म साइकल चलाउँदै थिएँ, छोरा डन्डीमा जडित उसकै सिटमा बसिरहेको थियो। उसलाई स्कुल पुर्याउने र आफू अफिस पुग्ने चटारोमा थिएँ म।
साइकलको अगाडिको टायरमा खटखट आवाज आयो।
'छोरो, अगाडि खुट्टा नलैजाऊ' भनेर मैले के भन्दै थिएँ, छोराले बिजुलीको गतिमा खुट्टा साइकलको चक्कामा फसाइसकेको थियो।
साइकल झ्याप्प रोकियो।
'पा...पा...' भन्दै छोराले चित्कार निकाल्यो। झट्पट् झरेर हेर्छु त फ्रेमलाई अगाडिको चक्कासित जोड्ने दायाँतिरको ठाडो डन्डी र चक्काका तारबीच छोराको पैताला जाम परेको छ। न जुत्ता खोल्न मिल्छ, न खुट्टा निकाल्न।
छोरा झन् मच्ची मच्ची रून थाल्यो। पुसको जाडोमा पनि मेरो निधारमा चिट्चिट् पसिना आउन थाल्यो। दिमाग शून्यजस्तै भयो।
यो सब हुनुअगाडि छोरालाई घर नजिकैको स्कुलमा हालेको भए के हुन्थ्यो? यो साइकलमा बेबी-सिट नजोडेको भए के हुन्थ्यो? यसको सट्टा बुबाको ब्याट्रीजडित साइकलमा उसलाई स्कुल पुर्याएको भए?
छोराको स्कुल सुरू हुनुअगाडि कार किनेको भए?
मनमा यी सारा कुरा खेल्न सक्थे तर खेलेनन्।
कारण — फसेको खुट्टा निकाल्नमा मेरो अर्जुनदृष्टि थियो। छोराको खुट्टामा चोट पुगिसक्यो कि भन्ने डर त थियो नै, निकाल्न समय लाग्यो भने उसको सातो जाला कि भन्ने अर्को डर थियो।
सबैभन्दा ठूलो डर थियो — श्रीमतीको सामना गर्ने!
मैले साइकल चलाउँदा छोराको खुट्टा फस्यो र चोट लाग्यो भन्ने कुरा कसरी सुनाउने?
यो सम्झिँदा भने आफूले टेकेको जमिन नै भासिएजस्तो भइरहेको थियो!
दस सेकेन्ड जति छोराको खुट्टा निकाल्ने असफल प्रयासपछि मेरो दिमागमा बत्ती बल्यो — यो साइकलका टायर त सजिलै निकाल्न पो मिल्छ त! पुराना खालका फलामे साइकलमा यसरी फस्दा तार काटेर निकाल्नुको विकल्प हुँदैन थियो। यो त आधुनिक गियरवाला साइकल थियो जसमा दुवै टायर सहजै खाली हातले निकाल्न र राख्न सकिन्थ्यो।
अरू पन्ध्र सेकेन्डमा मैले अघिल्लो टायर निकालेँ। छेउकै घरका एक पुरूष आएर साइकल अड्याएर सहयोग गरिदिए। छोरालाई उनको घरको बेन्चमा राखेर जुत्ता खोलिदिएँ। चोट पनि देखिएन र खुट्टा खासै सुन्निन पनि सुन्निएन। मैले राहतको सास फेरेँ। तर छोरा दुख्यो भनेर रोइरहेको थियो र खुट्टा टेक्न मानिरहेको थिएन।
बीस मिनेट जति त्यहीँ आराम गर्यौं बाउछोरा। मेरा खुट्टा अझै काँपिरहेका थिए। तर पनि छोराले बिस्तारै फेरि साइकल चढ्ने हिम्मत जुटायो, मैले टायर फेरि साइकलमा जोडेँ। उसलाई फकाएर फेरि बेबी-सिटमा राखेँ। अनि स्कुलको सट्टा उसलाई मामाघर पुर्याइदिएँ।
अझै श्रीमतीलाई फोन गर्ने हिम्मत जुटेन। छोराले अझै खुट्टा टेकेको थिएन। उसलाई माइजू र हजुरआमाको जिम्मा लगाएर म काममा निस्केँ। एकाध घन्टा हेर्ने र तबसम्म पनि खुट्टा टेकेन भने बल्ल अस्पतालमा कार्यरत श्रीमतीलाई खबर गरेर उसलाई उतै लैजाने सल्लाह भयो।
त्यसको केही घन्टासम्म दिमाग तीव्र रफ्तारमा चल्यो। माथि भनेझैं के के गरेको भए के हुन्थ्यो भन्ने कुराहरू पनि मनमा खेलिरहे। अफिस पुगेको दुई घन्टामा मैले कार किन्ने निर्णय गरिसकेको थिएँ। साथै आर्थिक स्रोतहरूको पनि खोजी गरिसकेको थिएँ। त्यो दिनभर मेरो दिमागबाट कार भन्ने जिनिस निस्कनै मानेन।
तर छोराले म निस्किनासाथ खुट्टाले टेक्न थालेछ। ममी घर फर्किने बेलासम्म ढुक्कसँग हिँडडुल गर्न थालेछ। साँझसम्म मेरो सारा चिन्ता र डर दुर भइसकेको थियो।
सँगै 'कार किन पो किन्नुपर्यो?' भन्ने प्रश्नले पनि घर गर्न थालिसकेको थियो।
भोलिपल्टै म एउटा पसलमा गएर साइकलको अगाडिको टायरको कभर हालेँ। त्यसमाथिबाट पुरानो खाले लेडिज साइकलको पछाडिको टायर ढाक्ने जाली मोडेर अगाडिको टायरको जोखिमपूर्ण हिस्सा ढाकेँ।
खर्च भयो — पचास रूपैयाँ।
एउटा कारको गर्जो टर्यो। कम्तीमा तत्कालका लागि। जुगाड गर्न सके के हुँदैन?
म मोजमस्तीको पुरानै दुनियाँमा फर्केँ। त्यतिबेलैदेखि मसित दुइटा साइकल छन् — एउटा छोरालाई घरबाट स्कुल पुर्याउने, अर्को अफिस, बजार वा अन्यत्र जाने र डाँडाकाँडा उक्लिने।
जुन साइकलमा छोराको खुट्टा फसेको हो, त्यसको कहानी नभनी सायद यो कथा पूरा हुन सक्दैन।
लकडाउनको सुरूतिरको कुरा। सहरमा बन्दव्यापार ठप्प थियो। तर हामी त्यसैमा नयाँ उद्यमको अवसर खोज्न आतुर थियौं। संकटलाई मौकामा बदल्नुपर्छ भन्ने सोचलाई सम्भवतः लकडाउनको फुर्सदले झन् तीव्र बनाइदिएको थियो।
मान्छे मान्छेसित डराउने त्यो समयमा सार्वजनिक यातायात धराशायी हुने हामीले देख्यौं।
परिणाम हुन्थ्यो — सडकभर स्कुटर र मोटरसाइकलको बढोत्तरी। यो त सहरमा नयाँ विपत्ति बोलाउने कुरा थियो, चितवनलाई काठमाडौंजस्तै अस्तव्यस्त र ग्यास च्याम्बरजस्तो सहर बनाउने कुरा थियो।
यो अवस्थामा किन सहरलाई साइकलमय बनाएर यातायातको नयाँ विकल्प नदिने? 'असफल हुनै नसक्ने' यो नयाँ उद्यमको विकल्प मैले तीन साझेदारहरूसित राखेँ।
फुर्सद र थोरैतिनो पुँजी सबैसित थियो। हामीले एउटा साइकलको शोरूम खोल्ने भयौं जहाँ सबै रेन्जका नयाँ–पुराना साइकल पनि पाइने भयो, मर्मतसम्भार पनि हुने भयो र पारखी साइक्लिस्टहरूले खोज्ने सबै गियर पनि पाइने भए।
त्यो व्यापारबाट पुँजी संकलन गर्दै जाने र कालान्तरमा साइकल उत्पादनसम्म पुग्ने, नेपाललाई साइकल उत्पादनको हब बनाउने जस्ता मीठा मीठा सपना देख्यौं हामीले।
सपना साकार पार्न हामीले सक्दो योगदान गर्यौं, शोरूम खुल्यो। म संस्थाको प्रबन्ध निर्देशक भएँ। सुरूमा साइकल पनि राम्रै बिके।
तर जसै लकडाउन सकियो, मान्छे जति पेट्रोल र डिजलका गाडीतिर फर्के। सहर उस्ताको उस्तै रह्यो। मान्छेको मति पनि उस्ताको उस्तै। लाग्थ्यो — मानिस नेपालका सबै बाँकी सहरहरूलाई काठमाडौं बनाउन हतारिइरहेका छन्। मानिसलाई धूलो र धुवाँको कुइरीमन्डलमा दिनभर डुल्न स्वीकार्य छ, साइकलमा थोरै मेहनत गर्न स्वीकार्य छैन।
कतिसम्म भने — लकडाउनमा साइकल किनेर चलाउन थालिसकेका मानिसहरूले समेत तिनलाई थन्क्याएर स्कुटर र गाडीहरूतिर फर्के। यस्तो लाग्थ्यो, धुवाँ, धूलो र कोलाहलसित मानिसको मोह टुटाउनै नसक्ने गरी बलियो छ।
परिणाम — लकडाउनमा चम्केका अरू साइकल पसलहरूजस्तै हाम्रो व्यापारको ग्राफ पनि ओरालो लाग्यो, घाटाको ग्राफ उकालो।
शोरूम बन्द गर्ने बेलासम्म चार जनाको सोह्र लाख रकम स्वाहा भइसकेको थियो। सहर बदल्ने आदर्श सपना बोकेर यसरी मैले आफूसँगै बाँकी तीन जनाको समेत मुस्किलले जोडेको पुँजी डुबाइदिएको थिएँ।
चितवनलाई साइकलको सहर बनाउने त्यही सपनाको भग्नावशेषबाट निस्केको थियो यो कालोमा हल्का पहेँलो डन्डी भएको किस्टो ब्रान्डको साइकल। सोह्र लाख लगानीको एउटा मात्रै प्रतिफल थियो यो। जीवनमा उद्यमशीलताबारे महत्त्वपूर्ण पाठ पढाउने माध्यम पनि थियो।
छोरालाई स्कुल पुर्याउने बेला हुनासाथ मैले एउटा फलाम पसलमा गएर डन्डीमा बच्चाको साइकलको सिट जोडेको थिएँ। वेल्डिङ गरेको बलियो जडान थियो। सिट जोड्ने फलामसित वेल्डिङ गरेरै जोडिएका दुई 'एल' आकारका फलामे पाउदानी थिए।
मलाई लाग्यो छोराको बस्ने व्यवस्था त्रुटिबिहीन छ। जबकि उसले पाइला राख्ने ठाउँको एकाध इन्च अगाडि थियो, निरन्तर तीव्र गतिमा घुम्ने चक्का, जसमाथि साधारण प्लास्टिकको कभर समेत थिएन। यो साइकलमा सुरक्षाको मेरो आकलन पनि साइकल पसलमा लगानीको प्रतिफलको आकलन जस्तै ठहरियो — यथार्थभन्दा निकै टाढा।
उता छोरो भने मख्ख थियो बाउको साइकल देखेर। आमाको स्कुटरमा ऊ उभिनुपर्थ्यो, उसका लागि बेग्लै सिट थिएन। त्यसैले उसलाई बाउकै साइकल प्यारो थियो।
तर त्यो सोख त्यस दिन उसलाई निकै महँगो पर्यो। भाग्य भनौं वा संयोग, उसलाई तीन वर्षको उमेरमा पछि गएर पुलिस बन्ने ठूलो रहर छ। त्यसैले त्यो घटनाको केही दिनअगाडि मात्रै श्रीमतीले उसलाई पुलिसका जस्तै अग्ला बुट ल्याइदिएकी थिइन्। तिनको दरो सोलले त्यस दिन छोराको पैतालाको पूरै रक्षा गरेछन्। जाडोका लुगा र अग्ला बुटका कारण छालामा कोतरिन समेत पाएनछ।
यो घटनाको केही महिनापछि म अर्कै कारणले विद्युतीय कार किन्ने निर्णयमा पुगेँ। त्यसबारे कुनै दिन फेरि लेखौंला। तर यो लेख भने सहरी यातायातका लागि साइकलको उपयोगितामै राखेर टुंग्याउनु उचित होला।
अब मसित कार त हुनेछ तर अफिसमा नियमित कार लिएर जाने मेरो योजना छैन। कारण धेरै छन्।
एक, कामका लागि बीसौं किलोमिटर पर जानुपर्ने भए अर्कै कुरा, होइन भने नजिकको काममा जान साइकललाई अरू कुनै साधनले जित्न सक्दैन। कार पार्क गर्न र निकाल्न जति समय लाग्छ, त्यतिमा साइकल दुई किलोमिटर पर पुगिसक्छ।
यसै पनि सहरमा सवारी साधनहरू थपिएको हेर्दा लाग्छ — कुनै दिन अफिसमा आइसकेपछि कार पार्क गर्न घरै फर्केर फेरि साइकल लिएर आउनुपर्यो भने पनि अब अनौठो नमाने हुनेछ। सहरमा जहाँ अत्यावश्यक किनमेल हुन्छ, ती ठाउँमा अब कारमा जान असम्भव भइसकेको छ।
दुई, सपरिवार यात्रा गर्नुपर्दा कारलाई साइकलले भेट्न सक्दैन (भलै सबै जना साइकलप्रेमी हुने हो भने त्यो पनि सम्भव छ)। तर एउटा मान्छेको दैनिक ३० देखि ४० किलोमिटरसम्मको यात्राका लागि साइकलजस्तो उत्तम साधन अर्को हुँदैन।
तपाईं व्यस्त मानिस हो भने त त्यसो गर्दा जिम वा जुम्बाजस्ता गतिविधिमा जाने एक–डेढ घन्टाको समय साइकलले बचाइदिन्छ किनकि नियमित साइकल चढ्दा त्यसले शरीरलाई आवश्यक कसरत पुग्छ। सप्ताहन्तमा लामो राइड गर्ने वा डाँडाकाँडा चढ्ने हो भने शारीरिक तन्दुरूस्तीका लागि अरू केही गर्नुपर्दैन।
तीन, साइकलजस्तो सस्तो सवारी साधन अर्को कुनै छैन। अहिले १० हजार रूपैयाँ हाराहारीमा सादा साइकल पाइन्छन्। १५ हजार रूपैयाँ हाराहारीमा साधारण उकालो–ओरालो चल्ने राम्रै गियरवाला साइकल पाइन्छन्। ६० हजार रूपैयाँ हाराहारीबाट सजिलै पहाड चढाउन मिल्ने साइकलहरू पाइन्छन्। लाख रूपैयाँ हाराहारीमा बोकेर जस्तोसुकै ठाउँमा पुर्याउन मिल्ने साइकल पाइन्छन्। नेपालको कुनै पनि ठाउँका सार्वजनिक सवारी साधन चढ्नभन्दा साइकल चढ्नु सस्तो पर्छ।
जोसित लामो दुरीका लागि पेट्रोलियम वा विद्युतीय सवारी साधन छ, उसले समेत छोटो दुरीमा साइकल चढ्दा त्यसले धेरै खर्च बचाउँछ।
चार, मैले कार चढाएर पनि छोरालाई मितव्ययिता र वातावरण रक्षाको पाठ पढाउन सक्छु। तर त्यो कोरा सैद्धान्तिक शिक्षा मात्रै हुन्छ, हाम्रो स्कुले शिक्षाजस्तै। साइकल चढिरह्यो भने उसले आफ्नो धरातल सम्झिरहन्छ। साइकल चढ्ने वा पैदल हिँड्ने, कार चढ्न नसक्ने मानिसहरूप्रति समानुभूति विकास गर्न सक्छ। श्रम गरेर यात्रा गर्नुको महत्त्व बुझ्न सक्छ।
कम्तीमा मेरो आशा यही छ कि छोरा आवश्यकता अनुसार जुनसुकै सवारी साधन चढोस् तर नेपालका चल्तीका 'मोटिभेसनल स्पिकर' हरूले भन्ने गरेझैं जीवनमा सफलताको मानक कार चढ्नु हो भन्ने साघुँरो र विनाशकारी शिक्षा लिएर नहुर्कोस्।
उसले याद गरोस् — मानिस जातिका लागि चराको उडानसित मिल्दो अनुभव दिने र यात्राका लागि अत्यधिक स्वतन्त्रता प्रदान गर्ने कुनै साधन छ भने त्यो साइकल हो। आकाशमा उड्ने र जमिनमा गुड्ने बाँकी कुनै पनि सवारी साधनहरू उसको आफ्नो शरीरको ग्लुकोज जलाएर गतिवान हुन सक्दैनन्।
अन्तमा तुलनै गर्ने हो भने एउटा साइकल र एउटा कारमा समग्रमा कुन चाहिँ बढी उन्नत विकल्प हो त?
यसका लागि यी दुई प्रश्नको जवाफ खोजे पुग्छ — नेपालका सबै मानिसले कार चढे भने देश कस्तो होला? अनि सबैले साइकल चढे भने?
त्यसैले जुनसुकै साधन चढ्ने मानिसहरूले पनि यो प्रश्नको जवाफ हरदम खोज्नुपर्छ — बाँकी सबै मानिसले मैलेझैं गरे भने यो सहर र पृथ्वीको हालत के होला?
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनको नियमित भिडिओ शृंखलाका लागि हेर्नुहोस्ः बोध वार्ता। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)