साहित्यको हाँस्यविधा अध्यापन गर्न एक शिक्षक कक्षामा प्रवेश गरे।
कक्षा शान्त नभएसम्म ती नयाँ व्यक्ति विद्यार्थीका अघि चुपचाप ठिंग उभिइरहे।
हाँस्यरस पढाउने शिक्षक बेढंगका देखिन्थे। त्यो निरस आगमन विद्यार्थीलाई धेरै मनपरेको थिएन।
यस्तो अप्ठ्यारो परिस्थितिमा ती शिक्षक विद्यार्थीहरूका अनुहार हेर्दै अचानक मुस्कुराए। अनि क्रमशः खित्खिताउँदै हाँस्न थाले।
यो हर्कत देखेर सुरूमा केही विद्यार्थी अनौठो मान्दै हाँसे। अनि त्यहाँ हाँसोको फोहोरा विस्फोट भयो।
कक्षा पूरै हाँसोमय भयो। हरेकले एकअर्काको हाँस्ने शैली हेर्दै झन् हाँस्न थाले। अध्यापक पनि विद्यार्थीसँग खुब हाँसे। साँच्चिकै सबै मस्त हाँसे।
एक छिनमा अध्यापकले आफ्नो हाँसो रोके, गम्भीर भाव लिए। कक्षा फेरि शान्त बन्यो।
उनले भने, 'मैले सबैलाई हाँस्यविधाको परिचयात्मक ज्ञान दिएँ, यत्ति हो आजको पाठ। आज हाँस्यविधाको अन्तर्य सबैले अनुभव गरियो। एक गृहकार्य दिन्छु। हामीले कक्षामा किन मन खोलेर हाँस्यौं मनन गरेर आउनू। हामीलाई कुन तत्वले हँसाएको रहेछ पत्ता लगाउनू। अनि अर्को कक्षामा यस विधामा छलफछ गरौंला।'
ती शिक्षक पाठ्यक्रम योजनाका पोख्त डिजाइनर थिए। उनले कक्षामा शिक्षण प्रक्रियालाई उल्टाइदिएका थिए। पहिला हाँसो अनि मात्र त्यस विधाको विषयगत अध्ययन।
यस लेखमा शिक्षणको एक प्रभावशाली प्रणालीबारे छलफल गर्नेछु। लेखको अन्त्यतिर यो शैलीको प्रयोग गर्ने प्रक्रिया बताउनेछु।
उल्लिखित घटनाका तीन पक्ष छन् —
पहिलो, लक्ष्यसहितको शिक्षण।
दोस्रो, शिक्षणको उल्टो प्रक्रिया।
र, तेस्रो, अन्त्यलाई केन्द्रमा राखेर गरिने अध्यापन प्रक्रियाको संरचना।
ती शिक्षकले हाँस्यविधाको मर्मलाई आधार मानेर यसको जीवन्त अनुभव दिने अभिप्रायका साथ कक्षामा प्रवेश गरे। जबसम्म विद्यार्थीलाई आफ्नो लक्ष्य स्पष्ट हुँदैन, तबसम्म शैक्षिक दिशा निर्देश हुँदैन। लक्ष्य भेदका लागि गरिएको प्रारम्भले शिक्षण प्रक्रिया र उपलब्धिलाई एक रेखामा ल्याउँछ। यो लक्ष्यसहितको शिक्षण हो।
उक्त विधाको वौद्धिक पक्षमा विश्लेषण वा छलफल नगरी एकैपल्ट यसैको वास्तविक अनुभवबाटै सुरूआत गरिनु शिक्षणको उल्टो प्रक्रियाका रूपमा लिन सकिन्छ।
यो कक्षाकोठा भित्रकै एक शैक्षिक प्रतिलोम वा 'फ्लिप्ड' कक्षाको नमूना हो।
सिकाइको अन्त्य वा उपलब्धिबाट कार्ययोजना निर्माण गर्दै आएर सोअनुरूप मूल्यांकनका आधार राखेर अध्यापन गरिने शैलीले विद्यार्थीहरूलाई उपयुक्त मार्गमा निर्दिष्ट गर्छ।
यो उल्टो योजना वा 'ब्याकवार्ड प्लानिङ' हो।
ग्रान्ट विगिन्स र म्याकटिघेले प्रतिपादन गरेका एक उत्कृष्ट अध्यापन संरचना 'अन्डरस्ट्यान्डिङ बाइ डिजाइन’ वा युबिडी उल्टो योजना प्रयोग गर्ने प्रणालीको रूपमा प्रसिद्ध छ।
यस रणनीतिले पाठ्यक्रम, मूल्यांकन र शिक्षणलाई प्रक्रियाका रूपमा प्रयोग गर्दै विद्यार्थीको उपलब्धिलाई पूर्वनिर्धारित गरी यसैको प्रणालीअनुरूप पाठ्यक्रम डिजाइन गर्छ।
उनीहरू भन्छन् — युबिडी यसरी पढाउने भन्ने विधिशास्त्र होइन र यो शैक्षिक दर्शन पनि होइन। यो त शिक्षकहरूलाई शिक्षण डिजाइन गर्न आधार दिने प्रणाली मात्र हो जसले उनीहरूलाई अध्यापन गर्नुअघि नै ज्ञानको अन्तिम र बृहत् क्षेत्रको सम्पूर्ण दृश्य देखाइदिन्छ र त्यसलाई केन्द्रविन्दु बनाएर विपरीत दिशाबाट कार्ययोजना तयार गर्न मार्ग प्रशस्त गरिदिन्छ।
यस संरचनामा सिकाइ प्रक्रियालाई तीन चरणमा स्थापित गरिन्छ।
पहिलो, परिभाषित र पूर्वनिर्धारित लक्ष्यबाट शैक्षिक प्रक्रियाको सुरूआत गर्ने।
दोस्रो, उक्त सिकाइको विशिष्ट मानदण्ड खडा गर्ने।
र, तेस्रो, उपरोक्तलाई आधार मानेर ध्येयसहित उपयुक्त विधिको चयन गर्ने।
युबिडीमा आधारित पाठ्यक्रम डिजाइनका प्रणाली अत्यन्त व्यावहारिक र प्रगतिशील छन्। यिनले शिक्षाका अनुक्रमलाई पनि प्रगतिशील बनाउँछन् र शिक्षकहरूले यसको प्रयोग गरी दक्ष पाठ्यक्रम (करिकुलम) डिजाइनर बन्न सक्छन्।
विद्यार्थीको अनुभावात्मक बुझाइका विन्दुबाट यसको संरचना गरिन्छ र उनीहरूको सिकाइलाई अन्य क्षेत्रमा हस्तान्तरण गर्ने पक्षलाई समेटिन्छ। यसको अर्थ, बहुआयामिक तवरले वास्तविक संसारमा ज्ञान व्यावहारिक रूपमा प्रयोगमा आउने हो।
विद्यार्थीले उपलब्धि प्राप्त गर्नु नै यसको मूल ध्येय हो र यसैलाई नै अभिष्ट अभिप्राय बनाई रणनीतिको बाटो कोरिन्छ।
युबिडी र फ्लिप्ड कक्षाबीच निकटतम् सम्बन्ध हुन्छ। युबिडीले विद्यार्थी उपलब्धिलाई करिकुलम डिजाइनको केन्द्रमा राख्छ भने फ्लिप्ड कक्षाले शिक्षण प्रक्रियालाई अनुभावात्मक र अन्तर्क्रियात्मक शैलीमा उतार्छ।
यसलाई केही उदाहरणहरूबाट प्रस्ट पार्छु।
कक्षा दुईको सामाजिक शिक्षाअन्तर्गत समुदाय अध्ययनलाई उदाहरण लिऔं। यहाँ शिक्षकले कक्षाकोठामा समुदायका बारेमा विषयगत अध्यापन गर्नुअघि नै विद्यार्थीलाई समुदायमै लगेर यसको अनुभावात्मक खुलासा गरिदिन्छन्। यो फ्लिप्ड कक्षा वा कक्षाकोठा बाहिरको कक्षा हो।
फ्लिप्ड कक्षाको योजना गर्दा युबिडीको संरचना प्रयोग गरिन्छ जसभित्र विद्यार्थीलाई वास्तविक संसारको अवस्थामा यसका विविध आयामसँग अन्तर्क्रिया गराउने ध्येय राखेर उपलब्धिमूलक करिकुलम डिजाइन गरिन्छ। यसको मूलमा अभिष्टसहितको लक्ष्य निर्धारण हुन्छ।
यहाँ शिक्षकले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा — यो प्रक्रियाको अभिप्राय वा ध्येयमा रहन्छ।
ध्येयको ख्याल गरिएन भने विद्यार्थीले समुदायमा गरेको अन्तर्क्रिया औपचारिकतामा मात्र सीमित हुन्छ। र, शिक्षण जीवन्त बन्दैन। यही जीवन्तता कायम गर्न युबिडीको शैक्षिक संरचनालाई कार्यगत बनाइन्छ।
अर्को उदाहरण — फ्लिप्ड कक्षाका नमूनामध्येको एक प्रकृतिमा आधारित शिक्षण प्रणाली हो। यसमा कक्षाकोठाभित्र हुने बौद्धिक र विषयगत ज्ञान प्रक्रियालाई न्यूनीकरण गरेर विद्यार्थीलाई व्यावहारिक रूपमै प्रकृतिमा तल्लीन बनाइन्छ। उनीहरू वनजंगलमा खेल्छन्, रमाउँछन् र प्रकृतिको सत्य अन्वेषण गर्छन्।
यसका लागि पाठ्यक्रममा आधारित बृहत् योजना विद्यार्थीहरूलाई शिक्षकहरूले प्रकृतिमा तल्लीन गराउनुअगावै बनाउँछन्। शैक्षिक उपलब्धि निर्क्यौल गर्छन् र मूल्यांकनका आधार खडा गर्छन्। शिक्षकहरू विद्यार्थीले कुन उपलब्धि हासिल गर्दैछन् भन्नेमा चनाखो भई यस्ता फ्लिप्ड कक्षाका ज्ञान र विधिका प्रक्रियालाई विशिष्ट रूपमा निर्देशित गर्छन्।
उल्लेख्य कुरो के छ भने, बालबालिका जंगलमा गएर खेल्छन् र रमाउँछन्, तर फ्लिप्ड कक्षाका संगठित रणनीति प्रयोग भएनन् भने पाठ्यक्रममा आधारित ज्ञान चाहिँ सिक्दैनन्। वा, प्रकृतिको क्रमबद्ध अनुसन्धान नगरी यत्तिकै अन्तर्क्रिया गर्दैमा निर्धारित विशिष्ट शैक्षिक उपलब्धि हात लाग्दैन।
फ्लिप्ड कक्षाका योजना नियमित कक्षाभित्रका पाठ अनुक्रमभन्दा साधारणतया जटिल हुन्छन् र यसका लागि शिक्षकमा योजनाको दक्षता र प्रक्रियागत विशेषज्ञता अत्यावश्यक छ। पाठ्यक्रमको डिजाइन, लक्ष्य, मूल्यांकनका आधार र सही योजनाबिना फ्लिप्ड कक्षा प्रभावकारी हुँदैनन्।
यस कारण विद्यालय, शिक्षक र अभिभावकले बुझ्नुपर्ने कुरा के छ भने, क्रियाशील सिकाइ निर्दिष्ट हुन्छ। योजनामा आधारित हुन्छ। र, शैक्षिक उपलब्धि केन्द्रित हुन्छ। तर क्रियाकलापका लागि क्रियाकलाप मात्रले विद्यार्थी सतहमा रहन्छन्। शिक्षालाई यस्तो दुष्चक्रमा विद्यालयहरूले फस्न दिनु हुँदैन।
शिक्षकहरूले थोरै प्रयत्न गरेमा युबिडीमा आधारित पाठ्यक्रम डिजाइनलाई यसको संरचनामा ढाल्न सक्छन्।
अब यसका तरिका उल्लेख गर्छु।
यसको पहिलो खुड्किलोमा शिक्षकले विद्यार्थीमा स्थापित गर्नुपर्ने ज्ञानलाई प्रस्टसँग परिभाषित गरिन्छ।
यो परिभाषाबाट प्राप्त उक्त ज्ञानको मूलभूत अवधारणालाई प्रमुख प्रश्नका रूपमा निर्माण गरिन्छ। यही प्रश्नमूलक खोजलाई अभिष्ट अभिप्राय बनाई शैक्षिक संरचना निर्माण गरिन्छ।
उदाहरण — कक्षा दुईका विद्यार्थीले समुदायको अध्ययन गर्दा अवधारणामा आधारित मूल प्रश्नले विद्यार्थीहरूलाई त्यहाँका विभिन्न पेसागत कार्यले कसरी जनजीवनलाई सरल बनाएको छ भन्ने ज्ञानतर्फ निर्देशित गर्छ।
बुझिराखौं, यहाँ कुन पेसाका मानिसहरूले के के काम गर्छन् भनिएको छैन।
अवधारणालाई खोजमूलक आधार मान्दा विद्यार्थीहरूले समुदायका मानिसहरूले कस्ता सेवा दिन्छन् भन्ने ज्ञान स्वतः लिन्छन्।
यस मूल अवधारणागत प्रश्नले उनीहरूलाई कसरी भन्नेतर्फ लैजान्छ र वैचारिक क्षमताको अभिवृद्धिलाई खुराक पुग्छ।
दोस्रो चरणमा, उक्त अवधारणामूलक प्रश्नको सिकाइका आधार तयार गरिन्छ। यसअन्तर्गत विद्यार्थीको सिकाइका प्रमाणहरूलाई पहिला नै पहिचान गरिन्छ। यो भनेको विद्यार्थीले कस्ता प्रमाणहरू पेस गरेमा हामीले विद्यार्थीले सही अवधारणा पक्डिएका छन् भन्नेमा विश्वस्त हुने आधार हो।
यस अवस्थामा विद्यार्थीका विकसित विचारलाई मूर्त रूपमा अनुवाद गर्ने प्रमाणका खाका तयार गरिन्छ। यस चरणमा विद्यार्थी सूचना संकलनमा मात्र सीमित नभई उनीहरूले ती सूचनाको प्रयोग अवधारणा निर्माणमा गरेको पक्षलाई शिक्षकहरूले सुनिश्चित गर्छन्।
उदाहरण — अध्ययनपश्चात समुदायका मानिसले गर्ने पेसाको प्रस्तुतीकरण, समुदायको कलात्मक अभिव्यक्ति, विभिन्न पेसाको भूमिका निर्वाह गर्ने वा अवधारणालाई एकीकृत गरिएको बोधको आख्यानजस्तै विद्यार्थीले उत्पादन गरेका अनेकौं सिर्जनात्मक प्रमाणहरूलाई यसमा राखिन्छ।
तेस्रो चरणमा सिकाइको प्रक्रियालाई दोस्रो चरणको प्रमाणसँग संरेखित गरी विधिको रणनीति तयारी गरिन्छ।
उदाहरण — विद्यार्थीलाई अन्तर्क्रिया र अवलोकनका लागि समुदायमा लगेर फ्लिप्ड कक्षाको वास्तविक अनुभव प्रदान गरिन्छ। यस अवस्थामा सिकाइ अत्यन्तै प्रभावशाली र निर्दिष्ट बन्छ।
अकाट्य तथ्य याद राखौं, यत्तिकै समुदायमा घुमाउन लग्नु, र लक्ष्य, कार्य योजना र त्यसैका निहित अभिप्रायसहित अध्ययनको क्षेत्रमा लगिनुले शैक्षिक उपलब्धिमा विशाल अन्तर ल्याउँछ।
यसपश्चात विद्यार्थीहरूको अवधारणामूलक प्रश्नको सिकाइका आधारमा प्राप्त प्रमाणहरू मूल्यांकन गरिन्छ, प्रकाशन गरिन्छ। यसका साथै विद्यार्थीले दिएका समुदायको लिखित आख्यानका रूब्रिक्सको प्रयोग गर्दा वा यस्तै अन्य मापनको रणनीति प्रयोग गर्दा नै सिकाइ र निर्माणात्मक मूल्यांकन पनि अविछिन्न चलिरहेको हुन्छ।
यसरी फ्लिप्ड कक्षाका अनुभवलाई युबिडी प्रणाली र ब्याकवार्ड प्लानिङका माध्यमबाट विद्यार्थीका अवधारणाको विकासका लागि करिकुलम डिजाइन गरिन्छ।
आशा छ, शिक्षकहरूले यसलाई व्यवहारमा ल्याउनु हुनेछ।
ती कुशल डिजाइनर शिक्षकसँग हाँस्यविधा अध्ययन गरेका विद्यार्थीहरूले पनि अवश्य मानव अभिव्यक्तिको यस्तो सुन्दर पक्षलाई आत्मसात गरे होलान्!
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)