सम्भवतः इतिहासकै कुख्यात अर्थशास्त्री हुन् थोमस माल्थस।
आज पनि अर्थशास्त्र र समाजशास्त्रमा 'नव-माल्थसवादी' कहलाउनु भनेको अपमान र बेइज्जतीको विषय हो।
आखिर उनले त्यस्तो के भनेर वा लेखेर गए त जसले उनलाई कुख्यात बनायो?
संसारभर जलवायु संकटबारे अनेक कोणबाट बहसहरू भइरहँदा माल्थसको जीवन र कीर्तिबारे चर्चा गर्नु सान्दर्भिक छ भन्ने मलाई लाग्छ।
उनको सिद्धान्त थियो — पृथ्वीको जमिनले सीमित मानिसलाई मात्रै धान्न सक्छ। त्यसैले जनसंख्या बढ्दै जानु भनेको भोकमरी अवश्यम्भावी हुनु हो। मानिसले आफ्नो जनसंख्या वृद्धिदर नरोक्ने हो भने रोग र भोकमरीहरूले अनिवार्यतः त्यस्तो वृद्धि रोकिदिने छन्।
सर्सर्ती हेर्दा उनको जनसंख्यासम्बन्धी सिद्धान्तमा उल्टोपाल्टो केही देखिँदैन।
आखिर प्राणी जगतमा त्यस्तो भइरहन्छ, रोग र खानेकुराको अभावले जनावरहरूको संख्या नियन्त्रणमा राख्छन्।
माल्थसको मृत्युपछि संसारमा रासायनिक मल र विषादीहरूको आविष्कार भयो। कृषिको यान्त्रिकीकरण भयो। जमिनको उत्पादकत्व बढ्यो। र, जनसंख्या बढे पनि भोकमरीहरू कम भएर गए।
यो सब हुनुअगाडि सन् १८३४ मै मृत्यु भएका उनको यसमा के दोष?
समाजमा अक्सर के हुन्छ भने, चिन्तक र दार्शनिकहरूले सिद्धान्तहरू प्रतिपादन गर्छन्। शासकहरूले ठुल्ठूला सामाजिक प्रयोगहरूमार्फत तिनको परीक्षण र कार्यान्वयन गर्छन्।
माल्थसका सबभन्दा कट्टर अनुयायीहरू थिए युरोप र अमेरिकाका 'सोसल डार्बिनिस्ट' भनिने मुख्यतः धनी श्वेत मानिसहरू।
उनीहरू ठान्थे — जंगलमा झैं समाजमा पनि जो बलियो छ ऊ बाँच्छ, निर्धो मर्छ। त्यसमा रोनाधोना गर्न वा अन्यायको जिकिर गर्न आवश्यक छैन।
औद्योगिक क्रान्तिले सीमित मानिसलाई धनी बनाइरहँदा बहुसंख्यक मानिसहरू सहरका उद्योगमा श्रमिकका रूपमा रोजगार त हुँदै थिए तर तिनको जीवन दयनीय थियो। स्वास्थ्य चौपट थियो, औसत आयु कम थियो। बच्चा जन्माउने दर बढी थियो। तिनलाई सम्भ्रान्तहरू सरह सुविधा र अवसरहरू दिएर माथि उठाउनभन्दा 'यिनीहरूको प्रजनन दर बढी छ, त्यसैले आयु कम र मृत्युदर पनि बढी हुनु स्वाभाविक हो' भनेर पन्छाउन शासकहरूलाई सजिलो थियो।
जब युरोपका त्यस्ता शासकहरूले संसारभर उपनिवेश फैलाए, सोसल डार्बिनिजम र माल्थसका सिद्धान्तहरू ती साम्राज्यहरूका क्रुर र चरम विभेदकारी कामहरूको बचाउ गर्न प्रयोग भए।
दोस्रो युद्धको बीचमा भारतको बंगालमा बीसदेखि तीस लाख मानिस मर्ने गरी भएको भोकमरीका बेला अन्न पठाएर वा भारतबाट अन्नको निर्यात कम गरेर मानिसको ज्यान बचाउनुको सट्टा तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए — भारतीयहरू खरायोझैं बच्चा जन्माउँछन्। त्यसैले त्यहाँ राहतको अनाज पठाउनुको अर्थ नै के छ र?
त्यस्तो प्रवृत्तिलाई त्रासद उत्कर्षमा पुर्याएका थिए जर्मनीका नाजी शासक हिटलरले। माल्थसको नाम नलिए पनि यहुदीहरूलाई सखाप पार्ने कामको बचाउमा उनले जनसंख्या वृद्धिसम्बन्धी माल्थसकै जस्ता तर्कहरू गर्थे।
आज संसारमा माल्थस, चर्चिल र हिटलर छैनन् तर उनीहरूका जस्ता विचारको धङधङी बाँकी छ।
जलवायु संकटले घेर्दै ल्याउँदा 'इको-फासिस्ट' भनिने दक्षिणपन्थी अभियन्ताहरू पश्चिमा देशमा अरू देशबाट हुने आप्रवासन रोक्न हरसम्भव प्रयास गरिरहेका छन्। कति देशमा त त्यहाँको नागरिक बनिसकेका फरक नश्लका मानिसहरूलाई पनि लखेटेर पर्यावरणीय समस्या कम गर्ने अभियानहरू समेत चल्दै छन्।
त्यसैले आजका दिनमा हामीले 'माल्थस गलत थिए' भनेर पुग्ने अवस्था छैन। संसारभर जलवायु संकटसित जुध्दै गर्दा जलवायु न्यायको मुद्दा पनि उत्तिकै सशक्त रूपमा उठाउनु आवश्यक छ।
माल्थसले जे भने र उनीपछि आएका शासकहरूले उनका कुराको जे अर्थ लगाए, जेजति कुकर्म गरे, तिनलाई एक छिन किनारामा राख्ने हो भने, के जनसंख्यासम्बन्धी उनको सिद्धान्तमा दम थियो त? कतै उनले प्रक्षेपण गरेको भोकमरी रासायनिक मल र विषादीहरूको आविष्कारका कारण पछि सरेको मात्रै त होइन?
त्यस्तै, बीसौं शताब्दीको अवधिमा झन्डै पौने दुई अर्बबाट ६ अर्ब पुगेको, अनि अहिले ८ अर्ब कटिसकेको मानव जनसंख्या के भविष्यमा पनि अहिलेकै जस्तो खाद्यान्नको प्रचुरताबीच बढिरहन सम्भव होला?
कि जलवायु संकट यो सब हिसाब-किताबलाई उलटपुलट पारेर अभूतपूर्व भोकमरीहरू ल्याउने सँघारमा छ?
आउनोस् हेरौं यसै विषयमा केन्द्रित यो भिडिओ-
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)