केही समयअघि दोलखास्थित एक विद्यालयमा पुगेको थिएँ।
उक्त स्कुलमा भएका क्रियाशील सिकाइका प्रयत्नका परिणामहरू विद्यार्थीमा स्पष्ट देखिन्थे। विद्यालयका प्रधानाध्यापकसहित त्यहाँका समर्पित शिक्षकका टिमसँग शिक्षाका छलफल गर्ने अवसर पाएको थिएँ। उक्त छलफल यसै शीर्षकमा केन्द्रित थियो।
यस लेखमा उक्त अन्तर्क्रियाका तत्वहरूलाई थोरै गहिराइका साथ सारांशमा राखेको छु।
आशा छ, यस लेखले शिक्षामा उल्लेख्य प्रगतिको बाटो खोजेका सामुदायिक तथा निजी स्कुलहरू, प्रधानाध्यापक र उच्च तहका शैक्षिक नेतृत्वलाई एक उपयोगी अन्तरदृष्टि दिनेछ।
विद्यालयको शैक्षिक जग यसका सिद्धान्त र दर्शन हुन्। यस लेखमा ती प्रगतिशील दर्शनका बारेमा थोरै परिचयात्मक पृष्ठभूमि राख्ने छु र लेखको अन्त्यतिर प्रगतिशील विद्यालयको कार्यशैलीलाई प्रस्ट्याउने छु। यसले त्यस किसिमका स्कुलको स्वरूपमा प्रकाश पार्नेछ र परम्परागत रूपमा सञ्चालित स्कुलहरूलाई प्रगतिशीलतातर्फ मार्गनिर्देश गर्नेछ।
आधुनिक प्रगतिशील शिक्षाको प्रादुर्भाव बीसौं शताब्दीको सुरूतिर जोन डिवेको विद्यालय र समाज (द स्कुल एन्ड सोसाइटी) को प्रकाशनका समयपछि भएको थियो।
प्रगतिशील शिक्षाको दार्शनिक आधारलाई विभिन्न विचारहरूको गहनताको जगमा खडा गराइएको छ।
रूसोको प्रकृतिवाददेखि फ्रोवेलको खेल र सिर्जनशीलता, पेस्टालोत्जीको क्रियाशील सिकाइका साथै चार्ल्स स्यान्डर्सको व्यवहारवादबाट प्रभावित डिवेले हरवर्ट स्पेन्सरको विकासवाद, मार्क्सको सामाजिक न्याय, र हेगेलको द्वन्द्वात्मक सिद्धान्तका परावर्तनसहित अन्य दर्शनका अन्तरनिहित तत्वहरूको गहन र मौलिक संश्लेषण गरी प्रगतिशील शिक्षाको अवधारणा विकास गरेका थिए।
यो उनको परम्परागत शिक्षा, जसमा अधिनायकवादी चिन्तन र सूचना केन्द्रित रट्ने शिक्षा शैलीलाई चुनौती थियो। मौलिक चिन्तन, अर्थपूर्ण सिकाइ र मननले मात्र शिक्षा सफल हुन्छ, अन्यथा शिक्षा अव्यावहारिक र यान्त्रिक बन्छ भन्ने यसको आशय थियो। शिक्षालाई कार्यात्मक बनाउने यो एक क्रान्तिकारी सोच थियो।
डिवेको पछिल्लो प्रकाशन 'लोकतन्त्र र शिक्षा' मा उनले शिक्षालाई अनुभव प्रक्रियाको र लोकतान्त्रिक समाजका दार्शनिक विचारसँग जोडेका छन्।
यिनै विचारका आधारमा उनी भन्छन्, 'शिक्षा जीवनको तयारी होइन, यो त आफैं जीवन हो।'
यसपश्चात् मरिया मन्टेश्वरी, भाइगोत्सकी र जाँ पियाजे लगायत धेरै शिक्षाविद र शिक्षा मनोवैज्ञानिकहरूले प्रगतिशील शिक्षालाई पूर्णता दिँदै आएका छन् र यसमा अनुसन्धानहरू कायमै छन्।
यसरी विकसित भएको प्रगतिशील शैक्षिक दर्शनको विद्यालयमा गरिने व्यावहारिक अनुवाद र अभ्यासले विद्यालयलाई प्रगतिशील बनाउँछ।
बीसौं शताब्दीको बीस र तीसको दशकमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित डाल्टन स्कुल लगायत अन्य केही स्कुलमा विद्यार्थी केन्द्रित शिक्षाको नमूना शिक्षा प्रणालीलाई प्रयोगका रूपमा पहिलोपटक लागू गरिएको थियो। यो पार्खुर्स्ट डाल्टन योजनाका नाममा शिक्षविदहरूमाझ प्रख्यात छ।
प्रगतिशील विद्यालय विशिष्ट शैक्षिक सामाजिक टेका (अन्डरपिनिङ) हरूमा स्थापित हुन्छन्। यी स्तम्भहरूले शिक्षालयका कार्यलाई ठोस स्वरूप दिन्छन्।
प्रगतिशील विद्यालयहरूले तिनै स्तम्भका अन्तरनिहित सिद्धान्त र मर्म आत्मसात गरी यसैको संस्कृतिमा आफूलाई ढाल्छन्। यसैका आधारमा पाठ्यक्रम, विधिशास्त्रका नियम, शिक्षण, विभेदीकरण र मूल्यांकन प्रणालीको विकास गर्छन्। यी उल्लिखित पक्षहरूलाई संरेखित गरी प्रगतिशील विद्यालयको सामाजिक, दार्शनिक र कार्यमूलक प्रतिष्ठानको निर्माण गरिन्छ।
डिवेले प्रगतिशील शिक्षाको शिकागो विश्वविद्यालय अन्तर्गतको प्रयोगात्मक विद्यालय (ल्याब स्कुल) मा आफ्ना विचारहरूलाई कार्यान्वयनमा ल्याएर यी टेकाहरूलाई वास्तविक संसारको परिस्थितिमा परीक्षण गरेका थिए।
यस विद्यालयमा मुख्यतः तीन सैद्धान्तिक टेकाहरूको प्रयोग गरिएको थियो। यी तीनसँगै अन्यमा सामाजिक अन्तर्क्रिया, शिक्षक भूमिका र मौलिक चिन्तन पनि पर्छन्।
पहिलो टेको, अनुभवात्मक (एक्सपिरिएन्सल लर्निङ) र विद्यार्थी केन्द्रित सिकाइ, यसमा अनुभव र ज्ञानको एकीकरण गर्ने।
दोश्रो, एकीकृत पाठ्यक्रम जसअन्तर्गत ज्ञानका विविध विषय क्षेत्रहरूलाई समायोजन गरी व्यावहारिक बनाउने र मूल ज्ञानको निर्माण गर्ने।
र, तेश्रो, कक्षाभित्रका शैक्षिक प्रक्रियामा लोकतान्त्रिक पद्धतिको अभ्यास, जसमा सहकार्य, समावेशिता, सहभागिता र समानता जस्ता मूल्यहरूलाई स्थापित गर्ने थिए।
यिनै मुख्य टेकाहरूलाई विस्तृतीकरण, अनुसन्धान र परिमार्जन गर्दै आजका प्रगतिशील स्कुलहरू शिक्षाको यो चरणमा आइपुगेका छन्।
प्रगतिशील विद्यालयहरूले यिनै टेका र शिक्षामनोविज्ञान अध्ययनका निष्कर्षहरू प्रयोगमा ल्याउँछन्।
विद्यार्थी केन्द्रित शिक्षाको आधार अनुभवात्मक सिकाइमा रहन्छ।
प्रगतिशील स्कुलहरूको कक्षाकोठामा ज्ञानलाई अनुभव गर्ने वातावरण सिर्जना गरिन्छ। यसलाई सरल भाषामा गरेर सिक्ने भने पनि यसको वास्तविक विशिष्टता फरक छ। अर्थात् गरेर सिक्नु विधिशास्त्रका प्रक्रिया हो भने विद्यार्थी केन्द्रित सिकाइको मूलमा ज्ञानको जीवन्त अनुभव समावेश गरिन्छ।
विद्यार्थीलाई ज्ञानको अनुभव प्रदान गर्न प्रगतिशील विद्यालयहरूले क्रियाशील सिकाइको आधार लिन्छन्। क्रियाशील सिकाइ शिक्षणको यस्तो शैली हो जसमा विद्यार्थीहरूलाई ज्ञानको प्रक्रियामा पूर्ण रूपमा तल्लीन बनाइन्छ। शिक्षक र विद्यार्थीबीचको अन्तर्क्रिया व्यवहारमा ल्याइन्छ। सहभागिता अनिवार्य गरिन्छ। र, ज्ञानको अर्थपूर्णतालाई केन्द्रमा राखिन्छ।
प्रगतिशील विद्यालयका कक्षा अवलोकन गर्दा शिक्षकको भूमिका ज्ञानको प्रक्रियालाई सहजीकरण गर्नुमा मात्र सीमित देखिन्छ। यसको अर्थ विद्यार्थीले आफैंले ज्ञान हासिल गर्ने र यसको जिम्मेवारी उनीहरूले नै लिने भन्ने हो। अर्को भाषामा, कक्षामा शिक्षकले पढाउँदैनन्, विद्यार्थीले सिक्छन् भन्नु हो। शिक्षकले पढाएर विद्यार्थी जान्ने हुन्छन् भन्ने पारम्परिक अवधारणालाई प्रगतिशील शिक्षाले यसरी चुनौती दिन्छ।
प्रगतिशील विद्यालयहरूमा, विशेष गरी आधारभूत तहसम्म, विषयहरूको एकल अध्यापन मात्र नगरी विषय क्षेत्रहरूलाई 'थिम' मा आधारित गरी एकीकृत गरिन्छ।
निम्नमाध्यामिक र माध्यामिक तहमा व्यावहारिक ज्ञानको निर्माण विभिन्न विषय क्षेत्रहरूको संयोजनबाट गरिन्छ। 'क्रस-डिसिप्लिनरी' शिक्षण विधिबाट यसलाई लागू गरिन्छ। यी ज्ञानका क्षेत्रहरू अन्योन्याश्रित हुन्छन् वा एक अर्काका परिपूरक हुन्छन् भत्रे मान्यतालाई प्रगतिशील स्कुलमा पूर्ण रूपमा कार्यान्वयन गरिन्छ।
उदाहरणका लागि, एउटा ठूलो चित्रको जिग्स पजल लिऔं। ती प्रत्येक पजलका टुक्रा विषय क्षेत्र र पूर्ण चित्रलाई ज्ञान मानौं। ती हरेक टुक्रा सही ढंगले जोडिएपछि समग्र दृश्य देखिए जस्तै, विषय क्षेत्रका संयोजनबाट ज्ञान बृहत्, अर्थपूर्ण र उपयोगी बन्छ। विद्यार्थीहरू निर्दिष्ट दिशातर्फ तल्लीन हुन्छन्।
अर्थपूर्ण ज्ञानलाई प्रगतिशील शिक्षामा व्यावहारिक ज्ञान भनिन्छ। दैनिक जीवनमा प्रयोग गर्न सकिने ज्ञान, जस्तै; गुन्द्री बुन्नु वा चिया पकाउन जान्नु अति नै आधारभूत उपयोगी ज्ञान हुन्। तर व्यावहारिक ज्ञानमा उपयोगिताका साथै अर्थपूर्णता पनि समावेश गरिन्छ। विषयवस्तुका अमूर्त अवधारणाहरूलाई अनुभवको दायरामा ल्याई प्रयोग गरिनु वास्तविक व्यावहारिक ज्ञान हो।
यसको अर्थ, यदि विद्यार्थीले विजगणितको कुनै एक सूत्रको अर्थपूर्ण अवधारणा बुझेको छ भने त्यो ज्ञान अब व्यावहारिक (एप्लिकेबल) भएको भन्ने हो। त्यो धारणाले गणितका अन्य समस्या सल्टाउन, इञ्जिनियरिङमा प्रयोग गरी नमूना निर्माण गर्न, गणितका सर्वव्यापी सत्य अनुभव गर्न वा अन्य विषयक्षेत्रको प्रयोगमा ल्याउनु ज्ञान एकीकृत गरिनु हो।
प्रगतिशील विद्यालयमा ज्ञानलाई पराविषयक सार वा अन्तरविषयक सम्बन्ध स्थापना वा अन्य उपयुक्त विधिशास्त्रका प्रक्रिया निहित गरी उपयुक्त प्राज्ञिक कार्यक्रमको विस्तार र अध्यापन गरिन्छ। यी विद्यालयमा पाठ्यक्रमका अन्तरविषयक क्षेत्रलाई संयोजन गरेपछि मात्र त्यसअनुसार कक्षा विशेषका पाठ योजना तय गरिन्छ। यसरी शिक्षकहरूको बृहत् सहकार्यको आधारमा विद्यालयले आफ्नो शैक्षिक योजना तर्जुमा र लागू गर्छन्।
विषय विशेषले गहिराइ खोजेमा रेखीय पद्धति पनि अपनाउने गरिन्छ। यसरी कार्यक्रमलाई लचिलो र आवश्यकतामा आधारित गरिन्छ।
उदाहरणका लागि, अनुसन्धान वा प्रोजेक्टमा आधारित सिकाइका पाठ योजनाका अनुक्रमहरूमा अन्तरविषयक ज्ञान केन्द्रमा राखिन्छ। यसका लागि जस्तै; किलप्याट्रिकको खोजमूलक सिकाइका विधि प्रयोग गरी विभिन्न विषयलाई एकीकृत गर्ने र ज्ञान आर्जन गर्ने सबै जिम्मेवारी विद्यार्थीलाई दिने एउटा प्रमुखमध्येको पर्छ।
यतिमा मात्रै नभएर प्रगतिशील विद्यालयहरूले शैक्षिक पहुँचलाई प्राज्ञिक क्षेत्रभन्दा पर पुर्याउँछन्। यसलाई जीवन्त बनाउने आधार यी स्कुलहरूको शिक्षा प्रक्रियामा निहित समग्रता (होलिस्टिक एप्रोच) हो। यसले बौद्धिक पक्ष मात्र नभई विद्यार्थीलाई एक पूर्ण मानवका रूपमा विकास गर्ने ध्येय राख्छ।
यसमा विद्यार्थीका सर्वांगीण विकासका लागि मानवीयताका प्रमुख क्षेत्रहरूलाई सन्तुलित गरेर विद्यालयका कार्यक्रम निर्धारण गरिन्छ। तिनले विद्यार्थीका बौद्धिक, संज्ञानात्मक, सामाजिक, भावनात्मक, भाषिक र शारीरिक पक्षलाई समेट्छन्।
तसर्थ सामाजिक विकासका लागि सहकार्य, अन्तर्क्रिया, शारीरिक विकासका लागि खेल वा व्यायाम, वैचारिक विकासका लागि चिन्तन सीप, परासंज्ञान (मेटाकग्निटिसन) का कार्यविधिहरूलाई विद्यालयको थप कार्य नभनी पाठ्यक्रमकै अभिन्न भागका रूपमा राखिन्छ।
अर्थात्, परम्परागत विद्यालयमा छुट्टयाइने कोकरिकुलर क्रियाकलापहरू प्रगतिशील विद्यालयमा यसैका शैक्षिक कार्यक्रमका ढिक्कामा विलय हुन्छन्।
प्रगतिशील विद्यालयको मूल यसैको दार्शनिक संस्कृतिमा रहन्छ।
यो भनेको यी विद्यालयहरूले गर्ने हरेक प्रशासनिक कार्य, शैक्षिक क्रियाकलाप र सिकाइका विधिहरू सतहमा नभएर, यसका आधारभूत शैक्षिक सिद्धान्तहरूबाट व्यवहारमा प्रकट हुने हो।
यसरी प्रगतिशील विद्यालयले अघि सारेका कार्यक्रमहरू र यसका शैक्षिक उत्पादनको श्रोत कुनै शैक्षिक क्रियाकलापका हुबहु नक्कल मात्र नभई जरादेखि नै मौलिक हुन्छन्।
विद्यालय नेतृत्वले के बुझ्नुपर्छ भने, क्रियाकलाप वा विधिशास्त्रका प्रयोगले मात्र विद्यालय प्रगतिशील बन्दैन वा कक्षामा विद्यार्थीका कार्यहरूको प्रदर्शन र प्रकाशन मात्रले पनि बन्दैन। ती कार्यहरू केवल प्रगतिशील शिक्षाको एक सानो स्थुल पक्ष मात्र हो। मूल्यांकनका लागि प्रयोग गरिने विचारको मूर्त वा ठोस प्रमाण मात्र हो।
प्रगतिशीलता त शिक्षाको समग्रता हो, संस्कृति हो, दर्शन हो, अन्वेषण हो, ज्ञानको वास्तविक खोजी हो र यो दुवै विषयगत र वस्तुगत सत्यको अनुसन्धान हो।
प्रगतिशील विद्यालय कसरी बन्छ भनी अधिकांश विद्यालय नेतृत्वले गरेको प्रश्नले हामी पनि शिक्षामा रूपान्तरण खोजिरहका छौं भन्ने प्रस्ट हुन्छ र यसले ढिलोचाँडो नेपालको शैक्षिक उन्नयनमा अवश्य योगदान दिनेछ।
निजीसहित सामुदायिक स्कुलले पनि इच्छाशक्ति दृढ पार्ने हो र नेतृत्व कस्सिने हो भने हाम्रा विद्यार्थीहरू के विचार गर्ने होइन, कसरी विचार गर्ने भन्नेतिर केन्द्रित हुनेछन्।
सरल सुनिने यही वाक्यले नै हाम्रा विद्यालयलाई प्रगतिशीलतातर्फ डोर्याउन सक्छ र शिक्षाको उद्देश्य हासिल हुनेछ।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)