सन् २००६ मा राजकुमार हिरानीको सिनेमा 'लगे रहो मुन्नाभाइ' हेरेर हलबाट निस्किँदा हामीलाई ६० वर्षअगाडिको समयमा पुगेर फर्केको भ्रान्ति भएको थियो।
त्यस्तो समय जब महात्मा गान्धी धोतीले शरीर ढाकेर लठ्ठीको सहाराले हिँड्थे। अनि मानिसले उनका कुरा भावपूर्वक मात्र सुन्दैन थिए, तिनलाई सुनेर आफ्नो व्यवहार नै बदल्थे। हिंसाको आवेगलाई रोकेर अहिंसात्मक हुन्थे। महँगा आयातीत सुकिला-मुकिला कपडा छाडेर घरबुना खस्रा कपडा लगाउँथे।
हामीलाई हलभित्र पस्दाभन्दा निस्किँदाको संसार फरक लागिरहेको थियो। सिनेमा हेर्दा बिरलै त्यस्तो अनुभव हुन्छ।
गान्धीवाद त हामीले सुनेकै कुरा थियो। तर 'गान्धीगिरी' गरेर सर्वसाधारण मानिसले गान्धीको शिक्षा यसरी व्यवहारमा उतार्न सक्छन् भन्ने कुरा हामीलाई क्रान्तिकारी लागेको थियो।
त्यो सिनेमा प्रदर्शन हुँदा हामी धरानमा थियौं। भैरहवामा स्नातक पढिरहँदा मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगितामा भाग लिन हामी त्यहाँ पुगेका थियौं। सम्भवतः सिनेमा रिलिज भएको पहिलो दिन नै हामी आगन्तुक खेलाडीहरूको टोलीले त्यहाँबाट विराटनगर पुगेर सामूहिक रूपमा सिनेमा हेर्यौं।
विराटनगरबाट धरान फर्किँरहँदा बाटोभरि कम्तीमा मलाई लागेको थियो — मानिसले किताब त पढेनन् तर अब सिनेमा हेरेर भए पनि गान्धीलाई बुझ्ने भए, उनको शिक्षा व्यवहारमा उतार्ने भए। र, व्यवहारमै गान्धीवादको पुनर्जन्म हुने भयो।
आखिर एउटा गुण्डागर्दीको पृष्ठभूमिबाट आएको युवा त गान्धीलाई पढेर बुझेपछि सत्य बोल्ने र अरूको भलो गर्ने सत्कर्ममा लाग्छ भने बाँकी मानिसले उनलाई पढे, बुझे भने त्यसले समाजलाई कसो अघि नबढाउला? मनमा यस्तै लागिरह्यो।
सिनेमाको अन्तमा गान्धीको भूमिकामा रहेका पात्र भन्छन् — आप सोच रहे हैं, मेरा क्या हुआ। भाइ, मुझे तो वर्षों पहेले मार दिया था। पर मेरे विचार तीन गोलियों से नहीँ मर्नेवाले। जमाने बदल्ते रहेंगे पर मेरा विचार किसी न किसी भजेमें केमिकल लोचा करते रहेंगे। अब बाँकी आपकी मर्जी। चाहो तो मुझे तस्वीर बनाके दिवार पे लट्कादो। या मेरे विचार पे विचार करो। चल्ता हुँ!
भन्नेहरूले त भन्ने गरेकै हुन्, गोलीले विचार मार्न सक्दैन। तर गान्धीको हकमा चाहिँ उनका विचार वास्तवमै अमर छन् जस्तो मलाई लागेको थियो।
त्यो सिनेमा निस्केको १७ वर्षपछिको कुरा। सन् २०२३ को अन्ततिर भारतको लोकप्रिय डिजिटल मिडिया पोर्टल लल्लनटपको एउटा भिडिओ हेरेर म स्तब्ध भएँ।
त्यसको संवाद यस्तो छ —
स्नातक तहका विद्यार्थी तथा विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदका सदस्य दीक्षान्त पाटिदार- ...गान्धीले देश विभाजन गरे, देश बाँडे र नाथुराम गोड्सेले उनलाई गोली हाने।
सौरभ द्विवेदी- ठीक गरे कि गलत गरे?
पाटिदार- मेरो हिसाबमा ठीक गरे।
द्विवेदी- ठीक गरे? प्रार्थना सभामा बसेका एक निहत्था व्यक्तिको छातीमा गोली हान्नु ठीक हो?
पाटिदार- म नाथुराम गोड्सेको विचारधारा र उनको सोचको समर्थक हुँ।
द्विवेदी- कस्तो सोच हो यो? जो तिमीसँग असहमत हुन्छ उसलाई गोली हान्दिने?
पाटिदार- जो नफरत फैलाइरहेको छ, उसलाई गोली हान्दिनुपर्छ!
सम्भवतः गान्धी आफ्नो समयका लागि सही थिए, ऊबेला गोलीले विचार मार्न सक्दैन थियो। तर अब युग नै फेरिएको छ र पुरानो युगमा मान्यताहरू अब भत्किसकेका छन्। अब गोलीले नभए पनि सूचना-प्रविधिको प्रयोग गरेर विचार मार्नु पनि सम्भव भएको छ।
लल्लनटपको त्यो अन्तर्वार्तामा भारतको एउटा कलेजका छात्रले गोड्सेलाई नायक र गान्धीलाई खलनायक मात्रै मान्दैनन्, गान्धीलाई सन् २००८ को मुम्बई आतंककारी हमलाका एक किशोर हमलाकारी अजमल कसाबसित तुलना गर्छन् जसले अर्का एक जना बन्दुकधारीसित मिलेर ७२ जनाको हत्या गरेका थिए।
अजमल कसाब जसलाई सन् २०१२ मा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो।
त्यसअघि नै भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले शृंखलाबद्ध रूपमा गोड्सेको गुणगान गाउन थालिसकेका थिए। भाजपाले गान्धी हत्याको औचित्य सावित गर्न अदालतमा दिएको आखिरी मन्तव्य तीसौं लाख मानिसहरूले युट्युबमा हेरेर उसको जयजयकार गर्न थालिसकेका थिए।
कतिसम्म भने, पाठ्यपुस्तकहरूबाट समेत गान्धी हराउँदै थिए अनि हिन्दुत्ववादी संस्था राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक एमएस गोल्वाल्करको गुणगानले प्रवेश पाउँदै थियो।
आखिर भारतको सत्ता संस्थापनले किन सुनियोजित रूपमा गान्धीको दानवीकरण र गोड्सेको देवत्वकरण गरिरहेको छ?
ती गान्धी, जसको प्रेरणा र पथप्रदर्शनका बलमा अमेरिकामा मार्टिन लुथर किङले अश्वेतहरूको अधिकार स्थापित गरे, जसले देखाएको बाटो हिँडेर नेल्सन मन्डेलाले दक्षिण अफ्रिकाको नश्लभेदी श्वेत शासनको अन्त गरे र विनारक्तपात लोकतन्त्र स्थापित गरे, उनी आजको भारतमा कसरी एक आतंककारीसित तुलना हुने अवस्था आयो?
अनि दक्षिण एसिया र सिंगो पूर्वीय सभ्यताको विकासमा इतिहासको त्यसखाले पुनर्लेखन र महानायकहरूको अदलबदलले कस्तो अर्थ राख्छ?
मैले सुरू गरेको दक्षिण एसियामा धर्मको राजनीतिसम्बन्धी भिडिओ शृंखलाको यो अंकमा मैले यिनै प्रश्नहरूमाथ गम्भीर मन्थन सुरू गरेको छु।
हेर्नुहोस् भिडिओः
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)