिक राजनीतिले देश हाँकिरहेको छ।
बंगलादेश अब झन्डै एकदलीय अनुदार लोकतन्त्र बनिसक्यो। बर्मामा नृशंस सैन्य सत्ताले गाउँका गाउँ बमवर्षक विमानले ध्वस्त पारिरहेको छ। थाइल्यान्डको लोकतन्त्र राजा र सेनाको इशारामा सीमित हुन बाध्य छ। क्याम्बोडियामा ३८ वर्ष शासन गरेका हुन सेनले अघिल्लो वर्ष मात्रै छोरा हुन मानेटलाई सत्ता सुम्पेका छन्।
पश्चिमपट्टि पाकिस्तान निरन्तर संकटको ढिकमा रहेको दशकौं बित्न लागिसक्यो। अफगानिस्तान फर्केपछि महिलालाई कार्यालय र शिक्षालयबाट लखेटेको तालिबानले हालै महिलाहरूलाई ढुंगाले हानीहानी सार्वजनिक रूपमा मृत्युदण्ड दिने अभ्यास सुरू गर्ने उर्दी जारी गरेको छ।
अलि पश्चिमतिर हेर्ने हो भने अरबमा नागरिकमाथिको दमन उत्कर्षमा छ। इरानले पछिल्लो वर्ष मात्रै थोरै स्वतन्त्रता माग्ने किशोरकिशोरी र युवकयुवतीलाई सडकमा मारेर नपुगेर धमाधम मृत्युदण्ड दिइरहेको छ। सिरियाका सहरहरू गृहयुद्धले ध्वस्त छन्, द्वन्द्व अझै रोकिएको छैन।
लेबनान त संकटको ढिकबाट पनि खसिसकेको छ। इजरायलले गाजामा नरसंहारको नयाँ रेकर्ड बनाइरहेको छ। युक्रेनमा रूसले उस्तै काम गरिरहेको छ।
त्यहाँबाट दक्षिणतिर लाग्ने हो भने लिबियामा राज्य धराशायी भएको दशक कटिसक्यो। ट्युनिसियामा युवाहरूले सयौंको संख्यामा आत्मदाह गर्न थालेको दशक बितिसक्यो। सुडान र इथियोपियाबारे अन्तर्राष्ट्रिय मिडियामा खासै समाचार नआए पनि अहिले सम्भवतः संसारकै ठूला नरसंहारहरू र मानवीय विस्थापन भइरहेका ठाउँ हुन्।
कंगो र मध्य अफ्रिकी गणतन्त्र दशकौंदेखि निरन्तरको द्वन्द्वमा छन्। माली र बुर्किना फासोजस्ता देशहरूमा कायम गरिबी र विग्रहलाई सैन्य कूहरूले झनै गहिर्याइदिएका छन्। युगान्डाको लोकतन्त्रमा सांसदहरूले हालै समलिंगी सम्बन्धका लागि मृत्युदण्डसम्म दिन सकिने कानुन बनाएका छन्।
दक्षिण अफ्रिका र सेनेगलजस्ता लोकतन्त्रले जरा गाडेका देशमा समेत त्यो व्यवस्था संकटको संघारमा छ। रोबर्ट मुगाबेको प्रस्थान भएपछि समेत गरिबी र दमन उस्तै रहेको जिम्बाब्वेमा लोकतन्त्र मौलाउने कुरै भएन।
सानो क्यारेबियन टापू देश हाइटीमा शक्तिशाली ग्याङहरूले राज्यलाई परास्त गरेको अब महिनौं दिन बितिसकेको छ।
संसारमै लोकतान्त्रिक गणतन्त्रका जन्मस्थल भनिने अमेरिका र फ्रान्सजस्ता देशमै लोकतन्त्र अभूतपूर्व परीक्षणबाट गुज्रिरहेको छ। नाजीवादी विचारलाई जरैदेखि उखेलेर समावेशी लोकतन्त्र स्थापित भएको भनिएको जर्मनीमा हिटलरलाई आदर्श मान्ने दलले अहिले सत्ता संस्थापनलाई चुनौती दिइरहेको छ। मुसोलिनीको इटलीमा त नवफासीवादी पार्टीकी जोर्जिया मेलोनी अहिले प्रधानमन्त्री नै छन्।
यो सबबीच उदारवादी विश्व व्यवस्थाको भविष्य के हो? अब नेपाली समाज कता जाला? भारतमा विकसित घटनाक्रमले हामीलाई कस्तो प्रभाव पार्लान्?
प्रस्तुत छ, यस्तै विषयमा विश्लेषक हरि शर्मासँग गरेको कुराकानीः