यही जनवरी २२ मा भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको भव्य उद्घाटन समारोह हुँदैछ। यो मन्दिर त्यहीँ बनेको हो जहाँ सन् १९९२ मा बाबरी मस्जिदलाई हिन्दु सेवकहरूको भीडले भत्काइदिएको थियो।
त्यो घटनाको ३१ वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा मूर्तिको प्राण–प्रतिष्ठा नामक मुख्य कर्मकाण्ड हुँदैछ।
स्वभावतः भारतमा सक्रिय भारतीय जनता पार्टी (भाजपा) लगायत राजनीतिक दलहरू र मन्दिर निर्माणमा सक्रिय भूमिका खेलेका विश्व हिन्दु परिषद र राष्ट्रिय स्वयंसेवक संघजस्ता संस्थाहरू यो अवसरका लागि उत्साहित छन्। खास गरी भारतको हिन्दीभाषी क्षेत्रमा ठूलो संख्यामा रहेका हिन्दुहरू पनि यो समारोहको व्यग्र प्रतीक्षामा छन्।
तर यसबीच आएको एउटा अलि फरक किसिमको समाचारले भने धेरैको ध्यान तानेको छ — हिन्दु धार्मिक परम्परामा उच्च महत्त्व बोकेका चारै जना शंकराचार्यहरू यो समारोहमा उपस्थित हुने छैनन्।
तीमध्ये पुरी र जोशीमठका दुई शंकराचार्यहरूले त जमेर यो समारोहसम्बन्धी मोदी सरकारको रवैयाको आलोचना गरेका छन्। पुरीका शंकराचार्य निश्चलानन्द सरस्वतीले एउटा अन्तर्वार्तामा नरेन्द्र मोदीलाई बुद्धु र बुद्धिहीनको संज्ञा दिएका छन्।
दुवैले शुभ मुहुर्त नपर्खी हतार हतार आधा बनेको मूर्तिमा प्राण–प्रतिष्ठा गर्दा त्यसले शास्त्रको उल्लंघन हुने र अनिष्ट हुन सक्ने भन्ने आशयका चेतावनी दिइरहेका छन्।
यसबीच भाजपाको कुख्यात 'आइटी सेल' बाट परिचालित हुने लगायत नरेन्द्र मोदी र उनको सरकारका समर्थकहरूले जमेर शंकराचार्यहरूको आलोचना, निन्दा र गालीगलौज गरिरहेका छन्। राम मन्दिर निर्माण गर्ने संस्थाका प्रमुख तथा विश्व हिन्दु परिषदका अधिकारी चम्पत रायले यो बहस र विवादको आगोमा घ्यु थप्ने गरेका छन्।
शंकराचार्यहरू उद्घाटन समारोहमा नआउने समाचार आउनासाथ रायले भने — यो रामानन्द समुदायको मन्दिर हो, उनीहरू नआए पनि केही फरक पर्दैन!
अर्को प्रसंगमा उनले यतिसम्म भन्न भ्याए — नरेन्द्र मोदी साक्षात् भगवान विष्णुका अवतार हुन्!
त्यसअघि समारोहमा उपस्थित हुन अस्वीकार गर्ने कंग्रेस आई लगायतका विपक्षी दलहरूलाई हिन्दुविरोधी भनेर भाजपाका नेताहरूले चर्को भाषण गर्न थालिसकेका थिए। जब शंकराचार्यहरू नआउने कुरा सार्वजनिक भयो, कंग्रेसले प्रतिवादमा भन्यो — के शंकराचार्यहरू पनि हिन्दुविरोधी हुन्?
यसरी मन्दिर उद्घाटनको विषयमा पेचिलो विवाद हुन थालेपछि विश्व हिन्दु परिषदका अधिकारी आलोक कुमारले यतिसम्म भन्न भ्याए — यो समारोह बहिष्कार गरे भने विपक्षी पार्टीहरूले 'कोर हिन्दु' भोट गुमाउने छन्।
यसरी नितान्त मानिसको आस्थामा सीमित हुनुपर्ने मन्दिर उद्घाटनको विषय तातो राजनीतिक खिचातानीको विषय बन्यो। यही खिचातानीबीच अहिले भारत सरकार र मन्दिर निर्माण गर्ने संस्था एक पक्ष र शंकराचार्यहरू अर्को पक्ष रहेको बहसले मानिसहरूलाई झनै ध्रुवीकृत बनाइरहेको छ।
कतिसम्म भने, चम्पत रायले उदधृत गरेको रामानन्द सम्प्रदायकै साधुहरूको मत यो विषयमा विभाजित छ।
केही भन्छन् — उनले मन्दिर रामानन्द सम्प्रदायको हो भनेर ठीक बोले।
अरू भन्छन् — शंकराचार्यहरूलाई चिढ्याएर यो मन्दिर एउटा सम्प्रदायको हो भन्नु उनको जीवनकै ठूलो भुल थियो। त्यसैले उनले त्यो वचन फिर्ता लिएर शंकराचार्यहरूलाई मनाउनुपर्छ।
भारतमा यो तर्कवितर्क चलिरहँदा मेरा लागि भने फरक कारणले यो बहस अर्थपूर्ण बन्न गएको छ। एक महिनाअगाडि मैले नेपालमा चलिरहने हिन्दु राष्ट्रको एजेन्डालाई चिरफार गरौं भनेर एउटा भिडिओ शृंखला सुरू गरेको थिएँ।
त्यसको पहिलो अंकमा मैले संसारमा धर्मको जन्म, धर्म राजनीतिसित जेलिने प्रक्रिया र एक इश्वरीय द्वैत दर्शनको जन्मसँगै भएको धार्मिक कट्टरताको विकासबारे चर्चा गरेको थिएँ।
दोस्रो अंकमा मैले पूर्वीय र पश्चिमा दर्शनबीचको अन्तर केलाएको थिएँ।
अनि तेस्रो अंकमा चाहिँ, प्रमुखतः एक भारतीय शिक्षक डा. विकास दिव्यकीर्तिको एउटा लेक्चरका आधारमा पूर्वीय दर्शनको विकासक्रमको सर्सर्ती चर्चा गरेको थिएँ।
र, चौथो अंकका लागि भारतको स्वतन्त्रताका बेला चलेको आस्थाको राजनीतिबारे अध्ययन गर्दै थिएँ।
यही समयमा भारतीय सत्ता संस्थापन र शंकराचार्यहरूबीच राम मन्दिर उद्घाटनको विषयलाई लिएर यो विवाद भयो। भिडिओ शृंखलाका लागि मैले गरेको अध्ययनले मलाई यो विवादलाई पर्गेल्ने एउटा महत्त्वपूर्ण दृष्टिकोण दियो।
पूर्वीय दर्शनको आधारशिला भनेको आजभन्दा ३५ सय वर्ष पहिलेको हाराहारीमा लेखिएका मानिने चार वेद (ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद) हुन् जुन संहिता, ब्राह्मण, अरण्यक र उपनिषद गरी चार खण्डमा विभाजित छन्। वेदको अन्तमा रहेकाले उपनिषदहरूमा रहेको ज्ञानलाई वेदान्त ज्ञान वा दर्शन पनि भनिन्छ।
वेदान्त दर्शनको चुरो कुरा हो — सृष्टिको आदि र अन्तिम सत्य ब्रह्म हो जुन अविभाज्य वा एक वा अद्वैत छ। संसार सत्य पनि होइन, असत्य पनि होइन, मिथ्या हो। संसारमा रहेका सबै खाले विभाजन र वर्गीकरण पनि मिथ्या हुन्, किनकि सबै विभाजित पदार्थको अस्तित्व नै ब्रह्म हो।
जसरी पश्चिममा विकसित एक इश्वरीय धर्महरूले मानिस र ईश्वरमा विभाजन देखे र द्वैतवादी दर्शन विकास भयो, त्यसको ठ्याक्कै विपरीत रूपमा, झट्ट देखिने विभाजनका बीच साझा ब्रह्मको खोजी गर्दै वेदान्त दर्शन विकास भयो।
इसापूर्वको छैठौं शताब्दीतिर सुरू भएर तीन खाले दर्शनले वेदान्त दर्शनलाई चुनौती दिए — चार्वाक, जैन र बौद्ध दर्शन।
तिनको प्रतिवादमा वेदान्त दर्शनको विस्तार र पुनर्व्याख्या गर्दै षट्दर्शन विकास भयो जसमा कपिलमुनिको सांख्यदर्शन, पतञ्जलीको योगदर्शन, गौतम मुनिको न्यायदर्शन, कणाद ऋषिको वैशेषिकदर्शन, जैमिनि ऋषिको मिमांशादर्शन र आचार्य वादरायणको वेदान्तदर्शन गरी छ खाले दर्शनहरू समेटिएका छन्।
त्यसको केही समयपछि वेदान्त दर्शनको सार तीन रूपमा विकसित भयो जसलाई प्रस्थानत्रयी भनिन्छ — मुख्य उपनिषदहरू, गीता र ब्रह्मसूत्र। यीमध्ये सबैभन्दा लोकप्रिय सम्भवत गीता हो।
दर्शन विकासको त्यसपछिको चरणमा, खास गरी इसाको आठौं शताब्दीतिर पूर्वीय दर्शनमा दुई भँगाला देखिन थाले।
एक, ज्ञान केन्द्रित अद्वैत वेदान्त जसका मुख्य व्याख्याता आदि शंकराचार्य थिए।
दुई, भक्तिकेन्द्रित वैष्णव वेदान्त।
त्यसपछिका दिनमा यी दुवै दर्शन समानान्तर रूपमा विकास भए पनि मेरो विश्लेषण के छ भने, मानिसको दैनिक जीवनमा भक्तिकेन्द्रित वैष्णव वेदान्त अत्यन्तै हावी छ भने अद्वैत वेदान्त मूलतः विचारक र दार्शनिकहरूका व्याख्यानमा सीमित हुन पुगेको छ।
पूर्वीय दर्शनले पछिल्ला शताब्दीहरूमा अँगालेका यी दुई दार्शनिक धाराहरूमध्ये हाल चलिरहेको भारतीय सत्ता संस्थापन र शंकराचार्यहरूबीचको विवादमा को कतापट्टि छ त?
यो विवादलाई मैले मूलतः यो कोणबाट हेरिरहेको छु।
उसो त आदि शंकराचार्यका उत्तराधिकारी मानिने हुनाले सिद्धान्ततः शंकराचार्यहरूले अद्वैत दर्शनको बाटो समात्नुपर्ने हो। तर पछिल्ला साताहरूमा उनीहरूका जेजति व्याख्यान, प्रवचन र टिप्पणीहरू सुनेँ, त्यसबाट मलाई भने त्यस्तो लाग्दैन।
जस्तो, जोशीमठका शंकराचार्य अभिमुक्तेश्वरानन्दले एउटा पुरानो भिडिओमा भनेका छन् — भारत विभाजन हुँदा मुसलमानका लागि भनेर पाकिस्तान बन्यो, हिन्दुका लागि भारत। अब कि त पाकिस्तान पनि यतै मिलोस् र सहअस्तित्व सुरू गरौं, होइन भने मुसलमानहरू उतै जाऊन्।
यो कुरा त पूर्वीय दर्शनको कुनै पनि धारासम्मत होइन।
वैष्णव वेदान्त भन्छ — भक्ति गर, भगवानमा लीन होऊ र मुक्ति प्राप्त गर। त्यसमा निषेध, विस्थापन र हिंसालाई कुनै ठाउँ नै छैन। धर्मका नाममा निषेध र हिंसा त हाम्रा मौलिक कुरै होइनन्। पश्चिमा द्वैतवादी एक ईश्वरीय धर्मबाट आयातीत कुराहरू हुन्।
अद्वैत वेदान्तले त झन् भन्छ — देश, जात, छालाको रङ, धर्म, लिंग र भूगोल त के, प्रजातिका हिसाबले समेत कुनै विभाजन र वर्गीकरण स्वीकार्य छैन। जीवित र निर्जीव प्राणीबीचको विभाजनसमेत मान्य छैन।
एउटा भिडिओमा भारतीय विद्वान आचार्य प्रशान्तले अद्वैत दर्शनको बडा राम्रो व्याख्या गर्छन्।
उनी भन्छन् — आरम्भमा एक आदि वा अद्वैत बिन्दु हुन्छ जुन आफैंमा पूर्ण हुन्छ। तपाईं हामी अस्तित्वमा आउनासाथ त्यो बिन्दु अहम र प्रकृति गरी दुई भागमा बाँडिन्छ, जुन दुवै अपूर्ण हुन्छन्।
अहमले बिस्तारै अहंकार विकास गर्छ र आफू र प्रकृतिबीच दुरी देख्न थाल्छ जसकारण दुई पक्षबीच सम्बन्ध विकास हुन्छ। अहमले प्रकृतिलाई बदल्छ, प्रकृतिले अहमलाई। यही बदलाव नै वास्तवमा समय वा कालचक्र हो।
अद्वैत दर्शनमा अध्यात्मको उद्देश्य हुन्छ अहम र प्रकृतिबीचको दुरी मेटाउँदै लगेर तिनलाई फेरि पूर्ण अवस्थामा पुर्याउने। त्यो बिन्दु जसलाई मुक्ति, मोक्ष, निर्वाणजस्ता अनेक शब्दले पुकारिन्छ। त्यहाँ पुगेपछि मानिसका लागि समयको अस्तित्व नै सकिन्छ। ऊ जीवितै हुन सक्छ तर उसले अहम र प्रकृतिबीचको अन्तर वा दुरी अनुभूत गर्न छाड्छ। त्यही दुरीविहिनता र समयविहिनताको अविभाज्य अवस्थामा नै मानिस ब्रह्मरूपी सत्यमा लीन हुन सक्छ।
यसरी अहिलेको भारतमा चलिरहेको राम मन्दिर उद्घाटनसम्बन्धी विवाद झट्ट हेर्दा वैष्णवपन्थी रामभक्तहरूको भक्तिमार्ग र शैवपन्थी शंकराचार्यहरूको ज्ञानमार्गबीचको टकरावजस्तो देखिन सक्छ। तर यथार्थ त्यस्तो छैन।
त्यो विवादका दुवै पक्षको अडानमा पुरापुर द्वैतवादी दर्शन हावी भएको देखिन्छ।
त्यसमा पनि भारतीय सत्ता संस्थापनले अहिले जसरी मन्दिर उद्घाटन र आस्थाको बृहत्तर विषयलाई राजनीतिक मुद्दा र चुनावमा भोट घटबढको सस्तो विषय बनाइरहेको छ, त्यो पूरापुर मध्ययुगका इसाइ र इस्लामिक धर्मसत्ताहरूको आधुनिक संस्करण हो जहाँ मानिसको आस्थाले उसको राजनीतिक जीवन समेत निर्धारण गर्छ।
यही विषयमा चर्चा हुँदै गर्दा जोशीमठका शंकराचार्य अभिमुक्तेश्वरानन्दले एउटा प्रसंगमा भनेका छन् — भारतमा यहाँको मौलिक आस्था मेटाउन खोज्नेहरूले हजार वर्ष शासन गर्दा पनि हाम्रो आस्था बचिरह्यो। किनकि, यहाँ धर्मको जिम्मा सन्तहरूले लिए, राजाले लिएनन्। जहाँ धर्म शासकको जिम्मा हुन्छ, त्यहाँ शासकको हारसँगै धर्मको पनि हार हुन्छ। नयाँ शासक आएर सजिलै नयाँ धर्म लाद्न सक्छ।
उनको यो भनाइ सही छ। यो विवादमा उनी र पुरीका शंकराचार्य निश्चलानन्द सरस्वतीले भारतीय सत्ता संस्थापनलाई त्यस्ता धेरै कटु सत्य सुनाएका छन् जुन बोल्ने तागत आजको भारतका प्रतिपक्षी दलहरूमा समेत छैन।
तर पनि मलाई लाग्छ — आदि शंकराचार्यले व्याख्या गरेको र जगाएको वेदान्तमा आधारित अद्वैत दर्शनको साख फर्काउनु त कता कता, अहिलेका शंकराचार्यहरू आफैं पूर्वको विशिष्ट र मौलिक दर्शनबाट विमुख भइसकेका छन्।
फलस्वरूप आजको भारतमा फैलिइरहेको हिंस्रक धर्मान्धताको मौलिक र प्रभावकारी उपचार बन्न सक्ने भारतीय उपमहाद्वीपको सबभन्दा पुरानो दर्शन शास्त्रका अक्षर र केही अध्येता र दार्शनिकहरूका व्याख्यानमा मात्रै सीमित बन्न पुगेको छ। सिंगो राम मन्दिर उद्घाटन समारोहलाई लिएर भएको विवादले मलाई सिकाएको पाठ यही हो।
अन्तमा हेर्नुहोस्, यो विषयलाई लिएर मैले बनाएको आस्थाको राजनीतिसम्बन्धी भिडिओ शृंखलाको चौथो अंक। यसमा यो लेखमा उल्लिखित दुई शंकराचार्य लगायत धेरै जनाका भनाइहरूका भिडिओ बाइट संलग्न छन्।
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)