राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई 'उदार अर्थतन्त्रमा विश्वास गर्ने' दलका रूपमा चिनाएको छ। उसले आफ्नो प्रस्तावनाको पहिलो अनुच्छेदमा यस्तो लेखेको छ। अनि चौथो अनुच्छेदमा समाजवादको प्रधान लक्ष्य प्राप्तिका लागि शान्तिपूर्ण मार्ग अवलम्बन गर्ने कुरामा जोड दिएको छ।
यसैगरी उसको चुनावी घोषणापत्र- २०७९ मा 'जनउत्तरदायी, प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको सम्मान सहितको संवैधानिक समाजवाद (समाजवाद उन्मुख संविधानवाद) को दिशामा मुलुकलाई अगाडि बढाउनु नै राष्ट्रिय स्वतन्त्र पार्टीको दर्शन र प्रतिबद्धता हुनेछ' भनिएको छ।
यो दस्तावेजमा 'उदार' भन्ने शब्द कतै परेको छैन।
विचारमा स्पष्ट हुन नसकेको आरोप खेप्दै आएको रास्वपाले भोलिका दिनमा के गर्छ, हेर्न बाँकी छ।
तर ढुलमुले विचारले ऐनबखतमा धोका दिन्छ भन्ने पक्का हो।
समाजलाई बिगार्ने वा बनाउने किसिमका अभियान सञ्चालन गर्दा नाजुक घडीहरूमा वैचारिक प्रस्टता आवश्यक हुन्छ।
वैचारिक प्रस्टता नहुँदा सार्वजनिक महत्त्वका संवेदनशील विषयमा निर्णय गर्नुपर्दा चुक्ने खतरा हुन्छ।
उदाहरणका लागि, पछिल्लो समय चर्चामा रहेको शिक्षा विधेयकको कुरा गरौं।
समाजवादप्रति इमानदार व्यक्तिले स्कुल बजारले चलाउने हो भन्दैन। त्यस्तै उदार अर्थतन्त्रमा विश्वास गर्नेले निजी सम्पत्तिमाथि धावा बोल्दैन।
रास्वपाले निजी स्कुललाई बीस वर्षमा गुठीमा परिणत गर्ने भनेको छ। नाफामुखी संस्थालाई गैरनाफामुखी बनाउने भनेको छ।
नाफामुखी संस्थालाई गैरनाफामुखी बनाउने कुराले उदारवादी चिन्तकहरूले भन्ने गरेको निजी सम्पत्तिमाथिको अक्षुण्ण अधिकार खण्डन गर्छ। निजी सम्पत्तिमाथिको अक्षुण्ण अधिकार भनेको सम्पत्ति राख्ने, त्यसको उपयोग गर्ने, बिक्री गर्ने वा कसैलाई दान दिने सम्पूर्ण अधिकार सम्पत्तिको मालिकमा हुन्छ भन्ने हो।
भोलिका दिनमा रास्वपा ठूलो दल बन्दै जाला। सरकार बनाउला। त्यतिबेला उसले यस्ता धेरै संवेदनशील विषयमा निर्णय गर्नुपर्ने हुन्छ। वैचारिक स्पष्टताबिना दिगो निर्णय गर्न सकिँदैन। भावनात्मक निर्णयहरूले समाजलाई अस्थिर बनाइराख्छ।
नियोजित रूपमा हो कि होइन थाहा छैन, तर रास्वपाले समाजवाद र उदारवादलाई मिसाउन खोजेजस्तो देखिन्छ। यी दुई वादलाई मिसाउन खोज्ने रास्वपा पहिलो पार्टी भने होइन। आफूलाई सोझै समाजवादी भन्न नरूचाउने धेरै दलहरूले आफूलाई उदारवादी दलका रूपमा प्रस्तुत गरेका उदाहरण धेरै छन्।
उसो भए के समाजवाद र उदारवाद एकआपसमा मिल्ने कुरा हुन्? रास्वपाले यो मिश्रणलाई अझै गहिरो र फराकिलो बनाएर लैजान सक्छ?
यी दुई 'वाद' प्रस्थान बिन्दुबाटै छुट्टिन्छन्। यी यस्ता राजनीतिक र आर्थिक विचारधारा हुन्, जसमा व्यक्तिगत स्वतन्त्रता, सरकारको भूमिका, सम्पत्तिको वितरण र समाजको संगठनजस्ता प्रमुख विषयमा भिन्न मत छ। यद्यपि, देशकाल अनुसार यी विषयहरूको व्याख्या फरकफरक ढंगले गरिँदै आइएको छ।
दलविशेष, अझ कतिपय अवस्थामा नेताको स्वार्थ अनुकूल यी विचारधाराको व्याख्या हुने र त्यसै अनुरूप सरकारी योजना र कार्यक्रम बन्ने हुँदा समाजले दुःख पाएका उदाहरण धेरै छन्। यस प्रसंगमा समाजवाद र उदारवादको मुख्य भिन्नताहरू के के हुन्, छलफल गर्नु उचित हुन्छ।
व्यक्तिगत स्वतन्त्रता
माथि नै भनेँ, यी दुई वादका बीचमा मूल कुरा नै मिल्दैन। अंग्रेजीमा 'इन्डिभिजुआलिजम' भनिने शब्दको नेपालीमा 'व्यक्तिवाद' भनेर अनुवादन गर्ने हो वा अर्थ्याउने हो भने यसले सामान्यतया नकारात्मक भाव दिन्छ। स्वार्थी, अर्काको मतलब नगर्ने, आफ्नै बारेमा मात्रै सोच्ने, हृदयहीन सोच र व्यवहारलाई अगाडि सार्ने भन्ने बुझिन्छ।
तर उदारवादी दार्शनिकहरूले व्यक्तिवादलाई प्राकृतिक, सामान्य र स्वाभाविक मानेका छन्। व्यक्तिलाई प्रधान मानेर सामाजिक संगठन बन्ने र समाज परिचालन हुने प्रक्रिया मात्र नैतिक र मानवीय मूल्य अनुकूल हुन्छ भन्ने उनीहरूको दाबी छ।
अर्कातिर, धेरै किसिमका सामूहिकतावाद (कलेक्टिभिजम) मध्ये समाजवाद एउटा हो। यसमा व्यक्ति गौण हुन्छ। व्यक्तिगत स्वतन्त्रताको कुरा त पर्छ तर समाजले निर्धारण गरेको मूल्य, मान्यता र नैतिक सीमाभित्र व्यक्तिलाई बाँधिन्छ। यस्तो सीमा प्रायः आमजनताका नाममा निश्चित व्यक्तिले (शक्तिशालीहरूले) तोकेका हुन्छन्।
समाजवादीहरूले वर्गीय भेद कम गर्ने र सामाजिक र आर्थिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राख्छन्। सामूहिकतामा जोड दिएर समुदाय र सामूहिक कल्याणमा केन्द्रित हुनुपर्छ भन्छन्। यस अर्थमा, समाजवादको नैतिक आधार त्याग, समर्पण र बलिदान हो।
उदारवादको आधार भने लाभ, प्राप्ति र आपसी हित हो। उदारवादीका अनुसार लाभले व्यक्तिलाई एकअर्कासँग सहकार्य, समन्वय र प्रतिस्पर्धा गर्न प्रेरित गर्छ।
उदारवादीहरू स्वतन्त्रतामा जोड दिन्छन्, समाजवादीहरू समानतामा।
समानता प्रवर्द्धन गर्ने नाममा ठूला दुर्घटना भएका छन्। त्यसैले अवसरमा समानताको कुरा गर्न सकिने तर नतिजामा समानताको कुरा गर्यौं भने ठूलो भूल हुने उदारवादीको तर्क हुन्छ। उदारवादीहरू अभिव्यक्ति स्वतन्त्रता, धर्म र निजी सम्पत्ति माथिको अधिकार सहितको व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिन्छन्।
आर्थिक प्रणाली
उदारवादीहरूले वकालत गर्ने आर्थिक प्रणाली पुँजीवाद हो। सबै प्राकृतिक स्रोतहरू मानवीय उपयोगका लागि तयारी अवस्थामा उपलब्ध हुँदैनन्। त्यसलाई मानवीय उपयोगको वस्तु तथा सेवामा रूपान्तरण गर्न मान्छेले लगानी गरेको हुन्छ। यस्तो लगानीको बदलामा मान्छेले प्रतिफलको अपेक्षा गरेको हुन्छ।
स्कटल्यान्डका दर्शनशास्त्री एडम स्मिथ भन्थे, 'तपाईंलाई रोटीवालाले रोटी, भट्टीवालाले मदिरा र मासुवालाले मासु माया गरेर दिएका होइनन्। उनीहरूले आफ्नो लाभका लागि ती वस्तु तपाईंको टेबलसम्म ल्याइदिएका हुन्।'
यो आपसी लेनदेन सामान्य सत्य हो। यही सामान्य सत्यलाई समाएर उत्पादन, वितरण, उपभोग, बचत तथा लगानीको पुँजीवादी चक्र घुमेको हुन्छ। यो चक्र घुम्ने मियो निजी सम्पत्ति हुन्छ।
समाजवादीहरू भूमि, श्रम, पुँजीजस्ता उत्पादनका साधनको सामूहिक स्वामित्वको पक्षमा हुन्छन्। यद्यपि, के कति परिमाणमा त्यस्तो नियन्त्रण गर्ने भन्नेमा संसारभरका समाजवादी एक मत छैनन्। उत्पादनमा मात्रै होइन, वितरण र उपभोगमा पनि समाजवादीहरू सरकारी नियन्त्रणको वकालत गर्छन्। केन्द्रीकृत योजनाबाट समाजको आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने शैली समाजवादको हो।
उदारवादीहरू बजार अर्थतन्त्रमा विश्वास गर्छन् भने समाजवादीहरू नियोजित अर्थतन्त्रमा।
बजारका खेलाडीहरूले खेलको नियम बमोजिम खेलेको सुनिश्चित गर्ने भूमिकामा सरकार सीमित हुनुपर्छ भन्ने तर्क उदारवादीले गर्छन्। उनीहरूका अनुसार विधिसम्मत ढंगले एकअर्कालाई रिझाएर व्यक्ति जतिसुकै धनी बन्न सक्छ। को कति धनी भयो, कसले कति कमायो, त्यसमा सरकारले चासो दिनु पर्दैन।
समाजवादीहरू आर्थिक असमानता कम गर्न धनको समानुपातिक वितरणमा जोड दिन्छन्। उनीहरूका अनुसार कसैसँग थोरै र कसैसँग असाध्यै धेरै धन हुनु अन्यायी र असमान व्यवस्था हो। आर्थिक प्रणालीका सम्बन्धमा यो वैचारिक भिन्नताका कारण उनीहरूले लाभको वितरण (तलब, लगान, लाभांश), कर, सामाजिक सुरक्षाजस्ता मुद्दाहरूमा उदारवादीले भन्दा फरक किसिमका कार्यक्रम बनाउँछन्।
सरकारको भूमिका
उदारवादीहरू सामान्यतया सीमित सरकारको पक्षमा हुन्छन्, समाजवादीहरू सक्रिय सरकारको पक्षमा।
मानवीय आवश्यकताका धेरै चिज बजारले उपलब्ध गराउन सक्छ। बजारका माध्यमबाट स्रोतहरूको दक्ष र मितव्ययी उपयोग हुन सक्छ भन्ने विश्वास उदारवादीले गर्छन्। अर्थव्यवस्था विकेन्द्रीत हुनुपर्छ। मान्छेहरू आफ्नो आर्थिक हित सुनिश्चित गर्न सक्षम हुन्छन्। सरकार फैलिँदै जाँदा व्यक्तिगत अधिकार र स्वतन्त्रता खुम्चिँदै जाने भएकाले राज्यको सीमित भूमिकाको पक्षमा उदारवादी उभिन्छन्।
समाजवादीहरूको सामाजिक तथा आर्थिक संगठन पितृवादी दर्शनमा आधारित छ। राज्यको भूमिका अभिभावकको जस्तो हुनुपर्छ भन्छन्। समाजका जान्नेसुन्ने र स्रोतसम्पन्न व्यक्तिले कमजोर र निमुखाहरूको हितमा काम गर्नुपर्छ भन्ने उनीहरूको आदर्श हुन्छ। यसैकारण आवधिक योजनामार्फत सरकारले सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा उनीहरू जोड दिन्छन्। सबैलाई निःशुल्क स्वास्थ्य र शिक्षाको वाचा गर्छन्।
सरकार र बजारको भूमिका सम्बन्धमा पनि समाजवादीहरू विभाजित छन्। राज्य समाजवाद (मुख्य उद्योगहरूमा सरकारी नियन्त्रण) देखि बजार समाजवाद (बजार संयन्त्रसँगै सामाजिक स्वामित्व) सम्मका भिन्न रूपका समाजवाद भेटिन्छन्।
उदारवादीहरू गरिबीलाई सम्बोधन गर्न र जीवनको आधारभूत स्तर सुनिश्चित गर्ने सामाजिक सुरक्षाका उपाय पनि बजारले नै दिन सक्छ भन्ने दाबी गर्छन्। मान्छेका स्वैच्छिक गतिविधिबाट समस्यामा परेकालाई सहयोग गर्न सकिन्छ भन्ने उनीहरूको धारणा हुन्छ। धनी मान्छेले दान गर्न सक्छन्। दान गर भनेर आग्रह गर्न सकिन्छ अनिवार्य गर्न हुँदैन।
सरकार नहुँदैमा मान्छे एकअर्कालाई काट्न निस्किन्छन्, हत्याहिंसा, बलात्कार, आगजनी, लुटपाट सुरू भइहाल्छ भन्ने होइन। करूणा भन्ने चिज मान्छेमा हुन्छ। उनीहरू एकअर्कालाई माया गर्छन। एकअर्कालाई सहयोग गर्न तत्पर हुन्छन्। दानको बदलामा प्रशंसा पाइन्छ भने त्यसमा सन्तुष्टि जनाउने मान्छे थुप्रै हुन्छन्।
उदारवादीहरू व्यक्तिगत अधिकार र स्वतन्त्रताको रक्षा गर्नमा मात्र सरकारको भूमिका सीमित हुनुपर्छ भन्छन्। अर्थव्यवस्था र सामाजिक जीवनमा सरकारी हस्तक्षेपको विरोध गर्छन्।
समाजवादीहरू अर्थतन्त्र नियमन गर्न, सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्न र आर्थिक समानताका लागि निरन्तर पुनर्वितरणका लागि सक्रिय सरकारको अपरिहार्यता औंल्याउँछन्।
कानुनको शासन
कानुनको शासनमा उदारवादी र समाजवादी दुवैले विश्वास गर्छन्।
उदारवादीहरू व्यक्तिगत स्वतन्त्रता र निजी सम्पत्तिलाई रक्षा गर्ने गरी कानुन तर्जुमा गर्नुपर्छ भन्छन् भने समाजवादीहरू सामाजिक कल्याण र समानतालाई सुनिश्चित गर्ने गरी।
शास्त्रीय उदारवादी परम्पराका अग्रणी चिन्तकमध्ये एक जोन लकले मान्छेको जीवन, स्वतन्त्रता र सम्पत्ति मात्र नैसर्गिक अधिकार हो भनेका छन्। कानुनको तर्जुमा र कार्यान्वयन यिनै नैसर्गिक अधिकारको रक्षा गर्ने गरी हुनुपर्छ भन्ने प्रस्ताव उनले गरेका थिए।
पछिल्लो समयका उदारवादी चिन्तकहरूले निजी सम्पत्तिको अधिकार सुनिश्चित गर्ने गरी कानुन बनाइयो र कार्यान्वयन गरियो भने बाँकी सबै अधिकार स्वतः सुरक्षित हुन्छन् भन्ने दाबी गरेका छन्। उनीहरूका अनुसार निजी सम्पत्तिको अधिकारमा बाँकी सबै अधिकार अभिव्यक्त हुन्छन्।
समाजवादीहरू भने कानुनबाट धेरै कुरा सुनिश्चित हुनुपर्ने माग गर्छन्। आर्थिक समानता, सामाजिक न्याय, सम्पत्तिको सामूहिक स्वामित्व र नियन्त्रण, श्रमिकको अधिकार, सामाजिक कल्याणका कार्यक्रम, लोकतान्त्रिक शासन आदि सबै कानुन तर्जुमा गरेर स्थापित गर्न सकिन्छ भन्ने उनीहरूको धारणा छ। पछिल्लो समय उनीहरूले पर्यावरणीय सन्तुलनमा पनि जोड दिन थालेका छन्।
उदारवादीहरूले आर्थिक, सामाजिक र राजनीतिक मुद्दाहरूको विश्लेषणमा तर्क र आलोचनात्मक सोचको महत्त्वलाई जोड दिन्छन्। उनीहरू खुला बहस र समाधानहरूमा पुग्न विचारको आदानप्रदानको वकालत गर्छन्।
सामाजिक न्याय
दुवै विचार परम्पराको उद्देश्य न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने हो, जहाँ सबैलाई समान अवसर र सामाजिक प्रगतिबाट लाभ हुन्छ।
उदारवादीहरू समान अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न कानुनी र राजनीतिक सुधारहरूमा जोड दिन्छन्। समाजवादीहरू आर्थिक असमानता र शक्ति असन्तुलन सम्बोधन गर्न प्रणालीगत परिवर्तनमा जोड दिन्छन्। उदारवादीले जोड दिने व्यक्तिगत स्वतन्त्रता र समाजवादीले जोड दिने सामाजिक न्यायको बीचमा सन्तुलन खोज्नु निकै कठिन कार्य हो।
प्रमुख व्यक्ति
समाजवादको प्रसंग आउने बित्तिकै जर्मन दार्शनिक कार्ल मार्क्सको नाम आइहाल्छ। त्यसै परम्परामा फ्रेडरिक एंगेल्स, भ्लादिमिर लेनिन र माओ त्से तुंगको पनि नाम जोडिन्छ।
फ्रान्सेली अराजकतावादी प्राध्वाँले पुँजीवाद र राज्य समाजवाद दुवैको आलोचना गरेका थिए। उनले व्यक्तिगत स्वतन्त्रता र श्रमिक सहकारीहरूमार्फत पारस्परिक सहायतामा जोड दिने किसिमको समाजवादको वकालत गरे।
स्कटल्यान्डमा १९ औं शताब्दीको प्रारम्भतिर युटोपियन समाजवादी रोबर्ट ओवेनले 'न्यू ल्यानार्क कटन मिल' स्थापना गरेका थिए। त्यो मिलको प्रमुख साझेदार ओवेन थिए भने त्यसमा काम गर्ने सबै कामदार त्यसको सेयरधनी। उनले वकालत गर्ने कामदारलाई उचित ज्याला, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सामाजिक कल्याणलाई त्यो औद्योगिक ग्राममार्फत व्यवहारमा उतारेर देखाउने प्रयास गरे। उनले २५ वर्ष चलाएर छोडेको त्यो ठाउँ अहिले विश्व सम्पदा सूचीमा परेको छ।
जर्ज बर्नार्ड शा, बिट्रिस वेब, सिडनी वेब लगायतले 'फेबियन समाजवाद' चर्चामा ल्याए। यसको प्रभाव पनि धेरैतिर फैलियो। बेलायतमा लेबर पार्टीका संस्थापक केयर हार्डी, दोस्रो विश्व युद्धलगत्तै भारी बहुमतसहित सरकार बनाएका प्रधानमन्त्री क्लेमेन्ट एट्लीलाई श्रमिक अधिकार, सामाजिक कल्याणका कार्यक्रम, प्रमुख उद्योगहरूको राष्ट्रियकरण जस्ता फेबियन समाजवादी नीति लागू गरेको जस दिइन्छ।
शास्त्रीय उदारवादी चिन्तकको समूहमा जोन लक, मोन्तेक, भोल्टेयर, एडम स्मिथ र जेएस मिल पर्छन्। व्यक्तिवाद, सीमित सरकार, संविधानवाद, सहिष्णु र बहुलवादमा जोड दिने यिनीहरूको विचार २० औं शताब्दीको मध्यसम्म ओझेलमा परेको थियो। त्यसलाई लुडविग भन मिजस, एफ ए हायक, मिल्टन फ्रिडम्यान, कार्ल पोप्परहरूले पुनः चर्चामा ल्याए।
युरोपेली र अमेरिकी उदारवाद
पुँजीवादी वा समाजवादी कित्तामा उभ्याउन नचाहनेहरूले आफूलाई अहिले उदारवादी भन्ने गरेका छन्। यिनीहरू कट्टर समाजवादी जसरी सम्पत्तिको सामूहिक स्वामित्व र नियन्त्रणलाई जोड दिँदैनन्। योजनाबद्ध आर्थिक विकास र बजार व्यवस्थामा पनि यिनीहरूको विश्वास छैन।
व्यावहारिक रूपमा भन्दा, समाजवादतर्फ ढल्केकालाई प्रगतिवादी र पुँजीवादतर्फ ढल्केकाहरूलाई उदारवादी भन्न सजिलो हुन्छ।
प्राज्ञिक लेखनमा अमेरिकीहरूले शास्त्रीय उदारवादको चर्चा गर्दा 'युरोपियन लिबरलिजम' भन्ने गर्छन्। आर्थिक असमानता र बजार व्यवस्थाको विरोध मात्रै उदारवाद हो भन्ने उनीहरू मान्दैनन्।
उदारवादको बाटो कठिन छ
यो चर्चाबाट के निष्कर्ष निकाल्न सकिन्छ भने विद्यमान आर्थिक, राजनीतिक, सामाजिक विसंगतिबाट आजित रास्वपा समर्थक वा अरू परिवर्तनकामीहरूले समाजवाद र उदारवादको भेद थाहा पाउनुपर्छ। समाजवादको बाटो रोमाञ्चक छ, उदारवादको झर्को लाग्दो।
उदारवादी कार्यक्रम लागू गरेर त्यसबाट आजको भोलि उल्लेख्य परिवर्तन पाउन सकिँदैन। यसकारण यसतर्फ आमसमुदाय तुरून्तै आकर्षित हुँदैन। उदारवादको बाटो कठिन छ, समाजवादको बाटो सजिलो।
मान्छेलाई सामाजिक विवेकशील प्राणी भनिन्छ। तर, सदासर्वदा मान्छेले विवेकी व्यवहार देखाउँदैन। दीर्घकालीन लाभलाई भन्दा तात्कालिक लाभलाई प्राथमिकता दिन्छ। सामान्यजनले क्षणिक लाभ रोज्छन्। अनाकर्षक र अप्रिय नै भए पनि दिगो बाटोतर्फ लैजाने काम नेतृत्वको हो।
लोकप्रियतावादको हावा जोडले चलेको यो समयमा उदारवादलाई अँगाल्नु सजिलो छैन। समाजवादी नाराहरू लोकप्रिय हुन्छन्, सतर्क हुनै पर्छ।
बेलायती प्रधानमन्त्री विस्टन चर्चिल भन्थे, 'पुँजीवादको अन्तर्निहित दुर्गुण सुखको असमान वितरण हो भने समाजवादको अन्तर्निहित गुण भनेको दुःखको समान वितरण।'
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)