अहिले संगीता जिम्बा अमेरिकाको आइडाहो राज्यस्थित काल्डवेल सहरमा रहेको कलेज अफ आइहाडोमा स्नातक गर्दै छिन्। उनी बिजनेस एडमिनिस्ट्रेसन मेजर र कम्प्युटर साइन्स, थिएटर र प्रोफेसनल फाउन्डेसनलाई माइनर विषयका रूपमा पढ्दै छिन्।
केही महिनाअगाडि मात्र उनी 'सेमेस्टर एट सी' मार्फत् १२ वटा देशमा पुगेर फर्किइन्। अमेरिका जानुअगाडि उनले जर्मनीस्थित युडब्लुसी रोबर्ट बोस्क कलेजबाट इन्टरनेसनल ब्याकालोरियट (आइबी) डिप्लोमा गरेकी थिइन्।
संगीताको जीवनको उडान माथिका वाक्यहरू पढेजस्तो सहज भने थिएन।
सन् २०१३ अप्रिलदेखि दुई वर्षसम्म म संगीताको विज्ञान शिक्षक थिएँ।
त्यति बेला उनी कक्षा ८ र ९ मा थिइन्। म टिच फर नेपालमार्फत पहिलो समूहको फेलोको रूपमा उनको स्कुल पुगेको थिएँ।
उनको जीवनमा देखापरेको कायापलटको मूल कारण मैले तीन वटा देखेको छु।
पहिलो, संगीताको अथक मेहनत।
दोस्रो, मेरा सहकर्मी शिक्षक शिव कँडेलले उनलाई देखाइदिएको बाटो।
तेस्रो, युडब्लुसी छात्रवृत्तिबाट उनले पाएको अवसर।
अरू सहायक कारण पनि छन् — अन्य शिक्षकको प्रेरणा र सहयोग, परिवारको साथ र सहयोग।
यो लेखमा म संगीताको कथा यसकारण प्रस्तुत गर्दै छु ताकि — संगीता जिम्बा अपवाद होइन, नियम बनुन्। हाम्रा शैक्षिक संस्थाहरू त्यसरी बनुन् कि संगीता जिम्बाले जर्मनी र अमेरिकामा पाएको अवसर अन्य बालबालिकालाई आफ्नै देशमा मिलोस्। हामीले सबै बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच र अवसरहरू दिन सकौं। अनि त उनीहरूले आफ्नो बाटो आफैं बनाउने छन्।
संघर्षले भरिएको बाल्यकाल
विभिन्न व्यक्तिहरूको जीवनी पढ्दा संगीता मनमनै सपना बुन्ने गर्थिन् — म त्यो छोरी हुन्छु जसले आमा, स्कुल र गाउँलाई गर्व महसुस गर्ने बनाउँछ।
उनलाई थाहा थियो, त्यो सपना सहज थिएन। उनलाई थाहा पनि थिएन कसरी त्यस्तो मानिस बन्ने।
संगीताले सानै उमेरमा आफ्ना बुबा गुमाइन्। बुबासँग उनका सम्झनाहरू नै छैनन्। आमाले रातदिन मेहनत गरेर उनलाई हुर्काउनुभयो।
भविष्यमा के गर्ने, उनलाई थाहा थिएन। शिक्षकले कक्षामा भविष्यको सपनाबारे सोध्दा उनी कहिले डाक्टर बन्छु भन्थिन्, त कहिले व्यवसाय गर्छु भन्थिन्। आफूले विभिन्न पेसा-व्यवसायबारे थाहा पाएसँगै उनको सपनाहरू पनि परिवर्तन भइरहन्थे।
त्यो समयको आफ्नो सोच सुनाउँदै उनी भन्छिन्, 'म के गर्न र कतिसम्म गर्न सक्छु भन्ने थाहा थिएन। झन् यति वटा देश पुग्छु भन्ने मेरो सपनामा पनि थिएन।'
संगीताको सपनाको क्षितिज ललितपुरको चापागाउँसम्म थियो।
उनले देखेकी थिइन्, उनको गाउँका दाइदिदीहरू कि चापागाउँमा थिए, कि त रोजगारीको सिलसिलामा विदेश। केटीहरू कतिको १५-१६ वर्ष नपुग्दै बिहे हुन्थ्यो। कतिपय केटाहरू पढाइ छाडेर काम गर्न चापागाउँ आउँथे र पासपोर्ट बनाउने उमेर भएपछि विदेश कुदिहाल्थे।
संगीताकी आमाले पढाइको महत्व बुझ्नुभएको थियो। त्यसैले बालखैमा विवाह गर्ने दबाब उनमा आएन। तर उनको बाल्यकाल संघर्ष र कठिनाइमा बितेको थियो।
बिहान झिसमिसेमै उठेर संगीता गाईवस्तुलाई घाँस र स्याउला काट्न नजिकैको जंगल जान्थिन्। एक-डेढ घन्टापछि जंगलबाट उनी आफ्नो ज्यान नै छोपिने गरी घाँसको भारी बोकेर फर्किन्थिन्। गोठ सफा गर्थिन्। गाईवस्तुलाई घाँस हालिदिन्थिन्। अनि भान्सामा पस्थिन्। आमा पनि बिहानैदेखि घरको काममा व्यस्त हुनुहुन्थ्यो।
उनी खाना बनाउँथिन्, खान्थिन्। गाउँमा पानी अभाव थियो। कहिलेकाहीँ तीस-चालीस मिनेट हिँडेर गाग्रोमा पानी बोक्न जान्थिन्।
बिहान साढे नौ बजेसम्म उनी थकित भइसक्थिन्। तर पनि उनी स्कुलको एसेम्ब्लीको घन्टी बज्नुअगाडि पुग्थिन्। कहिलेकाहीँ बिहान खाना खाएर जान भ्याउँथिन् भने कहिले भोकै हुन्थिन्। दिउँसो टिफिन ब्रेकमा मात्र खान जान्थिन्।
दिनभरि स्कुल सकेर घर फर्किन्थिन्। घरमा उनलाई केही न केही कामले पर्खिरहेको हुन्थ्यो। बेलुका फेरि खाना बनाउँथिन्। यति गर्दासम्म ८ बजिसक्थ्यो। त्यसपछि बल्ल उनी पढ्न थाल्थिन्। होमवर्क सक्दा र अन्य कुरा पढ्दा राति ११-१२ बज्थ्यो।
घरमा भाउजू आएपछि उनको कामको चाप अलिक घट्यो। मेहनत भने उस्तै थियो।
यस्तै अविरल मेहनत र कठिनाइमा बाल्यकाल बिताए पनि सन् २०१५ मा उनले एसइई पास गरिन् र सन् २०१६ मा ललितपुरकै चापागाउँस्थित बज्रबाराही उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन विषय पढ्न थालिन्।
एउटा अवसरले फेरिएको बाटो
कक्षा ११ को परीक्षा दिँदै गर्दा उनी र उनका अरू साथीलाई विद्यालयमा गणित पढाउने शिक्षक शिव कँडेलले फोन गरेर युनाइटेड वर्ल्ड कलेजको छात्रवृत्तिबारे बताए।
शिव सरबाट संगीताले थाहा पाइन्, यो छात्रवृत्ति पाइयो भने विभिन्न देशमा पढ्न पाइन्छ।
तर उनको मनमा आवेदन दिऊँ कि नदिऊँ भन्ने दोधार थियो।
उनी सोच्थिन्, 'म जस्तो दुर्गम गाउँको मान्छे, एसइई मा पनि राम्रो नम्बर आएको छैन, राम्रोसँग अंग्रेजी लेख्न र बोल्न आउँदैन, कम्प्युटरमा टाइप पनि गर्न आउँदैन, मैले कसरी छात्रवृत्ति पाऊँला र!
शिव सरले भने उनलाई उत्प्रेरित गरिरहे। आफूले भन्दा धेरै शिव सरले आफूमाथि विश्वास गरेको देखेर अचम्मित भइन्।
तैपनि तय गरिन् — नाम त के निक्लेला र! तैपनि प्रयास चाहिँ गरिदिन्छु।
आवेदनको प्रक्रियामा संगीतालाई सहयोग गर्न शिव सरले अन्य शिक्षक र व्यक्तिलाई पनि जोड्दै गए। संगीताले आवेदन दिइन्। युडब्लुसी नेपालको टिमले आवेदन दिनेहरूलाई 'जज' नगरी सहयोग गरेको देखेर उनी आज पनि सम्झिँदै भावुक हुन्छिन्।
संगीता भन्छिन्, 'म जस्तो गाउँमा हुर्केको र सहर राम्रोसँग नचिनेको मान्छेलाई पनि कुनै जज नगरी उहाँहरूले सहयोग र हौसला दिनुभयो। नबुझेको कुरा बुझाइ दिनुभयो। त्यसले पनि आत्मबल बढाएको थियो।'
विभिन्न चरण पार गर्दै उनले छात्रवृत्तिमा नाम निकालिन्।
उनले पाएको अवसरबाट उनको परिवारमा खुसी छायो र गाउँभरि हल्ला फैलियो। संगीताकी आमा भावुक हुनुभयो। सन् २०१८ अगस्टमा गाउँबाटै उनलाई बिदाइ गर्नुभयो।
जर्मनीको पहिलो उडान
उनले डर र रोमाञ्चकता दुबै लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक पाइला राखिन्। उनका दिदी र दाइले भावुक हुँदै बिदाइ गर्नुभयो।
उनको साथमा उनीभन्दा सिनियर ब्याचकी शान्ता नगरकोटी थिइन्। संगीता उनकै पछि लाग्दै गइन्। तर अध्यागमन अधिकृतले संगीतालाई धेरै बेर रोकिदिए। युडब्लुसी नेपालका निर्देशकलाई फोन गर्न लाएपछि बल्ल अगाडि बढ्न पाइन्।
संगीता कतार एयरवेजको जहाजमा बसिन्। जहाजले टेक अफ गर्दै गर्दा उनको मनमा पहिलोपटक चढेको डर भन्दा पनि भविष्यको डर हाबी हुँदै गयो। त्यही डरका साथ उनी जर्मनीको फ्राइवर्ग पुगिन्।
त्यहाँ उनको अर्को संघर्ष सुरू भयो। उनलाई अंग्रेजी बुझ्न निकै कठिन हुन्थ्यो। बुझे पनि जबाफ दिन झन् कठिन।
पहिलो कक्षामा उनी साह्रै निराश भइन्। एक ब्रिटिस प्रोफेसरले वातावरण विज्ञानको कक्षा लिएका थिए। उनको अंग्रेजी लवज संगीताले केही पनि बुझिनन्।
यसले संगीतालाई साह्रै तनाव भयो। उनलाई धेरै कक्षामा के भइरहेको छ, केही थाहा हुँदैन थियो। कोर्स छान्न पनि कठिन भएको थियो। तर उनले आफ्ना फ्रोफेसरहरूलाई कनिकुथी भए पनि आफूले केही नबुझेको कुरा सुनाउँथिन्।
अंग्रेजीको सिकाइ अनुभवबारे उनी भन्छिन्, 'मैले त स्कुलमा गणित नेपालीमा पढेको, त्यसमा पनि राम्रो अंक आएको थिएन। अनि मलाई संघर्ष भयो। तर युडब्लुसी टिमले निकै सहयोग गर्यो। उनीहरूले कहिल्यै पनि मलाई यसलाई अंग्रेजी आउँदैन भनेर गिज्याउने वा हेप्ने गरेनन्। तिमी सक्छौ भन्दै हौसला दिए। मलाई अंग्रेजी सिक्नमा आत्मबल दिए।'
उनी थप भन्छिन्, 'एक महिनामा मैले काम चलाउने गरी अलिअलि अंग्रेजी बुझ्न थालेको थिएँ। तीन महिनासम्म भने आत्मविश्वास आइसकेको थियो।'
कलेजकै क्रियाकलाप अन्तर्गत उनी खेलकुद, सामुदायिक सेवा, बाइक सर्भिसिङ आदिमा संलग्न भइन्। दोस्रो वर्षमा एउटा वृद्धाश्रममा गएर स्वयंसेवा गरिन्। जर्मनीकै हाइडलवर्गमा एउटा कुकिङ सम्बन्धी परियोजनाको नेतृत्व गरिन्। इतिहास र संस्कृति बुझ्न बोस्निया पुगिन्।
यस्ता विभिन्न क्रियाकलापमा सहभागी हुँदा आफूमा आएको परिवर्तन देखेर उनी दंग थिइन्। मानिस र संसारलाई हेर्ने उनको दृष्टिकोण फराकिलो हुँदै थियो।
आफ्नो सिकाइ सुनाउँदै संगीता भन्छिन्, 'मलाई त नेपालकै विविधताबारे पनि धेरै थाहा थिएन। एउटै जाति भएको गाउँमा हुर्किएकी थिएँ। फरक देश, भाषा र रहनसहन भएका साथी र मानिसहरू भेटेर, उनीहरूको कथा सुन्दा सबैप्रति सम्मान गर्ने भावनाको विकास भयो।'
अमेरिकाको अर्को उडान
डिप्लोमा सकेपछि उनले युडब्लुसी छात्रवृत्तिका लागि फेरि आवेदन दिइन्। उनले अमेरिकाको आइडाहो राज्यस्थित काल्डवेल सहरमा रहेको कलेज अफ आइहाडोमा स्नातक गर्न छात्रवृत्ति पाइन्।
त्यस बेलासम्म अंग्रेजीमा उनको नियन्त्रण भइसकेको थियो।
उनलाई छात्रवृत्तिले आधारभूत खर्च टार्न मात्र पुग्थ्यो। अरू खर्च जुटाउन भिसा अन्तर्गत पाउने हप्ताको बीस घन्टा काम गर्छिन्। यस अन्तर्गत उनले क्याम्पसमै म्युजियम र कार्यक्रम व्यवस्थापनमा काम गरिन्। हाल क्याम्पस सेफ्टी र एलमनाई विभागमा काम गर्छिन्।
यसका लागि उनलाई जर्मनीमा विभिन्न क्रियाकलापमा सिकेको सीप उपयोगी भएको छ।
सेमेस्टर एट सी
स्नातक अध्ययनकै क्रममा एकदिन उनले सेमेस्टर एट सीबारे थाहा पाइन्।
'पानीजहाजमा बसेर कक्षा लिँदै विभिन्न देश पुग्ने र सिक्ने अवधारणा मेरा लागि रोमाञ्चक थियो,' यस कार्यक्रमबारे थाहा पाएको क्षण सम्झिँदै उनी भन्छिन्।
यो कार्यक्रममा छनौट हुन उनलाई मनैदेखि रहर थियो। पहिलो वर्ष नै उनले आवेदन दिइन्, छानिइन् तर पूरा छात्रवृत्ति पाइनन्।
दोस्रो वर्ष आवेदन दिइन् र डेभिस फाउन्डेसन अन्तर्गत पूरा छात्रवृत्तिमा छनौट भइन्।
उनको कलेजबाट हरेक वर्ष एक वा दुई जना मात्र छनौट हुन्थे। कैयौं अमेरिकी र अन्य देशका विद्यार्थीमध्येबाट छनौट हुनु उनका लागि 'सरप्राइज' थियो।
अनि उनी समुद्री यात्रामा निस्किइन्।
'विश्व अध्ययन' सबैका लागि अनिवार्य कोर्स थियो। उनले अरू ३ वटा कोर्स छानिन्; फरक संस्कृतिका ध्वनि र संगीतको सम्बन्ध, यात्रा लेखन र अन्तर्राष्ट्रिय व्यापार।
यात्रा क्रममा कक्षाहरू जहाजमै सञ्चालन हुन्थे भने पढेका कुरा हेर्न, बुझ्न उनीहरू जहाज बाहिर निस्किन्थे।
सन् २०२३ सेप्टेम्बर पहिलो हप्तादेखि डिसेम्बर अन्तिम हप्तासम्म उनी १२ वटा देशका धेरै सहरहरूमा पुगिन्। यो उनका लागि एक अद्भूत अनुभव थियो। एरिस्टोटल, सोक्रेट्सबारे स्कुलदेखि सुनेकी थिइन्, उनीहरूकै देश ग्रीसमा पाइला राख्नु उनका लागि गर्वको कुरा थियो।
ग्रीससँगै उनी बेल्जियम, स्पेन, बेलायत, मलेसिया, थाइल्यान्ड, भियतनाम, मौरिसस, माल्टा लगायत देश पुगिन्। इसराइल-प्यालेस्टाइन युद्धले जोर्डन, दुबई र भारतको भ्रमण भने स्थगित भयो। दक्षिण अफ्रिका पुगे पनि भिसा नभएकाले उनी जहाज बाहिर निस्किन पाइनन्।
'यति देश घुम्छु, यसरी सिक्छु भन्ने मेरो बाल्यकालको सपना र कल्पनामा कतै थिएन,' सेमेस्टर एट सी सकेपछि उनले मलाई सुनाइन्।
संगीताको उडान जारी छ। उनी स्नातक सक्ने क्रममा छिन्। उनी आगामी दिनमा स्नातकोत्तर गर्न चाहन्छिन् र व्यवसाय गर्न चाहन्छिन्। उनको पछिसम्मको सोच विद्यावारिधि गर्ने पनि छ।
आफ्नो सपना सुनाउँदै उनी भन्छिन्, 'आज म छात्रवृत्तिमा निर्भर हुनुपरेको छ। सुरूमा म आफू आर्थिक रूपमा आत्मनिर्भर हुनेछु। त्यसपछि मैले पाएको सहयोग जस्तो अरूलाई पनि सहयोग गर्नेछु।'
संगीताको नजरमा शिक्षकको भूमिका
संगीता एक दुर्गम ठाउँमा हुर्किइन्। एउटा संघर्षरत सरकारी विद्यालयमा पढिन्। एकाएक चमत्कार भएझैं विभिन्न देश पुगिन्। त्यहाँका क्याम्पस देखिन् र शिक्षकहरूको अनुभव गरिन्।
यही सन्दर्भमा मैले संगीतालाई सोधेँ, 'नेपालको स्कुललाई मजबुत बनाउन के गर्नुपर्छ जस्तो लाग्छ?'
उनले केही बुँदाहरूमा जबाफ दिइन् —
पहिलो, शिक्षक आफूले सिकाउने विषयवस्तु स्पष्टसँग बुझेको हुनै पर्छ। आफ्नो विषयप्रति लगाव र समर्पण भएको हुनुपर्छ। त्यसपछि उसले विद्यार्थीलाई बुझाउन सक्ने रहेछ, सही समयमा सही प्रश्न गर्न सक्ने रहेछ, विद्यार्थीलाई दिशा निर्देश गर्न सक्ने रहेछ। यसका लागि शिक्षकको छनौट र तालिम त्यही अनुसार हुनुपर्छ।
दोस्रो, विद्यार्थीहरूलाई विभिन्न एक्स्पोजर दिनुपर्ने रहेछ। त्यसपछि बल्ल विद्यार्थीहरूले संसार कति फराकिलो छ भनेर देख्ने रहेछन्। अनि अरू मानिसलाई सम्मान गर्न, अरूको धारणा बुझ्न र सपना देख्न सक्ने रहेछन्।
तेस्रो, कक्षामा राखेर मात्र सिकाइ नहुने रहेछ। कक्षा बाहिर पनि लग्नुपर्छ। त्यसबाट विद्यार्थीहरूले झन् बढी सिक्ने रहेछन्। समाज सेवाबारे निबन्ध लेख्न सक्नु र समाज सेवा नै गर्न सक्नु फरक कुरा रहेछ। समाज सेवाबारे सिकाउने हो भने समाजमा गएर सेवा नै गर्न लगाउनुपर्ने रहेछ।
संगीताले आफ्नो अनुभव सुनाइरहँदा मेरो मनमा केही प्रश्न उम्लिरहेका थिए — युडब्लुसी छात्रवृत्तिसँग शिव सरले परिचित नगराइदिएको भए, शिव सरले निरन्तर उत्प्रेरणा नदिएको भए, युडब्लुसी जस्तो छात्रवृत्ति नभइदिएको भए, संगीता जस्तो विद्यार्थीलाई स्वीकार गर्ने र माया गर्ने मुटु उनीहरूमा नभइदिएको भए, संगीताले सक्दिनँ भनेर प्रयास नै नगरेको भए!
संगीताको जीवन अर्कै हुन्थ्यो होला।
कुन जीवन ठीक वा कुन जीवन बेठीक मलाई थाहा छैन। तर एक शिक्षकको नाताले उनले आज उडान भरिरहेको जीवन देख्दा खुसी लागेर आउँछ।
उनको जीवन अनुभवले हामीलाई केही कुरा पक्कै भन्छ। हाम्रा विद्यार्थीहरूलाई अवसरको खाँचो छ। जुनसुकै पृष्ठभूमिको भए पनि अवसरहरू सिर्जना गर्न सकियो भने सबै सफल हुन सक्छन्।
केही दिनअगाडि फेसबुक स्टोरीमा संगीताले हिउँ परेको समयमा पात झरेका रूखहरूको फोटो राखिन्।
मैले उनलाई सोधेँ, 'तिमी बस्ने ठाउँबाट खिचेको फोटो हो?'
'मेरो क्लासबाट नै लिएको फोटो हो सर,' उनले भनिन्।
'केका रुख हुन् नि?', मैले सोधेँ।
'स्याउ, किम्बु र सल्लोका रूखहरू हुन्,' उनले भनिन्।
मैले भने उनको गाउँको लाँकुरी र पैंयुको बोट सम्झिरहेको थिएँ। त्यही बोट हुँदै दिनहुँ स्याउला, घाँस र मलको भारी बोक्ने संगीता देखिरहेको थिएँ।
कक्षामा माइकल फाराडे र म्यारी क्युरीको कथा सुनाउँदा अनुहारमा सपनाको झिल्को देखिने संगीता सम्झिरहेको थिएँ।
अनि संगीताले बयान गरिरहेको कलेज अफ आइडाहोको परिसर सुन्दै सपना देखिरहेको छु — संगीताले कुनै दिन आफू जस्तै हजारौं संगीताहरूको सपनाको उडान भर्न सहयोग गर्ने छिन्।
ट्विटर- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)