सामान्यतया अक्षर खेलाउनेहरूलाई बुद्धिजीवी भनिन्छ। जीविकोपार्जनका लागि उनीहरू शारीरिक परिश्रम गर्दैनन्, बुद्धिको भरमा बाँच्छन्। विश्वभर, विगतदेखि वर्तमानसम्म यो समूहका अधिकांश मान्छेको साझा चरित्र भनेको पुँजीवादको चर्को विरोध गर्नु हो।
अरू पेसा-व्यवसायका मान्छे पनि पुँजीवादको आलोचना गर्छन्। तर कथित बुद्धिजीवीको विरोध असमानुपातिक हुने गरेको छ। अर्थात् बुद्धिजीवीहरूमाथि भएको भनिएको अन्यायभन्दा त्यो समूहको विरोध चर्को हुन्छ। आफू समाजको 'श्रेष्ठ' सदस्य भएको नाताले पुँजीवादको विरोध गर्नु आफ्नो कर्तव्य हो भन्ने उनीहरूलाई लाग्छ।
सबै बुद्धिजीवी पुँजीवादलाई घृणा गर्छन् भन्ने होइन। जसले विरोध गर्छन्, उनीहरूले पुँजीवादमा धेरै किसिमका खोट देख्छन्।
उनीहरूले औंल्याउने पुँजीवादको पहिलो खोट हो आर्थिक असमानता।
बुद्धिजीवीहरू पुँजीवादले आय र सम्पत्तिमा असमानता निम्त्याउँछन् भन्छन्। पुँजीवादी प्रणालीले धनीहरूलाई झन् धनी बनाउँछ। उनीहरूलाई लाग्छ — आर्थिक असमानता अन्य किसिमका असमानताको जननी हो, अनैतिक हो।
उनीहरूका धारणा अनुसार पुँजीवादको मूल चरित्र शोषण हो। पुँजीवाद नाफाको वरिपरि घुम्छ। एक मात्र उद्देश्य 'नाफा' बाट परिचालित हुने बजार अर्थतन्त्रमा पुँजीपतिले श्रमिकको शोषण गरेकै हुन्छ। श्रमिकको शोषणबाहेक नाफा कमाउने अर्को कुनै उपाय छैन।
माथिका तर्कहरू फितला बन्दै गएपछि आलोचकहरू अहिले वातावरणीय विनाशको दोष पुँजीवादलाई दिन थालेका छन्। पुँजीवाद निरन्तर वृद्धि र उपभोगमा आधारित व्यवस्था हो र यसले स्रोतको अत्यधिक दोहन गरी वातावरणीय विनाश निम्त्यायो भन्ने उनीहरूको नयाँ तर्क छ।
उनीहरूको अर्को तर्क — पुँजीवादको जोड तात्कालिक लाभमा हुन्छ। यसले समाजलाई सुसंगठित बनाउँदैन, अराजक बनाउँछ। क्षणिक लाभमा अडिएको यो व्यवस्था राजनीतिक, सामाजिक र आर्थिक स्थिरताका लागि हानिकारक छ।
उनीहरूले पुँजीवादमाथि लगाउने अर्को आरोप — यसले मानवीय मूल्यमान्यता, नैतिकता, आदर्शहरूलाई व्यापारिक वस्तुमा परिणत गर्छ। सबैथोक बजारयोग्य उत्पादनमा परिणत भएपछि मानवीय मूल्य, परम्परा तथा संस्कृति नष्ट हुन्छ।
उनीहरूका अनुसार पटकपटक देखा पर्ने आर्थिक संकट (बजार असफलता) पुँजीवादको उत्पादन हो। आर्थिक संकट पुँजीवादी व्यवस्थामा मात्र देखा पर्छ। स्रोतहरूको कुशल व्यवस्थापन गर्ने प्रणाली पुँजीवाद होइन। कुशल आर्थिक व्यवस्थापन गर्न नसक्ने यो प्रणालीले मान्छेको ज्यान लिन्छ, घरबारबिहीन बनाउँछ, बेरोजगार बनाउँछ।
यस्तै भनाइ अघि सारेर पुँजीवादको चर्को आलोचना गर्नेमा सबभन्दा अगाडि आउने नाम जर्मन दार्शनिक कार्ल मार्क्सको हो।
उनले पुँजीवाद शब्दको प्रयोग गरेनन् तर श्रमिक वर्गको शोषणमा उभिएको 'पुँजीवादी उत्पादन प्रणाली' लाई समाजवादले प्रतिस्थापन गर्ने बताए।
सन् १८४८ मा तयार पारिएको 'कम्युनिस्ट म्यानिफेस्टो' मा मार्क्स र एगेंल्सले 'बुर्जुवाहरूले आफ्नो चिहान आफैं खन्ने काम गर्दै आइरहेका छन्' भनेर उल्लेख गरेका छन्। पछि मार्क्सले श्रमको अतिरिक्त मूल्य सिद्धान्तलाई टेको बनाएर यो कथन पुष्टि गर्ने असफल प्रयास गरेका थिए।
'थेसेस अन फायरबाख' मा मार्क्सले एक वाक्य लेखेका छन् — दार्शनिकहरूले अहिलेसम्म संसारलाई विभिन्न तरिकामा व्याख्या मात्र गरेका छन्, खासमा गर्नुपर्ने (संसारलाई) परिवर्तन हो।
म्यानिफेस्टो र मार्क्सका अरू कृतिमा प्रयोग भएका यस किसिमका वाक्य संरचनाले तत्कालीन युरोपका पढे-लेखेका धेरै युवाहरूलाई रोमाञ्चित बनायो।
रूसी नेता भ्लादिमिर लेनिनले पुँजीवाद 'पतनशील प्रणाली' हो र मार्क्सले प्रक्षेपण गरेको पुँजीवाद ढल्ने समय आइसकेकाले क्रान्तिकारीहरूले 'अन्तिम धक्का' दिनुपर्ने दाबी गरेका थिए।
लेनिनले अशिक्षित सर्वहारा वर्ग र सहरी औद्योगिक मजदुरहरूलाई क्रान्तिमा समाहित गर्नका निम्ति समाजवादी विचारधाराका जटिलताहरू व्याख्या गर्न बुद्धिजीवीहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका थिए। उनका अनुसार श्रमिक वर्ग आफ्नै प्रयासले ट्रेड युनियन चेतनाको विकास गर्न मात्र सक्षम हुन्छ। त्यसबाट प्राप्त हुने सीमित सामाजिक तथा आर्थिक लाभहरू बढाएर लैजानुपर्छ भन्ने उनको आग्रह थियो।
इटलीका कम्युनिस्ट नेता एन्टोनियो ग्राम्सी बुद्धिजीवीले ज्ञान सिर्जना र संरक्षण गर्छन् भन्ने विश्वास गर्थे। उनीहरू नै विभिन्न सामाजिक समूहका प्रवक्ता हुन् र सामाजिक हितका पक्षमा बोल्छन् भन्ठान्थे। बुद्धिजीवीहरूले आफूलाई शासक वर्गबाट स्वायत्त राख्छन् भन्ने पनि उनको विश्वास थियो।
कम्युनिस्ट मात्रै होइन, बौद्धिक कर्ममा लागेका र सामूहिकतावादको मोहपासमा परेका धेरै समाजवादीहरू पुँजीवादको आलोचना गर्थे। कम्युनिस्टहरू भन्दा फरक ढंगले प्रसिद्ध नाट्यकर्मी जर्ज बर्नाड शा, समाजशास्त्री म्याक्स वेबर, लेखक टिएस इलिएट, एजरा पाउन्ड, वाइबी यिट्स, चार्ल्स डिकेन्स, भर्जिनिया वुल्फ, इएम फोस्टर, बर्टान्ड रसेल, रोबर्ट ओवेन लगायतले पुँजीवादको विरोध गरेका थिए।
प्रचलित व्यवस्थामै क्रमिक सुधार गरेर बलियो सरकारले उत्पादनका साधनमाथि नियन्त्रण राख्दै योजनावद्ध ढंगले जनताका पक्षमा काम गर्न सक्छ भन्ने उनीहरूको विश्वास थियो।
अहिले पनि बौद्धिक समुदायमा अमेरिकी लेखक नोम चम्स्की, फ्रान्सेली प्राध्यापक थोमस पिकेटी, कोरियाली प्राध्यापक हा जुन चांग, क्यानडियन अधिकारकर्मी नाओमी क्लेन, भारतीय लेखक अरून्धती रोय पुँजीवादको विरोधका लागि चर्चित नाम हुन्।
यहाँनेर चाखलाग्दो विषय के भने — किसान, मजदुर लगायत श्रमिक वर्गको शोषण गर्छ भनेर पुँजीवादको चर्को विरोध गर्नेहरू कोही पनि शारीरिक परिश्रम गरेर जीविकोपार्जन गर्ने परिवारमा जन्मे-हुर्केका होइनन्। उनीहरू कसैलाई पनि श्रमिक वर्गको दुःख के हो भन्ने आत्मअनुभव थिएन।
युनिभर्सिटी अफ क्यालिफोर्नियामा राजनीति शास्त्रका प्राध्यापक पिटर एच स्मिथका अनुसार ८६ प्रतिशत बुद्धिजीवी सम्बद्ध समाजको उच्च तथा मध्यम आय वर्गबाट आउँछन्। उनको अध्ययनले १४ प्रतिशत बुद्धिजीवीको पृष्ठभूमि श्रमिक वर्गसँग जोडिएको देखाएको थियो।
बुद्धिजीवीको यही पृष्ठभूमि एउटा कारण हुन सक्छ जसले पुँजीवादको असमानुपातिक विरोधलाई बढावा दियो। केहीले गरिबी र अभावलाई रोमाञ्चक बनाए र यसको समाधानका लागि स्वैर काल्पनिक उपाय अगाडि सारे। यसरी मूर्त समस्याको अमूर्त समाधान खोज्दै अगाडि बढाइएका राजनीतिक अभियान टुंगोमा पुगेनन्। आम जनताको जीवनमा परिवर्तन ल्याउन सकेनन्।
त्यस्तै काल्पनिक उपायमध्येको एक समाजवादको आकर्षण उत्कर्षमा रहेका बेला सन् १९४९ मा बुद्धिजीवीहरूलाई अस्ट्रियाली दार्शनिक एफ ए हायकले सामूहिकतावादी भ्रम सच्याउन आह्वान गर्दै एउटा किताब लेखेका थिए।
'द इन्टेलेक्चुअल एन्ड सोसलिज्म' शीर्षकको उक्त किताबमा बुद्धिजीवीहरूको समूहलाई एउटा छपनीको संज्ञा दिइएको छ। आधुनिक समाजमा त्यो छपनीबाट छानिएपछि मात्र नयाँ ज्ञान र विचार जनस्तरमा पुग्छ भन्ने उनको तर्क छ। त्यसैकारण समाजवाद जस्तो नियोजित प्रणालीप्रति बुद्धिजीवीको आस्था समग्र मानव समाजको स्वतन्त्रताका लागि ठूलो जोखिम भएको उनले औंल्याएका थिए।
बुद्धिजीवीहरूले कोरा आदर्श र पूर्ण रूपमा काल्पनिक कारणहरूलाई आधार बनाएर समाजवादको वकालत गरिरहेको उनको दाबी थियो। उनले पत्रकार, शिक्षक, मन्त्री, सार्वजनिक वक्ता, रेडियो टिप्पणीकार, कलाकार, लेखक तथा कार्टुनिस्टलाई बुद्धिजीवीको वर्गमा राखेका थिए।
अमेरिकी अर्थशास्त्री मिल्टन फ्रिडम्यान बुद्धिजीवी र व्यापारीको हस्तक्षेपले पुँजीवादलाई कमजोर बनाउँछ भन्थे।
व्यापारीहरू सत्ताधारीलाई प्रभावमा पारेर विशेष आर्थिक एकाधिकार प्राप्त गर्ने ध्याउन्नमा लाग्दा पुँजीवाद विकृत हुने उनको तर्क थियो। अधिकांश बुद्धिजीवी समाजवादी आदर्शमा डुबेकाले सामाजिक तथा आर्थिक यथार्थ तथ्यगत रूपमा देख्नै सक्दैनन् भन्ने फ्रिडम्यानको आरोप थियो।
अर्का अमेरिकी अर्थशास्त्री थोमस सोवेलले बुद्धिजीवीमा तीन गुण (शिक्षित, सिर्जनशील र कलात्मक) हुनुपर्ने बताएका छन्।
शिक्षित व्यक्तिले कम्तीमा आफ्नो क्षेत्रको जटिलभन्दा जटिल अवधारणा बुझेको हुन्छ — व्याख्या गर्न सक्छ। बुद्धिजीवी सिर्जनशील हुन्छ — उसले साहित्य, दर्शन, कला, चिकित्सा, विज्ञान लगायत क्षेत्रमा सांस्कृतिक पुँजी निर्माण गर्छ। यसैगरी बुद्धिजीवीमा सौन्दर्य चेत हुन्छ — उसको प्रस्तुति र अभिव्यक्ति कलात्मक हुन्छ।
यी गुण बिर्सिएर विश्वविद्यालयले उत्पादन गर्ने शिक्षित अभिजातलाई मात्र बुद्धिजीवी मानिने आमप्रवृत्तिप्रति सोवेलले आफ्नो किताब 'इन्टेलेक्चुअल एन्ड सोसाइटी' मा असन्तुष्टि जनाएका छन्।
उनका अनुसार यही शिक्षित अभिजात वर्ग आफ्नो क्षेत्रभन्दा बाहिर गएर बोल्छन्। एउटा प्रभाव क्षेत्र (प्रभामण्डल) बनाइराख्ने निरन्तर प्रयासमा हुन्छन्। र, त्यसबाट व्यावसायिक लाभको अपेक्षा गर्छन्। यही वर्गले पुँजीवादको सबभन्दा चर्को विरोध गर्छ।
अमेरिकी मुक्तिवादी दार्शनिक रबर्ट नोजिकले सन् १९८६ मा 'बुद्धिजीवीहरू पुँजीवादको विरोध किन गर्छन्?' शीर्षकमा लेख लेखेका थिए। यो लेखको शीर्षक त्यसैबाट जुराइएको हो — यसमा धेरै नोजिकका कुरा परेका छन्।
नोजिकका अनुसार बुद्धिजीवीहरू स्कुल वा कलेजमा जस्तै शैक्षिक कौशललाई आधार बनाएर बृहत समाजले उनीहरूलाई पुरस्कृत गर्नुपर्छ भन्ने ठान्छन्। तर पुँजीवादी समाजले त्यसो गर्दैन।
पुँजीवादी समाजमा, बुद्धिजीवीहरूलाई आफूले अपेक्षा गरेभन्दा कम पारिश्रमिक पाइरहेको (अन्डरपेड) लाग्छ, त्यसैले उनीहरू रूष्ट हुन्छन् भन्ने नोजिकको पहिलो तर्क छ।
पुँजीवादप्रति बौद्धिकहरूको वैमनश्य औपचारिक विद्यालय शिक्षा र पुँजीवादी समाजले व्यक्तिगत योगदानको मूल्यांकन गर्ने विधिमा रहेको भिन्नताका कारण सिर्जना भएको हो। अरू समूहका तुलनामा पुँजीवादी समाजमा बुद्धिजीवीहरूले आरामदायी जीवनको मजा लुटिरहेका हुन्छन्। तैपनि उनीहरूलाई आफ्नो अवमूल्यन भएको लागिरहन्छ। समाजवादी वा अरू सामूहिकतावादी तथा केन्द्रीयतावादी आर्थिक, सामाजिक, राजनीतिक प्रणालीमा मात्र आफ्नो सही मूल्यांकन हुने उनीहरू ठान्छन्।
आर्थिक प्रतिकूलतामा उत्पन्न हुने तात्कालिक रोष बाहेक बुद्धिजीवीसँग तुलनायोग्य अरू सामाजिक–आर्थिक समूहका मान्छेले पुँजीवादको चर्को विरोध गर्दैनन्। यस हिसाबले बुद्धीजीवीहरू अर्घेला हुन् भन्ने नोजिकको भनाइ छ। नोजिकलाई बुद्धिजीवीहरूको पुँजीवाद विरोधले अचम्मित पार्छ। त्यसैले लेखमा त्यसको जवाफ खोज्छन्।
मार्क्सले जस्तै नोजिकले अक्षर कुँद्ने वा खेलाउने मान्छेको समूहलाई बुद्धिजीवी भनेका छन्। बुद्धिजीवीले आफ्नो पेसामा अक्षरको कारोबार गर्छन्, अक्षर प्रवाहलाई आकार दिन्छन्। त्यो आकार रूचाउने ग्राहक जति हुन्छन्, बुद्धिजीवी त्यति नै प्रतिष्ठित हुन्छन्। यी अक्षर खेलाउनेहरूमा कवि, उपन्यासकार, समालोचक, पत्रकार र प्राध्यापक पर्छन्।
नोजिक हायकले जस्तो संख्या खेलाउने, प्रसारण गर्ने वा दृश्य माध्यममा काम गर्ने चित्रकार, मूर्तिकार, क्यामराम्यानलाई विरोधी बुद्धिजीवीको वर्गमा राख्दैनन्। उनका अनुसार अक्षर खेलाउनेले जस्तो यी पेसाका मानिसले पुँजीवादको चर्को विरोध गर्दैनन्। बरू अक्षर खेलाउने विरोधीहरू निश्चित पेसागत क्षेत्रमा भेटिन्छन् — प्राज्ञिक, मिडिया र कर्मचारीतन्त्रमा।
अक्षर खेलाउने बुद्धिजीवीहरू पुँजीवादी समाजमा खाइखेली गरिरहेका हुन्छन्। उनीहरूलाई नयाँ विचार बनाउने, पहिल्याउने, प्रचार गर्ने, पढ्ने र छलफल गर्ने व्यापक स्वतन्त्रता हुन्छ। उनीहरूको पेसागत सीपको माग उच्च हुन्छ। आम्दानी औसतभन्दा धेरै माथि हुन्छ।
त्यसो भए किन उनीहरू पुँजीवादकै बढी विरोध गर्छन्?
बुद्धिजीवीहरू आफू समाजमा सबभन्दा मूल्यवान, सबैभन्दा प्रतिष्ठित, शक्ति सम्पन्न, सबभन्दा धेरै पुरस्कृत व्यक्ति हुनुपर्ने अपेक्षा गर्छन्। आफूलाई हकदार नै मान्छन्। तर सामान्यतया पुँजीवादी समाजले बुद्धिजीवीको अपेक्षा बमोजिम कदर गर्दैन।
बुद्धिजीवीको अपेक्षा विपरीत पुँजीवादी समाजले 'प्रत्येकलाई उसको योग्यता वा उसले सिर्जना गर्ने मूल्य अनुसार वितरण गर्ने' सिद्धान्त पछ्याउँदैन। बजारले उसलाई त्यति दिन्छ, जति उसले अरूको माग पूरा गर्ने गरी सिर्जना गरेको हुन्छ। कति दिने भन्ने कुरा कति माग छ र कति परिमाणमा वैकल्पिक आपूर्तिका स्रोत उपलब्ध छन् भन्नेमा निर्भर गर्छ।
असफल उद्यमी वा मजदुर पनि अक्षर खेलाउने बुद्धिजीवी जस्तो पुँजीवादी व्यवस्थाका दुश्मन हुँदैनन्। बृहत बजार समाजले मान्यता नदिएको श्रेष्ठताको भावका कारण पुँजीवादप्रति बुद्धिजीवीमा शत्रुता उत्पन्न हुने नोजिक बताउँछन्।
यो परम्परा कहिलेदेखि सुरू भयो भन्ने सवालमा नोजिक अगाडि थप्छन् — होमो सेपियन्सले विचार आदानप्रदान गर्न थालेदेखि नै आफ्नो कर्मलाई सबभन्दा मूल्यवान भएको दाबी गर्दै आएको छ। प्लेटोले तार्किकतालाई साहस र भोक (शारीरिक आवश्यकता) भन्दा माथि राख्थे र दार्शनिकहरूले शासन गर्नुपर्छ भन्थे। एरिस्टोटलले बौद्धिक चिन्तनलाई उच्चतम मानवीय गतिविधि मानेका थिए। अहिले पनि बौद्धिक गतिविधिलाई सबभन्दा उच्च मूल्यांकन गरिन्छ। किनकी, यस्तो मूल्यांकन विधि तय गर्ने व्यक्ति फेरि बुद्धिजीवी नै थिए।
सिकार वा शासन गर्ने वा अरू पेसा-व्यवसाय गर्ने वा कुनै मनोरञ्जनमा लिप्त मान्छे जसले लेखपढ वा चिन्तनलाई भन्दा अन्य चिजलाई बढी मूल्यवान ठान्थे, उनीहरूले मेरो क्षेत्र उत्तम हो भन्ने किसिमले स्थायी लिखित अभिलेख राख्ने कष्ट गरेनन्। बुद्धिजीवीले मात्र कुन काम उत्कृष्ट हो भन्ने 'सिद्धान्त' बनाए।
नोजिक भन्छन् — बुद्धिजीवीहरूमा आफू उत्कृष्ट हुँ भन्ने भाव विद्यालयबाट आयो। सभ्यताको विकाससँगै किताबी ज्ञानको महत्त्व बढ्दै जाँदा, बालबालिकालाई कक्षाकोठामा राखेर पढाउने र किताबी ज्ञान दिने विद्यालय शिक्षाको संस्कृति फैलियो। विद्यालय बालबालिकाको मनोवृत्तिलाई आकार दिने परिवार बाहिरको प्रमुख संस्था बन्न पुगे।
त्यहाँ बुद्धिजीवीहरू सफल भए। त्यहाँ उनीहरूलाई अरूभन्दा उत्कृष्ट भनेर मूल्यांकन गरियो। उनीहरूको प्रशंसा गरियो। पुरस्कृत गरियो। उनीहरू शिक्षकका प्रिय भए। विद्यालयले उनीहरूलाई तिमीहरू 'श्रेष्ठ' हौ भन्यो।
तर बृहत् बजार समाजले फरक पाठ सिकाउँथ्यो। त्यहाँ सबभन्दा ठूलो पुरस्कार सबभन्दा वाचाललाई दिइएन। त्यहाँ बौद्धिक सीपहरू सबभन्दा मूल्यवान हुनपर्छ भन्ने भएन।
अनि विद्वतालाई सबभन्दा मूल्यवान र पुरस्कारका लागि योग्य वा मुख्य हकदार भन्ने पाठ सिकेर आएका बुद्धिजीवीले समग्रमा पुँजीवादी समाजलाई तिरस्कार किन नगरून्! जसले उनीहरूलाई 'न्यायपूर्ण धरातल' बाट वञ्चित गर्छ र उनीहरूको श्रेष्ठतालाई चुनौती दिन्छ, त्यसको विरोध किन नगरून्!
सामान्य समाजले प्रदान गर्न सक्ने उच्चतम पुरस्कार (धन, प्रतिष्ठा) का लागि बुद्धिजीवीले आफूलाई हकदार मान्छन् भन्नुको मतलब सबै बुद्धिजीवीले ती पुरस्कारलाई श्रेष्ठतम वस्तु मानेका हुन्छन् भन्ने होइन। उनीहरूले बौद्धिक गतिविधिको आन्तरिक पुरस्कार (स्वान्तः सुख) वा युगौंसम्मको नामलाई बढी महत्त्व दिएका हुन सक्छन्।
तैपनि, थोरै नै भए पनि उनीहरू आमसमुदायबाट पाउनुपर्ने उच्चतम तथा श्रेष्ठ प्रशंंसाको हकदार आफूलाई ठान्छन्।
नोजिकले बौद्धिकहरूको खल्ती भरिने वा अन्य किसिमबाट उनीहरूकहाँ व्यक्तिगत रूपमा पुग्ने पुरस्कारलाई जोड दिएका छैनन्।
'आफूलाई बौद्धिकका रूपमा चिनाउँदै आएका उनीहरूलाई बौद्धिक गतिविधिलाई धेरै मूल्यवान नठानिएको र पुरस्कृत नगरिएको तथ्यले क्रुद्ध बनाउन सक्छ,' नोजिक भन्छन्।
बुद्धिजीवीहरू सम्पूर्ण समाज एउटा ठूलो विद्यालय जस्तो होस्, जहाँ आफूले राम्रो गरेको र प्रशंसा पाएको जस्तो वातावरण होस् भन्ने चाहना गर्छन्। विद्यालयको वरीयतामा शीर्ष स्थानमा भएकाहरूले त्यो लघु समाजमा मात्र नभई बृहत समाजमा पनि उच्च स्थानको हकदार दाबी गर्छन्। अनि त्यो अर्को समाजको प्रणालीले उनीहरूलाई उनीहरूबाटै निर्धारित चाहना तथा अधिकार बमोजिम व्यवहार गर्न असफल हुँदा उनीहरू रिसाउँछन्।
बौद्धिकहरूलाई बजारको 'अराजक र अव्यवस्था' भन्दा केन्द्रीय रूपमा संगठित वितरण संयन्त्र मार्फत वस्तु र पुरस्कार वितरण गर्ने तरिका बढी उपयुक्त लाग्नु अचम्मको कुरा होइन। केन्द्रको नियन्त्रणमा हुने नियोजित समाजवादी समाजमा बाँडफाँट भनेको विद्यालयमा शिक्षकले पुरस्कार वितरण गरे जस्तै हो
पुँजीवादी समाजले भने बाँडफाँटको अर्कै विधि अपनाएको हुन्छ। त्यहाँको बाँडफाँट विद्यालय परिसरको खेल मैदान, आँगन वा करिडोरमा सहपाठीबीचमा हुने विनिमय जस्तो हुन्छ। त्यहाँ विद्यार्थीले एकअर्काको मन जित्नु अनिवार्य हुन्छ।
विद्यालयबाट उत्तीर्ण भएपछि त्यहाँका मापदण्डले मान्छेका मानक विश्वासलाई दीर्घकालसम्म असर गर्छन्। ती मापदण्ड मान्छेको चेतन तथा अवचेतन मनमा गढेर बसेका हुन्छन्। त्यसैले विद्यालय प्रणालीका मापदण्डमा सफल भएकाहरूले उनीहरूलाई विद्यालय समान सफलता नदिने भिन्न मापदण्डहरूको पालना गर्ने समाजसँग रिसाउनु अचम्मको कुरा होइन।
बुद्धिजीवीलाई पुँजीवादी समाजमा विरोध गर्ने स्वतन्त्रता अन्य समाजमा भन्दा बढी हुने भएकाले पनि असन्तुष्टिका ध्वनीहरू सुनिने अर्को तर्क नोजिकले गरेका छन् — कम्युनिस्ट देशका बुद्धिजीवीले सत्ता र शासनप्रति पुँजीवादी समाजमा जस्तो असमानुपातिक वैरभाव राख्दैनन्।
यसबाहेक लिंगीय, जातीय, पेसागत वा अन्य किसिमका पहिचान समूहका बीचमा समानता हुनुपर्छ भन्नेमा बुद्धिजीवीहरूले उत्तिकै जोड दिएका हुन्छन् त भन्ने प्रश्न नोजिकले गरेका छन्। उनले अरू किसिमका समाज बन्द (नियन्त्रित) र पुँजीवादीलाई खुला भनेका छन्।
खुला समाजमा विद्यार्थीलाई जुनसुकै पेसा-व्यवसाय वा वृत्ति विकासका कुनै पनि क्षेत्र रोज्ने स्वतन्त्रता हुन्छ। खुला समाजमा उनीहरूले रोजेको क्षेत्र, सीप र कार्यकुशलताका आधारमा कस्तो आर्थिक सामाजिक हैसियत प्राप्त गर्छन् वा गर्नुपर्छ भनेर निर्धारण गर्ने कुनै निकाय हुँदैन। बन्द समाजले भने विद्यार्थीका महत्वाकांक्षालाई कलिलैमा निमोठिदिन्छ।
खुला पुँजीवादी समाजमा विद्यार्थीलाई उनीहरूको प्रगति र सामाजिक गतिशीलता सीमित गर्ने गरी छिट्टै आफ्ना महत्वाकांक्षा त्याग्नु पर्दैन।
यहाँ आर्थिक-सामाजिक संरचना सबभन्दा सक्षम, मूल्यवान र असीमित तवरले धेरै उपल्लो तहसम्म पुग्न सक्ने गरी निर्माण भएको हुन्छ।
नोजिकले कुनै विद्यालयको प्रणालीले जति धेरै शैक्षिक सीपमा जोड दिन्छ, त्यहाँका बौद्धिकहरू वामपन्थी हुने सम्भावना त्यति बढी हुन्छ भन्ने अनुमान गरेका छन्।
उदाहरणका लागि उनले फ्रान्सलाई अगाडि सारेका छन्। उनले लेखमा प्रस्तुत गरेका हाइपोथेसिस वास्तविक संसारबाट तथ्यांक संकलन गरी पुष्टि वा खारेज गर्न पनि आग्रह गरेका छन्।
अस्ट्रियाली अर्थशास्त्री लुडविग भन मिजस बुद्धिजीवीहरूको विशेष असन्तुष्टि यसरी व्याख्या गर्छन् — बुद्धिजीवीहरू अन्य श्रमिकहरूभन्दा भिन्न तवरले पुँजीपतिहरूसँग सामाजिक रूपमा घुलमिल भएका हुन्छन्।
पुँजीपतिहरूले भने उनीहरूलाई आफ्नै हाराहारीको समूहको रूपमा चिन्छन् तर, आफूभन्दा तल्लो दर्जामा राखेर अपमानित गर्छन्।
त्यसैले पुँजीपतिहरूसँग सामान्य व्यावहारिक अन्तर्क्रिया गर्ने बुद्धिजीवीले अपमानित अनुभव गरेकै हुन्छन्। पुँजीपतिहरूसँग सामाजिक रूपमा घुलमिल नहुने बुद्धिजीवीहरू पनि उत्तिकै क्रुद्ध हुन्छन्।
'बुद्धिजीवीहरूले आफ्ना तर्कहरूलाई समानतामा आधारित वा न्यायमूलक समाज स्थापनाका लागि उठाइएको भन्न खोजे पनि त्यसको वास्तविक जननी ईर्ष्या भाव हो,' मिजस भन्छन्।
हाम्रा बुद्धिजीवी पनि अन्यत्रका भन्दा भिन्न छैनन्। समाजवादको मोहनीमा परेका हाम्रा केही बुद्धिजीवीमा उपकारवादी सोच हाबी छ। गरिब र निमुखाको पक्षमा बोल्नुलाई उनीहरू आफ्नो नैतिक दायित्व भएको स्वाङ पार्छन्। उनीहरूले पक्षधरता लिने भुइँमान्छेलाई विचरा ठान्छन्। ती विचराको समस्या समाधान पुँजीवादी व्यवस्थाले गर्न नसक्ने मात्र होइन, उनीहरूलाई विचरा बनाउने नै पुँजीवाद हो भन्ने उनीहरूलाई लाग्छ।
यस किसिमको तर्कमा पुँजीवादप्रतिको गलत बुझाइ र गरिब तथा निमुखाको पीडामा समानुभूतिको पाखण्ड मिसिएको हुन्छ। व्यक्तिगत स्वतन्त्रता र स्वार्थलाई तिलाञ्जली दिएर बुद्धिजीवी मन, वचन, कर्मले अन्यायमा परेको वर्गको हितमा बौद्धिक अभ्यास गर्छन् भन्ने मान्न सकिँदैन।
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)