आफूले प्रचारप्रसार गर्ने गरेको विचार र त्यसका नाममा भइरहेको अभ्यासमा तालमेल नमिलेपछि कार्ल मार्क्सकी कान्छी छोरी एलेनोरले आफ्नो जीवन नै समाप्त पार्ने निर्णय गरेकी थिइन्।
यो सन् १८९८ को घटना थियो।
आफ्नै पिता, पिताका मित्र फ्रेडरिक एंगेल्स, जीवनसाथी (श्रीमान होइन) एडवर्ड एभलिंग, पार्टीका अन्य कमरेड तथा श्रमजीवी जनतासँगको सम्बन्ध, विचार तथा व्यवहारमा रहेको खोक्रोपनबाट आजित भएर उनले ४३ वर्षको उमेरमा विष सेवन गरेकी थिइन्।
आफूलाई सर्वहाराको पक्षमा लड्ने जोदाहा कार्यकर्ता ठान्ने तीक्ष्ण बुद्धिकी धनी, प्रतिभाशाली, सिर्जनशील, जुझारू तथा प्रखर जेनी जुलिया एलेनोर मार्क्सले भोगेको यो विरोधाभासको वियोगान्तक कहानी आजको दिनसम्म पनि दोहोरिरहेको छ।
आफूलाई सच्चा मार्क्सवादी अभियन्ता ठान्नेहरूमा एलेनोरकै जस्तो चरम निराशा त नहोला, तर आजका दिनमा मार्क्सका नाममा संसारभर जुन किसिमका राजनीतिक गतिविधि भइरहेका छन्, ती गर्व गर्न लायक पनि छैनन्।
यो बिडम्बना कहिलेसम्म रहला?
हाम्रोमा मार्क्सवादका नाममा भइरहेका क्रियाकलाप उदेक लाग्दा छन्। कथित कम्युनिस्टहरू यसैलाई समाजवादको उत्कृष्ट संस्करणका रूपमा प्रस्तुत गर्छन्। सबैलाई थाहा छ, समाजवादले आजका समस्या सम्बोधन गर्दैन। तैपनि यसको कारोबार मज्जाले भइरहेको छ।
यहाँको चुनावी बजारमा हुने जस्तो समाजवादको व्यापार सायद अरू कुनै मुलुकमा हुँदैन।
हाम्रा दल खासगरी कम्युनिस्ट पार्टीका कामकारबाही र तिनका नेताहरूको आचरणसँग मार्क्सवादको कुनै साइनो छैन। तैपनि ती दलहरूले मार्क्सवाद बेचिरहेका छन् र पर्याप्त ग्राहक बटुलिरहेका छन्। झट्ट हेर्दा यो झुटा कारोबार जस्तो, ठगी जस्तो लाग्न सक्छ।
तर होइन।
क्रेता र बिक्रेता दुबैलाई के किन्दैछु वा के बेच्दैछु भन्ने थाहा छ भने त्यसलाई ठगी मान्न सकिँदैन। दलहरूलाई थाहा छ, यो मार्क्सवाद होइन र मतदातालाई पनि यो कुरा थाहा छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख १६ गते 'नेपाल लगानी शिखर सम्मेलन, २०२४' को उद्घाटन भाषणमा आफूलाई उदार अर्थतन्त्रको पक्षमा उभ्याए।
उनले भने, 'हाम्रो उदार आर्थिक नीतिप्रतिको अटल प्रतिबद्धता जीवन्त र लगानीकर्तामैत्री व्यापार वातावरणको जग हो।'
यस्तो भाषण गर्दैमा विदेशी लगानी ओइरिने त थिएन तर 'वचनम् किम् दरिद्रम्' लाई शिरोधार्य गर्दै उनले बोलिदिए। आफू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष भएको उनलाई मतलब भएन। आफूले सञ्चालन गरेको सशस्त्र राजनीतिक अभियानमा झन्डै सत्र हजार जनताको बलिदानीबाट प्राप्त संविधानमा आफैले 'समाजवादोन्मुख अर्थतन्त्र' लेखिएको पनि उनलाई मतलब भएन। त्यहाँ समाजवाद उच्चारण गर्दा विदेशी बिच्किन्छन् भन्ने उनलाई लागेको हुन सक्छ।
भूमि, श्रम, पुँजी लगायत सबै किसिमका उत्पादनका साधन जनताको सामूहिक नियन्त्रणमा रहने भनी मार्क्सले बताएको सर्वहारा अधिनायक हुने राजनीतिक प्रणाली आफ्नो पार्टीको आदर्श हो भन्ने कुरालाई उनले त्यहाँ प्रकाश पारेनन्। हाम्रा चलाख प्रधानमन्त्रीले त्यस्तो गल्ती गर्दैनन्।
देशकै ठूलो कम्युनिस्ट पार्टी एमालेको तेवर झन् अलग किसिमको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ असार २९ मा राम जन्मभूमि वीरगन्जभन्दा केही पश्चिम ठोरीमा रहेको दाबी गरे। आफ्नो भनाइ पुष्टि गर्न त्यसपछि गरिएका तामझाम झनै रमाइलो थियो।
बालुवाटारमा ओलीले राम जन्मभूमिबारे बोलेको झन्डै एक वर्षपछि चितवनको माडी नगरपालिका अयोध्यापुरीको मन्दिरमा रामनवमीको अवसर पारेर राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो।
पहिला प्रधानमन्त्री निवास बालुवाटारमा ती पूर्ण कदका मूर्तिमा विशेष पूजा गरियो अनि पशुपतिमा स्वस्तिवाचन र मन्त्रोच्चारण गरी काठमाडौंबाट सुरू भएको रथयात्रा साँझ देवघाट पुगेको थियो।
भारतमा घोर दक्षिणपन्थी नेता लालकृष्ण आडवाणीले गरेको रथयात्राकै झल्को दिने गरी यहाँ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको 'श्री सीताराम शोभा रथयात्रा' देवघाट पुगेपछि मूर्तिलाई गण्डकीमा स्नान गराइयो। पूजा आराधना गरी देवघाट क्षेत्र विकास समितिले स्वस्ति वाचनसहित टोलीलाई माडीका लागि बिदाइ गर्यो।
कोरोना महामारीको त्रास बाँकी नै थियो। माडीको कार्यक्रममा प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्री, सांसद लगायतसहित हजारौं मानिस सहभागी थिए। उनीहरूले रामसीताको जयजयकार गरे। कार्यक्रममा मन्त्री ढकालले माडीको अध्योयापुरीमा भगवान रामको जन्म भएको यथेष्ट प्रमाण प्राप्त भएको दाबी गर्दै गुरूयोजना बनाएर थप भौतिक पूर्वाधार निर्माण गर्ने आश्वासन दिएका थिए।
यी सबै गतिविधि द्वन्द्वात्मक भौतिकवादको जगमा उभिएको मार्क्सवाद पछ्याउने भनिएको कम्युनिस्ट पार्टीलाई सुहाउने किसिमको थिएन। तर धार्मिक राष्ट्रवादको बजार ठूलो देखेपछि दलको नाममा कार्ल मार्क्सलाई झुन्ड्याएको भए पनि एमाले त्यतैतिर लहसिएको बुझ्न गाह्रो छैन।
ओली तिनै व्यक्ति हुन् जसले ३ फागुन २०७४ मा प्रधानमन्त्री पदको शपथ लिने क्रममा 'ईश्वर' शब्द उच्चारण गर्न इन्कार गरेका थिए। त्यो बेला उनले 'जनता' को नाममा पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
संसारभरका सामूहिकतावादी दर्शन पछ्याउने मार्क्सवादी, समाजवादी, राष्ट्रवादी, साम्यवादी फासीवादी, पहिचानवादी दलहरूलाई जता फल पाक्यो, त्यतै चरी नाच्नुपर्ने बाध्यता हुन्छ। किनभने वर्तमान समाजले सामना गरिरहेको वास्तविक चुनौती पहिचान गर्ने, त्यसको चरित्र बुझ्ने र त्यसलाई सम्बोधन गर्ने उपाय सामूहिकतावादीहरूसँग हुँदैन। त्यसैले उनीहरू हरदम आम मतदाताले खपत गर्ने चल्तीका एजेन्डालाई पुँजीकृत गर्ने प्रयासमा हुन्छन्।
यो चलन स्वयं मार्क्सले चलाएका थिए।
समर्थकहरू मार्क्सको देवत्वकरण गर्छन्। उनलाई उत्कृष्ट दार्शनिक, अग्रणी समाजशास्त्री, अब्बल अर्थशास्त्री, उत्तम राजनीतिज्ञ, इतिहासका श्रेष्ठ ज्ञाता ठान्छन्। मार्क्सलाई तर्कहरूको संसारमा थप एक तर्क गर्ने व्यक्तिका रूपमा सीमित गर्न चाहँदैनन्। मार्क्सको निष्कर्षमा खोट देख्दैनन्।
वेदका ऋचा, उपनिषदका महावाक्य जस्तै बहुसंख्यक भक्तहरू मार्क्सका महावाक्यलाई पछ्याउँछन्। ती महावाक्यमा निहित अर्थलाई बुझ्ने ल्याकत र फुर्सद उनीहरूमा हुँदैन। तर त्यो महावाक्यलाई दोहोर्याएको दोहोर्याइ गरेर उग्रध्वनि सिर्जना गर्छन्। अनि त्यो ध्वनिले खास विषयलाई ओझेल पारिदिन्छ।
पहिलो उदाहरण दर्शनको क्षेत्रमा छ।
मार्क्सले भनेको एउटा बहुप्रचारित वाक्य छ, 'विश्लेषण त हेगेलले ठीकै गरेका हुन्। तर उनको टाउकोले टेकेर उभिएको विश्लेषणलाई मैले खुट्टाले टेकेर उभिने बनाइदिएँ।'
मार्क्सको यो आत्मश्लाघी अभिव्यक्तिलाई भक्तहरू मन्त्रको रूपमा पाठ गर्छन्।
हेगेल को थिए, उनको विश्लेषण के थियो, त्यो विश्लेषण कसरी टाउकोले टेकेर उभिएको थियो, मार्क्सले कसरी खुट्टाले उभिने बनाए — बुझ्ने प्रयास थोरैले गर्छन्।
यो प्रसंगलाई जटिल नबनाई सामान्य शब्दमा भन्न सकिन्छ — मान्छेले म के हुँ, को हुँ, मेरो उद्देश्य, उपादेयता के हो, मेरो वरिपरि के भइरहेको छ, किन भइरहेको छ भनेर धेरै अघिदेखि घोत्लिन थालेको थियो। कम्तीमा पनि फिरन्ते युगको उत्तरार्द्धमा सोचविचार गर्ने चलन विकसित भइसकेको थियो।
सबै मानव सभ्यतामा तर्क-वितर्कको परम्परा थियो। सृष्टि, मानव अस्तित्व, यसको उपादेयता, कार्यकारणको चर्चा गर्दा पूर्वीय परम्परामा बहुसंख्यक चिन्तक अदृश्य अधिभौतिक पदार्थलाई जोड दिन्थे भने पाश्चात्य परम्परामा दृश्यमान भौतिक पदार्थलाई जोड दिन्थे।
चिन्तन पद्धतिको यही शृंखलामा जर्मन दार्शनिक जर्ज विल्हेम फ्रेडरिक हेगेल (१७७०–१८३१) ले सत्य निरूपणका लागि द्वन्द्वात्मक विधि प्रयोग गरेर मानव चेतनाबाट उसको अवस्था निर्धारण हुने निष्कर्ष निकालेका थिए। तर मार्क्सले आर्थिक शक्तिहरूको द्वन्द्वबाट समाज चलायमान हुन्छ भने।
त्यसैले मार्क्सको निष्कर्षलाई द्वन्द्वात्मक भौतिकवाद भनियो र हेगेलकोलाई द्वन्द्वात्मक आदर्शवाद।
मार्क्सले वर्ग संघर्षको चर्चा गरेका छन्।
यस सन्दर्भमा पनि उनको एउटा बहुचर्चित वाक्य छ — संसारभरका मजदुरहरू हो, एक होऔं! तिमीसँग गुमाउनका लागि जञ्जीरबाहेक केही छैन। जित्नका लागि सारा संसार छ!
मार्क्स र फ्रेडरिक एंगेल्सले लेखेको कम्युनिस्ट घोषणापत्रमा यो वाक्य छ। घोषणापत्रमा पुँजीवादी व्यवस्थालाई उखेलेर फाल्न यस्तो आह्वान गरिएको हो।
यो आह्वान पछाडिको तर्क शोषक पुँजीपति (बुर्जुवा) र शोषित सर्वहारा (प्रोलिटेरियट) वर्गमा समाज विभाजित हुन्छ भन्ने हो। सामान्य बुद्धिले पनि यस किसिमको सपाट विभाजन गलत ठहर्याउन सकिन्छ। यो विभाजन तथ्यपरक छैन भन्न सकिन्छ।
यो विभाजनले तत्कालीन युरोपलाई पनि मुस्किलले समेट्थ्यो। मार्क्सकै समयमा पनी उनको दुई समूहमा विभाजन गर्ने तरिकालाई खण्डन गरिएको थियो। उनले भनेजस्तै टुप्पोमा रहने सानो धनीहरूको समूह र पिँधमा रहने अति गरिबहरूको बीचमा ठूलो मध्यम वर्ग गरी तीन वटा समूह हुन्छ भनिएको थियो।
तर मार्क्सले जिद्दी गरी नै रहे। भुल सुधार गरेनन्। कालान्तरमा मध्यम वर्ग पनि सर्वहारामै ओर्लिन्छ भने। उनका अनुयायीले त्यसैलाई अगाडि बढाइरहे।
अहिले त झन् आर्थिक वर्ग दुई वा तीन होइन, ६ वटा हुन्छ भन्न थालिएको छ। अत्यन्तै धनी, धनी, उच्च मध्यम वर्ग, निम्न मध्यम वर्ग, गरिब र अत्यन्तै गरिब गरी ६ समूहमा गरिने यो विभाजन व्यावहारिक पनि देखिन्छ। सम्पत्ति, आय तथा उपभोगका आधारमा मान्छेको समूहलाई श्रेणीबद्ध गर्दा २, ३, वा ६ वटा बनाएर पुग्दैन, थुप्रै श्रेणी बनाउपर्छ भन्ने अर्थशास्त्री पनि छन्।
अर्को, वर्तमान आधुनिक आर्थिक दुनियाँमा मान्छेलाई श्रम बेच्ने सर्वहारा र सम्पत्तिहरूको मालिक हुने पुँजीपतिका रूपमा विभाजन गर्न पनि सकिँदैन। एउटै मान्छे एकै समयमा श्रमिक पनि बन्न सक्छ र मालिक पनि। यसैगरी मान्छे जीवनको एउटा कालखण्डमा श्रमिक र अर्को खण्डमा मालिक बन्न सक्छ। अझ मानवीय जीवनका आर्थिकबाहेक सांस्कृतिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक लगायत अन्य आयामहरूलाई मार्क्सको विश्लेषणले छुँदै छुँदैन।
समाजलाई यसरी आर्थिक वर्गमा मात्र विभाजन गरेर बुझ्ने, यसका चुनौतीलाई सम्बोधन गर्न खोज्ने तरिका कति कमजोर होला?
हामी अनुमान गर्न सक्छौंं।
समाजमा नयाँ प्रश्नहरू आएका छन् — रंगभेद, जातिभेद, लैंगिक विभेद, आर्थिक असमानता, लैंगिक अल्पसंख्यकको अधिकार, धार्मिक अल्पसंख्यक, अपांगता भएकाहरू, बाल अधिकार, ज्येष्ठ नागरिकको अधिकार, पशु अधिकार, पर्यावरणीय अधिकार आदि।
यी प्रश्नहरूको जबाफ बुर्जुवा र सर्वहाराको विभाजनबीच निकाल्न सकिएला?
क्रान्तिकारी भनिएको मार्क्सवादी विश्लेषणले यस्ता मुद्दाहरूलाई सही ढंगले उठाउने र समाधानतर्फ लैजाने गर्दैन। बरू समस्या गिजोल्छ र अझ विकराल बनाउँछ।
'भक्त' हरू मार्क्सलाई ठूला अर्थशास्त्री मान्छन्। पुँजीवादले आफ्नो चिहान आफै खनेको हुन्छ भन्ने उनको महावाक्यलाई पटकपटक दोहोर्याउँछन्।
खासमा मार्क्सले अतिरिक्त मूल्य सिद्धान्तलाई आधार बनाएर पुँजीवादी उत्पादन प्रणालीले निरन्तरता पाउन सक्दैन भनेका थिए। अनुयायीहरू अतिरिक्त मूल्य सिद्धान्तलाई मार्क्सको आविष्कार मान्छन्। यो पनि गलत हो।
वास्तवमा उत्पादित वस्तुको मूल्य निर्धारण कसरी गर्ने भन्ने विषयको चर्चा पाश्चात्य र पूर्वीय परम्परामा प्राचीन कालदेखि नै चल्दै आएको थियो। पश्चिममा ग्रीक रोमन दार्शनिकहरूले उत्पादन के हो र यसको मूल्य कसरी तय गर्ने भन्ने सम्बन्धमा आआफ्ना तर्क दिएका थिए। यता पूर्वमा पनि शुक्र, बृहस्पति, याज्ञवल्क, कौटिल्य लगायत आचार्यहरूले मूल्य निर्धारणका सम्बन्धमा तर्क पेस गरेका थिए।
अठारौं शताब्दीको मध्यतिर स्कटिश दर्शनशास्त्री एडम स्मिथले उत्पादनका साधन (भूमि, श्रम, पुँजी) तथा उत्पादित वस्तुको मूल्य निर्धारणलाई संगठित रूपमा प्रस्तुत गरेका थिए।
पहिले पनि वस्तुको अन्तर्निहित मूल्य, लागत मूल्य, न्यायोचित मूल्य, विनिमय मूल्य जस्ता अवधारणा माथि छलफल नभएको होइन।
स्मिथले मूल्यका सबै खाले अवधारणाको चर्चा गरेपछि निष्कर्ष निकालेका थिए — श्रम सबै वस्तुको विनिमय मूल्य मापन गर्ने वास्तविक आधार हो।
पुँजीवादका पिता समेत भनिने एडम स्मिथको पुस्तक 'एन इन्क्वाइरी इन टू द नेचर एन्ड कजेज अफ वेल्थ अफ नेसन्स' को पहिलो अध्यायमा श्रम विभाजन र विशिष्टीकरणको चर्चा गरिएको छ। पाचौंमा वस्तुको लागत मूल्य तथा विनिमय मूल्यको चर्चा छ।
उनले सबै किसिमका सम्पत्ति सिर्जनाको आधारभूत तत्व श्रम भएकाले ज्यालाहरूको कुल योगलाई राष्ट्रको धन मान्नु पर्छ भनेका थिए। त्यसैले राष्ट्रको धन बढाउन श्रम विभाजन तथा विशिष्टीकरणका माध्यमबाट उत्पादकत्व बढाउनु पर्ने सुझाव दिएका थिए।
तथापि स्मिथको वस्तुको मूल्य निर्धारण सम्बन्धी विश्लेषणलाई पूर्ण मानिएको छैन। स्मिथपछि लगत्तै अर्का अर्थशास्त्री डेभिड रिकार्डाेले सापेक्षित लागत र अन्तर्राष्ट्रिय व्यापारका आधारमा वस्तुको बजार मूल्य निर्धारण हुने विश्लेषण अघि सारे।
स्मिथ वा रिकार्डोको मूल्य निर्धारण सम्बन्धी विश्लेषण केबल उनीहरूको धारणा थियो। व्यवहारमा श्रमको लागतले मात्रै वस्तुको मूल्य निर्धारण गर्दैन। आधुनिक संसारमा यस किसिमको विश्लेषणले काम गर्दैन भन्ने कुरा पछिका थुप्रै अर्थशास्त्रीहरूले पुष्टि गरेका छन्।
मार्क्सले त झन् वस्तुको मूल्य निर्धारण श्रमबाट मात्रै निर्धारण हुने ठोकुवा गरे।
उनले अगाडि भने, 'वस्तु उत्पादनमा जति श्रम लागेको हुन्छ, त्योभन्दा कम पारिश्रमिक पुँजीपतिले श्रमिकलाई दिन्छ।'
उदाहरणका लागि कुनै वस्तुको उत्पादन लागत पाँच सय रूपैयाँ हो भने सो वस्तु बिक्री गरेर पुँजीपतिले श्रमिकलाई दुई सय रूपैयाँ मात्र दिन्छ र तीन सय रूपैयाँ आफै राख्छ, नाफाको रूपमा।
यहाँ तीन सय रूपैयाँ वस्तु उत्पादनको अतिरिक्त लागत (मूल्य) हो। अर्को शब्दमा पुँजीपतिको नाफाको एक मात्र स्रोत त्यही अतिरिक्त मूल्य हो। श्रमिकलाई कमभन्दा कम ज्याला दिएर मात्र पुँजीपतिले नाफा बढाउन सक्छ। त्यसैले यो अन्यायी व्यवस्था अनन्त कालसम्म जान सक्दैन भन्ने मार्क्सको विश्लेषण थियो।
मार्क्सले यही अतिरिक्त मूल्य सिद्धान्तलाई आधार बनाएर उत्पादन, विनिमय, उपभोग, बचत, लगानी तथा पुनः उत्पादनको तालमेल नमिल्दा आन्तरिक कारणबाटै पुँजीवाद नष्ट हुन्छ भन्ने प्रक्षेपण गरेका थिए। मार्क्सको यो पुँजीवाद नष्ट हुन्छ भन्ने प्रक्षेपण भव्य विचार महल थियो तर यसको जगको रुपमा रहेको अतिरिक्त मूल्य सिद्धान्त भने निकै कमजोर।
अनुयायीहरू मार्क्सका विचारलाई मौलिक मान्छन्। विचारको इतिहाससँग मतलब नभएकाहरूलाई यस्तो लाग्नु स्वाभाविक हो। तर उनीहरूले के हेक्का गर्दैनन् भने, उनीहरूले जस्तै मार्क्सबाहेकका सबैको विचार खारेज गर्ने हो भने मार्क्सवाद छेउ न टुप्पोको हुन्छ।
द्वन्द्वात्मक भौतिकवाद, वर्ग संघर्ष, सामूहिकतावाद, श्रमको मूल्य सिद्धान्त, समाज विकासको सिद्धान्त लगायत कुनै पनि विश्लेषण मार्क्सबाट सुरू भएर मार्क्समै अन्त्य हुँदैनन्। मार्क्स स्वयंले आफूभन्दा अगाडिका र आफ्ना समकालीन चिन्तकहरूले प्रस्तुत गरेका तर्क खण्डन गर्दै आफ्नो निष्कर्ष प्रस्तुत गरेका छन्।
सोही क्रममा कम्युनिस्ट मेनिफेस्टोमा भयानक बिम्बहरूको प्रयोग गरिएको छ। ती बिम्बले युवा पाठकलाई कतै तर्साउँछ, कतै रोमाञ्चित बनाउँछ, कतै आशा देखाउँछ, कतै निराश बनाउँछ। तर समग्रमा र अधिकांश सन्दर्भमा धरातलीय यथार्थभन्दा धेरै पर लैजान्छ। थ्रिलर फिल्मको कथा जस्तो गरी लेखिएको छ कम्युनिस्ट मेनिफेस्टो।
यसमा व्यापक रूपमा भाषाको कुटील प्रयोग भएको छ। यही प्रयोगले मान्छेको ठूलो संख्यालाई उल्लेख्य समयसम्म गुमराहमा पारेको हो। मार्क्स एकातिर भोको पेट भर्न उत्पादन बढाउनु पर्छ भन्थे भने अर्कोतिर श्रम विभाजन र विशिष्टीकरण मार्फत उत्पादकत्व बढाउने अवधारणालाई बुर्जुवाहरूको षड्यन्त्र मान्थे।
मान्छेलाई अमानव बनाउने यो षड्यन्त्रको नाम थियो 'एलियनेसन'।
यस अनुसार उत्पादित वस्तु, श्रम र सहकर्मीहरूबाट श्रमिकहरू टाढा हुन्छन्। त्यो षड्यन्त्रले उसलाई अवैयक्तिक, लगाव नभएको, मायामोह नभएको, जड, प्राणहीन वस्तुमा घटाउँछ। कामदारका लागि सारा अस्तित्व नै निस्सार हुन्छ।
बुर्जुवा व्यवस्थामा मान्छे स्वतन्त्र छन् भनिन्छ तर पुँजीपतिले लाए-अह्राएको बाहेक अरू कामै गर्न नसकिने संरचना बन्छ। दास युग, सामन्ती युगमा जस्तै मान्छे फेरि दास हुन्छन् भन्ने किसिमले पुँजीवादी समाजको भयावह चित्रण गरिएको छ कम्युनिस्ट मेनिफेस्टोमा।
मार्क्स एकातिर ब्रह्मान्डको रचना स्थिर चरित्रका परमाणुहरूबाट भएको हुन्छ भन्ने अणुवादमा विश्वास गर्थे भने अर्कोतिर विपरीत शक्तिहरूको निरन्तर द्वन्द्वले परिवर्तन सुनिश्चित गर्छ भन्थे। द्वन्द्व सदा चलिरहन्छ भन्ने मार्क्सले ऐतिहासिक भौतिकवादको नियम अनुसार समाज निश्चित बाटोमा हिँड्न अभिशप्त हुन्छ भन्ने दाबी गरेका थिए।
उनका अनुसार आदिम साम्यवाद, सामन्त युग, पुँजीवाद, समाजवाद हुदै साम्यवादसम्म पुग्ने संसारको नियति हुन्छ। अर्थात द्वन्द्वात्मक भौतिकवादको शाश्वत नियम साम्यवादमा पुगेर समाप्त हुन्छ। पौराणिक युगको भाग्यवाद वा कर्मवाद जस्तो सुनिने मार्क्सको यो नियतिवादलाई धेरैले पत्याए। उनका अनुसार यसभन्दा फरक किसिमले कोही कसैले समाजको चित्रण गर्छ भने त्यसलाई 'फर्जी चेतना' को उपज मान्नु पर्छ।
जीवित तत्व स्थिर हुँदैन। अपवादबाहेक मान्छेको व्यवहार उद्देश्यमूलक हुन्छ। मान्छेको चरित्र र व्यवहार सामान्यतया अनुमानयोग्य हुन्छ तर सतप्रतिशत यकिन गर्न सक्ने गरी अनुमानयोग्य हुँदैन। यसले अनपेक्षित नतिजा ल्याउन सक्छ भन्ने कुरालाई मार्क्सवादीहरू मान्दैनन्।
संक्षेपमा भन्दा, भाषा प्रयोग गरेर आफै अलमलिने र २० औं शताब्दीमा विश्वको झन्डै आधा जनसंख्यालाई अलमल्याउन मार्क्स सफल भए। मार्क्स मात्रै होइन, अरू समाजवादी पनि मानव समाज विकासमा वाधक भए। मार्क्सकै कम्युनिस्ट मेनिफेस्टोमा पाँच किसिमका समाजवादीको चर्चा छ। त्यसयता थुप्रै समाजवाद नामधारीहरू आए।
भारतमा समाजवाद आधा शताब्दीभन्दा बढी प्रगतिको वाधक बन्यो, चीनमा ३० वर्ष। नेपालमा राजनीति गर्ने लगभग सबै दल आफूलाई सच्चा समाजवादी देखाउन खोज्छन्। तर समाजवाद असली वा नक्कली जे भए पनि, मानव विकासका लागि श्रेष्ठ विकल्प होइन। समाजवादको भ्रमबाट जति छिटो छुटकारा पाउँछौं, त्यति छिटो प्रगति पथमा हामी हुनेछौं।
हाम्रो समाजमा गहिराइमा पुगेर कुराहरू सोच्ने, बुझ्ने र निष्कर्षमा पुग्ने चलन छैन। जब कुनै विषयमा छलफल हुन्छ, ठोस तथ्य, ठोस विचारको आलोकमा हुनु पर्छ। संसारमा उक्त विषयमा के के विचार छ, के के भनिएको छ, के के गरिएको छ भन्ने जानकारी लिनुपर्छ।
यसो गर्न सक्यौं भने हामीले छिट्टै समाजवादबाट छुटकारा पाउने छौं। मार्क्सकी कान्छी छोरी एलेनोरको जस्तो चरम निराशा हामीले झेल्नु पर्ने छैन।